जनकप्रसाद हुमागाईंलाई सम्झदा

- चूडा मणि रेग्मी

१.) साहित्यिक पत्रकार हुमागाईँ
२००७ सालपछि निस्किएका साहित्यिक पत्रिकामा ‘साहित्य’ र ‘स्वास्नीमान्छे’ को विशिष्ट योगदान छ । यी पत्रिकाका कार्य नजिकबाट देखेका र यिनमा भित्री सहयोगमा भाग लिएर राम्रो अनुभव कमाएका हुमागाईँले ‘श्रृङ्खला’ पत्रिका निकालेर साहित्यिक पत्रकारितालाई गौरव दिएका छन् । पञ्चायती शासन कालमा सामान्य जागिरे हुमागाईँले तन, मन, धन समर्पण गरेर ‘श्रृङ्खला’ प्रकाशनमा कस्सिएको कुरा चानचुने महत्वपूर्ण छैन । जनकवि गोकुल जोशी अङ्क, कवि युध्दप्रसाद मिश्र अङ्क, नेपाल–चिन मितेरी अङ्क र केदारनाथ न्यौपाने अङ्क जस्ता महत्पूर्ण अङ्कका साथै राम्रा–राम्रा अङ्क निस्किएका छन् ‘श्रृङ्खला’ का । उमेश उपाध्यायका अनुसार “सरल र सुष्पष्ट ढङ्गबाट थोरै शव्दहरुमा लेखिएका संपादकीयहरु श्रृङ्खलाका विशेषता मान्नुपर्छ ।” (‘जुही’ २०, पातो ४१)
बाल–साहित्य विकास गर्ने ध्याउन्ना हुमागाईँको भएकाले ‘बालपोष’ निकाल्नमा पनि उनको योगदान छ । यसै गरी रारा, अरनिको, जुगल हिमाल आदिको पनि हुमागाईँले सम्पादन गरेका छन् ।

२.) जनकवि हुमागाईँ
२००८ देखि लेख्ने जिज्ञासा वोकी ९ साल देखि लेख्न थालेका हुमागाईँले केही गद्यकविता लेखे पनि लोकलय (सवाई, झ्याउरे, सेलो) मै विशेष कलम चलाएका छन् । उनका प्रकाशित काव्यका पुस्तक यी हुन्–
१. किसानको गित – २०१६
२. एउटै नारा लाउनुछ अव – २०१६
३. नेपाल आमाको सत्यवचन – २०१६
४. पसिना – २०१९
५. दुखी गरिवको सवाई – २०२१
६. गोरे घर्तीको सवाई – २०३२

‘जनलय’ ‘जनजागरण’ हुमागाईँका प्रिय कुरा हुन् । उनी कलाका नाममा जनताको गला निमोठ्न रुचाउँदैनन् । डा.तारानाथ शर्मा जस्ता समालोचकहरुले ‘गोकुल जोशी, धर्मराज थापा, देवीप्रसाद किसानका बाटोका जनकवि हुन्’ भनी हुमागाईँलाई भनेका छन्, उनलाई डा.तारानाथ शर्माले ‘दुखी गरीवहरुका दुखेसो पोख्ने कवि’ पनि भनेका छन् । ‘उत्साहको कुनै एक अङ्कमा प्राध्यापक गङ्गाप्रसाद उप्रेतीले हुमागाईँका सबै पक्षमाथि, बासुदेव शर्माले किसानको गतिमाथि, जनकप्रसाद हुमागाईँमाथि कलम चलाएका छन् भने नारायण ढकालले त जनकप्रसाद हुमागाईँको व्याक्तित्व र कृतिउपर शोध नै परेका छन् ।
‘जुही’ पूर्णाङ्क १९–२०४४ मा प्रकाशित ‘दुखी गरिवको सवाईभित्र डुबुल्कि मार्दा’ भन्ने लेखमा नारायण ढकालले कवि हुमागाईँलाई निकै मजाले चिनाउँदै लेखेका छन् – “सामाजिक विषयवस्तुमा आधारित जनप्रिय लोकलयात्मक शैलीला विरचित करुणभावयुक्त खण्डकाव्यका रुपमा दुःखी गरिवको सवाईलाई स्विकार्न सकिन्छ । यसमा शोषकवर्ग र शोषितवर्गको चित्रण छ ।”
‘उद्घोष’ सङ्कलनको पहिलो अङ्क (२०४७) मा प्रकाशित ‘गोरे घर्तीको सवाइमा दृष्टि दिँदा शीर्षक लेखमा उनै नारायण ढकालले ‘गोरेघर्तीको सवाई’ खण्डकाव्यको रचना २०३० सालमा भएको हो र प्रकाशन २०३२ सालमा भएको हो । भूस्वामीहरुद्धारा किसानहरुमाथि गरिने कुकृत्यहरुमा राम्ररी परिचित भनी लेखेका छन् । उक्त लेखमा हुमागाईँका यो हार पनि उदृत छन्–
कतिसारो अन्धकार कति ढलिमली
कतिन्जेल रहिरला यस्तो ढलिमली ।
नेपालमा धेरै प्रगतिवादी लेखक थिए, छन् । तिमध्ये कति नग्नभएर बाङ्गिए र कति त फटाहा पनि भए । कति दिल्लीको गफ हाँक्ने सिल्ली छन् । कति बेपारी छन्–बेपार गरेर मुनाफा गोजीमा हाल्दै मजाले जनवादी कुरा लेख्छन् । साधारण दौरा–सुरुवाल–कोट–टोपी लगाएर हिँड्ने ‘झर्रो तथा खरो बोल्ने, कर्मठ हुमागाईँ हृदयमा ज्वाला बोकेर हिँड्छन् र कवितामा उनी ती ज्वाला अभिव्यक्ति गर्दछन् ।
यसै गरी नरेन्द्र नेपालीले पनि सङ्कल्प (२०३२,९) मा गोरेघर्तीमाथि आलोचना गरेका छन् । आरन (२०३७, १११) बद्री दाहालले यस खण्डकाव्यको मूल्याङ्कन गरेका छन् ।
यसरी प्रगतिवादी समालोचकका आँखामा परेका कवि हुमागाईँको लोकपय शैलीमा प्रगतिशीलकाव्यिका योगदान निकै महत्वपूर्ण छ ।

३.बालकथाकार हुमागाईँ –

नेपाली बालसाहित्य–क्षेत्रमा काम गर्ने लेखक–कवि थोरै छन् तर जति छन्, तीमध्ये एक हमागाईँ पनि हुन् । उनले ‘वालपोष’ पत्रिकाको संपादनका साथै निकैवटा ‘बालकथा’का पुस्तक छापेका छन् । ती हुन् –
१. गुनिला ५ बालकथा (२०४१)
२. बा – आमाको माया (२०४३)
३. दिदी – भाइको माया (२०४३)
४. चार बालकथा ( ? )
५. गोकुलको आमा कसरी निको भइन् ? (२०३६) बालकथामा चाहिने सरलता, रोचकता आदि निकै गुण हुमागाईँका बालकथामा पाईन्छ ।

४. चिन्तक हुमागाईँ

जनकप्रसाद हुमागाईँले २००७ सालको परिवर्तन र हाम्रो भविष्य (२०४२) नाउँको पुस्तक साथै कैयौं लेखमा एउटा प्रगतिशील विचारका व्यक्तित्व दर्साएका छन् ।

५. समाजसेवी हुमागाईँ

जागिरे जनकप्रसाद हुमागाईँ समाजसेवी पनि हुन । कैयौं लेखक–कवि बिरामी पर्दा कुनै एक नाम हो हुमागाईँ । कैयौं गोष्ठीका आयोजक हुमागाईँ हुन् भने काभ्रे जिल्लाको साहित्यको उत्थान सक्रिय योगदान दिनेमध्येको एक नाम हो – हुमागाईँ ।

६. सुब्बा जनकप्रसाद हुमागाईँ

नेपालमा २०१७ मा वैदार, २०१९ मा मुखिया, २०२१ मा खर्दार, २०२४ मा नायवसुब्वा भएका १५ वर्षको सेवाको पदक भुस्याइएर ३१ वर्ष मा दीर्घसेवा पदक पाएका सामान्य जागिरे हुमागाईँ ५ छोराका बाबु छन् । अधिकांश समय काठमाडौंमा बस्छन् । किनेको घडेरी पनि विद्युत प्राधिकरणको अधिग्रहनमा प¥यो । अरु आय छैन ।
पनौतीको साहित्य–संमेलन (२०१९) मा द्वितीय २०२२ मा बालकल्याण समन्वय समितिबाट उत्कृष्ट बाल–साहित्य पुरस्कार ३०००÷– र बाल–हितकारी पुरस्कार २०४५ मा २००००÷– पुरस्कार प्राप्त हुमागाईँले एउटै छोराको बिहे गर्न सकेभने भुर्इँचालो आउँदा लडेकी श्रीमतीलाई ओखती गर्दा लागेको रिन तिर्न सकेका छैनन् ।

७. कर्मठ हुमागाईँ

प्रकाशनमा, गोष्ठीमा, सामाजिक काममा, गफमा कर्मठ जनकप्रसाद हुमागार्इँ अनुभवका धनी छन् । तिता कुरा सुन्छन्–पचाउँछन् । काठमाडौंका मै हुँ का अभिलेख’ उनिसँग छन् । धेरै ठाउँ डुलेका छन्, धेरै मान्छे चिनेका छन् । उनी आफूलाई समाजप्रति उत्तरदायी, अन्यायको विरोध, न्यायको पक्षमा लड्ने राम्रा प्रतिभाबाट प्रेरणा लिने व्यक्ति मान्छन् । उनी कति खरा छन् भने दीर्घसेवा पदक’ लिँदा मन्त्रीहरुलाई सुझाउ दिए, मन्त्रीज्यू, निम्न कर्मचारीले यो उमेरमा यो पदक के गर्नु ! क्याविनेटमा राखेर यो अनावश्यक छ भनी प्रस्ताव पास गरेर यसलाई हटाउनोस् ।’
बाँचुन्जेल नोकरसाहीले ठुलैलाई त टेर्दैन नायबसुब्वाका कुरालाई त रौँ बरावर पनि नमान्लान तर जनताका निमित्त मरिमेट्ने जनभावना अभिव्यक्त गर्ने कवि जनकप्रसाद हुमागार्इँ नेपाली साहित्यिक जगतका एउटा चम्किला गहना हुन् भन्नु अत्युक्ति हन्न ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 27 श्रावण, 2074

लेखकका अन्य रचनाहरु