ब्यबहारिक शिक्षाका ८ कक्षा

- नम्रता गुरागाईं

उ मभित्रै थिइ । म एक्लै बोलिरहन्थे । म बोलीरहंदा उसले बेलाबेला चलाएका खुट्टा स्वीकृतिमा चलाएजस्तै लाग्थ्यो । मेरा कुरा उसले सुनी कि भनेर दंग पर्दै म अझै बोल्दै गएं । बढेको पेट सुम्सुम्याउदै उसंग एक अर्काका आड र भरोसाका कुरा गरें । जीवनका उकाली र ओरालीका कुरा गरें । दुख र सुखका कुरा गरें । मांया र प्रेमका कुरा गरें । उसले टाउकोले भित्तो हान्दा मैले भनेको सांच्चै बुझिकि भनेर अझै बोल्दै गएं । हितैसीसंग सुखदुख बाडेंजस्तो पेटभित्रको बालकलाइ आफनो अन्तरंग बाडदै गएं । मेरो शरिरमा आएको परिवर्तनले मलाइ नवयौवनाबाट आमाको समुहतिर धकेल्दै थियो । म सकिनसकी हिडिरिहेंं सायद आफैभित्र हुर्किदै गएको वालक हिंडेको हेर्ने दिन संझिएर होला ।
जीवनको नयां अध्यायमा मैले परिच्छेदहरु थप्दै गएं । रंग बदलियो, मेरो जीवनको ढंग बदलियो । सुन्दर जीवनको कल्पना गर्ने मेरो आशा बदलिंदा जीवनलाइ बुझने भाषापनि बदलियो । सबैकुरा सर्मपणले डोर्याउन थाले । आफनो नभएर उसकै जीवन वांचेको अनुभुत गर्न थालें । उसलाइ सकुसल धर्तीमा ल्याउन खानेकुराहरु छानेर खान थालें । लाउने कुराहरु छानेर लाउन थालें । कहिले उजस्तै सानो वालकमा आफूलाइ रुपान्तरित गरेर उसंगै खेलेको कल्पना गर्न थालें त कहिले आमामा रुपान्तरित गरेर जिम्मेबारीको भारी बोकेको कल्पना गर्न थालें । आफनो जीवनलाइ धेरैतिरबाट सोच्न थालें । देखेर सोचेका कुरालाइ विगतमा थन्क्याएर भोगेर सोच्न थालें । उ मभित्र बढदै गइ । म झन झन उसकै आउने दिनको कल्पनामा डुब्न थालें, चिनीको चास्नीमा कमिला डुबेजस्तो । “काली छ कि गोरी छ, सोझी छ कि चंचले मोरी छ” कस्ती छ कस्ती, अनेक कल्पनाहरु आंखाको पर्दामा आउंदै जांदै गर्न थाले । संझदा मात्रपनि आफैलाइ काउकुती लागेझै हुन थाल्यो ।
सोच्दा सोच्दै उ मेरो सर्बस्व भइ । म उसका बारेमा सोचेर अघाउन छोडें । आउने दिन त अझै धेरै वांकी छ किन यसरी म मातृस्नेहमा डुबें होला ? जीवनको नाटक त भर्खर शुरुमात्र भएको छ, पात्रलाइ सहि बाटो देखाउन सकुंला कि नसकुंला हेर्न बांकी नै छ तर किन म सफलता पाइसकेजस्तो गर्न थालें ? बेलाबेला आफैलाइ प्रश्न गर्थें । ति सोचाइहरुले मलाइ कहिल्यै दुखाएनन बरु ब्यबहारमा पस्न सिकाए । ति सोचाइहरु मलाइ कहिल्यै विझाएनन बरु चिन्ताले बिझाएका आंखामा मलम भएर बस्न आए । म दिनभरी उसंगै बस्ने कल्पना गर्न थालें । कस्तो अचम्म आफनो हिडडुल गर्ने स्वतन्त्रता कसैलाइ दिएर आफु बाधिनपनि मन पराउंदोरहेछ मान्छे ।
उ धर्तीमा आइ । आउनुपर्ने समयभन्दा थोरै पछि आइ तर मेरो काख भरी पारेर आइ । उसलाइ आंखा अगाडि देख्नु थियो देखें र शुरु भैसकेको जीवनको नयां अध्यायमा नयां परिच्छेद थप्नु थियो, थप्न थालें । मेरो शरिरमा उ रक्तसंचार भएर आइ । उ रुंदा काखैमा लुकाएं । उ हांस्दा आंखैमा लुकाएं । यो कुनै मैले देखेको मिठो सपना मात्रै त होइन ? बेलाबेला झस्किन्थें तर त्यो विपना नै थियो जसलाइ स शरिर देख्न मैले करिब करिब १० महिना दुख गरेकि थिएं । प्रकृतिले जिम्मेबारी दियो, मैले सहर्ष स्वीकार गरें तर बहन गर्न सजिलो थिएन नयां आमालाइ । तैपनि आमाहरुको समुहमा थपिएर आमा हुनुका गुणहरु सिक्दै गएं । सबैभन्दा धेरै सहन सिक्न थालें । बिना कसुर कसैसंग नहार्ने मान्छे उसंग सजिलै हार्न थालें । मेरो आमारुपी ममता छताछुल्ल भएर उसैमाथि पोखिन थाल्यो । हरेक आमाले आफना सन्तानलाइ दिएको राम्रो संसार मैलेपनि उसलाइ दिन थालें । उ बढदै गइ । अलिअलि जरकमरक गर्न थाली, पल्टिन सिकाएं । उठुंलाजस्तो गरी, हात समातेर ताते गर्न सिकाएं, हिडन सिकाएं । उसले केही फरक आवाज निकाल्न थालेपछि मैले बोल्न सिकाएं । समय वित्दै गयो हात समातेर केही लेख्न सिकाएं, थोरै परसम्म देख्न सिकाएं । समयलेपनि थाहै नपाइ उसलाइ पांचवर्ष हालिदिइसकेछ । हेर्दै हेर्दै उ ठुली भइ । मलाइ दिनभरी छोडेर उ विद्यालय जाने भइ ।
उ विद्यालय गएको दिन अमेरिकन पौडीवाज माइकल ल्फिपले पौडीमा गोल्ड मेडल जितेको थियो । माइकलकि आमाको खुशीभन्दा कम खुशी भएन मलाइ । माइकलकि आमाले देखेको सपनाभन्दा कुनै फरक भएन मेरो सपनापनि । उसको र मेरो मात्र जिताइको प्रकृति फरक थियो ।
भोलिपल्टदेखि मपनि विद्यालय जान थालें । फरक त्यति मात्र – उ ओपचारिक विद्यालयमा भर्ना भइ म अनौपचारिक विद्यालयमा भर्ना भएं अर्थात छोरीसंगै पढन थालें । उ दिनभरी विद्यालय गएर नयां कुरा सिकेर आउन थाली, म घरमा उसले पढेका कुराहरु उसंगै पढन थालें । हरेक शैक्षिकसत्रमा उ पुरानो कक्षा सकेर नयां कक्षा चढदा मपनि कक्षा चढेको अनुभती गर्न थालें । त्यो दक्षता मैलेपनि हासिल गरेको हो भन्न थालें । छोरीसंगै मपनि बलियो बन्दै गएं, कहिले उसलाइ सिकाएर त कहिले उबाट सिकेर । साना कुरामा दिमाग नपुेर उसको चित्त दुख्दा थुक्क गोज्यांग्री अझै आमा भैसकेकि छैनस भन्दै आफूले आंफैलाइ गाली गर्थें । उबाट सिक्नुपर्दा कहिलेकाहिं आमाको ओहदाले जिस्क्याएझैं लाग्थ्यो । आफूले पाएको ओहोदालाइ बलियो बनाउनैका लागिपनि सिक्न थाले छोरीले सिकेजस्तो । परेको बेला आमाले धामी, झांक्री, डाक्टर, बैद्य सबैको भुमिका खेल्नुपर्छ भनेको सुनेकी थिंए, उसका दैनिक नाटकमा सहभागी हुंदा क्रमशः आफूलेपनि ति भूमिका खेल्न थालें । छुमन्तरले हटेका समस्याले उसमा आमा जे गर्नपनि सक्छे भन्ने विश्वास बढदै गयो तर आमा जे गर्नपनि सक्ने थिइन मात्र सक्छु भन्ने विश्वासले काम गर्थे । आक्कलझुकलको ढटाइपनि साच्चै मिठो र पछिसम्म सम्झन लाएककै हुंदोरहेछ ।
छोरी बढदै गइ । आमालेपनि आफूमा ब्यबहारिक ज्ञान बढाउदंै लगें । काम नभएको बेला उसंगै खेल्न थालें । उसंग खेल्ने क्रममा मैले मेरा साथीहरुसंग खेलेका गटटी, सिन्का लुकाइ, कबडी र रींङ्गलाइ हट पोटेटो, स्लाइड, सुइङ्गमा रुपान्तरित गर्दै लगें । कहिले उसलाइ जिताउनकालागि मैले हारें, कहिले उसलाइ सिकाउनका लागि मैले हारें । अझै हारिरहेकै छु तर जित्नका लागि । अझै पछि परिरहेकै छु तर अघि जानका लागि । कुनै मनदुखाइ छैन यो हराइमा । कुनै इबी सांधिदैन यो हराइमा । कस्तो आनन्द हराइमापनि, कस्तो खुशी हराइमापनि ।
नयां देश र नया परिवेशमा छोरीसंगै म पढदै गएं । छोरीसंगै मपनि बढदै गएं । सिकाइको यात्रामा निस्किदा धेरै उकाली चढें धेरै ओरालीपनि झरें । छोरीसंगै पास हुदै गएर आज आठ कक्षाको अन्त्य अर्थात निम्न माध्यामिक तहको शिक्षाको संघारमा उसंगंै उभिएकी छु । उसले विद्यालयबाट प्रमाणपत्र पाइ तर त्यो भन्दा ठुलोे प्रमाणपत्र त मैले उसलाइ पाएकी छु ।
धेरै धेरै बधाइ तथा शुभकामना छोरी! माध्यामिक शिक्षाको संघारमा उभिएको बेला आउ हामी एकैसाथ हातेमालो गरौं । म फेरी तिम्रो विद्यालयमा भर्ना हुनेछु । तिमीसंगै पढनेछु । चुचुरो छाम्न आधारशिविरमै खुटटा कमाएर कहां हुन्छ र? आउ म तिम्रो यात्राको शुरुवात गर्छु । तिमीले हिडने बाटो त तिमी आफैले खन्नुपर्छ म कोदालो समाउनभने पक्कै सिकाउंछु । तिम्रो जीवनको चालक त तिमी आफैं हुनुपर्छ, अप्ठयारामा ब्रेक लाउन भने म पक्कै सिकाउछुं ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 30 भाद्र, 2074

लेखकका अन्य रचनाहरु