भाषण भुक्नेहरू

- डिल्लीप्रसाद अधिकारी

मेरो रगत चुसेर
रात्तै भएको मुखले
भाषण भुक्नेले मलाई नै सामन्ती भन्छ
मलाई नै शोषक भन्छ
देश स्वतन्त्र भए पनि
नागरिक दासताबाट मुक्त नभएको
यो बेला जहाँ देशको एउटा भूगोल
सरकारी गोली खाएर रगताम्य छ
भाषण भुक्नेले
देशको सुरक्षाको कुरा गर्छ
म बुझ्न सक्तिन
उसले भनेको देश कुन हो
देशबासी को हुन्?
छोराहरूलाई सीमा रक्षामा खटाएर
आमा-बाबुलाई अनशनमा राख्ने
उसले भाषणमा भुकेको कुरा
मैले केही पनि बुझ्न सकिन
बिजुली कटौती गरेर
सञ्चारमा प्रतिबन्ध लगाएर
सूचनाका तारहरू काटेर
प्रविधि प्रतिबन्धित गरेर
डिजिटल भएको उसको भाषण
एकातिर हाम्रो बिडम्बना छ भने
आफ्नो सार्वभौमिकता
उसकै पाउमा अर्पण गरेर
उसकै पैताला चाट्दै
उसको दलाल पनि यता
भाषण भुक्दैछ।
शिक्षकहरूलाई यातना गृहमा राखेर
उ पनि अचेल
शैक्षिक उपलब्धिका
उपाधि र पुरस्कार थाप्छ
अस्थायी चिकित्सकलाई खटाएर
स्वास्थ्य स्थायित्वका
अनि अस्थायी शिक्षकलाई पठाएर
शैक्षिक उपलब्धिको
जुन प्राप्तिका कुरा उ भाषणमा भुक्छ
म बुझ्न सक्तिन
यो देश कसरी स्वतन्त्र छ?
यो देश कहाँ विकासको गतिमा छ?
भाषण भुक्नेहरूबाट
नागरिकले स्वतन्त्रता पाएकै छैन
मिसनरी पाठशालाका उत्पादनले
जिविकाका निम्ति विदेशिनु पर्छ भने
भाषण भुक्नेले भनेको देश
खै कुन देश हो म बुझ्दिन
मैले टेकेको माटो पनि
कुनै एउटा देशकै हो भने
महाशय! कृपया भनिदिनुहोस्
यो कुन देश हो??

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 12 भाद्र, 2074

लेखकका अन्य रचनाहरु