‘युरेसियाको स्पर्श’ नियात्राको सोख र संस्कृतिप्रेम

- प्रा.डा. खेम दाहाल

१. प्रारम्भ
कृष्ण बजगाई (धरान–१५) को नियात्रा ‘युरेसियाको स्पर्श’(२०७३) पुस्तक साझा प्रकाशनबाट प्रकाशित भई बजारमा आएको छ । बजगाईंका ‘यन्त्रवत्’ ‘हिउँको तन्ना’, ‘रोडम्याप’, ‘कमरेड भाउजू’, ‘कवच’ जस्ता साहित्यिक रचना पूर्वप्रकाशित कृतिहरू हुन् । युरोपमा बस्ने नेपाली युवकले नेपाली भाषामा धमाधम कृति रचना र प्रकाशन गरी गुन लगाउनु माटाको ममता स्मरण गरेको हुनु पर्छ । विदेशमा बसेर स्वदेशको स्मरण गरिरहन्छन् भने र यताको मायाले तानिरहन्छ भने ‘डायास्पोरा’ को लक्षण हुन्छ । बजगाईँको निबन्धको पुस्तकले नेपाली माटाको गुन, अन्नपानी खाएको ऋण तिर्नेछ भन्ने हाम्रो आशा छ । यसमा अग्रणी प्रतिभाहरू लैनसिंह बाङ्गदेल (स्पेनको सम्झना), तारानाथ शर्मा (बेलायततिर बरालिँदा) प्रभृति स्रष्टाले देखाएको बाटो अवलम्बन गरिएको छ ।
२. विषय प्रवेश
यस ‘युरेसियाको स्पर्श’ मा उन्नाइस निबन्धहरू समाविष्ट छन् । साहित्यको श्रीवृद्घिमा लागिपरेको साझा प्रकाशनले सुन्दर टिप्पणी गर्दै यात्रामा भोग्न पाइने सुखदुःखको प्रतिबिम्ब कोर्ने, विभिन्न भूभागको रहनसहन र भौगोलिक अवस्थामाथि प्रकाशपार्ने पुस्तक छापेका हौँ भन्ने अभिव्यक्ति प्रस्तुत गरेको पाइन्छ । मानिसको चरित्रमा आफूले अवलोकन गरेका ठाउँको जानकारी अरूलाई गराउनु सकारात्मक कार्यको नमुना हो यही कार्यको निम्ति उक्त पुस्तक उपयोगी हुनेछ भन्ने आशा प्रकाशकका तर्फबाट प्रकट गरिएको छ । यस कृतिले विभिन्न ठाउँका सांस्कृतिक र ऐतिहासिक महत्त्वका वस्तुमाथि सूचना दिने आशा गरिन्छ । ‘युरेसियाको स्पर्श’ मा पहिलो नियात्रा नाटककार विलियम सेकसपियरका जन्मस्थानसँग सम्बन्धित छ । सन् १५६४ मा बेलायतको स्ट्रेटफोर्ड अन एभनमा महान् नाटककार तथा कवि सेक्सपियर जन्मिएका थिए । पिता जोन सेक्सपियरले अति सामान्य जीवन बिताएका कारणले सन्तानको उचित शिक्षा र लालनपालनमा उस्तो उत्कृष्ट स्तर देखाएनन्, आठ सन्तानलाई पाल्नुनै सजिलो कुरा थिएन । साधारण ग्रामर स्कुलसम्मको अध्ययनपछि गाउँ छाडी सहर पसेका नाटककारले आफ्नो प्रतिभा देखाउने क्षमताको उपयोग गर्दै र अर्थोपार्जन गर्दै विश्वलाई चकित गराएका थिए–‘बाह्रौँ रात’, ‘भेनिसको व्यापारी’, ‘हाम्लेट’, ‘ओथेले’, ‘राजा लियर’ आदि संसारभरिका पाठकले रुचाउने नाट्यकृतिहरू हुन् । नियात्राकारबाट सेक्सपियरको जन्मघर लेखेको ठाउँ, घाँसेचौरी, उनका पिताले प्रयोग गरेका लत्ता कपडा, फर्निचर, भान्साकोठा, परिवारले प्रयोग गरेका टेबुल कुर्सी, सेक्सपियर तथा उनका भाइको संयुक्त कोठा नाटककार जन्भिएको कोठा, रवीन्द्रनाथ टेगोरको सालिक, सेक्सपियरकी छोरी सुसाना र ज्वाइँ जौनको घर अवलोकन गर्ने मौका पाएको स्मरण गरिएको छ । नियात्रामा होली ट्रिनटी चर्च (सेक्सपियर चर्च), सेक्सपियरको समाधि, श्रीमती ह्थावे र जेठी छोरी सुसानाका समाधि तथा यिनका नामसँग जोडिएका सांस्कृतिक महत्त्वका वस्तुहरू चार सय वर्षपछि त्यसरी सुरक्षित राखिएका हुनु नै बेलायती सरकारको स्रष्टालाई हेर्ने दृष्टिकोणको सुन्दर उपमा हो भन्नेमा निष्कर्ष गरिएको छ । यस नियात्राले बेलायती चेतना, नाटककारका जीवनीमा अल्झिएका विवाद र शङ्काहरूको सारांश गरेको पाइन्छ । नेपालमा साहित्यकारले त्यसरी मान पाउँदैनन् । यस नियात्रामा नियात्राकारले एउटी यहुदी महिलाले गोप्य रूपमा लेखेका कृति सबै सेक्सपियरका नामबाट प्रकाशनमा आएको शङ्काको पर्दा खोलिदिएका छन्, यसको सही–सत्य प्रमाण दिन कसैले सक्दैनन्, किनकि विगतमा कुनै पनि देशको साहित्यिक इतिहास आजको जस्तो कालक्रमिक रूपमा राख्ने चलन थिएन । सेक्सपियरलाई संसारले मानेको छ, विवाद पनि छँदै छ, स्कुल स्तरको साधारण पढाइ (हाइ स्कुल) पूर्ण गरेका युवकले राजदरबार सम्बन्धी अन्तरद्वन्द्वात्मक गतिविधिलाई साक्षात्कार गराउनु र नाटकमा मञ्चन हुनु रहस्यको विषय हो । उनी रहस्यमा बाँचे, चौध हरफे कविताकी काली आइमाईको धोकामा परेर पनि उसैको माया गरे । सन् १६१२ मा महाकवि सेक्सपियरले कल्पनालोकको सृष्टिगर्ने कार्य छाडिदिए, गाउँमा फर्किएर शान्त वानप्रस्थीझैँ शेष जीवन बिताउन थाले, सन् १६१६ मा उनको स्वर्गवास भयो (घिमिरे, २०५५ः९४), यसै सङ्ग्रहको अर्को नियात्रा एसियातिर सरेको छ, ‘त्यानमेन चोकमा माओको अगाडि घोक्रेठ्याक’ ले चिनको भ्रमण गराउँछ । त्यानमेन चोक माओको सुरक्षित शरीर यस प्रसङगका अनौठा कुरा हुनेछन् । माओले सन् १९४९ अक्टोबरमा गणतन्त्र चिनको घोषणा गरेका थिए । चोकको दक्षिणमा ‘ग्रेट हल अफ द पिपुल’ हेरिएछ जहाँ दस हजार मानिस एउटा हलमा अटाउने रहेछन् । त्यहाँ चिनियाँहरूका विविध वेशभूषा, जातजातका मानिस, लगाउने कपडाको ढाँचा फरक पाइएको बताइन्छ, नमस्ते गर्दा ‘नेहाउ’ भन्छन् । कलाकार बलबाहुले निर्माण गरेको मूर्तिकलाका नमुना, देशभक्ति, माओ र उनको पार्थिव शरीर, आँखा जुधाएर हेर्न नपाइने मृत शरीर, चिरनिन्द्रामा सुतेका जस्ता माओ, उनको अगाडि आँसु खसाल्ने चिनिया युवकलाई सुरक्षाकर्मीले घोक्रेठ्याक लगाएर निकालेको दृश्य कडा कानुन चिनका विशेषता हुँदा हुन् । यो नेपालदेखि माथिको ठूलो देश जसले दिनमा तीन सय भन्दा बढी विदेशीलाई भोजन गराउँछ, पाहुना पाल्छ भन्ने कुरा शारदा कोइरालाले ‘नेहाउ’ निबन्धमा लेख्नुभएको छ ।
धर्मका कारणले मनपरेको, हेर्न लायक भएको, सानो सहर दुर्वीका बारेमा एक अवलोकनभ्रमण प्रस्तुत गरिएको छ । सन् १३३१ देखि सहरमा गणना भएको सहर दुर्वी मन्दिरका कारणले चिनाजानमा आएको, इस्कन मन्दिर ९क्ष्लतभचलबतष्यलब िकयअष्भतथ ायच प्चष्कजलब ऋयलकअष्यगकलभकक० का नामले प्रसिद्घ दुर्वीलाई भारतको वृन्दावनसमान ठानिएको छ । त्यहाँ पशुपतिनाथका वरपरको वातावरण, धुपबट्टाको खरिद, धार्मिक मठमन्दिरको प्रयोजनका लागि राखिएका पसल, हिन्दू भनी गरिएको आतिथ्य जस्ता विषय समाविष्ट छन् । यी बेल्जियमको ब्रसेल्सका गोराहरूले पनि यसरी ‘हरेराम हरेकृष्ण ११’ भन्दै उपासना गर्ने र चम्चाले भोजन नगरेर हातैले खाने संसारमा पुग्दा नेपाल पुगेको अनुभूति सम्प्रेषित गरिएको छ । संसारको सुन्दर सहर फ्रान्सको पेरिसलाई घुम्न भ्याएको, प्राचीन स्मारक र कलाका सङ्ग्रहालय हेर्न भ्याएको खुसीको खबर ‘पेरिसमा चार दिन’ ले देखाउँछ । यो सहरकी सिमोन दि बोउवार लाई साहित्यका पाठकले नचिन्ने कुरो भएन, उनले महिला ९त्जभ क्भअयलम क्भह० नामक किताब लेखिन् र नारीलाई भान्साघरबाट मञ्चमा भाषणका निम्ति पु¥याइन् । उनका प्रेमी सात्र्र (ज्याँ पाल सात्र्र) ले समयमा साहित्य र चिन्तनलाई उक्साउँदै बसेको सहर फ्रान्सको पेरिसलाई मानिएको छ । नारीलाई नारी जस्तो बन्न लगाउने, कसिएको लुगा नलगाऊ भन्ने, लजालु भई बोल भन्ने आमा, फुपू तथा हजुरीहरू हुन् भन्ने दोष सिमोनले लगाएकी छन् । तिमीले हिंड्दा, बोल्दा, खाँदा बाबु र भाइजस्तो नहुनू भनेर तालिम गरिन्छ भन्ने आरोप महिलालाई लगाएकी छिन् । उनको सहरको भ्रमण गर्न जोसुकै महिला आकर्षित हुने कुरामा हामी आशावादी छौँ । यस सहरमा आइफल धरहरा, सेन नदी, न्यापोलिन बोनापार्ट (योद्घा), भोल्तेयर (साहित्यकार), जोन अफ आर्क (१४१२ की वीरङ्गना), त्यानमेन स्क्वायर (भीडभाडको चोक), लुभ्र दरबार (पुरानो सङ्ग्रहालय) आदि हेरिए, त्यस खुसीमा यस नियात्राको स्मरणलाई लिपिबद्घ गरिएको पाइन्छ । यसमा दा भिन्चीले बनाएको विश्वप्रसिद्घ चित्र मोनालिसा चर्चामा आइरहन्छ, धेरै महगो मूल्य चुकाउनु पर्ने पसलका सामग्रीका अगाडि नेपालीहरू पुड्का बाम पुड्के हुन्छौँ । त्यस्तै हो त मोनालिसाको चित्र ? फ्रान्सलाई सुन्दरताको सहर भनी हाल्ने कारणहरू धेरै होलान् तर एउटा कारण भने कलाकारले बनाएका नाङ्गा चित्रहरू अश्लील बन्दैनन्, भन्नेले अश्लील भनेका चित्रहरू पशुपतिको टुँडालमा धेरै छन् । ‘पोर्नोग्राफी’ को उदाहरण दिँदै एउटी महिला मञ्चमा निर्वस्त्र उभिई भने अश्लील हुँदैन, शरीर हल्लाई भने अश्लील हुन्छ, यो भनाइ समीक्षक रामकृष्ण शर्माको पाठमा पढिने छ । यहाँ सुन्दर नाङ्गा शरीरका कलाकारिता हेरिने भएका छन्, बुढासुब्बामा नाम कोरेझैँ प्रेम नभागोस् भन्दै नदीको पुलमा ताला ठोकिएका छन् । यी विश्वासले हामीलाई दृढ निश्चयमा पु¥याउने आशा यस कलाकारिता विषयक निबन्धमा निबन्धकारले प्रकट गरेको पाइनेछ ।
‘फरबिडन सिटीमा एक फन्को’ धर्मका बारेको पाठले हामीलाई विभिन्न सम्राटका समयमा चलेका धर्महरू जस्तै ः ताओ धर्म, बुद्घ धर्म, तिबतियन धर्म, लामा धर्मका प्रभावबारे बुझाउनेछ । फरबिडन सिटीलाई बगैँचाले धेरेको पाइने, त्यस सिटीलाई पूरै भ्रमण गर्न हप्ता लाग्ने, ठूलो राजप्रासाद, आश्चर्यजनक वास्तुकला, बहुमूल्य सामग्री, सन् १४१७ मा बनाइएको मिङ राजवंशको पालाको शाही उद्यान अचम्मका विषय रहेछन् । त्यो पेहाइ पार्कको श्वेत स्तुप अरनिकोले बनाएका रहेछन्, नेपालको नाम चिनमा झलमल हुन्छ । “धार्मिक व्यक्ति बुद्घिद्वारा कला, कविता वा दर्शनमा सुखको अनुभव गरिरहेको हुन्छ (स्वामी प्रभुपाद, २०१३ ः३)” “चिनमा हरेक वस्तुलाई कुन अङ्क दिने र कुन अङकले फाप्दछ सोको निर्णय सम्राटले गर्दा रहेछन्, सबैभन्दा ठूलो अङ्क नौ चाहिँ सम्राटले लिँदारहेछन्, नौवटा ड्रागन चिनमा प्रसिद्घ हुने कारण पनि त्यही हुने सङ्केत गरिन्छ (बजगाईँ, २०७३ ः ३४)।” ड्रागनलाई नागराजाको प्रतीक, शक्तिको प्रतीक कला तथा देवताको प्रतीक मान्ने आधार खोज्दै यो निबन्ध लेखिएको छ । सुन्दा पनि अचम्म लाग्ने पानीमुनिको रेलयात्रा–फ्रान्स र बेलायतको समुद्रमुनि चलिरहेको कुरो पढदा पत्याउन कठिन हुन्छ । ‘हो’ भनेर लेखेपछि ‘होइन’ भनेर पढ्ने कुरो भएन । सन् १९९४ देखि सञ्चालनमा रहेको, मुरो स्टारको रेल मार्फत हजारौँ यात्रीले यात्रा गर्ने साहसी रेलमार्ग ‘गुलिभर्स ट्राभेल’ झैँ काल्पनिक, दाँतेको ‘डिभाइन कमेडी’ जस्तै लाग्ने छ । ब्रसेल्सदेखि लन्डलसम्मको दुई घन्टाको यात्रामा बीस मिनेट जतिको यात्रा पानीमुनिबाट गरिन्छ, जसको चित्रण ‘पानीमुनिको रेलयात्रा ः लन्डनमा साहित्यिक भेटवार्ता’ निबन्धमा गरिएको छ । यात्रा रोमान्चक, बेल्जियम र फ्रान्स उस्तै उस्तै लाग्ने भौगोलिक र मानवीय धरातल, बिहानको समय र बत्तीको पिलपिल, सुरुङ कटेपछि सूर्यको दर्शन, जयालक्ष्मी राई तथा बुद्घि राई दुवैको नाम उल्लेख हुन आएका छन् । यी दुवै नामसँग पूर्व परिचय रहेको अनुभूति हुन्छ वा अर्कै व्यक्तिहरू र नाम मात्रमा सम्बन्ध जोडिएको हुने सम्भावना पनि छ र भविष्यले यो रहस्यलाई खुलाउला भन्ने कुरा यस पाठकको आशा भित्र रहेको छ । अति अनुशासित जयालक्ष्मी राई, अति मिलसार बुद्घि राईसँग पूर्वइतिहास जोडिएको कुरामा आफू आशावादी रहनु यस पाठकको धर्म हो । साथै दिवस बजगाईँ, गोपी प्रसाईँ, डा.रूपक, बेलायतकी महारानी बकिङधम प्यालेस, महारानी भिक्टोरियाको कलात्मक मूर्ति, उनका उपनिवेशहरू, सेनट जेमस पार्क, ट्राफलगत स्क्वायर बाटामा भेटिएका र स्मरण गरिएका स्थान तथा व्यक्तिहरू छन् । त्यहाँ गोर्खा सिपाहीको सालिक, वेस्टमिनिस्टर (कलात्मक भवन), लन्डल आई (रोटेपिङ), लन्डल ब्रिजहरू भलक्क हेरिए अर्को दिन नेपाली कविगोष्ठी सम्पन्न भयो जसमा डा.रूपक, कृष्ण बजगाईँ, विश्वविमोहन श्रेष्ठ, जया राई, गोपीकृष्ण प्रसाईँ, ईश्वर मानन्धर, प्रकाश के.सी., हरिसिंह थापा, शशी थापा (सुब्बा), लारा, जगत् नवोदित जस्ता कविहरूले कविता पाठ गर्नु भएको बताइन्छ । यसमा थेम्स एकेडेमीको कार्यपीठिका प्रयोगमा आएको छ । यस कविता वाचनमा नेपाली कविता सुनाउने कविहरूमा नेपालीपना जागरुक भएको र राष्ट्रियता जीवित रहेको पाठक अनुभूति गाढा हुन्छ । त्यस्तै ‘हिउँको कला, बरफको दरबार’ मा बरफ मा कुँदिएका कलात्मक वस्तुको परिचय गराइन्छ, शुभकार्यमा यस्ता कलाले ध्यान आकर्षण गर्ने, हस्तकला, मूर्तिकलाजस्ता बरफमा कुँदिएका कलात्मक वस्तुको अवधि चारपाँच घण्टाको हुने बताइन्छ । त्यहाँ बरफले बनेको दरबार हेर्न पाइने रहेछ, विश्वप्रसिद्घ हान्स एन्डर्सनको ‘हिउँकी रानी’ कथाबाट प्रदर्शनीको नाम राखिएको बताइन्छ जसको ‘बादसाहका नयाँ लुगा’ ९भ्mउभचयचुक ल्भध ऋयितजभक० लाई नेपालको पुरानो एसएलसीको पाठ्यक्रममा राखिएको थियो । उनी प्रसिद्घ हास्यव्यङ्ग्यकार थिए, नयाँ लुगाको सौखिन राजा सडकमा नाङ्गै भएको, पदको प्रतिष्ठाका डरले ठूला कर्मचारीहरू मूर्ख बनाइएका विषयको कथा अति रोचक र घोचक छ । उनको ‘हिउँकी रानी’ कथामा वर्णन भएका सामग्रीहरू जस्तै ः दरबार, अग्ला पर्खाल, जङ्गल, बरफको गाडी, बरफको घोडा, घोडा सवार रानी, सुत्ने कोठा, पलङ तथा बुट्टेदार तन्ना, बरफको कुर्सी, भ¥याङ आदि कथामा आधारित सरसामान बरफनिर्मित देख्दा नेपालमा त्यस्ता वस्तु र तिनको निर्माणमा रहने आर्थिकलाभ कल्पना गरिएको पाइन्छ । यसमा बरफको कलाप्रदर्शनी हेर्दा हिमालयको देश नेपालमा मन पुगेको छ, नेपालमा शून्य डिग्री सेल्सियस भन्दा कम तापक्रम हुने ठाउँहरूमा यस्ता प्रदर्शनीको सम्भावना प्रबल भए पनि हाम्रो प्रविधिको कमी अनुभव गरिन्छ ।
एउटा निबन्धमा चिनको विशाल पर्खाल बारेमा वर्णन गरिएको, साहसीले चढ्ने त्यस पर्खालले विदेशी आक्रमणबाट बचाउ गर्ने काम गरेको सम्झाना गर्दै आफूले भ्रमण गरेको अनुभूति सम्प्रेषण गरिएको छ । लाखौँलाख रुपिया डलर कमाउन सक्ने त्यस पर्खालले लाखौँलाख श्रमिकहरूको श्रम खर्चिएको छ । कतिको प्राणन्त समेत गरेको बताइन्छ । यस ‘ग्रेटवालमा संस्कृतका श्लोहरू’ पढ्न, रम्न, खुसी हुन, दिल वहलाउन, राष्ट्रभक्ति गर्न र आफ्नो देश देखेर चिन्ता प्रकट गर्न पाइने छ । यसमा सांस्कृतिक अनुभूति हुनेछ आग्राको ताज महलझैँ श्रमिकहरूको योगदान रहेको छ । त्यसैगरी ‘ अरनिकोले बनाएको स्तूप घुमेर फर्कदा’ कलाकार अरनिको र उनको योगदानलाई चिनाउने निबन्ध हो, उनले पोतला दरबार एवम् नोर्बुलिङ्खा जस्ता धेरै दरबार बनाएका थिए । यस्ता काम उनले तेह्रौँ शताब्दीमा गरेको इतिहास छ, उनले ‘श्वेत स्तूप’ बनाएका हुन्, त्यसको बर्णन निबन्धमा गरिएको छ । श्वेत स्तूप नेपालका बौद्घ गुम्बा जस्तै देखिएछ, त्यहाँ भित्रपट्टि सानाठूला दस हजार मूर्ति राखिएका, प्रा.डा.वल्लभमणि दाहाल र पत्रकार मित्रहरूको भेटघाट भएको छन्दु सहरमा उत्रिएका समयमा कवि त्यु फूको निवास पुगेको देखाउने बुझाउने अर्को चम्पू शैलीको निबन्धमा धरानका बुढासुब्बालाई सम्झना गरिएको छ , त्यहाँ बुढासुब्बाका जस्ता बाँसहरू, चिनिया मोडेलको पढ्ने टेबल, कुर्सी र किताब राख्ने ¥याक सजाइएका जनाइने कविको सम्मान र कदर खरले छापेको त्यो निवास कलाकारलाई मन परेको अनुभव, वासस्थान र कविका कवितामा राम्रो तालमेल अर्थात् उनले गरेको प्राकृतिक वर्णन र निवासको पर्यावरणमा समानता झल्किएका कुरा, त्यस्ता कविको नाममा निर्मित पार्कले माछा पोखरी पाएको, बल्छीबोकेर माछा समाउन पाइने तर माछालाई फेरि त्यहीँ छोडिदिनु पर्ने, प्राकृतिमा सबै प्राणी, सबै वनस्पति रमाएर रहिरहून् भन्ने आग्रह रहन्छ ।
घामको आनन्द, बेल्जियमको ओस्टेन्ड सहर, नेपालमा नभएको नीलो पानीको समुद्र, बेल्जियम र बेलायतका बीचको ‘नर्थ सी’, पानी हाँस–बकुल्ला, मात्तिएका छालहरू, पानीसँग रमाएका ती मानवप्राणी, लम्पसार परेका मानव, कामुक घाम, अर्धनग्न शरीरका प्राणी, तातो बालुवा, समुद्रको पानी, सडक र सफा किनार, अर्को छेउका घरहरू, सफा होटेल, लाम लागेका व्यापारी, नाम लेखेर दिँदै पैसा माग्ने युवक, चिनीयाले पैसा कमाए पनि नेपालीमा नाम लेखाउने ग्राहक नपाएको र सूर्य अस्ताएको पानीभित्रको दृश्य हेरेर फर्किएको भन्ने एउटा निबन्ध समुद्री किनारमा पढिनेछ ।
‘कमरेड भाउजू’ कथाको किताब कार्ल माक्र्सको समाधिस्थलमा विमोचन गरिएको, विमोचन कार्य आफैँबाट सम्पन्न भएको निबन्ध निकै रोचक, घोचक तथा नवीन कार्यतर्फ आकर्षित गराउने प्रकारको हुनेछ । अर्को स्थान नेपालको वसन्तपुर तथा पाटन सहरझैँ लाग्ने ‘ग्रान्ड प्लेस’ नामक चोक, कार्ल माक्र्सको नामसँग जोडिएको क्याफे, बेल्जियमको राजधानी ब्रसेल्स र त्यस क्याफेको पर्यटकलाई तान्ने वरपरको वातावरण, हरेक महिना उक्त चोकमा गरिने नवीन कार्यक्रम, भइरहने म्युजिक कन्सर्ट, खेलाडी र भलिबल खेलको प्रदर्शनी, फूलको गलैँचा, वियर मेला, जर्मनी र फ्रान्सको बीचको सानो राज्य, माक्र्सले शरण लिएको ठाउँ, बुद्घिजीवी भेट गर्ने र कफी पिउने क्याफे, संसारलाई बदल्ने गरी सन् १८४८ मा लेखिएको कम्युनिस्ट घोषणापत्र, माक्र्स र ऐगेल्सले मिलेर बनाएको घोषणापत्र तयार गरिएको स्थान, बेल्जियम खानाको निम्ति अगाडि नै बुकिङ गर्नु पर्ने स्थान, महँगो मूल्य, फ्रेन्च भाषामा –‘लामेजोँ टु सिन्’ स्मरणमा परेका छन् । ‘राजहंस घर’, ‘ला मेजोँ दु सिन’ मा बसेर कविता कोरिन्छ, जहाँ कम्युनिस्ट पार्टीको घोषणापत्र कोरिएथ्यो । बेल्जियम, ब्रसेल्स, मौसमको पूर्वअनुमान गलत हुने स्थान, ल्युभेन सहर, म्युजियम अवलोकन तथा वनभोजको रसास्वादन, फ्रेन्च र डच भाषाको उपयोग हुने स्थानहरू, प्राचीन वस्तुको सङ्कलन तथा गालो रोमन म्युजियम, ताल इभ्वार (फेवा तालजस्तै), तालका बीचको विजयपुरझैँ कृत्रिम टापु, प्रकारप्रकारका भोजन, सडक बने पछि रोपिएका वृक्षहरू र बेल्जियमबाट बसाइँ सर्न लागेको समयले पलाउने निराशा एउटा निबन्धमा घुमफिर गरिरहेका पाइन्छन् । कुनै निबन्धमा बेलायती मन्दिर र भगवान् कृष्ण सम्बन्धी उपकरण इस्कोन मन्दिरझैँ पूजासामग्री, वेम्बलीमा सनातन मन्दिर, नेपाल र भारतझैँ गणेश, राधाकृष्णका मन्दिर, श्री स्वामी नारायण हिन्दू मन्दिर, विदेशमा नेपालीले अवलम्बन गर्ने मन्दिर, हिन्दू धर्मका प्रसङ्ग तथा क्रिस्तानले कृष्णको चेतना अवलम्बन गर्ने, नेपालभित्र हिन्दूहरू लोभमा परी क्रिस्तान हुने लहर, संस्कृत र हिन्दूधर्मको पढाइ हुने पाठशाला हेरिरहँदा मन शान्त हुने कुरामा प्रवचन गरिएको छ ।
त्यसैगरी एक निबन्धमा लक्जम्बर्गको यात्रामा निस्कँदा रेलबाट यात्रा गरिन्छ, सानो राज्य लक्जेम्बर्ग चार लाख पैंसट्ठी हजार जनसङ्ख्याको देश, हजार वर्षको इतिहास हेर्न सय मिनेटको यात्रा, साथीहरू भेटेर गफ गर्ने ठाउँ, अनेक होटेल, लक्जेम्बर सिटी र म्युजियमको आकर्षण, रक्सी बढी बिक्री हुने सहर लक्जेम्बर्गमा घामपानीबाट सताइएको अनुभूति संक्षेपमा मापन गरिन्छ ।
कुनै निबन्धमा युरोपका कतिपय देशमा अङ्ग्रेजी नबोल्नेहरू भेटिएको ससानो स्मरण, बेल्जियममा फ्रेन्च भाषा बोलिने, अङ्ग्रेजी भाषामा कोही बोल्न नचाहने, सुरुमा भाषाको कारणले हराइने डर, पार्टी भनेर कुनै विदेशीले लगेको ठाउँमा स्वागत गरिएको, गुलियो रस खान दिएर चन्दा मागिएको, अमेरिकन क्राइस्टेली धर्मको कार्यक्रम हेरिएको साराँश गरिन्छ । स्थानीय भाषामा प्रचलित केही शब्दहरू अलिक रमाइला छन्, किनकि तिनले दिने अर्थमा स्वादिलो हाँसो लाग्ने छ । परदेशको संस्कृतिमाथि टिप्पणी गरिएको –‘ब्रसेल्सको सडकमा बरालसिङ’ निबन्धले सप्ताहान्तमा डुल्न, हेर्न पाइने शृङ्गारिक क्षेत्रहरू, खुल्ला देहव्यापारका सडक तथा जोडीजोडी नाच्न पाइने डिस्को नाचलाई चिनाउँछ । उमेरले मात्र होइन जान्ने चिन्ने रहरले डिस्को हेरिन्छ । त्यसै गरी नियात्रामा फ्रैङ्कफर्ट सहरको परिचय पाइनेछ, मनोरञ्जन, शिक्षा र पर्यटनको केन्द्र जस्तो लाग्ने सहरमा धराने मित्रका साथ घुमफिर, बेइमानी सिकाउने युरोपको पानी, जर्मनीको यात्रा, त्यहाँ पुगेपछि पैसा कमाएरै फर्किने साथीहरूको सल्लाह, खेतका फाँट हेर्दै चुच्चे रेलबाट डुसेल्ड्रफसम्मको यात्रा तारा बहिनी जुत्ताको उपहारदाता र जर्मनीमा पुगेपछि नेपाल फिर्न नदिने गरी कसेर राख्ने मनको परीक्षणबाट निबन्ध समाप्त गरिन्छ ।
३. निष्कर्षः
युरोप नपुगेका मानिसलाई युरोप घुमाउने, चिन नपुगेका पाठकलाई चिन घुमाउने बजगाईँको निबन्धमा रमाइला कुरा धेरै, जीवनलाई गति दिने कुरा केही र शृङ्गारका कुरा अलिकति पाइएका छन् । युरोपको भ्रमणमा जान नसके पनि कतिपय स्थानहरू जस्तै–फ्रैङ्कफर्ट, ब्रसेल्स, लक्जेम्बर्ग, गालो रोमन म्युजियम, ग्रान्ड प्लेस, कार्ल माक्र्सको समाधिस्थल, नर्थ सी, श्वेत स्तुप, ग्रेटवाल, पानीमुनिको रेल, मिङ राजवंशको पालाको शाही उद्यान, लुभ्र म्युजियम आकर्षक ढङ्गमा उतारिएका शब्दचित्र हुन् । संस्मरणप्रधान निबन्धहरू र नियात्राप्रधान निबन्धहरू परम्पराबाट हेर्दा तारानाथ शर्मा, लैनसिंह बाङ्गदेल, पारसमणि प्रधान, श्यामप्रसाद शर्मा आदिबाट अग्रगति दिइएका ढाँचाहरू हुन् । यसमा निबन्धकारले उखानको प्रयोग गरेका ठाउँमा रोचकता भरिन जान्छ, भीरको चीन्डो उँधो न उँभो, हुटिट्याउँले सगर थाम्ने, बाह्र वर्ष कुकुरको पुच्छर ढुङग्रामा राख्यो बाङ्गाको बाङ्गै आदिमा सुन्दर व्यङ्ग्य उद्दीपन हुन्छ । नेपालका विभिन्न गाउँलाई घुमेका ठाउँसँग मिलन गराउने कला राम्रो हो । यसले पाठकबोध सहज हुन्छ तथा राष्ट्रको मर्म बोकिरहेको अनुभूति हुनेछ ।
सन्दर्भ सामग्री
१. घिमिरे, शारदाप्रसाद (२०५५) विश्वका कविको जीवनी (दो.संस्करण) पुलचोक ः साझा प्रकाशन ।
२. बजगाईँ, कृष्ण (२०७३) युरेसियाको स्पर्श, पुलचोक ः साझा प्रकाशन ।
३. बाङ्गदेल लैनसिंह (२०६९) विश्वका छ महान् कलाकार (दो.संस्करण) काठमाडाँै ः रत्न पुस्तक भण्डार ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 20 श्रावण, 2074

लेखकका अन्य रचनाहरु