अँध्यारो खाडल

- केशरी अम्गाईं

जीवनका सप्तरङ्खी सपनाहरू यसरी अन्धकारको भासमा रुमलिएला भन्ने कहिल्यै सोचेकी थिइन उसले । कति सुन्दर सपनाहरू जतनसँग सजाएर राखेकी थिई, भविष्यका ती सारा सुन्दर सपनाहरू मात्र एउटै शब्दले छताछुल्ल भएर पोखिए, मात्र एउटै शब्दले सिङ्खो भविष्य पूरै अन्धकार बनाइदियो ।
फुलमाया आफ्नै पति विक्रमसँग डाक्टरको अगाडि थिई ।
‘जीवनमा तपाईले जानेर वा नजानेर कुनै गल्ती गर्नु भएको थियो ?’ डाक्टरले विक्रमलाई सोधे ।
‘कस्तो गल्ती ?’ विक्रमले अज्ञानता प्रस्तुत गरेको थियो सायद ।
‘तपाईलाई यस्तो रोग लागेको छ जुन क्षणिक आवेगद्धारा निम्तन सक्छ, असावधानीद्धारा निम्तन सक्छ । कहिलेकाही आत्मसंयम नअपनाउँदा सिङ्खो जीवन गुम्न सक्छ ।’
‘हैन डाक्टर साहेब ! उहाँलाई के भएको रहेछ र !?’ फुलमायाले सोधी ।
‘हेर्नुस् बहिनी, जे नहुनु भइसकेको छ, चिन्ता गरेर कुनै फाइदा छैन । बाँकी जीवन रमाइलोसँग बिताउने, खुसीका साथ बिताउने र कुनै असल काम गरेर बिताउने प्रयास गर्नु नै अबको विकल्प हुन सक्छ ।’
‘खै ! डाक्टर साहेबको कुरो त बुझ्नै सकिएन स्पष्टसँग भन्नुहोस् न डाक्टर साहेब भएकोचाहि के हो ?’ फुलमायाले डाक्टरले भन्न खोजेको कुराको कुनै मेसो पाइन ।
‘उहाँ बाहिर जानुभएको थियो ?’ डाक्टरले सोधे ।
‘हो, छ वर्ष बाहिर बसेर आउनु भएको हो ।’ फुलमायाले भनी ।
‘सायद विदेशमा रहँदा तपाईले संयम गुमाउनु भयो, जीवनको कुनै क्षणमा ठूलो भुल गर्नु भयो, त्यसको परिणाम........विक्रम जी’ डाक्टरले विक्रमतिर हेरेर भने ।
फुलमायाले पनि विक्रमलाई हेरी ।
विक्रम केही नबोली शिर निहुराएर बसिरह्यो ।
विदेशमा बसेको छोरा मान्छे, डाक्टरले कुन गल्तीको कुरा गर्दैछन् फुलमायालाई लख काट्न गाह्रो भएन तर रोग चाहिÞÞÞ........! अझै अस्पष्ट थियो ।
‘हेर्नुस् बहिनी, पति–पत्नी सुख दुःखका साथी हुन् । तपाई उहाँकी पत्नी हुनुहुन्छ, तपाईसँग कुरा लुकाउनुको अर्थ छैन । मैले अघि नै भनिसकें बाँकी समय ठीकसँग बिताउनु भयो भने त्यो नै सार्थक हुन्छ ।’ फुलमाया एकोहोरो डाक्टरलाई हेरिरहेकी थिई । डाक्टर भन्दै गए– ‘आफुलाई समाल्नुस्, उहाँलाई एड्स भएको छ र सायद तपाई र बच्चालाई पनि । तपाईलाई थाहै होला एड्सको....... ’ डाक्टर अरु भन्दै थिए ।
‘एड्स !’ फुलमायाको कानमा यो शब्द परेपछि अरु केही कुरा उसको कानले सुन्न सकेन । उसलाई सिङ्खो संसार घोप्टिए जस्तो लाग्यो, ऊ मूर्तिवत् भई । उसले आफ्नो अगाडि न त डाक्टरलाई देखी न त पति विक्रमलाई नै, उसको मानसपटलमा विगतका दिनका दृश्यहरू फुइ फुइ नाच्न थाले ।
‘हेर छोरी, छोरीमान्छे अर्काको घरमा जाने जात, अब त तिमी ठूली भइसक्यौ ।’ एकदिन आमाले भन्नुभयो ।
पmुलमायाले कुरा नबुझेकी त कहाँ हो र तर रिसाए जस्तो गरी – ‘अँ आमा पनि, तपाईहरूलाई छोरीको माया त कहाँ लाग्छ र, घरबाट धपाउनकै हतार ।’ आमा चुप लाग्नुभयो ।
‘एकदिन त विवाह गर्नै पर्छ, एउटा राम्रो घरानबाट कुरो आएको छ, केटो छ वर्ष विदेश बसेर आएको, धनसम्पत्ति पनि जोडेको छ, केटो इमान्दार, राम्रो छ, भने जस्तो ठाउँ सधै आउदैन, के भन्छेस् ?’ अर्को दिन आमाले भन्नुभयो ।
अठ्ठार वर्षमा पाइला टेकेकी फुलमायामा वैशका रहरहरू नपलाएका होइनन्, कतै भित्री मनमा विवाहको रहर त पक्कै जागेको थियो । कहिले काही एकान्तमा विवाहको कुरा सम्झेर पुलुकित हुन्थी– ‘भने जस्तो जोडी मिले त !’ तर त्यो भाव आमाको अगाडि व्यक्त गर्न कहाँ सक्थी र ! कहिले काही डर पनि लाग्थ्यो– ‘पराइको घर, अपरिचित मान्छेको साथ, कसरी समय काट्ने !’ यी त उसको अन्तरमनका कुराहरू थिए ।
‘म पढ्न चाहन्छु ।’ उसले यतिमात्र भनी । ऊ दुई घण्टा टाढाको एक उच्च माध्यमिक विद्यालयमा एघार कक्षामा पढ्दै थिई ।
‘केटाले पढाउँछु भनेको छ रे ।’ आमाले भन्नुभयो । उसले केही भनिन, चुवचाप बाहिरतिर निस्की । त्यतिखेर ऊ दोधारमा थिई– खुसी हुनु पर्ने हो कि रिसाउनु पर्ने !? ऊ एक मनमा विवाहपछिका कुरा सम्झेर रोमान्चित हुदै थिई, अनि अर्को मनमा आफु जन्मेको घर, बाबु–आमाको साथ छाड्नु पर्ने कुराले दुःखी हुदै थिई । ‘ठीकै छ, हाम्रो सामाजिक परिपाटी नै यस्तै छ, छोरी भएर जन्मेपछि जन्मेको घर त एकदिन छाड्नु नै पर्दछ ।’ उसले यसरी चित्त बुझाएकी थिई ।
‘मौनम् सम्मति लक्षणम्’ उसका बाबु–आमाले त्यही ठाने । विवाहको प्रक्रिया अगाडि बढ्यो । शुरुमा त फुलमायालाई सामाजिक परम्परा प्रति नै रिस उठेको थियो– ‘चिन्दै नचिनेको मान्छेलाई जीवन सुम्पनु पर्ने ! कस्तो रीति ? आफुले रोज्यो भने उत्ताउली हुने !’ यो उसको क्षणिक आवेगको मौन विद्रोह थियो तर ‘नदेखुन्जेल को हो ? को हो ? देखेपछि माया मोह’ विवाहको टीका टाला सकिएपछि उसमा आफ्नो भावी पतिप्रति माया जाग्न थालेको थियो अनि एकान्तमा स्वप्निल कल्पनामा हराउने गर्थी ।
विवाहको दिन नजिकिदै जाँदा आमाले सासू ससुरासँग गर्नुपर्ने व्यावहार, बुहारी भएर निर्वाह गनुपर्ने कर्तव्य, श्रिमान्सँग गर्नुपर्ने व्यावहार आदि दैनिक सिकाउनु हुन्थ्यो । त्यसमा ऊ अलिकति आफ्नो सपना थप्थी र असल पत्नी, असल बुहारी बन्ने कल्पना गर्थी ।
दिन बित्न कतिबेर, बाबु आमासँग अलगिनु पर्दा दुःखी हुदै ऊ जन्मेको घरबाट अन्मेर नयाँ घर, नयाँ संसार र नयाँ जीवनमा प्रवेश गरी । शुरुमा नयाँ घर, नयाँ मान्छे, त्यहाँको चाल चलन र आनिबानी थाहा नहुँदा उसलाई केही अफ्ठेरो महसुस भएको थियो तर पति विक्रमको मनभरिको माया र सहयोगी साथ पाउँदा सबै सहज हुदै गएको थियो ।
केही दिनपछि पढ्न पनि जान थाली । नव दुलहीका रुपमा साथीहरूले जिस्क्याउँथे तैपनि उसलाई आनन्द नै लाग्थ्यो ।
‘साह्रै मिलेको छ है मोरीको जोडी त’ साथी सँगीले भन्दा गर्वले फुल्थी ऊ ।
‘ज्वाइ कस्ता छन् त नानी ? आनी, बानी, व्यावहार ? राम्रै गर्छन् ?’ माइतका मान्छेले सोध्दा उसलाई बढा आनन्द लाग्थ्यो । उसमा गर्व थियो पतिको मायामा । साँच्चै उसको घर नराम्रो थिएन–सासु ससुराको व्यावहार राम्रै थियो, श्रीमान्ले त्यत्तिकै माया गर्थे, ख्याल गर्थे । दुईछाक हातमुख जोड्न समस्या थिएन ।
‘ख्याल राख है, बाहिर बसेर आएका मान्छे हुन् !’ कहिलेकाहीँ साथी सँगीले छेड हान्दा उसको मन चसक्क हुन्थ्यो र कतै मनको कुनामा आशङ्का जन्मन खोज्थ्यो तर अर्को मनले ढाकिहाल्थ्यो– ‘त्यति असल मान्छेले पनि कहीँ गलत काम गर्छ ?’
एक दिन एकान्तमा उसले पतिसँग भनी– ‘तपाई त्यत्रो समय बाहिर बस्नुभयो । कतै.....!’
‘म माथि विश्वास छैन तिम्रो ?’ विक्रम रिसाए झै गरेको थियो ।
‘माफ गर्नुहोस्, यो पापी मन कहिले काही....’ उसले भनेकी थिई ।
‘तिम्र्रो आशङ्का अस्वाभाविक छैन तर सबै उस्तै कहाँ हुन्छन् र !’ विक्रको मायालु आवाजमा ऊ दङ्ख परी । त्यसपछि शङ्काको त ठाउँ नै रहेन । ढुकुरको जोडीजस्तो उनीहरूको सम्बन्ध प्रगाढ हुदै गयो । सानो तर निकै सुन्दर, सुखी र रमाइलो थियो उनीहरूको संसार । त्यही पारिवारिक सुखमा भुल्दै जाँदा फुलमायाले पढाइमा सफलता हात पार्न सकिन तैपनि उसलाई कुनै गुनासो थिएन । ‘योग्यता सुन्दर भविष्य निर्माणको लागि हो, मैले सुन्दर संसार पाइसकेको छु भने पढाइ नभएर के भयो र !’ उसले यस्तै सोचेकी थिई ।
तीन वर्षपछि उनीहरूलाई भुलाउने नयाँ मान्छे धर्तीमा पाइला टेक्न आइपुग्यो । नाति काखमा खेलाउन पाएकोमा सासु ससुरा निकै खुसी थिए । आफ्नो नयाँ सन्तान देख्न पाउँदा उनीहरू खुसी नहुने कुरै थिएन तर त्यो खुसीसँगै विक्रममा सामान्य रोग देखियो । गाउँको डाक्टरको औषधी खायो तर निको हुने छाँट देखिएन । एक दुई दिन बिसेक भएको जस्तो देखिन्थ्यो अनि फेरि बल्झिहाल्थ्यो । पैसाको मात्र सर्वनास भयो । गाउँमा ठीक नभएपछि राम्रो डाक्टरलाई देखाउन उनीरू शहर आएका थिए ।
विक्रम एक्लै आउन चाहन्थ्यो, अहिले फुलमाया बुझ्दै छे– ऊ किन एक्लै आउन चाहन्थ्यो ? ‘बिरामी पतिलाई कसरी एक्लै पठाउने !’ त्यसैले ऊ साथ लागेकी थिई ।
अहिले पहाड आएर थिचे जस्तो, बसेको धर्ती भासिए जस्तो महसुस गर्दैछे ऊ । ‘किन फाट्दैन यो धर्ती ?’ ऊ रामायणकी सीता झै आपुूmलाई धर्तीमा लुकाउन चाहन्थी । उजाड सपना र अन्धकार भविष्य बोकेर बाँच्नु भन्दा मर्न निको लागिरहेको थियो उसलाई । रीसले आँखा देखेकी थिइन, आफ्नो सुन्दर सपना छताछुल्ल पारिदिन पति विक्रमलाई त्यहीँ लुछेर मारौंँ जस्तो लागिरहेको थियो उसलाई ।
‘हाम्रो जीवन किन वर्वाद पारिदियौ ? किन यसो ग¥यो किन ?’ फुलमाया चिच्याई ।
‘माफ गर फुलु ! मलाई पनि कल्पना गरेको थिइन यस्तो हुन्छ भन्ने कुरा, गाउँको समस्या तिमीलाई थाहा नै छ– हिड्न सक्ने युवाहरू गाउँमा बस्न कति गाह्रो थियो । सानो निहुँमा पनि सुरक्षाकर्मीहरू आएर हामीलाई नै दुःख दिन्थे । विना कारण सास्ती खानु पथ्र्यो । अर्कोतिर, अर्कोथरि आएर आफुसँग हिड्न, बन्दुक समाउन दबाब दिन्थे । घरको समस्याले घरलाई त्यागेर बन्दुक समाउन पनि सकिएन र यातना भोग्न पनि, त्यसैले विदेशतिर लागियो । विदेशको कमाइले घरलाई अलिकति व्यावस्थित त बनाइयो तर........।’ विक्रम चुप लाग्यो ।
फुलमाया त्यही घोप्टो परेर रोइरही, रोइरही । विक्रम निहुरिएर चुपचाप बसिरहेको थियो । के भनेर संझाउनु पर्ने हो डाक्टरले शब्द पाइरहेका थिएनन्, उनी पनि मूर्तिवत् आफ्नै ठाउँमा बसिरहेका थिए ।
गोरखा

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 12 भाद्र, 2074

लेखकका अन्य रचनाहरु