पोखराको यात्रा

- अर्जुन यावा

“अर्जुनको फेरि अन्तर्राष्ट्रिय टूर होलाजस्तो छ।’’
साँझ समय दैनिकमा ‘प्रुफ’ हेर्दैगर्दा डिल्लीराम दुलाल दाजुले यसो भन्नुभएको केहीदिनमा प्रेस क्लब अफ सिक्किमका अध्यक्ष भीम रावत दाजुको फोन आयो।
“भाई, पोखरामा देवकोटो लू-शुन एकाडेमीको ‘अन्तर्राष्ट्रिय काव्य सङ्गम’ कार्यक्रम छ। जाने हो?’’
पोखरा पहिलैदेखि पुग्ने रहर पूरा हुँदैथियो।
“जान्छु दाजु।’’ भनेपछि कुरा पक्कापक्की भयो। एउटा टोली तयार भयो। पछि टोलीमा कारणवश केही फेरबदल भयो। पत्रकार दिदी पवित्र भण्डारी अघिल्लै दिन बिराटनगर जाने, उतैबाट जानेहुने भयो। पत्रकार-कवि मित्र प्रवीण खालिङ नारायणघाट, चितवनबाट उताउतै जानुहुने भयो। वरिष्ठ समाचार वाचिका एवं लेखिका अनिता निरौला, पत्रकार-कवि अम्बर गुरुङ ‘लाछिकाठी’, म स्वयं र अरुहरू जाने भयौं।

7 सितम्बर 2017ः
बिहान अम्बर दाजु र म एसएनटीमा जाने भयौं। सुरक्षित र पत्रकारहरूलाई सरकारद्वारा उपलब्ध गराइएको ‘कार्ड’-को प्रयोग पनि। त्यसरी नै गयौं 8.10 बजी एक01बी-0277-मा चढ़ेर। अम्बर दाजुलाई पर्खँदा-पर्खँदै बिहान 8 बजी हिड़ने बसले झण्डै छोड़ेको। प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष भीम रावत दाजु, महासचिव पुरण तामाङ र युवा पत्रकार बहिनी दिछेन भोटिया केही समयपछि निस्कनुहुने खबर पायौं। सिलगढीमा भेट्ने सल्लाह भयो, 2 बजी। निजी कामहरू निप्टाउनुपर्ने भएकाले अनिता निरौला मेडम बिहानै सिलगढी गइसक्नुभएको थियो। प्रवीण खालिङ जानुहुन्न भन्ने खबर आयो।
---
सिलगढीदेखि प्रधानगरबाट सानो गाड़ीमा जाने अघिबाटै भएको सल्लाहअनुसार 2 बजीसम्ममा प्रधान नगरमा भेट हुनुपर्ने। हामी पुग्दा अनिता मेडम हामीलाई पर्खिरहनु भएको थियो।
भन्नुहुँदैथियो- “म त एकघण्टा भइसक्यो नि पर्खेर बसेको।’’ हामी पहाडमा बस्नेहरूका लागि तराईको गर्मी सहनु त्यति सहज थिएन। सहेरै बसिरहनु भएको थियो उहाँ। अम्बर दाजु र म निथ्रुक्कै नै भएका थियौं पसिनाले। अनिता मेडमलाई हेर्‍यौं, त्यस्तै। अझ छेउको ‘टोइलेट’-बाट घरिघरि ह्वास्सै आइरहनेे दूरगन्धले धेरै पीडित सबै पीड़ित।
यात्रा टाड़ोको, बाटोमा वाहनले छोड्ने डर। त्यो समय कसैलाई कुरेर बस्नुपर्ने। थोरैलाई मात्र मनमा हुटहुटी नलाग्नसक्ला यस्तोबेला। यतिबेला गान्तोकमा 15/20 डिग्री अधिकतम तापक्रम होला। सिलगढ़ी झरेका हामीले झण्डै 30/35 डिग्रीको तापक्रम झेलिरहेका थियौं, ‘टोइलेट’-को दूरगन्ध छँदैछ। बेलुकी 4 बजीसम्म काकरीभिट्टा पुग्नुथियो। उताबाट श्री तुम्बेहाङ लिम्बुले ‘कहाँ आइपुग्नुभयो?’ भनेर घरिघरि फोनको घण्टी बजारहनु भएको थियो अम्बर दाजुको। असमबाट आइसक्नुभएको थियो श्री रुद्र बराल काकरभिट्टा। फोनको घण्टीले हामीलाई घरिघरि हतार लागाइरहेको थियो। किनभने 5 बजीदेखि अन्तिम बस छुट्छ।
भीम दाजु, पुरण जी र दिछेन बहिनीको टोली बल्ल आइपुग्यो। काकरभिट्टा पुग्ने अनुमानित समयसित थप केही समय थियो हामीसित।
गाड़ी तयार थियो अघिदेखि नै ‘मारुती भेन’। हामी थियौं 6 जना। सिक्किममा एउटा भेनले 4 जना बोक्ने, त्यहाँ 8 जना।
“लु..लु..। ढिलो भइसक्यो। गइहालौं।’’ अम्बर दाजु हतारिरहनु भएको थियो।
“जाउँ जाउँ।’’ गर्मीले मलाई पनि उत्तिकै सताइरहेको बेला थपेँ मैले पनि कुरा।
“तपाईंहरू त कता हराउनु भयौ हौ..?’’ अनिता मेडमले पर्खिुको पीड़ा पोखिरहनुभएको थियो सायद।
“हामी त यहाँ पनि बस्नै पर्ने त हो भनेर नि...।’’ सायद भीम दाजु भन्नुहुँदै थियो।
“लुु लु...। पसौं गाड़ीमा।’’ अम्बर दाजुले हतार लगाउनु भयो।
“सबैजना यसैमा जानुपर्ने हो..?’’ पुरण जीको प्रश्‍न थियो।
“हो..हो...। लु पसिहालौं, फेरि पुग्न ढिलो हुन्छ।’’ मैले भने।
“एसो गरौं कि, तपाईंहरू जानुस, हामी अर्को गाड़ी लिएर आउँछौं’’ पुरणजी भन्नुहुँदैथियो, “म त चेपाचेप भएर जान सक्दिन। पछाड़ी बस्दा त झन सास थुनिएको जस्तो हुन्छ। कहिलै बसेको छुइन।’’
‘होइन, अलग अलग जाने भए त किन पर्खिरहन्थ्यौं त अहिलेसम्म हामी? ढिलो भइसक्यो। गइहालौं न...’’ अम्बर दाजुले पुरणजडीको समस्या समाधानको प्रयास गर्नुहुँदैथियो, “लु...! तपाईं यता बस्नोस। गइहालौं..।’ भन्दै अम्बर दाजु पछाड़ीको सीटमा आउनु भयो म र भीम दाजुसितै। अघिल्लो सीटमा पुरण जी, सेकेण्डमा अनिता मेडम र दिछेन बहिनी। अनि लाग्यौं सबै कारभिट्टातिर सिलगढ़ीबाट।
---
काकरभिट्टा पुग्दा बस हिन्ने समय हुनै लागेको थियो। हामीलाई पर्खीरहनु भएको थियो तुम्बेहाङ लिम्बू, जो भोटानलाई प्रतिनिधित्व गरेर आउनु भएको थियो। अघिदेखि फोन सम्पर्कमा हुनुहुन्थ्यो आसामबाट आइपुग्नुभएको रुद्र बराल, भेट्यौं। बसमा बसिसक्नुभएको थियो खरसाङ रेडियोकी समाचार वाचिका कवयित्री उषाकिरण राई। ना.5ख-6178 बस चढ़ेर लाग्यौं पोखरातिर हामी 9 जनाको टोली भएर साँझ 5 बज्नलागेपछि।
---
पोखराको यो यात्रामा हामीमध्ये कोही धेरैपटक पुगिसकेकाहरू थियौं अनि कोही पहिलोपल्ट जाँदैथियौं। यसअघिको अनुभव बोल्नुहुँदैथियो बसमा भीम दाजु- “पैला हामी जाँदा, बाटोमा एकठाउँ लेखेको रहेछ ‘बुढ़ो बाजेको पेड़ा...।’’
“होइन होला...।’’ भन्दै हाँसेकी थिई दिछेन बहिनी।
भीम दाजुको हँसाउँने कला नै खास लाग्छ सबैलाई। आफ्नै अन्दाजमा भन्नुहुँदैथियो फेरि-“अर्को ठाउँ फेरि लेखेको रहेछ असली बुढ़ो बाजेको पेड़ा’’, हाँसेका थिए यतिबेला सबै गललल...।
भारतीय समयअनुसार 9.15 बजी हामी पुगेका थियौं ‘बरमझिया’। घ्याच्च रोकियो बस।
“लु चिया-नास्ता गर्नुस...।’’ कण्डकटर हो कि खलासी, कसैले भन्दैथिए।
“दिछेन...! उ त्याँ हेर त...।’’ औंल्याए एउटा दोकानतिर। लेखिएको थियो ‘श्री असली बुढ़ो बाजेको पेड़ा भण्डार’, फेरि हासिन् दिछेन। हासे अरुहरू पनि देखेर। त्यसपछि कसैले चिया पिए, कसैले रोटी-सब्जी खाए।
“भाइ ब्ल्याक टी फाइन्छ?’’ सोधेँ मैले। सोँचे, बालश्रमलाई सबैतिर सबैले विरोध गर्ने भए मेरो अघि ट्वाल्ल परिरहने थिएनन् अहिले 12/13 वर्षे किशोर। बुझेन सायद मेरो प्रश्‍न उसले। फेरि सोधे “रातो चिया पाइन्छ, दूध नहालेको?’’
“ए...! कालो चिया भन्नुभएको? पाइन्न दाई।’’ भन्यो यतिबेला। ‘राति खाना खाउँला’, सम्झेर अहिले केही नखाने-नपिउने भएँ।
---
बरमझियाबाट लगभग दुईघण्टापछि गुड़िरहेको हाम्रो बस रोकियो। ‘लालगढ़’ पुगेछौं। रातको 11 बजेको हुँदो हो। कुनै एउटा होटलअघि रोकिएको रहेछ हाम्रो बस। हाम्रो होइन हामी चड़ेको बस। कसैलाई भोक लागिरहेको, कसैलाई दिशा-पिसाब लागिरहेको। पहिला पछिल्लैतिर जाने हतार थियो धेरैलाई। त्यसपछि मात्रै के खाने, के पिउने खोजी भयो।
चौकीमा बसेको निकै मिनटपछि मात्र सोध्न आइपुग्यो 17/18 वर्षे युवा अनि सोध्यो “के खाने हो दाई?’’
पुरानो हिन्दी चलचित्रका नायक राहुल रोयको ‘आशिकी स्टायल’-मा केश काटेको, जिन्स लगाएको। खुट्टामा तर पातलो चप्पल। अनुहारमा उसको न 17/18 वर्षे युवाको जोश देखिन्थ्यो, न त राहुल नै। निधारमा छिटछिट पसिना, अनुहारमा आलस्य र काम गर्नुपर्ने बाध्यता स्पष्टै देखिन्थ्यो।
“खानामा के-के छ?’’ सोधे मैले। मेरो छेउमा बस्नुभएको थियो भीम दाजु। हाम्रो अघि अम्बर दाजु।
“सब्जी भात, चिकन भात, मटन भात, रोटी...।’’ भएभरको सबै बतायो उसले।
“सब्जी भात लेउ।’’ म भात खाने भएँ।
“भाइ कसतो रहेछ?’’ सोसध्नुभयो भीम दाजुले।
“धोक्रो भर्नै परेको छ दाजु, नत्र निल्नै नसकिने। बेस्वादिलो।’’
“भाइ हरियो-परियो छैन? सागहरू केही छैन?’’ सोधेँ।
“छैन दाई।’’
“पहिला त यस्तो थिएन त हौ यहाँ त।’’ अम्बर दाजुले भन्नुहुँदैथियो।
“मलाई रोटी लेउ त...।’’ भीम दाजुले पनि केही त खानैपर्ला सम्झिनुभयो सायद। अम्बर दाजु बाहिर निस्किनुभयो।
---
फेरि शुरू भयो हाम्रो यात्रा।
“खायौ खाना? कस्तो रहेछ?’’ दुवै प्रश्‍न मलाई थियो सँगै अम्बर दाजुको। गान्तोकदेखि नै हामी दुईको सीट सँगसँगै। अहिले पनि सँगै बसेका थियौं।
“खाए नि दाजु। अढाइसयको।’’
“कस्तो रहेछ?’’
“हैट। खानै नसकिने। मैले त आधी नै छोड़ीदिएँ।’’
“मैले त वाइवाइ बनाउन लगाएर खाएँ। मज्जा आयो। बीस रुपियाँ तिरेर पानी पनि तताउन लगाएँ।’’ भन्दै पानीको बतल देखाउनुभयो। अम्बर दाजुलाई चिसोले निक्कै सताउने गरेको छ। त्यसैसे स्वास्थ्यप्रति सचेत देखिन्छ। बसमा आफूलाई गर्मीले गाह्रो परिरहेको समय पनि खिड़कीको ऐना थोरैमात्र खोल्न दिनुहुन्छ।
“वाइवाइ कस्तो बनाइदियो?’’ नसोध्नुथियो, सोधेँ।
“दाम्मी...। मज्जा आयो।’’ दोहोर्‍याउनुभयो।
“भीम दाजु रोटी कस्तो रहेछ?’’ प्रश्‍न गरेपछि फेरि भनेँ “म पनि रोटी नै खाएको भए हुनेथिएछजस्तो भयो नि।’’
“हामीभन्दा दुई सीट अगाड़ि अनिता मेडमको छेउमा बस्नुभएको भीम दाजु उठेर साथीहरूतिर हेर्दै भन्नुभयो, “रोटी त...’’ थोरै हास्नुहुँदैथियो “थैत्...! गोरखकाली सिमेण्टको जस्तै नि हौ।’’ दिउँसो ठाउँ-ठाउँँमा घर-बिल्डिङहरूको भित्ताहुँदी देखिँदैथियो ‘बलियो र भरपर्दो गोरखकाली सिमेण्ट’-को विज्ञापन। चाहिएको यति नै थियो, सबै हास्न थाले। भीम दाजुको कुरालेभन्दा धेरै भनाइको तरिकाले हसाउँथ्यो।
8 सितम्बर 2017ः
रातभरिको यात्रापछि बिहान सातबजीतिर पोखरा पुगिन्छ भन्ने सबैले अनुमान लगाएका थिए। केहीदिनअघि आएको भेलबाड़ीले हाम्रो त्यो अनुमान ठ्याक्क पुगेन। 30-35 किलोमिटर लामो बाटो बिग्रिएको थियो। बिहान 8.20 बजीतिर चितवन दारेचोक-4, मुग्लिन बजार गुड़िरहेको थियो बस्। अचानक करायो बसको अम्तिमतिरको सीटमा बसिरहेको एटजना भाइ- “ओ..! ओ..! ओ दाई!’’
हेर्‍यौं पछाड़ि फर्केर, उभिएको थियो एकजना भाइ। फेरि करायो- “ओ..! गाड़ी रोक दाई, गाड़ी रोक।’’ हाम्रो बसले यतिबेला त्रिशुलीकिनार अघि नै छोड़िसकेको थियो। अहिले मर्स्याङ्दीकिनार गुड़िरहेको थियो। गुरुजी (ड्राइभर)-ले सुने कि सुनेनन्? बस रोकिएन। फेरि करायो त्यही भाई- “ओ...! गुरुजी गाड़ी रोकौं न भन्या यार...। मान्छे मर्न लागिसक्यो यहाँ। रगत छाद्दैछ।’’
हेरेँ उठेर। हो त मर्नै लागेका थिए। लामो-लामो दाह्री पालेका आधावैंशे एकजना अलस-तलस थिए। आँखा बन्द। टाउको दाहिनेतिर निहुराएको। मुखबाट र्‍याल चुहाइरहेको। मुखबाट फिजैफिज निकालिरहेको। रगत मिसिएको फिज। रात्तै। छट्पटिरहेको थियो त्यो दाह्रिवाल। घिटिक्-घिटिक् भइरहेको थियो। घरिघरि सपनामा छट्पटाएजस्तो, निस्सासिएजस्तो। टाउँको उठाएर चारैतिर हेर्दैथिए। लाग्दैथियो, अन्तिम स्वास लिन लागिरहेछ। हामीलाई त्यसै पनि ढिलो भइरहेको थियो। त्यो मान्छे बाटैमा मरिहाल्योभने त अझै लफड़ा हुने निश्‍चित थियो। अब भने म पनि कराएँ- “गाड़ी रोकिदिउँ है मुखबाट खुन निस्कँदै रहेछ।’’
कन्डकटर, खलासी र अरुहरू पनि आउँदै हेर्दैथिए। बसले अझै तीव्र गति लियो। यतिबेला बस लुम्बिनी प्रवेश गरिसकेको थियो। खुल्लास्थानमा पुगेर बस रोकियो।
फेरि कन्डकटर, खलासी र अरुहरू आए। सबैले हेरे। अनि एउटै प्रश्‍न गरे सबैले- “के भयो?’’
बुझेन उसले अरुको कुरा। कन्डकटरले फेरि प्रश्‍न गरे- “हेलो...! क्या हुँवा?’’
बुझेछ बल्ल, “नही, कुछ नही।’’ थोरै बल्यो, धेरै टाउकोको संकेत थियो।
“ठीक तो हो ना?’’
“ठिकै छु।’’-को टाउकै हल्लियो।
यतिञ्जेली धेरैले दिसा-पिसाबको लागि समय पाएका थिए। ‘ठिकैछु’-को संकेत पाएपछि सबै ढुक्कै भयौं। त्यसपछि म पनि निस्किएँ बाहिर। परऽऽऽ सम्म लम्पसार थियो सड़क। टाटा, बस, बाइक, माइक्रोहरू ओहोर-दोहोर गरिरहेका थिए। सिक्किमलाई खुल्ला शौंचमुक्त राज्य घोषित गरिसकिएको छ। नेपालका गाउँ-गाउँमा पनि यो अभियान पहिल्यै नचलेको होइन। सरकारी सहुलियत वा सुविधा, स्वास्थ्य केन्द्रमा उपचार सेवा पाउनका लागि घरमा ‘टोइलेट’ बनाइएको छ भन्ने सरकारद्वारा प्रदान गरिएको प्रमाण-पत्र अनिवार्य गरिएको थियो। होइन जस्तो लाग्यो यतिबेला बसबाट निस्कनेहरूलाई हेरेर। मलाई भने गाह्रो पर्‍यो। हेरेर फर्किएँ।
बस अघि बढ्यो। केही पर पुगेर फेरि रोकियो।
“सर अलिकति कष्ट गरिदिनुपर्‍यो।’’ भन्दैथिए गुरुजी। खिड़कीबाट दाहिनेतिर बाहिर हेरेँ। नजिकै थिए एकजना पुलिस। सडकको छेउमा रहेछ पुलिस चेकपोष्ट। लेखिएको थियो- ‘प्रहरी कार्यालय, आँबुखैरेनी, तनहूँ’। सम्झेँ, अहिलेसम्म धेरैले स्वीकारेको ‘आदिकवि’ जन्मेको गाउँतिर पुगिँदै रहेछ। सायद यो सडक थिएन त्योबेला, यो प्रहरी कार्यालय पनि थिएन पक्कै त्योबेला। तर यतै कतैतिर थियोहोला उकाली-ओह्राली किरिङ-मिरिङ गोरेटाहरू। हिँड़ेका थिए होलान् भानुभक्त यतैतिरबाट सयौंपटक।
“के भयो गुरुजी?’’ प्रश्‍न थियो प्रहरीको।
“होइन, एउटा समस्या छ। भित्रै पाल्नुभए हुन्थ्यो हजूर।’’ गुरुजीको अनुरोधपछि आएर एक युवा प्रहरी। प्रहरीको कुरा दाह्रिवालले नबुझ्ने, दाह्रीवालको कुरा प्रहरीले। समस्या भाषाको थियो। कण्डकटरले सहज गरिदिए दुवैलाई। दुवैको कुरा दुवैलाई अनुवाद गरिदिँदैथिए कण्डकटरले।
“कहाँबाट आएको?’’
“काकरभिट्टा।’’
“घर कहाँ हो?’’
“चण्डिगड़’’
“कहाँ जाने हो?’’
“पोखरा।’’
“के भयो?’’
“केही भएको छैन।’’
“अघि के भएको थियो? पोखरा पुग्न सक्छौ?’’
“सक्छु। चक्कर लागेको थियो। अहिले ठिक छु।’’
त्यसपछि कण्डकटरले भने- “होइन अघि सबै आत्तिएका थिए। रगत छाद्यो भनेर। त्यसैले...।’’
---
देउराली पुगेर फेरि बस रोकियो।
“लु नास्ता गर्नुस। चिया-पानी पिउनुस। 10 मिनट। बाटोमा रोकिन्न है।’’ कण्डकटर कराउँदै थिए।
“अब कति लाग्छ पोखरा पुग्न?’’ बसबाट ओर्लेर एकजनासित सोधेँ।
“दुई-अढाईघण्टा लाग्छ होला।’’ अनुमान लगायो उसले।
सड़क डिलमा दुई-चारवटा पसल थिए। एक-दुई टुरिस्ट गाड़ी रोकिएका थिए। मानिसहरू चिया-खाजा खाइरहेका थिए। हामी पनि त्यसै गर्‍यौं। पुरानो भएर नजलाई राखिएको माटोको चिलासित सबैले फोटो खिच्यौं। यसचोटी ‘ब्ल्याक टी’ बुझाउन गाह्रो परेन।
---
पोखरामा बसपार्क पुग्दा 11.30 बजेको थियो सायद। हामीलाई पर्खेर बसिरहनु भएको थियो कृष्ण प्रसाई। ‘लु शून एकाडेमी’-का कोषाध्यक्ष। छेलैमा थियो ‘स्कर्पियो।’ पोखरा पुगेपछि हामी भयौं 10 जना। बसपार्कदेखि पोखरा हवाइअड्डाको छेउ हुँदै ‘फिस्टेल गेट’ विपरीतको सानो सडक भएर भित्र पुर्‍यायो हामीलाई स्कर्पियोले लेकसाइड-6 स्थित ‘न्यू अन्नपूर्ण गेस्ट हाउस’-मा। दुईदिनको यात्रा तर अहिले नै टुङ्गिएको थिएन। अझै एक-डेड़घण्टाको यात्रा त बाँकी नै थियो, धम्पुससम्मको।
---
सबैजना ‘फ्रेस’ भइसकेका थियौं। फिस्टेल गेटनजिकको एउटा सानो होटलमा सबैले खाना खाइसकेका थियौं। छिटो-छिटो भन्दाभन्दै साँझ परिसकेपछि मात्र फिस्टेल गेट अगाड़िबाट बस चढ्यौं। बिहान आएको दिशालाई पछि राखेर लाग्यौं धम्पुसतिर। निकै पर पुगेपछि बस रोकियो। ट्राफिक समस्या रहेछ। देब्रेतिर बसबाहिर हेरेँ। रेस्टुराँको नामसित मनमनै रमाएँ, हासेँ आफैसित। लेखिएको थियो ‘घान्द्रुक-लान्द्रुक रेष्टुरेण्ट’। कस्तो नाम हो? सोचेँ। जवाब थिएन। त्यसको मुनिपटि लेखिएको रहेछ, ‘यहाँ भेजि मःमः, चिकेन मःमः, चाउमिन, खसी-चिकेनको मासु र खानाको राम्रो व्यवस्था छ।’
भनिएको थियो, ‘एकघण्टाको बाटो हो धम्पुस। खुब रमाइलो छ। विश्‍वप्रसिद्ध हिमाल ‘माछा पुछ्रे’ आफ्नै अघि हेर्न पाइन्छ।’ त्यो हेर्नलाई भोलि (09.09.2017) पर्खनुपर्ने भयो। साना-तिना गोलाइहरू घुम्दै धम्पुस पुग्दा 7.39 भइसकेको थियो। झमक्क अँधेरो। बसबाट ओर्लेर 9-10 मिनट पैदल हिड़नुपर्ने रहेछ। भराई थाहा भयो, बसको गुरुजीले अल्सी मान्नुभएको रहेछ। नभए अझै अघि पुग्नसकने रहेछ बस। पुराइएन। पुरणजीले टाउँकोमा आफ्नो ‘एटेजी’ बोकीरहनुभएको थियो। ‘कुली न.-1’-मा गोविन्दले जस्तै। मोबाइलको ‘फ्लास अन’ गरेर त्यो पललाई कैद गरिदिएँ। पछि वाट्सएपमा फोटोसितै लेखिपठाए ‘पुरणजी राखिराख्नोस्। कहिलेकाहिँ यस्ता कुराहरूले जीवन रमाइलो पारिदिन्छ।’ थाहा छैन राख्नुभएको छ कि छैन।
हामी ‘प्याराडाइज होटल एण्ड रेस्टुरेण्ट’ पुग्दा छेउकै मान्छेलाई चिन्न राम्ररी ठिम्याउनु पर्थ्यो। मनमनै सम्झेँ, बेलायती भाषाले कतिसम्म हक जमाएको भने हाम्रो ठाउँ, हाम्रो गाउँ, हाम्रा होटलहरूको नामसम्म उनीहरूकै भाषामा छन्।
---
दुई दिनदेखिको यात्राले थाकिएछ निकै। सुत्न लागेको थिएँ। परिचयको कार्यक्रम राखिएको रहेछ। म पनि सामेल हुन पुगेँ। नेपालबाट आयोजक समितिका अध्यक्ष श्री नीनु चापागाईं स्वयं, कोषाध्यक्ष कृष्ण प्रसाई अन्य साहित्यकारहरू, पत्रकारहरू धेरै हुनुहुन्थ्यो। मनमा सजिलो बसेको नाम थियो संगीत श्रोता। हामीसँगै आएका थियौं काकरभिट्टादेखि नै भोटान, सिक्किम, खरसाङ, सिलगढी, कोलकाता र अरुतिरबाट। सबै थियौं यतिबेला। देहरादुनबाट आउनुभएको श्री भुपेन्द्र अधिकारीसँगै फिस्टेल गेटमा मात्रै चिनाजानी गरेका थियौं। आपस्तमा परिचय साट्ने काम भयो, अनि सुनायौं एउटा-एउटा रचना हामीमध्ये धेरैले। 11 बजीसकेपछि ‘भोलि छिटो उठेर सूर्योदयसितै माछापुछ्रे हेर्नुपर्छ’, भन्दै लाग्यौं आ-आफ्नो कोठातिर।
9 सितम्बर 2017ः
बिहान 4ः30 बजी उज्यालो राम्ररी भुइँमा खसेकै थिएन। थोरै चिसो थियो बाहिर। फर्केर पसेँ 4 नम्बर कोठा। अम्बर दाजु निदाइरहनु भएको थियो। सिक्किमदेखि सँगै-सँगै रहेको, हाम्रो कोठा पनि यहाँ एउटै थियो। म पनि फेरि सुतेँ।
अर्कोपटक उठ्दा पवित्र दिदी एकलै बिहानीको त्यो रमणीय दृश्यहरूलाई मोबाइमा कैद गरिरहनु भएको थियो। साथ दिएँ। उज्यालो खासै झरिसकेको थिएन भुइँमा। हाम्रो होटलको ठीक अघिल्लो दिशा पर्दोरहेछ पूर्व। सायद पूर्वोत्तर दिशामा उभिएको थियो सूर्यको पहिलो किरणमा आधिपाटो सुनौलो देखिएको माछापुछ्रे। यहाँबाट थोरै ‘एङ्गल’ नमिलेको हुनसक्छ, नभए 6,997 मिटर उचाइँमा ठ्याक्कै माछाको पुच्छरजस्तो देखिने त्यो हिमशिखरलाई कसले भनिदियो होला पहिलोपटक ‘माछापुछ्रे’ भनेर। आह.., साँच्चै सबैको मन हर्ने। माछापुछ्रेलाई हामीले हेरिरहेकोबाट देब्रेतिर परेको थियो 8167 मिटर उचाइको धौलागिरी। मध्योत्तर नेपालमा पर्ने अन्नपूर्ण हिमालयका अलग-अलग चुचुराहरूले उत्तिकै मन जितेको थियो हाम्रो। त्यहीमध्ये एउटा थियो ‘माछापुछ्रे’। 1957-मा जिम्मी रोबर्ट्सको टोलीले एकपल्ट चड्ले प्रयास गरेको भए पनि अहिलेसम्म यसको शिखर कसैले टेक्नसकेका छैनन्। गण्डकी अञ्चलको कास्की जिल्लामा पर्ने 1700 मिटरको उचाइमा रहेको धम्पुसबाट माछापुछ्रेको अवलोकन गर्न साँच्चै आनन्द लाग्दोरहेछ। यतिबेला 7 र 8 सितम्बर दुईदिनभरि यो यात्राले दिएको थकान हामी सबैले बिर्सिसकेका थियौं। एक-एकजना गर्दै सबै ‘प्याराडाइज’-को छतमा हामी भेला भइसकेका थियौं। सबै फोटो खिच्न/खिचाउनमा तल्लिन थियौं। अनिता मेडम, पवित्र दिदी, म स्वयंले धेरैपल्ट उठाउँदासम्म नउठेकी दिछेन बहिनीले भने 7ः30 बजीपछि उठेर थकथकी मान्दै ‘मलाई पनि उठाउनुपर्छ नि..’ भन्दैथिई। उनी उठ्दा दिनचर्याले घामलाई निक्कै माथि पुराइसकेको थियो। सूर्यको प्रेमले पग्लिएको पहाड़को हिउँ रुवाजस्तै देखिन्थ्यो। छोउँ-छोउँ झैं लाग्ने। मनमोहक माछापुछ्रेलाई तर ढाकीसकेको थियो। देखाएँ मैले हातमा चियाको कप, कपमा चिया र मेरोपछि पारेर खिचेको माछापुछ्रेको फोटो। हातमा चियाको कप लिएको फोटोमा थोरै हाँसिरहेको थिएँ म। फोटो हेरेर दिछेन अनुहार खुम्चाउँदै थिई।
---
बिहानीको प्राकृतिक सुन्दरताको अघाइञ्जेली अवलोकन गरिसकेर अनि फोनको ‘मेमोरी’-ले साथदिएसम्म सक्दो ‘क्याप्चर’ गरिसकेपछि आञ्चलिक छलफल गर्‍यौं। कहाँ कसरी काम हुँदैछ साहित्यमा? कसले के गरिरहेका छन्? भारत र नेपालका विभिन्न प्रान्त र भोटानलाई प्रतिनिधित्व गर्दै आएका सबैतिरका नेतृत्वकर्ताहरूबाट सुन्न सकियो। शुरू भयो सिक्किमबाटै।
भीम दाजु भन्नुहुँदैथियो- “हामी धेरैजसो पत्रकारहरू नै आएका छौं। सिक्किमको पत्रकारिताको कुरा गर्दा विगत 10/12 वर्षयता धेरै विकसित भएको छ। अहिले सिक्किमबाट 12 वटा दैनिक पत्रिकाहरू प्रकाशित छन्। त्यसअघिसम्म एउटैमात्र पत्रिका थियो। साहित्यमा पनि काम धेरै भइरहेको छ, तर अहिले पनि हामी शैशवकालमै छौं। गुणात्मक विकास हुनै छ। भाषाकै कुरा गर्दा, नेपाली, भोटिया, लेप्चा, लिम्बू, राई आदि अन्य भाषाहरूमा पनि काम भइरहेको छ।...’’
भोटानको साहित्यिक गतिविधिबारे भन्नुहुँदैथियो तुम्बेहाङ लिम्बू-“अहिले पनि नयाँ धारका कविताहरू लेखिएका छैनन्। साहित्य, परिवर्तन जस्ता कुराहरू गर्ने स्वतन्त्रता छैन हामीलाई। ‘भगनावशेष’-को प्रकाशनपछि म आफै पनि ‘वाण्टेड’-को लिस्टमा परेको छु। भारत र नेपालको प्रभावपछि लेखनमा अलिकति फड़को मारिरहेको छ। भारत-नेपालको प्रभावमा आएर ‘देशप्रेम’ लेखिन्थ्यो। अमेरिकाबाट पनि लेख्दैछन्, त्यहाँको प्रभावमा आएर। स्वीकारोक्ति शुरू गरिएको छ।...’
आसामलाई नेतृत्व गरेर आउनुहुने रुद्र बराल भन्नुहुँदैथियो- ‘आसामको इतिहास 125 वर्ष पुरानो पाइन्छ। आसामले नेपाली साहित्यको माध्यमिक कालमा आएर मात्रै साहित्य लेख्न शुरू गर्‍यो। 1980-को दशकमा आएर दार्जीलिङमा आन्दोलन चलिरहेको समय आसाममा प्रगतिवादी लेखन शुरू गरिएको थियो। अहिले केही असमीयाहरूलेसम्म नेपालीमा लेख्न थालेका छन्। पठन-पाठनमा धेरै असमीय भाषाको प्रभाव छ। लेखनमा कविता विधा अघि रहेको छ। गजलको शुरू गरिएको छ। अनुवादमा अघि बढ़िरहेको छ, समालोचना पछि परेको छ।...’’
नेपाली साहित्य सम्मेलन, सिक्किमका संस्थापक सचिव भुपेन्द्र अधिकारीले अहिले नेतृत्व गरिरहनु भएको थियो देहरादुनलाई। उहाँ भन्नुहुँदैथियो- “वास्तवमा भन्नेहो भने मैले धेरै ठाउँमा काम गरेको अनुभव छ। सिक्किममा हामीले काम गर्दा भानु पुरस्कार शुरू गरेका थियौं, जसमा 500 रुपियाँ नगत दिने गरेका थियौं। पश्‍चिमाञ्चलतिर साहित्य अकादमीको सहयोगले पुगियो। अकादमीको नेपाली विभागमा 9 जना सदस्य छन्। त्यसमा सिक्किमले एकजना ‘नोमिनेट’ गर्न पाउँछ। तर, यता बनारस, देहरादुन, भाग्सुतिर अलिकति अँध्यारो छाएको छ। पश्‍चिमाञ्चलमा भानु जयन्ती आइतबारमात्रै मनाउनुपर्छ। देहरादुनमा आर्मी फ्यामिली ब्यकराउण्ड छ। साहित्य गर्ने कमै छन्। म अँध्यारो कोठाबाट उज्यालो खोज्न निस्किने गर्छु। दार्जीलिङतिर, नेपालतिर। देहरादुन 1956-को जस्तो छैन। अहिले तर रुची जगाउने काम भइरहेको छ।...’’
खरसाङ दार्जीलिङलाई नेतृत्व गरिरहनुहुने उषाकिरण भन्नुहुँदैथियो- “अहिले दार्जीलिङ अशान्त छ। दुखिरहेको छ। अहिले अवसातको समयमा छ दार्जीलिङ। राज्य र केन्द्रलाई बुझाउने काम भइरहेको छ।’’ दार्जीलिङको आन्दोलनबारे विगत र वर्तमानलाई संक्षिप्तमा राख्दैहुनुहुन्थ्यो। यहाँ सबै कुरा लेख्न सम्भव भएन। उहाँ भन्नुहुँदैथियो- “दार्जीलिङमा साहित्य फस्टाएको छ। कविता, कथा आदि विकसित छन्। अनुवाद थोरै छ। नाटक छैन। आन्दोलनमाथि धेरै लेखिँदैछ। गोर्खाको इतिहासबारेमा लेखिँदैछ।...’’
सिलगढ़ीबाट आउनुहुने कवयित्री उषानन्दी गहतराज भन्नुहुँदैथियो- “सिलगढ़ी मिक्स कल्चरमा छ। हामी माथि नै हेरिरहेका हुन्छौं। खुलेर चर्चाहरू गर्न सकिन्न। कार्यक्रमहरू गर्छौं, तर भाषा दिवस, भानु जयन्ती जस्ता कार्यक्रमहरू पनि खुलेर गर्न सकिन्न। प्रशासनिक ढङ्गले रोक लगाइन्छ। जबरजस्ती गर्दा साम्प्रदायिक अशान्ति हुनसक्छ। हामी अल्पसंख्यक छौं।...’’
कोलकाताबाट आउनुहुने बङ्ला भाषाकी कवयित्री हुनुहुन्थ्यो देवोरत्न भट्टचार्य। मैले उति बुझिन बङ्ला भाषा। सायद भन्नुहुँदैथियो- “ईश्‍वरचन्द्र विद्या सागरले बङ्ला भाषालाई धेरै विकसित गराएका छन्। रविन्द्रनाथ ठाकुरले पछि त्यसलाई टेवा पुर्‍याए। कविता, गीत, बाल साहित्य धेरै लेखिएका छन्। 1971 पछि बङ्लादेश...।’’ यस्तै केही भनिरहनुभएको थियो।
नेपालबाट धेरै हुनुहुन्थ्यो। आजको कार्यक्रमलाई स्वयं सञ्चालन गरिरहनु भएको थियो वरिष्ठ समालोचक एवं दोवकोटा लु शून एकाडेमीका अध्यक्ष नीनु चापागाईंले। यतिबेला नेपालको तर्फबाट भू-राजनैतिक अवस्था, भौगोलिक परिवेश र समकालीन नेपाली साहित्यको बारेमा बोलिरहनु भएको थियो संगीत श्रोता। भन्नुहुँदै थियो- “नेपालबाहिर जाँदा मेरो बन्द ढोका खोलिएको अनुभव गर्छु। 20/30 वर्षभन्दा अघि कुनै पनि प्रभाव पहिले भारतलाई पर्दथ्यो, त्यसपछि काठमाडौंलाई पर्थ्यो, नेपाललाई पर्थ्थ्यो। अहिले सिधै नेपाललाई पर्छ।’’ विद्युतीय विकास तथा वैश्‍वीकरणको कुरा गरिरहनुभएको थियो उहाँ। भूपि शेरचन, पारिजातहरूले शुरू गरेको प्रगतिशील लेखनको प्रभाव र वर्तमान जनचेतनाको कुरा गरिरहनुभएको थियो। बजारको दृष्टिले उपन्यास धेरै लेखिने उहाँको कुराले बुझिन्दैथियो।
नेपालको पत्रकारिताबेर जानकारी गराइरहनुभएको थियो अभय श्रेष्ठले- “व्यवसायिक पत्रकारिता निकै फस्टाएको छ। देख्दा पत्रकारिता स्वतन्त्र छ। गहिरिएर हेर्नुहो भने देखिएको जस्तो छैन।’’ साहित्यबारे थप जानकारी गराउनुहुँदैथियो- “कवितामा मूल धार भनेको आन्दोलन नै हो। विम्व र प्रतीकले अझ प्रभावकारी बनाएको छ।’’
कार्यक्रममा 2032 देखि गीत गाउँदै आएका जीवन शर्माले ‘सागर भेट्न जाँदैछौं नदी सँगै सँगै जाउ, पानीमा खेल्ने माछी तिमी पानी खेल्दै जाउ..’ गाएर सबैलाई मुग्ध गराउनु भएको थियो। संगीत श्रोताले पनि ‘तेता के के हुँदैछ, एता बाढ़ी पसेर, फेरि हामी दुखी कै, खायो मुटु कलेजा, हामी भयौं बेघरबार, चरी लैजा समाचार...’ गाएर निकै भावुक बनाउनु भएको थियो सबैलाई।
---
धम्पुसबाट पोखरा झरेपछि दुईबजीदेखि मुख्य कार्यक्रम थियो पोखरा पर्यटन भवनमा। एघाह्र नबजी पोखरा आइपुगियो। कोही कोठामा आराम गरे, कोही ‘शपिङ’ गर्न लागे। दुई-चार पुस्तक किन्नुथियो। साथीहरू आफू-आफू भएपछि एकलै कता हो, पुस्तक पसल खोज्दै जान सकिएन। भोलि फेवातालमा ‘बोटिङ’ गर्ने सबैको योजना। म भने काठमटौंतिर लाग्ने भएको थिएँ। अढाई-तीन घण्टाको समय के गर्ने? आफैमा प्रश्‍न गरेँ। आफै भनेँ, ‘पोखरा आइसकेपछि फेवाताल नहेरी जानुभएन। जान्छु घुम्न।’ एकलै भएँ। एकलै नै गएँ।
होटलबाट निस्किएँ। फिस्टेल गेटअघि थियो मूल सडक। पुगेँ। मूलसडक पार गरेपछि थियो फिस्टेल गेट। ‘फिस्टेल’ कति राम्रो नाम, सोचे मनमनै। गेटकै छेउबाट हिँजैमात्र दिछेनसित घुमेको थिएँ ‘बसुन्धरा पार्क’। त्यसैको छेउ हुँदै गएँ सडकैसडक। टुङ्गियो सडक। मेरो ठीक अघिल्तिर थियो एउटा ‘गेट’। गेटमा लेखिएको थियो ठूलो अक्षरमा ‘फिस्टेल लज’। त्यसैको तलतिर लेखिको थियो सानो-सानो अक्षरमा ‘बाई अन्नपूर्ण’। छेउमा गएर हेरँ, तल रहेछ पोखरी। त्यही थियो फेवातालको एउटा छेउ। त्यहाँदेखि फिजिएको थियो पोखरी मेरो दाहिनेतिर। पोखरीछेउमा बनाइएको रहेछ बिसौनी। पोखरीको ठीक पारीतिर थियो उस्तै विसौनी। पारीतिरबाट ‘फेरी’ तानिँदै थियो हामी भएतिर। तान्ने थिए हृष्टपुष्ट व्यक्ति। कुनै ‘क्लब’-को ‘बाइन्सर’ झैं देखिने। ‘फेरी’-मा चढ़ेका थिए दुई युवती। एकजना सुरक्षाकर्मी रहिछे। ‘फेरी’ अथवा मैले जानेको एकप्रकारको ‘डुंगा’। ‘फेरी’-को प्रयोग गरिँदो रहेछ मानिसहरूका लागि वारिपारि गर्न। पारी थियो चारैतिरबाट हरियालीले छेकेर शितल लाग्ने ‘फिस्टेल लज’। जान मन लाग्यो। मलाईजस्तै सायद पहिलोपल्ट घुम्न आएका हुनन् 60-65 वर्षीय दुई वृद्धा एक वृद्ध। उनीहरूले सोध्दै थिए “पारी जान पाइन्छ घुम्नलाई?’’
“जान पाइन्न’’ भन्ने बुझियो। मेरो पनि मनमात्रै घुमेर आयो ‘फिस्टेल लज’, जो कुनै समय ‘रोयल फेमिली’-को थिएछ। सायद अहिले रोयल फ्यामिलीकै सदस्य ‘जयन्ती शाहा’-सित संलग्न ‘जयन्ती ट्रष्ट’-ले सञ्चालन गरिरहेको बुझियो। के रहेछ फिस्टेलको अर्थ? बुझ्ने मन भयो। बुझेँ। अघिसम्म राम्रो लागेको नामसित अहिले मन दुखेर आयो। कहिलेदेखिको ‘माछापुछ्रे’ हेर्ने रहर पूरा हुँदा कत्ति रमाएको थियो मन हिजैमात्र। त्यही ‘माछापुछ्रे’-लाई अंग्रेजीकरण गरिएको रहेछ ‘फिस्टेल’ अथवा ‘माछाको पुच्छर’। त्यही फिस्टेल लज अर्थात होटल जाने बाटो छुट्टिने ठाउँ भइदिएछ ‘फिस्टेल गेट’। आफै सोधेँ आफैंलाई “विश्‍वप्रसिद्ध बनिसकेको ‘माछापुछ्रे’-लाई किन फिस्टेल भनिरहनुहोला?’’
---
किनारै-किनार भएर रमिता हेर्दै हिड़िरहेँँ। विशाल आयतनमा फिजिएको फेवाताल साँच्चै रमाइलो थियो। यतिबेला सम्झना भयो प्रकाश श्रेष्ठको लोकप्रिय गीत-
फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छायाँ
जीवन मेरो सेती बगर बिना तिम्रो माया...।
दिनेश सुब्बाले कसरी लेखे होलान् यति मीठो मनै छुने गीत? जे होस लेखे, लेखिदिए। ठ्याक्कै उस्तै संगीत कसरी भरेका होलन् सम्भुजित बासकोटले? यस्तै के-के प्रश्‍न गरिरहेँ आफैसित।
फेवातालमा माछापुछ्रेको छाया हेर्ने मेरो रहर भने अधुरै रह्यो। सोचेको थिएँ, तालको पल्लैछेउसम्म पुगेर फर्कुँ। तर त्यति धेरै समय थिएन अनि लाग्यो हिँड़ेर त्यो सम्भव पनि छैन। धेरै परसम्म पुगेर निस्किए लेकसाइड मेनरोड।
---
अँ.., एउटा घटना सम्झना आयो। त्यो के भने ताल हेर्दै अघिबढिरहेको थिएँ। निक्कै पर पुगेपछि तालको छेउमा बनाइएको रहेछ बिसौनी। एउटा चौतारो। माझमा थियो रुख। सायद पिपल थियो कि! वरिपरि बस्नलाई सजिलो। डिलमा रेलिङ लगाइएको। अझै अघि बढ़ेँ। परतिर स्थानीयहरू र विदेशीहरू फोटो खिचाउँदै थिएँ। म थिएँ एकलै। त्यसैले लिएँ शेल्फी।
“यू नो... पोखरा इज...।’’ एउटी 20-22 वर्षीया विदेशी पर्यटकसित मैले आधिअधुरो बुझेको अङ्ग्रेजी बोल्दै थिए एक युवक। मैले जस्तै ती विदेशीले कति बुझिरहेकी थिइन् कुन्नि अङ्ग्रेजी र नेपालीको कोक्टेल।
“ओए! भयो दुःख नगर।’’ छेउमा बसेर रमिता हेरिरहेका चारजना साथीहरूमध्ये एकजनाले भन्यो।
“जति नै गर न! एकपैसा झर्नेवाला छैन के।’’ अर्कोले थप्यो।
“ओए! बरू...।’’ छिः कति घिनलाग्दो बोली र विचार। विदेशीसँग गफीरहने र उसका साथीहरूलाई एकपल्ट राम्ररी नियालेँ। बोली र विचारजस्तै लाग्यो उनीहरूलाई।
“हे लूक...’’ देखाउँदैथियो घुँड़ामाथिसम्म मैलो-मैलो जिन्स सुर्केर। सायद चोट थियो छेपारीमा।
“यू नो आइ... नो मनि। टेकिङ... मेडिसिन।’’ सायद विदेशीले पनि बुझिरहेकी थिई। त्यसैले त सोधेकी हुन्-“ह्वेयर इज योर पेरेन्टस?’’
“नो पेरेन्ट। आइ एम एलोन।’’ बोलीसितै हातको भाका पनि थियो उसको।
“ओके ओके। योर फ्रेन्स्?’’ सोधिरहेकी थिई विदेशी।
उसका ‘फ्रेन्स्’ हाँसीरहेका थिए। भन्दैथिए उनीहरू “ल... अघि भनेको, तेरो दुःख मात्रै हो।’’ विदेशीलाई के थाहा छेउछाउमै बसेर गफीरहनेहरू उसकै साथीहरू हुन्। अलिक पर सायद भोटानिजहरू थिए, फोटो खिच्नमा तल्लिन। उनीहरूकै छेउ हुँदै अघि बढ़ेँ, पोखरीको फोटो खिच्दै। अलिक पर पुगेर हेरेँ, थिएनन् विदेशी, विदेशीसित अघिका युवक। उसका साथीहरू भने त्यसरी नै गफीरहेका थिए।
---
हामी पोखरा वर्यटन बोर्ड पुग्दा अघि नै कार्यक्रम शुरू भइसकेको थियो। भवन खचाखच थियो साहित्यकारहरूले/साहित्यप्रेमीहरूले। दिछेन र म सरासर पछाड़ी गएर केहीबेर उभियौं। चौकी खाली भएपछि बस्यौं। हाम्रो टोलीबाट अनिता मेडम, भीम दाजु, पुरण जी, अम्बर दाजु, उषाकिरण मेडम, रुद्र बराल, तुम्बेहाङ लिम्बू सबैलाई उद्घोषकले बोलाइरहनुभएको थियो अतिथि लहरमा।
पाँचवर्ष अघितिर त्यसबेलाका समय दैनिकका सम्पादक श्री पारसमणि शमले नेपालबाट ल्याईदिनुभएको थियो एउटा उपन्यास ‘पागल बस्ती’। उपन्यासकार थिए ‘सरुभक्त’। साँच्चै भनेको, पहिलोपल्ट पढ़ेको हुँ सरुभक्त त्योबेला। उनका अन्य कृतिहरू थिए पारसमणि शमसित। एउटा रोज्नुपर्ने, मैले ‘पागल-स्ती’ रोजेको थिएँ। कस्ता होलान् सरुभक्त? 35/40-को..? मनमा आफैसित प्रश्‍न थियो। उत्तर बल्ल पाएँ। मुख्य अतिथि उहाँ नै हुनुहुन्थ्यो। साथमा हुनुहुन्थ्यो नीनू चापागाईं, मातृका प्रसाद पोख्रेल, कृष्ण प्रसाईं र अन्य ठूला साहित्यकारहरू।
कार्यक्रममा 30 जनाभन्दा धेरैले कविता नै सुनायौं। केही सांगीतिक प्रस्तुतिहरू थिए। कृष्ण प्रसाईंको ‘घामको विरासत’ लोकार्पण गरियो। हाम्रोतिर धेरै र लामो-लामो सुन्नपाइने वक्तव्य त्यहाँ थोरै वक्ताबाट धेरै बुझाइएका थोरै कुरा सुनिए।
‘साहित्यले समयलाई बोक्नुपर्छ, समयलाई बोकेकै हुनाले देवकोटा, लु शूनहरू आज जीवित छन्’, भन्नुहुँदै थियो नीनु चापागाईं। ‘दोवकोटा लु शून एकाडेमी’ बारे बुझिरहेका थियौं। नेपाल र चीनका दुई स्रष्टाको नाममा स्थापिय यो एकाडेमीले किन भारत, भोटान, श्रृलङ्काहरूसित काम गर्न चाहेको? दुईदिनदेखिको यो अन्तिम कार्यक्रममा बुझ्ने अवसर पाएका थियौं हामी पहिलोपटक जानेहरूले।
सिक्किमबाट पोखरा हिड्नअघि कवि अमर बानियाँ ‘लोहोरो’ दाईले ‘मनको क्यानभाष’ कविता संग्रह मनलागेका कविहरूलाई दिनुपर्ने सल्लासितै दिनुभएको थियो। कवि शेरबहादर कार्कीले पनि ‘जीवनका रङहरू’ दिनुभएको थियो। एकप्रति कवि सरश्‍वती ‘प्रतीक्षा’-लाई दिनुपर्ने। नचिनेको, नदेखेको मान्छेलाई दिनुपर्ने पुस्तक। कसरी? समस्या नै थियो। कविता भन्नेहरूको सूचिमा रहेछ नाम। कविता बेजोड सुनाउनुभएको थियो ‘प्रतीक्षा’-ले। कविता सुनाउँनुहुँदा बल्ल चिनेँ।
---
“तपाईं सरश्‍वती प्रतीक्षा?’’
“‘हजूर।’’
“तपाईंलाई यो पुस्तक पठाउनुभएको छ।’’
“थ्याङ्क्यू।’’
त्योभन्दा धेरै बोल्ने हामीले फुर्सद पाएनौं। अथवा चाहेनौं।
“कसले पठाउनुभएको?’’ सोध्नुहुन्छ सम्झेको थिएँ। सोध्नुभएन। सायद प्रश्‍न गरिरहन उचित लागेन उहाँलाई। लागोस पनि किन? कृतिमा कविको नाम हुन्छ नै।
एकप्रति ‘मनको क्यानभाष’ गीता तिवारीज्यूलाई दिएँ। गीता तिवारी गौतमलाई। पोखरा च्यमाबर्स अफ् कमर्समा कार्यरत हुनुहुँदो रहेछ। नम्बर र ठेगाना साटासाट गर्‍यौं। कुनैदिन कामर्ला, फेरि भेट होला।
कार्यक्रम जतिजति सकिँदैथियो, चौकीहरू उति नै रित्तिँदै थियो। 28औं कविको रूपमा मैले कविता सुनाउँदा 55/60 प्रतिशत चौकीहरू खाली थिए। कार्यक्रम सकेर बाहिर निस्कँदा ठूलो साँझ परिसकेको थियो।
10 सितम्बर 2017ः
काठमाडौंतिर लाग्दैथिएँ म बिहानै। टोलीका साथीहरू सबै फेवातालमा ‘बोटिङ’ गर्ने भएका थिए। आयोजक समितिले कार्यक्रम नै राखेको थियो।
‘फिस्टेल गेट’ आएपछि बस पर्खनुपर्ने भयो। पुग्नुथियो पृथ्वीचोक ‘माइक्रो’ चड्नलाई। हतार थियो। अगाड़ी रोकिरहेको थियो ट्याक्सी। सायद ‘ईअन’ थियो। पुरानो।
“दाई पृथ्वीचोक जाने हो?’’
“जाने।’’ छोटो जवाब पाएँ।
“भारा कति लाग्छ?’’
“तीन सय।’’
“धेर भएन र दाई?’’
“ठीकै हो। जसलाई पनि सोध्नुस।’’
“ठीक छ। जाउँ।’’ भनेर चढ़े त्यसैमा।
पोखरा हिँड़नअघि जीविका दिदीले भन्नुभएको थियो- “पोखरा जानुहुँदैछ भाइ। गनेस पौड़ेलले ‘पैताला’ पठाइदिनुहुन्छ। ल्याउनुस है।’’ दिदीले सम्पर्कको निम्ति सजिलो होस भनेर ‘एनसेल’-को सीम पनि दिनुभएको थियो। 9 सितम्बरमा मात्रै उपन्यसकार गनेस पौड़लको मोबाइल नम्बर पनि ह्वाट्सएप गरिमागेको थिएँ। सम्पर्क पनि भएको थियो। पुस्तक बाटैमा लिने भएँ।
बिहान उहाँले नै फोन गर्नुभएछ। आफन्त विमार भएकाले अरु कसैले पुस्तक हात लगाइदिने बताउनुभयो। ट्याक्सीमा चढ़ेपछि फेरि सम्पर्क गरेँ। भन्नुभयो- “तपाईं बसपार्क आएर फोन गर्नुस। म आफै आउँछु।’’
“हजूर कहाँबाट आउनुभएको?’’ सोध्नुभयो मलाई।
“सिक्किमबाट।’’
“सिक्किम...?’’
“हजूर, सिक्किम। भारतबाट।’’
“ए..।’’
“दाई पृथिवीचोक पुग्न कति समय लाग्छ?’’
“बेसी लाग्दैन। तेस्तै 10/15 मिनट लाग्छहोला।’’
“यति छोटो बाटोको भाड़ा किन यति धेरै? तीनसय धेरै भएन त?’’
“के गर्नु हजूर! बाध्य छौं। तेलको भाउले आकाश छोइसकेको छ। ट्याक्सले गर्दा गाड़ी नै धेरै महँगो पर्छ। भारतमा जस्तो होइन।’’ दुःख पोखाउनुभएको कि वाध्यता सुनाउनुभएको, मैले अर्थ्याइहाल्न सकिन।
“नेपालमा ट्याक्स नै अढ़ाइसय प्रतिशत तिर्नुपर्छ। तीनलाखको गाड़ीको हिसाब लगाउनुस त...।’’ अनि भन्नुहुँदैथियो “तीन गुणा दुई सिधै छः लाख। तीनको आधी डेड़लाख। छः लाख र डेड़ लाख कतिभयो?’’
“सात लाख पचास हजार।’’
“त्यति त ट्याक्समात्रै भयो। गाड़ीको दाम तीनलाख..। अनि..?’’
“दश लाख पचास हजार।’’
“पोखरा जाने होइन त तपाईं?’’
“हजूर।’’
“आइपुग्यो। गाड़ी लागिरहेको रहेछ पोखराको।’’ रोकियो गाड़ी। कराईरहेका थिए एकजना भाइ- “पोखरा.. पोखरा.. पोखरा..।’’
“दाई एकैक्षण है। एउटा फोन लगाइहाल्छु।’’ भनेर गनेस पौड़ेललाई फोन लगाएँ। पोखराको भौगोलिकतादेखि अनभिज्ञ मैले गुरुजीलाई नै बोल्न लगाएँ।
“हजूर..। हामी मेडिकल हस्पिटलकै अगाड़ी छौं।’’ गुरुजीले भन्नुहुँदै थियो। देखेँ मैले एकहातमा प्लास्टिक ब्याग, अर्को हातले कानैमा फोन टँसाएर अस्पतालबाट बाहिरिँदै गरेको एकजना व्यक्ति।
“देखेँ देखेँ दाई..।’’ मैले यति भनिनसक्दा ‘मेक्रो’-का खलासी भाई आएर सोधिरहेका थिए- “दाई पोखरा हो?’’
“हो..हो..।’’ मेरो जवाबसँगै उसले मेरो ब्याग उठाइसकेका थिए। गुरुजीलाई तीनसय दिएर निस्किएँ अनि भनेँ- “धन्यवाद दाई।’’
आइपुग्नुभयो गनेस पौड़ेल। हतारसित हात लगाइदिनुभयो चारप्रति ‘पैताला’ अनि भन्नुभयो- “एउटा जीविका दिदीलाई, एउटा हाम्रो प्रवीण जीलाई।...’’
बिचैमा सोधेँ- “प्रवीण खालिङ?’’
“हजूर। अर्को राजेन्द्र अधिकारी सरलाई अनि एउटा तपाईंको लागि।’’
“राजेन्द्र अधिकारी...! सिक्किमकै?’’
“हजूर। कवि हुनुहुन्छ नि।’’
“अधिकारी कि भण्डारी?’’
“ए..। हजूर भण्डारी।’’
त्यसपछि चढ़ेँ ‘मेक्रो’-मा। गनेस जी लाग्नुभयो अस्पतालतिर।
---
“पोखरा... पोखरा....।’’ हामी चढ़ेको ‘माइक्रो’ गुड़िरहेको थियो, खलासी भाइ कराइरहेका थिए। ‘फ्रण्टसीट’-मा एकजना थिए ‘सेकेण्ट सीट’-मा मसित तीनजना। ‘थर्डसीट’-मा एकजना। बसपार्क पुगेर रोकियो हाम्रो गाड़ी, जहाँ केहीबेर त रमिता नै भयो ‘सीट’-लाई लिएर।
“अरे यार पर्खिनुपर्दैन?’’ हतारिँदै आएका दुईमध्ये एक युवा।
“अब बसिहाल्नुस न। अबेर भइसकेको छ।’’ गुरुजी भन्दैथिए।
“कहाँ बस्ने?’’
“एकजना ‘फ्रण्ट’-मा एजना थर्डमा।’’
“हुँदैन। ‘फ्रण्ट’-को टिकट हो हाम्रो।’’
“अब ल्याङ ल्याङ् नगर्नोस न, मिलेर बसौंन।’’
“हुँदैन के। ल्याङ ल्याङ त तपाईं पो गरिरहनु भएको छ। टिकट केलाई काटेको त..?’’
“टिकट काटेर मात्रै भएन नि..। टायममा आउनु पर्‍यो नि।’’
“अरे यार... हामी त्यहीँ थियौं। छोड़ेर हिँड़ेपछि हुन्छ त?’’
“कहाँ थियो? भाइले खोजेर नभेटेपछि हिँड़ेको। टायम भएपछि त गाड़ीमा बस्नुपर्‍यो नि तपाईंहरू पनि। सातबजी गाड़ी हिन्छ। साँढ़ेसात भइसक्यो।’’
यतिबेला शेरबहादुर कार्कीको ‘वेइटिङ फर नेक्स्ट एपिशोड’-का पात्रहरूको सम्झना भयो। मोबाइलमा हेरेँ। 7.40 जति भइसकेछ, भारतीय समय। सबैलाई अबेर भइसकेको थियो। मलाई पनि झोंक नचलेको होइन। झ्याम-झ्याम हानिदिन मलाई पनि मन नलागेको होइन। झोंक चल्यो भन्दैमा केही गर्न पनि सकिन। अरुहरूलाई पनि यस्तै भइरहेको उनीहरूको धिमास्वरमा रहेको गनगनले बुझिरहेको थिएँ। भन्न कसैले केही भनेनन्, आफैसितबाहेक।
यहीबेला आएर चढ़ी एक युवती र थर्डमा लेफ्टसाइड सिङ्गल सीटमा बसी। बाटोमा बात भयो हाम्रो दीपा रहेछ नाम। दीपा गुरुङ। उनी आएपछि रहेको थियो फ्रण्टमा एउटा र लास्टमा दुईवटा मात्रै सीट।
“बुझ्नुस न के। अबेर भइसक्यो नि त।’’ गुरुजीको अनुरोध थियो युवालाई।
“तपाईं बुझ्नुस न। मलाई उल्टी आउँछ के। त्यसैर त बिहानै टिकट काटेको यार..।’’ अघिकै युवाको ढिप्पी थियो।
“दाई सारै भइसक्यो, तपाईं सेकेण्डमा आइदिनुस न।’’ मेरो छउमा पहिलैदेखि बसिरहेकी युवतीको अनुरोध थियो ‘फ्रण्ट सीट’-मा बस्नेलाई। सायद उनका आफन्त थिए।
“ये...। थोरै न बस्थेँ। मलाई नि त उल्टी हुन्छ। मिलाउँछन् नि। थोरै नि हाम्रो लण्ठा हो!’’ भन्दैथिए सायद उनका आफ्नतले। दिक्की लागिसक्यो। सबै फलाम, सबै आगो। सबै उस्तै। दिक्कै लागिसकेपछि भने मैले- “दाई बेसी भइसक्यो। सेकेण्डमा राखिदिनोस् एकजनालाई। म लास्टमा जान्छु।’’
“ल सेकेण्डमा बस्नोस्। अब त हुन्छ होला।’’ गुरुजीलाई थोरै आशा आयो।
“यस्तो त ठीक भएन के। जाउँ हिँड्नोस्।’’ भनेर बल्ल पस्यो गाड़ीमा। एकजना अगाड़ी, एकजना सेकेण्डमा। अन्तिम सीटमा मेरो दाहिनेतिरको खिड़कीछेउमा थिइन् एक युवती। चीनीया रहिछे। भराई थाहा भयो। उसको र मेरो माझमा थिए एक युवा। दिमाग खाने अर्को झ्याउ आइ लागेको थियो। अघिदेखिको ‘ल्याङ ल्याङ, ल्याङ ल्याङ’ गरिरहेको थियो। मलाई सोद्धैथियो- “दाई अङ्ग्रेजीमा ‘तिमी कहाँबाट आएको?’ कसरी भन्नुपर्छ?’’
---
चार-पाँच घण्टामा पुगिन्छ काठमाडौं भन्दैथिए पोखराबाट हिँड़नेबेला गुरुजीले। अढाईबजीतिर पुर्‍याए हामीलाई। मनमनै ‘पोखराको ‘मेक्रो’-मा कहिले चड़दिन’ समझँदै ओर्लिएँ काठमाडौंको न्यू-बसपार्कमा। भाइ कविनसित भेट्ने सल्लाह थियो। भेटिएन। बहिनी प्रभालाई भेटेँ। प्रभासितै बागबजार पुगेर किनेँ बुद्धिसागर, कुमार नगरकोटी, हरिबहादुर थापा र अरुहरूका केही उपन्यासहरू।
---
साँझमा काकरभिट्टातिर फर्कने समय रत्नपार्कमा लिन आइपुग्नुभयो साहित्यकार प्रवीण पुमा। रत्मपार्कदेखि प्रभासित छुट्टिएँ। प्रवीणजी मलाई बसेर भोलि जाने जिद्दी गरिरहनुभएको थियो। आफ्नो बाध्यताहरू बताएँ। त्यसपछि रत्नपार्कदेखि कलङ्कीसम्म पुर्‍याएर प्रवीणजीले नै बसमा चढ़ाउनुभयो मलाई। बाटोमा ट्राफिक जाम। खलखल पसिनासरि भएर रात काटियो। फेरि दिनमा धेरै रमिता हेरियो। कतै ‘डेट एक्सपायर’ पार्लेजी र पानीले भोक टारियो।
11 सितम्बर 2017ः
दिनभरिको थकानसितै राति 9ः30 बजीतिर आइपुगियो इटहरी। काकरभिट्टा पुग्न अझै दुई/अढ़ाई घण्टा लाग्ने। लागे बिराटनगरतिर। सिक्किममा जीविका दिदीसित सम्पर्क भइरहेकै छ समय-समयमा। बिराटनगरमा बसबाट ओर्लेपछि नियात्रा भाञ्जी लिनआइपुगिन्।
12 सितम्बर 2017ः
छः बजेको थियो बिहान उठ्दा। भाञ्जीले पुष्पलाल चोकसम्म पुर्‍याएर ‘सफारी’ चढ़ाइन्। राजवंश चोक पुगेर चढ़ेँ कारभिट्टा जाने बस्। लोकल परेछ। ढिलो गराउने बुझेँ।
“सगरमाथा, नागरिक, हिमशिखरमध्ये कुनै एउटा गाड़ीमा चड़नु पर्छ नि। लोकलले त चार घण्टा लगाउँछ। इटहरीमा झरिहाल्नुस्।’’ मेसेन्जरमा सुझाउ दिइरहनुभएको थियो जीविका दिदीले। त्यसै गरेँ।
इटहरीमा माथी भनिएकामध्ये कुनै बस आउला भनेर पर्खिबसेँ, पर्खिबसेँ अनि पर्खिबसेँ। बल्ल एउटा बस रोकियो। फेरि उस्तै परेछ। सोचेँ, अघिकैमा भए यतिबेलासम्म निक्कै पर पुग्नुथिएँ। बाठो बेसी हुँनखोज्दा तीन बल्ड्याङ त के भन्नु, तीसमिनटजति अझै समय गयो।
बेलुकी तीनबजीतिर अर्थात काठमाडौंदेखि हिँड़ेको लगभग 44 घण्टापछि मात्रै गान्तोक आइपुगेँ।
दुईदिनपछि ‘पैताला’ पुर्‍याउन जीविका दिदीको घर गएँ, सिच्छे। यतिबेला पो सम्झेँ उपन्यासकार गनेस पौड़ेलसितको पहिलो भेटमा एउटा शेल्फीस्म लिन सकिएन। कस्तो म! आफैसित रिसाएँ। लागेको छ, फेरि भेटिएला त नि।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 3 कार्तिक, 2074

लेखकका अन्य रचनाहरु