घातक अल्जाइमर्स

- भूधरा उपाध्याय

दु:खी हुनका लागि सबैसँग आ-आफ्नै ब्यथा हुँदा रहेछन्। जसलाई पनि अरुको भन्दा आफ्नै ब्यथा ठूलो लाग्दो रहेछ। यस्तै मलाई पनि मेरी आमाले जीवनका अन्तिम समयमा भोग्नु भएको पीडा सबैभन्दा ठूलो लाग्छ। उहाँले भोग्नु भएका ती पीडालाई सम्झिँदा मात्र पनि मेरा आँखा रसाउने गर्छन्। म मेरी आमालाई अल्जाइमर्ससँग जोडेर सम्झने गर्छु।

मेरी आमाको विवाह एघार बर्षको उमेरमा भएको थियो।आफ्नै जेठी दिदीको देवरानी भएर भित्रिनु भएकी उहाँ घरकी कान्छी बुहारी हुनुहुन्थ्यो। मेरो मामाघर सोलु सल्यान र घर भोजपूरको दिङ्लामा थियो। मेरो मावलको हजुरबुवाले दुई दिदी बहिनी एकै घरमा भए माइती टाढा भए पनि आउन जान सजिलो हुन्छ भन्ने सोच्नु भएको रहेछ । छुट्टिएर बस्नु भनेको के हो भन्ने नबुझ्दै मेरी आमाले छुट्टिएर बुहारीको जिम्मेवारी सम्हाल्नु परेको हुँदा कहिल्यै घर छोड्न पाउनु भएन। सासु ससुरासँग बस्नु , साना छोराछोरी र टाढाको माइती भएका कारण उहाँले कहिल्यै माइतीको चौखट टेक्न पाउनु भएन। आमाको बिहेपछि जन्मिनु भएको मामा पछि ठूलो भएर आमालाई भेट्न हाम्रो घरमा आउनु भएको थियो र त्यही दिदी भाइको पहिलोपल्ट भेट भएको थियो।

दिङ्लाको जग्गाजमिन बडाबुवाको अंशमा परेको हुनाले हजुरबुवा, हजुरआमा, बुवा र आमा अरुण नदी तरेर संखुवा- सभा खाँदबारीको पिप्ले भन्ने ठाउँमा बस्न थाल्नु भयो। खाँदबारी बसाई सर्दाको एउटा रोचक घटना बुवाले हामीलाई सुनाउनु भएको थियो -'त्यसबेला आमा सानी तर सुन्दर हुनुहुन्थ्यो रे। त्यो बाह्र हातको फरिया चौबन्दी चोलो अनि कम्मरमा पटुका कसेर काखीमा सानो सानो पोको च्यापेर आमा‌ अघि लाग्नु भयो रे। एकहल गोरु अनि एउटा दुहुनु गाई आमाका पछि लागे रे। आमा गलेर जहाँ थुचुक्क बस्नु हुन्थ्यो ती जनावर पनि उभिरहन्थे रे अनि आमा हिडेपछि आमा कै पछिपछि लाग्थे रे। बुवा चाहिँ पछिपछि लुरुलुरु हिड्नु भयो रे। अरुण नदीमा ती गाई गोरुलाई हेलिदिएर आमा बुवा डुङ्गा चढ्नुभयो रे। आमाबुवासँगसँगै तिनीहरु पनि पारी आए रे।'

म जन्मिनुभन्दा निकै बर्ष पहिले हजुरबुवाको मृत्यु भएको थियो। हजुरआमा र मेरी आमा ( सासु बुहारी ) बीचको सम्बन्ध निकै घनिष्ठ थियो। आमा सधैँ खेतबारीको काम मै व्यस्त हुनुहुन्थ्यो । पहाडको ठाउँ टाढाको खेती बेलुका घर आउँदा राति भइसक्थ्यो। त्यसबेला ढिकी जाँतो पनि गर्नु पर्थ्यो। यी सबै कामले गर्दा आमाको जीवन व्यस्त नै थियो।

म चार कक्षामा पढ्दा हजुरआमा साह्रै बिरामी हुनुभयो। हजुरआमा बाथको बिरामी हुनुहुन्थ्यो। खुट्टामा घाउ भएको थियो। कबिराजको दबाई र गाउँघरमा पाइने जडिबुटीको भर पर्नु पर्थ्यो। त्यसमा पनि आङ् खसेर हिड्डुल गर्न सक्नुहुन्नथ्यो। जति गरे पनि उहाँको घाउ निको भएन। घाउबाट पीप बग्न थाल्यो। गन्हाएर दुर्गन्ध थियो। गाग्रीमा बोकेर ल्याएको पानीले कति नुहाइदिनु ? हाम्रो घरको अलि पर धारो थियो। त्यही धारोमा मेरी आमाले हजुरआमालाई डोकोमा बोकेर लानुहुन्थ्यो। नुहाइसकेपछि सफा लुगा फेराएर फोहोर लुगा धोइधाई गरी घर ल्याउनु हुन्थ्यो। उहाँ जतिबेलै आमालाई खोज्नु हुन्थ्यो तर खेतबारीको कामले आमालाई कहिल्यै फुर्सद हुदैनथ्यो। कान्छी बुहारी भएकोले हजुरआमाले आमालाई 'कान्छी' भनेर बोलाउनु हुन्थ्यो। सधैँ 'तँ' भनेर सम्बोधन गर्ने उहाँले आफू असक्त हुदै गएपछि 'तिमी' भन्न थाल्नु भएको थियो। 'कान्छी म मरेपछि तिमीले दु:ख पाउने भयौ। केटाकेटी सानै छन् कतिबेला पकाएर खुवाउँछ्यौ?' भनिरहनु हुन्थ्यो।

त्यसदिन उहाँले आमालाई छेउमा बस्न अह्राउनु भयो। बुवा पनि सँगै बसिरहनु भएको थियो। आमालाई काम‌कै चटारो थियो। 'म एकछिन खेतमा गएर धान भर्दिएर आउँछु है ।' आमाले भन्नुभयो । हजुरआमाले मान्नु भएको थिएन तर बुवाले 'छिट्टै काम सकेर आउनु' भनेर आमालाई पठाउनु भयो। दुबैजनाले बिरामी मात्र कुरेर बस्दा घरको काम लथालिङग हुन‌ जान्थ्यो। एउटाले घर सम्हाल्नै पर्यो। आमालाई बाटोमा जाँदै आज मलाई धेरै खोजिरहनु भएको छ किनहोला भन्ने मनमा लागेछ। हतार हतार काम सकेर घर आउँदा हजुरआमा बितिसक्नु भएछ। पछि बुवाले भन्नु हुन्थ्यो उहाँको सास 'कान्छी कान्छी' भन्दै बित्यो रे। हजुरआमाको अन्तिम सास नभेटेकोमा आमा‌ सधैँ पछुतो मानिरहनु हुन्थ्यो।

हजुरआमाको मृत्युपछि हामी खाँदबारी बजारको घरमा सर्यौँ। हामी केटाकेटीलाई त गज्जव भयो किनकी स्कूल नजिक भयो तर खेतिपाति चाहिँ टाढा भयो। आमालाई कामको बोझले थिच्यो। घरको काम, खेतिपाति, गाईबस्तु सबै आमाका जिम्मा थिए। बुवा अफिस जाने छोराछोरी सबै स्कुल पढ्ने त्यसमा पनि ठूली फुपूका छोराहरु ( दाजुहरु) समेत पढ्न बस्नु भएको थियो। कर्म नचलेका छोरीहरु भान्छामा जाने प्रचलन थिएन। मेरी ठूली दिदीको बिहे भइसकेको थियो। उहाँ माइती मै बस्नु हुन्थ्यो। उहाँले नै भान्छाको काम सम्हाल्न थाल्नु भयो जसले गर्दा आमालाई केही राहत भयो।

दिन बित्दै गयो। दिदी दाजु पढ्नलाई काठमाण्डौतिर लाग्नु भयो।त्यसबेला खाँदबारीमा दस कक्षाभन्दा माथिको पढाइ हुदैनथ्यो। माइली दिदीको बिहे भयो। ठूली दिदी पनि आफ्नो घरतिर लाग्नु भयो‌। म र भाइ पनि काठमाण्डौ आयौँ। परिवार सानो भयो। आमासँग कुरा गर्ने मान्छे भएन। उहाँ एक्लो हुनुभयो । म बिहेपछि भारतको कोलकाता पुगेँ। दाजुको बिहे भए पनि काठमाण्डौ मै बसाइ थियो। त्यसबेला अहिलेको जस्तो घरघरमा फोनको चलन थिएन‌। भेटघाट पनि टाढाको कुरो भयो।

बुवाले खाँदबारीमा आफू बसिराखेको घर आमासँग सल्लाहै नगरी छिमेकी साहुलाई बेचिदिनु भएछ। छिमेकी साहुलाई हामी काका भन्ने गर्थ्यौँ। घर किनेका भोलिपल्ट काकी हातमा कुचो बोकेर हाम्रो घरमा आइछन्। -' गुरुआमा आजदेखि यो घर मेरो भयो। म त कुचो लाउन आएँ है।'- उनी हातको कुचोले हाम्रो घर बढार्न थालिछन्। आमाले छक्क पर्दै भन्नु भएछ -'यो के भनेको ? मेरो घर कसरी तपाईको हुन्छ?' यत्तिकैमा बुवाले घर बेचिसकेको जानकारी दिनु भएछ। आमालाई ठूलो सद्मा लागेछ। घर बेचेपछि आमाको व्यवहारमा ठूलो परिर्वतन आएछ।

आमा कसैसँग पनि धेरैबोल्नु हुन्नथ्यो। छोराछोरी, नातिनातिना कोही साथमा भएनन्। एकोहोरो काममा मात्र लागिरहनु हुन्थ्यो। घरमा फोनको व्यवस्था भइसकेपछि कहिले काही म फोन गर्थेँ तर आमा मेरो फोन भनेर विश्वास नै गर्नु हुन्नथ्यो। खाली दुलही बोलेकी हो मात्र भन्नु हुन्थ्यो। 'हैन आमा म कान्छी छोरी बोलेको!' - म फोनमा यसै भन्ने गर्थेँ। आमाले मलाई चिन्नु भएन भनेर चित्त पनि दुख्थ्यो । आमा बिस्तारै मानसिक रोगी हुदै जानुभएको रहेछ। पहिला पहिलाको कुरा याद हुने तर तत्कालका कुरा सबै बिर्सिने। दाल तरकारीमा कहिले नुन हाल्न बिर्सिने त कहिले दुई तीनपल्ट पनि नुन हालिदिने । देखिराखेका मान्छेलाई चिन्नु हुदो रहेछ तर नदेखेकालाई बिर्सन थाल्नु भएछ। म यी सब कुराबाट अनभिज्ञ थिएँ।

आमाको अवस्था दिन प्रतिदिन कमजोर हुदै गएकाले औषधि उपचार गर्न दुवैजना काठमाण्डौ आउनु भएको रहेछ। भेटघाट नभएको धेरै भएकोले मलाई काठमाण्डौ बोलाउनु भयो। म आएर बैठकको सोफामा मात्र बसेको थिएँ, बुवाले आमातिर हेर्दै भन्नुभयो -' लु तेरी कान्छी छोरी आई। मन लागुञ्जेल सुम्सुम्याउँछु भन्थिस् त । अब सुम्सुम्याएर बस्।'
फेरि बुवाले मतिर हेर्दै भन्नुभयो-'जा आमाको छेऊमा गएर बस् ।'

म घरकी कान्छी छोरी भएकोले होला लाडिदै आमाको छेऊमा गएर बसेँ। आमाले मेरो टाउको मुसार्नुभयो। जीउभरि सुम्सुम्याउनु भयो। बैठक कोठाभरि बुवा, दाजुभाउजु, दिदी, दिदीका छोरीहरु,भाइ, दाजुका छोराहरु सबै बसेका थिए। सबैको अनुहार हाँस्दै हेरेँ। कोही पनि हाँसेको देखिन। बुवालाई हेरेँ। बुवा आँसु लुकाउदै हुनुहुन्थ्यो। मेरो मनमा चिसो पस्यो। किन कोही खुसी छैन ? आश्चर्य !

आमाले मलाई सुम्सुयाई रहनु भयो। म आमालाई हेर्दै हाँसेँ। आमा पनि मलाई हेर्दै हाँसिरहनु भएको थियो। निकै बेर सोही क्रम दोहोरिरह्यो। एक्कासी आमा रुन थाल्नु भयो। म झन् आश्चर्यमा परेँ। अब सुम्सुम्याउने पालो मेरो थियो। 'के भयो आमा? - 'आमाको पाखुरा मुसार्दै आमातिर हेर्दै मैले सोधेँ।
सहस्रधारा आँसु चुहाउदै आमाले भन्नु भयो -'के आउँथी त्यो, आउँदिन।'
'आमा ! म कान्छी होइन? आएँ त '- मैले रुदै आमालाई घच्घच्याएँ।
आमा‌ केही बोल्नु भएन। मैले बैठक कोठामा बसेका सबैलाई सरसर्ती हेरेँ। सबै मूक दर्शक बनेर हामी आमा छोरीलाई नै हेरिरहेका थिए। आमाको व्यवहार देखेर म छक्क परेँ । अझ भनौँ हामीलाई हेरेर बसेका सबैलाई देखेर म तीनछक्क नै परेँ। मैले केही बुझ्न सकिन, आखिर के भइरहेछ?'

बेलुका खाना खाइसकेपछि बुवाले नै मलाई आमाको स्वास्थ अवस्थाको जानकारी दिनुभयो। भोलिपल्टदेखि आमाको उपचारमा म पनि सँगै हिड्न थालेँ। डाक्टर बसन्त पन्तलाई जँचाउन गइयो। त्यहाँ डाक्टरसँग केही कुराकानी भए।
डाक्टर -' आमा ! तपाईका छोराछोरी कतिजना ?'
' खोई ! कतिजना हुन्?' आमाले हातले पनि खोईको इशारा गर्दै जवाफ दिनुभयो।
डाक्टर -'तपाईको जेठो सन्तान छोराकी छोरी ? उहाँको नाम के हो नि?'
आमा -' मलाई थाहा छैन।' बुवालाई देखाउँदै ' उहाँलाई सोध्नु न।'
डाक्टर मतिर देखाउँदै -' उहाँ को हो नि?'
आमा मलाई हेर्दै हाँस्नु भयो अनि भन्नु भयो -' मलाई थाहा छैन।'
म छाँगाबाट खसे झैँ भएँ। आमाले त मलाई चिन्नै छोड्नु भएको रहेछ। विभिन्न चेकजाँच गरियो‌। औषधि पनि ख्वाउन थालियो। कुनै रिपोर्ट भोलिपल्टसम्ममा‌ आउनेवाला थिए भने कुनै सात दिनसम्म कुर्नु पर्ने भयो। एकदिन दिउँसो कोठामा‌ कुरा गर्दै बसिरहेको बेलामा आमाको अनुहार एक्कासी रातो रातो भयो। 'आमा के भयो ?' मैले सोधेँ। आमाले केही जवाफ दिनु भएन। मैले फेरि सोधेँ -'दुख्यो आमा?'
आमा -'दुख्छ नि!'
- 'काहाँ दुख्यो आमा?'
- 'खोई काहाँ हो काहाँ !'
आमाको यस्तो जवाफपछि बुवाले भन्नु भयो -' आमाका निकैवटा दाँत हल्लिएका छन्। तिनै दुखेका होलान्।'
मेरो दाजु डिएसपी हुनुहुन्थ्यो । उहाँको सल्लाह अनुसार भोलिपल्ट बिरेन्द्र प्रहरी अस्पतालमा जाँच गराउन गयौँ। आमाका हल्लिएका दुईचारवटा दाँत खोलेर थोते बनाएर घर ल्यायौँ। कहिले काही आमाले छेउछाउमा भएका लुगाहरुको बोक्नु हुन्थ्यो अनि बुवालाई जाउ भन्नु हुन्थ्यो । -'काँहा जानु ?' बुबा सोध्नु हुथ्यो।
आमा -'तपाईकी आमा र मेरी आमाले बोलाइरहनु भएको छ, त्यही जाउँ।'
बुवा -'तेरी आमा र मेरी आमा दुबै मरिसक्नु भयो। काँहा जानु हामी?' यसपछि आमा चुपचाप बस्नु हुन्थ्यो।

डाक्टर बसन्त पन्तका चेकजाँचका सबै रिपोर्टहरु आए। तोकिएको समयमा हामी फेरि आमालाई लिएर पुग्यौँ। डाक्टरले आमालाई ' अल्जाइमर्स ' भन्ने रोग लागेको जानकारी दिए। यो रोग लागेपछि निको हुने कुनै उपाय छैन भन्ने थाहा भयो। सुनेर साह्रै नरमाइलो लाग्यो।
- 'यो कस्तो रोग हो त ?' हाम्रो जिज्ञासा थियो।
- 'अल्जाइमर्स यस्तो घातक रोग हो जसले मानव मस्तिष्कका स्मरण कोषलाई बिस्तारै निष्क्रिय र मृत बनाउँछ फलस्वरुप मानवको स्मरणशक्ति ह्रास हुदै जान्छ र रोगीको मृत्यु हुन्छ।'
हामी जिल्ल परेर डाक्टरलाई हेरेको हेर्यै भयौँ।

डाक्टरले फेरि भने - ' कहिले काही ओखर फुटाउँदा देख्नु भएको होला गुदी सुकेर बोक्रोलाई छोडेको। हो त्यस्तै उहाँको दिमाग पनि सुक्ने क्रममा छ। यो जतिजति सुक्दै जान्छ, त्यति नै सबै कुरा बिर्सिदै जानु हुन्छ। दिमागको शरीरसँगको सम्बन्ध टुट्दै जाने हुँदा शरीरका कुनैपनि अङ्गले काम गर्न जान्दैनन्। यो बुढ्यौलीमा लाग्ने रोग हो। उहाँलाई चाडैँ लाग्यो। उहाँ पागल होइन, खाली बिर्सदै जाने मात्र हो।'

यो कुरा सुनेपछि दाजुले म आमालाई अमेरिका लगेर उपचार गराउँछु भन्नु भयो तर डाक्टरले अमेरिकाको राष्ट्रपति रोनाल्ड रेगनलाई यही रोग लागेको बताए। उनी त्यसबेला औषधि उपचार कै क्रममा रहेछन्‌।त्यहाँ पनि अल्जाइमर्सको प्रभावकारी उपचार हुदो रहेनछ। नेपालबाट गएर डलरमा औषधि उपचार गर्ने कुरो पनि मध्यम वर्गीय परिवारलाई के सम्भव हुन्थ्यो होला र?
म केही समय काठमाण्डौ बसेर फर्किएँ। आमाको औषधि उपचारपछि आमाबुवा पनि खाँदबारी फर्किनु भयो।

त्यसको एकबर्षपछि म सानो छोराको पालामा सुत्केरी बस्न माइतीघर खाँदबारी गएँ। आमा खुसी हुनुभयो तर घरमा आएको मान्छे को हो भनेर चिन्नु हुन्न थियो। खाना खाएर बुवा अफिस जाँदा आफूसँगै आमालाई पनि लिएर जानुहुदो रहेछ। बुवाको अफिसको तल्लो तल्लामा कपडा पसल रहेछ। आमा त्यही पसलमा बसिरहनु हुदो रहेछ बुवा नआउञ्जेलसम्म। एकदिन बुवाले म घरमा भएको हुनाले आमालाई घरमै छोडेर अफिस जानु भयो। आमा एकछिनसम्म त मसँगै बस्नु भयो। मैले मेरो काखको दुई महिनाको छोरो 'लु है नातिलाई बोक्नु ' भन्दै आमाको काखमा राखिदिएँ । बच्चालाई खेलाउँदै पो हुनुहुन्थ्यो। जुरुक्कै उठ्नु भयो। काखमा बच्चा छ भन्ने पनि उहाँलाई हेक्कै भएन। धन्न बच्चा मैले समाउन भ्याएँ र भूईमा खस्नबाट जोगाएँ। म बच्चा लिएर बोक्दै मात्र थिएँ आमा त हिडिहाल्नु भयो। मैले बोलाउँदा पनि फर्किएर हेर्नु भएन। म आमाको पछिपछि दौडिन सकिन। एक त सुत्केरी काखमा बच्चा अनि ढोकामा लाउने ताला चाबी कता। म के गरुँ र कसो गरुँ भएँ। म अल्मलिदा अल्मलिदै आमा‌ काँहा पुग्नु भयो मैले देख्नै छाडेँ। बाटो हिड्ने एकजना दाइलाई आमा हिड्नु भएको कुरा बुवालाई सुनाइदिनु भनेँ। बुवा झटपट आमालाई खोज्न निस्कनु भयो। आमाको कतै पत्तो लागेन। खाँदबारी बजारबाट डेढ घण्टाको ओरालो झरेपछि टुम्लिङटार हवाइ मैदान आउँछ, आमा त त्यहाँ पो पुग्नु भएछ। आमालाई भेटेर घर ल्याएपछि मैले सोधेकी थिएँ -' आमा ! काहाँ जानु भएको ?'
आमा -'मैले बुवालाई देखिन अनि खोज्दै हिडेको नि!'
बुवा -'सधैँ बस्ने पसलमा बसेकी भए हुदैनथ्यो ?'
-'मैले पसल नै देखिन।' आमाले जवाफ दिनु भयो।

बुवाले आमालाई जहाँ गए पनि साथ मै लिएर हिड्नु हुन्थ्यो। जागिरबाट अवकाश लिएपछि बुवाआमा काठमाण्डौ आउनु भयो। आमाको अवस्था झन् झन् दयनीय हुदै गयो। बुवाले आमाको कपाल कोरिदिनु हुन्थ्यो। निधारमा टिको लाइदिनु हुन्थ्यो। साडी लाइदिन जान्नु हुन्न रैछ त्यसैले पटुकाले फन्फनी बेरेर बाँधिदिनु हुन्थ्यो। आमा आफै खान पनि जान्नु हुन्नथ्यो। बुवाले पहिले आमालाई खुवाउनु हुन्थ्यो अनि मात्र आफू खानुहुन्थ्यो। दिसा पिसाबको पनि टुङ्गो हुन छाड्यो। जहाँ पायो त्यहीँ जहिले पायो तहिले फोहोर गरिदिनु हुन्थ्यो। बुवाले समय समयमा ट्वाइलेट त लानु हुन्थ्यो तर आमा त्यहाँ बस्न नै मान्नु हुन्नथ्यो। आमा बुवा घरको छतमा घाम ताप्न बस्नु हुन्थ्यो। छतमा रेलिङ लगाएको थिएन। बुवा घाममा बस्दा बस्दै निदाउनु हुन्थ्यो। त्यतिबेला आमा काहाँ पुगिसक्नु हुन्थ्यो। आमा छतबाट लड्नु होला भन्ने सधैँ पिर भइराख्थ्यो। बुवाले पटुकाको एउटा फेर आफ्नो कम्मरमा र अर्को फेर आमाको कम्मरमा बाँध्न थाल्नु भयो। बुवा निदाएको बेला आमा निकै पर पुग्नु भयो भने बुवा तानिनु हुन्थ्यो अनि उहाँको निद्रा खुल्थ्यो।

हेर्दा हेर्दै आमा हिड्न पनि छोड्नु भयो। उहाँको दिमागले केही पनि अह्राउनै छोड्यो। उहाँ सुतिरहनु हुन्थ्यो। शरीर स्वस्थ थियो तर दिमाग बिरामी। मुखमा खानेकुरा लगिदिदा पनि आँ गर्न छोड्नु भयो। जबरजस्ती मुखभित्र खानेकुरा राखिदियो निल्न जान्नु हुन्नथ्यो। सासफेर्दा सबै खानेकुरा फुर्फुर गर्दै अनुहारतिर नै फर्किन्थ्यो। आमाले केही पनि निल्न छोड्नु भयो। आमाको यस्तो अवस्था देखेर बुवा धेरै आत्तिनु भयो। इटहरीमा बस्नु हुने बडाबुवा बडीआमालाई बोलाउनु भयो। बडाबुवा ज्योतिष बिद्या जान्नु हुन्थ्यो।उहाँले आमालाई देख्नासाथ छिटोभन्दा छिटो दशदान बैतरणी गर्नुपर्छ भन्नुभयो। भोलिपल्ट बैतरणी गरिरहेको बेलामा आमाले ठूलो मुख बाएर निकै लामो हाई गर्नुभयो। हामी सबै आत्तियौँ तर आमाले आँखा खोल्नु भयो र सर्सर्ती सबैलाई हेरेर आँखा चिम्लनु भयो। साँझसम्म पनि आमाले आँखा नै खोल्नु भएन।

२०६० सालको दशैँ भरखर सकिएको थियो। तिहारको रोनक थपिदै थियो। केटाकेटीको स्कुल बिदा थियो। हामी त्यत्तिबेला घट्टेकुलोमा बस्थ्यौँ भने बुवाआमा सुविधा नगरमा । यातायातको सुविधाका कारण आउजाउ गर्न सजिलै थियो। केटाकेटी सानै भएको हुनाले एक्लै घरमा छोडेर हिड्न मिल्दैनथ्यो । सधैँ बिरामी भएको ठाउँमा लिएर जान पनि झर्को हुन्थ्यो। त्यसैले म बैतर्णी सकिएको भोलिपल्टको दिन घरमै बसेँ। दिदीले आमालाई सारो भयो भने खबर गरुला भन्नु भएको थियो। दिउँसो साढे बाह्र बजेतिर दिदीको फोन आयो। दिदी भन्दै हुनुहुन्थ्यो -'आमालाई उस्तै छ। आँखा हेर्नु भएको छैन। केही खानु पनि भएको छैन। अब तँ आज नआइज भोलि आउनु।' दिदी फोनमा बोल्दै हुनुहुन्थ्यो। नेपथ्यबाट बडाबुवाको आत्तिएको आवाज सुनेँ। 'हरे राम हरे राम! राम राम हरे हरे !! लु है सक्किन् है सक्किन्।'लौ न नि आमालाई के भयो?' भन्दै दिदीले झ्याप्पै फोन राखिदिनु भयो। म घरमा एक्लै थिएँ। आत्तिदै छोराहरु खोज्न गएँ। उनीहरु सधैँ खेल्ने ठाउँमा गएँ। काही पनि भेटिन। फेरि घरमै फर्किएर आएँ। श्रीमानलाई फोन गरेँ। उहाँले नआत्तिकन बस्नु म ट्याक्सी लिएर आउँछु भन्नु भयो। छोराहरु पनि घरमै आइपुगे।

हामी एकैछिनमा आमाबुवा भएको ठाउँमा पुग्यौँ। म सरासर आमाबुवा सुत्ने कोठामा गएँ। भूईमा आमालाई आमा कै बर्को घाँटीसम्म ओडाएर सुताइएको रहेछ। आमाको यसै पनि उज्यालो अनुहार त्यसमा पनि सिउँदोभरि सिन्दूर निधारमा रातो टीकाले धपक्कै बलेको थियो। म आमाको देब्रे हातपट्टी भूईमा पलेटी कसेर बसेँ। बुवा एक छेउमा भक्कानिदै बस्नु भएको थियो। बडाबुवाआमा झ्यालतिर हेर्दै रोइरहनु भएको थियो। भाइ आमाको ओछ्यानमा बसेर क-कसको फोन नम्बर खोज्दै थियो। उसको अनुहार रातो रातो भएको थियो। कसैको फोन लगाएर मेरी आमा बित्नुभयो भन्नु पनि ठूलै साहसको कुरो रहेछ नि। अर्को कोठामा दिदी र बुहारी रोएको आवाज सुनिदै थियो।

मैले सबैतिर नजर दौडाइ सकेपछि दाहिने हातले आमालाई ओडाएको बर्को अलिकति उठाएर देब्रे हात बिस्तारै भित्र छिराएँ।आमाको देब्रे हात च्याप्प समातेँ। बाफ्रे! त्यस्तो चिसो त मैले कहिले पनि अनुभव गरेकी थिइन। आमाको हातमा अनौठो खालको चिसो र कडापन थियो। मैले झट्टै हात हटाएँ अनि अलिकति पछाडि सरेर बसेँ। आमा त मस्त निदाए झैँ देखिनु हुन्थ्यो तर लास बनिसकेको महसुस गरेँ। प्राय: साठी बर्षमाथिको उमेरमा देखिने अल्जाइमर्सले मेरी आमालाई ६३ बर्ष कै उमेरमा ग्रस्त पारी हामीबाट टाढा लिएर गयो। बिस्तारै आफन्त र छरछिमेकी भेला भए। सवबाहन पनि आइपुग्यो। जब आमालाई सेतो कपडामा बेर्ने समय आयो, बुवाले मान्नु नै भएन। 'मेरो अगाडिबाट उसलाई यही रुपमा नै लानु म अरु हेर्न सक्दिन' भन्नु भयो। आमालाई बिरामीलाई एम्बुलेन्समा राखेजस्तै गरेर शववाहनमा राखियो। बिस्तारै शवबाहन अघि बढ्यो। आँखाले देखुन्जेल हामीले सववाहन गएको हेरिरह्यौँ, लगातार हेरी नै रह्यौँ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 20 श्रावण, 2074

लेखकका अन्य रचनाहरु