युरेसियाको भ्रमणमा बजगाईंको स्पर्श

- गोपाल झापाली

घुमन्ते लेखक हुन् कृष्ण बजगार्इं । युरोप र एसियाका अनेक देशका नगर घुमेर घुमाईलाई लेखनी मार्फत उतारेका छन्, यीनै घुमुवा लेखकले ‘युरेसियाको स्पर्शमा’ । यस अघि कवच (लघुकथासङ्ग्रह), कमरेड भाउजू (कथासङ्ग्रह), रोडम्याप (लघुकथासङ्ग्रह), स्रष्टा र डिजिटल वार्ता (साहित्यिक अन्तर्वातासङ्ग्रह), यन्त्रवत् (लघुकथासङ्ग्रह ) पाठकलाई दिई सकेका उनी अहिले ‘युरेसियाको स्पर्श’ नियात्रासङ्ग्रह लिएर पाठकसामु उपस्थित भएका छन् ।
साझा प्रकाशनले प्रकाशनमा ल्याएको १९ ओटा नियात्राहरुको सङ्ग्रहमा युरोप र एशियाका विभिन्न देशमा पुग्दाका अनुभवहरु उनिएको छ । नियात्राहरुमा यात्रानुभूति मात्रै छैनन्, त्यहाँका इतिहास, भुगोल, कला, संस्कृति चिहाउने आँखिझ्यालहरु पनि छोडिदिएका छन् लेखकले । सङ्ग्रहको पहिलो नियात्रा सेक्सपियरको जन्मघरमा पारिलो घाममा उनले सेक्सपियरको संक्षिप्त जीवनी पनि मिसाएर आफ्नो लेखोटलाई झनै बलशाली बनाएका छन् । यो पाठकको लागि बोनस जानकारी पनि हो नियात्रामा । एउटा लेखक प्रतिको श्रद्धा र सम्मान कति हुन सक्दो रहेछ भन्ने कुरा यस नियात्रामा प्रष्ट देखिएको छ । यो नियात्रा पढिन्जेल नेपालमा देवकोटा, शम, पौड्यालहरु प्रति श्रद्धा र कठैभाव पैदा भयो । खोई त नेपालमा एउटा पनि लेखक सर्जकले त्यसरी सम्मान पाएको ? तिनका जिवनकालका अनेकौं विशेषताबारे जानकारी पाउने थलो खोई ? कठैबरा नेपाली साहित्यकार ।
त्यान्मेन चोकमा घुमघामः माओको अगाडि घोक्रेठ्याक पढ्दा उस्तै हुटहटी लाग्छ । देशको एउटा राजनेता प्रति संसार नतमस्तक हुने वातावरण सोही देशका नागरिक र सरकारले सिर्जना गर्न सक्नु पर्छ । नेपालमा महिला मुक्तिको शंखघोष गर्ने योगमाया हुन् वा लखन थापा देखिका सहिदका श्रृङ्खला अथवा बिपी, गणेशमान, मनमोहन, मदन, गिरिजाप्रसादहरुको आजादी आन्दोलन । कोही कसैले यो तहको न्याय पाउन सकेका छैनन् । यो पाठकलाई चिमोटी रहने विषय पनि हो । के नेपालमा त्यो तहका कुनै राजनेता जन्मिएनन् ? कि त्यो तहको सम्मान दिने संस्कार हामीमा जन्मिएन ? यो प्रश्न हरेक पाठकको मनमा जन्माई दिएका छन् बजगाईंले । संसारको सवै भन्दा सानो सहर दुर्वीमा एक दिन बिताएका लेखकले सन् १३३१ देखिको सहरको इतिहासको टिपोटदेखि युरोपमा बढ्दो हिन्दू मोहलाई खिरिलो ढंगबाट आफ्नो लेखनी शिपमा प्रस्तुत् गरेका छन् । त्यस्तै विषयवस्तुको बेलायतमा तीनधामको यात्रामा पनि उठाएका छन् । यसै गरि ग्रेटवालमा संस्कृतका श्लोकहरु शिर्षकको नियात्रा विदेशमा छरिएको आफ्नोपना समेट्न उद्धत छन् । यी सवैमा घुमघामे बयान मात्रै छैनन्, संसार चिहाउने सुक्ष्म छिद्रहरु पनि छन् ।
अरनिकोले बनाएको स्तूप घुमेर फर्कदा चाँहि जति गहिरिएर आउने अपेक्षा थियो त्यति पाईदैन । एउटा नियात्राका लागि त काफी छ लेखाई । तर फगत एउटा नियात्रा भन्दा माथि उठेर त्यहाँको इतिहास, भुगोल, सांस्कृतिक पक्ष जति उधिन्न सफल भएका छन् लेखक अरु नियात्रामा त्यो खरोपना त्यहाँ बढि देखिनु पथ्र्याे भन्ने मेरो मात्र हैन पाठकको पनि मत हुन सक्छ । किन भने त्यो नेपाली आँत र नेपालीपनासँग जोडिएको विषयबस्तु थियो । चिनियाँ कविको निवासमा माछा मार्दामा लेखकले नेपालको बुढासुव्वालाई पनि सम्झिएका छन् । यो सफल पक्ष हो । नेपालको दशगजा नकाटेका पाठकहरुलाई विदेशको यात्रा विवरण प्रस्तुत भई रहँदा नेपाली बिषयवस्तुसँग उनिरहँदा त्यसले पढ्नेहरुलाई तुलनात्मक अध्ययनमा पनि सघाउ पुर्याउँछ । त्यो अवसर उनले अधिकांश नियात्रामा दिएका छन् । माक्र्सको समाधिस्थलमा कमरेड भाउजूसँग बरालिँदामा भने एउटा टिठ लाग्दो अवस्था देखिन्छ । बेलायती पँुजीबादी साम्राज्यमा विश्वका साम्यवादी महानायक माक्र्स कसरी नेपथ्यमा धकेलिएका छन्, आफ्नो आँखै अगाडि देखेर पाठकहरुलाई पनि देखाए । चीनमा माओ प्रतिको श्रद्धा र बेलायतमा माक्र्स प्रतिको उपेक्षा तुलना गरेर हेर्ने हो भने विश्वका महान् व्यक्तिहरु पनि कसरी राजनीतिक पूर्वाग्रहको कोपभाजनमा पर्दा रहेछन, त्यो पनि मृत्यु पछि भन्ने कुरा प्रष्ट हुन्छ ।
पानीमुनिको रेलयात्राः लण्डनमा साहित्यिक भेटवार्ता मूलतः युरोपको चमत्कारीक विकासको उदाहरण पेश गर्ने एउटा दस्तावेज हो । यस्तै समुद्री किनारमा नेपाली अक्षर बेच्न बस्दा होस् वा बेल्जियमको सडकमा बरालसिंगमा अनि त्यो चुम्बक जुत्ता र विदेशमा जाक्ने जर्मनी यात्रामा लेखकको फकिरियापना प्रष्टै झल्किन्छ । एउटा नेपाली थाहै नपाई कसरी विदेशी दलदलमा फस्छन्, बाँच्ने प्रयासमा के के संघर्ष गर्छन् भनेर बताउने आम नेपाली युवाको प्रतिनिधी व्यथा बोकेका अक्षरीय पिलो हुन् ती नियात्रा । पीडादायी पिलोका पिपले लत्पलिएका छन् नियात्राहरु । ब्रसेल्सको तरुनी रातमा भने उनले चटपटे चखाएका छन् । तन्नेरी लेखक मन बरालिएको देखिन्छ त्यहाँ ।
१९ वटै शिर्षक केलाई निफन नाफन गर्दा ‘युरेसियाको स्पर्श’ एशिया र युरोपका चारचौरास चिहाउने आँखी झ्याल हो । लेखकीय क्षमतामा खरो उत्रिए पनि बजगाईं सबै नियात्रामा समान रुपमा उभिन सकेका छैनन् । धेरै जसो नियात्रामा इस्पाती रुपमा लेखन मैदानमा उत्रिएका उनी केहीमा भने थाके जस्ता पनि लाग्छन् । नियात्रा भनेको यात्राको विवरण मात्र होईन । त्यहाँको कला, भाषा, साहित्य, सभ्यताको प्रतिविम्ब पनि हो । यो कुरा त उनले भ्रमणका क्रममा भेटिएका भित्ता र बिम–बत्ति सम्म केलाएर देखाएका छन् । एउटा अन्जान लेखकले उसको जीवनमा मोज–मस्ती वा संघर्ष–सकसका लागि गरेको यात्राको विवरण दुनियालाई पढ्न के खाँचो ? खाँचो त लेखन शिल्प र शिपले महसुस गराउने हो । कम्तिमा एउटा लेखकको यात्रा पढि रहँदा पाठकका आँखामा त्यहीँ ठाउँमा पुगेको तस्विर उत्रनु पर्छ । नियात्रामा लेखकलाई रिंगटा लाग्दा पाठकलाई वाकवाकी लाग्नु पर्छ । यात्रामा लेखकलाई ठेस लाग्दा पाठकलाई दुख्नु पर्छ । पढिरहँदा त्यहाँको समाज, साहित्य, सभ्यता, विकास पनि तौलन पनि पाउनु पर्छ । अनि पो त उसको यात्रा अरुको लागि सरोकारको विषय र साहित्य बन्छ । यस अर्थमा यदि म परीक्षक हुन्थेँ भने बजगार्इंलाई राम्रै अंक दिन म कन्जुस्याई गर्दिन ।
तर फुक्र्याईको फुर्को मात्र देखाएर हुँदैन लेखकलाई । लेखक मात्तिन सक्छन् । बजगार्इंलाई मातिनबाट जोगाउनु पर्छ । नियात्रामा कम्तिमा साल सम्वत् भईदिएको भए भविष्यमा तीनै क्षेत्रको यात्रामा पुग्ने युरेसियाको स्पर्शको पाठकलाई आवधिक तुलनाको अवसर प्राप्त हुने थियो । अर्को कुरा चिनिया भ्रमणमा भने लेखकले एकै व्यक्तिको नाम बारम्बार उल्लेख गरेर तिनलाई जबरजस्त नायकत्व प्रदान गरेका छन् । त्यति धेरै तिनको नाम लेख्नु जरुरी पनि थिएन । अर्को कुरा चीन र युरोप भ्रमणका नियात्राहरु छ्यासमिस् छन् । यदि एक खण्डमा चीन र अर्को खण्डमा युरोप राखिदिएको भए पाठकलाई पनि सजिलो हुने थियो । यो गर्न झण्झट लागे क्रमशः चीन र युरोपका नियात्रा राखिदिएको भए पनि बिसेकै हुने थियो । नियात्रा पढ्दा पाठक पनि सँगै यात्रा गरि रहेको हुन्छ । अनि त्यो यात्रामा रहेको पाठक एक पटक चिनिया सहर घुम्छ अनि रन्थनिएर युरोपको अर्को देश पुग्छ । फेरि बटारिए अरनीकाको स्तुप हेर्न चीन आई पुग्छ । कहिले फेरि आईफल टावर घुम्न युरोप दौडन्छ । यसले त पाठकलाई रिंगटा पनि लाग्छ नि । पाठकलाई सजिलो पनि त सोचिदिनु प¥यो नि लेखकले ।
समग्रमा एउटा पठनीय साहित्यिक दस्तावेज ‘युरेसियाको स्पर्श’ नेपाली पाठकले पाएका छन् । नेपाली साहित्यका पाठकहरुलाई यो गुन बजगार्इंले लगाएका छन् । विदेशी भुमिमा रहेर यन्त्रवत् जीवनलाई लेखिकीय साँचोमा निरन्तर ढाल्न पनि सम्भव छ भन्ने उनी एउटा उदाहारण पनि बनेका छन् । डायस्पोरा उधिन्ने बजगाईंको लेखकिय क्षमता र निरन्तरता एकपछिको अर्को प्रकाशित कृतिले देखाएको छ ।

कृतिः युरेसियाको स्पर्श
विधाः नियात्रा
नियात्राकारः कृष्ण बजगाईं
प्रकाशकः साझा प्रकाशन
संस्करणः पहिलो, २०७३
मूल्यः रु. १९९

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 30 भाद्र, 2074

लेखकका अन्य रचनाहरु