सिंघकको रेमिटल्यान्ड भर्सेज प्रेमल्याण्ड

- दीपक सुवेदी

केही समय अघि नेपाली साहित्यको लेखन सशस्त्र संघर्ष र युद्धका डोब वरिपरि फनफनी घुम्यो । समयको लामौ अन्तरालपछि अहिलेको लेखनले वैदेशिक रोजगारीका रहर र कहरलाई केलाइरहेका बेला श्याम सिंघकको रेमिटल्याण्ड बजारमा आएको छ । उपन्यासामा समाजको यथार्थ चित्रण गरिएको छ । उपन्यासमा पछिल्लो समय वैदेशिक रोजगारले ल्याएको विकृति विसंगतिलाई मात्र समावेश गरिएको छैन । यसमा माया प्रेमका कुरा पनि समेटिएको छ ।
उपन्यासमा वैदेशिक रोजगारीमा गएका श्रीमान्हरुका श्रीमतीहरूले मायाको अभाव महसुस गरेको देखाउँदै पैसा भन्दा ठूलो माया रहेको कुरालाई उपन्यासमा उल्लेख गर्न खोजिएको छ । उपन्यास पढिसक्दा पैसा मात्र ठूलो कुरा नभई माया प्रेम पनि ठूलो हो भन्ने यसको मूल भाव देखिन्छ ।
वैदेशिक रोजगारले विपन्न नेपालीहरूलाई सम्पन्न बनाउन मद्दत गरेको छ । हेर्दा यस्तो लाग्छ नेपालमा अब वैदेशिक रोजगार आवश्यकता नै भएको छ । लेखकले उपन्यास मार्फत् वैदेशिक रोजगारीमा जानेलाई निरुत्साहित गर्न नखोजेको पनि देखिन्छ । यदि जानेनै हो भने वैदेशिक सुरक्षित तरिकाबाट जानु भन्ने पनि रहेको देखिन्छ ।
रेमिटल्यान्डले पूर्वी नेपालका बजार र तिनीहरुका पेरिफेरीको परिवेशलाई आधार क्षेत्र बनाएकोछ । तर, रेमिट्यान्स संस्कृतिले पूर्वी नेपालमात्र होइन पूरै देश प्रभावित भएको छ । उपन्यासमा समेटिएका स्थान त प्रतिनिधिमात्र हुन् । त्यसैले उपन्यास पढिसक्दा लाग्छ, नेपाल नै एउटा रेमिटल्यान्ड हो । एक ताकाको कृषि प्रधान देश अहिले रेमिटल्याण्डमा बदलिएको छ । गाउँ बजारमा मनी ट्रान्सफर नभएका ठाउँ पाउन मुस्किल छ । र यस्तो लाग्छ साँच्चै सिंघक, रेमिटल्याण्डले जीवनको लयलाई बदलिदिएको छ ।
उपन्यासको मुख्य पात्र मुक्साम नौ वर्ष कतारमा रोजगारी गरी फर्किएको छ । ऊ घर पुग्ने दिन श्रीमती फुङ्साले भने घर र छोरी त्यागेर हिँड्छे । मुक्साम विक्षिप्त बन्छ । मन बहलाउन क्रिश्चियन धर्म अंगाल्छ र संगतिमा जान्छ । घटनाक्रममा दमकमा कोल्ड स्टोर खोलेर बसेकी रुक्मिणीसँग उसको भेट हुन्छ । रुक्मिणीको श्रीमान् वैदेशिक रोजगारमा हुन्छन् । दुवै एकान्तको पीडित, व्यथा मिल्छ र सामिप्यता बढ्छ । त्यही सामिप्यताबाट प्रेम अंकुराएको छ उपन्यासमा ।
प्रेम शाश्वत छ । प्रेम हिजो पनि गरिन्थ्यो आज पनि गरिन्छ । प्रेमलाई विषय बनाएर हिजो पनि प्रशस्तै लेखियो आज पनि लेखिँदैछ । तर, प्रत्येक लेखकको प्रेममाथिको फरक दृष्टिले अलग अलग अनुभूति दिँदोरहेछ । उपन्यास पढिसक्दा पाठकलाई लाग्छ त्यो अलगपना लेखकको प्रस्तुतिले दिँदोरहेछ । सिंघकको प्रस्तुतीमा मुक्साम र रुक्मिणीको प्रेमले पनि पाठकलाई हुरुक्कै बनाउँछ । भलै त्यो समाजले अनैतिक किन नदेखोस् । तर, यसो सोच्दा लाग्छ– यो सामाजिक मान्यता भनेको हामीले नै निर्माण गरेको न हो ।
रेमिटल्यान्ड मुक्साम र रुक्मिणीको प्रेमप्रसंगबाटै सुरुवात हुन्छ र अन्त्य पनि । त्यसैले कतिपय पाठकलाई उपन्यासको नामाकरण रेमिटल्यान्ड नभएर प्रेमल्यान्ड नै पनि भएको भए हुने रहेछ भन्ने लाग्न पनि सक्छ । तर यदि यसो भएको भए उपन्यासकारको नेपाली समाजको आर्थिक र सामाजिक क्षेत्रमा रेमिट्यान्स संस्कृतिले पारेको सकारात्मक प्रभाव र पिरलो देखाउने अभिष्ट पूरा नहुन सक्थ्यो । त्यसैले उपन्यासकारले मुक्साम र रुक्मिणीको प्रेमलाई सहायक आधारमात्रै बनाएको देखिन्छ ।
उपन्यासभित्र यौनको प्रस्तुतिमा लेखकले निकै भाँती पु¥याएका छन् । कुनै ठाउँ पढ्दै जाँदा लाग्छ, मुक्साम र रुक्मिणीको शारीरिक मिलन हुन्छ कि भन्यो, हुँदैन । बरु एक प्रकारका पाठकमा यसले कौतुहलतासँगै खिन्नता ल्याइदिन्छ । पाठकमा यस्तो अनुभूति सिर्जना गराउनु लेखकीय सफलता हो ।
रेमिटल्यान्डको अर्को सबल पक्ष भनेको दमक सहर र पेरिफेरी भूगोलको सजीव चित्र ल्याउनु पनि हो । र, त्यस भेगमा पाइने प्राणी र वनस्पतिको शिल्प मिलाएर वर्णन गर्नु हो । कुनै ठाउँमा लाग्छ पाठकलाई जीव र वनस्पति विज्ञानका बारेमा लेखक पुस्तक लेखिरहेकाछन्, अनि म पाठक पढिरहेछु ।
उपन्यासमा नारायणजस्तो पात्र पनि छ । जो आरोपित, रेमिट्यान्स संस्कृतिले बनाएकोे समाज त धमिलो छ । ऊ आफैँ पनि धमिलो बनाउन लागि पर्छ । अनि उपन्यासमा समाजका यस्ता पात्र पनि छन्, आदि समयका आदिवासी जमिनदार, वर्तमानका सुकुमवासी । जवान पत्नीलाई विधवा बनाउने काठको बाकसदेखि पतिको विदेशी पसिनालाई जुवाखालमा दुरुपयोग गर्ने पात्र पनि छन् । रेमिटल्यान्डमै आफ्नो मान्छे नै प्रेमल्याण्ड मानेर सधैंभरि कुरेरै बस्ने नैतिकवान् पात्र पनि छन् । ती पात्रमार्फत सामाजिक यथार्थलाई प्रतिविम्बित गर्नु लेखकीय अभिष्ट रहेको देखिन्छ ।
मुक्साम र रुक्मिणीले प्रेम अमर बनाउने निहुँमा निर्माण गर्ने फलैंचा र उनीहरूको बिछोडपछि फलैंचामा नै भएको आकस्मिक भेटबाहेक भएको पढ्दा उपन्यासको कथा कतै कतै फिल्मी शैलीमा देखिन्छ । वैदेशिक रोजगारीले पछिल्लो समय ल्याएको असर र परिणाम नै उपन्यासको केन्द्रीयता हो ।
बैदेशिक रोजगारीले ल्याएको परिणाम सबै विकृति मात्र पनि होइनन्, यी त समृद्धिका आभा पनि हुन् । रेमिटल्यान्डको समय, निशाको प्रतीक मात्र होइन यो त उषाको विम्ब पनि हो । अनि वैदशिक रोजगारी, अझ भनौँ विप्रेषणको शाब्दिक चित्र पनि हो– श्याम सिंघकको रेमिटल्यान्ड ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 3 कार्तिक, 2074

लेखकका अन्य रचनाहरु