छोरीसँग चिडियाखाना

- भेषराज रिजाल

छोरीको रोदनपूर्ण जिद्दीलाई समर्थन गर्दै चिडियाखाना जान गाडी चढ्दा सम्झनामा साँचिएको आफ्नो बाल्यकाल फर्किएर आएझैँ लाग्यो मलाई । जावलाखेलस्थित सदर चिडियाखाना पुग्न आधाघण्टा पनि लागेन होला । तर, आफ्नो सिङ्गो विगत नबोली सडकछेउबाट पार भएझैँ लागिरहेथ्यो ।
बाबु–छोरीको प्रवेश शुल्क एकसय पचास रूपैयाँ तिरेर भित्र छिरेपछि शौचालय छेवैको पीङ र चिप्लेटीमा नजर परे छोरीका । ऊ पीङमा मस्त झुलिरहँदा म आफ्नो बालवयका सम्झनाहरूसँग वयली खेलिरहेको रहेछु ।
आहा कति रमाइला थिए ती दिनहरू ।
कहिले गोठको दलिनमा, कहिले बाँसको लिङ्गो गाडेर चउरमा त कहिले बाली उठाएर फुक्का भएको खेतबारीको आलीकान्लाको रुखमा हालिएको पीङमा मच्चिँदा कम्ति रमाइलो हुँदैनथ्यो । तिनै खेतबारीमा कहिले सागभात त कहिले पिँडालु, सखरखण्ड, तरुल उसिनेर खाइएको निश्चिन्तता, स्वाद र सन्तुष्टिसहितको वनभोज जीवनकै असीम मनमोज भएर स्मृतिपटलमा अङ्कित भएको छ । स्कुल जाँदा र फर्कँदा ढुङ्गेनी हतियारले खाल्डाखुल्डी पुर्दै हामीले सम्याएको बाटो देखेर अभिभावकहरू पनि प्रभावित हुनुहुन्थ्यो । कसैलाई समस्या परे तत्काल सुनुवाइ गर्ने नेता र उपनेतासहितको टोली बनाएका थियौँ । हरेकले आफूले जानेका कथा, कविता सुनाउनुपर्ने, स्कुल जाँदा–आउँदा लाइन लागेर विस्तारै हिड्नुपर्ने, भीरको बाटो भएकोले टोली छोडेर एक्लै हिँड्न नहुने, साथीभाइबीच झैझगडा गर्न नहुने आदि नियम बनाएका थियौँ हामीले । जागेश्वर, ओमप्रसाद, ढकराज, दयाराम, हरि, बैकुण्ठ, मोति आदि बालसखाबीचको सानो वृत्त भए पनि भातृत्व, मेलमिलाप, सहकार्य, सहयोग, सद्भावयुक्त एउटा विशाल सभ्य समाजको शुरुवात गरेका रहेछौँ हामीले त्यतिबेला, अहिलेको बिग्रिएको, भल्किएको सामाजिक अवस्था केलाउँदै सम्झन्छु मैले ।
रमाइला क्षणहरू निमेषभरमा बितेर जाँदा रहेछन् ।
तरेली परेका गह्रैगह्रा भएको विशाल फाँटमा कुद्दै अनेक खेलमा भुल्दा कति छिटै बितेछ बाल्यकाल । केटाकेटीमै परिपक्व भएको भन्दै अचेल मप्रति आफन्तले राख्ने अभिव्यक्तिले झन् छटपटिन्छु कहिलेकाहीँ । छोटो बाल्यकाल मेरो आफ्नो स्वभावले झन् छोटिएको पो रहेछ त ! त्यसले दिएको मिठो सम्झना जिन्दगी जिउने दह्रो सहारा भएझैँ ठानेर फेरि चित्त बुझाउँछु । घाँस दाउरा, मेलापात, पढाइलेखाइ गर्दागर्दै जागिरे पासोमा अल्झिएपछि भने गाउँघरदेखि बिरानो भएको छु । छोरीको पीङ मच्चाउँदै उसका सुकोमल चाहना बुझ्ने प्रयास गर्दा जीवनमा प्राप्त अनमोल पुरस्कारहरू सम्झेर आफ्नो बाल्यकालसँगै गुन्गुनाउन पुगेँछु एक्लै–
खेतमा पानी लगाउन जाँदा
कुलामा निबुवा भोगटे बगाउँदा
घाँस दाउरा गर्न वनमा जाँदा
खोलामा गई पौडी खेल्दा
हिउँदमा गाईवस्तुु खेतमा चराउँदा
खेतका गरा कान्ला कुद्दा हाम्फाल्दा
सोत्तर ओसार्न जाँदा
निर्धक्क अबेरसम्म वनमै रमाउँदा
काफल ऐँसेलु खान जाँदा
बाटो बिराएर वनमै हराउँदा
स्कुलबाट फर्केर घर आउँदा
बाटोमै डण्डिबियो कपर्दी खेल्दा
बाल्यकाल मसँगै थियो
अनन्त उत्साह उमङ्ग थियो
सम्झेर बाल्यकालका ती सुखद दिनहरू
बितिरहेछ वर्तमान पनि खुसीखुसी !
पीङ खेलेर छोरीको धीत मरेपछि नजिकैको हात्तीको छेउको एकहूल रमिते मान्छेको जमातमा मिसियौँ हामी पनि । एउटा खुट्टो खुम्च्याएर पीडा व्यक्त गरिरहेको बूढो हात्तीको आँखाबाट बहिरहेका थिए आँसुका अविरल धारा । हात्तीको टाङमुनिबाट केटाकेटी छिराएर त घरि मान्छेले चढाएका पैसा सुँडले टिप्न लगाएर माउतेले पैसा बटुलिरहेको थियो । मान्छेका यस्तै धनमग्न सोच र अरू प्राणीको पीडामा रमिते हुने प्रवृत्ति देखेर विरक्ति उत्पन्न हुन्छ कहिलेकाहीँ ।
हेलिकप्टरको पीङ नचढी धरै दिइनन् छोरीले । लामो लाइनमा कुरेर हेलिकप्टरको पीङमा घुमियो । लाइनै नबस्ने र हाकाहाकी लाइन मिच्नेहरू यहाँ पनि भेटिए । यस्तैले गर्दा पहुँच र प्राप्ति दुरुह हुन गई निमुखा, निरीहहरूको लाइन र पर्खाइ झन् लामो बन्न पुगेको छ यो दुनियाँमा । तर यो सब थाहा नपाएझैँ रसिला सम्वादमा भुलेर पर्खाइको नमिठो पल गुजार्यौँ हामीले । पीङ खेल्दा कस्तो होला ? घर गएपछि के खाने ? आजको के के कुरा आमा र हजुरआमालाई सुनाउँछौ ? यस्तै यस्तै बाल चाहनासँग परिचित हुँदा म झन् रमाएको थिएँ ।
केटाकेटीको पीङमा मच्चिँदा पनि भित्रैदेखि अनुभूत हुने डरले पैतालादेखि शीरसम्म हल्लायो । आफूबाट छुटिसकेको जिन्दगीको सुनौलो बालवयका त्यस्ता सम्झना कोट्याउँदै छोरीको अनुभूति जान्न चाहेँ मैले । अलेली डराए पनि हरपल खेल्न चाहने बालचाहना केही हदसम्म पूरा भएकोमा रमाएकी थिई ऊ पनि । उसको खुसी देखेर म झन् रमाएथेँ । यतिखेर मलाई अनुभूत भइरहेको छ सन्तान प्रेम र सुखानुभूति । सन्तान ठूला भएर आमाबाबुको इच्छा पनि यसरी नै पूरा गरिदिनु पर्दोरहेछ, जसरी सन्तान सानो हुँदो उसका अव्यक्त चाहना बुझेर सबै पूरा गरिदिन्छन् आमाबाबुले । आफू बाबु भएपछि छर्लङ्ग भएको सबैभन्दा ठूलो सांसारिक रहस्य यो मेरो । सानोमा आमाबाबुले पूरा गरिदिएका हरेक इच्छा, नराम्रा काम रोक्न गरेका हप्कीदप्की तथा आजपर्यन्त गरेको मायाममता सम्झेर हरपल द्रविभूत भइरहेको छु म । आफ्नो कर्तव्य पूरा गर्नुको साटो कृतघ्न हुने जमात बढेको दुनियाँमा आमाबाबुदेखि टाढा बस्नुपरेको आफ्नो जागिरे बाध्यता सम्झेर एकछिन भावुक हुन पुग्छु फेरि म ।
आज २०७१ साल भाद्र २८ गते शनिबारको दिन ।
दुस्वप्न जस्तै विगतले झस्कायो एकपटक फेरि नराम्ररी । एकवर्ष अघि आजकै तीथिमा अर्थात् २०७० साल असोज ७ गते बित्नुभएको थियो सासु आमा । क्यान्सर लागेर करिब छमहिनादेखि थला परेकी उहाँको स्याहारसुसार गर्न गएकीथिई राधा । छोरी र म पनि भेट्न गइरहन्थ्यौँ पटकपटक । मेरो बेफुर्सदिलो जागिर भएकोले छोरीको रेखदेख गर्न आमा काठमाडौं आएर बस्नुभएको थियो । उता घरमा बुबा पनि बिरामी हुनुभएको थियो । ‘दिन बिग्रेपछि सर्वत्र समस्या’, भनेको साँचो रहेछ ।
सम्पत्ति हत्याएका छोरा बुहारी भने विदेश रहेको वहानामा बिरामी भएदेखि छमहिना थलिएर परलोक भएकी आफ्नी आमाको काजक्रिया गर्नसमेत आएनन् । आखिर राधा र दाइले गरे काज किरिया । यही भनेर सबैले चित्त बुझायौँ– जिवित छँदा आमा भेट्न नआउनु र बितेपछि काज क्रिया गर्न नभ्याउनुमा उनीहरूको वाध्यता होला । सिकिस्त हुँदा बेहोशी र पीडामा बर्बराएर आमाले छोराको नाम लिएको देख्दा दुनियाँप्रति नै धिक्कार लागेर आउँथ्यो कहिलेकाहीँ । यत्ति प्रार्थना गर्न चाहन्छु, बिरामी भएका आमाबाबुले अन्तिम अवस्थामा आफ्नो सन्तानको मुख हेर्न खोज्दा तर्किने सन्तान कसैका पनि नहुन् यो दुनियाँमा । आर्थिक हानी नोक्सानी त के ज्यानै जाने भए पनि यस्तो नगरुन् कसैले ।
आमाको वार्षिक पुण्यतीथिमा समेत उनीहरू आएनन् । श्राद्धलगायत पितृकार्य गर्न राधा दुईसाता अघि नवलपरासी गई । छोरीलाई ज्वरो आएको र मेरो दाँत दुखेकोले हामी बाबुछोरी भने काठमाडौंमै बस्यौँ । बिरामीबाट थोरै तङ्ग्रिएकी छोरीले जिद्दी गरेकीले चिडियाखाना छिरेका थियौँ आज ।
छोरीले मिनी ट्रेन पनि चढिन् । खेलेर अघाएपछि बल्ल अगाडिका अरू दृष्यले तान्न थाले उसलाई । र त, पशुपन्छीको दुनियाँमा प्रवेश ग¥यौँ हामी ।
यसअघि चिडियाखाना आउँदाका अनेक घटनाहरू सम्झन्छिन् छोरीले । त्यतिबेला उसले चितुवालाई चिजबल र मैले बाँदरलाई रोटी दिएका थियौँ । पोखरीको डुङ्गामा टहलिन लाग्दा ठूलो पानी परेकोले छेवैको टहरानेर छाताले बाछिटो छल्दै ओतिएका थियौँ । ठूलो पानीले तर्सेर होला, गैँडाको केटो फनफनी घुम्दै थुनिएको सानो चउरमा दौडेको थियो बेस्सरी । पानी विदो भएपछि भिजेको शरीर र खुम्चिएको मन लिएर हतारहतार बाहिर निस्किएका थियौँ हामी ।
अघिल्लोपटक उसकी आमासमेत साथै हुनाले ऊ चउरमा दौडिँदै रमाएकी थिई । आज भने उसको त्यो चञ्चलतामा कमी भएझैँ ठानेर म फेरि उसलाई खुसी बनाउन अनेक उपाय खोज्दछु । जुद्ध शमशेरकी आमाको सालिकनेर उसको फोटो अनेक पोजमा खिचेर देखाउँछु । बाह्रसिङ्गा, जरायो, घोरललगायतका पशुपन्छी देखाएर तिनीहरूका बारेमा बताउँछु ।
जङ्गली भेडो नाउर देखियो । हुँडार सुतिरहेथ्यो । हिप्पोको छेउमा थोरै बन्दागोबीका पात सुकिरहेका थिए । हिलाको आहालमा थुनिएका दुईतीनवटा गैँडा आशातीत नजरले बारछेउ उभिइरहेका थिए । साँच्चै साह्रै साँघुरो भयो गैँडालाई यो ठाउँ । केही बाँदर हेर्दै पाटे बाघ भएतिर पुगिएथ्यो । रीसले तल्लो ओठ लत्र्याउँदै तलमाथि गर्दै निस्कने ठाउँ खोजेझैँ घुमिरहेको थियो बाघ । रातो बाँदरका फुच्चेहरू भने थुनिन पर्दाको पीडा भुलिसकेझैँ अरूले फालिदिएको बदाम निष्फिक्री टिप्दै थिए । पोखरीछेउको सानो खोपीमा उग्राइरहेका थिए केही अर्नाहरू । वनमान्छे मस्तसँग आफ्नै धुनमा पीङ खेलिरहेथ्यो । त्यसले भनेझैँ लाग्थ्यो, रमितेहरूको वास्ता गर्नुहुँदैन, आफ्नो कर्म छोड्नुहुँदैन । स्याल, भालु, चितुवा हेर्दै अगाडि बढेथ्यौँ हामी ।
बिचरा पशुपन्छीहरू मान्छेको लागि जिउँदा सहिद भएका छन् । यतिका मान्छेको प्रवेश दस्तुर र विभिन्न निकायको अनुदान कहाँ थन्क्याएका होलान् यी गरिब, निरीह सर्वहारा पशुपन्छीले । बिहान खाए भरे के खाने ?, भरे खाए भोलि के खाने ? जस्तो अवस्थामा जीवनभर भोकतिर्खा, नजरबन्द, कैद, मान्छेको विशालु नजरको उत्पीडन र पराधिनता भोगिरहेछन् बिचराहरू । सर्वत्र साँघुरो, हिलो, न्यून आहाराले दुब्लाएका बिरामी जस्ता वन्यजन्तु देख्दा लाग्थ्यो, यी पशुको जति पनि सहनशीलता, इमान्दारिता र नैतिकता नभएका मान्छेलाई निकालेर नेपाल खाल्डोलाई ‘पशुराज्य’ घोषणा गरिदिए यी समस्त जीवजन्तुउपर न्यायोचित हुने थियो कि ?
मयुर, मुनाल, सुनौलो कालिज, बकुल्ला, परेवा हेर्दा भने एकछिन बहलिएथ्यो मन । अजङ्गको ठूलो चरो आष्ट्रिच देखेर चकित परेकी थिइन् छोरी पनि । पढाइको सुगा सम्झेर सामुन्नेको सुगा चिनिथिन् छोरीले । गोहोरो, कछुवा, गोमन, अजिङ्गर, माछा, नीलगाई आदि हेरेर बिर्सेथेँ मैले पनि आफैँलाई ।
थाहा पाएथेँ, आफू र आफ्ना पीरहरूलाई बिर्सनुमा हुँदोरहेछ असीम आनन्द ।
फर्केर गेटमा आइपुग्दा दिनभर सूर्य रश्मीले नुहाएर आफ्नो बासस्थानभित्र छिर्न लागेका घडियाल गोहीले तानेथे नजर एकछिन ।
चिडियाखानाबाट निस्केर बाटो लागे पनि एउटा प्रश्नले भने बाटो छेकिकरह्यो निकैबेर– थुनिएर मान्छेको कोलाहलयुक्त आतङ्क दिनहुँ भोगिरहन कति गाह्रो हुँदो हो ती जीवजन्तुलाई ?

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 3 कार्तिक, 2074

लेखकका अन्य रचनाहरु