श्रीओमका आत्मपरक निबन्धहरू : एक अवलोकन

- प्रा.डा. खेम दाहाल

१. प्रारम्भ ः
श्री ओम श्रेष्ठ ‘रोदन’ (२०१९), को ‘भनौँ कि नभनौँ’ (२०७३) निबन्ध सङग्रह तन्नेरी प्रकाशनबाट प्रकाशनमा आएको छ । श्रीओमका ‘संवेदनाका स्वरहरू’ (२०५४), ‘अर्थहीन अर्थहरू’ (२०५५), ‘समयका सम्भावनाहरू’ (२०५९), ‘एक्लो परिचय’ (२०६९) पनि प्रकाशनमा आएका छन् । यहाँ एक्काइस निबन्धहरूको सङ्ग्रह अध्ययनमा लिइएको छ । श्रीओमका ‘समुन्द्रपारि समुन्द्रवारि’ (२०६०) र ‘नबिर्सने दिनहरू’ (नियात्रा तथा यात्रासंस्मरण) प्रकाशनमा अएका छन्, निबन्ध या यात्रागत रचनामा बौद्घिक तर्क स्वदेशको माटो केन्द्रीय विषय बनेको पाइएको छ ।
२. विषय प्रवेश ः
निबन्ध ‘जित्ने कृष्णचन्द्र’ मा संस्मरणप्रधान ढाँचा उपयोग गर्दै ‘रोदन’ ले छोटो निबन्ध लेखेको पाइन्छ । कृष्णचन्द्रसिंह प्रधानलाई स्मरणमा लिँदा धेरै कुरा सम्झनुपर्छ, “अब फेरि तपाईलाई प्रमुख अतिथिका लागि अनुरोध गर्नुपर्ने छैन” भन्दा झसङ्ग भइन्छ । निबन्धकार, समालोचक, साहित्यको इतिहासका ज्ञाता, अध्ययन मननमा समय व्यतीत गर्ने प्रधान एउटा अनौठो चरित्रका धनी थिए । उनले औपचारिक शिक्षा नलिई स्वाध्यायबाट धेरै काम गरेको इतिहास छ, साझा प्रकाशन र प्रज्ञाप्रतिष्ठानमा उनको कामका डोबहरू मेटिएका छैनन् । उनका ‘सालिक’ (२०२६), ‘अनाम सत्य’ (२०४६), ‘पाइला आगतमा टेकेर’ (२०४७), ‘बाग्मतीको हरक’ (२०५७) आदि निबन्ध सङ्ग्रहको मूल्य नेपाली साहित्यले ग्रहण गरिरहेको छ, समालोचना, कविता र पत्रिका सम्पादनमा प्रधानलाई अथक साधक मानिन्त । प्रज्ञाप्रतिष्ठान, साझाप्रकाशनसँग रहेको कसिलो लगामका मान्यजन साहित्यकार कृष्णचन्द्रसिंह प्रधानलाई आधार बनाई लेखिएको निबन्धमा एक हरफका अनुच्छेदहरूको सूत्रमय विकासलाई नवीन शैली मान्न सकिन्छ । यस संस्मरणप्रधान निबन्ध ढाँचामा देवकोटाले भानुभक्त आचार्य र पं. लेखनाथ पौड्याललाई प्रमुख पात्र बनाई निबन्ध लेखेको पाइन्छ, त्यसै गरी श्रीओमले कृष्णचन्द्रसिंह प्रधानजस्ता पात्रलाई प्रमुख पात्र बनाउँदा उनका गतिला कृति, तिनको साहित्यिक मूल्य तथा अथक साधनाको सम्मान गर्दै छोटो निबन्ध लेखिएको छ । मृत्युसित कसैको केही लाग्दैन, त्यसैले पटक पटक माफी माग्ने काम गरिन्छ, पटक पटक भेट्न गएको, प्रधानको आवाज रेकर्ड गरिएको, चौधवर्ष साझा प्रकाशनको महाप्रबन्धक भई काम सम्पन्न गरेका प्रसङ्गहरू जसरी सरासर आए, त्यसरी नै प्रस्तुत भए । यस निबन्धभित्र श्रीओम श्रेष्ठ ‘रोदन’ साहित्यसेवामा आफू प्रयत्नशील रहेको देखाउने आधारहरू पनि छन्, त्यस्तैमा परलोक जानु भएका कृष्णचन्द्र अक्षरमा नमर्ने अठोटहरू थपिएका छन् ।
श्रीओमको ‘स्याबास भूकम्प’ निबन्धले वि.सं. २०७२ साल वैशाख १२ गतेलाई मूलआधार बनाउँछ । यसले धेरैको ज्यान लियो, धरहराबाट खसेर कोही मरे, कोही अपाङ्ग बन्न बाध्य बने । कतिका महल घरासयी बने, करोडपतिहरू रोडपति बने, नवविवाहित दुलही विधवा बने, धेरै ठूलो नोक्सान भएको घटनाको अर्को पाटो हेर्ने काम यहाँ गरिएको छ । देश विदेशको साथसहयोग पाइएको क्षणमा नेपालीले आफूआफूमा मिलेर बाँच्न सिक्ने पाठ पनि भूकम्पबाट सिकेको समीक्षा निबन्धमा गरिएको छ । त्यस दिनको घटनाले टोलटोलबासीहरू एउटै पालभित्र सुत्न सिकिरहेका , एउटै भान्सा कोठामा मिलेर बाँच्न सिकिरहेका सकारात्मक दृष्टिहरू विकासित भइरहेका प्रमाणहरू जुटाएर ‘स्याबास भूकम्प’ भन्न हिम्मत गरिएको छ । विपत्का कारणले गाउँमा पुगेका नेताहरू, राहत वितरकहरूमाथि जनताको आस्था बढेर जानु दुःखका छेउमा सुखको बिरुवा पलाउनु हो ।
‘रोदन’ का निबन्धमा सूक्तिहरू लुकेका छन्, हामीले दिनदिनै देखेका वस्तु चिनेका छैनौँ, कहिल्यै नदेखिएको स्वर्ग कसरी परिभाषामा आउँछ, ‘बन्दीगृहको बोनस’ निबन्ध बोलिरहेको छ । यहाँ ढुङ्गाको बयान हुन्छ, ‘म्याङ्गलुङ’ ढुङ्गाले ‘म्याउँ’ गरेछ, प्रसिद्घ देवी उत्पत्ति भइन्, रूखका फेदमा बसेर सिंह वाहिनी देवी भएकी छिन् । ढुङ्गालाई देवता मानेर पूरा गर्नुृ राम्रो हो, किनकि यिनले सडक बनाउने, घरको पर्खाल बनाउने, मन्दिरको गारो बनाउने र चाँदन घोटेर पुजारीको पूजा सिद्घ गर्ने काम दिन्छन् । जति सुकै रिसाएर ढुङ्गालाई गाली गरौँ, उनी रिसाउने छैनन्, त्यसैले ईश्वर मानी पूजा पाएका होलान् । निबन्धकारले पानी र स्वर्गको तुलना गरेर निकै राम्रो तर्क प्रस्तुत गर्दा सत्य हो कि जस्तो लाग्छ । निबन्धकारले यस्तो तर्क गर्नुपर्छ जहिले पाठकले पत्याउने गरी आफ्नो कुरा प्रकाश गरियो भनेर आफ्नो चित्तमा घाम लाग्ने स्थिति आउँछ ।
“हस्तरेखाहरूले आँसु र हाँसोको जोड घटाउ हुर्काउनु हुन्न भन्ने मत छ ।” भाग्यलाई कर्मले बनाउँछ, कर्म गर्दै गएपछि हस्तरेखाको भविष्य अगाडि नै जानेर केही फाइदा छैन । समयमा मेहनत, परिश्रम र त्यसको उपयोग माथि आस्थाका शब्दहरू भरिएको यस्तो निबन्धलाई चिन्तन प्रधान निबन्धको रेखाभित्र राख्न सकिन्छ । यस्ता चिन्तन प्रधान निबन्धकारहरूमा बालकृष्ण सम अग्रणी भूमिका खेल्छन्, शङ्कर लामिछाने कसै भन्दा कम छैनन् । कुमारवहादुर जोशी पछिपछि लाग्छन्, मनुजबाबु मिश्र त्यसको गोडमेल गर्छन, चिन्तनलाई निबन्धको गुप्त ईश्वर (हिडेन गड) मानिएको छ । समय र त्यसको सही उपयोगमा चिन्तन गरिएको निबन्ध ‘बन्दीगृहको बोनस’ ले शङकर लामिछानेको ‘गोधुली संसार’, ‘एब्स्ट्याक चिन्तन प्याज’ को झझल्को गराउने शैली समातेको प्रतित हुन्छ । निबन्धमा प्रारम्भ गरिएको अभ्यासलाई गति दिन आवश्यक छ, किनकि समय झन्झन् समाउन खोज्यो झन्झन् कठिन चाम्रो र बाउँटो हुँदै छ ।
हाम्रो मनसँग हाम्रा इन्द्रियको नाता छ । अहिले कुनै कुरो कानमा आयो भने कानले मनलाई भनिदिन्छ । मनले वैज्ञानिक परीक्षण पाएको छैन भनेर ‘मनका कुरा’ मा सूचित गरिन्छ । खर्दार, ना.सु.ले सही ठहर गरेर ल्याएको कागजमा सहीगर्ने काम अधिकृतले गर्छ, त्यस्तै आफूले प्रत्यक्ष नबुझेको र नदेखेको विषयमा आँखाको सूचना पाउनासाथ मनले सही गरिदिन्छ, बिचरा छ मन । मनले त्यही कुरा पाउँछ, जति आशा गर्छ, त्यसो हुँदैन, घटी वा बढी हुन्छ, मन खिन्न वा प्रफुल्ल हुन्छ । त्यसैले विज्ञानले प्रमाणित गरेझैँ मनमा भएको कुरो प्रमाणित नहुने तर्क श्रीओमको निबन्धमा गरिन्छ । यसमा महादेव र उनले विषपान गरे भन्ने मिथक जोडिएको छ, त्यसमा टाठाबाठा देवताहरू छन्, बलवान राक्षसहरू छन् र महादेव बेग्लै छन् । अमृत जति आफ्ना भागमा हाल्ने र पाप वा बिष जति अरूलाई हाल्नेहरू महादेवका पालादेखि आज पनि छन्, यस भनाइमा तुक छ । यसमा कति उदाहरण छन्, गन्न नै कठिन हुन्छ ः अलिकति भाग्य, अलिकति ईश्वर, अलिकति नियमित आकस्मिकताले मनलाई घेर्छन् । “मनको सम्झौता मनसँग हुनुपर्छ, समयसँग होइन” भनिन्छ । यसमा अरुणा लामाले गाएको गीत चम्पू भएर आउँछ, “पोहोर साल खुसी फाट्यो जतन गरी मनले टालेँ ।” यसमा धेरै प्रश्नहरू आउन सक्छन्, जतनले टाले पनि मन टालिन्छ के भनी सोध्न सकिन्छ । यस्ता मनसँग जोडिएका प्रश्न र उत्तर बोकेको यस निबन्धले सामान्य अर्थ वा अभिधालाई भन्दा व्यञ्जनार्थलाई पक्रिएको छ । मनसँग धेरै कुरा छन्, चटक बनाउन सर्कस बनाउन नसकिने रूपहरू छन् । मनलाई सगरमाथा जस्तो अग्लो भनिएला, तर मनसँग मिल्ने साँचो उपमा छैन, यही तर्क बलले उक्त निबन्धको ढाँचा बौद्घिक चिन्तन प्रधान भित्र पर्न सक्छ ।
‘आँसुको अक्षरमा’ संस्मरणप्रधान निबन्ध हो, यस निबन्धले राममणि रिसाललाई सम्झाउँछ, असल बानी भएका निबन्धकार गुरुको निधनमा आँसु बगेका छन् । त्यसै अमेरिकी प्रवासमा रहँदा गरिएका कामलाई सम्झने निबन्ध–‘नर्थब्रिजका नौरङ्गी दिनहरू’ पनि एउटा हो । यस निबन्धमा कुनै समयमा स्टोरमा काम गरेको समयले बाहिर निस्कने ढोका वा झ्याल माग्छ । त्यहाँ पत्रिकामा पढिएका सर्पसम्बन्धी क्षेपकहरू अचम्मका छन, स्टोरमा काम गर्ने कर्मचारीलाई अग्लो स्टुलमा बसेर समाचार पढ्न दिने स्टोर पनि छन् । ‘सोसियल लाइब्रेरी’ मा सदस्य बनेपछि किताब लिन र फिर्ता गर्न पाइन्छ, पढ्नेलाई सरस्वतीले समय मिलाइदिने गरेकी छिन्, कोही समलिङ्गीका विषयमा सोध्छन्, कोही उपहार दिने सामान किनिदिन आग्रह गर्छन्, नक्कली घडी बेच्नेहरू पसलपसलमा आउने र किनिदिन आग्रह गरिरहने रहेछन् । कोही ‘ह्यापी फादर्श डे’ का निम्ति सामान किन्न लगाउने कर गर्दा रहेछन्, यो माग्ने तरिका हो वा संस्कृति हो भन्ने तर्क त्यसै छाडिन्छ । त्यहाँ स्टोर बन्द गरेर जाने बेलामा घन्टी थिचिँदो रहेछ, फेरि भित्र पस्न नमिल्ने बेल बज्दो रहेछ, सटर पनि पारदर्शी हुने रहेछन् । त्यहाँ कोही रक्सी पिउन डराउँदा रहेछन्, किनकि स्वास्नीले गाली गर्ने डर लाग्ने रोग पनि हुने रहेछ । त्यस देश र ठाउँमा गर्मी भएपछि महिलाहरू लुगा कम लगाउने अर्थात नाङ्गिने धर्मको निर्वाह गर्दा रहेछन् उमेर नमिले पनि मिलेरै बस्ने भन्ने स्मरणमा निबन्ध समाप्त हुन्छ । भाषामा शालीनता रहेको पाठक अनुभूति हुनेछ । बिहारीलाल श्रेष्ठलाई सम्झनामा राखेर लेखिएको निबन्ध वा एउटा आदर्शवादी विचारका मानिसलाई सम्मान गर्दै लेखिएको निबन्धले डाक्टरसाबको देशनिर्माणको व्यक्तित्व देखाउँछ । डाक्टर साहेबले पहिले आफूबाटै सुधार सुरु गर्न, आफ्नो भन्दा जनता र रोगीको विचार गर्ने, ढाँटेर छलेर नखाने, बिहानै शनिबार चउरमा भेला भएर शाखा कार्यालय सानेपामा शारीरिक र बौद्घिक मन्थन गर्ने गर्नु भयो । उहाँले हौसला र प्रेरणा दिनुभयो, आत्मविश्वास बढाइदिनु भयो, स्वाभिमानमा बाँच्ने बीज रोपिदिनु भयो भन्ने अभिव्यक्ति हार्दिक लाग्दै जान्छ । “स्वाभिमानीपूर्वक बाँच्न डाक्टरसापले नदेख्ने गरेर मभित्र त्यस्ता बीउहरू रोपिदिनु भएको रहेछ” भन्ने अभिव्यक्तिले हामीलाई आकर्षित गरेको छ । डाक्टर साहेबले २०५९ सालमा यस धरतीबाट बिदा लिन भयो, तर उहाँले गरेका कामले अमरत्व पाएका छन्, यो भनाइ निबन्धमा रमाउँछ ।
आफ्नै पारिवारिक संसारका विषयमा निबन्ध लेख्ने ताना सर्मा (डा.तारानाथ उपाध्याय भण्डारी) को योगदान नेपाली निबन्धमा सम्झन लायक छ । यहाँ श्रीओमको ‘न्याय पाउँछु कि ?’ निबन्ध पनि भित्र पसेर आत्मपरकताको व्यवच्छेदन गर्दै बाबु, दाजुभाई र आफ्ना बारेमा लेखिएको रहेछ । यस निबन्धको भाषाशैली शव्द चयन र प्रस्तुत विषय सरिताझैँ बगेका छन् । बाबाले लेखनदास भएर पैसा कमाएको, लेख्न नपाएपछि आफ्नै बिरुद्घमा बादी–प्रतिबादी तयार पारेको र बाबुको वंशगत गुण भएझैँ आफूल्े पनि साहित्यमा घुस्याहा, मिचाहा, पिराहा, थिचाहा, कामचोर, छली, कपटी, कोडीहरूका प्रतिपक्षमा धेरैवटा उजुरी लेखिसकेको प्रतिवेदन पढिन्छ । ‘भनौँ कि नभनौँ’ शीर्षक आफैँले पनि समाज बिग्रिएकोमा चिन्ता प्रकट गर्दछ ।
नेपालको चिन्दा कवि, कथाकार निबन्धकार तथा देशप्रति आस्था राख्ने नागरिकले गर्छन् । श्रीओमको यही चिन्ता ‘क्याम्ब्रिजको फुर्सद’ निबन्धमा पढिनेछ । अमेरिका पुगेका बेला पानी, बिजुली, सुरक्षा, बालशिक्षामा भएको सुविधा स्मरण गर्दै नेपालप्रति फर्किएर हेरिएको छ । श्रीओमको अमेरिका बसाइमा भौतिक सुख मिल्यो तर मानसिक सुख पटक्कै मिलेन भन्ने भावना बोल्ने यस निबन्धले देशभक्ति जगाउँछ । त्यहाँका व्यस्त मानिसहरू विहान साढे सात बजे निस्कन्छन् र रातको एघार बजे फिर्छन्, त्यसरी व्यस्त हुँदा राम्रो आर्थिक उन्नति भएको ठहर निबन्धले गरेको छ । तर यति सुन्दर र प्राकृतिक वरदान प्राप्त देश नेपालका हामी नागरिक कति घण्टा काम गर्छौँ ? यही भिन्नता नै पछि पर्ने कारण हो । हाम्रो मस्तिष्कको बाह्र प्रतिशत प्रयोग गर्दा अमेरिकी नागरिकले गरेको प्रयोग जति हुन्छ भन्ने, नेपालबाट गएका मानिस केही समय कामहीन हुने भन्ने र साथी हरिको सहयोगले बाहिरफेर निस्कन मिल्ने अवस्थाका चिन्तकले देशप्रेम एवम् ‘विचलन’ उपन्यास विमोचन बिर्सिएको पाइँदैन । यस्तैमा पढ्न नजानेर हो वा अन्य कारणले सलल बग्न नसकेका शब्द अक्षरहरू आउँदाआउँदै एउटा निबन्धपाठ सलल बग्ने गरी पढ्न सकिएको छ । त्यो पाठको शीर्षक ‘क्याप्टेनका कलम’ राखिएको छ जुन पाठले निबन्धकारलाई गद्यमा बहेको देखाउँछ । क्याप्टेन जनकबहादुर राणा ‘लाहुरेको डायरी’ स्तम्भका लेखक (रुवी राणाका पिता) भारतीय सेनाबाट निवृत्त राणालाई केन्द्रमा पारेर लेखिएको निबन्धको शैली रहर लाग्दो छ, अरूका कृतिलाई चोरेर आफ्नो बनाउँछन् भन्ने सन्दर्भको लामो प्रतिवेदन कथाकार, निबन्धकार कृष्ण बजगाईले नेटमा देखाउनुभएको थियो । यस्तै राम्रो वस्तु चोरिन्छ होला, भय पैदा भयो । राणाको फरासिलो बानी, युद्घबाट फर्किएपछि कृषक बनेका कुरा र पछि साहित्यकार बनेका विषयलाई रहर लाग्दो, खुसी लाग्दो र चोरौँचोरौँ लाग्दो गरी प्रस्तुत गरिएको पाउँदा चोर्न लोभ लागेको र चोरिने कारण थाहा हुन्छ । उमेर नमिले पनि मन मिलेपछि, विचार मिलेपछि मित्रता हुन्छ, जनकवहादुर राणासँग मन मिलेको कारणले गहिरो मित्रता भएको स्मरणमा निबन्ध आधारित रहन्छ । साहित्यिक कार्यक्रमबारेमा सोधिरहने राणालाई २०६० को भाइटीकाका दिन चिनी रोगले पछारे पनि उहाँका कृति र संस्मरण जीवित रहने विश्वास निबन्धमा व्यक्त भएको छ । अमेरिकी बसाइमा भोगको असजिलोलाई ‘आफ्नो भनेको आफ्नै हुन्छ’ मा प्रकट गरिन्छ । सन् २००६ मा अमेरिकाबाट नेपालतिर हेर्दा देखेका कुराहरू, त्यहाँ पीडितले जहिले पनि उजुर गर्न पाउँछन्, म्याद जाँदैन, खुल्ला समाज छ तर पनि बलात्कारका घटना हुन्छन्, वर्षाका कारणले कफ्र्यु लाग्छ, मेसिनझैँ काम गरे पैसा कमाइन्छ, तथापि नेपालमा आफ्नो मातृभूमिको माटो, टुकुचाको गन्ध, वागमतीको हरक, खाल्टाखुल्टी सडक, साहित्यिक भेलामा व्यस्त रहन पाइने मौकाले गर्दा आफ्नो माटो आफ्नै हुने अनुभूति प्रकाश गरिएको छ ।
श्रीओमको ‘मान्छे महोत्सव’ निबन्धले हाम्रो मनको विश्लेषण गर्ने प्रयास गरेको छ । हाम्रो मन पापी छ, भगवान्ले सही सजाय गर्न छाडेका छन्, नेता, सभासद् मन्त्री, व्यापारी, शिक्षक, कर्मचारीमा अपराध मनोवृत्ति बढेको छ । त्यसैले मानिसहरू जो जो तस्करी, चोरी, घुसखोरी, कालोबजारीमा फसेका छन्, तिनीहरूको महोत्सव गर्दै टुँडिखेलमा नचाउन पाए हुन्थ्यो भन्ने हास्यप्रधान विचारहरू प्रस्तुत भएका छन् । तर सबै मन्त्री खराब छन् भन्न सकिन्न, सबै व्यापारी पनि । यसमा ससाना अनुच्छेद, कति त एक वाक्यका अनुच्छेद, कतिठाउँमा मान्छे अपहरण गर्नेको नाम किटान, कति ठाउँमा सबैलाई हुने सप्को र कति ठाउँमा भाववाची आक्षेप लागेका नकारात्मक पक्षका अभिव्यक्ति रहेका पाइनु समयको सत्यतथ्य प्रतिवेदन तयार गर्नु जस्तै हो, मानिसले जे सोचेको छ , त्यो प्रकाश गर्दैन, यस भनाइमा सत्यता छ ।
संस्मरणात्मक निबन्ध ‘सेन्टजोका डेबिट’ मा नराम्रा बानी भएका अमेरिकी डेबिट र उसकी स्वास्नी टिफ्नीको स्मरण गरिएको पाइन्छ । रक्सीको मात लागेपछि रुने, कराउने, झगडा गर्ने यिनीहरूका स्वभावले गर्दा आफू फसिने त्रासको स्मरण गरिन्छ । झगडा गरेको आरोपमा प्रहरीले कुनै दिन डेबिटलाई पक्राउ गरेको हो ।
अमेरिकामा परिश्रम गरेर खाने जस्तै मागेर खाने पनि रहेछन्, क्याम्ब्रिज सहरमा माग्नेहरू छन्, फरक फरक ढङ्गले माग्दछन् ः कोही गीत गाएर माग्छन् र कोही ठेलामा आफैँ बसेर कुकुर साथमा राखेर लेखिएका प्लेकार्ड साथमा देखाएर माग्छन् भन्ने देखाउने निबन्ध –‘बौद्घिक सहरमा माग्ने’ हो । यस संस्मरणप्रधान निबन्धमा निबन्धकारले बाटो विराएको र सेन्टर स्क्वायरसम्म पुग्नै डर मानेको प्रसङ्ग रोचक छ । यस्ता संस्मरणप्रधान निबन्ध लेखनमा लैनसिंह बाङ्गदेल (स्पेनको सम्झना) तथा पारसमणि प्रधान (अजीव भोज) का लेखकहरु अग्रस्थानमा रहेको इतिहास छ ।
नितान्त व्यक्तिगत विषयको निबन्ध ‘मेजर कि माइनर ?’ मा मुटुसम्बन्धी अपरेसन डा.भगवान कोइरालाबाट गराइएको सम्बन्धमा गुनासो व्यक्त गरिएको छ । डा. भगवानको प्रशंसा र औपचारिकताका लागि फोन गर्नेहरूको गतिविधिमाथि गुनासो गरिएको यस निबन्धले ‘अपरेसन मेजर कि माइनर’ भनी सोध्नेहरूलाई जवाफ दिइन्छ–डाक्टरका लागि माइनर र पीडितका लागि अपरेसन मेजर हो, किनकि मुटुको अपरेसन त्यसैपनि कालको छेउमा हुन्छ । प्रेम प्रदर्शनको ‘कीर्तिमान’ शीषकमा प्रेमको विश्लेषण गरिएको छ, त्यसमा ताजमहलको कुरा विश्लेषणात्मक भएर आएको छ । शाहजहाँले आफ्नी रानी ममताजका नाममा बनाएको उक्त ताजमहल कलात्मक, रमणीय तथा पर्यटकीय स्थल बनाउने क्षमताको भए पनि यसका पछाडि धेरै दोषहरू छन्, हजारौँ गरिबहरूको मुखमोसेर उठाएको करबाट बनेको यस ताजमहलले लाखौँ कामदारलाई बेरोजगार बनाउँदै वरपरका हजारौँ उद्योग बन्द गराउने हठ पूर्ण काम गरेको अन्याय भित्र प्रेम भन्दा अरूकुरा धेरै भएको तर्क अर्थपूर्ण लाग्छ । यसमा साधारण मानिसको प्रेममा चोखोपना हुन्छ, बडाले गरेको प्रेममा आडम्बर हुन्छ भन्ने निष्कर्ष गरिन्छ । जनताको श्रमशोषण गरेर बनाएको ताजमहल प्रेमको प्रतीक नहुन सक्ने प्रमाणहरू माथि तर्कशक्ति उपयोग भएको छ ।
निबन्ध सङग्रहको उत्तर भागका निबन्धमा ‘आग्लो नलगाउँदा’ निबन्ध पनि एक हो, यसले समेटेका विषयहरू नितान्त व्यक्तिगत र भाववाची लाग्नेछन् । यहाँ आफूले गरिरहेको, आफ्नो ठहरमा ठिक लागेको, ब्रम्हले सही ठानेको कुरा गर्दा पछि पर्नु हुँदैन भन्ने भावना बोल्दै छ । त्यस्तै ‘उठाएँ फेरि हात’ जस्तो लामो र अन्तिम निबन्धमा मित्रताका लागि हात बढाएको स्मरण गरिन्छ । भरतपुर, कैलाश नगरका कवि, कथाकारहरूमा एलबी सरको नाम उल्लेख हुन आउँछ । प्रेम र सद्भावको कमी भएको समयमा बाँच्नका लागि होस् वा औपचारिकताका लागि होस्, मित्रताको हात बढाउनुपर्छ ।
३. निष्कर्ष
निबन्धको इतिहासलाई परवर्ती समयबाट हेर्दा यसमा प्रचलित केही ढाँचाहरू उस्तै र उत्तिकै सक्रिय रहेका पाइन्छन् । हृदयचन्द्र सिंह प्रधानले उत्थान गरेको प्रगतिवादी ढाँचा, पारसमणि प्रधान र लैनसिंह बाङ्गदेलले उत्थान गरेको संस्मरणात्मक ढाँचा, भैरव अर्याल र केशवराज पिँडालीले अग्रगति दिएको हास्यव्यङ्ग्य शैलीको ढाँचा, तारानाथ शर्मा र लैनसिंह बाङ्गदेलले उत्थान गरेको नियात्राको ढाँचा, लक्ष्मीप्रसाद देवकोटाले विकास गरेको कवितामय शैलीको ढाँचा तथा बालकृष्ण सम, शङ्कर लामिछाने र कुमार बहादुर जोशीले उत्थान गरेको उच्च बौद्घिकताको ढाँचाजस्ता धारहरू समान रूपमा सक्रिय छन्, यस्ता धारभित्र आत्मपरकताको उचित निर्वाह गर्दै संस्मरण प्रधान तथा बौद्घिक तर्कप्रधान निबन्धमा श्रीओमको हात बढेको पाइएको छ । यसको प्रमाणका लागि माथि चर्चामा आएका निबन्धहरू पर्याप्त हुनेछन् ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 27 श्रावण, 2074

लेखकका अन्य रचनाहरु