पहाडी आँखाको दुरविनवाट मधेशको एक कुना

- प्रदीप सापकोटा

माइक्रोबसको लामो दुरीको यात्रा,वाटो पनि पहिरोले कहिले अवरुद्ध हुन्थ्यो । कहिले खुल्थ्यो । यसैले पोखरावाट काठमाडौं आउँदा जाममा परेर पाँच घण्टाको यात्रा अरु तीन घण्टा लम्बिएको थियो । उसो त गर्मी उत्तिकै । थाकेर आलस्य भएको थियो शरीर । नुहाउन वाथरुममा के छिरेको थिएँ मोबाइलको घन्टी बज्यो । नेपाली महिलाहरुको आवाज संस्थाकी अध्यक्ष सुमित्रा थापाको रहेछ फोन । उहाँले भोलि विहानै महोत्तरी जिल्लाको रामगोपालपुर जान पर्ने भएकोले एउटा गाडी खोज्न आग्रह गर्नुभयो । त्यहाँ बाढी पीडित परिवारहरुको निम्ति संस्थाको तर्फबाट सकेको राहत सामग्री वितरण गर्ने कार्यक्रम थियो । मलाई जाने हो भनेर सोध्नुभयो । मेरो पनि अफिसमा खासै व्यस्तता थिएन । फेरि तराई मधेशको जनजीवनसंग म अभ्यस्त पनि त थिइन , र मैले सजिलै हुन्छ भनेँ । गाडीको निम्ति चिनजानको साथीलाई फोन गरँे । उनले सजिलै र सस्तो दरमा गाडी मिलाइदिए । सुमित्रालाई फोन गरे । विहान साँढे छ बजे नयाँ वानेश्वरमा भेला भएर जाने कुरा भयो । भोलि विहान चाँडै प्रस्थान गर्नुपर्ने भएकोले आफ्नो तयारीतिर लागँे म । अनि मसँग भएका कपडाहरुलाई राहतको लागि एउटा बोरामा प्याक गरँे ।
विहानै चालक सागर भाइको फोन आयो । उनको फोनपछि तत्कालै मैले विहानको नित्यकर्म सकाएँ । र निस्किएँ एउटा एकजोर आफ्ना फेरफारे लुगा भएको सानो झोला र कपडाको वोरा बोकेर । गाडी हिँडेको सुमित्राजीलाई जानकारी गराएँ । तोकिएको स्थानमा उहाँ कुरिरहनु भएको थियो । अनि अर्काे साथी मिनभवनको वसस्टपवाट चढ्नुभयो । फेरी कोटेश्वरवाट सावित्री वोगटी चढ्नुभयो । सूर्यविनायकवाट पनि केही बोरा कपडा लिइयो । चामल, दाल लगायतका खाद्य सामाग्री भक्तपुरको जगातेमा तयारी अवस्थामा राखिएको थियो । त्यो पनि गाडीमा राख्ने काम सवै मिलेर गरियो ।
अब यात्रा अगाडि बढ्यो । बनेपामा दुई जना भाइ हाम्रो आगमनको प्रतिक्षामा हुनुहुन्थ्यो । अनि त्यहाँको एउटा मेडिकलबाट केही जीवनजल खरिद गरेपछि हामी बनेपावाट अगाडि बढ्यौँ । काभ्रे भन्ज्याङ्गमा पुगेर चिया खाजाका निम्ति केहीबेर रोकिएपछि हाम्रोे गन्तव्य पुनः अगाडि बढ्यो । जापानीले बनाइदिएको सुन्दर विपी राजमार्गमा हामी हुइकिँदै गयौं । शहरको कोलाहलवाट हाम्रो मनले मुक्ति पाएको केही घण्टा भइसकेको थियो । रोशी खोलाको तिरैतिर लमतन्न परेको बाटो । खोला रोशी पनि एकनास सुसाउँदै आफ्नो गन्तव्यतिर यात्रारत रहेको छ । उ हामीबाट नजिकै भएर पनि हाम्रो आवागमनमा लाग्छ बेखवर छ । उसलाई अरुको यात्राको के चासो ! चासो छ त केवल आफ्नो लक्ष्यको कसरी सगरमा पुगेर फिँजिनु । हामी पनि माइक्रोबाट देखिएका सुन्दर प्राकृतिक दृष्यपान गर्दै आफ्नै तालमा गफिँदै छौँ ।

भिमखोरीको कालढुंगा पुगियो । देखिन्छन् वारिपारि चुलिँदै गरेका पहाड । धेरैतिर भत्किएका छन् चोटैचोटले, जसरी गरिबका सपनाहरु भत्किन्छन् । कतै उजाड र उराठ पहाड छन् गरिवीको चपेटामा परेका आम मान्छेका जिन्दगी जस्ता । तर पनि विचलित छैनन् । पहाड उभिएकै छन् एकनास खपेर हिउँद वर्खा, जसरी सहन्छन् अभावको कारुणिक व्यथा बोकेर जिइरहेका आममान्छेहरु । लाग्छ, यी पहाड र आम मान्छेको जिन्दगीका रुप उस्तै छन् ।
काभ्रे जिल्लाको सिमाना सकिएको जानकारी दिन्छ होर्डिग वोर्डले । नेपालथोकबाट सिन्धुलीको सिमा प्रारम्भ हुन्छ । म सहित सहकर्मी सुमित्रा थापा,सुमित्रा वोगटी लगायत जम्मा सात जनाको टोली छ माइक्रोमा । थापाजी वाहेक सबैका यताको यात्रामा नयाँ पो रहेछन् । आफूले जानेवुझेसम्मको यहाँको बारेमा जानकारी पनि दिँदै जान्छु । यात्रा अविराम जारी छ । रामेछाप र काभे्रको सीमाबीचवाट उन्मुक्त भएर सुनकोशी बेफिक्री निस्किएको छ । उसले पनि हाम्रो यात्रामा खासै चासो राखेको छैन् । उसको मनभित्र पनि हरवखत अन्र्तद्वन्द्व चलिरहेको छ झै भान पर्छ मलाई । मात्र हो हाम्रो मन चेतन छ ,उसको अवचेतन । वर्षात्को बेला ऊ गड्गडाएर आफ्ना पीडा व्यक्त गर्छ । मानिसलाई के पत्तो उसको मनको पीडा । त्यसैले त उ रिसाऊँछ हामी मान्छेसँग । सजायँ दिन्छ बाढी वनेर ।

यात्राको क्रममा अनगिन्ति मानिस, यात्रुबाहक बस, मालवाहक गाडीहरु भेटिन्थे । कतै घाँसको भारी वोकेका एकहुल आमाहरु देखिन्थे त कतै खेतमा काम गरिरहेका बाहरु । सबै व्यस्त ,जिन्दगी छोट्याउने लाममा लामबद्ध छन् सबै । आहा, कस्तो पहराको निर्जन स्थानवाट झरेको मनोरम झरना । सबैको मनै त्यतातिर मोडियो एकछिन ।
सडकका दाँयावाँया जताजतै विज्ञापनका वोर्डहरु झुण्याइएका छन् । कतै हामी देशलाई वनाउँछौ भनेर लेखिएका सिमेन्ट कम्पनीका विज्ञापन छन् । कतै जनचेतनाको लागि सरकारका विभिन्न निकायहरुका सूचना छन् । कतै चाउचाउ र बिस्कुटका । अनि विभिन्न होटलहरुका होर्डिगं वोर्डहरु पनि वग्रेल्ती टाँगिएका छन् । कतै कतै रक्सीका पनि भेटिन्छन् । विज्ञापनहरु हेर्दा त लाग्छ, देशले गजबले आर्थिक उन्नति गरिसककेको छ ।
मूल्कोट पुगेको पत्तै भएन् । आह कति रमाइलो लाग्दैछ यो हाइवे । यहाँ प्रयुक्त भएको प्रविधि उत्तिकै आधुनिक पनि । हाम्रो यात्रा दाइने मोडियो सिन्धुलीको उकालोतिर । सिन्धुलीगढी पुगियो । सबैलाई त्यो ऐतिहासिक स्थल हेर्ने उत्कठ इच्छा थियो । फर्कँदा हेर्ने समझदारी बनायौ । यहाँबाट करिब १४ किमि झरेपछि सिन्धुलीमाडी पुगिन्छ । फेरि ओरालो लागियो । आहा वरिपरि साना ठूला पहाडहरु हामीलाई हेरेर मुस्कुराउँदै छन् । घामपानी ,झरीवर्षा, दिनरात नभनी बाटोमा आउने यात्रुहरु मू्र्तिवत हेर्नु तिनको दैनिकी हो ।
खनियाखर्क सिन्धुलीगढी,ढुंग्रेबास, बुद्धनगर गडौली पुल्चोक, हुँदै कमलाखोलाको पुल तरेपछि करकरे आयो । गर्मी र भोकले सबैजना गलेका देखिन्छन् । भोक नलागोस् पनि किन एक बजिसकेको छ । अब उपयुक्त स्थान हेरेर गाडी रोक्न चालक भाइलाई अनुरोध गरँे मैले । ढुंग्रेबास,बुद्धनगर,गडौली पुल्चोक हुँदै कमलाखोलाको पुल तरेर करकरे पुग्छौ हामी । सिन्धुलीमाडीमा खाना खान केहिवेर रोकिन्छौ र त्यसपछि हामी भिमान पुग्छौं । त्यहाँपुगेपछि मैले साथीहरुलाई एकजना अत्यन्तै आदरणीय नेपाली आमाको वीर सपुतको बारेमा संक्षिप्तमा बताउँछु । ऋषि देवकोटा आजाद जो निरंकुश पञ्चायती व्यवस्थाको विरुद्ध जनाधिकारको पक्षमा नेतृत्व गर्दा पंचायती शासकहरुबाट कायरतापूर्वक मारिनुभएको थियो । उहाँको वीरगति र योगदान सम्झेर श्रद्धाले शिरनत हुन्छ । उहाँको सुपुत्र सुवास देवकोटा मेरा आत्मीय दाजु हुनुहुन्छ । आजादको सम्मानमा स्मृति भवन पनि बनेको रहेछ । उहाँप्रति सम्मानभाव प्रकट गरेर हामी अगाडि हुइँकिन्छौं ।
कमलामाई नगरपालिका चूरेबाट सिन्धुलीको सिमाना सकिन्छ । रापिलो छ घाम । पसिनाले शरीर लछप्पै भिजेको छ । तर हामी एकनास रफ्तारमा छौ । एकछिनअघिसम्म बादलको निशानीसम्म नदेखिएको आकाशले एक्कासी पानी बर्सायो । मानौँ हाम्रौ हालत देखेर यसलाई दया लागेको होस् । आकाशले आफ्नो खोकिलामा लुकाइ राखेको बादलबाट पानी वर्षाउँदा बिछट्टै शितलताको अनूभूतित भयो । एकैछिनमा खोलाहरुमा पानीको बहाव बढ्यो ।
बाहुनमारा कति नराम्रो ठाँउको नाम,कसरी रह्यो होला यो नाम ,कसैसंग सोध्न पनि पाइएन । कुनैपनि मानेमा मार्ने र मारा स्विकार्न सकिन्न । बाहुनमारा,कमलपानी,पाटु हुँदै हामी वर्दिबास बजार पुग्छौं । चोकमा पुगेपछि अडिन्छौं हामी । हामी जानु छ रामगोपालपुर नगरपालिका । जाने बाटोका बारेमा जानकारी लिन्छौं । अनि चोकवाट दक्षिणतिर मोडिन्छौ हामी । औरही रोड, हाथिलेट हुँदै करिब २१ किलोमिटर सडक नापेपछि हामी रामगोपालपुर नगरपालिकाको मुख्य केन्द्रमा पुग्छौं । सुमित्राजीले बेलाबेलामा स्थानीय केही व्यक्तिहरुसँग फोनवार्ता गरिरहनुभएको थियो । त्यहाँ पहिले सम्पर्क गरेका व्यक्तिहरु हामीलाई कुरिरहनु भएको थियो । हामीले उहाँहरुलाई दिएको समयभन्दा करिब २ घण्टा ढिलो भएको थियो । माइक्रोबसवाट झर्नासाथ आत्मीय सत्कार पायाँै । करिब एक दर्जन पुराना जननिर्वाचित जनप्रतिनिधिहरु, समाजसेवीहरु र उद्योग व्यवसायीहरु हाम्रो स्वागतमा बसिरहनु भएको थियो । चिसो पानी पिएसँगै चिनापर्ची गरियो । तत्पश्चात् त्यहाँबाट करिब दुई किमी दुरीको बाढी पीडित चमार र मुसहर बस्तीको अवस्थाको निरीक्षण गरेपछि मात्रै लगिएका खाद्य पदार्थ कसरी बाँड्ने भन्ने निष्कर्षमा पुग्न सकिने देखियो । ती बस्तीमा स्थानीय समाजका अगुवाहरुले हामीलाई उहाँहरुको मोटरसाइकलमा राखेर लैजानुभयो ।
मौसम निर्मल थियो । तर वस्ती ज्यादै नै मलिन र उदास देखिन्थ्यो । बस्ने वास बाढीले वगाएर,वासमा बाढी छिरेर, अन्नपात,भाडावर्तन र चूलो समेत बगाउँदा विरक्तिलो जीवन वाँचेरै होला शोकमग्न कालो उदासी असरल्ल छरिएको थियो । आँखाहरु रुझेका परेलाहरु बोकेर कैयौँ आशावादी नजर हामीमा परेजस्तो भान प¥र्योे मलाई । अशान्त र सपनाहरु भाँचिएका मन बोकेका मान्छेहरुका मनहरु पढ्ने प्रयास ग¥यो मेरो मनोविज्ञानले । ठूला मान्छेको भीडभित्र साना साना नानीहरु घुस्रिरहेका देखिन्थे । तीे मधेशका मात्र नभएर नेपालका भविष्य हुन् । पानीका चौडिल्ला र पोखरीहरुमा नाँगो पौडिरहेका बालबालिकातिर देखिन्थे । कतै नांगाभुतुंगा बालबालिका भैसीमाथि चढेर चरनतिर भेटिएन्थे । तिनको अवस्था देखेर सुमित्राजीको त अनायास आँखाहरु रसाएका देखिन्थे । अगुवाहरुले जताजता लानुभयो उतै गयौं हामी । सुमित्राजीले पसलमा पाइएको चकलेट किनेर सबै बालबालिकाहरुलाई बाँडिदिनुभयो ।

करिब २५ २६ कि महिलालाई मैले सोधँे ‘तपाईको घरमा वाढीले के कति क्षति भएको छ ?’ अश्रुमिश्रित स्वरमा उनले घरतिर देखाउँदै भनिन् ‘के पो बाँकी छ र । ल जाइजानुस् मेरो घरको भित्र र हेरिहाल्नुस् ।’
म र सुमित्रा बोगटी गयौं । वाढी पसेर छाप्रो पुरै जलमग्न देखिन्थ्यो । लुगाफाटा ढुसीले गन्हाउने थिए । भित्र सामान केही थिएन । घरमुलीले ज्यालबुुनी गरेर परिवार पालेको बताए । उनका चार सन्तान रहेछन् । अनि यति धेरै सन्तान किन जन्माएको भन्दा भगवानले दिएको कुरा गरे । त्यहाँ प्रायजसोका चार सन्तान हुनु सामान्य देखियो ।
सुमित्राजी बच्चा च्यापेर यताउता गरिरहनुभयो । हामीसँग जाने भाईहरु यस्तो दुर्दशा देख्दा दुखी देखिन्थे । मेरो मन पनि अत्यन्तै धमिलो भएको थियो । परेला चिसिएका थिए मेरा । मुटु विदीर्ण वन्दैथियो मेरो । शब्दमा वर्णन गर्न नसकिने त्यहाँको परिवेश देखे । आँखाको डिल ओभाउन सकेनन् हाम्रो टिमका सदस्यहरुको । हामीले धेरै सहयोग गर्न त सक्ने परिस्थिति नै थिएन । विचरा बालबालिका किन यस्तो सजाय पाइरहेछन् । मनमा तुँवालो उड्यो मेरो । सँगै हामी बाँचेको समाज, राज्यप्रणाली र मधेशका राजनीतिकर्मीहरु प्रति रोष व्यक्त गर्न चाह्यो मेरो मनले । बालबालिकाको भविष्यको चिन्ता मधेशका मसिहा ठान्ने दल र तिनका नेतागणहरुको जति नै आलोचना गरेपनि कम हुने ठान्यो मेरो मनले ।
हामीसँग त्यहाँ जाने अगुवा मध्ये एक थिए तत्कालीन सहसौला गाविसका २०५४ सालमा निर्वाचित गाविस अध्यक्ष रामनरेश यादव । उनलाई मैले राज्यले के ग¥यो भनेर सोधनी गरेको थिए । उनका अनुसार हेलिकप्टरमा सरकारी मान्छे आए केही दिए झैँ गरे तर खासै उपलब्धिमूलक भएन । जनताको दुखको कसैलाई मतलव भएन । भर्खरै २० जनालाई पल्ली बाँडेको बताए । उनलाई त्यो समुदायमा मुखियाजी भनेर सम्मानित रहेछन् । अब के पाइन्छ मुखियाजी यस्तै प्रश्नहरु सोधिरहेका थिए मुसहर वस्तीका जनहरु उनलाई । मुखिया ढाडस मात्र दिन्थे हातले । मुुसहर वस्तीका मानिसहरु उनीप्रति पनि आशावादी देखिन्थे । भीडमा बढोत्तरी हुँदै गयो । सबैको ध्यान हामीतिर खिचिएको थियो । के बालबालिका, के युवा युवती के वृद्धवृद्धा हामी जता जान्थ्यौ भीड उतैतिर मोडिन्थ्यो । झन्डै असी प्रतिशत केटाकेटीको शरीरमा लुगा पनि थिएन ।
मुसहर बस्तीमा पचास जति घरधुरी रहेछन् । स्थानीय बैजुकुमार शाहका अनुसार वडा नं ९ मा झण्डै पचपन्न सय जति जनसंख्या छ । मण्डलहरुको वाहुल्यता रहेको सो गाउँको मुख्य पेशा नै कृषि रहेछ । त्यहाँ २० परिवार जति सुकुम्बासी छन् पासवानहरु । ज्याला मजदुरी गरेर विहान बेलुकाको जोहो गर्छन् तिनीहरु । कारुणिक छ तिनको जीवन । पढाइ लेखाइ प्राय छैन । अर्काे वस्ती छ चमार वस्ती जहाँ करिव ८० परिवार बसोबास गर्दछन् । बेकारीको ठूलो समस्या छ यहाँपनि । ज्यालाबुनी गरेरै जीविकोपार्जन गर्छन सबै । सरसफाइको कतै वास्ता छैन् । जताततै बच्चाहरुले फोहोर गरेका छन् । घर त छैन् चर्पीको के कुरा गर्नु । बच्चाहरु भैसीसँगै आहालमा पौडिरहेका उत्तिकै भेटिए । ठुला मान्छेहरु पनि खुला ठाउँ र झाडीहरु चर्पीको रुपमा प्रयोग गर्छन ।

राजनीतिक दल आउँछन् ,भोट माग्छन् ,तर पैसा दिँदैनन् । चुनाव आयो रे नि भन्दा मेरो त नागरिकतै छैन कसरी भोट हाल्नु भन्छन् गोठबनाउनीका पच्चीस वर्षे का मनोज सदा ।
धेरैजसोको नागरिकता पनि छैन । उनीहरुलाई बनाउनु जरुरी पनि लागेको छैन । मैले एक अधबंैशेलाई सोधेँ किन नवनाउनु भएको त नागरिकता ?उनको उत्तर थियो कसलाई फुर्सद बनाउन । दिन माया मारेर जानुपर्छ । ज्यालामुरी गर्न पाइएन भने के खानु । उनको यो अभिव्यक्ति मर्मस्पर्शी थियो । मेरो मनले सोध्यो आफैसँग, नेता पुज्नु र ढुंगा पुज्नुमा फरक के ? जनताको सुखसुविस्तासँग चासो नराख्नेहरुको दिमाग पनि कतिविघ्न विकृत, काइ परेको छि । नागरिकताको महत्व समेत आफ्ना नागरिकहरुलाई प्रष्ट्याउन नसक्नु असफल राज्य व्यवस्थाको उपज है त ?त्यहाँका मुसहरहरुको अभिव्यक्ति देखेर घाइते भयो मेरो मन । जन्मदर्ता पनि कसैले गराएका छैनन् यहाँ नागरिकता त परको कुरा । सरकारले यहाँ नै टोली खटाएर नागरिकताको महत्व वुझाएर सेवा दिन नसकेसम्म यही अवस्था रहिरहन्छ । यहाँका जनताले नागरिकताको लागि सदरमुकाम धाउनु सम्भव छैन भन्छन् एमालेका नेता सरोज यादव ।
निर्वाचित सभासदहरुको उपस्थिति देखिन्न । मानाँै बेखवर छन् त्यहाँको अवस्थाप्रति । साना किसान सहकारी संस्थाका अध्यक्ष राम इकवाल राउत कुर्मी राजनीतिक दलहरु स्थानीय समस्याप्रति अलि बढी संवेदनशील हुन नसकेकोमा दुखी छन् । यावत समस्याको समाधान असल राजनीतिबाट मात्र सम्भव हुने कुरामा उनको जोड छ । म जे जस्तो सोचेर आएको थिएँ मधेश त्यस्तो होइन रहेछ । एकाध घण्टाको वसाइ नै मेरा निम्ति मधेश बुझ्न काफी भयो । निमेषभरमै म गलें । कोही मरीमरी काम गर्दापनि खाना खान धौ भएर बसेका छन् कोही मस्तीको दिनचर्यामा छन् । कसैलाई सुखको सपना देख्ने अधिकार पनि छैन् जस्तो लाग्छ त्यहाँ अनि कोही विलासी वैभवपूर्ण जीवन व्यतित गरिरहेका छन् । गरीब र निमुखा मुसहर र चमारहरु सधैँ दुःखका पहाड चढ्न अभ्यस्त भइसके जस्तो भान पर्छ मलाई । अभावका छालहरुसँग बाध्यताले जुधिरहेकै थिए उनीहरु । आज फेरि बाढीसँग जुध्न विवश छन् । प्रकृति पनि गरीब र निमुखासँगै रिसाउँछ सधै किन ।
सरकार के रमिता हेरिबसेको छ । मजाक गरिबसेको छ । हामी गरीबको खाने धान उम्रिएर जमरा भइसक्यो । तपाईहरु पनि हाम्रो घाउमा नमक दल्न आउनु भएको छ ?आक्रोश थियो रामदेव राय यादवको । उनको बाढी पीडितमा नाम छैन भन्ने दुखेसो थियो । उनले डल्लो पारेर राखेको रसिद देखाएर बाबु यो हेर्नुस् के हो भने आफ्नो स्थानिय मैथिली भाषामा । त्यो त उनको नातिको स्कुलमा तिरेको फिसको पर्चि पो रहेछ । विचरा रामदेव राय बा ।
हामी भारी मन लिएर रामगोपालपुरको मुख्य बजार फर्कियौँ । हामीले लगेको खाद्य सामाग्री अलिक अपूग भो भन्ने ठम्याइ भो । सोही बजारमा केही दाल,चामल र नुन खरिद ग¥यौँ । एक भोजनालयमा बेलुकाको खाना खाएपछि मित्र सरोज यादवसँग छुट्टिएर हामी स्थानीय उद्यमी एवं समाजसेवी विनोदकुमार चौधरीको घरमा लाग्यौं जहाँ हाम्रा निम्ति बासको व्यवस्था गरिएको थियो । बाँकी प्याकिंगको काम सकियो रातको करिब ११.३० बजे । अनि सुत्न पल्टियौँ । अहँ निन्द्रा छैन आँखामा । गर्मी पनि बिछट्टै छ । पंखा चलाएर सुत्न बाध्य छौं हामी । कति कष्टकर गर्मिलो रात । साथीहरु बिस्तारै निदाए । तर म अबेरसम्म निदाउन सकिन ।
रात खस्यो विस्तारै र भयो विहान । झिसमिसेमै उठेँ म । सँगै सुत्नुभएको साथी पनि उठ्नु भयो । हामी नुहाएर बाहिरतिर डुल्न निस्केका थियौँ । चकमन्न थियो । वातावरण सन्नाटापूर्ण लाग्थ्यो । परपरसम्म घुमेर आयौं हामी । सुमित्राजीहरु पनि तयार भैसक्नुभएछ । हामीलाई हिजो गाँउबस्ती लैजाने महानुभावहरु पनि आउनुभयो । सबै मिलेर चिया पिएपछि एक ट्याक्टरमा खाद्यान्नसहितका राहत सामग्री हालेर हामी स्थानीय साथीहरुको मोटरसाइकलमा हुइँकियौं बाढी पीडित मुसहर र चमार बस्तीमा ।
ती बस्तीहरुमा देखिएको मानिसहरुको जीवनशैली देखेर मेरो मन अमिलो भयो । टाठाबाठाले सामान्य गरीवहरुको मानवमूल्यको शोषण गरेको ठहर ग¥यो मेरो मनले । त्यहाँका मानिसको जीवनका रुग्णता र उनीहरुले भोगेको पीडामय जीवनसँग अभ्यस्त भयो मेरो मन । अनि यही मनले उनीहरुसँगै जीवनको लय खोज्ने प्रयास पनि गर्यो । उनीहरुका अभाव,दुख र पिडाका वाछिटाहरुले हान्यो मलाई । निराश मुद्रामा यताउति डुल्दैछन् हाम्रो टोलीका आँखाहरु । मधेशको प्रतिनिधि गाँउको यो दर्दनाक जनजीवन देखेर मेरो भावुक मन संवेदनाले स्पर्शित भयो । अशान्त मनमा पीडाका तलाउहरु बनेर तिनमा दुखका असंख्य छालहरु उर्लिएर आए । तर हामीले गर्नसक्ने धेरै थिएन । उही सबैलाई केही छाक जोहो गर्ने सातुसामल वितरण गर्न वाहेक हामीवाट के पो हुन्थ्यो र !

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 3 कार्तिक, 2074

लेखकका अन्य रचनाहरु