सितार

- जलाल आले अहमद

(कथा)
(इरानी कथा साहित्यको महत्वपूर्ण हस्ति मानिने जलाल आले अहमद(१९२३–६९)को नौवटा कथा संग्रहहरू प्रकाशित छन् । उनका पात्रहरू निम्नवर्गीय समाजबाट टिपिएका हुन्छ र सम्पूर्ण कथा त्यसकै वरिपरि घुम्दछ । उनका कतिपय कथाहरूमा इरानी समाजमा तत्कालीन सत्ताको कारण सिर्जना भएका पीडाहरूको निकै सुन्दर चित्रण भेटिन्छ । धार्मिक अन्धविश्वास र त्यसले सिर्जना गरेको समस्या, निम्नवर्गीय पीडा, सत्ताको अर्कमण्यता र त्यसबाट सिर्जित कष्टकर सामाजिक परिवेशको चित्रण गर्ने अहमदका कथाहरूमा निम्नवर्गप्रति सहानुभूति भेटिन्छ ।– अनुवादक)
निकै खुसी हुँदै ऊ मस्जिदको सिँढी चढ्दै थियो । उसको मनले भन्दै थियो– ‘यो सिँढी होइन, तेरो सफलताको बाटो हो ।’
उसको हातमा एक राम्रो सीतार थियो जसलाई उसले बढो जतनले आफ्नै शरीरमा टाँसेर मान्छेहरूसँग बचाउँदै सिँढी चढ्दै थियो– हतारमा कसैको कोटको टाँक कतै उसको सीतारको तारमा अड्कियो भने.... ।
आज उसको वर्षौंको मेहनत सफल भएको थियो । अल्लाहले उसको मनको इच्छा पूरा गरिदिएका थिए । अब ऊ आफ्नै सीतारको मालिक बनेको थियो । उसलाई अब कसैको सीतार भाडामा लिनु पर्दैनथ्यो अनि अब उसले कसैको उपकारको बोझ बोक्नु पनि पर्दैनथ्यो ।
उसको कपाल हावामा फरफराइ रहेको थियो । सधैं निराश देखिने उसको अनुहारमा आज बेग्लै चमक थियो । यतिखेर यदि कतै कुनै उत्सव हुन्थ्यो भने ऊ आफ्नो सीतारबाट यस्तो अनौठो धून बजाउथ्यो र यति राम्र्रो गीत गाउँथ्यो कि मान्छेहरू नाच्न थाल्थे ।
थाहा छैन मान्छेको यो बाढी कहाँबाट आइरहेको थियो । ऊ आफ्नो लक्ष्यमा छिट्टै पुग्न चाहन्थ्यो तर मान्छेहरू उसको बाटोमा उभिन आइपुग्थे ।
अचानक उसको मनमा अतितका लहरहरू उठ्न थाले– पछिल्लो तीन वर्षदेखि उसले विभिन्न उत्सवहरूमा गाएर आफ्नो गुजारा चलाउँदै थियो । सङ्गीतमा लगाव थियो त्यसैले मदरसा पनि छुट्यो । मदरसामा पढ्दा ऊ कक्षामा सबभन्दा पछाडि बस्दथ्यो, पढ्नमा पटक्कै मन लाग्दैनथ्यो । पढ्नुको सट्टा ऊ गीत गुनगुनाइ रहन्थ्यो । त्यसो त कसैलाई उसको मतलब थिएन तर गणितको शिक्षक उसको यस हरकत देखेर निकै चिढिन्थे । तीन चार पटक त उसले कडा सजाय भोग्नु पनि प¥यो तैपनि उसले गुनगुनाउन छाडेन ।
मदरसाको अन्तिम वर्ष अनौठो ढङ्ले बित्यो । ऊ रातमा उत्सबहरूमा गाउन थालेको थियो जसको कारण दिनमा ऊ डेस्कमा शिर ढालेर सुतिरहन्थ्यो । रातको जागरणले उसलाई दिनमा आँखा खोल्न नै दिदैनथ्यो । आखिर एक दिन उसलाई मदरसाबाट निकालियो ।
अब उसको नयाँ जिन्दगी शुरु भयो । पहिलो वर्ष उसलाई निकै गाह्रो भयो । हरेक रात सितार बजाउँदै गाएर मान्छेहरूको दिल बहलाउनु पथ्र्यो । बिहान घर फर्किएपछि ऊ साँझसम्म भोकै सुत्थ्यो ।
उसको गला निकै सुरिलो थियो । आवाजमा विशेष आकर्षण थियो । मान्छेहरू उसको कलाको खुब प्रशंसा गर्दथे । पैसा पनि बढी नै पाउन थालेको थियो । अब ऊ हप्तामा दुई तीन दिन मात्र उत्सवहरू जाने गथ्र्यो । उसलाई कामको खाजीमा भौतारिनु पर्दैनथ्यो, मान्छेहरू आफैं उसको सानो झुपडीको ढोका ढकढक्याउन आइपुग्थे । यदि घरमा छैन भने उसकी आमासँग बिन्तीभाउ गर्दथे ।
तर मान्छेहरूको बाहबाही र तालीको गडगडाहट बीचमा पनि उसको मन उदास रहन्थ्यो । उसलाई लाग्थ्यो ऊ जति राम्रो गाउन सक्थ्यो त्यति गाउन पाएको छैन । कहिलेकाही उसलाई लाग्थ्यो बाजामा यस्तो तरङ्ग निकालूँ कि मान्छेहरूको आँखामा आँशु भरियोस् । यसरी मान्छेहरूलाई रुवाउने इच्छा मनमा किन आउँछ यो सम्झेर उसलाई अचम्म लाग्थ्यो ।
आफ्नो यो इच्छा ऊ पूरा गर्न सक्दैनथ्यो । मागेर बजाएको सितारको तार चुढिने डरले उसलाई रोक्थ्यो । पेटको आगोको अगाडि उसको सङ्गीत प्रेम अधूरो रहन्थ्यो । ऊ निकै सावधानीका साथ सितारको तार छुन्थ्यो र सावधानीका साथ बजाउँथ्यो । त्यसैले उसको गीत पनि सामान्य सामान्य नै हुन्थ्यो । मनमा मात्र एउटै इच्छा हुन्थ्यो– केही पैसा बचाएर एउटा सितार खरिदौँ, यस्तो सितार जो उसको आफ्नो होस्, पक्का आफ्नै । यही धूनमा ऊ न त ठीकसँग खान्थ्यो, न त राम्रो लगाउँथ्यो । छोरो सुक्दै गएकोमा उसकी आमा चिन्तित थिइन् तर उसलाई यसको कुनै मतलब थिएन । जाडोको रातमा जब उसको शरीर कठाङ्ग्रिन्थ्यो ऊ यही आशाको गर्मीले राहतको महसुस गथ्र्यो कि एक न एक दिन ऊ एउटा नयाँ सितार किन्नेछ ।
हिजो एक बिवाह उत्सवमा उसले उधूम मच्चायो । ठूलै मान्छेको घर थियो, खुसी भएर मान्छेले यति पैसा दिए कि आज उसले नयाँ सितार किन्न सक्यो । ऊ सोच्दै थियो– ‘अब सारा बन्धनहरू तोडिनेछन्, सितारको तार चुडिने गरेर बजाउनेछ । गीत यसरी गाउनेछ कि स्रोताहरूको हृदय पग्लिएर आँखाबाट बग्नेछ ।’
ऊ मन्दिरको मूल ढोकामा पुगेको थियो । ढोकाभित्र पाइला राख्न लाग्दा ढोकाकै छेउमा अत्तर बेच्दै गरेको केटोले उरको पाखुरा समायो, ‘ओइ दुष्ट ! यो हराम (अपवित्र) वस्तु लिएर किन मन्दिरभित्र जाँदैछस् ? यो पवित्र ठाउँलाई अपवित्र बनाउँन खोज्दैछस् कि क्या हो ! खुदाको घरमा अपराध ?’
ऊ कल्पनाको संसारबाट यथार्थतामा फर्कियो । उसलाई लाग्यो उसको मनको दियो कुनै तेज हावाको झोक्काले बुझाएको छ । पहिला त उसले बुझ्न नै सकेन– ‘अत्तर बेच्ने केटोले के गर्दै छ ?’ तर विस्तारै उसले थाहा पायो । उसले चुपचाप आफ्नो हात छुटाउने प्रयास ग¥यो तर त्यस केटोले उसलाई त्यो अपवित्र सितार लिएर मस्जिदमा जसरी पनि जान नदिने विचार गरेको थियो । त्यसैले केटोले उसलाई दुवै हातले समातिरहेको थियो र इस्लामको नाममा दुहाई दिई रहेको थियो, ‘‘हेर हेर ! यो मूर्ख धर्म र इमानको अपमान गर्न खोज्दै छ, हाम्रो पवित्रताको खिल्ली उडाउँदै छ । यो आपूm त अधर्मी छ नै, अब मस्जिदलाई पनि अपवित्र बनाउन चाहन्छ ।’’
उसले फेरि एकपटक हात छुटाउने प्रयास ग¥यो । वास्तवमा ऊ कुनै झन्झटमा पर्न चाहँदैनथ्यो । उसले भाकल गरेको थियो– सितार किनेपछि ऊ पसलबाट सिधै मस्जिद आउनेछ र धन्यवादको नमाज चढाउनेछ । उसको धैर्यता टुट्दै थियो । ऊसँग झगडा गर्ने समय थिएन तर अत्तर बेच्नेलाई यो कुरासँग के मतलब ? ऊ चिच्याउँदै कराई रहेको थियो । मान्छेहरू जम्मा हुन थाले । केहीछिनमा नै त्यहाँ थुप्रै मान्छेको भीड लाग्यो । ती दुई के कुरामा झगडा गर्दैछन् कसैले बुझेका थिएनन् । भीड तमासे मात्र बनिरहेको थियो ।
अन्ततः उसको धैर्यको बाँध टुट्यो । अचानक ऊ रिसले आगो भयो । उसले सितार भुईंमा राख्यो र त्यस केटोको गालामा जोडदार झापड हान्यो । यो अचानकको हमलाले अत्तर बेच्ने केटो एकछिन तिल्मिलायो, कराउन छाड्यो र उसको हात छाडेर आफ्नो गाला सुमसुम्याउन थाल्यो ।
उसले सितार उठायो र बढो विश्वासका साथ मस्जिदभित्र जानका लागि मोडियो । त्यो देखेर अत्तर बेच्ने केटो छक्क प¥यो । उसले लम्कँदै त्यस युवकको कोट र त्यसपछि हात समात्न पुग्यो । दुबैमा हात हालाहाल हुन थाल्यो । मान्छेहरू भागाभाग गर्न थाले । अत्तरवाला केटोले थिच्याउँदै गाली दिन थाल्यो । ऊ सारा मुसलमानसँग आफ्नो धर्म बचाउन गुहार मागिरहेको थियो । अचनक केही टुटेको आवाज आयो । के टुटेको हो पहिला त कसैले बुझ्न सकेनन् । जब जमिनमा फैलिएको तारमा आँखा पुगे तब थाहा भयो सितार भाँचिएको थियो । सितारको तीन टुक्रा यताउता छरिएको थियो । अत्तर बेच्नेको ओठमा जीतको मुस्कान थियो र अनुहारमा धर्मको बचाउ गर्न सकेकोमा गर्व । इस्लामलाई अब कुनै खतरा थिएन । सँगीतकारले हडबडाउँदै सितारतिर हे¥यो– यो टुक्रा कुनै अपरिचित सितारको थिएन, उसको आकाङ्क्षाको थियो, जसले उसको जिन्दगीलाई, उसको आत्मालाई, उसको सारा आशालाई बेसुरा बनाएको थियो ।
(अनु. केशरी अम्गाईं)

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 12 भाद्र, 2074

लेखकका अन्य रचनाहरु