गीतहरुको इन्द्रधनुष !

- डा. हिम लाल श्रेष्ठ

इन्द्र धनुषका बिबिध रङ्गहरु जस्तै थरिथरि गीतहरुले हामीलाई हरेक बिहान धर्तीको यथार्थ सम्झाउंछ | गीतहरुले हाम्रो दैनिक कामहरुको बोझ अनि खिचातानी र उठन बैठनलाई एक हिसाबले साम्य पार्दछ | गीतहरु हाम्रो दैनिकीसंग मात्र होइन हाम्रो काम काज, रितीरिवाज अनि रहन सहनसंग पनि गाँसिएको हुन्छ | गीतले हाम्रो समाज र संस्कृतिको पहिचान दिन्छ | गीत भनेको समयको सम्बाहक पनि हो | 'राल्फा'को समयको त्यो रापिलो गीतहरुको इन्द्रधनुषी रंगहरु टेक्दै रामेश, मन्जुल अनि पारिजात जस्ता अग्रगामी सोंच बोकेका प्रतिभाहरुले नेपाली गीत संगीत, नेपाली मानसिकताको सोच्ने तरिकामा अनि नेपाली समाजको अज्ञानता चिर्ने प्रयासहरुले सक्दो योगदान गरे |
जति बेला "कोहिको घरमा डाक्टरको चक्करी , कोहि त मर्छन अस्पताल नहेरी, हाम्रो नेपालमा" भनि गाउने गायकहरुले त्यो बेलाको नेपाली समाजको अग्रगामी छालाङ्को चाहनालाई टपक्क टिपेको आभाष हुन्छ | समय फरक भयो - हाम्रो नेपालमा कि अस्पताल हेर्न पुग्नेहरु उपचार गर्दा गर्दै फर्कन मुस्किल छ |
गाउंघरको डांडा पाखामा गीत गाउंदै सुनाउंदै हिंड्ने गन्धर्बहरुलाई नेपाली समाजले "गाईने' बनाएर उसलाई गुजारा गर्न सिकायो | उसले नेपाली समाजलाई सारंगीको धुन सुनाउंदै सच्चाई र शालीन समाजको लयमा हिड्ने प्रेरणा दिंदै हिडेको बिर्सन सकिन्दैन |
गीत संगीत त्यो फुलबारी हो, जसले सिंगो संसार एउटै मालामा उनेको छ | त्यसैगरी नेपाली गीत संगीतले नेपाल रास्ट्र भित्र र बाहिर पुगेका आम नेपालीजनलाई उनेको छ - " जसो गर जे भन जता सुकै लैजाउ मलाई, यो मन त मेरो नेपाली हो "| चाहे मेघालय होस्, या त्यो "दार्जीलिङको छुक् छुके रेल" होस् या होस् त्यो "देहारादुनैमा" या होस् त्यो पाश्चात्य मुलुकको रमझम | नेपाली मनहरु गाँसिन्छन् - बस उही " नबिर्स नेपाली हो, खोली सुसाएको देश, पराई देशको फूलबारीभन्दा आफ्नै पखेरो बेश " को कर्णप्रिय संगीत अनि सुमधुर आवाजले |
पुस्तान्तर एउटा गजबको आयाम हो - गीत संगीत को | आज नयाँ लागेको गीत १०/२० बर्षको अन्तराल पछि त्यो कता कता सुनेको जस्तो, कता कता आफ्नो बालापन झल्काउने, एक किसिमको पुरानो दिन फर्काइदिने प्रिय शब्द र संगीतको मिश्रण झैँ लाग्दछ | हिजो " आज मादल बजेको किन, गाउ घर दुनिया ब्युझाउन" भनेर धर्मराज थापालाई आफ्नो तन्नेरी बयमा सुन्ने पुस्ता आज "पढाई लेखाइमा अब्बल छु, बैज्ञानिक बन्छु नासाको" भन्ने बोलको गीतमा "कुटुमा कुटु" गर्दैछन् | हिजो झलकमान गन्धर्बलाई "हे बरै, बाबाले सोध्लान् नि, खोइ छोरा भन्लान्, रण जित्दै छ भन्दिए" सुन्ने पुस्ता र आजको आक्रोश को अभिव्यक्ति गाउने "यम बुद्ध" को पुस्ता बिचको पुस्तान्तर र गीत संगीतको फाँटमा पुस्ता हस्तान्तरण एउटा हेर्न लाएक पाटो हो, जहाँ गीतहरुको सपाट इन्द्र धनुष देखा पर्दछ |
बसन्त श्रबण, सरस्वति बन्दना अनि गायत्री मन्त्रोच्चारणबाट शुरु गरिने गीत संगीतको लयात्मक प्रभाब हाम्रो जनजीविकामा पनि झल्कन्छ | " बनै खायो डढेलोले, मनै खायो तिम्रो मायाले" अनि " चैत मास खडेरीमा डढेलोले बनै खायो" र " बनैभरी फुल्यो लाली गुराँस, लान्छ क्यारे, लान्छ क्यारे, मनै उराठ " भन्दै बाँझो बारी जोत्ने कर्मबीरलाई सम्झंदा फेरी त्यहि ऐंसेलु र काफलको बोटमा पुगुं पुगु लाग्छ | "बिउ कुहियो" भन्दै बन थर्काउने चराको उराठलाग्दो आबाज क्रमशः "काफल पाक्यो" चराले जित्दै जान्छ, रनबनमा चराहरुको चिरबिर शुरु हुन्छ अनि थाहा हुन्छ - कुहियो भनेको बिउमा उमार आइ सकेछ अनि बन पाखामा रुखपातले पालुवा हाली सकेछ र घरबारीको नासपाती र आरुका बोटहरुमा मुजुरा पलाई सकेछ | अनि तिर्थ कुमारीका जस्ता गीत गुन्जनछन् -

डांडामा माथि बिहानै घाम लाग्यो तिरिरी
पछ्यौरीको पल्ला उड्यो बतास चल्यो सिरिरी
भालेले बासेको कुखुरी काँ काँ
चरीले गाएको चिरिरी च्याँ च्याँ
मन मेरो हाँस्यो, दिल मेरो नाच्यो प्रभातलाई हेरेर ( तिर्थ कुमारी )


मानो रोपेर मुरी फलाउने महिना हिलो मैलो नभनी बाउसे र रोपारहरु असारे भाकामा बेठी लाउदै सिम्ले खेत र टारी खेतमा धान रोप्दै हुन्छन् - धर्मराज थापाको बयमा " हो हो माले हो हो , हो हो तारे हो हो, हरियो डाँडा माथि हलो जोत्ने साथी " र मैच्यांग सम्झन्छिन्, परदेश हिंडेका खसम - बच्चु कैलाश को स्वरमा

"असारै महिनामा, पानी पर्यो रुझाउने, एक्लो यो मेरो मन कसरि बुझाउने
भन्थिन है मैच्याङ्गले रुँदै धरर, नौ डांडा पारि छ कम्पनि सहर, बिछोडको बेलैमा "

डांडाहरुको तरेलीको तल कतै बुढीगण्डकी सुसाइरहेको हुन्थ्यो आफ्नै सुरमा, सालघारी, बाँसघारी, चिलाउने र कटुस अनि उन्युघारी छिचोल्दै उकालो लागेर काभ्रो र दब्दबेको हाँगाबिंगा समात्दै घाँसको भारी पुर्याई सके पछि खर्बारिको सिरानमा बसेर कोइलीको कुहु कुहुको लयसंग तादात्म्य राख्दै हरियो डांडाबाट सकुन्तला दिदीको "खाउँ त भने सुन्तला पानी, नखाउ भने दुवैको ज्यान जाने, नरोउ मायालु " भन्ने गित गुन्जन्थ्यो अनि लाग्थ्यो यो भन्दा बढी स्वर्गीय आनन्द खोज्न कहाँ जानु पर्ला र ! तर समय क्रमशः फेरिंदै गयो - हिजोका सकुन्तला दिदीको गला सुमधुर भाकाहरु यतै छाडेर खाडीमुलुक चाहार्न थाल्यो अनि बन्न थाल्यो - " चेरी फुल्दा परदेशमा गाउँ सम्झियौकी , नासपाती र आरु फुल्ने ठाउँ सम्झियौकी " भन्दै ऋषि बस्ताकोटीका शब्दहरु गजल जस्तै गीत गुन्जन्छन् |

नेपाल र नेपाली संस्कृति, चाडबाड तथा रितीरिवाजमा धनी छ | नेपाली समाजमा जुन जातीय बिबिधता छ, त्यसले सांस्कृतिक बिबिधता पनि कायम गरेको छ | एक संस्कृति देखि अर्को संस्कृति बिल्कुल भिन्न रितिरिवाज र चालचलन अलग अलग छ | तथापी एक समाज र संस्कृतिका मानिसहरु अर्को समाजको रितीरिबाजको उत्तिकै कदर गरेको पाइन्छ | मगर समुदाय घाँटु र चुड्कामा रमाएको बखत अर्को समुदाय पनि संगै देखिन्छन्, मात्र भूमिका फरक हो | यसरी आफ्नो आफ्नो पहिचान बोक्दै बिभिन्न चाडबाड, मेला, जात्रा, रोदी आदिमा इतिहास, संस्कृति, रितिरिवाजका चिनारीहरु गीत तथा नृत्यमा झल्कन्छन् |
" असारमा खानु दुधिलो मकै, साउनमा खानु खिर
घरमा छैन शितलु बचन, मनमा छैन थिर "
भन्दै बेठी र गाउने बजाउने गर्दै छाता ओढेर पर बस्ने साउ बा ! लाई हिलोको टिका लाउने अनि बिउको माला लगाउने रोपारेहरु तीजको गीतमा छमछम नाचेको जब देख्न थालिन्छ, अब बिस्तारै दशैको रौनक शुरु भयो भन्ने आभाष हुन्छ | फेरी मालसिरी र मंगलधुन शरु हुन्छ र एक महिना सम्म भैलिनी र देउसिरिको रौनक चल्दछ | किसानहरु आफ्नो परिश्रमको भाका संगिनी र धान नाचको रुपमा ब्यक्त गर्दछन |
मेहनतकस् मान्छेहरु र राष्ट्रप्रतिको माया जीबनको एउटा महानतम् कार्यको रुपमा लिन सकिन्छ |
कालो बनको बिचैमा खेतालाको गाउँ
साना साना झुपडी छैनन् आमा बाउ
भोका नांगा नानीहरु खेली रहने ठाउँ
हाम्रो देशको व्यवस्था हेर्न त्यहाँ जाउ | (आँशुको भाका, खुशीराम पाख्रिन)

सगरमाथालाई संसारको तेस्रो धुर्ब भनिन्छ | जहाँ चुरे, महाभारत र हिमालय पर्बतको शृंखला छ | यहाँ खोंच, भन्ज्यांग, अग्ला पहाड, सम्म र टम्म मिलेका तराइको फाँट छ | अर्को शब्दमा भन्ने हो भने यहाँ उबड खाबड छ, उकाली छ ओराली छ | टाकुरा छ, बेसी छ | कहिले तल र कहिले माथि गर्दा गर्दै जीबन चल्दछ, यसै गरी जीबन बग्दछ | जीबनको यो भोगाइमा संधै खुशियाली मात्र होइन, ठुलो सन्त्रास र दुख लुकेको छ | कहिले भुइचालोले तर्साउन खोज्छ, कहिले बाढीले अनि कहिले पहिरोले बस्ति बगाउँछ र मनको अत्यास गीतहरुमा यसरी ब्यक्त हुन्छ - "चरी लैजा समाचार, हामी भयौं बेघरबार" ( अन्जन बाबु र संगीत श्रोता) |
रत्यौली पनि गीत हो, प्यारोडी पनि, झ्याउरे, ठाडो भाका, पूर्वको हाक्पारे अनि पश्चिमको देउडा, काँठे भाका अनि यस्तै स्थानपरक गीत संगीत सुन्न सकिन्छ | अरुण उपत्यका एउटा जल्दो बल्दो भेग हो जहाँ शम्भु राइ जुर्मुराए अनि खेम गुरुङ सुनिए |
यसर्थ मलाइ त गीतहरु फुलको माला जस्तो लाग्छ | फूलहरुको बगैंचा जस्तो लाग्छ | मलाई गीतहरु इन्द्र धनुष जस्तो लाग्छ - बिबिध रंगहरुले सजिएको रंगीचंगी आकाश र धर्ति दुवै विचरण गर्ने एक धनुष - इन्द्र धनुष | बाँकि त आ-आफ्नो भोगाई र सोचाइको परिणाम पनि होला - संसार कस्तो होला ? आनी छोइंग कै शब्दमा - " फूलको आँखामा फूलै संसार, कांडाको आँखामा काँडै संसार " | तलका केहि गीतहरुबाट परख गरौँ - गीतहरुको इन्द्रधनुष सरी रंगहरु |
हो हो ...
म त हजुर हो दुर्लुन्गको छोरी
सेतो हिमाल बादलको पछ्यौरी
बिहानी घामको किरण झैँ
सन्ध्याको सुन्दर लाली झैँ
मेरो दुर्लुंग गाउँ
मुसुक्क हास्यो बरिलै | (शान्ति गुरुङ)

पैया गोडा लाग्या, बम्बाई जाने रेल गाडीका पैया गोडा लाग्या
अब छुटन लाग्या पहाडका डां खोला अब छुटन लाग्या
धोइदिन्या कोइ छैन टोपी मैलइ धोति मैलइ धोइदिन्या कोइ छैन
रोइ दिन्या कोइ छैन परदेश मरन्याको रोइ दिन्या कोइ छैन | (भोजराज भट्ट)

उत्तर तिर चाँदीको पर्खाल सजेको दरबार
दक्षिण तिर बगैचा जस्तो चौकीला बजार
मेची र काली शान्तिका संधै गाउने समाचार
यो ठाउंको नाउं, भनन साथी मलाइ एक बार
यहि हो नेपाल, नेपालीको घर | ( प्रेम ध्वज प्रधान र गंगा राना )

आँखैमा राख्छु मेरो देश,
मुटुमा राख्छु मेरो देश
परेलीमा सजाउँछु मेरो देश
गुराँस फुल्ने पाखामा छ यो देशको छायाँ
छायाँ भित्र बसेको छ नेपालको माया | (अन्जना गुरुङ)

अश्रांग , गोरखा, हाल: कटुन्जे, भक्तपुर

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 3 कार्तिक, 2074

लेखकका अन्य रचनाहरु