वैकुण्ठ एक्सप्रेस नाटकमा स्वैरकल्पना

- गंगा अधिकारी

१. विषयपरिचय
मोहनराज शर्मा (१९९७) नेपाली साहित्यको आधुनिक कालका स्रष्टा हुन् । नेपाली आख्यान र निबन्ध विधामा कलम चलाउने शर्माको साहित्य सृजनायात्रा सन् १९५९ मा आसामको ‘ब्रह्मपुत्र’ पत्रिकामा छापिएको ‘बिलू’ निबन्धबाट र नाट्यसृजनातर्फ २०१३ मा ‘भानु’ पत्रिकामा छापिएको ‘आफ्नो बाटो’ एकाङ्कीबाट थालिएको पाइन्छ । त्यसपछि २०२७ सालमा ‘सम्झौता’, २०२८ मा ‘एकसय चार वर्ष बूढो सर्प’ र २०३१ मा ‘सरी रङ नम्बर’ एकाङ्कीहरू प्रकाशित भएपछि २०३९ मा ‘जेमन्त’ नाटक प्रकाशित भयो भने त्यसै समयमा ‘यमा’ पनि मञ्चित भएको थियो । पछि २०४१ म ‘जेमन्त÷यमा’ मा ती दुवै नाटक संग्रह भएका छन् भने २०४२ मा प्रकाशित ‘वैकुण्ठ एक्सप्रेस’ नाटकले २०४२ को मदन पुरस्कार पनि प्राप्त गरेको छ । यसै समयमा रचित र मञ्चित ‘यातनामा छटपटाएकाहरू’ अप्राप्य हुनपुगेको छ भने यसपछि प्रकाशित ‘घाँसिक’ (२०४९), ‘अब बाँझो हुन्न’ (२०४९), ‘आऊ, ढोका खोलौं’ (२०५१), ‘राजिनामा’ (२०५१), ‘विषाक्त फूलहरू’ (२०५५), ‘जोडिएका हात’ (२०५८) र ‘उताको बाघ’ (२०५९) एकाङ्की तथा २०५३ मा नेपाल टेलिभिजनबाट टेलिशृङ्खलाका रूपमा प्रसारित टेलिनाटक ‘राजिनामा’ ‘उताको बाघ’ (नाटक एकाङ्की संग्रह २०६१) मा प्रकाशित छन् । यसरी हेर्दा मोहनराज शर्माका पूर्णाङ्की नाटक चारवटा र एकाङ्की ११ वटा रहेका छन् । हराएको भनिएको पूर्णाङ्कीसमेत शर्माले १६ वटा नाट्यरचनाको सृजना गरेको देखिन्छ भने तीमध्ये १५ वटा प्रकाशित पनि छन् ।
स्वैरकल्पनाको प्रयोग गरेर नाट्यसृजना गर्ने नाटककार मोहनराज शर्माका सबै नाट्यकृतिहरू स्वैरकाल्पनिक रहेका छन् । सामान्यतः उडन्ते, हावादारी वा निराधार कल्पनाकै रूपमा स्वैरकल्पनालाई अथ्र्याउने गरिन्छ । दन्त्यकथाका असम्भव र अपत्यारिला घटनाहरू यसका उदाहरण हुन् भने नेपाली साहित्यको परम्परामा माध्यमिक कालीन जासुसी तिलस्मी आख्यानहरू यस्तै प्रकारका स्वैरकल्पनाका नमुना हुन् । माध्यमिक कालीन ती स्वैरकाल्पनिक आख्यानहरूको उद्देश्य कोरा मनोरञ्जनात्मकता र विस्मय रहेको देखिन्छ भने आधुनिक सन्दर्भमा भने यथार्थलाई फरक ढङ्गबाट प्रस्तुत गर्ने उद्देश्यले स्वैरकल्पनाको प्रयोग हुने गरेको पाइन्छ । पाश्चात्य साहित्यमा बर्टोल्ड ब्रेख्त, फ्रेन्ज काफ्का, समुएल बेकेट आदिले आफ्ना नाट्यरचनामा स्वैरकल्पनाको प्रयोग गरेका छन् । अझ त्यसभन्दा धेरै अघि नै जोन स्विफ्टको ‘गुलिभर्स ट्राभल्स’ (बामपुड्केको देशमा) मा नै यसको प्रयोग भएको पाइन्छ । आधुनिक नेपाली नाटकको परम्परामा भने समको ‘बोक्सी’ एकाङ्कीमा सम्भवतः स्वैरकल्पनाको पहिलो प्रयोग भएको हो । त्यसपछि विजय मल्लका विभिन्न नाट्य सृजनाका साथै फाट्फुट् रूपमा अरूबाट पनि यसको प्रयोग हुँदै आएको भए पनि नेपाली नाटकको परम्परामा स्वैरकल्पनालाई नै निजी शैलीका रूपमा आत्मसात् गरेर नाटक लेख्ने नाटककार भने मोहनराज शर्मा नै देखिन्छन् । उनका सबै नाट्यकृतिहरू स्वैरकल्पनामै आधारित रहेकाले शर्माको नाट्कारिताको मुख्य पहिचान भनेकै स्वैरकल्पनाको प्रयोग रहेको देखिन्छ ।
‘वैकुण्ठ एक्सप्रेस’ नाटक नाटककार शर्माको रचनाका दृष्टिले चौथो र प्रकाशनका दृष्टिले दोस्रो नाट्यकृति हो । २०४२ सालको मदन पुरस्कार समेत प्राप्त गर्न सफल प्रस्तुत नाटक स्वैरकल्पनाको प्रयोगका दृष्टिले निकै चर्चामा आएको नाट्यकृति पनि हो । वैकुण्ठ (परम्परागत पौराणिक बिम्ब) र एक्सप्रेस (आधुनिक युगको भौतिक साधनविशेष) को मिश्रणबाट शीर्षकमै स्वैरकाल्पनिकता दिइएको प्रस्तुत नाटकको विषयवस्तु आद्यन्त रूपमै स्वैरकल्पनामा आधारित देखिन्छ भने यसका पात्र र परिवेश पनि स्वैरकाल्पनिक नै रहेको पाइन्छ ।
यस लेखमा ‘वैकुण्ठ एक्सप्रेस’ नाटकमा स्वैरकल्पनाको प्रयोग के कस्तो रूपमा भएको छ ? भन्ने कुरालाई अध्ययनको मूल विषय बनाई स्वैरकाल्पनिक घटना, पात्र प्रयोग र परिवेश प्रयोगका दृष्टिले ‘वैकुण्ठ एक्सप्रेस’ नाटकको अध्ययन गरी स्वैरकल्पनाका दृष्टिले उक्त नाटक के कस्तो रहेको छ भन्ने कुराको निरूपण गरिएको छ ।
२. स्वैरकल्पना ः सैद्धान्तिक छलफल
‘स्वैरकल्पना’ यो शब्द ‘स्वैर’ र ‘कल्पना’ यी दुई शब्दको योगबाट बनेको हो । स्वैर शब्द स्वतन्त्रतापूर्वक घुमफिर गर्नु वा काम्नु भन्ने अर्थको ईर भन्ने धातुबाट बन्दछ । स्वस्य ईरम् = स्वैरम् + अच् (आदिवृद्धि) भएर बन्ने यस शब्दको अर्थ हुन्छ स्वच्छन्द, स्वेच्छाचारी, अनियन्त्रित आदि (आप्टे, २००७ ई ÷ बराल, २०६८) । यसै गरी सामथ्र्य अर्थ भएको कृपु धातुबाट कृप् + ल्युट् (अन) + आ भएर बनेको कल्पना शब्दको अर्थ चाहिं रूप दिनु, बनाउनु, बनावट, मानसिक कल्पना, कुनै कुरा संरचना गर्न सक्ने मानसिक वृत्ति वा क्षमता, मिथ्या रचना आदि हुन्छ (आप्टे, २००७ ई.÷बराल २०६८) । यसबाट स्वैरकल्पनाको सोझो अर्थ स्वतन्त्र कल्पनासृजित वा अतिकाल्पनिक भन्ने हुन्छ । स्वैरकल्पनालाई बुझाउने अंग्रेजी शब्द फ्यान्टेसी वा फ्यान्टासी हो । ग्रीक शब्द फ्यानियन (देखाउनु), फ्यान्ताजिन (देखिने बनाउनु) बाट ल्याटिनमा (फान्तासिया) हुँदै अंग्रेजीमा भित्रिएको यस शब्दले कल्पनाको उत्पादन, यथार्थसँगको विच्छेद, दिवास्वप्न, अवास्तविक वा अयथार्थ योजना वा विचार आदि अर्थ बुझाउने गरेको पाइन्छ (कोल्म्यान, २००१) ।
स्वैरकल्पना एकप्रकारको कल्पनाको अतिरूप हो । कल्पनाको सम्बन्ध मनसित हुन्छ त्यसैले कल्पना एउटा मानसिक क्रिया हो । कल्पनाको विलक्षण स्वरूप वा अतिकाल्पनिक स्वरूप नै स्वैरकल्पना हो । यो कल्पनाको एउटा विचित्र ढङ्ग पनि हो । यसले यथार्थ संसारभन्दा परको अलौकिक विषयलाई प्रस्तुत गर्दछ । हिन्दी समालोचक योगेन्द्र शाहीले शरीर र आत्माको एकत्वको विरोधी स्वरूपलाई प्रस्तुत गर्नुलाई स्वैरकल्पना भनेका छन् (शाही, १९७५ ई. ः १२३) । समालोचक मोहनराज शर्माले यसलाई कल्पनाको चरम रूप (शर्मा, २०६५ ः ३१९), माधवप्रसाद पोखरेलले आफ्ना कहिल्यै पूरा हुन नसक्ने इच्छाको पूर्ति र जीवनका सबै बाधाबाट मुक्तिको अनुभव गर्ने माध्यम (पोखरेल, २०४३ ः ६२) का रूपमा स्वैरकल्पनालाई अथ्र्याएका छन् भने जब कल्पना पागलपनको सीमापर्यन्त पुगी विकृत यथार्थलाई घिसार्दै कुद्छ त्यहाँ स्वैरकल्पनाको उदय हुन्छ (सुवेदी, २०६२ ः ११२) भनेर पनि उल्लेख गरिएको छ ।
साहित्यमा स्वैरकल्पनाको प्रयोग गर्ने परम्परा ज्यादै पुरानो हो । युग, समाज, परिस्थितिअनुसार त्यसको शैली, प्रयोगको मात्रा, प्रयोजन वा उपादेयता फरक भए पनि प्राचीन वैदिक साहित्यदेखि नै यसको प्रयोग हुँदै आएको पूर्वीय परम्परा पाइन्छ । वैदिक संहिताहरूमै उषः सू्क्त, पुरुष सूक्त आदिमा सृष्टिक्रमको वर्णन, प्रकृतिको मानवीकृत चित्रण आदिमा स्वैरकल्पनाको प्रयोग पाइन्छ भने पाश्चात्य जगत्मा पनि पौराणिक युगदेखि नै स्वैरकल्पनाको प्रयोग हुँदै आएको देखिन्छ । आधुनिक साहित्यतर्फ भने जोन स्वीफ्टको ‘गुलिभर्स ट्राभल्स’ एउटा प्रसिद्ध स्वैरकाल्पनिक रचना मानिन्छ । यसै गरी चित्रकलाका क्षेत्रमा पछिल्ला युगका पिकासो, डाली जस्ता चित्रकार, साहित्यका क्षेत्रमा ब्रेख्त, बेकेट जस्ता नाटककार, फ्रेन्ज काफ्का जस्ता आख्यानकार स्वैरकल्पनाका राम्रा प्रयोक्ता मानिन्छन् । यसै गरी जर्ज अर्वेलका नाइन्टिन एट्टीफोर, द एनिमल फार्म आदि पनि पाश्चात्य साहित्यमा स्वैरकल्पनाका राम्रा नमुना मानिन्छन् ।
नेपाली साहित्यमा भने माध्यमिक कालीन आख्यानहरूमा स्वैरकल्पनाको प्रयोग अत्यधिक मात्रामा भएको पाइन्छ भने त्यस प्रयोगको उद्देश्य चाहिं मूलतः मनोरञ्जन र गौणतः नैतिक शिक्षा रहेको पाइन्छ । आधुनिक कालको पनि पछिल्लो युगमा आएर केही आधुनिक नेपाली साहित्यस्रष्टाहरूले पुनः स्वैरकल्पनाको प्रयोगको परम्परा थाले । यिनीहरूले भने कोरा मनोरञ्जनका लागि नभएर प्रतीकात्मक ढङ्गले विषयवस्तुलाई घुमाउरो पाराले प्रस्तुत गर्ने एउटा बौद्धिक प्रस्तुति शैलीका रूपमा स्वैरकल्पनालाई ग्रहण गरेको देखिन्छ । यसै परम्पराका अगुवा स्रष्टामध्ये मोहनराज शर्मा एक हुन् ।
साहित्यका क्षेत्रमा नवीन सन्दर्भमा नयाँ शैलीका रूपमा सोद्देश्यपूर्ण ढङ्गले स्वैरकल्पनाको प्रयोगको परम्परा पाश्चात्य जगत्बाटै थालिएको पाइन्छ । खास गरी द्वितीय विश्वयुद्धोत्तर कालमा सृजनाका क्षेत्रमा देखापरेका विभिन्न सिद्धान्त वा वादका अनुयायी स्रष्टाहरूले कथ्यलाई घुमाउरो पाराले प्रकट गर्ने मनसायका साथ स्वैरकल्पनाको प्रयोग थालेका हुन् । यस क्रममा अस्तित्ववादी तथा अभिव्यञ्जनावादी स्रष्टाहरूले स्वैरकल्पनाको सफल प्रयोग गरेका छन् ।
आधुनिक नेपाली नाटकमा बालकृष्ण समले ‘बोक्सी’ (१९९९) एकाङ्कीमा सर्वप्रथम स्वैरकल्पनाको प्रयोग गरेको पाइन्छ । यसपछिका विजय मल्लको ‘पत्थरको कथा’ एकाङ्की जस्ता केही नाट्यकृतिहरू पनि स्वैरकल्पना प्रयोगका राम्रा नमुना मानिन्छन् । यस प्रकार आधुनिक कालको प्रारम्भदेखि नै विभिन्न आख्यानात्मक विधामा फाट्टफुट्ट यसको प्रयोग हुँदै आएको भए पनि स्वैरकल्पनालाई नै प्रस्तुतिको माध्यम बनाएर सृजनामा संलग्न साहित्यकारहरूमा मोहनराज शर्मा एक सशक्त स्रष्टा हुन् । उनका सबै प्रकाशित नाट्यकृतिहरू स्वैरकल्पनामै आधारित छन् । स्वैरकल्पनाका मनोरञ्जन, यथार्थबाट पलायन र भिन्न दृष्टिकोणबाट सत्यको खोजी यी तीन प्रयोजनमध्ये पछिल्लोलाई उत्तर आधुनिक प्रयोजनका रूपमा लिंदै आफू यसै प्रयोजनबाट स्वैरकल्पनाको प्रयोग गर्ने गरेको आत्मस्वीकृति नाटककार शर्माको रहेको छ (शर्मा, २०६३ ः ३८६) ।
३ वैकुण्ठ एक्सप्रेस नाटकको स्वैरकल्पनापरक विश्लेषण
वैकुण्ठ एक्सप्रेस नाटक आद्यन्त रूपमा स्वैरकाल्पनिक छ । यसका कथावस्तु, पात्र प्रयोग र परिवेश रचनामा समेत स्वैरकल्पनाकै सहारा लिइएको छ । यहाँ स्वैरकल्पनाको प्रयोग कोरा मनोरञ्जनका लागि नभई जीवन सत्यलाई उद्घाटन गर्ने खास उद्देश्य वा प्रयोजनका लागि गरिएको भए पनि विषयवस्तुको विचित्रता र भाषा एवम् प्रस्तुतिमा हास्यात्मकताको पर्याप्त प्रयोग भएकाले मनोरञ्जनात्मक र विस्मितियुक्त पनि छ । यस लेखमा प्रस्तुत नाटकमा स्वैरकल्पनाको उपयोग के कसरी गरिएको छ र यसबाट के कस्तो प्रयोजन सिद्ध गर्न खोजिएको छ भन्ने कुराको विश्लेषण गरिएको छ ।
३.१ कथाविधानमा स्वैरकल्पना
वैकुण्ठ एक्स्प्रेस नाटकको कथावस्तु स्वैरकाल्पनिक छ । वैकुण्ठ जस्तो अतिकाल्पनिक वा अलौकिक ठाउँमा पुग्न प्रयोग गरिएको साधन ‘एक्सप्रेस’ (मिनी बस) आफैंमा अतिरञ्जनापूर्ण र अन्तर्विरोधपूर्ण छ । एकातिर जिउँदै पुग्नै नसकिने र मरेपछि पुण्य कर्म गरेको आधारमा केवल आत्मा मात्र पुग्ने विश्वास गरिएको त्यो वैकुण्ठ र अर्कातिर त्यस्तो कल्पनालोक÷अलौकिक ठाउँमा पुग्न प्रयोग गरिएको लौकिक–भौतिक साधन ‘एक्सप्रेस’ यस्ता विपरीततम तŒवका बिचको एकत्व वा सङ्गति एउटा स्वैरकल्पना हो । अतः यस असङ्गतिपूर्ण सङ्गतिले यस नाटकको सम्पूर्ण कथाविधान स्वैरकाल्पनिक बन्न पुगेको छ ।
वैकुण्ठको अर्थ कुनै कुण्ठारहित अर्थात् रोग, शोकादि दुःखबाट मुक्त स्थान भन्ने हुन्छ । यसर्थ वैकुण्ठ सुख–सुविधा र सम्पन्नताको प्रतीक हो । मानिस सधैं त्यही वैकुण्ठ अर्थात् सुख–समृद्धि चाहन्छ । प्रस्तुत नाटकका वैकुण्ठयात्रीहरू यही चाहना पुरा गर्न गन्तव्यमा निस्केका छन् । ‘एक्सप्रेस मिनी बस’ त्यो लक्ष्यसम्म पुग्न अपनाइएको साधन हो । एक्सप्रेस मिनी बसले आजको भौतिक समृद्धिलाई सङ्केत गर्दछ । अर्थात् आजको मान्छे भौतिक तथा यान्त्रिक समृद्धिको माध्यमबाट आन्तरिक÷आत्मिक सुखको खोजीमा भौंतारिएको छ जुन आफैंमा असङ्गत छ । त्यो असङ्गतिपूर्ण भएकैले मान्छेले चाहेको त्यो स्वर्गीय सुख भौतिक समृद्धिको माध्यमबाट प्राप्त गर्न सकिन्न भन्ने अभिप्राय यस स्वैरकाल्पनिक विषयसन्दर्भले बताउँछ ।
वैकुण्ठ एक्सप्रेस नाटकमा चालकसहित सत्र जना यात्री बोकेको मिनी बस पृथ्वीलोकबाट वैकुण्ठलोकको यात्राका लागि अघि बढ्छ । यथार्थ संसार धरतीबाट काल्पनिक संसार वैकुण्ठको यो विस्मयकारी यात्रा आफैंमा अनौठो र विचित्रको यात्रा हो । यो अनौठोपन वा विचित्रता आफैंमा एउटा स्वैरकल्पना हो जसले धरतीवासीको सुख वा विलासवैभव प्राप्त गर्ने आकांक्षालाई प्रतिबिम्बन गर्दछ । नाटकका आएका पात्र, तिनका क्रियाकलाप, तिनीहरूका आनीबानी, चरित्र र त्यहाँ आएका विस्मयजनक ठाउँका अनेक विचित्र कुराहरूबाट आजको जीवनको त्रासद स्थितिबारे क्रमशः खुलासा हुँदै जान्छ ।
मिनी बस वैकुण्ठयात्राका क्रममा अनेकौं विचित्र प्रकारका बिसौनी र ठाउँहरू पार गर्दै अघि बढ्छ । ती बिसौनीहरूले क्रमशः पात्रहरूका चारित्रिक वैशिष्ट्यहरूको पनि खुलासा गर्दै जान्छ । यात्राका क्रममा आउने पहिलो बिसौनी गौँडा खानतलासी हो । यस विचित्र प्रकारको खानतलासी केन्द्रमा यात्रुहरूको विचित्र ढङ्गले खानतलासी लिइन्छ । खानतलासी मौखिक रूपले लिइन्छ । जाँचकी कुनै व्यक्ति नभएर आवाज मात्र छ र उसको जाँचपास गर्ने ढङ्ग पनि विचित्रकै छ । एउटा विदेशी पात्र डेभिडको खानतलासीको यो प्रसङ्ग हेरौं ः
डेभिड — डबलरोटी छ, हटडग छ, पुछ्नको निम्ति ट्वायलेट पेपर छ, र ...
आवाज — हटडग खतरनाक सामान हो, त्यो सीज गरिन्छ ।
डेभिड — हटडग खाने चिज हो, खटरनाक हुन्न ।
आवाज — हट इज एभर डेन्जरस मिस्टर डेभिड ! नाउ मुभ फ्रम देयर ! (शर्मा, २०४२ ः २८)
गौंडा खानतलासीमा आवाजबाट गरिएको खानतलासी एक प्रकारले उट्पट्याङ खालको छ । त्यहाँ जफत गर्नु पर्ने बन्दुक जस्तो सामानबारे तलासी लिनेले सुइँकै पाउँदैन तर सातु, हटडग, गुलाफका चक्की, स्यानेटरी टावेल, एक मुठी सास, मन जस्ता कुरा भने जफत गर्छु भन्छ । एलबम शब्दमा ‘बम’ भएकाले त्यो खतरनाकको परिभाषाभित्र पर्नु तर तास र लङ्गुरबुर्जा जस्ता समाजभाँडा वस्तु चाहिँ खतरनाक नहुनु खानतलासीकर्ताको उट्पट्याङ व्यवहार हो । यस प्रसङ्गमा आवाजबाट खानतलासी गर्नु, सास, मन जस्ता कुरा जफत गर्नु जस्ता कुरा अयथार्थ÷अवास्तविक छन् । यसबाट वर्तमान नेपालको भन्सार जाँचपासको विसङ्गतिलाई उदाङ्गो पारिएको छ भने मन जफत गर्ने विषयले आजको मान्छेमा हृदयहीनतामाथि कटाक्ष गरेको छ । यस प्रकार यहाँ अवास्तविक कुराबाट वस्तुसत्यलाई उद्घाटन गरिएकाले यो विषय स्वैरकाल्पनिक छ ।
खानतलासीकै क्रममा पात्रहरूलाई उनीहरूको वैकुण्ठयात्राको उद्देश्यबारे पनि सोधिन्छ, साथसाथै पात्रहरूका आपसी कुराकानीबाट पनि उनीहरूको वैकुण्ठयात्राको उद्देश्य स्पष्ट हुन्छ । पात्रहरूबाट खुलासा भएको यससम्बन्धी विषय पनि उट्पट्याङ छ । पात्रहरू कोही ब्रह्माको केश प्रशाधन गर्न, कोही दाँतको उपचार गर्न, कोही वैकुण्ठमा फेसनको क्रान्ति ल्याउन, कोही फ्लोरिङ र फर्निसिङको काम गर्न, कोही देवताहरूको मनोरञ्जनका लागि सर्कस खोल्न, कोही ‘लर्ड क्रिस्नाको अन्टर्वार्टा लिन’ वैकुण्ठयात्रामा निस्केका देखिन्छन् । यी विषय उट्पट्याङ मात्र छैनन्, असम्भव पनि छन् । स्वर्गमा पुगेर यस्ता क्रियाकलाप गर्नु असम्भव कुरा हो । यस्ता असम्भव कुरालाई सम्भव बनाएर मानिसको समृद्ध र सुखी बन्ने चाहनालाई देखाइको हुँदा यो विषय पनि स्वैरकाल्पनिक छ ।
गौंडा खानतलासीपछि मिनी बस निद्रानगरीमा पुग्दछ । निन्द्रानगरीमा रहेको वृत्तभित्र पस्नासाथ मान्छे ठाडै निदाउँछ । आजको मानिसको अकर्मण्यता र देखेको नदेख्यै गर्ने प्रवृत्तिमाथि कटाक्ष गर्न आएको यस प्रसङ्गमा मानिस उभिएको उभियै निदाउनु र निदाउँदा पनि क्रियाशील रहिरहने कुरा असम्भव विषय हो । यस्तो असम्भाव्यता स्वैरकाल्पनिक छ र यहाँ खास प्रयोजनका लागि स्वैरकल्पनाको प्रयोग भएको छ । यस प्रसङ्गले कुन पात्र कस्तो आन्तरिक स्वभाव र मनोवृत्ति भएको व्यक्ति हो भन्ने कुरालाई पनि खुलस्त पारेको छ । यसै गरी अन्धो गुफाले पनि पात्रहरूका चरित्र, तिनका भोगाइ विवशता आदिका साथै नेपालको तत्कालीन प्रशासनिक, राजनीतिक र सामाजिक क्षेत्रका विविध बेथितिलाई समेत छर्लङ्ङ पारेको छ । यस प्रसङ्गमा मन जस्तो अमूर्त कुरालाई बाघ जस्तो मूर्त बनाएर प्रस्तुत गर्ने कुरो स्वैरकाल्पनिक छ र मानिस वनको बाघबाट भन्दा मनको बाघबाट बढी तर्सन्छ भन्ने कुरालाई यस प्रसङ्गले देखाएको छ ।
अन्धो गुफाको यात्रापछि पात्रहरूका विविध कुराकानीका साथ मिनी बस कल्पनालोकमा पुग्दछ । कल्पनालोक पुगेपछि सबै पात्रहरू आआफ्नै कल्पनामा रमाउन थाल्दछन् । यसरी कल्पनामा हराउने क्रममा पात्रहरूका गतिविधिले तिनीहरूका स्वभाव, चरित्र र परिस्थितिबारे थप खुलासा गरेको छ । यस प्रसङ्गमा पात्रहरूमा सुन्दर, सुखी र समृद्ध भविष्यको सपना रहेको देखिन्छ तर परिस्थिति भने दिनानुदिन जटिल बन्दै त्रासद स्थितितिर उन्मुख हुँदै गइरहेको सङ्केत पाइन्छ । विशेष गरी यस प्रसङ्गमा विज्ञानले गरेको चरम उन्नति र त्यसले निम्त्याएको भयावह र त्रासद भविष्यको अन्तर्विरोधपूर्ण अवस्थाको सङ्केत प्राप्त हुन्छ ।
वैज्ञानिक उन्नतिको एउटा प्रसङ्ग हेरौं ः
खुसीराम — ....अरे ओ टाइवाले भाइ, त्यहाँ के हुन्दैछ ? मान्छीको प्राण बेचिन्दै छ अरे ! मरेको मान्छीले त्यो प्राण लगाइलियो भने फेरि जिन्दा भइहाल्छ अरे ! .... मो पनि औटा प्राण किन्छ ! ....अरे ओ प्राण बेचनेवाले भाइ, औटा प्राण मलाई पनि देऊ ! ... (शर्मा, २०४२ ः ७६)
चरम वैज्ञानिक उन्नतिको परिणामस्वरूप प्राण जस्तो कुरा पनि किन्न पाइने र पुनर्जीवन पाउन सकिने यो सुखद भविष्यको सङ्केत एकातिर छ भने अर्कातिर त्यही वैज्ञानिक उन्नतिले ल्याएको भयावह अवस्था पनि यसै कल्पनालोकको यात्राका सन्दर्भमा देखा पर्दछ । त्यसका केही नमुना यस प्रकार छन् ः
शिशिर — म एउटा भयङ्कर चिहानमा जन्मिदै छु ! चारैतिर बम खस्दैछन्, बम !
वसन्त — म पनि त्यही भयङ्कर चिहानमा जन्मिदै छु । बमको विषालु ग्याँस मेरो रगतमा दगुर्न थालेको छ ! (शर्मा, २०४२ ः ७३)
मानिस कमजोर बन्दै गएको अवस्थाले मानव भविष्यको दुरन्त स्थितिको कल्पना गरिएको एउटा प्रसङ्ग यस्तो छ ः
समशेर — .... क्या अचम्म, जङ्गली जनावर झैं मानिसको पनि आरक्षण केन्द्र खुलिसकेछ ! .... मानव प्रजातिको प्राणी हाल संसारमा लोप भइरहेको हुँदा यसलाई नोक्सान पु¥याउन अथवा यसको सिकार खेल्न सख्त मनाही छ । .... ल यी बाघ, भालु, हात्ती गैंडाहरू सुटेडबुटेड भएर .... यिनीहरू त आरक्षण केन्द्रका गुफागुफामा सुरक्षित राखिएका मानिसलाई हेर्न र रमाइलो गर्न पो आएका रहेछन् ! ....त्यो बाघको डमरुले मानिसलाई के दिएको ? ए, त्यसले त मानिसलाई बिस्कुट खान दिँदैछ । ओहो, गुफाको त्यस मानिसले त बिस्कुट चपाउन सकेन ! ... ज्या, मानिस कति कमजोर भएछ ! .... (शर्मा, २०४२ ः ७५)
उपर्युक्त स्वैरकाल्पनिक प्रसङ्गबाट मानिसमा मानवता अत्यन्त कमजोर भएको र बरु पशुमा चाहिँ मानवता देखिएको कुरातर्फ सङ्केत गरिएको छ । यस प्रसङ्गमा मानव कमजोर भएर प्रदर्शनीको वस्तु बन्न पुगेको कुराले मानवमा मानवता हराएर पाशविकता बढ्दै गएको कुराको सङ्केत दिन्छ ।
कल्पनालोकपछिको वैकुण्ठ एक्सप्रेस मिनी बसको गन्तव्य लीलानगरी हो । नाटकका पात्रहरू समूह समूह भएर अनेक लीला प्रस्तुत गर्ने लीलानगरीमा पनि मानिसका आन्तरिक चरित्रका साथै जीवन जगत्का विभिन्न विसङ्गति प्रस्तुत भएका छन् । लीलानगरीमा सत्यवान् सावित्री र अलिबाबा चालिस चोरको मिथकीय प्रसङ्ग र वर्तमान राजनीतिको झलक प्रस्तुत गर्ने राजनीतिक लीला प्रस्तुत भएका छन् । अघिल्ला दुई मिथकको नाटकीय प्रस्तुतिमा समाजमा रहेका परम्परागत विश्वासमाथि व्यङ्ग्य गरिएको छ । यहाँ चिराकको दैत्यले अराएको केही काम पनि गर्न नसक्नुले हाम्रा परम्परागत विश्वास र मान्यताहरू थोत्रिएर बिकम्मा भएको कुरालाई साङ्केतिक रूपले प्रस्तुत गरेको छ । पछिल्लो राजनीतिक लीलाले वर्तमान नेतृत्वको भ्रष्ट, स्वार्थी र जनपीडक चरित्रको पोल खोलेको छ । लीलानगरीभित्र प्रवेश गर्नासाथ पात्रहरू अचेत भएर विभिन्न लीलामा समावेश हुने अनौठो र रहस्यमय यो प्रसङ्ग पनि स्वैरकाल्पनिक छ र यसले समाजका परम्परागत विश्वास र वर्तमान राजनीतिक पद्धतिप्रति कटाक्ष गरेको छ ।
यस प्रसङ्गपछि पङ्क युवकको आतङ्वादी क्रियाकलाप प्रस्तुत छ । वर्तमान समयमा मानिस विभिन्न कामका लागि विदेश र विशेषतः खाडी मुलुकमा लगिने गरिएको कुराको झलक प्रस्तुत गर्ने यस प्रसङ्गमा पङ्क युवकले अपहरणकारीको शैलीमा बन्दुक देखाएर आतङ्क मच्चाउँछ तर प्रेमले चलाकीपूर्ण ढङ्गबाट त्यसलाई ठेगान लगाएपछि पुनः यात्रा अघि बढ्दछ । यात्राको अन्तिम बिसौनी पशुपुर हो । पशुपुरको रहस्यमय यात्रामा पात्रहरू सबै पशु बन्न पुग्दछन् र अन्ततः वैकुण्ठसम्मको यात्रामा अघि बढेको वैकुण्ठ एक्सप्रेस मिनी बस स्वयम् यात्रुहरूबाटै ध्वंश हुन्छ र वैकुण्ठयात्रा पशुपुरबाटै अन्त हुन्छ । यात्रुहरू कोही स्याल, कोही बाघ, कोही बिरालो, कोही कुकुर, कोही साँढे, कोही कुखुरो, कोही ढुकुर बन्न पुगी सबै पशु बन्दछन् अनि झगडा गर्दै मिनी बसलाई भत्काउँछन् र पुरै पशुराज्य स्थापित भएको अवस्थामा नाटक समाप्त हुन्छ । मानिसमा क्रमशः पाशविकता बलवान् हुँदै गएको हुँदा जति प्रयास गरे पनि मानिसको वैकुण्ठ पुग्ने लालसा मानिसको यही पाशविकताका कारणबाटै पुरा हुन सक्दैन भन्ने कुरालाई साङ्केतिक रूपले प्रस्तुत गर्न पशुपुरको परिस्थितिलाई प्रस्तुत गरिएको छ । मानिस पशु बन्नु अवास्तविकता हो । यस्तो अवास्तविकताको प्रस्तुतिबाट नाटकको कथ्य विषयलाई प्रस्तुत गरिएको यो प्रसङ्ग स्वैरकाल्पनिक छ ।
उपर्युक्त प्रसङ्ग बाहेक विभिन्न पात्रहरूका आपसी सम्बन्ध र तिनका क्रियाकलाप पनि स्वैरकाल्पनिक देखिन्छन् । यहाँ प्रत्येक चरित्रको वैकुण्ठयात्राको उद्देश्य नै स्वैरकाल्पनिक छ । कुनै पात्र सृष्टिकर्ता ब्रह्मा बुढा भैसके भनेर उनको केशविन्यास गरेर तरुनो बनाउन, कोही लक्ष्मीको पाइरियाको उपचार गर्न, कोही स्वर्गमा पब्लिसिटीको जग राख्न, कोही अप्सराहरूलाई पप डान्स सिकाउन, कोही स्वर्गवासीको मनोरञ्जनका लागि क्यासिनो र कोही सर्कस खोल्न, कोही कृष्णसँग अन्तर्वार्ता लिन वैकुण्ठ जान लागेका छन् । यी सबै पात्र जुनजुन उद्देश्यले वैकुण्ठयात्रामा निस्केका छन् ती सबै सम्भाव्यताका सीमाभन्दा बाहिर छन् । यसरी सम्भाव्यताको सीमा नाघेर विचित्र र असम्भव उद्देश्य राखिएकाले यी सबै कुरा स्वैरकाल्पनिक देखिन्छन् । यी स्वैरकाल्पनिक सन्दर्भहरूले सृष्टिकर्तालाई स्वस्थ बनाएर त्यसबाट स्वस्थ, सुन्दर र उन्नत जीवको सृजना गराउने आकाङ्क्षा राखेको बुझिन्छ । अतः यहाँ स्वैरकल्पनाको यो प्रयोग उद्देश्यमूलक रहेको देखिन्छ ।
यी बाहेक नाटकका प्रमुख पात्र प्रेम र प्रियाका कुराकानीका सन्दर्भमा आएका विभिन्न प्रसङ्गहरू पनि स्वैरकाल्पनिक छन् । दुधैदुधको ताल क्षीरसागरमा बोटिङ गर्ने कुरा, अप्सराहरूको क्षीरसागरमा नुहाउने कुरा, वैकुण्ठको शेषनाग स्टिमर चढ्ने कुरा, इन्द्रटोल र ऐरावत नामको कार चढ्ने कुरा, विष्णुको जेट विमान गरुड चढ्ने कुरा, शिवलोकको कैलाश घुम्ने कुरा, नन्दीभृङ्गीसँग मागेर स्वर्गीय ह्यासिस खाने कुरा, शारदाटोल र सरस्वतीसँग भेट र कुराकानीका साथै सरस्वतीको आवाज क्यासेटमा रेकर्ड गर्ने कुरा सबै स्वैरकाल्पनिक हुन् । यी प्रसङ्गहरूले वैकुण्ठ र तत्सम्बन्धी प्रचलित पौराणिक बिम्बहरूको खिल्ली उडाएको छ र त्यस्ता कुराहरू वर्तमान सन्दर्भमा वाहियात र हावादारी कल्पना मात्र भएको सङ्केत गर्दै तिनका माध्यमबाट समकालीन नेपाली समाज, त्यहाँको कानुनी व्यवस्था, भनसुनवादको विगविगी र अन्य सरकारी गतिविधिमाथि चोटिलो कटाक्ष गरिएको छ ।
उपर्युक्त विश्लेषणबाट वैकुण्ठ एक्सप्रेस नाटकको कथावस्तु आद्यन्त रूपमा स्वैरकाल्पनिक रहेको स्पष्ट हुन्छ । प्रस्तुत नाटकमा वैकुण्ठलाई सुखसुविधा र ऐश्वर्यसम्पन्न स्थानका रूपमा लिँदै आजको मानिस त्यही सुखसुविधा र विलास वैभवसम्पन्न जीवनको खोजीमा रहेको कुरा स्वैरकल्पनाका माध्यमबाट प्रस्तुत गरिएको छ भने त्यस वैकुण्ठको खोजीमा भौंतारिएको मानव अन्ततः आफैं पशु बनेर आफ्ना ती सुन्दर आकांक्षालाई आफैं ध्वस्त पार्न उद्यत रहेको छ भन्ने कुरातर्फ सङ्केत गरिएको छ । यसै मूल सन्दर्भसँग सम्बद्ध बनाएर आजको युगको शस्त्रास्त्रको होडबाजी, मानवताविहीनतातर्फ उन्मुख मानव समाजका साथै मुलुकका विविध क्षेत्रमा देखिने असङ्गत पक्षहरूमाथि समेत व्यङ्ग्य गरिएको छ । समग्रमा वैकुण्ठ एक्सप्रेस नाटकमा पाइने स्वैरकाल्पनिक विषय मानवीय कमजोरीमाथि व्यङ्ग्य गर्ने प्रयोजनका लागि प्रयोग गरिएको स्पष्ट हुन्छ ।
३.२ पात्रविधानमा स्वैरकल्पना
वैकुण्ठ एक्सप्रेस बहुपात्र भएको नाटक हो । सत्र जना यात्रु बोकेर हिँडेको वैकुण्ठ एक्सप्रेस मिनी बसमा बाटामा थपिने आवाज र मनको बाघ समेत उन्नाइस पात्र मञ्चीय रूपमा रहेका छन् भने सूच्य रूपमा भने ब्रह्मा, लक्ष्मी, इन्द्र, ऐरावत, गरुड आदि पुराणप्रसिद्ध पात्रका साथै प्रेमा, उसको विद्रूप लोग्ने, प्रियाकी आमा र उसलाई बलात्कार गर्ने पुरुषहरू आदि थुप्रै पात्रहरू रहेका छन् ।
यी पात्रहरूमध्ये प्रेम र प्रियासँग सम्बद्ध कथा लामो र मुख्य रहेकाले यिनलाई प्रमुख चरित्र मान्न सकिने भए पनि सबै पात्रहरूको उद्देश्य वैकुण्ठ पुग्ने र त्यहाँ आआफ्ना लक्ष्य अनुसारका कार्य गर्ने नै रहेकाले मूल कथाका आधारमा भने यसलाई बहुनायकीय नाटक पनि भन्न सकिन्छ । यी सबै पात्रहरू समाजका विभिन्न पक्षबाट टिपिएका छन् । प्रेम र प्रिया नाम अनुसारकै प्रणयी युवायुवती हुन् भने चालक वैकुण्ठ एक्सप्रेस मिनी बसको सञ्चालक र अगाडिका गतिविधिको सूचना दिने व्यक्ति पनि भएकाले नाटकको सूत्रधार पनि हो । अन्य पात्रमा जीएम र पीए विज्ञापन व्यवसायी, डेभिड पत्रकार र अन्तर्वार्ताकार, चेमजोङ फ्लोरिङ–फर्निसिङ व्यवसायी, डकारमान उद्यमी, बाबुकाजी टेलरिङ व्यवसायी, मकै सिंह पङ्कर्स क्लबको प्रेसिडेन्ट, सेरचन र समसेर पप डान्सर, खुसीराम सर्कसवाला, शिशिर र वसन्त क्यासिनो व्यवसायी र हिप्पी युवक र युवती आतङ्ककारी किडन्यापर खलपात्र हुन् । आवाज यात्रुको चेकजाँच गर्ने जाँचकी हो भने मनको बाघ चाहिँ सबै पात्रका मनस्थितिको एकीकृत र मूर्त रूप हो । सतही रूपमा हेर्दा आवाज र मनको बाघबाहेक सबै मञ्चीय पात्रहरू यथार्थ नै छन् तर तिनका उद्देश्य र यात्राका विभिन्न बिसौनी र परिवेशमा तिनले प्रस्तुत गरेका क्रियाकलाप आदि भने स्वैरकाल्पनिक र उट्पट्याङ छन् ।
सूच्य रूपमा आएका पौराणिक पात्रहरू स्वैरकाल्पनिक छन् । पौराणिक ग्रन्थहरूमा वर्णित ब्रह्मा, विष्णु, लक्ष्मी, इन्द्र, नन्दीभृङ्गी, ऐरावत, गरुड, वासुकी नाग आदि अतिकाल्पनिक पात्रहरूलाई प्रस्तुत गर्दै त्यस्ता अतिकाल्पनिक तŒवहरूप्रतिको विश्वासको खिल्ली उडाइएको छ । जीवनजगत्को सृष्टि, स्थिति र संहारका समन्वित शक्तिका रूपमा विश्वास गरिएको त्रिदेवसम्बन्धी समाजको दृष्टिकोणमाथि अविश्वास र अनास्था दर्शाउन यो स्वैरकाल्पनिक प्रसङ्ग उपस्थित गरिएको देखिन्छ । ईश्वरबाट होइन मानवबाटै यो जगत्को पालन र संहार हुने कुरातर्फ प्रस्तुत सन्दर्भले सङ्केत गरेको छ । परम्पराले मानील्याएका ती अदृश्य तŒवहरू अब शक्तिहीन र बेकम्मा भइसकेका छन् भन्ने कुराको सङ्केत तलका प्रसङ्गमा पनि पाउन सकिन्छ ः
प्रिया — फुलेर सेतै भएका चारै मुखका दारीजुँगा डाइ गरेर कालो पार्नु प¥यो अरे ? (शर्मा, २०४२ ः ८१)
+++ +++ +++
प्रिया — ... अब बुढाको योजना के रहेछ भने पहिला आफ्नो रूपविन्यास राम्रो गराउने, अनि राम्रो मनचित्तले धरतीका निम्ति राम्राराम्रा नरनारीको सृष्टि गर्ने ! (शर्मा, २०४२ ः ८२)
+++ +++ +++
प्रेम — प्रिया, वैकुण्ठ एक्सप्रेस बोर्डले मेरो छनोट भगवती लक्ष्मीको उपचारका लागि गरेको हो !
प्रिया — (जिल्ल पर्दै) लक्ष्मीको उपचार अरे ? के उपचार ?
प्रेम — (समवेदनाका स्वरमा) जगत्कै कल्याण गर्ने बिचरी लक्ष्मी अहिले आफैं अकल्याणको भुमरीमा परेकी रहिछिन् । (शर्मा, २०४२ ः ८५)
+++ +++ +++
प्रिया — (नाक खुम्च्याउँदै) के भएछ त्यस्तो ?
प्रेम — पाइरिया प्रिया, जसलाई वैकुण्ठवासीहरू देवभाषामा दन्तहर्षा भन्छन् । (शर्मा, २०४२ ः ८६)
+++ +++ +++
प्रेम — मुखबाट पाइरियाको असह्य दुर्गन्ध निस्क्यो भनेर विष्णुले उनका छेउछाउ ढिम्किनै छाडे अरे ! अचेल उनी हाम्रा नव पूँजीपति झैं कहिले कुन अप्सराकहाँ र कहिले कुन अप्सराकहाँ रात बिताउन थालेका छन् रे ? (शर्मा, २०४२ ः ८६)
यी उट्पट्याङ संवादबाट मानिसले शक्तिशाली मानिल्याएका देवदेवी आफैं शक्तिहीन बनेर मानवको सहारा लिन बाध्य भएको स्थितिलाई देखाइएको छ । यी संवादहरूले हामीले मानिल्याएका देवदेवीहरूको दुर्दशाको चित्रण गरेर हाम्रा परम्परित दैवी शक्तिप्रतिको विश्वासलाई उल्लीबिल्ली पारेका छन् । यसबाट त्यस्ता अदृश्य एवम् काल्पनिक शक्तिबाट केही हुन सक्दैन, मानव आफैं सबै कुरा हो र उसले आफ्नो कल्याण अकल्याण जे गर्नु पर्ने हो आफैं गर्नु पर्छ भन्ने सन्देश यस स्वैरकाल्पनिक सन्दर्भले दिएको छ । यसै गरी चिराखको दैत्यको प्रसङ्गले पनि यही कुरातर्फ सङ्केत गरेको छ ।
नाटकभित्र आएका आवाज र मनको बाघ पनि स्वैरकाल्पनिक छन् । आवाजले नेपाली भन्सारमा चेकजाँच गर्दा हुने असङ्गतिलाई देखाएको छ । आवाजका खतरनाक सामानसम्बन्धी परिभाषा हाँसउठ्दा र उट्पट्याङ छन् । डेभिडले बाटामा खान बोकेको सातु, लाइसेन्स नभएकाले डकारमानको गुलेली, खुसीरामको एक मुठी सातु, समसेरको एक मुठी सास जफत गर्छु भन्छ तर हिप्पीले गिटारको पछाडि जडेको बन्दुकको भने खानतलासीकर्ता आवाजले सुइँकै पाउँदैन । यसबाट नेपालका भन्सारमा हुने तस्करी र लापरवाही उदाङ्गो भएको छ ।
मनको बाघ पात्रहरूको मनःस्थिति र चरित्रलाई खुलस्त पार्न आएको स्वैरकाल्पनिक पात्र हो । मनको बाघ सबै पात्रका अमूर्त मनोदशाको एकीकृत मूर्त प्रस्तुति हो । अतः उसले प्रत्येक पात्रसँग प्रत्यक्ष संवाद गरेर तिनका आन्तरिक चरित्र, पीरमर्का र मनःस्थितिलाई उदाङ्गो पारेको छ । मनको बाघको प्रसङ्गले नेपालका विभिन्न सरकारी–गैरसरकारी कार्यालयमा हुने बेथिति, पारिवारिक जीवनमा आएका बेमेल परिस्थिति, व्यवसायीमाथि हुने दादागिरी जस्ता विभिन्न कुराको पोल पनि खोलिदिएको छ । यस प्रकार जीवनको कटु यथार्थलाई देखाउँदै त्यसमाथि व्यङ्ग्य गर्ने प्रयोजनका लागि प्रस्तुत स्वैरकाल्पनिक पात्रलाई ल्याइएको देखिन्छ । गिटारमा बन्दुक लुकाएर बाटामा आतङ्क मच्चाउँदै सबै पात्रलाई अपहरण गर्न उद्यत हिप्पी युवक र युवतीको क्रियाकलाप वर्तमान युगको आतङ्कवादी गतिविधिको एउटा नमुना हो भने यो प्रसङ्ग नेपालीहरू खाडी र अन्य मुलुकमा कामदारका रूपमा बेचिने गरेको तथ्यको जिउँदो जाग्दो प्रस्तुति पनि हो । त्यसमाथि प्रेमले चातुर्यपूर्ण ढङ्गले प्राप्त गरेको विजयको प्रस्तुतिबाट यस्ता आतङ्कवादी गतिविधिलाई शक्तिले होइन बुद्धिले मात्र नियन्त्रण गर्न सकिन्छ भन्ने सन्देश पनि प्रस्तुत भएको छ ।
यसपछि बाँकी वैकुण्ठयात्रा कल्पनालोक, लीलानगरी हुँदै पशुपुरमा पुगेर समाप्त हुन्छ । वैकुण्ठ पुगेर आआफ्ना सपना पुरा गर्ने कल्पनामा मग्न सबै वैकुण्ठयात्री अन्ततः पशुपुरको त्रासद परिवेशमा पुग्दछन् । यहाँ पुग्दा सबै पशुवत् बन्न पुगी आपसमा झगडा गर्दै आफ्नो वैकुण्ठयात्रको एक मात्र माध्यम वैकुण्ठ एक्सप्रेस मिनी बसलाई भताभुङ्ङ पारिदिन्छन् । यसरी वैकुण्ठयात्रीहरू आफैंले आफ्नो स्वप्नलोकको यात्रा समाप्त पार्दछन् । यस घटनामा मानिस पशुमा रूपान्तर हुनु असम्भव कुरा भएकाले यो स्वैरकल्पना हो । यसका माध्यमबाट मानव क्रमशः पाशविकतातिर उन्मुख हुँदै गएको र यसै कारणबाट मानवले आफैं आफ्नो दुर्नियति निम्त्याउँदै गरेको सङ्केत प्रस्तुत गरिएको छ । भविष्यमा मानिस जुन दुरन्त र त्रासद परिणतिमा पुग्दैछ, त्यसको जिम्मेवार पनि मानव स्वयम् नै हो भन्ने निष्कर्ष नाटकको यस दुःखान्त परिणतिले प्रस्तुत गरेको छ । यसै कुरालाई प्रस्तुत गर्न पात्रहरूको यो क्रियाकलाप प्रस्तुत गरिएकाले यहाँ स्वैरकल्पनाको प्रयोग सार्थक र सोद्देश्य बन्न पुगेको देखिन्छ ।
उपर्युक्त विश्लेषणबाट प्रस्तुत नाटकमा विभिन्न पात्रहरूका उट्पट्याङ क्रियाकलाप र संवादका माध्यमबाट जीवनका महŒवपूर्ण र शाश्वत् कुराको उद्घाटन गरिएको देखिन्छ । यसमा उट्पट्याङ संवाद र स्वैरकाल्पनिक क्रियाकलाप प्रस्तुत गर्ने यथार्थ पात्रसँगै आएका स्वैरकाल्पनिक पात्र र तिनका संवादबाट जीवनको यथार्थ वस्तुस्थिति प्रस्तुत भएको छ । साथसाथै यी कुराहरूबाट मानव जाति र उसको यो सुन्दर संसार मानवकै गलत क्रियाकलापका कारण दुर्घटित हुन लागेको सन्देश पनि प्रस्तुत भएको छ । यसबाट प्रस्तुत नाटकमा ल्याइएका स्वैरकाल्पनिक पात्र र तिनका क्रियाकलापहरू उद्देश्यमूलक रहेको स्पष्ट हुन्छ ।
३.३ परिवेश रचनामा स्वैरकल्पना
वैकुण्ठ एक्सप्रेस नाटकमा परिवेश रचनाको अहम् भूमिका रहेको देखिन्छ । नाटकको कथावस्तु र पात्रहरूमाथि परिवेशको पुरै नियन्त्रण रहेको देखाइएकाले प्रस्तुत नाटक परिवेशप्रधान बन्न पुगेको छ । नाटकभित्र प्रस्तुत वैकुण्ठ एक्सप्रेस मिनी बसदेखि लिएर गौंडा खानतलासी, निद्रानगर, अन्धो गुफा, कल्पनालोक, लीलानगरी र पशुपुर सबै नाटकभित्रका परिवेशका रूपमा आएका छन् । यात्राको साधनदेखि लिएर यी सबै स्थान र परिवेश स्वैरकाल्पनिक छन् ।
वैकुण्ठ एक्सप्रेस मिनी बसभित्र पनि एउटा परिवेश छ । बसभित्र चालकसहित सत्र व्यक्तिहरू छन् । ती सबैको गन्तव्य एउटै भए पनि तिनका उद्देश्य फरकफरक छन् र ती सबै स्वैरकाल्पनिक छन् । वैकुण्ठ उनीहरूको गन्तव्य हो र त्यो आफैंमा एउटा स्वैरकल्पना हो । स्वैरकाल्पनिक गन्तव्यमा पुग्ने यात्रुहरूको साधन र उद्देश्य पनि स्वैरकाल्पनिक छ । मिनी बसभित्र र बाहिरको परिवेश सबै स्वैरकाल्पनिक छ । यात्रुहरूको स्थिति, तिनका हाउभाउ, कुराकानी सबै उट्पट्याङ र स्वैरकाल्पनिक छन् । मिनी बसको गति र स्थितिमै पात्रहरूको पनि गति र स्थिति भर पर्ने भएकाले पात्र त्यही बसको परिवेशबाट नियन्त्रित देखिन्छन् । सतहबाट हेर्दा चालक बसको नियन्त्रक भए पनि उसले माथि उल्लेख गरिएका विभिन्न बसबिसौनी र परिवेशहरूलाई तर्काएर अघि बढाउन सक्दैन । यसबाट चालक स्वयम् पति बसकै नियतिसँग बाँधिन विवश देखिन्छ । यस स्थितिले नाटकमा मिनी बसको परिवेशको पुरै प्रभाव र नियन्त्रण सबै पात्रमा रहेको स्पष्ट हुन्छ ।
प्रारम्भबाट विभिन्न बिसौनी हुँदै सुचारु भएको मिनी बसले अब यात्रालाई वैकुण्ठ पु¥याउलापु¥याउला भन्ने बेलामा पशुपुरको परिवेशबाट यात्रुहरू भड्किएर सबै मिली यात्राको एक मात्र साधन मिनी बसलाई गन्तव्यमा नपुग्दै भत्काइदिँदा वैकुण्ठयात्रा अवरुद्ध बन्न पुगेको छ । यस अवस्थाले सबै वैकुण्ठयात्रीको यात्राको नियति उक्त मिनी बसकै नियतिसँग गाँसिएको देखिँदा पनि मिनी बसको परिवेशको नियन्त्रणभन्दा बाहिर वैकुण्ठयात्रीहरू छैनन् भन्ने स्पष्ट हुन्छ ।
नाटकमा आएका अन्य बिसौनी र विभिन्न परिवेशहरूले पनि नाटकको कथानक र पात्रका गतिविधिलाई पुरै नियन्त्रित गरेको देखिन्छ । गौंडा खानतलासीमा लिइएको जाँचपासमा पात्रहरू तलासी केन्द्रको नियन्त्रणमा रहेका छन् । तलासीकर्ता आवाजको खतरनाक सामानबारेको आफ्नै परिभाषा छ जुन गलत भए पनि र तलासी दिने व्यक्तिले प्रतिवाद गरे पनि उनीहरूको कतै सुनवाइ भएको छैन । आवाजले जे भन्छ त्यही नै ब्रह्मवाक्य झैं अकाट्य हुन्छ । उसले जे जति ज्यादती गरेको भए पनि त्यो न्यायिक र कानुनसम्मत नै मानिएको देखिन्छ । त्यहाँ यात्रुका कुनै स्पष्टीकरण वा आग्रहको केही जोर चल्दैन । निद्रानगर नाटकको अर्को त्यस्तो परिस्थिति हो जहाँ एउटा वृत्तभित्र पसेको मान्छे ठाडै निस्लोट निदाउँछ । मानिसलाई यहाँको परिवेशले नै त्यसरी ठाडै निदाउन लगाउँछ । निद्रानगरको वृत्तभित्र पसेको मान्छे आफ्नो वशमा नभई त्यहीँको परिवेशको वशीभूत भएको देखिन्छ । मानिसलाई त्यहाँको परिवेशले वृत्तभित्र मात्र निदाउन दिन्छ र वृत्तबाहिर निस्कँदा उसको निद्रा समाप्त भइहाल्छ । यसरी निद्रानगरको परिवेशले पनि वैकुण्ठयात्री पात्रलाई आफ्नो नियन्त्रणमा राखेको देखिन्छ भने अन्धो गुफाको परिवेशले पनि पात्रलाई आफ्ना आन्तरिक र गोप्य कुरा समेत ओकल्न विवश बनाउँछ । त्यहाँ आएको मनको बाघको प्रसङ्गले सबै पात्रका परिस्थिति, चरित्र र आन्तरिक कुराको पोल खोलिदिन्छ । यसै गरी कल्पनालोक र लीलानगरीको परिवेशमा पनि मानिस आफूबाट हराउँदै अनेक विचित्र कल्पनामा डुब्दै हराउन र विभिन्न लीलामा सहमभागी हुन बाध्य देखिन्छ । वैकुण्ठयात्राका क्रममा बाटामा आउने यी यस्ता ठाउँहरू हुन् जहाँबाट तर्केर गुज्रन पनि सम्भव छैन र त्यहाँ पसेपछि त्यस परिवेशको फन्दामा नपरी पनि धर छैन । सबै पात्र यी परिवेशमा पुग्नासाथ स्वतः आफूलाई बिर्सेर अनेक प्रकारका जादुमय कल्पनामा रमाउन थाल्दछन् भने लीलानगरीको परिवेशमा पुग्नासाथ एक न एक लीलामा सहभागी हुन्छन् । यसमा उनीहरूको इच्छा अनिच्छाको कुनै महŒव छैन । कुनै पनि पात्रहरू आत्मस्थ हुन सक्दैनन् । सबै पात्रहरू आफ्नो नियन्त्रणमा मात्र रहन नसकी यात्राका क्रममा आएका प्रत्येक स्थान र त्यहाँको परिवेशमा रङमङिएका छन् । परिवेशले तिनका सबै अन्तर्यहरू उदाङ्गो पारिदिएको छ । यसरी यी विभिन्न अलौकिक र अभौतिक परिवेश स्वैरकाल्पनिक छन् र यिनले पात्रहरूका आन्तरिक स्वभाव, आचरण, तिनले बाँचेको परिवेश, तिनका विवशता आदि कुराको खुलासा पनि गरेका छन् । यसका साथै यी परिवेशबाट मानव जीवनका अनेक असङ्गगत पक्षका साथै समसामयिक नेपाली समाजका अनेक अमिल्दा पक्षहरूलाई उदाङ्गो पार्दै ती पक्षहरूमाथि व्यङ्ग्य पनि गरेका छन् ।
वैकुण्ठ एक्सप्रेस नाटकको अन्तिम र महŒवपूर्ण बिसौनी पशुपुर हो । पशुपुरको परिवेशले सबै पात्रलाई एक न एक पशु वा पन्छीमा मानसिक रूपमा रूपान्तर गरिदिन्छ । पशुपुरको परिवेश नै यस्तो हो जहाँ पुग्नासाथ मान्छे पशु बन्न बाध्य हुन्छ । पशु बनेपछि भने मानिसमा विवेक हराउँछ । सबै पात्रहरू पशुवत् आफ्नो गन्तव्यमा पु¥याउने एकमात्र साधन मिनी बसलाई एकाएक भताभुङ्ङ पार्न पुग्छन् र सुखसुविधापूर्ण मानिएको वैकुण्ठतर्फको यात्रा अन्ततः त्रासदीमा पुगेर विश्रान्त हुन पुग्छ । यसरी पशुपुरको परिवेशले कथानक र पात्रलाई पुरै नियन्त्रण गर्दै नाटकलाई दुःखान्त परिणतिमा पु¥याएको छ । पशुपुरको यो स्वैरकाल्पनिक परिवेश प्रस्तुत नाटकको सबैभन्दा वीभत्स र दुर्दान्त परिवेश हो । यसले एकातिर मानव त्रासदीलाई प्रस्तुत गरेको छ भने अर्कातिर मानवीय दुर्नियति र मानव कमजोरीमाथि कठोर कटाक्ष पनि गरेको छ । मानिसको सुखसुविधा र ऐस आराम प्राप्त गर्ने लालसा उसको आफ्नै कमजोरीका कारणले कहिल्यै पुरा हुन सक्दैन भन्ने कुरालाई यस परिवेशका माध्यमबाट देखाइएको छ ।
उपर्युक्त विश्लेषणबाट वैकुण्ठ एक्सप्रेस नाटकको परिवेश रचना पूर्णतः स्वैरकाल्पनिक रहेको स्पष्ट हुन्छ । त्यस स्वैरकाल्पनिक परिवेशको आद्यन्त प्रभाव नाटकको कथावस्तु तथा पात्रविधानमा समेत रहेको हुँदा प्रस्तुत नाटक परिवेशप्रधान बनेको देखिन्छ । यहाँ स्वैरकाल्पनिक परिवेशको प्रस्तुति र प्रधानताबाट नाटकको कथावस्तुलाई गति प्रदान गर्नुका साथै समसामयिक मानव सम्बन्ध र जीवन जगत्का असङ्गत यथार्थमाथि कटाक्ष पनि गरेको छ ।
४. निष्कर्ष
उपर्युुक्त विश्लेषणबाट वैकुण्ठ एक्सप्रेस नाटक कथाविधान, पात्रविधान र परिवेश रचना यी तिनै दृष्टिबाट आद्यन्त रूपमा स्वैरकाल्पनिक रहेको कुरा स्पष्ट हुन्छ । कथ्यलाई घुमाउरो पाराले प्रस्तुत गर्दै परोक्ष ढङ्गबाट सत्यको उद्घाटन गर्नु यस स्वैरकाल्पनिक प्रस्तुतिको मुख्य प्रयोजन रहेको देखिन्छ । ‘वैकुण्ठ’ र ‘एक्सप्रेस’ यी परस्पर बेमेल र सङ्गतिहीन विषयका बिच सङ्गति स्थापना गर्दै स्वैरकल्पनाका माध्यमबाट प्रस्तुत नाटकमा जीवनको कटु सत्यलाई उद्घाटित गरिएको छ । आत्मिक÷आन्तरिक सुख भन्ने कुरा भौतिक र यान्त्रिक समृद्धिको बाटोबाट प्राप्त हुँदैन तर आजको मान्छे यही बाटोबाट आन्तरिक सुखको खोजीमा हिँडेकाले दुर्घटनामा पर्दैछ भन्ने जीवनसत्यलाई यस नाटकले उदाङ्गो पारेको छ ।
स्वैरकल्पनाका साथै उट्पट्याङ भाषा र संवादका माध्यमबाट प्रस्तुत नाटकमा समाजका विभिन्न क्षेत्रमा रहेका असङ्गत पक्षहरू तथा मानवीय चरित्र र क्रियाकलापमा रहेका बेमेल स्थितिमाथि कटाक्ष गर्नुका साथै हाम्रा परम्परागत मान्यता र विश्वासको खिल्ली पनि उडाइएको छ । आजको मानिस भौतिक तथा यान्त्रिक समृद्धि प्राप्त गरेर भौतिक सुखसुविधा त पाइरहेको छ तर अर्कातिर मानवता, प्रेम, पारस्परिक सद्भाव जस्ता मानवीय गुणलाई बिर्सेर क्रमशः पाशविकतातिर पनि उन्मुख हुँदै जाँदैछ । यसले गर्दा मानिस डरलाग्दो त्रासदीतिर गइरहेको स्थितितर्फ पनि नाटकले सङ्केत गरेको छ ।
माथिको अध्ययनबाट वैकुण्ठ एक्सप्रेस नाटकमा कथ्य विषय, पात्र र तिनको चरित्र रचना, परिवेश प्रस्तुति, भाषा, संवाद आदि सबै पक्षबाट स्वैरकल्पनाको प्रयोग गर्दै मानव जीवनको यथार्थलाई परोक्ष ढङ्गबाट प्रस्तुत गर्ने कला बेजोड रहेको स्पष्ट हुन्छ । दर्शक÷पाठकलाई विचित्र र विस्मयकारी अनुभूति दिँदै नितान्त नयाँ ढङ्गबाट जीवनको कटु सत्य अनुभूत गराउने प्रस्तुत नाटक यस दृष्टिले अत्यन्त सफल र सशक्त रहेको निष्कर्ष प्राप्त हुन्छ ।
सन्दर्भ–ग्रन्थसूची
अधिकारी, इन्द्रविलास. (२०६१). पश्चिमी साहित्यसिद्धान्त. ललितपुर ः साझा प्रकाशन ।
अधिकारी, गंगाप्रसाद. (२०४५). मोहनराज शर्माका नाटक. जुही. पूर्णाङ्क २९ ।
———. (२०४६). “नाटककार मोहनराज शर्माका नाट्यकृतिहरूको विश्लेषण” अप्रकाशित स्नातकोत्तर शोधपत्र. त्रि.वि. नेपाली केन्द्रीय विभाग, कीर्तिपुर ।
———. २०६६. आख्यानकार कपिल लामिछानेका केही आख्यानात्मक कृतिहरूमा स्वैरकल्पना. जुही. पू ६०. कपिल लामिछाने विशेषाङ्क. पृ. ५१९—५२४ ।
अधिकारी, ललितकुमार. (२०६०). “मोहनराज शर्माका हास्यव्यङ्ग्य निबन्धको अध्ययन”. अप्रकाशित स्नातकोत्तर शोधपत्र, त्रि.वि. नेपाली केन्द्रीय विभाग, कीर्तिपुर ।
आप्टे, वामन शिवराम (सन् २००७). संस्कृत हिन्दी कोश. दिल्ली ः मोतीलाल बनारसीदास ।
कोल्म्यान, एन्ड्र्यु एम. (सन् २००१). अक्सफोर्ड डिक्सनरी अफ साइकोलजी. न्युयोर्क ः अक्सफोर्ड युनिभर्सिटी ।
कँडेल, घनश्याम. (२०४३). प्रयोगधर्मी नयाँ नाटक वैकुण्ठ एक्सप्रेस. गरिमा. ४÷१०, पू. ४६ ।
खतिवडा, विश्वराज. (२०४९). “मोहनराज शर्माको कथाकारिता”. अप्रकाशित शोधपत्र. त्रि.वि.नेपाली केन्द्रीय विभाग, कीर्तिपुर ।
पोखरेल, माधवप्रसाद. (२०४३). मोहनराज शर्माका नाटक. मधुपर्क. १९÷११, पू. २१४ ।
बराल, टीकादत्त. (२०६८). तत्सम नेपाली व्युत्पत्ति शब्दकोश. काठमाडौं ः विद्यार्थी पुस्तक भण्डार ।
भट्टराई, गोविन्दप्रसाद. (२०४९). काव्यिक आन्दोलनको परिचय. काठमाडौं ः ने.रा.प्र.प्र. ।
शर्मा, मोहनराज. (२०२६). नेपालीका केही आधुनिक साहित्यकार. भैरहवा ः नेपाली साहित्य घर
———. (२०४०). जेमन्त ः मेरा नजरमा. मधुपर्क. १६÷५ ।
———. (२०४१). जेमन्त÷यमा. काठमाडौं ः ने.रा.प्र.प्र. ।
———. (२०४२). वैकुण्ठ एक्सप्रेस. काठमाडौ ः वाणी प्रकाशन ।
———. (२०४८). शैलीविज्ञान. काठमाडौं ः ने.रा.प्र.प्र. ।
———. (२०५५). समकालीन समालोचना ः सिद्धान्त र प्रयोग. काठमाडौं ः ने.रा.प्र.प्र. ।
———. (२०६१). उताको बाघ. काठमाडौ ः जगदम्बा प्रकाशन ।
———. (२०६३). समकालीन समालोचना ः सिद्धान्त र प्रयोग. दो.संस्क. काठमाडौं ः अक्सफोड इन्टरनेसनल
पब्लिकेसन
———. (२०६५). कल्पना, स्वैरकल्पना र स्वर्गमा कविगोष्ठी. जुही. पू. ५७. ।
सुवेदी, मधुकर. (२०६२). विश्व शाक्यको श्री पशुमहापुराणमा हास्यव्यङ्ग्य र स्वैरकल्पनाको प्रयोग ः छोटो चर्चा. जुही. पू. ५४ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 27 श्रावण, 2074

लेखकका अन्य रचनाहरु