अन्तिम वाक्य

- विजय सापकोटा

छोरीको अझै होश आएको छैन ।
उसको शरीर अनुहारमात्रै देखाएर सेतो कपडाले छोपिएको छ । अघिपछिको त्यो सुन्दर अनुहारको कान्ति पुरै हराएर कालो र ओइलाएको जस्तो देखिन्छ । छोरी यो अवस्था हेर्दाहेर्दै कहिलेकाहीँ त निर्जीवजस्तै लागेर ऊ झस्किरहन्छे । कोठा पनि छोरीको अवस्थाजस्तै मृतप्रायः छ । कुन्नि के मेसिनको टिकटिक आवाज र भुइँमा सुतिरहेको ससुराको एकोहोरो घुराइले समेत यो शून्यतालाई पुर्न सकेको छैन ।
ऊ घरी घरी छोरीको अनुहार हेर्छे, उसलाई छोपिएको सेतो कपडातिर हेर्छे । हेर्दाहेर्दै उसको आँखामा उसिनेर फ्यात्तै गलेको आलुजस्तै भइसकेको छोरीको शरीरको विभत्स चित्र छाउँछ अनि तर्सिएर बाहिरतिर हेर्छे । तर आँखा झ्यालमा डम्म लगाएको पर्दामा ठोक्किएर कोठाभित्रै फर्किन्छन् । अनि फेरि यता उता कोठाभरि छरिन्छन् । आँखा स्थिर राख्ने ठाउँ कतै छैन सानो कोठामा । आँखा नै थिर नभएपछि मन झनै अधीर हुँदोरहेछ । ऊ बलजफ्ती आफ्ना आँखालाई कतै कुनाकानीमा लगेर खाँद्न चाहन्छे । तर त्यो सानो कोठामा त्यस्तो ठाउँ कतै छैन जसमा ऊ आफ्ना आँखालाई केन्द्रित गरिरहन सकोस् ।
अहिले बिहानको दुई बजेको छ । त्यो सानो कोठामा ऊ छोरीको अर्धमृत शरीर कुरेर एक्लैजस्तै बसिरहेकी छे । (छन त ससुरो पनि छ त्यहीँ । तर के गर्ने भएर पनि नभएजस्तो । ऊ त अघि नै देखि मस्त सुतिरहेको छ ।) रुँदा रुँदा पीरा भएका आँखाबाट ज्वाला निस्किरहेको छ । अब त आँसु रित्तिइसकेको छ, आँसुको सट्टा आँखाले आगो ओकल्लाजस्तो भएर रोनाधोनामा पनि मन गएको छैन । टाउको बेस्सरी चड्किएर दुखिरहेको छ । अनि मन.....मन खाली पनि छैन तर शान्त पनि छैन । घरी थ्याच्च बसूँ बसूँ जस्तो, घरि कुदेर बाहिर दौडूँ जस्तो, कहिले आफैँलाई कोपरुँ जस्तो, कहिले भारी भएको टाउको भित्तामा ठोकेर रगतपच्छे होऊँजस्तो । ऊ कोठामा यता र उता गरिरहेकी छे । तर सानो कोठामा उसको छट्पटी अटाएको छैन । त्यो थुनिएर अटेसमटेस भएको छ । थाहा छैन कतिखेर त्यो छताछुल्ल हुन्छ ।
हातगोडा करकरी खाएका छन् । जिउ पनि असाध्यै दुखेको छ । ससुरोचाहिँ आनन्दले सुतिरहेको छ ; एउटा कम्बल ओछ्याएको छ अर्को ओढेको छ । ऊ सजिलोसित खुट्टा पसारेर सुतिरहेको छ, मानौँ ऊ घरकै ओछ्यानमा मस्तसित सुतिरहेको होस् । तर ऊ भने कहिले उभिँदै त कहिले सानो मेचमा कक्रक्क परेर घरी तर्सिँदै, घरि अतासिँदै छट्पटाएर बसेकी छे । जिन्दगीमा यति लामो रात उसले कहिल्यै काटेकी थिइन !

‘होस् अब मेचमै बस्छु ।’ ऊ फेरि गएर मेचमा थचारिन्छे अनि आफ्ना दुवै घुँडा जोडी टाउको मेचको बारमा अड्याएर सजिलोसित निदाउन खोजेझैँ आँखा चिम्लन खोज्छे । आँखा भत्भती पोलिरहेका छन् । ऊ अझै बलपूर्वक चिम्लन्छे, भित्र कतै घाउ भएर चह¥याएको अनुभूति हुन्छ । अनि फेरि एकैछिनमा शान्ति भएझैँ लाग्छ । उज्यालो सबै हराउँछ, ऊ अँध्यारोमात्रै अनुभूत गर्छे । अब आँखा अलिकति थिर छन् । ऊ मनलाई पनि थान्को लगाउन खोज्छे र केही नसम्झी केहीबेर खाली राख्न खोज्छे । तर एक्कैछिनमा छोरीको हँसिलो अनुहार त्यो खाली अँध्यारोमा उज्यालोको मुस्लो बनेर आउँछ र खित्खिताएर हाँस्न थाल्छ । ऊ झस्किएर आँखा खोल्छे । आँखा छोरीको बेडमा ठोक्किन्छन् । छोरी उस्तै निर्जीव छे । मेसिनको टिकटिक आइरहेको छ । स्लाइनको बोतलबाट पानीका मसिना थोपा खसूँ कि नखसूँ गर्दै पाइपतिर बिस्तारै झरिरहेका छन् । अनि ससुरोचाहिँ घुर्न छाडेर मुख ‘आँ’ बाउँदै सुतेको छ । फुल्न लागेको जुँगाभित्रको ससुराको अनुहार उसलाई घिनलाग्दो लाग्छ । जुरुक्क उठेर मुखभरि थुकिदिऊँ अनि लात्तै लात्ताले भकुरुँजस्तो आवेगले उसको रोमरोम झन्झनाउँछ । तर एकैछिनमा त्यो थीर भएर बस्छ, अनि उसलाई फेरि रुन मन लाग्छ । आँखाबाट केही थोपा तप्प झर्छन्, अनि फेरि त्यो आवेग पनि थलिन्छ ।
रुने पनि बल छैन, रिसाउने साहस पनि छैन । ऊ आफ्नो स्थितिप्रति सोचविचार गर्न सकिरहेकी छैन । खुट्टा कुँजिएर निदाएजस्तो लाग्छ । ऊ मेचबाट उठ्छे र झ्यालसम्म जान्छे । पर्दा खोलेर बाहिर हेर्छे । औँशीको कालो रात छ, चकमन्न अँध्यारो बाहेक बाहिर केही देख्दिन । बाहिर कतै कुकुर भुकेको आवजसम्म पनि सुनिदैन । उसलाई बाहिर हेरिरहन मन लाग्दैन । पर्दा लगाइदिन्छे र सुस्तरी छोरीको सिरानीतिर जान्छे ।
छोरीको अनुहारमा कुनै परिवर्तन छैन; झन् झन् कालो हुँदै गइरहेको जस्तो लाग्छ । हिजो अस्तिकी छोरी नै होइनजस्तो, अर्कै मान्छेजस्तो लाग्छ उसलाई । सधैँ देखिने उज्यालो चमक त्यसको अनुहारमा पटक्कै छैन । सास थामेर ऊ छोरीको चाल सुन्ने प्रयत्न गर्छे तर चालचुल केही छैन । एकपटक उसको अनुहार सुम्सुम्याउन मन लाग्छ । सुस्तरी हात बढाएर निधार छाम्छे । ठण्डा छ उसको निधार । हेर्दाहेर्दै छोरीको अनुहार डरलाग्दो स्वरुपमा परिवर्तन भएजस्तो लाग्छ उसलाई । अज्ञात भयले छाती जोड जोडले ढुकढुक गर्न थाल्छ । आत्तिएर ऊ त्यहाँबाट छिटोछिटो मेचतिर आउँछे । अनि लामो सास तानेर फेरि बेडतिरै हेर्छे । तर त्यहाँ कुनै किसिमको परिवर्तन छैन । यताबाट हेर्दा सेतो ओढ्ने ओढेर कुनै केटी मान्छे मस्तसित गहिरो निद्रा सुतेको जस्तो मात्रै देखिन्छ । उसको छातीको वेग क्रमशः घट्दै जान्छ ।
ससुरो अझै उत्तानो पल्टिएको छ । अघि बाइरहेको उसको मुख अब टम्म बाँधिएको छ । ‘उठाऊँ कि ?’ निहुरेर ससुरोको जिउतिर हात बढाउँछे ऊ । तर फेरि हात तान्छे । सिकसिको लागेजस्तो हुन्छ । हातले छुन मन लाग्दैन । अनि दाहिने गोडा उचालेर ससुराको कोखातिर यसो कोट्याउँछे । यसो गर्दा उसलाई सन्तुष्टि मिलेजस्तो हुन्छ । अघिको बोझ निकै हल्का भएजस्तो लाग्छ । तर ऊ हलचल गर्दैन । ऊ अलिक जोडले कोट्याउँछे । अहँ, ससुरोलाई कुनै प्रभाव नै परेको छैन ।
‘पापी ।’ ऊ सानो आवाजमा बड्बडाउँछे । उसलाई लात्ताले ससुराको मुखमा किचिमिची पारिदिने रिस उठ्छ । गोडा उचालेर मुखतिर लान्छे । तर किच्न सक्दिन । फेरि गोडा हटाउन खोज्छे । त्यहीबेलामा उसको गोडाको बुढी औँलाले उसको उठेको चुच्चो नाकमा ट्यास्स लाग्छ । ससुरो हलचल गर्छ र नाक माड्न थाल्छ निद्रैमा । ऊ भने हतार हतार मेचमा आएर बस्छे र केही नभएको जस्तो गरी उसलाई हेर्न थाल्छे । तर ससुरोचाहिँ ऊतिर पिठ्युँ फर्काएर सुत्छ । ऊ हलुङ्गिएर सास फेर्छे र खाउँला जस्तो गरेर त्यसको पछाडिको भागतिर हेरिरहन्छे ।
“अझै होश आएन हगि उसलाई ? ऊ झस्किन्छे, कतिखेर नर्स आएर उसलाई सोधिरहेकी थिई । ऊ तर्सिन्छे मात्रै केही बोल्दिन । नर्सतिर हेरिरहन्छे । उसकै छोरीको उमेरकी लाग्ने कलिली नर्स उसित दोहो¥याएर नबोली बेडतिर जान्छे । मेसिनतिर हेर्छे, अनि फेरि स्लाइनतिर हेर्छे । स्लाइन सकिनै लागेको छ । ऊ त्यो सकिने क्षणसम्म धैर्य गर्ने अवस्थामा छैन सायद अर्को बोतल चढाउँछे । नर्सले त्यति गरुन्जेल ऊ रित्ता आँखाले चुपचाप उसैलाई पछ्याइरहेकी छे । बोतल चढाइसकेर नर्स ओढ्ने अलिकति पन्छाएर छोरीको नाडी समात्दै घडी हेर्न थाल्छे । ऊ भने नर्सको अनुहारमा एकोहोरो ताकिरहेकी छे । नर्स आफ्नो तल्लो ओठ टोक्दै छोरीको नाडी छाडिदिन्छे र सुस्तरी टाउको हल्लाउँछे । उसको मन थरररर काँप्छ । उसलाई फेरि रुन आउँछ तर बलजफ्ती आफूलाई रोक्छे । अझै नर्स केही बोलेकी छैन । ऊ छोरीलाई इन्जेक्शन दिने तयारी गरिरहेकी छे । ऊ अझै नर्सलाई नै हेरिरहेकी छे । अब नर्स सेतो कपडा पल्टाउन लागेकी देखेर भने उसलाई त्यहाँ हेरिरहने आँट आउँदैन । ऊ फूलजस्तै स्याहार गरेर हुर्काएकी छोरीको त्यो अवस्था हेर्न ऊ तयार छैन त्यसैले हतार हतार आँखा चिम्लन्छे र आफ्नो जिउलाई बेस्सरी खुम्च्याउँछे ।
“ह्या काँ सुत्या होला यो मान्छे ।” नर्सको झर्किएको स्वर सुनेर ऊ आँखा खोल्छे । नर्स ऊ नजिकै आइसकी । “यो मान्छे को हो तपाईँको ?”
“ससुरा ।” ऊ मन नपरी नपरी उत्तर दिन्छे ।
“कस्तो मान्छे रै’छ यो । कम्बल ओछ्याएर सुत्या छ ।” नर्सको गनगनतिर उसले कुनै चाख राखिन । बरु उसलाई छोरीको अवस्थाबारे जानकारी लिन मन लाग्यो । तर मुख बाउँदा बाउँदै पनि केही सोध्ने साहस नै गर्न सकिन ।
“तपाईँको छोरी होइन त ?” नर्स उसलाई हेर्दैथिई ।
“हो ।”
“विचरा.....कति राम्री रै’छ......।” नर्सको अघिको टर्रोपन अब नरम बन्दै गयो । “किन यस्तो गरेकी होला....हेर यस्तो उमेरमा ।” नर्सले छोरीको बेडतिर हेर्दै भनी ।
ऊ झसङ्ग भई । उसले नर्सबाट यो प्रश्नको अपेक्षा गरेकी नै थिइन । ऊ त अब नर्स निस्कने प्रतीक्षामा थिई । तर नर्स भने उसको उत्तरको प्रतीक्षामा थिई । त्यसैले उसले टार्ने हिसाबले लामो सुस्केरासँगै “खोइ....” भनी ।
“लभसभको केस होला.....। आजकालका केटाकेटीहरू ........।” नर्सले आफू पाको भएजस्तो कुरा गरी । उसले भने नर्सको कुरामा कुनै प्रतिक्रिया जनाइन ।
“के गरेर यस्तो गरेकी ?” नर्स अझै चुप लाग्ने मुडमा देखिइन ।
“मट्टीतेल खन्याएर ।” उसले छोटो उत्तर दिई ।
“कति बजे नि ?” नर्स पुरै केरकारको मुडमा थिई ।
“दिउँसो चार बजेतिर ।”
“अनि, तपाईँहरू घरमा हुनुहुन्नथ्यो ?”
“थियौँ ।”
“अनि घरमा हुँदाहुँदै कसरी यस्तो भयो त ?” नर्स यसरी पुलिसले झैँ केरकारमा आउली भन्ने उसले सोचेकी पनि थिइन । ऊ फेरि खग्रङ्ग भई । उसित कुनै उत्तर थिएन ।
‘कसरी यस्तो भयो त..........???’ नर्सको प्रश्न तीरले झैँ उसको सबै चेतनालाई भेदगर्दै वक्र भएर चिथोर्दै थियो । ऊ अक्क न बक्क थिई । डराएका असहाय नजरले नर्सतिर हेरी । नर्स तीखा र रुखा आँखाले उसैलाई ताक्दै थिई । उसलाई के गरुँ के गरुँ भयो । उसका आँखा र ओठ काँप्न थाले अनि आफ्नो ओढ्नेले मुख छोपेर हुँक्क हुँक्क गर्नथाली । त्यही हुँक्क हुँक्कमा उसले नर्सले आफ्नो काँध सुम्सुम्याउँदै भनेको सुनी “ल अब पीर नगर्नुस् । हुने हुनामी टार्न सकिँदैन । यस्तै हो, धैर्य गर्नुस् । उसलाई ठीक पनि हुनसक्छ ।” नर्सको सान्त्वनासित उसलाई कुनै चासो थिएन । तर उसको रुवाइ बन्द हुने अवस्थामा पुगिसेकेको थियो ।
“अब दुई घण्टाजतिमा होश आउन पनि सक्छ, होश आउनेबित्तिकै मलाई बोलाइहाल्नुस् है ।” भन्दै नर्स निस्की । नर्स निस्केपछिमात्रै उसले ओढ्नेबाट आफ्नो टाउको बाहिर निकाली ।
छोरीको बेड उस्तै थियो । भुइँमा सुतेको ससुरो पनि अझै पिठ्युँ फर्काएरै सुतिरहेको थियो ।
‘कसरी यस्तो भयो त.....?’ नर्स गए पनि नर्सको प्रश्न उसको कानभरि गुन्जिरहेको थियो । उसलाई छट्पटी भयो । ऊ जुरुक्क उठी । झ्यालतिर गई । पर्दा हटाएर बाहिर हेरी । बाहिर चुक पोखिएझैँ उस्तै अँध्यारो थियो । उसको छट्पटी शान्त गराउने कुनै माध्यम थिएन । फेरि पर्दा बन्द गरी र झ्यालमै आडा लागेर कोठातिर हेरी । प्रश्न अनुत्तरित भएर उसलाई कस्दै थियो । ‘कसरी यस्तो भयो त......?’ उसको मनमा डर, पश्चाताप र पीडाका भावनाहरू एकैसाथ आए । फेरि टाउको रन्थनियो । भर्खर १८ पुगेर १९ वर्षमा टेकेकी कल्कलाउँदी छोरीले मट्टितेल खन्याएर आगो किन लगाई त ? असाध्यै राम्री थिई । खुब राम्री बन्नुपर्ने ! सिंगारपटारमा रुचि भएकी ! त्यस्ती छोरीले त्यही फूलजस्तै शरीरमा आफूले आफैँलाई कसरी आगो लगाई ?
उत्तर उसित थियो; प्रष्टै उत्तर थियो । तर ऊ कसैलाई पनि भन्न सकिरहेकी थिइन । छोरी आफैँले आफ्नो जिउमा मट्टीतेल खन्याएकी हो, सलाइ पनि ऊ आफैँले कोरेकी हो । अनि जिउमा झोसेकी पनि आफैँले नै । यो सबै थाहा भएर पनि ऊ केही भन्न सकिरहेकी छैन । अघि साँझमा पुलिससित पनि केही भन्न सकिन, अहिले नर्ससँग पनि । यो कुरो ऊ १५ वर्षमा टेक्दै गरेको आफ्नो छोरो अथवा विदेशमा परिवारको सुन्दर भविष्यका लागि जोतिइरहेको आफ्नो लोग्ने कसैलाई पनि भन्न सक्ने छैन ।
निकैबेरपछि फेरि त्यही नर्स आई । ऊ केही नबोली बेडतिर गई । फाइल झिक्न लाग्दा स्टिलको गिलास भुइँमा खसेर ट्याङ्ग आवाज आयो । झस्किएर ससुरोचाहिँ ज¥याकजुरुक उठेर बस्यो । गिलास उठाउँदै नर्सले ससुरोचाहिँलाई भनी “तपाईँ त कस्तो लाज पचेको मान्छे रहेछ । कम्बल पनि ओछ्याउँछ कोही । बुढोपाको भ’र पनि......।” उसले देखी ससुरो ङ्च्चि हाँस्यो बेसोमतको हाँसो । उसलाई त्यो अझै घिनलाग्दो लाग्यो ।
नर्सलाई किन रिस उठेको थियो कुन्नि उसित फेरि कराई “तपाईँ त मान्छे खराब नै रहेछ । यस्तो अवस्थाको बिरामी कुर्न आएको मान्छे, विचरा आइमाईलाई एक्लै छाडेर आफूचाहिँ घुरेर सुत्ने । ससुराली आ’ को हो ? विचरा आमाचाहिँलाई कस्तो भ’को होला ? उसलाई ढाडस दिनुवर्नु, साथै बस्नु पर्दैन ?”
ससुरोले बेवास्तासित जिऊ तन्कायो ।
नर्स फाइल च्यापेर “कस्ता कस्ता मान्छे पनि हुन्छन्” भनेर भुत्भुताउँदै बाहिरिई । उसले उदास आँखाले रुखो स्वभावकी तर हक्की मन भएकी त्यो नर्सलाई पछ्याउन खोजे ।
“कति बज्यो अहिले ?” ससुरोचाहिँले सोध्यो ।
ऊ केही बोलिन । उसलाई रिस उठ्न थालिसकेको थियो ।
“ए तीन बजिसकेछ ।” ऊ आफैँले भन्यो । अनि जुरुक्क उठ्यो र अघि सुतेको ठाउँतिर हेर्दै भन्यो “मज्जाले निदाइएछ ।” उसले केही भनिन । ऊ आफ्नो रिसलाई सकेसम्म शान्त गर्ने प्रयत्नमा थिई । ससुरोचाहिँ झ्यालतिर गयो अनि पर्दा हटाएर बाहिर हे¥यो । फेरि बड्बडायो “अँध्यारै छ त ।” पर्दा पनि नलगाई फर्किएर बेडतिर गयो र आरामले उसलाई यस्तरी हे¥यो मानौँ त्यहाँ कुनै प्लाष्टिकको अनाकर्षक खेलौना प्रदर्शनीमा राखिएको छ ।
“यल्लाई होश आउँछ रे ? के भन्छे डाक्डरर्नी ?” उसले रुखो स्वरमा उतिर हेर्दै सोध्यो ।
उसलाई केही बोल्न मन थिएन । उसले ससुरातिरबाट आँखा फर्काई । ससुराले एकैछिन बुहारीको उत्तरको प्रतीक्षा ग¥यो । अनि जवाफ नपाएपछि आएर पहिलेकै ठाउँमा कम्बल ओढेर बस्यो ।
“पुलिसले भोलि बिहानै आउँछु भन्या छ । साँझाँ पनि के के केरकार गर्दै थियो ।” उसले सानो स्वरमा भन्यो । “यल्लाई होश आएपछि योसित कुरा सोध्ने रे ।”
उसले सुनेको नसुनेई गरी ।
“कथम्काल यल्लाई होश आ र यल्ले सबै कुरा भनी भने त बुझिस् हामी दुवै झेलखाना पर्छौं ।” ससुरोचाहिँले पिरिएको आवाजमा भन्यो “बरु यल्लाई होशै नआओस् ।”
उसको रिसको वेगले सीमा नाँघ्यो । अघिपछिको आदरबाट झरेर कराई “यस्तो भन्न लाज लाग्दैन ? पापधर्मको त ख्याल राख्नुपर्छ ।”
“नरिसा न ।” उसले स्वर सानो बनाएर फकाउने हिसाबले भन्यो “हेर् यसैमा हाम्रो भलाइ छ । नत्र सबै बरबाद हुन्छ ।” ऊ रोकियो ।
ससुराको यो तरिका नयाँ थिएन । ऊ सधैँ ठूलो स्वर गरेर ठूला डरहरू देखाउँथ्यो अनि पछि फकाउँथ्यो । त्यसैले यसले अहिले उसलाई खासै प्रभाव पारेन । ससुरोले फेरि थप्यो “हेर् होश आए नि यो बाँच्ने होइन क्यारे । जे हुनु भइहाल्यो । सम्झी त कदाचित् यल्ले मुख खोली र तँ झेल परिस् भने छोराको..........।”
डरले काँप्दै मामाघर गएको छोरालाई सम्झिन थाली । अब सबै कुरालाई जितेर उसको मनमा त्रास बल्झियो ।
“तैँले नै गल्ती गरेकी त हो नि । घरमै मर्न दिनुपर्ने । जान्नी भएर गुहार लाइस् । अहिलेसम्म कुरै सकिसक्थ्यो ।” ससुरोचाहिँ रिसाएर करायो “थाहा छैन यल्ले के के भन्ने हो र कहाँ गएर फसिने हो ।”
उसले ससुरोको घिनलाग्दो अनुहार हेरिरहन पनि सकिन, उसको कुरा सुन्न पनि सकिन । उसले मट्टीतेल हालेर भान्साकोठामा जल्दै गरेकी छोरीको आकृति सम्झिरही । त्यसलाई देखेर आतंकले ऊ कसरी चिच्याएकी थिई । गाउँलेहरू हतार हतार जुट्दै थिए । उनीहरू चाँडोभन्दा चाँडो अस्पताल पु¥याउन जोड दिइरहेका थिए । ससुरोचाहिँ आलटाल गरिरहेको थियोे । ऊ घरि यता घरि उता गरिरहेको थियो र बलजफ्ती रुने बर्रबराउने गरिररहेको थियो । अन्त्यमा मूलबाटोसम्म अरु कसैलाई नातिनीको शरीर छुन नदिएर आफैँ पिठ्युँमा बोकेर बिस्तारै हिँडिरहेको थियो । छोरीको छालाका पत्रपत्र उसिनेको आलु खुइलिएझैँ कसरी जमीनमा खस्दै थिए । अनि छोरी कसरी आर्तनाद गरिरहेकी थिई... ... ... ।
‘दोषी मै हुँ....।’ उसले खुइय गरी र थाप्लोमा हात राखी । ‘म किन केही पनि बोल्न सक्दिन हँ ?’ उसको मनमा खेलिरह्यो ।
“के घोरिएकी अब जे हुनु भै गयो । यस्तै हो....।” ससुरोले उसलाई सम्झाउने तरिकाले भन्यो “आखिर मैले गरेर मात्रै यस्तो भएको होइन क्यारे ।”
ससुरोचाहिँ उसको नजिकै आएर उभियो । उसले सूर्तिको वाक्कलाग्दो गन्ध महसुस गरी । त्यो यति गन्हाउने थियो कि उसको खाली पेट नै हुँडुल्लिएर आउलाजस्तो भयो । ऊ अलिक परतिर सरी । ससुरोचाहिँ अझै नजिक सर्दै आयो ।
“हेर्...बरु यसलाई यहीँ सिध्याइदिऊँ.....कसैलाई थाहा हुने पनि होइन.....।” ससुरोचाहिँले साउती गरेको स्वरमा भन्यो । पहिले त उसले केही बुझिन, उसको मस्तिष्कसम्म यो कुुरा पुग्दै पुगेन । पछिबाट झसङ्ग भई । अनि आत्तिएको स्वरमा कराई “के रे.....?”
“सानो स्वरमा बोल्....यो बाहेक केही उपाय छैन बुझिस् । बेलैमा बुद्धि नपु¥याएपछि दुःख पाइएला । एकातिर बदनामी अर्कातिर झेल.......।” ससुरोचाहिँले जोड दिँदै भन्यो “आखिरी होश आए पनि यो बाँच्ने होइन क्यारे ।”
उसको दिमाग चकरायो । उसले आफ्नो अगाडि अँध्यारोबाहेक केही देखिन । उसलाई त्यहीँ ढलूँला...ढलूँला जस्तो भयो । अडिन नसकेर ऊ थचक्क भुइँमा बसी ।
उसले केही नबोलेको देखेर हौसिँदै ससुरोचाहिँले थप्यो “ल भन्, के भन्छेस् ?”
उसको टाउको फुट्ला जस्तो भयो । तर केही बोल्नै सकिन ।
“बदनामी र झेल रोज्ने कि जोगिने ?”
....... ..... ..... .....।
“मैले तेरै भलो चाहेको हो । म त यो केसबाट जसरी नि जोगिन सक्छु । ल भन् के गरुँ ?”
.... .... .... ।
“हैन किन बोल्दिनस् हँ तँ ?”
ससुरोचाहिँ प्रश्नमाथि प्रश्न खन्याइरहेको थियो । ऊ भने पट्ट फुट्नै आँटेजस्तो भएको टाउको बेस्सरी थिचेर बसिरहेकी थिई । ससुरोचाहिँका कुरा उसको कानमा कहाँ कहाँबाट ठोक्किन आएझैँ गरी ढ्याङ ढ्याङ गरेर बजिरहेका थिए । ऊ बेहोशप्रायः भइरहेकी थिई । छोरी, ससुरो र लोग्नेका आकृति किरिङमिरिङ भएर उसको मथिङ्गलमा घुमिरहेका थिए ।
एक्कासी उसको अचेतनले देख्यो ससुरोचाहिँ डरलाग्दो रूप गरेर छोरीको छाती चिथोर्दैछ र त्यहाँबाट रगत निकालेर लामो जिब्रोले लपलपी चाट्दैछ ।
आत्तिएर ऊ कराई “नछोऊ मेरी छोरीलाई नछोऊ ।” अनि ऊ जुरुक्क उठी ।
बुहारीचाहिँको अप्रत्यासित व्यवहारले ससुरोचाहिँ आत्तिएजस्तो भएर अलिक पर स¥यो ।
यतिबेलासम्म ऊ सम्हालिइसकेकी थिई । गएर मेचमा बसी । किन हो केही नबोली ससुरोचाहिँ मुख छोपेर सुत्यो ।
‘म किन केही पनि गर्न सक्दिनँ....?’ फेरि कताकताबाट आफ्नो कमजोरीलाई कोस्न मन लागेर आयो । रुन मन लाग्यो ,तर आँसु खस्ने छाँट थिएन । लामो सास फेरी र टाउको भित्तामा आडा लगाई ।
उसको दिमागमा सम्झिन मन नलागेका तिनै कुराहरू आए । चामल व्यापारमा घाटा खाएर दिक्किएको लोग्ने विदेश पसेपछि ऊ ससुरोको फन्दामा परी । कसरी परी उसलाई अनौठो लाग्छ । टोलभरि सबैभन्दा धार्मिक सत्पुरुषको नाम कमाएको उसको ससुरोले एकरात उसको बलात्कार ग¥यो । उसले कसैसित यो कुरो व्यक्त गर्न पनि सकिन । स्कुल पढ्दै गरेका छोराछोरीलाई लिएर कतै निस्किने हिम्मत पनि भएन । एकपटक लोग्नेसित फोनमा आफ्नो ससुरोसित छुट्टिएर बस्ने चाहनालाई व्यक्त गर्दा उल्टै ऊ नराम्री र गलत साबित भई । लोग्नेसित गुह्य कुरा खोल्न पनि सकिन । ससुरोचाहिँ सबैका नजरमा असल मान्छे थियो । नातिनातिनालाई पनि असाध्यै माया गथ्र्यो । गाउँमा मर्दापर्दा ऊ नै अगाडि सर्नुपथ्र्यो । यस्तो मान्छेलाई गलत साबित गराउने आँट र बाटो उसले कहिल्यै पाउन सकिन । उल्टै आफैँ बदनाम हुने डरले खुम्चिएर बसिरही । ससुराले पनि एकपटकलाई गल्ती भयो कसैसित नभन्न आग्रह ग¥यो । मनमा दाग लाग्दा लाग्दै पनि त्यो घटनालाई भुल्ने प्रयत्न गरी । तर यो त्यसको अन्त्य थिएन, सुरुवात थियो । अनेक कुराहरूले धम्क्याएर ससुराले उसको शरीरलाई भोग्दै गयो धेरै पटक । ऊ अब मानसिक रोगीजस्तै भइसकेकी थिई । हुर्किसकेकी छोरी अथवा विदेशिएको लोग्ने कसैसित पनि यो कुरा भन्न सकिन । उसको यो कमजोरीको फाइदा ससुरोले निकैपटक उठायो र हिजो दिउँसो पनि यही उपक्रम दोहोरिँदा अकस्मात् छोरीले फेला पारेकी थिई । छोरीका लागि त्यो दृश्य अकल्पनीय मात्रै थिएन सायद अत्यन्तै पीडादायी पनि थियो । उनीहरू सम्हालिन नपाउँदै उसले आफ्नो शरीरमा मट्टीतेल हालेर सल्काउन भ्याइसकेकी थिई ।
उसले यस्तो होस् भन्ने चाहेकी थिइन, यस्तो हुनेछ भनेर सोचेकी पनि थिइन । तर भयो । कसरी भयो...यो विचार्दा कहिले उसलाई आफैँसँग घिन लागेर आउँछ, कहिले आफ्नो ‘भाग्य’ लाई धिक्कार्न मन लाग्छ । ‘दोषी को हो ? उसको निमुखोपन या अरु केही ?’ उसले लामो अन्तद्र्वन्द्वमा पनि बुझ्नै सकेकी छैन ।
ऊ त आफ्नो निम्छरोपनलाई पटक–पटक दोष दिइरहेकी थिई । उसको दिमागले यो अवस्थाको जिम्मेवार आफैँलाई बनाइरहेको थियो । ‘पहिले नै मुख खोल्न सकेकी भए यो अवस्था भोग्नुपर्ने थिएन’, उसको मनमा पश्चातापपूर्ण छट्पटी थियो । घरिघरि उसलाई आफ्नो निर्धोपनाप्रति टाउको फुटाएर रुन मन लाग्थ्यो । अनि कहिलेचाहिँ छोरी बाँची नै हाली भने पनि उसको अगाडि मुख कसरी देखाउने भन्ने प्रश्न अजङ्गको मुख बाएर उभिन्थ्यो । उसको मनमा जन्मिएको यो प्रश्न छोरीको जीवनभन्दा पनि प्रमुख भएर आइसकेको थियो । यस्तो बेलमा ससुरोचाहिँका कुरा कानमा गुन्जिन्थ्यो “कि सिध्याइदिऊँ....?” अनि ऊ तर्सिएर निदाइरहेको ससुरोचाहिँलाई हेर्न पुग्थी ।
यसैगरी बिते केही घण्टा ।
बिहान ६ बजेतिर छोरीचाहिँलाई होश आयो । नर्सहरू हतार हतार गर्न थाले । यसबीचमा डाक्टर पनि आइसकेको थियो । ऊ त्यहीँ थिई, ससुरोचाहिँ सायद चिया खान निस्किएको थियो ।
“कन्डिसन राम्रो देखियो भने अप्रेशनमा लानुपर्छ ।” उसले डाक्टर बोलेको टड्कारै सुनी । यो सुनेर उसको जिउ ढक्क फुल्यो । नर्सहरूसित छोरीको बारेमा केही जानकारी लिने साहस जुटाएर ऊ अलिकति नजिकै गई । तर उनीहरू यतिधेरै व्यस्त थिए कि उसले केही बोल्नै सकेकी थिइन । त्यहीबेलामा डाक्टरले एउटी नर्सलाई भन्यो “रिसेप्सनमा फोन गरेर पुलिसलाई तुरुन्त बोलाउनु भन । एकदमै छिटो ।”
नर्स हतारिएर बाहिर निस्किई ।
ऊ भित्र कसो कसो उकुसमुकुस भएझैँ अनुभव भइरह्यो । उसलाई एकपटक छोरी नजिक जाने मन भयो तर नर्सले एकैछिन परै बस्न भनी । अब उनीहरू छोरीलाई पर्दाले घेरेर उपचार गर्न थाले ।
एकैछिनमा ससुरोचाहिँ आयो । भित्र पस्दा ऊ फूर्तिले पसेको थियो । तर स्थिति थाहा पाएर होला ऊ मलिनियो र डराएझैँ देखियो । उपचार चलिरहेको थियो । दुईजना पुलिस पनि भित्र पसे र उनीहरू नजिकै आए । ती दुवै हिजो साँझ आएकै पुलिस थिए ।
“होश आ’को भन्या हो ?”
ठाडो स्वरमा एउटा पुलिसले सोध्यो ।
“हो । ससुराले मलिन स्वरमा उत्तर दियो । यसो भन्दा उसले चाहिँ ससुरा काँपेको महसुस गरी । उसले ससुरोचाहिँलाई हेरी । ऊ बुहारीका आँखालाई सहन गर्न नसकेर अन्तैतिर हेरिरहेको थियो ।
“लौ सुरु गरौँ ।” पुलिसले हतारिएझँै भन्यो र अर्कोलाई फाइल ठीक पार्न लगायो । अब पर्दा खोलिदिए नर्सहरूले । पुलिसले डाक्टरसित केही खासखुस गरिरहँदा उसले फेरि ससुरालाई हेरी–ऊ अँध्यारिएर ढल्नै ढल्नै लागिरहेको थियो ।
“ल है बिरामीलाई बोलाउन मन छ भने बोलाउन सक्नुहुन्छ । फेरि के हो के......।” नर्सले यसो भनेपछि ऊ आत्तिएजस्ती भई र छिटोछिटो छोरीको बेडतिर लागी र सिरानीको छेउमा उभिएर उसलाई बोलाई । तर छोरीचाहिँ बोलिन । ऊ मलिन र कमजोर आँखाले यताउता हेरिरहेकी थिई । उसको आर्तनाद पनि कमजोर र झिनो आवाजमा आइरहेको थियो । छोरीको यो अवस्थाले उसको छाती चिरियो । ऊ केही नबोली छोरीको कपाल सुम्सुम्याउन लागी । पुलिसले सेतो कपडा पन्छाएर छोरीको शरीर हेर्यो । हेर्न नसकेर उसले आँखा चिम्ली ।
“बैनी....।” पुलिसको आवाज सुनेर उसले आँखा खोली । ऊ छोरीलाई बोलाइरहेको थियो ।
“बैनी तिमीलाई धेरै गारो भा’छ हामीलाई थाहा छ । हामीलाई एउटै कुरा भनिदेऊ यो तिमी आफैँले गरेकी हो ?”
छोरीले बिस्तारै मुन्टो हल्लाएर ‘हो’ भन्ने इशारा गरी ।
“ल अब तपाईँहरू एकपटक बाहिर गइदिनुस् ।” झ्यालबाट हेरुँ कि नहेरुँ भनेर उभिइरहेको ससुरोचाहिँ पुलिसले यसो भनेपछि हतारिएर ढोकानिर पुग्यो । फेरि के सोचेर हो त्यहीँ अलमलिएर उभिइरह्यो । ऊ भने छोरीको अझै छेउतिर सरी । तर पुलिसले केही भनेन । छोरीचाहिँले उसलाई पुलुक्क हेरी । आमाछोरीका आँखा जुधे । उसले निकैबेर आमालाई हेरिरही । बरु उसले आँखा जुधाउन नसकेर भुइँतिर हेरी । उसका हात छोरीको कपालमा एकनासले सल्बलाइरहेका थिए ।
“तिमीले किन यस्तो गरेकी नानी ?” पुलिसले फेरि सोध्यो । यो प्रश्न सुन्दा उसको छाती ढक्क फुल्यो, हात गोडा कामेजस्तो भयो । ऊ बलैले उभिई र छोरीतिर हेर्न थाली ।
तर छोरीले केही बोलिन । ऊ आमाचाहिँलाई हेरिरहेकी थिई ।
“भन बैनी । तिम्ले यतिचाहिँ बोल्नै पर्छ ।” पुलिसले फेरि जोड दियो ।
डाक्टर र नर्स हात बाँधेर उभिइरहेका थिए । उनीहरूका अनुहारमा बिरामीको चिन्ता कम जिज्ञासा बढी झल्किन्थ्यो । ऊ सम्भावित उत्तरको कल्पना गरेर सुन्न तयार हुन बल जम्मा गर्दै थिई । ससुरोचाहिँ सबभन्दा विचलित थियो । उसको कालो अनुहार रातिएर आएको थियो । ऊ घरि घरि आफ्नो अनुहार मुसार्दै थियो ।
“भन न बैनी....निर्धक्क भन ।” पुलिसले फेरि जोड दियो ।
“एक्जाममा ब्याक ...।” छोरीले उसलाई हेरेरै मुस्किलले यति भन्न सकी र उसलाई हेर्दा हेर्दै फेरि टाउको लत्र्याई । छोरीको टाउको सुम्सुम्याइरहेका उसका हात थरथरी काँपे । आँखाभरि टिलपिल भएका आँसुका बीचबाट हेर्दा पनि उसले देखी ससुरोचाहिँको अनुहार भने उज्यालिएको थियो ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 3 कार्तिक, 2074

लेखकका अन्य रचनाहरु