हिसाब

- कुमार काफ्ले

"क्या हो ? गोविन्द , निकै चिन्तित देखिन्छौ त !"
चिउँडोमा हात राखेर टोलाइरहेको गोविन्द बा झस्किए एक्कासि पछाडिबाट आएको परिचित आवाजले ।

"होइन , होइन केही होइन !" पुरानो मित्रलाई बाहिर यसो भने । गलेको ज्यानको मनमाचाँहि अनेकथरि कुराहरू गुम्सिरहेका थिए , त्यसैले बेचैनी बढेको थियोे ।

कहिले भविष्य सोच्थे त कहिले अतीत सम्झन्थे । उमेरमा मेहनती गोविन्द बाले लगनशील भएर काम गरे । दिनरात काममा जोतिए र बिस्तारै बिस्तारै सफलताको मार्गतर्फ अग्रसर भए । त्यसको जस धेरैले लिन खोजे । उनी फिस्स हाँसे मात्रै ।

त्यसपछि उनले अथाह सम्पत्ति कमाए , जमाए । सन्तानको शिक्षादीक्षामा उतिसारो समय र ध्यान दिन नसकेकाले छोराछोरी थरिथरिका निस्के ।

समय बित्दै गयो । जीर्ण शरीर , त्यहीमाथि चिन्ताले उनी थला परे । ब्रह्मनालमा सुत्दै गर्दा छोराहरू बाउको सम्पत्ति आफ्नो भागमा कति पर्ला भनेर हिसाब गर्दै थिए । कुन बैंकमा कति होला भनी चासो उत्तिकै थियोे । उनीहरूको मनोभावना बुझेका गोविन्दले भने -

"मेरो सारा सम्पत्ति तिमार्की आमाको नाममा गरिदिएको छु । आमाको सेवा जसले गर्छ उसैले त्यो पाउँछ । भो अहिल्यै हिसाब नगर बाबै ।"

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 3 कार्तिक, 2074

लेखकका अन्य रचनाहरु