मेरो सिक्किम यात्रा

- होम सुवेदी

यात्रारम्भ
१. पहिलो दिन
२०६३ चैत्र १० गते को प्रातः झापा भद्रपुरबाट सदम्पदी म यात्राका लागि प्रस्थान गरें । तराईमा बढ्न लागेको तापक्रम र आँधीबेरीका कारण एकै दिन भए पनि शरीरलाई सुहाउँदिलो तापक्रम भएको ठाउँको भ्रमण गर्ने लोभ कताकताबाट हो, केही दिनदेखि लागेको थियो । त्यसमाथि मलाई श्रीमतीबाट पटकपटक कतै पनि नलाने र नघुमाउने भन्ने अपवाद पनि थियो । त्यसैले २,४ दिनलाई भए पनि पहाडी यात्रामा जाऊँ भन्ने मेरो र श्रीमतीको समेत विचार मिलेकाले हामीले सिक्किमतिर जाने अठोट गरिसकेका थियौं । यसैले हाम्रो गन्तव्य सिक्किम नै थियो । यात्रामा सिक्किम नै जाने निधो गर्नुका पछि अर्काे कारण पनि थियो । नयाँ ठाउँको यात्रा पनि हुने, मेरा बूढा मावलीहरूसँग चिनाजानी भएर सम्बन्धको पुनःस्थापना पनि हुने । पशुपतिको जात्रा पनि हुने सिद्राको व्यापार पनि हुने ! त्यसमाथि सहयोगी कृष्ण भाइ पनि साथैमा छन् ! यो भन्दा सहजिलो स्थिति अर्काे मैले देखिनँ । सिक्किम नै जाने विषयको छिनोफानोका लागि भाइ कृष्ण खतिवडा (मेरा सम्बन्धी र मेरै अधीनमा स्नातकोत्तरमा शोध गरिरहेका तथा सिक्किम नै घर भएका छात्र) को पनि गहिरो चासो थियो । यो संयोग निकै फलदायी हुने ठानेर मैले यो निर्णय लिएको थिएँ ।
हामी तीन जना लाग्यौं उक्त दिन विदेशतिर । मेरा लागि त यही थियो विदेश । कसैलाई समुद्रपारिका मुलुक मात्र विदेश हुन्छन् । कसैलाई युरोप र अमेरिकाको भ्रमणका प्रकरणहरू मात्र यात्रा हुन्छन् । कसैलाई भने हवाइयात्राको सुखद अनुभूतिको उल्लेख गरेको कुरा मात्र यात्रा हुन सक्छ । कसैलाई लामो जेटयात्राको अनुभव र संस्मरणलाई मात्र यात्रा लाग्दछन् । मलाई एक त समुद्री वा हवाइयात्रा गर्ने अवसर अब यो जुनीमा पर्ने सम्भावना छँदैछैन । यस्तो सम्भावना नभएका मजस्ताले के कतैको भ्रमण नै नगर्ने ? के युरोप र अमेरिकाको यात्रा मात्रै यात्रा हो ? के बोइङ चढेर गरिने भ्रमण मात्र भ्रमण हो त ? आफैंसँग मलाई रिस उठेझैं हुन्छ । मलाई यसबारे निकै घोरिन पनि मन लाग्छ । के मैले मेरै देशभित्रका अनेक स्थानको भ्रमणबारे पनि केही लेख्नु नहुने ? मैले नून बोक्न ढाकर कसेर धरान–चतरा र बिजनबारी गएको उ बेलाको यात्रा संस्मरण लेख्न किन नहुने ? भद्रपुरदेखि चैनपुरसम्मको यात्रा किन लेख्न नहुने ? (क्षमा चाहन्छु—यो यात्राको प्रकरण तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको प्रकाशनमा पठाएको थिएँ, त्यहाँका मठाधीशहरूले हराइदिए), मेचीदेखि महाकालीको यात्रा किन लेख्नु नहुने ? भद्रपुरदेखि अमरपुरसम्मको यात्रा र ताप्लेजुङको यात्रा किन नलेख्ने ? तमोरका गढ्तिरै गढ्तिर खाली खुट्टाले आठ पाथी नून बोकेर एघार दिन लगाएर हिँडेको यात्राका बारेमा किन नलेख्ने ? अवश्य लेख्ने । मैले आफैंसँग सम्झौता गरें । अनि अझै सम्झिएँ । यस्ता कुरा प्रकाशन गर्न नाक खुम्च्याउने पत्र–पत्रिका निकै छन् । युरोप र अमेरिका वा जापान, जर्मनी र कोरियाको वर्णन गरियो भने त्यो यात्रा रमाइलो हुन्छ । बेलायतमा गएर तरुनी फकाएको र अमेरिकामा गएर रक्सी धोकेको वर्णन गरिएको यात्रा भेटे भने आजका पत्रपत्रिकाहरूलाई रमाइलो हुन्छ । यस्ता विषयहरूलाई नै उनीहरू प्राथमिकता दिएर छपाउने गर्छन् । मैले मेरो ‘पाथीभारायात्रा’ को दारुण कथालाई ‘गरिमा’का लागि पठाएको थिएँ, त्यहाँका दिग्गजलाई त्यो सुपाच्य भएन । किनभने मैले राजा वीरेन्द्रपुत्र दीपेन्द्रको पाथीभरा यात्राको प्रकरण पनि त्यहाँ जोडेको थिएँ । उनीहरूलाई त्यो सुपाच्य भएन र रद्दीको टोकरीमा फाले । मैले मेरो पहिलो ढाकर बोकेर यात्रा गरेको यात्राका बारेमा निकै राम्ररी तयार गरेर एउटा पत्रिकाले मागेको हुँदा पठाएको थिएँ, त्यहाँ त्यो सुहाएन । विदेशमा भारी बोकेको र घोडाको लिदी सोरेको बयान भयो भने यिनलाई बडो सुन्दर हुन्छ, विदेशका बारमा जाँड धोकेर तरुनीका अर्धनग्न र नग्न शरीरको वयान गरिएको अनि ओठ चुसेको दृश्यले सजिएको सामग्री पाए पनि यिनलाई पाइनसक्नुको खुदो हुन्छ । कसाइखानामा मासु प्याक गर्ने काममा पुगेका डलर कमाउनेका नक्कली कुराहरू र तिनको झुटो बाबुसाहेबी बयान छाप्नु र यस्ता काममा लाग्ने तथाकथित यात्रीका विवरणहरू मात्र सार्वजनिक हुने कुरा सम्झँदा मन कोक्याउँदै म यात्राक्रम अघि बढाउँछु । यस्तैमा भए पनि मेरो यात्रा जारी थियो । मनभरि हीनताको ग्रन्थीले अँठ्याइरहेका थिए । आफ्नी स्वास्नीलाई बेलायतको सैर गराएर चरम आनन्द भोगेको अनुभव गर्नेहरूका अघि मलाई हीनताको आभास भइरहेको थियो । थुक्क म पनि कति अभागी रहेछु ! विदेशीहरूलाई झुक्याएर नक्कली काम गरेको भए उहिल्यै अमेरिका पुगिसक्ने थिएँ । अथवा कालो धन्दा गर्नेहरूको भरिया भइए तिनको लादी ओसारपरासर गर्नेहरूका कुम्लो बोक्ने गरेको भए पनि विदेशको सफर त गरिरहन्थें । तै जे भयोभयो यसमा कसैको केही खाएको छैन । कसैको नोक्सान गरेको छैन भन्ने जस्तो कुरा मनमा ल्याएर आत्मसन्तोष हुँदै थियो । आफूले आफैंलाई सान्त्वना दिइरहेको थिएँ ।
“हैन तपाईं के घोरिरहेको ! अचम्म छ बा !” अचानक मेरी श्रीमतीले मलाई तन्द्राबाट ब्यूँझाइन् । अनि पो यसो हेर्छु त हाम्रो गाडी बागडोग्राबाट अघि बढिरहेको रहेछ । मेरा आँखामा उत्तर बङ्ग विश्वविद्यालयको बोर्ड ठोकियो । श्रीमतीलाई अनि भनें—“अस्ति एमफिलका विद्यार्थी र एम.ए.का विद्यार्थीहरूको भाइभा लिन आएँथें नि । यही विश्वविद्यालयमा हो । यहाँबाट रु पाँच तिरेपछि रिक्साले विभागमा पुर्याइदिन्छ । बुझ्यौ ?” उनले बुझेको सङ्केत गर्दै मुन्टो हल्लाइन् । अनि अघिकै प्रसङ्गतिर मेरो मन गएछ । हिम्मत नहार् भाइ ! यात्रा भनेको यात्रा हो । चाहे पैतालाले फोका उठाउँदै गरेको यात्रा होस्, चाहे गोरुगाडाका भएको यात्रा होस्, चाहे उलिन काठमा गरिएको यात्रा होस्, चाहे अन्तरिक्ष यात्रा होस् । मलाई त ती नयाँ युगको कुरालाई मात्र र त्यसको वर्णन गर्नेहरूको चुरीफुरीलाई मात्र महत्व दिने नयाँ चस्मा लगाएका लाटाबुङ्गाहरूमाथि दया लागेर आउँछ । बेलायतको बोइङ सैर गर्नेहरूले पैतालामा फोका उठाएर गरिने यात्रा कहाँ जानून् । मलाई सोध्न मन लाग्छ— अमेरिकाको यात्रा नर्गेलाई ‘दमको झार्नु’ भनेको के हो ? केकस्तो अवस्थामा दमको झारिन्छ ? बोइङको यात्रा गरेर आफ्नो व्यक्तित्व तीन बित्ता माथि पुगेको अनुभव गर्ने र आफ्ना भरौटेहरूसँग साँठगाठ गरेर त्यही यात्राको गथासोमाथि पुरस्कार पनि पड्काउन पछि नपर्ने ढँटुवारे उलाहाहरूसँग सोध्न मन लाग्छ— बाटो हिंड्दा सेउली हातमा किन लिइन्छ ? अनि मलाई सोध्न मन लाग्छ जापान र कोरियाको भ्रमण गरेर आफ्नो नाक सगरमाथा भएको ठान्ने मुर्कुट्टाहरूलाई–हिंड्दाहिंड्दै छेपारी सरे भने के गरिन्छ ? होस् यो सब कुरा ! तर केचाहिँ चित्त बुझाउनै पर्छ भने यस्ता यात्रामा ढाँट कुरा र बडप्पन नहुने भए त राम्रै पनि हो । त्यसलाई म नराम्रो भन्दिनँ । तर अवैध रूपमा विदेश छिरेर आफ्नो देशको नाक काटेर उताबाट घोक्रेठ्याक पाएकाहरू पनि यहाँ आएपछि के के न गरें भन्दै तथानामका यात्राविवरण लेख्छन् र आत्मविज्ञापनका गथासाहरू डकार्छन् । यहाँका पत्रपत्रिका पनि त्यस्ता गनाउने डकारका ढाँट कुरालाई महत्व दिने गर्छन् त्यसमा मात्रै मेरो आपत्ति हो ।
काँकरभिट्टाबाट सिक्किम (उहिलेको सुखिम) को जोरथाङसम्मका लागि भारतीय रुपियाँ १३० जनही लाग्दो रहेछ । जिपमा जान सकिने रहेछ । हामी त्यहीबमोजिमको जिपमा चढ्यौं । सिटभन्दा माथि एक जना पनि हालिएन । मलाई त्यति नै पनि सन्तुष्टिको विषय थियो । यता भए मान्छेमाथि मान्छे हालिएको हुन्थ्यो । खुट्टामाथि खुट्टा हुन्थे । आइमाई केटाकेटी भन्न पाइन्नथ्यो । सार्वजनिक साधनमा चढेर यसरी सिटभरिका यात्रूहरूमात्र हालिने गाडीमा यात्रा गर्न पाउनु मात्र पनि अहोभाग्य हो भन्ने लाग्यो मलाई । अर्काको देश भनेको अर्काकै हो । काँकरभिट्टाबाट पारिपट्टि पुगेदखि नै मलाई अर्काको देश भन्ने भावना आउन थाल्यो । भारतीय भूमिमा पसेपछि कताकता नजानिदो अप्ठेरो अनुभव हुन लाग्यो तापनि मलाई सधैं आएको ठाउँ भएकोले उति नमज्जा भने भएन । बिहारतिर भए कैंचीमारदेखि डराउनुपथ्र्यो यता बङ्गालतिर उति डर हुँदैन । नक्सालबाढी, उत्तर बड्ग विश्वविद्यालयको गेट, बागडोग्रा, दार्जिलिङ्मोड हुँदै सिलिगुढी बजारलाई दाहिने पारेर हाम्रो गाडी लगातार हुँइकिइरेको छ । मेरा मनभरि कुराका कुरा मडारिरहेका छन् । म कहिले अतीतको कुनामा पुग्छु कहिले वर्तमानको घेरामा आउँछु ।
सिलिगुढीलाई पछाडि छाडेर हामी उत्तरतर्फ लाग्यौं । रिक्सा, बस, कार, जीपहरूको घुइँचो केही कम भयो । दायाँबायाँ सेनाको विशाल ब्यारेक आयो । सफा बाटो हर्न बजाउनु नहुने, बिस्तारै हाँक्नुपर्ने जस्ता सङ्केत सेनाका सीमाभित्र थिए । हाम्रो ड्राइभरले त्यही नियम पालन गर्दै अघि बढेको अनुभव गरिरहेको छु । दुवैतर्फ घना जङ्गल छ । अग्ला अग्ला साल, सिसौ र अन्य वनस्पतिका वृक्षहरू छन् । हाम्रामा भए उहिल्यै भागवन्डा लागिसक्थ्यो । यहाँ वनमा पस्न र बिरुवा पात चलाउन छिरिक्क पाइन्न भन्ने कुरा कृष्णले गरे । आफ्नो देशमा पनि यस्तो कानुन भएदेखि कति राम्रो हुँदो हो भन्ने सोच्तासोच्तै हामी बाघपुलमा पुग्यौं ।
बाघपुल
हाम्रा आँखामा बाघपुल ठोकियो । यसको इतिहास हेर्न पाए पनि हुन्थ्यो भनेजस्तो लाग्यो । तर हाम्रो गाडी लगातार अघि बढिरह्यो । नौ बजेतिर हामी त्यहाँ पुगेका थियौं । मलाई मनमा लाग्यो यो पुल सय सवासय वर्षको भयो होला । मैले १९६८ सालमा पहिलोपटक यसलाई देखेको थिएँ । ऊ बेला पनि यो पुल यस्तै थियो । आज पनि यो पुल जस्ताको तस्तै छ । टिस्टा खोलामा खर्कुंडे शैलीले बनाएको यो पुल निकै अग्लो छ । अर्धचन्द्राकारको शैलीमा बनेको यो पुलको प्रविधि देखेर मलाई बडो रमाइलो लाग्यो । टिस्टाको यो पुल तरेर पूर्वतिर लाग्नु हो भुटान जानु । हामीलाई त्यता जानु थिएन । मलाई त बाघपुलको निर्माणकौशलता र तत्कालीन इन्जिनियरको सिप सम्झेर नतमस्तक हुन मन लाग्यो । आजको सिमेन्ट र कालिगढीको बच्काना कार्य सम्झँदा पनि मन खिन्न भयो । यदाकदा पुलहरू बनाउँदा बनाउँदै भत्किएको कुरा सुनिन्छ । कति त केही वर्षको आयु पनि नबिताई धराशायी हुन्छन् । करोडांैको नोक्सान गरेर राष्ट्रलाई कति ठूलो घात गर्दा रहेछन् भन्ने पनि लाग्यो । बाघपुलको वारिपारि दुवैतिर बसेका दुईदुई बाघका आकृतिहरू पक्की शैलीमा बनेका छन् । यसैले यसको नाम बाघ पुल रहेको हुनुपर्छ भन्ने सोच्तै थिएँ हामी टिस्टाबजार पुगेछौं ।
यो टिस्टा बजार १९६९ सालको पैरोले बगाएको मलाई झल्याँस सम्झना भयो । त्यसलाई बडा पुल भनिन्थ्यो । त्यसको अहिले नामनिसानै नभएजस्तो छ । तर पारिपट्टि उ बेलाका पुलका लठ्ठाहरू झुन्डिरहेका देखें । बडा पुल उतिखेरै बगाएको थियो टिस्टाले । त्यतिखेर म कालिम्पोङमा पढ्थें । त्यो साल आएको बाढीले बडा पुल मात्र होइन यस वारिपारिको बजार नै सोहोरेर लगेको थियो । धेरै मान्छेहरूले ज्यान गुमाएका थिए । कति बेपत्ता भएका थिए । यस पैरो र त्यो भयानक बाढी, पैरो र उलाउका बारेमा विभिन्न लेखकहरूले आफ्नो स्मृतिस्वरूप लेखेका छन् । यस बाढीले दार्जिलिङ, कालिम्पोङ, खर्साङ र सिक्किमको गाउँका गाउँ नै बगाएर ठूलो जनधनको खती भएको थियो । टिस्टाबाट बगेका एक जना मारबाडी बेपारीको छोरालाई उसकी आमाले छ महिनासम्म बाटो हेरेकी थिइन् कालिम्पोङमा । मलाई त्यो कुरा अझ पनि सम्झना छ ।
मैले ऊ बेलाको भन्दा केही तलतिर बनेको नयाँ पुल तर्दै गर्दा सम्झिएँ— त्यो पैरो गएको बेला म कालिम्पोङमै थिएँ । मैले जिविका लागि कालिम्पोङको मेन भन्दा तलतिरको सानो ठाकुरबाडीमा बिहानै पुजा गर्ने र आरती गर्ने काममा जानुपथ्र्यो । त्यो बिहान पनि म ठाकुरबाडीको मन्दिरमा पुजा गर्न जाँदै थिएँ । कालिम्पोङको बाघधाराका छेउमा माथि भानुभक्तको सालिकनिरबाट आएको पहिरोको बाक्लो लेदो भरिएको रहेछ बाटाभरि । बाटो तरिहालिएला नि भन्ने ठानेर हिलैमा सुरुवाल माथि तानेर तर चप्पल नखोलिकन तर्न खोज्दा मेरो एउटा चप्पल त्यही लेदोमा भासिएर हराएको थियो । अर्काे एउटा मात्र चप्पल लाएर के जाने भनेर खाली खुट्टै म मन्दिरमा गएको थिएँ । हिलो लागेर बिग्रिएको सुरुवाल कमिज र मेरा खालि खुट्टा देखेर ठाकुरबाडीका मालिक हरि मारबाडीकी आमाले सोधेकी थिइन्– “के भयो होङ्कार ?” (मलाई उनी होङ्कार भन्थिन्) बाघधारानेर पहिरो गएको रहेछ । पहिरो तर्न खोज्दा मैले लगाएको एउटा चप्पल गुमाएँ । गिलो र थुप्राले भरिएको बाटालाई पार्न गर्न खोज्दा दलदलमा मेरो एउटा चप्पल भासियो र हरायो । अर्काे एउटा मात्र के लाउने भनेर फ्याँकिदिएँ भनेपछि उनले मलाई बडो माया गरेर एक जोर चप्पल किन्न चार रूप्या दिएकी थिइन् । अनि मैले बाटाकम्पनीका हवाइ चप्पल किनेको थिएँ । अहिले पनि त्यो कुरा झलझली सम्भन्छु कसो चप्पलै मात्र हराएछ ! त्यस्तो भासमा चप्पल भासिएजस्तो म पनि भासिन बेर लाउने थिनइँछु । अहिले मलाई लाग्छ । त्यस बेलाको कालिम्पोङ बसाइको प्रकरण अर्कै छ । यस सन्र्भमा ती कुरा गर्न थाल्यो भने मेरो यात्रा अवधि ३०, ४० वर्ष अघितिर जान सक्छ । म ता वर्तमानमा पो छु त ! मेरा साथी छन् । अहिले मेरो चप्पल हरायो भने कसैले किनिदिइहाल्नु पर्ने स्थिति उति छैन । बरु आँटे भने कसैलाई किनिदिन नै सक्छु । मेरी श्रीमती छिन् । मेरा छोराछोरी छन् । मेरो एउटा सानो घर छ । मेरा इष्टमित्र छन् । एउटा क्याम्पसमा प्रथमश्रेणीको प्राध्यापक छु ।
यस्ता केही गन्थन मन्थनहरू सम्झँदैमा हामी त मल्लीमा पो आइपुगेछौं । कालिम्पोङमा पढ्दा यही मल्लीसम्म हामी दाउरा खोज्न आखएका थियौं । यहाँको पुल तरेका थियौं । सिक्किमलाई छोएका थियौं । उतिबेला तेस्रो मुलुकमा पुगेको अनुभव गरेका थियौं ।
मल्ली सिक्किम पस्ने मूल द्वार हो । यहाँ अलि बढी चेकिङ् हुन्छ भन्ने सुनिएको थियो । हो रहेछ । तर हामीलाई त्यस्तो केही भएन । अलिक गरीब गुर्बा र लुवाइखुवाइमा पनि साधारण देखिनेलाई भने निकै हैरानी दिएको देखियो । सोझासाझा नेपालीलाई भने निकै हैरानी बेहोर्नुपरेको घटना पनि देखियो । हाम्रा गाडीका ड्राइभरलाई पुलिसले केही सोध्यो । उसले सहज रूपमा केही जवाफ दियो, अनि गाडी सरासर अघि बढायो । मनको सानोतिनो त्रास त्यसै भाग्यो । मन प्रसन्न भयो ।
यात्राक्रममा हामी अझ अघि बढ्यौं । हामीलाई १२ बजेतिर जोरथाङ बजार बडो सजिलो गरी गाडीले पुर्याइदियो । अनि हाम्रो पहिलो गाडीको आजको यात्रा सकियो । जोरथाङ बजारको सुन्दरता हेरेर हामी बडो मन्त्रमुग्ध हुँदै थियौं । यहाँबाट हामीले हाम्रो गन्तव्यका लागि अर्काे गाडी लिनु पर्ने थियो । गाडीको समय १ बजे भएकाले हामीलाई एक घन्टाको समय त्यो स्थानको रमणीयता हर्ने अवसर पर्यो । हामीले बिहानै केही हल्का खाना घरमै खाएकाले भोक त्यति लागेको थिएन । हल्का चियानास्ता होटलमा गरेर हामी बजारमा केही बेर घुम्यौं । कृष्ण गाडीको टिकटमा लागे । हामी भने बजारको परिक्रमा गर्न लाग्यौं ।
जोरथाङ
पहाडको फेदीमा र टिस्टाको किनारमा अवस्थित जोरथाङ बजार झन्डैझन्डै रिडीजस्तो लाग्यो । यो बजार धाप परेको सम्म टारी जमीनमा अवस्थित छ । कति सफा, कति सुघ्घर, कति राम्रो ! यतै बस्न पाए पनि हुने जस्तो ! तर पहाडको फेदीमा औलोमा भएकाले गर्मी भने मधेशकै जस्तो हुँदो रहेछ । हाम्रो देशमा यस्ता टारी परेका ठाउँ कति छन् कति । जोरथाङजस्ता सहर बन्ने ठाउँ कति छन् कति ! तर यो अभागी मुलुकमा त्यस्ता ठाउँको विकास गर्ने कसैलाई चासो छैन । पूर्वको अरुण उपत्यका र पश्चिमतिर अनेकौं उपत्यका भन्न सकिने टारीहरू त्यसै लडिरहेका छन् कसैको आँखामा नै नपरी । यसमा कसैलाई चासो छैन । शहरीकरणका नाममा काठमाडौं खाल्टोमा बस्तीका घनिघसाइ छ । सलहजस्तो गरी जनसङ्ख्या थुपारेको छ थुपारेको छ ! देशको उन्नतिका लागि सत्तालाई विकेन्द्रित गरेर जनसङ्ख्याको घचारो घटाउने कुनै उपाय नै सोचिँदैन । केही कमायो, काठमाडौंमा घर बनायो, केही पढ्यो काठमाडौंमा खाँदिएरकोचरियो । बस, हाम्रोमा त यही परम्परा छ । कहिले देशमा विकेन्द्रित विकास होला ! कहिले जनसङ्ख्या काठमाडौंबाट अन्यत्र पनि आउला ! मलाई भने जोरथाङको रनवन देखेपछि आफ्नै देशको बेथिती सम्झेर मन त्यसैत्यसै अमिलियो ।
जोरथाङको परिवेश, समाज, त्यहाँका बासिन्दा, त्यहाँको चालचलन र त्यहाँको बोली व्यवहार देखेर हामीलाई अचम्म लाग्यो । कति मिठो बोली वचन, कति राम्रो सेवा सत्कार, कति राम्रो आनीबानी ! धन्य सिक्किम ! धन्य जोरथाङ !
एक बजे हामी फेरि अर्काे यात्रामा लाग्यौं । अबको हाम्रो गन्तव्य थियो—गेजिङ बजार । पहिलो गाडी टिस्टाको किनारैकिनार हुँइकिन्थ्यो । अबको गाडी रङ्गितको किनारै किनार हुँइकिन थाल्यो । पहाडको बाटो भए पनि अनुभवी चालकहरू भएकाले हामीलाई कुनै त्रास भएन । डर पटक्कै लागेन । बाटामा पर्ने सानातिना बजार पार गर्दै हामी लगातार अघि बढिरह्यौं । प्रत्येक गाउँमा बत्ती पुगेको देखियो । घरहरू खरको छानो भएका एउटा पनि देखिएनन् । प्रत्येक गाउँलाई छुवाउने गरी पक्की बाटोको बन्दोबसत रहेछ । कतै पनि छलछाम छैन । गाडीमा एउटा मात्र मान्छे सिटभन्दा बढी हालिन्न । यात्रूहरूलाई तानातान गरेर दुःख दिएको देखिँदैन । कसैले कसैमाथि अन्याय गरेको देखिएन । माग्नेहरूले दुःख दिएको पनि देखिएन । यता हाम्रो देशमा हो भने गाडी रोकिनासाथ माग्नेहरूको धुइरो लाग्छ । यहाँ कतै पनि मगन्तेहरूको दृश्य देखिएन । बिहारीहरूले चाना, चट्पटे, मकै, काँक्रा भनेर हैरान पार्ने थिए । त्यो पनि देखिएन । अनि मैले सहयात्रीसँग सोधें—‘यता लुटपाट, डाकाडकैती, गोजी काट्नेहरू र मगन्तेहरू छैनन् जस्तो लाग्यो मलाई त ?!’ उनले मलाई सहज रूपमा उत्तर दिए—‘त्यो त बिहारी शैली पो त ! यहाँ त्यो शैली आजसम्म उति फैलिएको छैन ।’
यस्तै क्रममा हामी तातोपानीको छेउमा पुग्यौं । तातोपानीको प्रसिद्धि सुनेको थिएँ । रङ्गितको किनारमा पो रहेछ ! यो ठाउँ ता कुनै डाडाँका थाप्लामा होला भन्ने सोचेको थिएँ । सोचाइ भन्दा ठीक उल्टा भयो । गाडीबाट हिंड्दै गर्दा देखियो । रङ्गित खोलाको एकापट्टिको किनारमा खोलाको पानीकै छेउमा एउटा कुन्डजस्तो बनाएको रहेछ । केही मान्छेहरू त्यसमा पसेका देखिए । पानीको कुन्डमा टाउको मात्र देखिने गरी डुबिरहेका थिए । त्यसको नजिकै एउटा मन्दिर पनि रहेछ । हिउँदामा मात्र यसमा जान सकिँदो रहेछ । वर्षामा रङ्गित बढेपछि यो आफैं खोलाको मध्यभागमा पर्दाेरहेछ । यसलाई नवनिर्माण गरेर व्यवस्थित भने गरिएको देखिएन । हाम्रो लक्ष्य यो थिएन । यसैले यसलाई आँखाले हेर्नुभन्दा र सँगैका साथीहरूसँग यसबारे केही बुझ्नुभन्दा बाहेक यसबारे अरु केही अनुभव गर्ने अवसर पाएनौं । हामी लगातार यात्रा गरिरह्यौं । यहाँ हाम्रो इलाम बजारमा साप्ताहिक हाट लागेजस्तो हाट लागेको सँगै यात्रा गर्ने यात्रूले मासु किन्न खोजिन् । तर अघि नै सकिएकोले उनले पाइनन् । हाम्रोमा पनि पहाडी हाटमा यस्तै हुन्छ । त्यो हाटमा मान्छेहरू डोका नाङ्लामा आफ्ना उत्पादन विक्रीका लागि राखेर बसेका थिए । फिदिम पो हो कि भनेजस्तो भान भयो ।
हामी ४ बजे रङ्गितको किनाराको यो यात्रा छाडेर उकाला लाग्यौं । अब गेजिङ पुग्न धेर थिएन । अर्काे आधा घन्टाभित्रै हामी गेजिङ बजार पुग्यौं । पहाडको निकै उचाइमा रहेको यो बजार पनि उत्तिकै मनमोहक छ । पश्चिम सिक्किमको मुख्यालयका रूपमा यसको विशेष महत्व रहेछ । हेर्दा बडो सुन्दर, सफा र स्वच्छ देखिने यो बजार पनि मन लोभ्याउने किसिमको छ । निकै जाडो रहेछ । शहरको पुछारमा रहेको गाडीको पार्कका छेउमा भानुभक्तको शालिक रहेछ । यहाँ पनि भानुभक्तको शालिक रहेको देख्दा मलाई कता कता रम्घाको सम्झना भयो । यो बजार पहाडको धापमा र केही सम्थरिलो ठाउमा छ । जाडो छ चैत्र वैशाखको यो याममा पनि । दिउसो भरि रमाइलो सँग घाम लाग्छन् । रातभरि कतिखेर हो पानी पर्छ । सुरम्य वातावरण, सुन्दर र मनोहर स्थल । यतै बसौं बसौं र जीवन बिताऊँ लाग्ने !
हामी ५ बजेतिर गेजिङको बजार केही परिक्रमा गर्छौं । कृष्णका आफन्तहरू मनग्गे भेटिए । मेरा बूढा मावलीको ऐतिहासिक बर्मेक गाउँ यहाँबाट पारिपट्टि पर्दाे रहेछ । जानु हो भने अर्काे एक घन्टा हिंड्नुपर्ने रहेछ । तर आज जाने अवसर र समय थिएन । एकजना माइला मामाको घर नजिकै थियो तर कृष्णले आफ्नै घरमा जाने र त्यहीं बस्ने आग्रह पहिलेदेखि नै गरेका थिए । फेरि लाग्यौं हामी अर्काे सानो यात्रामा । आधा घन्टापछि गेजिङबाट अर्काे गाडी चढेर त्यहीं नजिकै रु.१० को आधा घन्टाको बाटोको दूरीमा रहेको उनका दाजु दिनेशको घर लिङचामतिर ।
पहराको मध्यबाट फोरिएको कहालीलाग्दो बाटोबाट हुँदै हामी साझसाँझ अघि बढ्यांै । केही उज्यालो नै थियो । मलाई पहरो काटेर अघि बढिरहेको बेला पाँचथर र ताप्लेजुङको यात्राको सम्झना भयो । जोरपोखरीबाट गोपेटार गएको भान भयो । हामीलाई लिएर जिप बिस्तारै अघि बढ्यो । साँझ पर्नपर्न लाग्दा हामी गन्तव्य लिङचाम पुग्यौं । साँझ पर्न लागेको थियो । कृृष्णका दाजु दिनेश घरमा रहेनछन् । अघि नै उनी कहाँ
छन् भन्ने हामीले थाहा पाइसकेका थियौं । हरेकका हातमा मोबाइल फोन हुनु यहाँको साधारण कुरा हो । कृष्णका दाजु अर्थात् मेरा भाइ आफ्ना गुरुको निधनको दशौं दिनको समवेदनामा सामेल हुनका लागि आफ्ना साथीहरूका साथ खर्साङ गएको कुरा पहिल्यै थाहा थियो । खर्साङबाट मल्ली हुँदै राति नौ बजे घर आइपुग्ने कुरा बुझियो । उनका परिवार, उनका आफन्त र बहिनीहरूका साथ तथा नानीहरूका साथ साँझ बडो रमाइलो गरी हामीले बितायौं । राति साढे नौ बजे कृष्ण पनि टुप्लुक्क आइपुगे । हाम्रो परिचय भयो । दिनेश बडो सहयोगी र इलाकाभरिका प्रिय तथा हेर्दै खाइलाग्दा र सारै राम्रो आकृतिका मान्छे रहेछन् । मेरी श्रीमती विना उनको स्वभाव र चालचलन देखेर दङ्दास भइन् । हामीले पहिलो दिनको लामो यात्रालाई विश्राम दियौं ।
दोस्रो दिन
लिङचाममा जाडो निकै छ । बिहान तातो चिया खाएर तातो पानीमा स्नान गरेपछि जिउ केही तात्यो । रातभरि पानी परेकाले बिहान निकै चिसो छ । भर्खर घाम लाग्दै छन् । बिहानको नित्यकर्मपछि हामी गाउँमा भेटघाट गर्न लाग्यौं । नजिकै साइ पाठशाला रहेछ । सानासाना नानीहरूलाई नैतिक शिक्षा दिन र जीवनको शुरुदेखि नै सही मार्गदर्शन गर्ने हेतुले गाउँगाउँमा नैतिक पाठशालाहरू खुलेका रहेछन् । हामी पाठशालामा पनि गयौं । सानासाना नानीहरूको जीवनको आरम्भदेखि नै सही मार्ग पहिचानका लागि यस्ता पाठशालाहरूको महत्वपूर्ण भूमिका हुने रहेछ । नैतिक शिक्षा र चारित्रिक शिक्षाको महत्व यस्तै अवस्थाबाट दिएको देख्ता मलाई बडो गम्भीर हुन मन लाग्यो । लिङ्चाम र पश्चिम सिक्किम भरि मामासर भनेर चिनिने दलमान ‘पीर’ जो एक भद्रपुरुष हुनुहुँदो रहेछ उहाँको घरमा हामी ९ बजेतिर गयौं ।
उहाँको आतिथ्य ग्रहण गरियो । उहाँ पश्चिम सिक्किमतिर निकै ख्याति कमाएको साहित्यकार पनि हुनुहुँदो रहेछ । उहाँका साथ साहित्यिक गफ पनि भए । साइभक्त भएको र त्यो दिन बिहान साइसमारोह परेकाले हाम्रो लामो गफ हुन पाएन । दिउसो साहित्यिक भेटघाट हुने कुरा उहाँले गर्नुभयो । थोरै समयको भेटघाट भए पनि मैले निकै फलदायी सम्झें ।
खाना खाएर हामी दिउसो गेजिङ गएर साहित्यकारहरूको कार्यक्रममा सहभागी हुने कार्यक्रम तय गरियो । तय भएअनुसार हामी २ बजेतिर पश्चिम सिक्किम साहित्य परिषदको सानो कोठामा गयौं । केदार गुरुङ, उपमान बस्नेत, बी.आर.उप्रेती, दलमान ‘पीर’, प्रवीण राई लगायत स्थानीय १०, १५ जना साहित्यकारहरूको सानो जमघट रहेछ । गेजिङमा एउटा नाटक मञ्चन गर्ने क्रमको बहस हुँदै रहेछ । मिटिङ चलिरहेको स्थानमा हामी एकाएक पुग्दा उहाँहरू हर्षित भएर हाम्रो हार्दिकताका साथ स्वागत गर्नुभयो । हामी दम्पतीलाई त्यहाँ हार्दिकताका साथ स्वागत गरियो । उहाँहरूको मिटिङ सकिएपछि त्यस समारोहमा औपचारिक रूपमा हाम्रो स्वागत गरियो । मैले उपहार स्वरूप मेरो ‘मर्माहत’ कथासङ्ग्रह प्रदान गरें । उहाँहरूले उक्त संस्थाको मुखपत्र ‘स्रष्टा’ द्वैमासिकको ५५ अङ्क, दलमान ‘पीर’ज्यूको ‘ज्योतिपुत्र’, उपमान बस्नेतज्यूको ‘ज्योतिपुञ्ज’ कथा सँगालो, प्रवीण राई ‘जुमेली’ ज्यूको ‘आत्मदंश’ कथाजसँगालो आदि कृतिहरूको उपहार आदनप्रदान पछि मलाई उहाँहरूको हार्दिक प्रेम रउपहार प्रदाको बारेमा धन्यवादका केही शब्द नभनिरहनु उचित लागेन । “मेरो मामाघर सिक्किम हो, मेरा आत्मीयहरूको थलो हो सिक्किम, मेरो संस्कार र संस्कृति सिक्किमसँग गाँसिएको छ । नेपाली संस्कार र संस्कृतिको जिवन्त नमूना नै सिक्किम हो, मेरी श्रीमती र म यस आत्मीयतालाई हार्दिकताका साथ स्वीकार गर्दछौं । हामी कृतकृत्य छौं” भन्ने जस्ता भावपूर्ण कथनहरूका साथै उहाँहरूको आतिथ्य र उपहारको लागि मैले कृतज्ञताका केही भनाइ उहाँहरूसमक्ष राखें । त्यसपछि हामीले उहाँहरूका साथ फोटो खिचायौं । कृष्णका शोधनायक उपमान बस्नेतसँग लामो अन्तर्वार्ता लियौं र औपचारिक रूपमा हामी त्यहाँबाट बिदा भयौं । साँझपख गेजिङ बजार भन्दा केही तल मूल बाटाकै छेउमा पर्ने माइला मामाको घरमा गएर परिचय र आत्मीयताका साथ बिदा भएर लिङचामकै बासमा फर्कियौं । मलाई लाग्यो यो दोस्रो दिन निकै उपलब्धिपूर्ण भयो ।
तेस्रो दिन
आज हाम्रो गान्टोक जाने कार्यक्रम तय थियो । बिहानै खानपिन पछि दिनेश आफ्ना स्कूलतिर लागे । उनकी श्रीमती आफ्ना स्कूलतिर लागिन् र हामी भने गेजिङको मोटर स्टेन्डतिर लाग्यौं ।
११ बजेको गाडीमा हामी गान्टोकको यात्रामा फेरि हुँइकियौं । भाइ दिनेशले गान्टोकमा काइँला मामालाई अघि नै फोनबाट हामीहरू आइरहेको कुरा भनिसकेका थिए । त्यसैले गान्टोकमा पुगेपछिको कुनै समस्या थिएन । त्यसैले मन ढुक्क थियो । गन्तव्य बेटुङ्गाको र अनभिज्ञ भयो भने मन खिन्न हुन्छ । तर हामीलाई त्यो समस्या थिएन । बिस्तारै सिक्किमको अवलोकन गर्दै हामी अघि गइरहेका थियौं । कृष्णले त्यहाँको स्थान र त्यहाँका विशेषताहरूका बारेमा सूचना दिइरहेका थिए । रङ्गित तरेर उकालो लागेपछि रमाइलो गाउँ आयो । अलिक माथि पुगेपछि गेजिङकै देब्रे पाटामो भारतीय सिनेमाका नायकका रूपमा चर्चित डेनि डेन्जोक्पाको सिरोर्ट देखियो । पहाडको थाप्लामा अवस्थित त्यो मनोहर स्थल पारिबाटै भए पनि बडो सुन्दर रूपाकृतिमा देखियो ।
एक बजेतिर हामी लाबाङ शहरमा पुग्यौं र चिया हल्का रूपमा चिया नास्ता गर्यौं । यो तीन हजार मिटर जति उचाइमा रहेको पहाडी शहर हो । यसको सुन्दरताले हामीलाई झन् लोभ्यायो । धेरै सिनेमाहरूका लागि सुटिङ गरिएको यो शहरको सुन्दरता साँच्चैको अपूर्व लाग्यो । पहाडको भन्ज्याङमा रहेको यो शहर सारै स्वच्छ र सफा रहेछ । कतै हिलो मैलो देखिएन । व्यापारकेन्द्रका रूपमा यसको ख्याति रहेछ । अग्लाअग्ला घर, फराकिलो बाटो, ट्राफिकको राम्रो व्यवस्था र स्वच्छताले भरिएको यो शहरले मलाई हाम्रै पाँचथरको रवि बजारको झलक दियो । यस शहरको मध्यभागबाट हामी पहाडको उच्चाइलाई कम गर्दै दायाँतिरबाट हुँदै अघि अझ अघि बढ्यौं । यहाँका दर्शनीय स्थानहरू हेर्न पाए पनि हुन्थ्यो भन्ने मलाई लाग्यो । तर के गर्ने ? यात्राको साधन आफ्नो अधीनको थिएन । हामी त भाडाको गाडीमा थियौं । जब उसलाई जाने मन हुन्छ, त्यस्ता गाडीमा यात्रा गर्नेहरूले जानुपर्छ, जब उसलाई बस्ने मन हुन्छ यात्रीले बस्नुपर्छ । तर पनि आफूले भ्याएसम्मको यात्रानुभव समेट्दै हामी गन्तव्यतर्फ हुर्रिदै थियौं ।
सडकको दायाँबायाँ बाटामा गुराँस फुलेको देखियो । चुत्रो र मल्लिणोको वन देखियो । पात्ले घारी देखियो । एेंसेलु पनि पाक्न पाक्न लागेका देखिए । लेखाली बनस्पतिहरूले ढाकेको बाटो निकै तय भयो । ठाउँठाउँमा थुन्सेमा घिउ, थुर्पी, कोपी, साग, सब्जी, दही, र केही फलपूmलहरू बेच्न बसेका मान्छेहरू देखिए । हाम्रा ड्राइभर लगायत गाडीमा यात्रा गर्ने धेरै यात्रीहरूले तर्कारी, छुर्पी, सागसब्जी र अन्य खाद्यवस्तु किने हामीले भने केही किन्ने कुरा थिएन । मलाई लाग्यो—यो पहाडमा पनि युरियाले फुलाएका कोपीहरू हुँदा रहेछन् । अनि सहयात्रीहरूसँग भने—“युरियाले अचेल केही शुद्ध खान पाइने होइन । यी सबै हावाले फुलाएका बेलुनजस्ता चिज मात्रै ता हुन् नि !”
तत्काल सहयात्रीले प्रतिवाद गरे—“सिक्किममा फर्टिलाइजर प्रतिबन्ध गरिएको छ । यहाँ युरियाको नामै पाइन्न । यहाँ जे पाइन्छ शुद्ध र सफा पाइन्छ ।” यस्तो पनि हुन्छ भनेर म छक्क परें । हाम्रो देशमा ता ताप्लेजुङको खोक्लिङका कृषकको बारीदेखि दार्चुलाको पहाडी गाउँमा पनि आज युरियाले ढाकेको छ । कसरी यो कुरा सम्भव छ, विना युरिया पनि हुन सक्छ र भनेझैं भयो । हाम्रोमा युरियाको खेती हुन्छ, युरियाको व्यापार र युरियामा मिसावटका धन्दा हुन्छन् र जनतालाई सधैं मिसावटको धन्दा गर्न सिकाइन्छ । अब हामीले कहाँ पाउनु यो संस्कार भनेजस्तो लाग्यो ।
पहाडको मनोरम यात्राका क्रममा हामी क्रमशः लेखबाट बेंसीतिर झरिहेका थियौं । ३ बजे हामीलाई सिङताम पुर्याइयो । खोलाका किनारमा रहेको सिङताम बजार अर्काे झन् सुन्दर रहेछ । यहाँको रमणीयता अलौकिक लाग्यो । यसै ठाउँबाट मल्लीतिर आउने बाटो र गेजिङतिर जाने बाटो छुट्टिएको रहेछ । यो एक प्रकारको मुहुटी रहेछ । पूर्वपश्चिमतिरबाट गान्टोक जानुपर्दा यसै शहरलाई छोएर जानुपर्दो रहेछ । हामी धेरै बेर त्यहाँ रोकिएनौं । अब बिस्तारै खोलाको किनारै किनार गान्टोकतिर हाम्रो गाडी हानियो । वारिपारिको दृश्य हेर्दै हामी गान्टोक पस्ने रानी पुलमा ४ बजे पुग्यौं ।
हाम्रो गन्तव्य गान्टोकको कृषिभवननिर थियो । त्यहाँ पुग्नु केही पहिल्यै हामीले गाडी छोड्यौं । बिस्तारै बजार पनि हेरिने यसो कोसेली पनि लगिने भनेर बजारै बजार हामी हिंड्न थाल्यौं । एउटा दोकानमा केही सामान किनेपछि मैले भने—“प्लास्टिकको झोलामा हालिदिनुहोस् न !”
मेरो कुरा सुन्नासाथ दोकानेले सतर्क गराए—“यहाँ प्लास्टिकको कुरा नगर्नुहोला । यहाँ प्लास्टिक प्रतिबन्धित छ । त्यो तपाईंले हातमा लिएका प्लास्टिकको झोला तुरुन्तै लुकाइहाल्नुहोस् नत्र अहिले पुलिसले देख्यो भने तपार्इं रु ५०० मा पर्नुभयो !”
उनको कुरा सुनेपछि पो मलाई डर लाग्यो । मैले यतैबाट लिएर गएको प्लास्टिकको झोलामा केही कुरा बोकेर हिंडिरहेको रहेछु । हतपत्त मैले त्यो झोला लुकाएँ र भने—“यहाँ प्लास्टिकको कारोबार छैन ?”
अनि उनले भने—“यहाँ सस्तो र वातावरणलाई बिगार्ने प्लास्टिकको कारोबार गर्न निषेध छ । तपाईंहरू नेपालबाट आएको जस्तो छ हो ?”
मैले सहमति जनाउँदै हो भनें । अनि हामी लाग्यौं बाटो । कस्तो सतर्कता ! यहाँ भए कसले मान्ने सरकारी निर्णय ! एकपटक यहाँ पनि प्लास्टिकको कारोबार बन्द गर्ने काम भएको थियो । तर कसरी हो त्यसको कुनै महत्व नै नदिई यथावत् छ । धन्य हाम्रो सरकार र धन्य यहाँको व्यापारी वर्ग । म सम्झन्छु— जहिले यहाँ प्लास्टिकको कारोबार थिएन त्यतिबेला यहाँ कुनै सामान किन्नुपर्दा ठोंगामा दिने चलन थियो । ठूला ठोंगामात्र पनि आधा किलोसम्मका बनाइन्थ्यो भन्ने सुनिन्थ्यो । एक पाउ सामान किन्न गयो भने ठोंगा मात्र सय ग्रामका हुन्थे । जनतालाई त्यस किसिमबाट ठगिन्थ्यो । अहिले सस्तो र अस्वस्थकर प्लास्टिकको बेपार भइरहेको छ । ओजनमा फरक नपरे पनि स्वास्थ्यमा परोक्ष रूपमा हाम्रो राष्ट्रलाई यस स्पास्टिकले यहाँ ठूलो घात गरिरहेको छ ।
हामी साँझसाँझ पर्दा नपर्दै पुग्यौं मामाघर गान्टोकमा रामचन्द्र नेपालको घरमा । मध्य शहरमा रहेको ७ तले घरमा हाम्रो खुब स्वागत गरियो । म त आतिथ्यले अभिभूत भएँ । माइजू, भाइ, बुुहारी, सम्बन्धीहरू सबैले हामीलाई बडो स्नेहका साथ सम्मान सरे । मामा सिक्किमको पावरहाउसको लेखाफाँटको उच्चतहको कर्मचारी हुनुहुन्छ । उहाँको बानी बेहोरा बडो मिजासिलो र फस्र्याइलो छ । आत्मीयलाई लाडप्यार गर्ने बानी उहाँसँग छ । हामी पहिलोपटक उहाँकोमा पुगेका छौं । अपरिचित भए पनि चिरपरिचित जस्तो व्यवहार हाम्रोमाझमा तुरुन्तै स्थापित भएको देखेर मेरी श्रीमती बडो हर्षित भइन् । मामाले मलाई आत्मीयताका साथ औधी माया गर्नुभयो । कृष्ण पनि उहाँका भानिज हुन् । उनलाई पनि उत्तिकै स्नेहको भावले व्यवहार गर्नुभयो । खानपीन सकेपछि हामीले नेपाल टेलिभिजनमा नेपालको खबर हेर्यांै । यहाँ पनि नेपाल टेलिभिजन ! म बडो अचम्ममा परें । यहाँ प्राय सबैका घरमा नेपाल टेलिभिजन हेरिदो रहेछ । नेपालका टेलिश्रृङ्खला पनि हेरिदो रहेछ । मलाई यो थाहा पाएरनिकै खुसी लाग्यो । नेपालबाहिर पनि नेपाली खबर सुन्न पाउनु खुशीकै कुरा थियो । अनि त्यही राति नेपाल टेलिभिजको हाल निकै चर्चित भएको हास्य श्रृङ्खला ‘मेरीबास्सै’ हेरेर हास्यौं । त्यो साँझ पनि मावलीको मेजमानी र आत्मीयताका साथ बडो स्मरणीय भएर बित्यो । मनमा बडो प्रसन्नता आयो । मेरी श्रीमती म भन्दा पनि अझ खुसी भइन् । राति सुत्ने बेलामा उनले भनिन्—“आफ्ना यस्ता असल मान्छेहरू पनि त रहेछन् । कहिल्यै मलाई चिनाउन ल्याउनुभएको थिएन ।”
मैले भनें—“सबै थोक मौकाले मात्र पाइन्छ वीना !” यस्तो केही गफगाफ गरेर हामी त्यो रात मस्तसँग घरमा सुतेझैं सुत्यौं ।
चौथो दिन
आज मामाले हामीलाई खानपिन गरेपछि गान्टोक घुमाउने कार्यक्रम थियो । रामनवमीको दिन परेकाले हामीलाई घुमाउन उहाँले बिदा लिनै परेन । बिदाको दिन थियो । आफ्नै माहिलो छोराले आफ्नै गाडीमा गान्टोक घुमाउन लानुभयो । गान्टोकका सम्पूर्ण दृश्यावलीहरूको अवलोकन गरियो । कन्जन्जङ्घा हिमालयको अवलोकन गर्न भिउ प्वाइन्टमा गएकोमा बालदलले ढाकेको हुँदा दृश्यावलोकन हुन सकेन देखिएकै भए पनि मलाई त्यो दृश्य नयाँ हुने थिएन । म कन्चजनजङ्घाको काखमा जन्मेको मान्छे । रातदिन त्यसको अवलोकन गरेको मान्छेलाई यो देखिनु र नदेखिनुमा उत्रो अन्तर थिएन तापनि मेरी श्रीमतीका लागि त्यो अवसर सुनौलो हुने थियो । तर अवसर परेन । छुट्टीको दिन भएकाले सिक्किमको राष्ट्रिय सचिवालय, संसदभवन, केबुलकार, वाटर सप्लाइको मुहान, फ्वालर गार्डेन आदि स्थानमा हामी निर्बाध रूपमा गयौं । त्यहाँका भव्यतालाई खुब आनन्दका साथ अवलोकन गर्यौं । चिडियाखाना वा नेशनल जुको पनि अभिरुचिपूर्वक अवलोकन गर्यांै । शहर परिक्रमा पनि रमाइलोका साथ गर्यौं । खाजा खाने बेला भएकाले हामी फक्र्यौं । खाजा खान त मामाले अघि नै फोन गरेर बन्दोबस्त गरिसक्नु पो भएको रहेछ । शहरको मध्यभागमा अवस्थित ९ तले भवनको सिरान तलामा हामी पुर्याइयौं । त्यो थियो स्थानीय सिक्किम कलेजमा प्राध्यापन गर्नुहुने डा.श्रीमती पुष्पाको घर । एउटै पेशाको मान्छे भएकाले पुष्पाजीसँग हाम्रो परिचय हुन कुनै बेर लागेन । उहाँले उत्तर बङ्गबाट विश्वविद्यालबाट ‘सिक्किको समकालीन नेपाली कविता’ विषयमा विद्यावारिधि गर्नुभएको रहेछ । मेरा साथी डा. भीमकान्त उपाध्याय उहाँको शोधनिर्देशक भएको थाहा पाएपछि त म झन् खुशी भएँ । हाम्रो आत्मीयता केही छिनमै निकै प्रगाढ भयो । उहाँको आतिथ्यस्वरूप मिठो खाजा नास्ता खाएर साँझतिर हामी घर फर्कियौं । माइजूका माइती अधिकारी भएको र मेरा पनि मावली नै परेकाले साँझ उहाँका घरमा लगाइएको चैते दशैं नवरात्रको पूजामा सरिक भएर दानदक्षिणा समेत प्राप्त गरियो । खान खाइवरी सुत्न लाग्दा रातको ११ बजेको थियो । भोलि बिहानै ६ बजे काँकरभिट्टा जाने गाडीको टिकटसमेत मामाले काटिदिनुभएको हुँदा हामी बिहान चाँडै उठ्ने गरी सुत्यौं । अनि भोलिपल्ट बिहान आएकै उही बाटो हुँदै हामी मामाका घरबाटै आफ्नो यात्रालाई समाप्त गर्दै घर फक्र्यौं ।
संक्षेपमा सिक्किमको यो ४ दिने हाम्रो यात्रा अत्यन्तै फलदायी भएको मैले अनुभव गरें । त्यहाँको स्वच्छता र निश्छलपनले मलाई अभिभूतै गरायो । मानवताको अनुपम उदाहरण त्यहाँ देखियो । न हत्याको कुरा छ न हिंसाको कुरा छ । न अपहरण र बन्द हडतालको कुरा छ न त कसैले कसैमाथि अन्याय गरेको कुरा छ । आफ्नो लाइनमा सबै लागेका छन् । कानूनको सर्वाेपरिता सबैले स्वीकारेका छन् । छिरिक्क मात्र पनि कानून विपरीतको कुरा हुन पाउँदैन । सबै सजग छन् । आफ्नो काममा सबै इमानदार छन् । आफ्नो घरगृहस्थीलाई सुव्यवस्थित पारेका छन् । छलकपट, लालचा, ईष्र्या देशमाथिको बेइमानी कतै पनि पाइएन । नैतिक शिक्षाको महत्व त्यहाँ रहेछ । चारित्रलाई उठाउने, स्वस्थ प्रतिश्पर्धा त्यहाँ रहेछ । धार्मिक इमानदारी त्यहाँ रहेछ । शिक्षाको महत्व त्यहाँ रहेछ । पठितलाई सम्मान गर्ने परम्परा त्यहाँ रहेछ । सुसंस्कार त्यहाँ रहेछ । त्यहाँ सबै थोक रहेछ । मलाई लाग्यो—नेपालमा पनि चाहिने यी सबै कुरा नेपालबाट भागेर त्यतै गएर बसेका रहेछन् । नेपालमा अब के फर्किएलान् र यी सबै कुराहरू !
चैत्र मसान्त २०६३

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 3 कार्तिक, 2074

लेखकका अन्य रचनाहरु