थुक्क नपुँसक

- डिकु मुखिया लाठपञ्चर

अघोर अन्यायको आगाले
डढ़ेको बेस्मारी
तेरो कालो अनुहार
जुन अनुहारमा
कुनै चहकता छैन
कुनै आकर्णण छैन
र छैन कुनै चिन्हारी त्यसको
चिन्हारी बिनाको अनुहार
खोलाको गीत एउटै हो
त्यै अन्यायको आगाले डढेको रोटी
सेक्दै बस् साला नपुँसक
थुक्क नपुँसक.....!

तेरो आलस्य र अकर्मण्यताको
चिसो अँधेरी रात
तेरो स्वाभिमान बिनाको टोपी
र चेतनहीन दृष्टि
अब काम लाग्दैन।

सामुन्ने अघिल्तिर
आफ्नै आमाको बलात्कार हेर्ने
तेरो नपुँसक आँखा
आफ्नै बहिनीको चीरहरणमा
चुपचाप रमाउने तेरो निर्लज्ज मन
पटक्कै मन परेन मलाई।

कति हेपिन्छस कापुरूष
कति सहन्छस नामर्द
घरबाहिर त हेपियो हेपियो
अचेल घरभित्रै हेपिन थाल्यो
आच्चै................!!
के सारो टाउकोसम्म टेक्यो हँ?
कल्प कल्पको टेकाइ।

कस्तो दमनकारी दाम्लोले
बाँधेको टिनटिन?
दाम्लो चँडुन सक्छस्?
थुक्क नपुँसक
तेरो नामर्दपन
धिक्कार छ
थुक्क ! थुक्क….!!........ तुक्क!!!

(दृष्टब्य – भाषिक अतिक्रमण सन्दर्भमा)

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 27 श्रावण, 2074

लेखकका अन्य रचनाहरु