आठौँ रङको लाछा

- कोमल सुब्बा

दशैँ आउनु अझै एक महीना थियो। हामी साना-साना केटाकेटी दशैँ कहिले आउने भनी दिन गन्दै बसेका थियौं। मेरो दाजुले त कोइला स्टाइलको कोट लाउँछु भनेर आमालाई वाक्कै पारिसकेको थियो। आमाले पनि बोनस पाएपछि आफूसँगै हरि भैयाको दोकानमा लगेर लुगा किनिदिने वचन दिएकी थिई।
कुरा आइतबारको हो। आमा, मेरो दाजु अनि म दिउँसोको खाना खाइरहेका थियौँ। बाहिर कोही मान्छे आएर बोलेको जस्तो लाग्यो।
“ए बिहनी, सिद्रा, सुकुटी राख्ने हो? पोते, तिलहरी, लाछाहरू पनि छ रङ्गी बिरङ्गी।”
लाछा भनेपछि हुरुक्कै हुने मलाई लाछा भन्नेसाथ हेरूँहेरूँ लागिहाल्यो। म खाँदाखाँदै थालको भात आधै छोड़ेर बाहिर निस्केँ। बाहिर आँगनमा एकजना मान्छे रहेछ। चाउरिएको अनुहार, ठाउँ-ठाउँमा हिउँ परेजस्तो फुसफुस केश फुलेको बुढ़ो मान्छे। ढाड़मा ठूलो झोला अनि हातमा कालो-कालो पोका बोकेको थियो उसले। मलाई देखेर ङिचिक्क हाँस्यो।
मैले उत्साहित भएर भनेँ- “बाजे, लाछा देखाउनु न। म पनि हेर्छु नि।”
भित्रबाट आमा पनि बाहिर निस्की र भनी- “यसले खाँदाखादै भात पनि छोड़ेर आएछ। ”
म हाँस्दै उभिरहेँ। आमाले त्यसपछि त्यो बुढो मान्छेलाई पिरा दिएर बस्न लगाई। सुकुटी र सिन्की तौली मागेर राखी, तर मैले जिद्दी गर्दा पनि लाछा किनिदिन मानिन। म अँध्यारो मुख लगाएर त्यहीँ बसिरहेँ।
जानेबेलामा बाजेले भन्यो- “यो गाउँको मान्छेहरू सबै राम्रो रहेछ। यतै बसेर सामानहरू बिक्री गर्नपाए धेरै राम्रो हुनेरहेछ।”
आमाले पनि सहमतिमा टाउको हल्लाउँदै बाजेले कोशेलीस्वरूप दिएको छुर्पी टोक्दै भनी- “यताबाट उकालो जानुहोस्। गाउँमा अरूलाई पनि सोध्नुहोस्।”
त्यसदिनदेखि त्यो बाजे गाउँका सबैसँग मिल्नथाल्यो, खुल्नथाल्यो। सबैले उसलाई के-के सामानहरू ल्याइमाग्न थाले। तिलहरी, लाछा, टिका, बाइँ, गुन्द्रूक, सिन्की, छुर्पी इत्यादि।
त्यो बाजे हाम्रो गाउँको ठुटे तुम्बासँग बस्नथालेको थियो। दुवैजना एकै दँवले भएकाले खूब मिल्थे। बाजे दिनभरि सामानहरू बेच्नलाई कहाँ-कहाँ पुग्थ्यो, तर कतै बास भने बस्थेन, रात परेपनि ठुटे तुम्बाकहाँ नै आइपुग्नेगर्थ्यो। बाजे आएपछि ठुटे तुम्बाको हर्क त्यसै बढ़्थ्यो। मातेर ऊ गाउँ नै थर्काउनेगरी सधैं गाउने भजन गाउनेगर्थ्यो-
“ओ बाबा, सिटी बाबा
दर्शन देऊ साई बाबा।”
सामान बोकेर ओहोर-दोहोर गर्दा बाजे हाम्रै घरछेउ भएर हिँड़्नेगर्थ्यो। मलाई मिठाई दिएर जान्थ्यो। कोहीबेला म्वाईँ पनि खान्थ्यो। कोहीबेला “पोक्ची केटी कति किलो छ हँ? ” भन्दै मलाई बोकेर च्याप्पै छातीमा टँसाउँथ्यो।
मलाई सधैं नै घाम अस्ताएपछि बाजे कहिले आउँछ, कहिले आउँछ भन्ने हुट्हुटी लागिरहन्थ्यो। साँचो कुरो भन्नुपर्दा मेरो त्यो पर्खाई बाजेको निम्ति नभएर बाजेले सधैं ल्याइदिने गरेको मिठाईको निम्ति हुनेगर्थ्यो।
आज तुम्बाको घरमा हाटमा झैं मान्छेहरू थुप्रिएका थिए। थुप्रिनेहरू सबैले बाजेलाई केही न केही अवश्यै ल्याइमागेका हुनुपर्छ। बाजे आफ्नो अघिपट्टि सबैको मागअनुसारको सामानहरू फिँजाएर बसेको थियो। म पनि पुगेर उभिएँ। अहा! मेरो त आँखै तिरीमिरी भयो। टिलिक्क टल्कने ताराहरू जड़ित लाछा देखेर मेरो लोभको सीमा नै रहेन। पहेंलो, रातो, गुलाबी ताराहरू भएका लाछाहरू मेरा आँखा वरिपरि चम्किला भएर चम्किरहेका थिए।
मान्छेहरू आफूले ल्याइमागेका सामानहरू छानेर हात-हातमा उठाउँदै आ-आफ्ना घरतिर लागिसकेका थिए। म भने बाजेको छेउमा गएर बसेँ र ती रङ्गी-बिरङ्गी लाछाहरू खेलाउन थालेँ। आफ्नो कपालमा लगाएर मक्ख पर्नथालेँ।
बाजेले त्यो समय मेरो ढाड़ आफ्नो खस्रो हातले दल्दै भन्यो- “हन के खान्छस् हँ तँ? कम्ता मोटी छैनस् त।”
मैले खिस्स हाँसेर बाजेको कुरालाई वास्ता नगरी लाछा खेलाइरहेँ।
बाजेले मेरो कानमा साउती गरेझैं बिस्तारै भन्यो- “लाछा साह्रै मनपर्‍यो तँलाई? लान्छस् तँ?”
मैले हो भन्ने स्वीकृतिसूचक मुन्टो हल्लाएँ। मानों म त्यही प्रश्नको प्रतीक्षामा थिएँ अघिदेखि।
बाजेले फेरि मेरो काननजीक आएर भन्यो- “उसोभए भरै रात परेपछि मकहाँ आइज। म तँलाई सबै लाछा दिन्छु, बुझिस्?”
बाजेको कुरा सुनेर म खुशी भएँ। भित्रभित्र बुरुक्कै उफ्रिएँ पनि।
“साँच्चै हो बाजे? मलाई साँच्चै लाछा दिने त?” पत्यार नलागेर सोधेँ।
बाजेले भन्यो- “हो त अनि।”
मैले भरै राती आउने कुरो पक्का गरेँ। त्यसपछि खुशी हुँदै निस्केँ।
बाजेले मलाई रोकेर फेरि भन्यो- “पहिला राम्ररी सुन्। भरै आमालाई नभनीकन आउनु नि। भनिस् भने सबै लाछा एस्तरलाई दिन्छु, बुझिस्?”
त्यतिनैबेला आमा आएर भनी- “हन यसले बाजेको लाछा बिगारिदिन्छ होला। हिँड़् घरमा।” भनेर मलाई तान्दै घरतिर लगी।
मलाई लाछा ल्याएर आउनु हतार थियो। त्यसैले हतार-हतार भात खाएर बाहिर निस्कनै लागेको थिएँ, आमाले “हन कहाँ जान लागेको फेरि?” भनेर रोकिहाली।
मैले भनेँ- “कहीँ पनि होइन।”
“चुपचाप भित्र जा। दशैंको बेला भूतप्रेत पो निस्कन्छ बाटोमा। थाहा छ होला नि। भेटिस् भने सातो जान्छ, अनि तँचाहिँ रुँदै घरमा बस्नु र हामीचैं जान्छौं दशैं मनाउनु।”
त्यो कुरोले मलाई धेरै मन दुःख्यो र एक्कासि मुख फुलाएर रुँदै भनेँ- “अब बाजेले त्यो लाछा एस्तरलाई दिन्छ।”
“बाजेले एस्तरलाई किन लाछा दिन्छ?” आमाको प्रश्नमा केही उत्सुकता थियो।
मैले रुँदै भनेँ- “बाजेले मलाई बोलाएको थियो। कसैलाई नभनी आउनु, अन्त म लाछा दिन्छु भनेको थियो। म गइनँ भने लाछा एस्तरलाई दिन्छु पनि भनेको थियो। अब एस्तरलाई दिन्छ त्यो लाछा।”
आमाले मलाई च्याप्पै अँगालोमा कसेर आफूसँग टँसाउँदै भनी- “नरो नानी, म तँलाई त्योभन्दा दामी-दामी लाछा किनिदिन्छु।”
आमाको कुरो सुनेर मैले लाड़े पल्टिँदै भनेँ- “कहिले किनिदिने? साँच्चि नै किनिदिन्छौ?”
“साँच्चि नै। कस्तो नपत्याएको? तर त्यो बाजे भएकोमा नजा है, बुझिस्?” आमाले भनी।
त्यो रात म आमाको छातीमा टाँसिएर सुतेँ। खै के भएर हो, आमाले पनि मलाई आफूदेखि अलग पार्नै मानिन ठ्याम्मै। कतिखेर हो म भुसुक्कै निदाइपठाएछु।
भोलिपल्ट मैले बाजेलाई पर्खिबसेँ। बाजेलाई होइन, मिठाईलाई। अहँ, बाजे भने आएन। मनमनै सोचेँ- बाजे मसँग रिसाएछ। हिज म गइनँ भनेर होला सायद।
म आमालाई नभनी माथि ठुटे तुम्बाको घरमा पुगेँ र आँगनमा ठिङ्ग उभिएर यताउता हेरेँ। अहँ, बाजे कहीँपनि छैन। ठुटे तुम्बा चुल्हाको छेउमा बसिरहेको थियो र झोक्रिएको अवस्थामा बिँड़ीको धुवाँ उड़ाउँदै बसिरहेको थियो।
मैले सोधेँ- “तुम्बा, बाजे आएको छैन?”
तुम्बाले ठूल्ठूला आँखा फुकालेर मलाई कराउँदै भन्यो- “किन चाहियो केटाकेटीलाई त्यो बाजे? घर जा छिटो।”
तुम्बाको चर्को स्वर र राता-राता आँखा देखेर म डरले यतिसाह्रो कुदिपठाएछु, घर आइपुगेको पत्तो नै पाइनँ।
मैले तुम्बाले गाएको भजनको प्रतीक्षा गरेँ। अहँ, आज तुम्बाले भजन नै गाएन।
मैले बेलुकीपख आमालाई सोधेँ- “आमा, त्यो बाजे कता गयो हँ? आज दिनभरि पनि देखा परेन। मलाई मिठाई पनि दिएन, कहाँ गयो?”
आमाले बिस्तारै भनी- “बाजे त घर गयो। अब आउँदैन कहिले पनि।”
आमाको त्यो कुरो सुनेर मलाई साह्रै मन दुःख्यो। बाजेले मलाई सधैं दिने गरेको मिठाई, तारा भएको टलक्क टल्किने लाछा आँखाभरि नाचिरह्यो।
मैले आमाको कानमै मुख लगेर भनेँ- “आमा, बाजे किन घर गएको थाहा छ?”
आमाले छक्कै परेर मलाई हेर्दै भनी- “किन?”
मैले फेरि त्यसरी नै सानो स्वरमा ठूलो रहस्य उद्घाटन गरेझैं भनेँ- “बाजे नि, मसँग रिसाएर गएको पो त। कसैलाई नभनी आउनु भनेको थियो उसले। मैले तिमीलाई भनिहालेँ र ऊ भाकोमा गइनँ नि त। अन्त बाजे रिसाएर गएछ। बिचरा, कहाँ पुग्यो होला?”
आमाले मलाई माया गरेर भनी- “भयो नानी, यस्तो कुरा नगर् अब। जा बरू तुम्माकोमा गएर नून ल्याएर आइज। एक बटुको पैंचो दिनु अरे भन्। सौदा गरेर फर्काइदिन्छ अरे पनि भन्नु।”
म हातमा बटुको बोकेर उफ्रँदै तल्लो घरको तुम्माकोमा झरेँ। भान्साघरको बाहिर पुगेको मात्र थिएँ, तुम्बा र तुम्मा अगेनाको छेउमा बसेर बात गर्दै बसिरहेका देखेँ।
तुम्माले दालमा फिर्के लगाउँदै भनी- “कस्तो त त्यो बुहारी पनि? त्यसरी एक्लै छोड़ेर जानुहुन्थेन नि।”
तुम्बाले सिग्रेटको सर्को तान्दै भन्यो- “कहाँ, एकैछिनको कुरो त अरे। त्यो बुहारीले पनि विश्वासै गरेर ”एस्तरलाई एकछिन हेरिदिँदै गर्नु है“ भनेर मिलिक्कै मात्र भएको थिएछ। आउँदा त ............।”
उनीहरूको बात सकिएकै थिएन, तुम्बाले मलाई देखिहाल्यो र कराउँदै भन्यो- “केटाकेटी भएर तँ ठूलो मान्छेको कुरा किन सुन्छस् हँ? त्यसरी पनि कुरा सुन्नुहुन्छ? यही सिकिस् स्कूलमा तैंले?”
तुम्बाको गाली खाएपछि म डरले गर्दा त्यहाँबाट टाप कसेँ। घरमा आएर सोचेँ- कस्तो नराम्रो बाजे रहेछ। मलाई दिन्छु भनेको लाछा त एस्तरलाई पो दिएछ। अब आयो भने त म कहिले पनि बोल्दिनँ।
त्यहीबेला ठुटे तुम्बा आइपुग्यो। उसको हातमा मैले मनपराएकी विभिन्न रङका लाछाहरू थिए।
मैले तुम्बाको हातैबाट लाछा खोसेर भनेँ- “आइँसाला......मेरो लाछा।”
म खुशीले उफ्रेँ पनि। खुशी भएर ती लाछाहरू कपालमा लगाउन व्यस्त भएँ।
त्यसबखत् पनि मैले तर तुम्बा बोलेको मधुरो आवाज सुनिरहेकी थिएँ। उसले भनिरहेको थियो- “बुढ़ोले भाग्दा सबै सामानहरू छोड़ेर गएछ। यसले पनि अस्तिदेखि लाछा मनपराएको, त्यै भएर ल्याइदिएको नि।”
म भने लाछा पाएको खुशीले गदगद भएर बर्बराइरहेकी थिएँ- “आइँसाला.....मेरो लाछा। भोलि त एस्तरलाई देखाउँछु।”

टिस्टा भेली, दार्जीलिङ

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 30 भाद्र, 2074

लेखकका अन्य रचनाहरु