रुबाईयात शैलीका मुक्तक: सिद्धान्त र रचना

- डा.रुपक श्रेष्ठ

मुक्तक:
परिभाषा
कविता विधाको लघुतम रुप मुक्तक हो l संस्कृत साहित्यमा जसलाई श्लोक भनिन्छ त्यसैलाई उर्दूमा सवाई तथा फारसी साहित्यमा रुबाई या रुबाईयात भनिन्छ भने नेपाली भाषामा मुक्तकको नामले चिनिन्छ l 'मुच्' धातुमा 'त' प्रत्यय लागेर 'मुक्त' शब्द बन्छ र त्यसैमा 'क' प्रत्यय थपेर मुक्तक शब्दको सिर्जना हुन्छ l मुक्तकको शाब्दिक अर्थ 'मुक्त' भन्ने बुझिन्छ l मुक्तक आफैमा एक मुक्त कविता हो त्यसैले यसलाई एक पूर्ण कविता मानिन्छ l मुक्तकलाई "पूर्वीय काव्यशास्त्र अनुसार समासरहित गद्य / कथासूत्रमा आवद्ध नभएको, हृदयको भावलाई प्रतिबिम्बित गर्ने प्रभावकारी निरपेक्ष स्वतन्त्र कविता" (पोखरेल र अन्य, १०२०) भनेर अर्थ्याइएको पाईन्छ भने शर्म्मा र अन्य (१०७८) ले पनि यहि अर्थसँग सहमति जनाएको पाईन्छ l ईसाको नवौं शताब्दीतिर लेखिएको मानिने ग्रन्थ 'अग्नि पुराण' ले 'एक श्लोकमा रहने चमत्कारले युक्त पूर्ण कवितालाई मुक्तक भनेर परिभाषित गरेको पाईन्छ (पराजुली, १०७)l मुक्तकको यहि परिभाषा नै अहिलेसम्म प्राप्त प्राचिन परिभाषा हो l

मुक्तकका प्रकार:
पूर्वीय संस्कृत साहित्यमा पनि थुप्रै मुक्तकहरु सिर्जना भएका छन् l रामायण, महाभारत तथा पुराणहरुमा मुक्तकको प्रयोग भएको पाईन्छ l संस्कृत साहित्यबाट प्रभावित नेपाली मुक्तक लेखन बिस्तारै स्वतन्त्र छन्दहरुमा पनि लेखिन थालियो भने लगभग मिल्ने रुप लिएर फारसी, उर्दू तथा हिन्दी भाषामा पनि कविताहरु सिर्जना भएको पाईयो l यसरि संस्कृत, नेपाली, फारसी, उर्दू, र हिन्दी मुक्तकहरुलाई संरचनाको आधारमा तिन संरचनामा राख्न सकिन्छ :
क. संस्कृत संरचनाका मुक्तक
ख. स्वतन्त्र संरचनाका मुक्तक
ग. रुबाई संरचनाका मुक्तक

नेपाली भाषामा मुक्तकको शुरुवात
नेपाली भाषामा मोतीराम भट्टले नै मुक्तक लेख्न सुरु गरेको हो भनिएता पनि बि स २०२० मा बनारसबाट प्रकाशित 'उजेली' पत्रिकामा कृष्ण प्रसाद पराजुलीको मुक्तक शिर्षकमा पहिलो पटक मुक्तक प्रकाशनमा आएको पाईन्छ l लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडयाल लगायत धेरै कविहरुले मुक्तकमा कलम चलाएको प्रमाणहरु भेटिन्छ l नेपाली भाषामा मुक्तक लेखन बढ्दै जाँदा पनि मुक्तक लेखनमा लामो समयसम्म खास एक रुपता देखिन सकेन l कृष्ण प्रसाद पराजुलीको 'सय थुङ्गा फूल', २०२४, भिमनिधी तिवारीको 'बत्तीस पुतली', २०२७ तथा 'चाडबाड', २०२७, केदारमान व्यथितको 'अग्निशृंगार', २०३९ नेपाली भाषाका सुरुका प्रकाशित मुक्तक संग्रहहरु हुन् भने टेक बहादुर 'नबिन' ले मुक्तकलाई चोइटाको संज्ञा दिए र उनले 'मेरा केहि चोइटाहरु',२०५० प्रकाशनमा ल्याएको पाइन्छ l यस समयमा प्रकाशित प्राय: मुक्तकहरु स्वतन्त्र शैलीका भएकाले रुप र आकारमा विविधता भएको पाईएका छन् l यसरि लामो समयसम्म नेपाली भाषामा छोटो र मुक्त श्लोक भए जुनसुकै आकारका कवितालाई पनि मुक्तक मानिंदै र लेखिंदै आयो जसले गर्दा मुक्तकको स्वरुपमा निश्चितता रहेन l

नेपाल मुक्तक प्रतिष्ठानको गठन र सैध्दान्तिक घोषणा
नेपाल मुक्तक प्रतिष्ठानको गठन २०७० पछि सोहि बर्ष नेपाल मुक्तक प्रतिष्ठानको आयोजना तथा नेपाल मुक्तक मंच पोखराको सहयोगमा (२०७० माघ, १६-१८) मा सम्पन्न प्रथम ऐतिहासिक ' बृहत मुक्तक कार्यशाला गोष्ठी ' ले जारि गरेको मुक्तकको रचनाविधान, ' पोखरा घोषणा पत्र ' का बुंदाहरु निम्न बमोजिम रहेका छन् :

१. बर्तमान नेपाली साहित्यमा मुक्तक अत्यन्त लोकप्रिय रचनाप्रकार भएकाले यसको समुन्नयन र सस्तरीकरणका लागि गम्भीर विमर्शका साथ कार्यहरु गर्ने,
२. मुक्तकको विषय, संरचना र शैलीमा समेत नवीन प्रयोगहरु देखिरहेका सन्दर्भमा स्तरिय मुक्तकहरुलाई सम्मान गर्दै वर्तमानमा लोकप्रिय रहेको चतुश्पदी (चार हरफे) आयाममा विस्तारित मुक्तकलाई मानकस्वरुप प्रदान गर्ने,
३. नेपाली मुक्तकमा संस्कृत साहित्यको चतुश्पदी श्लोकी शैली, अरवी फारसीमा प्रचलित रुवाईयात र अंग्रेजीमा प्रचलित क्वाट्रेन र गध्य कवितात्मक शैलीका साथै नेपाली लोक लयात्मक शैलीसमेतको अन्तरमिश्रणबाट विकसित नेपाली मुक्तकमा मौलिकपनको खोजीका लागि प्रयास गर्ने l
४. लघुतम कविताका विविध रुप हाईकु, ताङ्का, दोहा, आदि छोटा कविता आफ्नै नामले परिचित भएकोले त्यस्ता रचनालाई मुक्तक अन्तर्गत नराख्ने l
५. क्रमश: पछिल्ला पंक्तीहरुमा भावोत्कर्ष हुनु र अन्तिम पंक्तीले विचार, कथ्य वा भावको पटाक्षेप गरी रहस्यको उद्घाटन गर्नु नै मुक्तकको निजत्व भएकोले यस प्रकारको मुक्तक रचनामा जोड दिने l

यस घोषणा पत्रको बुँदा ३. बमोजिम "... नेपाली मुक्तकमा मौलिकपनको खोजीका लागि प्रयास गर्ने " भनिएता पनि बुँदा नं. २ अनुसार "...चतुश्पदी (चार हरफे) संरचनाको आयामलाई मानकस्वरुप प्रदान गर्ने " निर्णय भएको र नं. ५ मा घोषणा भए बमोजिम " ... पछिल्ला पंक्तीहरुमा भावोत्कर्ष हुनु र अन्तिम पंक्तीले विचार, कथ्य र भावको पटाक्षेप गरी रहस्यको उद्घाटन गर्नु नै मुक्तकको निजत्व भएकोले यस प्रकारको मुक्तक रचनामा जोड दिने " भन्ने रचना विधानको घोषणा रुबाईयात शैलीको मुक्तकको बढि नजिक पुगेको देखिन्छ l जब रुबाईयात शैलीको प्रश्न उठ्छ यसको बाह्य र आन्तरिक संरचनालाई ध्यान दिनु पर्ने हुन्छ l रुबाईयात शैलीको चार पंक्तिमा सिर्जना हुने मुक्तकको बाह्य संरचनामा पहिलो, दोश्रो र चौथो पंक्तिलाई अन्त्यमा समध्वन्यात्मक आवृत्ति वा अनुप्रासयुक्त बनाई तेश्रो पंक्तिलाई स्वतन्त्र छोड्ने मान्यतालाई स्विकारिन्छ l यसरि निश्चित चार पंक्तिमा सिर्जना गरिएको मुक्तकको आन्तरिक संरचनामा पहिलो पंक्तिले बिषयको उठान गर्दछ, दोश्रो पंक्तिले थप प्याख्या गर्दछ, तेश्रो पंक्तिले थप रोचकता दिंदै चौथो पंक्तिमा प्रस्तुत गर्ने मुख्य भावलाई वाताबरण तयार गर्दछ भने चौथो पंक्तिले निष्कर्ष दिने गर्दछ l यो परिभाषाले अबुल फलह उमर बिन इबाहिन अल खैयामी (१०४८-११३२) जसलाई उमर खैयाम भनेर चिनिन्छ ले दिएको परिभाषा, " रुबाई एक काव्य विधाका नाम हो , जुन अरबी शब्द 'रुबा' अर्थात 'चार' बाट प्रादुर्भाव भएको चार पंक्तिको कविता हो l यसको पहिलो, दोश्रो र चौथो पंक्तिहरु तुकात्मक हुन्छ भने तेश्रो पंक्ति स्वतन्त्र रहन्छ l " यस परिभाषाले नेपाली भाषामा लेखिने गरिएका पहिलो, दोश्रो र चौथो पंक्तिमा तुक्का प्रयोग गरि चार पंक्तिमा सिर्जना गरिएको काव्यलाई नै मुक्तकको मान्यता दिन्छ l

नेपाली मुक्तक इतिहासमा भएको यस सैध्दान्तिक घोषणाले मुक्तक सर्जक, पाठक र पारखीहरुलाई लेख्न, पढ्न र पारख गर्न मापन रेखा कोरिदिएको छ l यस सिध्दान्तको अवलम्बनले सिर्जनामा मार्ग निश्चितताको साथै नियमभित्र बाँधिएर सिर्जना गर्न चुनौती पनि थपिदिएको छ भने पारखीहरुलाई मुक्तकको रसपान गर्न सुव्यवस्था गरिदिएको छ l नेपाली काव्यजगतमा पनि यही रुबाई शैलीको छोटो, चोटिलो, पोटिलो कविताको स्वरुप मुक्तक निक्कै लोकप्रिय बन्दै आएको थियो भने उक्त घोषणापछि रुबाईयात शैली नै बढी प्रचलनमा आएको पाईन्छ l साहित्यमा चटनीको स्वाद दिने रुबाईयात शैलीका मुक्तक छोटो हुँदाहुँदै पनि यसको निश्चित बाह्य र आन्तरिक संरचनाका कारण कलात्मक र लयात्मक पनि हुन्छ l थोरैमा धेरै भन्न सकिने मुक्तक गागरमा सागर अटाउन सकिने काव्य हो lसमकालीन नेपाली साहित्यमा यही रुबाई शैलीको मुक्तकले विशेष स्थान ओगट्दै आएको छ l यस कार्यपत्रमा पनि संस्कृत तथा स्वतन्त्र शैलीका मुक्तकलाई पन्छाएर केवल रुबाई शैलीको मुक्तकको परिचर्चा गरिनेछ l

रुबाईयात शैलीका मुक्तकहरुको परिचर्चा
यस कार्यपत्रको उद्देश्य हाल नेपाली काव्यसमाजमा प्रचलित रुबाई शैलीको मुक्तकको परिचर्चा गर्नु रहेकोले यहाँ त्यहि शैलीका केहि मुक्तकहरुको उदाहरणका साथ छलफल गरिनेछ l परिचर्चाको सुरुवातमा नेपाल मुक्तक प्रतिष्ठानका संस्थापक अध्यक्ष पनि रहेका रामकाजी कोनेको मुक्तकलाई हेरौं :
मलाई मेरै छाँया अचेल अति बिघ्न प्यारो भो
बिर्सें आफैलाई, उनलाई बिर्सन साह्रो भो
यो कस्तो मूलबाटो पिरतीको ए हजुर
आउँदा त सजिलै आएँ फर्कन गाह्रो भो l (मुक्तक मन्त्र, १२७)

प्रस्तुत मुक्तकको वाह्य संरचना हेर्दा यो चार पंक्तिमा सिर्जना भएको छ l पहिलो, दोश्रो र चौथो पंक्तिमा क्रमश: 'प्यारो भो', 'साह्रो भो' र 'गाह्रो भो' समध्वन्यात्मक पुनरावृति भएको छ भने तेश्रो पंक्ति यस किसिमको अनुप्रासबाट स्वतन्त्र रहेको छ l यसको आन्तरिक संरचना केलाउँदा पहिलो पंक्तिले कविले प्रेम प्रसंगको उठान गरेका छन्, दोश्रोमा प्रेम अझ गहिराईमा पुगेको खुलासा गरि उठान गरिएको बिषयमा थप उचाई दिएका छन् l तेश्रो पंक्तिमा बिषयलाई थप गाम्भीर्यता प्रदान गर्दै चौथो पंक्तिमा दिन खोजिएको मुक्तकको सारलाई पृष्ठभूमी पनि तयार गरेका छन् भने चौथो पंक्तिमा कविले काव्यको निचोड दिएका छन् l यसरि कविले प्रणय, प्रणयको गहिरो प्रेमानुभूतिको सागरजस्तो फराकिलो बिषयलाई केवल चार पंक्तिको एक अनुच्छेदमा नै लयात्मक रुपमा ब्यक्त गर्न सफल छन् l

प्रणय काव्यकालागि मुक्तक साँच्चिकै सशक्त विधा हो l चारै पदमा काव्यलाई पूर्णता दिन सक्ने यो विधाको एउटा नमुना हेरौं :
गुलाबको पत्रपत्रमा प्रेमपत्र लेख्दैछु तिमीलाई
मनका रहरहरु सारा पबित्र पोख्दैछु तिमीलाई
आज अलि बढी नै भावुक भैरहेको छु प्रिय
रातो गाढा रातो गुलाबभित्र देख्दैछु तिमीलाई l (विम्बप्रतिविम्ब कार्यक्रम, रेडियो नेपाल, ३१ साउन २०७३)

पहिलो पदमा गुलाबलाई प्रेमको प्रतीकको रुपमा उठान गरेर प्रेमिकालाई प्रेमको गुलाबजस्तै प्रेमको प्रस्ताब गरिएको छ l दोश्रो पदमा पबित्र प्रेम र प्रेमपत्रको उचाई भर्ने काम भएको छ भने तेश्रो स्वतन्त्र पदले प्रेमको गहिरो अनुभूति जगाउंदै चौथो पदमा प्रेमिकालाई रातो गुलाब भन्दा पनि अझ गाढा रातो गुलाबको रुपमा अनुभूत गरेको तथ्यलाई प्रस्तुत गरिएको छ l यहाँ पहिलो, दोश्रो र चौथो पदको 'लेख्दैछु तिमीलाई', 'पोख्दैछु तिमीलाई', र 'देख्दैछु तिमीलाई' को अनुप्रासले मुक्तक वाचनलाई ले प्रदान गर्दछ l

प्रणयका सम्बन्धमा गम्भीर मात्र होइन ख्याल ठट्टा गर्न पनि सकिन्छ मुक्तकमा l यस्तै मजाक गर्ने एउटा मुक्तक हेरौं:
रेस्टुराँकी साउनीले आँखा तर्छिन मलाई
माया गर्दै जिस्किएर बियर भर्छिन मलाई
सुइँको पाइछिन त्यहि कुरा श्रीमतीले अचेल
उफ्रीउफ्री आम्मै गाँठे ! गालि गर्छिन मलाई l (मन बेइमानी, २१)

यो रमाईलो मुक्तकमा कविले 'तर्छिन मलाई', 'भर्छिन मलाई', र 'गर्छिन मलाई' क्रमश: पहिलो, दोश्रो र चौथो पंक्तिमा अनुप्रासको रुपमा प्रयोग गरेका छन् l

प्रेममात्र नभई कुनैपनि बिषयमा उत्तिकै सटिक प्रहार गर्न मुक्तक सक्षम रहन्छ l उदाहरणकोलागि राजनीतिमाथि व्यंग्य प्रहार गर्ने उनैको अर्को मुक्तक :
उपप्रधानमन्त्रिकै भलिबल टिम हुन्छ पत्याउनै सकिन
विसंगति र विकृतिको विश्व रेकर्ड बन्छ पचाउनै सकिन
अभिनय सिंहदरबारभित्रका जोकरहरुको देख्दा
सरकारमा छन् कि कुनै सर्कसमा छुट्याउनै सकिन l (मुक्तक मोहिनी, ४६)

समसामयिक राजनीतिमाथि व्यंग्यको पटाक्षेप गर्न सशक्त यस मुक्तकमा 'पत्याउनै सकिन', 'पचाउनै सकिन', र 'छुट्याउनै सकिन' अनुप्रास बनेर आएका छन् l

समाजका बिभिन्न बिषयमा पनि रुबाई शैलीका मुक्तक उत्तिकै सशक्त बन्न सक्छ l त्यसको लागि यो मुक्तक हेरौं:
सयौं जातजातीको वस्ती हो पोखरा
प्रकृति र सौन्दर्यको मस्ती हो पोखरा
शान्त, एकान्त, भिडभाड र कोलाहल
सरुभक्त र 'पागलवस्ती' हो पोखरा l (पोख्तक, १३)

यस मुक्तकको पहिलो पंक्तिले सिंगो पोखरा र त्यहाँका बिभिन्न जातजाती जस्तो फराकिलो बिषयको उठान गरेको छ भने दोश्रो पंक्तिमा पोखराको बैभव प्राकृतिक सौन्दर्यताको बयान गरेको छ l तेश्रो पंक्तिले पोखरा र पोखरेली समाजको दिनचर्याको बर्णन गरेर पनि चौथो पंक्तिमा हुने रहस्य उद्घाटनको लागि नाटकीय ढंगमा वाताबरण परिवर्तन गरेको छ भने त्यहि धरातललाई टेकेर चौथो पंक्तिमा पोखराको थप बैभवको पर्दा खोलेका छन् l यिनै चार हरफको गागरमा कविले सम्पूर्ण पोखरारुपी सागरलाई जबरदस्त प्रस्तुत गरेका छन् l

उपसंहार
समकालीन नेपाली साहित्यमा लघुकाब्य मुक्तक अति लोकप्रिय बन्दै आएको छ l संस्कृत साहित्यबाट नेपाली साहित्यमा आईपुगेको लघुकाव्य बिस्तारै स्वतन्त्र छन्दमा लेखिंदा यसको रुपमा अनिश्चितता आएको थियो l यसलाई एउटा परिभाषामा बाँध्न ' पोखरा घोषणा पत्र - २०७०' अनुसार चतुश्पदी (चार हरफे) अर्थात रुबाई शैली कोकाव्यलाई नै मुक्तकको मान्यता दिने घोषणा गरे पछि नेपाली साहित्यमा मुक्तकले विशिष्ट रुप लिएको छ l रुबाई शैलीको चोटिलो, पोटिलो मुक्तक चार पदको एक अनुच्छेदमा रहेर पनि यसको आफ्नै आन्तरिक र बाह्य संरचनाका कारण एक लयात्मक, काव्यात्मक, सशक्त र पूर्ण कविता हो l अहिलेको ब्यबहारिक व्यस्ततामा डुबेको समाजमा लामालामा साहित्यहरु सिर्जना गर्न र पढ्न समय निकाल्न नसक्ने अवस्थामा यो छोटो समयमा, अझ यात्रा गर्दागर्दै पनि कागतमा, हातमा, मोबाइलमा जहाँ पनि लेख्न र पढ्न सकिने छोटो मिठो तर कहिले आकासबाट बिजुलीको झट्का दिए जस्तो गर्ने कहिले सागरजस्तै गहिराईमा डुबाउने गागरमा सागर अटाउने विधा हो l

बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 20 श्रावण, 2074

लेखकका अन्य रचनाहरु