गजल

- डिल्लीप्रसाद अधिकारी

नियतिले सञ्जीवनी छर्किन्छ पो होला
तिमी पाए मेरो बैँस फर्किन्छ पो होला।

तिम्रो हिस्सी साह्रै बेसी थेग्न नसकेर
छाया हेर्ने ऐना पनि चर्किन्छ पो होला।

सौन्दर्यको होडबाजी चल्ने शहरतिर
अब नाम तिम्रै मात्र थर्किन्छ पो होला।

जवानीको आगो त्यता दन्किएको बेला
शीतल पार्ने एउटा झरी दर्किन्छ पो होला।

गीत गजल रचनामा लाग्ने कवि पनि
अझै गधापच्चिसी भै सर्किन्छ पो होला।

लाली ओठ, केशराशी, फिँजाएकी तिमी
उस्तै मधुर मुस्कान त्यहाँ खर्किन्छ पो होला।

फड्द्वाल हान्दै तिमीतिर आउने मन भयो
डी•पी• डराउँछ खुट्टा मर्किन्छ पो होला।।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 30 भाद्र, 2074

लेखकका अन्य रचनाहरु