अन्तर्वार्ता

- पुण्य खरेल

एमएजीले धेरै दिन भएको थियो स्वामी प्रपन्नाचार्यको पुस्तक ‘वेदमा के छ ?’ किनेर ल्याएर आलमारीमा राखेको । कहिले कुन उपन्यासको खुप हल्ला हुन्छ, त्यो ल्याएर पढ्थे अनि बुझ्थे ए, ‘के जातिभन्दा के जाति ठुलो’ भनेको साँच्चै हो रहेछ । अनि फेरि ‘मदन पुरस्कार पाएको फलानो पुस्तक !’ भनेर स्यालहुइँयाँ मच्चिएको सुन्थे र पुस्तक ल्याएर पढ्थे अनि ओठ लेप्राउँथे । यस्तै गर्दैगर्दै कहिले बुकर पुरस्कार पाएको पुस्तक पढ्थे, अझै कहिले नोबेल पुरस्कार पाएको पुस्तक पनि पढ्थे । अहँ ऽ! त्यस्तो अचम्म लाग्दो त केही भेटेका थिएनन् । तैपनि तिनमा अलिकति पटक्कै क्यै नभएकै भन्दा त ज्यास्ति नै हुन्छ । अलिअलि उनको मन खिच्थे पनि ।
एमएजीको नाम त मणि हो । उनी स्कुल पढ्दाताका उनका गाउँमा एसएलसी सम्म पढेका मान्छे पनि थिएनन् । त्यतिबेला पढाइको टुप्पो एमए बुझेकाले र उनको मणि नाम लेख्न अङ्ग्रेजीमा सुरुमा ‘एमए’ चाहिने भएकाले के सुर चढ्यो उनलाई, आफ्नो नाम एमए बनाए । एसएलसी फारम भर्दा त्यति बेला सरले आफ्नो नाम आफैं राख्न दिन्थे । उनले त्यही एमए नामबाट फारम भरेपछि त उनको नाम ‘एमए खपतरी’ रजिस्ट्रेसन पास गरेजतिकै भयो ।
अचेल एमएजी आफ्नो जिल्लामा चल्तीका साहित्यकार भएका छन् । चार–पाँच वटा उपन्यास, चार–पाँच वटा कथा सङ्ग्रह, कविता सङ्ग्रह, निबन्ध आदिका पुस्तक प्रकाशन गरेका उनी चान्चुने होइनन् । उसै त राजनीतिमा पनि उनको नाम अलिअलि चर्चामै छ ।
यति प्रशिद्ध लेखक भैकन पनि ‘वेद’ भने एमएजीको हुति भित्रको पुस्तक होइन । “वेद त भगवानले रचना गरेको हो, यो अपौरुषेय हो” भन्छन् कोही । ‘वेदव्यास’को नाम उनले नसुनेको होइन । ‘विश्वको सर्वप्राचीन लिखित दस्तावेज वेद नै हो” भनेर त सबैले मानेकै पनि हुन् र यसको रचनाकाल इसापूर्व २५००–५००० हो, भनेर पनि पत्यारिलो अनुमान गरिएकै छ । उसै त एकथरी मानिस वेदलाई ज्यादै नपत्याउँदो गरी ‘लाखौं वर्ष पहिलेको’ भनेर पनि भन्छन् । त्यसैले एमएजीलाई वेदमा के लेखिएको छ त ? भन्ने जिज्ञासा भने भएकै हो । पुस्तकको नामले नै लोभ्याएकाले अब भने यही स्वामीजीको पुस्तकमा गोता लगाउने सम्झिएर एमएजी एकोहोरिएका छन् ।
मङ्सिरको बेला । बिहान बेलुका त निकै ठण्डी हुन थालेको छ । पुसको धुम्मिँदो मौसम भने सुरु भैसकेको छैन । आकास छ्याङ्ङ भएकाले आठ–साढे आठ बजेपछि भने पूर्वी घामले न्यानो दिन्छ । एमएजी बिहानको घाम ताप्तै ‘वेदमा के छ ?’ पढ्ने र महत्त्वपूर्ण कुरा नोटबुकमा टिप्ने सुरले बरण्डामा कुर्सीमा बस्न पुगेका छन् ।
उनी ‘वेदमा के छ ?’का पाना पढ्दै पल्टाउँदै, अब चाहिँ आउला वेदको गुह्यकुरा भन्दै पढ्दै पल्टाउँदै छन् । निकै पाना पल्टाउँदा पनि प्याजका बोव्रmा उक्काए जस्तो मात्रै हुँदैछ । वेदभित्रको कुराको सुइँको पनि प्राप्त नहुँदा दिक्क लाग्दै छ ।
“हजुरबुबा ! हजुरबुबा ! यहाँ तपाईंको साथी आउनुभको छ !” नातिनीलाई एमएजीको उमेर मिल्दो कोही आउँदा साथी नै आएको जस्तो लाग्छ, त्यसैले उसले जनाउ गरी वल्लोघर पल्लोघर सुनिने गरी ।
“यता वरण्डातिरै जानू भन् न त ! ढोका घचेट्ता हुन्छ !” एमएजीले नातिनीलाई उच्च स्वरमा भने ।
नभन्दै एक–दुई मिनटमै अकिञ्चन प्रवेश गरे र हात जाड्दै बोले– “नमस्कार एमएसर ! कति पढ्नु हौ, कति पढ्नु ! पढेर कैल्यै सकिएला ?”
“आहो अकिञ्चनजी यति बिहानै ! नमस्कार है ! कसरी बाटो बिराउनुभयो ? बसौं !” आफू पनि उठ्तै अर्को कुर्सीतिर बस्न इशारा गरे ।
“के लेख्तै हुनुहुन्छ हिजोआज ? एउटा उपन्यास लेख्तै छु भन्नु हुन्थ्यो, सिध्याउनु भयो ? कतिन्जेलमा पढ्न पाइएला ?” अकिञ्चनले पुच्छरहरू गाँसिएका प्रश्न सोधे ।
“खै ! सिध्याए के नसिध्याए के ? लेखे के, नलेखे के ? मलाई अचेल पढ्नु–लेख्नुको केही सार्थकता पनि छैन जस्तो पो लाग्न लाग्या छ । जति खौरियो उति खस्रो भने जस्तो पो छ अचेल । मान्छे ‘पैसा ! पैसा ! पैसा !’ भनेर पैसामा एकोहोरिएको छ । विवेक, छ्यान–विचार सब ताकमा राखेर पैसाका लागि होमिएको छ । पढेको नपढेको, डिग्रीवाल नडिग्रीवाल सब एक समान छ । विश्वविद्यालयका प्राध्यापकहरू लेबर भिसामा कोरिया जान्छन्, लेबर भिसामा अमेरिका, क्यानडा काम खोज्दै जान्छन् । अनि भन्नू त अकिञ्चनजी ! हुन त म त्यति टाढा देख्ने मान्छे हुइन । तपाईंहरू पत्रकारका आँखा अलिक तिखा हुन्छन् । यसैले मलाई पढ्न–लेख्न पनि जाँगर मर्न लागेको छ” एमएजीले गनगनको शैलीमा भने ।
“कुरा त महत्त्वपूर्ण नै सुरु भयो एमएसर ! यो पनि प्रसङ्गमा आउला नै । अब सर पनि पढ्नमा व्यस्त हुनुहुन्थ्यो । मैले ‘डिस्टर्ब’ गरेँ कि ! म चाहिँ सरसँग, अस्ति पनि छस्स कुरा त उक्काएको थिएँ ! सरलाई सम्झना होला पनि, आज भने फोनसम्म नगरीकन आएँ ! क्षमा दिनुहोला ! सरसँग एउटा अन्तर्वार्ता लिऊँ भनेर ...” झोलाबाट रिकर्डर निकाल्दै अकिञ्चन बोले ।
“म जस्ता सामान्य व्यक्तिको अन्तर्वार्ताको के भाउ हुन्छ ? न म कुनै पदमा ! न म कुनै पावरमा ! न त्यस्तो अलवल्य सम्पत्तिवाला ! पद, पावर, पैसा तिनटै नभएकासँग अन्तर्वार्ता लिएर अरुका आँखामा किन लन्ठु पत्रकार बन्नुहुन्छ अकिञ्चनजी ? यसरी आफ्नो पत्रिकाको स्तर गिर्छ । अहिले राजनीति मच्चिएको बेला छ । सम्पत्तिवाल मच्चिएको बेला छ । साहित्य थच्चिएको, अझ यथार्थ भन्ने हो भने थच्च्याइएको बेला छ । अनि यस्तो बेलामा राजनेताहरू, सम्पत्तिवालहरु छोडेर अरुका कुरामा कसले कान लगाउँछन् र ! कसले पढ्छन् !” एमएजीले व्यङ्ग्यात्मक रूपमा वर्तमानको तीतो यथार्थ व्यक्त्याए ।
यस्तैमा एमएजीकी पत्नीले दुई वटा कप राखेको थाल लिएर पस्तै भनिन्– “दुध त आज अघि नै केटाकेटीले सट्काए छन् । कालो चिया पो ! ...”
“ए ! मेडम नमस्ते ! चिया त कालै राम्रो हो नि ! मैले त दुधचिया खानै छाडेको ! राम्रै भयो !” अकिञ्चनले लोली मिलाए । मेडम चिया राखिदिएर निस्किन् । अकिञ्चनले फेरि कुराको मेसो तन्काए– “यथार्थमा त राजनीति र नेताबाट नै जनता वाक्कदिक्क हुँदै गएका छन् । साहित्य र साहित्यकार कसैले थच्चाउँदा थच्चिने कुरै होइनन् । मलाई त कस्तो लाग्छ भने साहित्य त जादु हो, साहित्यकार जादुगर हुन् । साँच्चैका साहित्यकारका शब्दशब्दमा जनता लट्याउने जादु हुन्छ । कुन शब्दमा कस्तो मोहिनी हुन्छ त्यो साहित्यकारले जानेका हुन्छन् । ती मोहिनीवाल शब्दहरूको माला लगाई दिएपछि जनता त भुतुक्कै हुन्छन्, लठ्ठिन्छन् । त्यस्ता माला गाँस्न साहित्यकार माहिर हुन्छन् । त्यसैले राजनीतिले वाक्कव्याक्क भएका मान्छेहरूलाई साहित्यकारको अन्तर्वार्ताको चटनी चखाउने जुक्ति हो मेरो एमएसर !”
“अकिञ्चनजी !” एमएजी पुस्तक बन्द गरेर गफ गर्ने सुरमा आफ्नो कुर्सीको मोहोडा अकिञ्चनपटि फर्काउँदै बोल्न थाले– “चिया सेलायो, लिऊँ ! चिया खाँदै कुरा गरुँ !... यसरी फुक्र्याएपछि त मेरो त होसहवास अकासतिर जान्छ । मलाई लुस्यूनको भनाइ सम्झना भैहाल्छ– “वैरीलाई फुक्र्याएर जति अकासमा पु¥यायो त्यति नै उसलाई छाडेपछि जमिनमा पछारिएर उसको हुर्मत हुन्छ” यथार्थमा, जति नै चिरिच्याँटका शब्दले साहित्यकारको बखान गरे पनि अहिले साहित्यकार हेपिएकै बेला हो, दबिएकै बेला हो है अकिञ्चनजी ।”
“तर म त त्यो कुरा मान्दिन” अकिञ्चनले बिचैमा भने– “साहित्य सदाबहार जङ्गल हो । यसमा कहिल्यै पतझड आउँदैन । तर राजनीतिमा कहिल्यै हरियाली हुन्न । राजनीति रक्तपातबाट सुरु हुन्छ, रक्तपातमा मौलाउँछ र लगभग रक्तपातमै त्यसको बिसर्जन हुन्छ र अर्को राजनीतिको जन्म हुन्छ । झुट, जाल, झेल, षडयन्त्र यसका अवयवहरू हुन् । राजनीति सन्चालन हुने अङ्ग मश्तिष्क हो । कठोरता, व्रmुरता, नृशंसता जस्ता कुराहरू यसका गहना हुन् । तर साहित्य सन्चालन हुने अङ्ग हृदय हो । मानवता, प्रेम, करुणा, दया यसका अवयवहरू हुन् । साहित्यमा रसका कुरा भन्नुहुन्छ नि तपाईंहरू ! त्यसकारण साहित्यसँग राजनीतिको तुलनै नगरौं । साहित्य थियो र हाम्रो समाज रह्यो । अब पनि साहित्य छ र नै समाज छ । मेरो कच्चा दिमागलाई त यस्तो लाग्छ एमएसर !”
“तपाईंले महत्वपूर्ण र गम्भीर कुरा उठाउनु भयो” एमएजी भन्न थाले– “सुन्दा त तपाईंले भनेको कुरा हो जस्तै लाग्छ । तर जसरी तपाईंले राजनीति र साहित्यलाई अलग र विपरीत पाटोमा देखाउनु भयो त्यस्तो भने होइन । जहाँसम्म साहित्यको महत्त्वको कुरा छ, म तपाईंसँग विमति राख्तिन, तर राजनीति र साहित्य विपरीत ध्रुवीय होइनन् । यी त एकार्काका पुरक हुन् । तपाईंले देख्नुभएको छ नि, गाउँठाउँमा धामी बस्ता एक जना मूल धामी हुन्छ, ऊ काम्छ, उफ्रिन्छ, ढ्याङ्ग्रो ठोक्छ, फलाक्छ भने अर्को एक जना उसको सहयोगी हुन्छ, उसले धुप हाल्ने, आवश्यक परे अर्को थालसाल बजाइ जोखाना ल्याउन सहयोग गर्ने धुपौरे हुन्छ नि ! हो त्यस्तै धामी र धुपौरे हुन् राजनीति र साहित्य । कतिपय व्यक्तिहरू भन्ने गर्छन्– “साहित्य सबै प्रकारका राजनीतिबाट निरपेक्ष हुन्छ, यो त बिशुद्ध कला हो, सौन्दर्यता यसको आभुषण हो”, तर होइन । साहित्य भनेपछि कलाको कुरा, सौन्दर्यताको कुरा यसका गहना हुने नै भए, त्यति भैकन पनि साहित्य सत्ता पक्षीय पनि हुन्छ र प्रतिपक्षीय पनि हुन्छ । साहित्य हेप्ने–दल्ने पक्षीय पनि हुन्छ र हेपित–दलित पक्षीय पनि हुन्छ । यसको अर्थ हो साहित्य राजनीति निरपेक्ष हुँदैन । लेखक सुब्बा कृष्णलालले ‘मकैको खेती’ लेखेवापत जेल परे र जेलमै सहिद भए, यो हामीले थाहा पाएको कुरा हो । कवि शिरोमणिको प्रशिद्ध कविता ‘पिञ्जराको सुगा’ तत्कालीन राणा शासकका आँखामा खुर्सानी भयो । यस्तो किन भयो त ? यसको विमर्श हुनु पर्छ । यसबाट मलाई लाग्छ, साहित्य र यसको दायित्व वारे अलिक स्पष्ट होइन्छ ।” एमएले एक छिन बिसाएर फेरि भने– “कुरा गर्दा गर्दै बहसमा फँसियो । यो नटुङ्गिने, किनारा नभेटिने बहस हो । बरु, अब तपाईं कुन उद्देश्यले पाल्नुभएको थियो, त्यस वारेमा कुरा गरौं !”
“तर मलाई त तपाईले साहित्यकारलाई नेताहरुको धुपौरे बनाएर होच्याए जस्तो लाग्यो सर ! विमारी निको पार्ने, ढ्याङ्ग्रो ठोक्नेओर्ने त धामी नै हो । धुपौरे त पूरक मात्रै हो, उस्तै पर्दा धुपौरे नभए पनि काम चल्छ । यो त साहित्यकारको घोर अपमान हो नि सर !” अकिन्चनले भने ।
“होइन, कुरै गर्ने हो भने त, चिनको व्रmान्तिमा भाग लिएका साहित्यकार लुसुनलाई कतिले जान्दछन्–चिन्छन् र ! तर माओत्सेतुङलाई ? रुसको व्रmान्तिका नायक मानिने लेनिनलाई संसारभरका बच्चाबच्चाले जान्दछ, तर मेक्सिम गोर्कीलाई ? भारतका जवाहरलाल नेहरुलाई भारतका बच्चाबच्चाले जान्दछ तर प्रेमचन्दलाई ? यो त यथार्थ नै हो । अब तपाईं र मैले बहसमा लुसुनलाई मेक्सिम गोर्कीलाई महत्त्वपूर्ण भनेर के गर्नु र ! यो त कुमालेले हाँडी सर्काए जस्तो मात्रै हुन्छ ! ... फेरि पनि यो बहस नटुङ्गिने सिलसिला सुरु भैहाल्यो । तपाईको आउनुको सन्दर्भतिर लागौं ! यो छलफल गर्दै गरौंला ! कसो ?”
अकिञ्चनले अघि नै रिकर्ड खोलेर दुबै जनाका कुराकानी टिप्ने गरी राखिसकेका थिए । उनी एमएसरको बोल्दै गर्दाको हाउभाउ पनि ध्यानमग्न भएर हेरिरहेका थिए । उनलाई लाग्दै थियो, प्रश्नको मेलो बिना नै महत्त्वपूर्ण कुरा रेकर्ड भैरहेको छ ।
एमएजीकी पत्नी फेरि आइन् र चियाका कपहरू उठाएर निस्किन् ।
अकिञ्चनले प्रश्न गरे– “एमएसर ! हजुरको साहित्य लेखनको प्रेरणा चाहिँ के हो ?”
“अन्तर्वार्ता नै पो लिन लाग्नुभयो त साँच्चै ! मैले यसरी नै बोल्नु परेको त सम्झना छैन मलाई । तैपनि आज ऐतिहासिक दिन रहेछ भन्ने ठान्छु म । जहाँसम्म मेरो लेख्ने प्रेरणाको कुरा छ, स्कुल पढ्दा ती नेपाली अङ्ग्रेजी विषयका पाठहरू, कथाहरू, कविताहरू, तिनका लेखकहरूको चर्चाले, ‘सप्रसङ्ग व्याख्या गर ’’ भन्ने प्रश्नको उत्तर गर्दैगर्दाको उत्तरका कुराले ती पाठ र लेखकप्रति ठुलो आकर्षण थपिन्थ्यो । त्यसले मनमा भित्रभित्रै कवि बन्ने, लेखक बन्ने एउटा मोह जाग्थ्यो । साँच्चै भन्दा मेरो अन्तर्मनमा आरोपित प्रेरणा त्यही नै ठान्छु म” एमएले भने ।
कथा, उपन्यास, कविता, निबन्ध, नाटक कुन विधामा आफूलाई सहज पाउनुहुन्छ ?
मेरा सृजनामध्ये कथा, उपन्यासहरू नै बढी छन् । अझ महाकाव्य एउटै छैन, नाटकको पुस्तक छैन । मलाई लाग्छ, यो यथार्थ दसी हो लेखन सहजताको । मलाई नाटक लेख्न सहज लाग्छ भन्दा तपाईं पत्याउनु हुन्छ र ?
महाकवि देवकोटालाई ‘आफ्ना कृतिमध्ये एउटा कृति रोज्नुप¥यो भने ?’ भनेर सोध्दा ‘मुनामदन बचोस् अरु सबै नष्ट भएपनि” भनेर कामना गर्नू भयो अरे । यस्तै तपाईं आफ्नो कृति रोज्नु परे कुन कृति रोज्नुहुन्छ ?
मेरा आफ्ना सृजनाहरू सन्तान जस्तै हुन्, हातका औंला जस्तै हुन् । यी रोजी–छाडी हुन सकेका छैनन् । त्यसैले मलाई यस प्रश्नको उत्तर दिन खुब सकस पर्छ । मैले यो रोजाइ पाठकहरूमा छाडेको छु । हामी प्रचारको फोबियाले ग्रस्त संसारमा छौं । आम जनतामा एउटा विमार व्याप्त छ, तर सन्चार दुनियाँले अर्कै विमारको औषधीको स्यालहुइँयाँ मच्चाइ दिएका छन् । चाहिने औषधी होइन अर्कै औषधीले कचल्टिएर, ठिँगुरिएर बाँचेको समाजका मान्छेका दृष्टिमा नपरेर रहेको चाहिने औषधी जस्ता ठान्छु म आफ्ना सृजनालाई । ती जुन दिन जनताका पथ्यमा पर्छन्, लाग्छ ती उत्तिकै प्रिय हुन्छन् ।
एमएसर ! एउटा नयाँ प्रश्न सोध्न मन लाग्यो– तपाईंलाई सर्वाधिक मनपरेको नेपाली साहित्यकार वारे सोधेमा के भन्नुहुन्छ ?
हेर्नुहोस् ! आम नेपालीले यो प्रश्नको उत्तर आफ्ना मनमा सन्चय गरेर राखेका छन् । नेपालको शिक्षा प्रणालीले नेपाली साहित्यका तिन महान स्रष्टा महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यशिरोमणि बालकृष्ण समका अनेक कृति पाठ्य सामग्रीमा राखेका कारण र नेपाली साहित्यको स्थापनाकालमा धेरै सृजना र सव्रिmयताले ती स्रष्टाले आफूलाई स्थापित गरेका कारण ती ३ साहित्यकारमध्ये एकको नक्सा मनमा आइहाल्छ । नेपाली साहित्यमा लेखिएका समालोचनाका थाकबाट ती ३ स्रष्टाका कृतिका समालोचना हटाउँदा थाकै गायब झैं हुन्छ । यति भैकन पनि तपाईंको प्रश्नको उत्तर भन्नुपर्दा मेरो मनमा ती तिनदेखि छुट्टै एउटा साहित्यकारको बिम्ब उभिएको छ । आधा सयभन्दा बढी कृतिको सर्जक, महाकाव्य, काव्य, गीतको खलियो सृजना गरेको, यस्तै उपन्यास, निबन्ध र नेपाली वाङ्मयमा वैज्ञानिक चेतना निर्माण निम्ति अनेक कृति सृजना गरेका, मुलुकमा व्याप्त शोषण–उत्पीडनका विरुद्धको लडाइँमा प्रत्यक्ष रूपमा हाम फालेका, जेलनेल भोगेका, निरङ्कुश शासकको कहालीलाग्दा जङ्गली यातना भोगेका, जनजागृतिका लागि राजनीतिक सङ्गठन मात्र होइन, नाटक प्रदर्शन समेत गर्दै हिडेका, एउटा ज्यूँदो मान्छे भन्न सकिने बहुप्रतिभाशाली स्रष्टा हुन्् । म उनलाई नेपाली साहित्यकारमध्ये सर्वाधिक प्रभावकारी, युगप्रवर्तककै रूपमा मान्छु ।
नाम के होला ?
नाम नभनेपनि मलाई लाग्छ यति विशेषण लगाउँदा उनी चिनिन्छन् । नेपालमा छोटो समय मन्त्री पनि बन्न पुगे । तर यसरी एउटा मात्र नाम भन्न लगाएर कसैलाई अप्ठेरो नपार्न म अनुरोध भने गर्छु । एकलो बृहस्पति झुटो । ओदानका तिन वटा खुट्टा किन बनाएको तपाईं हामीले बुझेका छौं । धर्तीमा अडिनका लागि कमसेकम ३ वटा खुट्टाको आवश्यकता पर्छ ।
ल ठिकै छ । उत्तर दिनु तपाईंकै खुसीको कुरा हो । तपाईं पाठकका लागि कुनै एक पुस्तक पढ्न सल्लाह दिनु प¥यो भने कुन पुस्तक पढ्न भन्नुहुन्छ ?
पत्रकारले यस्तो प्रश्न पनि सोधेर हैरान पार्नु हुन्छ ? कुनै एउटा पुस्तकबाट मानिसले कति न ज्ञान प्राप्त गर्छ ? पुस्तकालयमा गएर हेर्नू त त्यहाँ कति हजार पुस्तक हुन्छन् ? अनि एउटा पुस्तक पढ्न सल्लाह दिने मूर्खमा मलाई दर्न लाग्नुभएको हो तपाईं ? कति पुस्तकहरू त एउटा उक्ति पुष्टि गर्न मात्र लेखिएका पनि हुन्छन् । तैपनि यदि पटमूर्खमा दर्न होइन र पुस्तकको महत्त्वका दृष्टिले कुरा गर्ने हो भने र सापेक्षित रूपमा एउटै पुस्तकबाट ज्ञानको चाबी प्राप्त गर्न चाहने हो भने म मोराइस कन्फोर्थको ‘द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद’ पढ्नुहोस् भन्छु । यदि पूर्वीय संस्कृतिमा रुचि रहेका व्यक्तिहुन् भने म उनलाई ‘महाभारत’ पढ्न सल्लाह दिन्छु । अझ फेरि पनि भन्छु, तपाईंको प्रश्नको उत्तरमा मैले जे भनेको भए पनि मानिसले असङ्ख्य क्षेत्रबाट ज्ञान ग्रहण गर्छ । मानिस ज्ञानको जङ्गलमा घुस्रिन सदा बाध्य छ । यहाँका पातपतिँगर, झारपात, बोटविरुवा सबकासब ज्ञान प्रक्षेपण गर्छन् ।
नेपाली लेखकहरूले लेखेका कुनै पुस्तक तपाईंलाई अति नै मन परेका छन् ?
अति नै भन्नु कि नभन्नु, तर मन परेका छन् नि ! किन नहुनु ! उपन्यासकै कुरा गर्ने हो भने, पारिजातको ‘पर्खालभित्र र बाहिर’ जगदीश घिमिरेको ‘लीलाम’, प्रश्रितको ‘देशभक्त लक्ष्मीवाई’ ध च गोतामेको ‘घामका पाइलाहरू’ राम्रै छन् । अझ नयाँको कुरा गर्दा नयनराज पाण्डेको ‘उलार’ मन पर्दा नै छन् । कथा सङ्ग्रहका कुरा गर्ने हो भने गुरूप्रसाद मैनालीको ‘नासो’, रमेश विकलको ‘नयाँ सडकको गीत’, विश्वेश्वरप्रसाद कोइरालाको ‘दोषी चश्मा’ राम्रै छन्, नयाँ कथाकारका कुरा गर्ने हो भने महेशविव्रmम शाहको ‘छापामारको छोरो’, खगेन्द्र सङ्ग्रौलाका ‘नलेखिएको इतिहास’, ‘हस्तक्षेप’, ‘हाँडीघोप्टेको जितबाजी” प्रदीप नेपाल (सञ्जय थापा)को ‘परोपकार यात्रा’ ‘राम्रै त छन् नि । नाटकका कुरा गर्दा गोपालप्रसाद रिमालका ‘मसान’, ‘यो प्रेम’, विजय मल्लको ‘कोही किन बरबाद होस्’ राम्रा छन् । तर कुन चाहिँ सर्वाधिक प्रिय भनेर प्रश्न गर्नु नै उचित होइन । एउटा फुलबारीमा बिभिन्न किसिमका, बिभिन्न जातका रङ्गी बिरङ्गी फुलहरू फुलिरहेका छन् । त्यति बेला तीमध्ये सबैभन्दा राम्रो फुल कुन भन्ने प्रश्न उचित होइन । आआफ्नो विशिष्टताले ती हरेक फुलहरू राम्रा छन्, सुन्दर छन्, अनुपम छन् ।
त्यसोभए, मैले तयार गरेका प्रश्नहरूलाई अनुचित प्रश्न भन्नुभएको हो त ?
होइन । धेरै प्रश्नकर्ताले त्यस्तै प्रश्न गर्ने गरेका छन् र कति उत्तरदाताले उत्तर पनि दिएका छन् । तर प्रश्न र उत्तरले बोक्नुपर्ने गम्भीर दायित्व ती प्रश्नोत्तरले बोक्न सकेनन् भन्ने मात्रै हो । एउटा हँस्यौलीको उपकथा सुनाउँ– हाम्रो गाउँका एक जना कम्नीष्ट नेतालाई अर्को एक सिकारु कम्नीष्टले सोधेछन्– “कमरेड ! माओसेतुङ र हो चि मिन्ह कुन ठुलो नेता हुन् ?” ती नेतालाई उत्तर गर्न सकस परेछ । अनि एक छिन् गमेछन् र उत्तर गरेछन्– “नक्सामा हेर्दा त माओसेतुङकै ठुलो देखिन्छ !” उपरोक्त प्रश्न र उत्तरहरू यस्तै हुन् अकिञ्चनजी ।
सम्वाद चलिरहेको थियो, एमएजीकी पत्नी मेडम ढोकामा देखा परेर सोधिन्– “एक पल्ट चिया दोहो¥याउँ है !”
अकिञ्चनको प्रतिव्रिmया नपर्खीकन एमएजीले उत्तर गरे– “हुन्छ हुन्छ !” कुर्सीबाट जुरुक्क उठेर पत्नीछेउ गएर के खासखुस पनि गरे ।
एक छिनपछि थालमा केही बिस्कुट भुजिया र चियाका कप भएका दुई वटा थाल दुई हातमा लिएर फेरि मेडम प्रवेश गरिन् र दुई जनालाई एक एक वटा थाल सतर्कतापूर्वक राखिदिइन् र निस्किइन् ।
एमएजीले अकिञ्चनतिर सङ्केत गर्दै भने– “लिउँ सर ! लिँदै कुराकानी पनि गरौं !”
“चपाउँदै कुरा गर्दा त कुरा चपाइन्छ । त्यसकारण बरु यी थालहरू रित्याउँ अनि कुरा गरौं । लगभग मेरा प्रश्न पनि अब सकिन लागेकै हुन्” अकिञ्चनले भने ।
दुबै जना चम्चाले थालमा आवाज निकाल्दै उठाएर चिउरा भुजिया मुखतिर लगाउँदै थिए । मुखले मसक मसक आवाज निकालेर पिस्तै पेटतिर खसाउँदै पनि थियो । मुखको त्यो पिस्ने मिसिनका दाँतलाई अर्जाप्न चियाको तुर्को मुखमा हाल्दै पनि थिए ।
यस्तै बेला पल्लाघर, तल्लाघर ‘भैंचालो ! भैंचालो ...!!’ भनेर होहल्ला सुनियो । मान्छेहरू सडकमा घुरूप्प भेला भए । भर्खरै गएको महाभूकम्पले सबैलाई त्रसित बनाएकै थियो । सक्न सक्न लागेको चिउरा भुजिया र चिया छाडेर अकिञ्चन र एमएजी पनि सडकमा आए । कोलाहलमय वातावरणले अन्तर्वार्ताको धागो टुटाए जस्तो भयो ।
“सर ! अब के गरौं ? म फेरि अर्को कुनै दिन आउँ कि ? घरमा केटाकेटी आत्तिए होला !” अकिञ्चनले प्रश्न गरे ।
“ठिकै छ । म त के भनूँ ? अर्को कुनै दिन आउनुभए पनि, या एउटा अन्तर्वार्ताले के न लछार्पाटो लाग्छ र ! यति नै भयो भने पनि त भयो नि !” एमएजीले भने ।
अकिञ्चनले रेकर्डर झोलामा हाले र बाटो लागे ।
×××
लगभग एक हप्ता पछि अकिञ्चनले एउटा पत्रिकामा आफूले आफ्नो अन्तर्वार्ता हेर्ने औसर पाए । साँच्चैको अन्तर्वार्तामा उनले करिब करिब ७÷८ वटा प्रश्नका उत्तर गरेका थिए तर यहाँ पत्रिकामा बिसौं प्रश्न र तिनका उत्तर देखेर उनी छक्क परे । उनले दिएका उत्तरसँग खासै विमती लाग्ने र आपत्ति नजनाई नहुने खालका त थिएनन् तर पनि धेरै बनावटी प्रश्न र उत्तर पढेर उनका मनमा एउटा प्रश्न उब्जियो, के यही हो त अन्तर्वार्ताको यथार्थता ?

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 3 कार्तिक, 2074

लेखकका अन्य रचनाहरु