विदेश गएकाहरु प्रति

- इन्द्र नारायण सुवेदी

रित्ता रित्तै घर सहरका दूर देहात रित्तै ।
बन्दै जाँदा मुलुक सकियो निख्रिएला सिनित्तै ।
साह्रा मान्छे जति सव कतै चीन जापान छिर्दा ।
कस्तो होला मुलुक तिनले देश सम्झी नफिर्दा ।१।

छैनन् कोही युवक घरमा वस्तछन् वावुआमा ।
थोत्रो पाटी सरह घरको कोठरीका कुनाामा ।
कीला दाम्ला सहित सव त्यो मक्किएको छ गोठ ।
हो यो कस्तो दिनदिन यहाँ देश छोड्ने अठोट ।२।

दिन्नन् सित्यैं डलर अरुले हात हातै गनेर ।
तातो रातो रगत पसिना वग्छ पानी वनेर ।
खेती पाती अनि मुलुकको ठप्प उद्योग साह्रा ।
घट्दै घट्दै किन अव यहाँ भैसके वेसाहारा ।३।

यै माटोमा पनि छ सुनको चम्किने दिव्य वाला ।
गछौँ हामी श्रम र पसिना अन्त अन्तै हवाला ।
मिच्छौँ गोडा सहज जसले देशमा लात मार्छ ।
हुन्छौ प्यारो अवसर परे तान्छ झारेर मार्छ ।४।

को हौं हामी कुन मुलुकका देशको नाम के हो ।
वेच्छौ आफ्नो श्रम र पसिना वीरको काम के हो ।
आफ्नै माटो वहुत वढिया छैन आफैँ चिनेको ।
विस्र्यौ आफ्नो घर नजिकको आँगनीमा हिडेको ।५।

अंगे्रजीले मुलुक भरियो थप्दछाँै कोरियाली ।
नाङगो पाखा सरह किन यो राष्ट्र भाषा छ खाली ।
छोडी आफ्नो अमरपुर यो स्वर्ग संसारलाई ।
मिल्ने यौटा क्षणिक सुखमा छैन हाम्रो भलाई ।६।

वीसौ घण्टा कसरत छ रे कम्पनी मै छ वास ।
खाने सुत्ने समय नमिली वन्दछौंरे हतास ।
सस्ता छैनन् रगत पसिना देशमै गल्नुपर्दछ ।
फर्की आऊ घर नजिकमै काम त्यो थाल्नुपर्छ ।७।


(मन्दाक्रान्ता)

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 30 भाद्र, 2074

लेखकका अन्य रचनाहरु