डायोस्पोरिक नियात्रामा एउटा उपलब्धि: ‘युरेसियाको स्पर्श’

- विजय सापकोटा

नवीनताको खोजी गर्ने स्वभावले मानिसलाई यात्रा गराउँछ । यसअघि नपुगिएका ठाउँ, नदेखिएका वा नभोगिएका परिवेश अनि नयाँ व्यक्ति र प्रवृत्तिका समीपमा मानिसले मनोरञ्जनको तुष्टि त मेट्छ नै सँगसँगै व्यक्त वा अव्यक्त दुवैरुपमा सिकाइ समेत भइरहेको हुन्छ । यात्राले भोगाइ र अनुभूति दुवैमा थप रङ भरिदिन्छ, हुनसक्छ सोचाइ वा दृष्टिकोणमा समेत केही प्रकाश थपिदेओस् । यो सत्य हो कि व्यक्तिपिच्छे यात्राको प्रकृति र प्रवृत्ति अनि भोगाइ र अनुभूतिमा समानता हुँदैन । तैपनि आम मानिसहरुभन्दा एउटा लेखकको यात्रामा चाहिँ के विशिष्टता हुन्छ भन्ने दावी गर्न सकिन्छ भने आम मानिसको यात्रा र त्यसको भोगाइ नितान्त वैयक्तिक हुन्छ भने लेखकले त्यसलाई हजारौँ मानिसहरुसित बाँड्न सक्छ । अझ इमान्दार लेखकले त कुनै नक्कली रङ नदली यात्राका सबल र दूर्बल भोगाइ र अनुभूति दुवै पक्षलाई निसंकोच र निर्भयतापूर्वक बाहिर पोख्ने हिम्मत राख्दछ ।
नेपाली साहित्यमा नियात्रा लेखन लेखक र पाठक दुवैका निम्ति प्रिय विधाका रुपमा स्थापित छ । साहित्य इतरका पाठकहरुका लागि समेत यो रुचिको विधा हो । पछिल्लो समयमा त साहित्यमा कलमै नचलाएकाहरु पनि यो विधातर्फ हौसिएको देखिन्छ । यसले के पुष्टि गर्दछ भने मानिस यात्रा गर्नमात्रै होइन आफ्नो यात्राका अनुभव र अनुभूतिलाई धेरैभन्दा धेरै मानिसहरुसामु बाँड्न चाहन्छ । यद्यपि यसरी लिपिबद्ध गरी प्रसारण गरिएका सबै लेखौटहरु साहित्य भए कि भएनन् त्यसको मूल्याङ्कन गरिनु पनि अत्यावश्यक भइसकेको छ, किनकि यात्रा निबन्धका नाममा ‘दैनिकी’ लेख्ने, अथवा कुनै ठाउँको कोरा विवरण प्रस्तुत गर्ने अझ आफूलाई ‘महानायक’ बनाएर प्रस्तुत गर्ने प्रवृत्ति झाङ्गिँदै गइरहेको छ । यस्ता प्रवृत्तिले नियात्रा विधाको सौन्दर्य एवम् महत्वलाई खस्काउने काम गरिरहेको छ । तैपनि यस विधाका प्रतिबद्ध र राम्रा लेखकहरुको सक्रियताले यस्ता अँध्यारा पक्षहरुलाई चिर्ने काम पनि निरन्तर भइरहेको छ । नियात्रा विधाको उन्नयनमा लाग्ने यस्ता लेखकहरुको भीडमा कृष्ण बजगाइँ पनि मिसिएका छन् ।
नेपालबाहिर रहेर विभिन्न विधाहरुमार्फत् नेपाली भाषा, साहित्यको निरन्तर साधना र प्रसारणमा सक्रिय बेलायत निवासी कृष्ण बजगाईँ नियात्रा लेखनमा पनि उत्साही लेखकको रुपमा देखापरेका छन् । विशेषगरी आख्यानमा कलम चलाउने बजगाईँ पछिल्लो समयमा नियात्रा लेखनमा सक्रिय रहेका छन् । विभिन्न विधाका आधा दर्जन कृतिका स्रष्टा बजगाईँको कान्छो कृतिका रुपमा ‘युरेसियाको स्पर्श’ नियात्रा सङ्ग्रह हालै प्रकाशित भएको छ । विभिन्न समयमा र फरक फरक प्रयोजनका लागि गरिएका यात्राका भोगाइ र अनुभूतिलाई निबन्धात्मक स्वरुप दिइएको यस सङ्ग्रहमा जम्मा १९ वटा निबन्धहरु छोटा र छरिता निबन्धहरु सङ्गृहित छन् ।
‘युरेसियाको स्पर्श’ पुस्तकको शीर्षकबाटै प्रष्ट हुन्छ यो युरोप र एसियाको यात्राको वर्णन हो । यस सङ्ग्रहका १९ वटा निबन्धहरुमा चीनको यात्रासँग सम्बन्धित ५, बेलायतका ४, जर्मनी, फ्रान्स र लक्जेमबर्ग १÷१ अनि सबैभन्दा बढी बेल्जियमसँग सम्बन्धित ७ यात्रानिबन्धहरु सङ्गृहित छन् । यात्राको समय मूर्तरुपमा निबन्धमा उल्लेख भएको छैन तापनि यात्राको परिवेश र प्रयोजन प्रायः निबन्धमा उल्लेख भएकाले पाठक हरेक निबन्धको सुरुबाटै सोही बमोजिमको मानसिकता निर्माण गरी लेखकसँगै यात्रा गर्न थाल्दछ । तैपनि यात्राको समय पनि कतै झल्किएको भए ‘सुनमा सुगन्ध’ हुने थियो ।
फरक फरक समय र स्थानमा गरिएका यात्राहरु जसरी एकै किसिमका हुँदैनन् त्यसैगरी बजगाईँले आफ्ना निबन्धमा पनि फरक फरक किसिमका अनुभव र अनुभूतिहरुलाई अभिव्यक्त गर्न चाहेका छन् । यात्राको प्रयोजन, स्थान एवम् समयका आधारमा पनि त्यो फरक फरक व्यक्तिन्छ । नेपालमा छँदै सन् १९९४ मा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको निमन्त्रणामा गरेको चिनियाँ भ्रमण होस्, अथवा त्यसको पाँच वर्षपछि दुई साताको लागि भनेर गरिएको जर्मन भ्रमण होस् अनि स्थायीरुपमा बेल्जियम बस्न थालिसकेपछिका यात्राहरु हुन् अथवा बेल्जियम छाडेर बेलायत बसाइँ सर्नुअघि र सरिसकेपछिका निबन्धहरु हुन् तिनको अनुभूतिजन्य अभिव्यक्तिहरु एक अर्कासित व्यतिरेक छन् । त्यसो त बजगाईँ आफ्ना निबन्धमा एकै किसिमको वर्णनात्मक शैलीलाई अँगाल्दछन्, तैपनि परिस्थिति र अनुभूतिजन्य कतिपय अवस्थाहरुले गर्दा उनका निबन्धले पाठकलाई दिने अनुभूति भने उनको यात्राजस्तै भिन्न भिन्न हुन्छ । पहिलो यात्रा चीनको गर्दाको कृष्ण बजगाईँ जति स्वतन्त्र, स्वच्छन्द र उमंगिलो देखिन्छन् त्यसको पाँच वर्षपछि जर्मनीको यात्रा गर्दा बाध्यात्मक एवम् आन्तरिक द्वन्द्वमा फसेका देखिन्छन् । त्यस्तै बेल्जियमको स्थायी बसोबासपछिका निबन्धमा अनुभूतिजन्य पक्षहरु भिन्न छन्, अनि बेल्जियम छाडेर बेलायत सर्नेबेलाका निबन्धकार अर्कै लाग्दछन् । यसरी फरक किसिमका समय र स्थानका विविधतापूर्ण निबन्धले निबन्धकार कृष्ण बजगाईँको वैयक्तिक पाटोलाई समेत निबन्धमा छर्लङ्ग्याइदिएका छन् । जसका कारण पाठकले सजिलै बुझ्दछ कि यी निबन्धहरुको समयसीमा निकै लामो छ । निश्चितै हो, फरक फरक समयमा लेखककाका अनुभव र अनुभूति अनि तिनलाई अभिव्यक्त गर्ने शैलीमा पृथक्ता आउँछ नै । बजगाईँका निबन्धको केन्द्रीय प्रस्तुतीकरण एकै किसिमको भए पनि फरक समयसीमामा तिनमा फरक किसिमको प्रस्तुतिगत स्वाद भने पाउन सकिन्छ ।
प्रायः धेरैजसो यात्रा निबन्धकारको यात्रालेखनको रोजाइ प्रसिद्ध ठाउँहरु नै हुने गर्दछन् । बजगाईँले पनि आफ्ना धेरैजसो निबन्धमा त्यति परम्परालाई पछ्याएका छन् । चीनको ग्रेटवाल, तियानमेन चोक, पेरिस, लण्डन, ब्रसेल्स, स्टार्डफोर्ड अपन एभन जस्ता संसारप्रसिद्ध ठाउँका यात्राहरु उनका निबन्धमा आएका छन् । यी यात्राका साथमा नवीनतम (नेपाली यात्रा साहित्यका लागि) स्थानहरु पनि उनका निबन्धमा नआएका होइनन् । तर यात्रा जहाँसुकैको भएपनि ती सबै निबन्धमा उनको वैयक्तिकताका कारण ती स्थानहरुका बारेमा जानकारी राख्ने पाठकका लागि पनि यी निबन्धहरु बिल्कुलै ताजा लाग्दछन् । किनभने बजगाईँको यात्रा वर्णन निरस र एकोहोरो वकपत्र वा दैनिकीजस्तो छैन, यात्रालाई रोचक बनाउन उनी थुप्रै नाटकीय ट्वीस्टहरु घुसाउँछन् । उनी कुनै ठाउँ विशेषमात्र होइन यात्राका क्रममा भेटिएका वा देखिएका अपरिचित मानिसहरुका क्रियाकलापको समेत अवलोकन गर्दछन् र आफ्नो यात्रामा स्थान दिन्छन् अनि पाठकले पनि तिनलाई अनावश्यक नठानी निबन्धको अनुभूतिसँगै बोकेर हिँड्दछ । यी अपरिचित र विनायोजना भेटिएका यस्ता कतिपय पात्र यति प्रभावशाली हुन्छन् कि निबन्ध सकिइसकेपछि पनि पाठकले सम्बन्धित ठाउँसँगसँगै तिनलाई पनि सम्झिइरहन्छ । माओको पार्थिव शरीर अगाडि उभिएर रुने चिनीयाँ युवक, राधादेशमा भेटिएको चेक विद्यार्थी, ओस्टेन्डको समुद्री किनारमा चिनीयाँ अक्षर बेच्न बसेको चिनीयाँ विद्यार्थी यस्ता केही पात्रहरु हुन् जसलाई निबन्ध सकिएपछि पनि पाठकले आफ्नो अनुभूतिमा धारण गर्न पुग्दछ । निबन्धकारका चिनीयाँ पथप्रदर्शक यु फुङको मायालु र सहयोगी व्यवहारको छाप पनि पाठकले ग्रहण गर्दछ ।
माथि नै भनियो कृष्ण बजगाईँका यात्रा निबन्धहरु वर्णनात्मक हुन्छन् । उनी यात्रालाई पृष्ठभूमिदेखि नै उठाउन रुचाउँछन् । तर त्यति हुँदा हुँदै पनि छोटो र छरितो प्रस्तुतिका कारणले ती बोझलाग्दा दैनिकी जस्ता हुँदैनन् । कुनै स्थान, पात्र वा त्यो सँग सम्बन्धित ऐतिहासिक कुनै घटनाहरु छन् भने तिनलाई पनि बजगाईँले आफ्ना निबन्धमा समावेश गरिहाल्छन् । प्रायः सबैजसो निबन्धमा ती ठाउँको भूगोल, सांस्कृतिक सामाजिक परिवेश एवम् इतिहासका आवश्यक पक्षहरुको जानकारी पोखिएको हुन्छ, यसले लेखकको जिज्ञासा र ज्ञानप्रतिको चाखलाई दर्शाउँदछ । तर सम्बन्धित सन्दर्भहरुको जानकारी दिने नाउँमा ठाउँ कुठाउँ आफ्नो विद्वता पोख्नैपर्ने नेपाली लेखनको ‘रोग’ बाट भने उनी बिल्कुलै मुक्त देखिन्छन् । उनी यति चलाखीपूर्वक सन्दर्भ मिलाएर पाठकलाई दिनुपर्ने ठाउँमा ट्वाक्क जानकारी दिने गर्दछन् जसले गर्दा पाठकले त्यो ज्ञानलाई पनि यात्राकै अनभूति जस्तै सहज ढङ्गले ग्रहण गर्न पुग्दछ ।

निबन्धमा बीच बीचमा व्यक्तिने आकर्षक एवम् वक्रोक्तिपूर्ण संवादहरु, नाटकीयताले निबन्धहरुलाई सबल बनाएका छन् भने यत्रतत्र छरिएका दार्शनिक अभिव्यक्ति, भावुकता एवम् कवितात्मक अभिव्यक्तिले यिनलाई अझै सिंगारेका छन् । बजगाईँका अभिव्यक्तिको अर्को पक्ष हो सूक्तिमयता । उनी आफ्नो कुनै कुरालाई पुष्टि गर्नका निम्ति अथवा कुनै अनुभवको निष्कर्षमा पुग्नुप¥यो भने यस्ता सूक्तिमय वाक्यहरुको सहायता लिन्छन् । उदाहरणका लागि– पहाड टाढाबाट मात्र राम्रो देखिन्छ । परदेशमा धर्म, जात र राजनीतिका बारेमा कहिल्यै बहस नगर्नू .... ....यस्तै यस्तै । बजगाईँ आफ्ना अभिव्यक्ति र तर्कहरुप्रति यति विश्वस्त र निडर छन् कि जे कुरालाई पनि उनी आफ्नो ब्रह्मले छाम्ने गर्छन् । उदाहरणका लागि संसारप्रसिद्ध आइफिल टावर उनलाई भने ‘३३ केभी प्रसारण लाइन टावरको ठूलो रुप’ जस्तै अनाकर्षक लाग्दछ । यस्ता धेरै उदाहरण उनका निबन्धहरुमा पाइन्छ । कुनै विषय, ठाउँ वा सन्दर्भलाई आफ्नो निजात्मक दृष्टिकोणले प्रस्तुत गर्नसक्नु नियात्राकारको सफल पक्ष हो । कतिपय ठाउँमा भने लेखनकै क्रममा उनी कुनै विषयप्रति सिधै निर्णय नै सुनाइदिन्छन्, यो उनका निबन्धमा पाइने अर्को वैयक्तिक पाटो हो ।

धेरैजसो विदेशको यात्रा लेख्ने नेपाली निबन्धकारमा पाइने एउटा साझा प्रवृत्ति हो तुलना गरेर हेर्ने । आफू पुगेका विकसित देश,सहर वा अन्य व्यवस्थित ठाउँहरुसित आफ्नो देशलाई दाँजेर हेर्ने अनि आफ्नो देशको अव्यवस्था, अविकास, अस्थिरता, गरिबी जस्ता अनेक दुर्बल पक्षहरुलाई सम्झेर आक्रोश अनि कुण्ठा ओकल्ने विशेषता लगभग नेपाली नियात्रा लेखनको साझा विशेषता नै हो भन्दा हुन्छ । निबन्धकार बजगाईँ पनि यो प्रवृत्तिबाट अलग छैनन् । पुगेका सहर र ठाउँहरुको आधुनिक विकास, अनुशासित र अरुप्रति उत्तरदायी किसिमको पद्दति, सिर्जनात्मकता एवम् आफ्ना धरोहरहरुको संरक्षण, सम्बद्र्धन र प्रचारप्रसार गर्ने परम्परा देखे भोगेर उनी पनि कायल हुन्छन् र पटक पटक आफ्नो देशका दुर्बलताहरु, दिशाहीनता एवम् राजनीतिक नेतृत्वका गैरजिम्मेवार अनि अनुत्तरदायी व्यवहारहरु सम्झिएर दुख्ने र आक्रोशित हुने गर्दछन् । अनि कतै भने पुगेका स्थानले आफ्नो देशका कतिपय ठाउँहरुलाई सम्झाइदिएर नोस्टाल्जिक पनि बनेका हुन्छन् । जे होस्, लगभग सबैजसो निबन्धमा लेखकले आफू जहाँ जाँदा पनि आफ्नो मन मस्तिष्कमा नेपाल बोक्न छाडेका भने छैनन् ।

नियात्रा लेखनमा विश्वसनीयताले महत्वपूर्ण अर्थ राख्दछ । यदि लेखनमा विश्वसनीयता झल्किएन भने त्यसको रोचकताले पाठकलाई छुँदै छुँदैन । अविश्वसनीय, हावादारी एवम् छलकपटपूर्ण नियात्रा लेखन त्यो शैलीमा चाहे जतिसुकै उच्चकोटिको किन नहोस् पाठकको नजरमा त्यो नक्कली ठहर्दछ । निबन्धकार बजगाईँको निबन्ध लेखनको अर्को सबल पक्ष के हो भने उनका निबन्ध यो प्रवृत्तिबाट मुक्त छन् । उनका निबन्धमा लेखकीय इमान्दारी र खुलापन पाइन्छ । यात्राका सबल र दुर्बल दुवै पक्षलाई इमान्दार भएर प्रस्तुत गर्न सक्ने भएकाले उनको लेखनमा विश्वसनीयता पाइन्छ । कलात्मकताका नाममा निबन्धलाई काल्पनिकताले उन्ने चेष्टा उनी गर्दैनन् । यसो भनेर उनको लेखन शुष्क, अनाकर्षक एवम् कलाविहीन पनि छैन । नियात्राका निम्ति आवश्यक भाषाशैलीको प्रयोग उनले गरेकै छन्, यद्यपि कतै कतै अभिव्यक्तिको गहनता नपुगेको हो कि भन्ने आभास पनि नपाइने होइन । तर समग्रमा उनको भाषाशैली सरल, सहज एवम् सरस प्रवृत्तिको छ । लेखक हुनुको नाताले उनका आफ्ना सबै किसिमका अनुभूतिहरुलाई पोखेका छन् । कतै आक्रोशित, कतै भावुक, कतै शान्त अनि कतै चाहिँ भर्खर जवानीको खुड्किलो टेक्दै गरेको नौजवान जस्तै उदात्त र उच्छालिँदो । यस्ता विविध अनुभूतिहरुलाई पोख्ने उनको भाषिक शिल्प पनि विविध किसिमको छ जसले गर्दा उनका निबन्धहरुको पाठकमा पनि प्रभाव पनि प्रत्येक निबन्धपिच्छे फरक फरक किसिमको छ । चीनका कतिपय ठाउँहरुमा पाठक लेखकजस्तै क्रान्तिकारी भावनाले उत्तालिन सक्छ, अरनिकोको नाममा गर्विलो हुनसक्छ, कतै ऐतिहासिक स्थलहरुको वर्णन अनुभूतिबाट उत्प्रेरित हुनसक्दछ त कतै लेखकजस्तै यताउति स्वच्छन्द बरालिन पनि सक्छ भने कतैचाहिँ भावुकता अँगाल्न पुग्दछ । यसरी एउटा पुस्तकमा यी सबै किसिमका अनुभूतिहरु पाठकलाई प्रदान गर्न सक्नु नियात्राकारको रुपमा कृष्ण बजगाईँको साहित्यिक प्राप्ति हो भन्नमा हिच्किचाउनु पर्दैन ।

यात्राका क्रममा लेखकले कति एक्लै त कति समूहगत यात्रा गरेका छन् । चीनको यात्राचाहिँ अलिक बढी नियन्त्रित र औपचारिक लाग्दछ । यसलाई छाडेर बाँकी यात्राहरुमा समूहगत यात्रा अनुभव अलिक बढी औपचारिक लाग्दछन् भने एक्लै गरिएका यात्राको अभिलेखीकरणमा तुलनात्मक रुपले निबन्धकार सफल देखिन्छन् । कतिपय निबन्धहरु भने स्थानकै परिवेशमा आएपनि तिनमा चाहि स्थानअनुभव भन्दा पनि अनुभूतिको प्राधान्य पाइन्छ । कतिपय निबन्धहरुचाहिँ निबन्धकारले अलि बढी नै औपचारिक बनाएका छन्, विशेषगरी प्रसिद्ध स्थानहरुको यात्रा निबन्ध पढ्दा यसलाई चाहिँ निबन्धकारले अलिक अनौपचारिक र अझ बढी कलात्मक बनाएको भए हुन्थ्यो कि भन्ने महसुस हुन पनि सक्दछ । कुनै कुनै निबन्धमा शीर्षक चयनमा पनि ध्यान नदिइएको प्रतीत हुन्छ । उदाहरणका लागि ‘संसारको सबैभन्दा सानो सहर दुर्बीमा एक दिन’ निबन्धमा पाठकको अपेक्षा विपरीत निबन्धकारचाहिँ दुर्बी सहरलाई भन्दा पनि त्यहाँको कृष्णमन्दिरको यात्रा अनुभवलाई लेख्नमा बढी केन्द्रित देखिन्छन् । लेखकले दुर्वी सहरमा लेख्न लायक केही नभेटेर हो वा युरोपको एउटा सुदूर कुनामा हिन्दू धर्मसँग सम्बन्धित मन्दिरले बढी तानेर हो लेखक आफ्नो शीर्षकलाई छाडेर अन्तै अलमलिएको प्रतीत हुन्छ । त्यसैगरी चीनसँग एकै समयमा एउटै व्यक्तिसँग गरेको यात्रालाई एउटै शीर्षक र उपशीर्षकहरुबाट एकै निबन्धमा सँगालिएको भए पाठकको पठन सहज हुनुका साथै निबन्धको प्रभाव अझ बढ्नेथियो । किनभने एउटामा त्यही परिवेशका बारेमा बहकिएको पाठक अर्को बिल्कुलै फरक प्रसङ्गमा गएर फेरि अर्कोमा त्यही परिवेशमा फर्किएर आउँदा त्यसले पाठकको अनुभूतिको क्रमलाई भङ्ग गर्दछ ।

नियात्राकारले आफ्नो लेखकीयमा उल्लेख गरेको सेन्ट अगस्टिनको ‘संसार एउटा पुस्तक हो, जसले यात्रा गरेको छैन त्यसले एक पाना मात्र पढेको हुन्छ’ भन्ने प्रसिद्ध उक्तिले नै यो यात्रा निबन्धको महत्वलाई उठाएको छ । किनभने यात्रा निबन्धको पाठकमा पर्ने प्रभाव लेखकको भोगाइलाई अनभूत गर्नुमात्र नभई लेखकको अनुभवबाट ज्ञान र अनुभवलाई हासिल गर्नु पनि हो, यसमा यो नियात्रा सङ्ग्रह सफल छ । यसका निबन्धहरुका माध्यमबाट निबन्धकारले पाठकलाई आफूसितै चीन, जर्मनी, फ्रान्स, बेल्जियम, बेलायत, लक्जेम्बर्गजस्ता देशको यात्रा मात्र गराएका छैनन् कि ती ठाउँहरुमा आफूले भोगेका रमाइला, नरमाइला अथवा सबल दुर्बल अनुभवसित समेत पाठकलाई साक्षात्कार गराएका छन् । निबन्ध पढिसकेपछि पाठकले ती स्थानमा आफू पनि उपस्थित भएको कल्पना गर्न सक्ने सामथ्र्य सङ्ग्रहका कतिपय निबन्धमा पाइन्छ ।

समग्रमा साहित्यकार कृष्ण बजगाईँको पहिलो नियात्रा कृति भइकन पनि ‘युुरेसियाको स्पर्श’ सबल कृति बनेको छ । यसले डायोस्परिक नेपाली नियात्रा साहित्यका लागि त यो महत्वपूर्ण प्राप्ति हुँदै हो सँगसँगै नेपाली नियात्रा साहित्यलाई सम्मृद्ध बनाउनका लागि एउटा इँटा थप्ने काम गरेको छ भन्न हिच्किचाउनु पर्दैन ।
कृतिः युरेसियाको स्पर्श
विधाः नियात्रा
नियात्राकारः कृष्ण बजगाईं
प्रकाशकः साझा प्रकाशन
संस्करणः पहिलो, २०७३
मूल्यः रु. १९९

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 27 श्रावण, 2074

लेखकका अन्य रचनाहरु