समय सम्झौता

- केशरी अम्गाईं

‘आजदेखि तपाईंको पाइलामा साथ नै मेरो जीवनको उद्देश्य हुनेछ ।’
‘के हामी परम्पराबाट भिन्न भएर बाँच्न सक्दैनौँ ?’ उसले सम्वादलाई अघि बढायो ।
‘विवाहपछि पतिको मार्गमा हिड्नु नै पत्नीको धर्म हुन्छ । के यो सामाजिक परम्पराबाट अलग बन्दा जीवन सहज होला र ! कुन भिन्नताको कुरा गर्नु भएको हो तपाईंले ?’ उसले जिज्ञासा राखी ।
‘निश्चय नै जिम्मेवारी थपिएकामा छन् । छोराबाट ज्वाइ र छोरीबाट बुहारी बनेपछि सामाजिक परम्परा, मर्यादा र मान्यता अनुसार सबैमा उचित देखिन गर्नु पर्ने व्यवहारको सन्तुलन गर्न नसक्दा पारिवारिक विघटन आउने गरेको छ ।’
‘त्यसमा म सचेत छु तर के गर्दा ठीक हुन्छ, त्यो बाटो देखाउने काम तपाईंको पनि कर्तव्यभित्र पर्छ, हैन र ? म तपाईंको चित्त कहिल्यै दुखाउने छैन– यही सपना बोकेर भित्रिएकी छु यस घरमा ।’
‘मलाई विश्वास छ तिमीप्रति । मलाई लाग्दैन मैले सिकाउनु पर्छ सामाजिक व्यवहारहरू, तिमी आफैं पढेलेखेकी छ्यौ र सामाजिक मर्यादाप्रति सचेत छ्यौ । अनि मैले के सिकाउने ! तर मंैले यो परम्पराको कुरा गरेको थिइन ।’
‘अनि.....’ कोठामा बलेको बत्तीको मधुरो प्रकाशमा उसले प्रश्न सूचम दृष्टि लगाई ।
‘तिमी म बाट स्वतन्त्र छ्यौ ।’
‘अर्थात .... !’
‘विवाह व्यक्तित्वको विलय होइन । त्यसैले म तिम्रो स्वतन्त्र अस्तित्वको पक्षमा छु । हामीले निर्वाह गर्नुपर्ने सामाजिक दायित्वलाई परम्पराबाट भिन्न भएर पूरा गर्न सकिँदैन र । तिमी आम नारी जस्तै विवाह अघिको आफ्नो अस्तित्वलाई विलय गराउन चाहन्छौ ? व्यक्तित्वको विलय– अहिलेसम्मको परम्परा यही देखिन्छ । व्यक्तित्वको अस्तित्व कायम राख्ने एकाध घटनाहरू पनि अहङ्कारबाट मुक्त बन्न सकेको देखिदैन । समयको फड्काइ सँगै हाम्रो चेतना र आर्थिक स्तर केहीमाथि पुगेको छ तर हामी युगौँदेखि एउटै बाटोमा हिडिरहेका छौँ । यो स्थितिलाई किन शिक्षाले परिवर्तन ल्याउन सकेन ? मभित्र एउटै प्रश्न जन्मन्छ बारम्बार– ‘के हो नारीको वास्तविक सपना ? के तिमी बताउन सक्छ्यौ ?’’
‘निश्चय नै एउटी नारी भएको नाताले नारीहरूको आम सपनाको अनुमान तपाईंले भन्दा बढी म लगाउन सक्छु । हुनसक्छ हाम्रो संस्कारगत मान्यता र त्यही धरातलमा निर्मित हाम्रो नारी मनोविज्ञानका कारण हामी भिन्न बन्न सकिरहेका छैनौँ तर म आज आफ्नो कुरा भन्न होइन तपाईंको कुरा सुन्न चाहन्छु । त्यसो त म यही संस्कारको उपज, त्यसबाट पृथक बनेर सुखद भविष्यको कल्पना कसरी गर्न सक्छु ? मलाई संस्कारले यही सिकाएको छ– ‘नारी समर्पण हो ।’ तर तपाईं जुन परम्परामा उभिएर मलाई स्वीकार्नु भयो, त्यही धरातलमा उभिएर त्यसबाट पृथक बन्ने कुरा गर्दै हुनुहुन्छ । अनौठो लाग्दै छ मलाई तँपाईंका कुराहरू । त्यसैले आज मेरा सम्पूर्ण मन तपाईंप्रति समर्पण गर्न चाहन्छु । म तपाईंका कुराहरूको असल स्रोता बन्न चाहन्छु आज ।’
‘म परम्परा विरोधी होइन र विद्रोही पनि । परम्परासँगको विद्रोह असम्भव छैन तर विद्रोह सबैलाई स्विकार्य हुदैन । परम्पराभित्रबाट फरक परम्पराको स्थापना गरेर अनुकरणीय बन्न सक्ने हो भने त्यो कुरा सबैलाई ग्राह्य हुन्छ । परम्परावादी नजानिदो ढङ्गले परिवर्तन हुदै गएका हुन्छन् भने विद्रोहीहरू स्वतः परिवर्तन र सुधारको पक्षमा हुन्छन् ।’ ऊ एकछन चुप लाग्यो ।
‘विवाह सम्बन्धी मेरो आफ्नै धारणा थियो– कमसेकम विवाहमा दुई पक्षको विचार मिल्नै पर्छ ।’ उसले थप्यो ।
‘विचार ! सहमति नै मेल होइन र ? दुवै पक्षको सहमति विना विवाह सम्भव छ र !’ उसले आशङ्का व्यक्त गरी ।
‘मैले दुई कुटुम्बको बीचको पारिवारिक विचारको कुरो गरेको होइन । चिन्तनगत रुपमा एउटै विचारको मार्गमा छैन भने आपसी बुझाइमा अन्तर आउन सक्छ ।’
‘एकाध राजनैतिक कार्यकर्ता बाहेक अरुले वैचारिक पक्षलाई हेरेर विवाह गरेको देख्नुभएको छ ?’
‘त्यसैले त समयको अन्तरालमा मनमुटाव देखा पर्दछ, पारिवारिक विघटन हुन्छ । बाहिर फलाम देखिएका सम्बन्धहरू भित्र धोद्रो हुन्छ । हामी दोबाटोमा बसेर रमिता हेर्ने रमितेहरू एउटालाई दोषी देखिरहेका हुन्छौँ । वास्तवमा दोषको भागिदार दुवै हुन्छन् कुनै न कुनै रुपमा । अझ दोषको कारक तत्वतर्फ हामी आँखा चिम्लिरहेका हुन्छौँ ।’
‘हामीमा त्यो स्थिति आउन दिनेछैनौँ ।’’ उसले प्रण गरी ।
‘परम्परागत मान्यतामा विवाह सामाजिक सम्झौता हो । तर के विवाहलाई अलग सामाजिक अस्तित्वका रुपमा स्विकार्न सकिदैन ? सम्झौताम धेरै कुराहरू छाडिन्छ, हैन र ? अस्तित्वमा धेरै कुराहरू लिइन्छ, नयाँ कुराहरू स्थापित गरिन्छ । हुन त मान्यताहरू आफ्नै आफ्नै हुन्छन् । मेरो विचारमा दुई अलग नदीको मेल हो विवाह, निश्चय नै दुई नदीको सङ्गमपछि नयाँ नदी बन्दछ तर पानीको स्वतन्त्र अस्तित्व हराउँछ र ! प्रदुषित नबनाउने हो भने संयुक्त नदीको पानी पिउन लायक हुन्छ ।’
‘मैले अलि धेरै नै बोलेँ ।’ क्षणिक मौन विश्रामपछि उसले भन्यो ।
‘तँपाईका विचारहरू सुन्न पनि आनन्द लागिरहेको छ मलाई ।’ उसले भनी ।
‘हो, एक अर्कालाई राम्ररी बुझ्न नेै बाँकी छ हामीमा । यो समय सँगै अघि बढ्ने नै छ । वैवाहिक सम्बन्धलाई नयाँ ढङ्गले जोड्नु पर्छ भन्ने मान्यता हुँदा हुँदै पनि बाबु–आमाको इच्छा र परम्पराको परिधि भित्र रहँदा विचार पक्षलाई स्थान दिइएन । तिमी यसलाई मेरो कमजोरी ठान्छ्यौ कि परम्पराप्रतिको सदासयता, तर यसो हुनुहुदैनथ्यो– मेरो मान्यता ।’ उसले भन्यो ।
‘मलाई कुनै गुनासो छैन । तपाईंको विचारमा विचार महत्वपूर्ण होला तर मेरो विचारमा त्यसले त्यति महत्व राख्दैन । बाबु–आमाको रोजाइमा विवाह गर्ने अनि प्रेम गर्ने संस्कारमा हुर्किएका यस समाजका आम नारीहरू विचारसँग होइन भावनासँग सरोकार राख्छन् । विचार जन्मदै कसैले लिएर आएको हुँदैन त्यसैले यो परिवर्तनशील हुन्छ । भावनात्मक सम्बन्ध गाँसिएपछि विचार स्वतः प्रभावित हुन्छ वा गौण हुन्छ । सामान्यतया यही देखिएको छ, हैन र ? हाम्रो समाज र सामाजिक परम्पराको विशेषता नै यही नत्र हाम्रो समाजको दाम्पत्य सम्बन्ध पनि उहिल्यै पश्चिमा मुलुकको जस्तै खुकुलो भइसक्थ्यो । कतै म बढी त बोलिन ?’ ऊ समर्पित हुन खोजी ।
‘यी सम्बन्धहरू बाह्य रुपमा मात्र मजबुत छन् । अधिकांशतः अस्तित्वको विलयमा प्रताडित भइरहेका छन् शारीरिक वा मानसिक रुपमा । त्यसबाट मुक्ति नै नयाँ परम्पराको थालनी हो । के हामी त्यसको शुरुवात गर्न सक्दैनौँ ? पारिवारिक आदर्श र सामाजिक कर्तव्य बीचको एकात्मकता, आदर्श र यथार्थ बीचको समन्वय के सम्भव हुन्छ ?’ उसले प्रश्न ग¥यो ।
‘किन ? म माथि विश्वस छैन र ! कतै मलाई बाधक देख्नु भएको त होइन ?’
‘होइन, म अझ स्पष्ट बन्न चाहन्छु । पूर्ण भरोसाको कारण नै त यी कुराहरू गरिरहेको छु मैले ।’
‘अनि किन त आजै अन्तिम निर्णय गर्नै पर्ने झैं कुराहरू लम्ब्याउँदै हुनुहुन्छ ?’ उसले प्रश्न गरी ।
अब धेरै बोल्नु बुद्धिमानी हुँदैन, उसले यही बुझ्यो । ‘विवाह अघिका हामीभित्रको आदर्शलाई विवाहपछि पनि ज्यूँदो राख्न सकिन्छ कि ! मेरो आग्रहमात्र हो ।’ उसले कुरा टुङ्ग्याउने हिसाबले भन्यो ।
‘कम्तिमा पनि हामी पूर्ण प्रयास त गर्न गर्न सक्छौँ नि ।’ उसले लामो हाइ निकाल्दै भनी ।
यसरी उनीहरूले सम्वादमा परिवर्तन भएको जीवनको दोस्रो चरण अर्थात नयाँ जीवनको पहिलो रातलाई सम्वादबाट मुक्त गराए ।
उनी नारी थिइन्– लज्जालाई गहना ठान्ने किनकि संस्कारले त्यही सिकाएको थियो । विद्रोह त ऊ पनि गर्न चाहन्थी तर परिवर्तन गर्ने नाउँमा बाबु–आमाको विश्वासलाई धुलोमा मिलाइदिन पनि चाहन्न थिई । त्यही संस्कार यहाँ पनि देखियो । ऊ अलग्गै पल्टी । ऊ पुरुष थियो–परिवेशलाई त उसले सहज बनाउनु पर्ने हो नि, त्यसैले सम्वाद शुरु गरेको थियो । उसलाई लाग्यो सम्वादले झन बोझिलो बनायो वातावरणलाई । कता कता आफ्नै शब्दसंवाद र विचारदर्शनको बोझले थिचिए जस्तो महसुस गर्दै थियो ऊ । उसले त्यो असहज समयसँग सम्झौता ग¥यो र वातावरणलाई सहज बनाउदै भन्यो–
‘हुन्छ अब सुतौँ, प्रयोगकालागि सिङ्गो यात्रा बाँकि छ ।’
उसले केही भनिन ।
यसरी शुरु भयो उनीहरूको सहयात्रा ।
गोरखा ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 20 श्रावण, 2074

लेखकका अन्य रचनाहरु