हाम्रो परिवेशका कथाहरुः सम्बन्धका घुम्तीहरु

- होम सुवेदी

कथाकार इन्दिरा दीक्षितका सबै कथा एकएक गरेर मैले पढें । अझ यसलाई यसो पनि भन्दा हुन्छ उनका कथाहरु अक्षरअक्षर गरेर मैले पढें । छक्क पर्नुहोला, एकपटक मात्र हैन दुईपटक पढें । मलाई सारै खुसी के मानेमा लाग्यो भने नेपाली साहित्यको कथा विधामा अब नयाँ एक कथाकारको उदय भयो । यसमा मानेमा मलाई सारै नै हर्ष लाग्यो र अझ उनका कथाहरुलाई झन् गहिरिएर पढ्ने काममा मैले आफूलाई धसाएँ, तर जतिसम्म मैले अध्ययनको गहिराइमा पुगेर तिनलाई अध्ययन गरेें त्यसको तुलनामा मैले यहाँ तिनको गहिराइको सही मूल्य तोक्ने काम भने गर्न सकिनँ भन्ने लाग्दालाग्दै पनि कलम चलाउन थालें । यो स्वाभाविकै रहेछ, अनुभव गरिएको र मनले बुझेको विषयलाई जस्ताको तस्तै लेख्य भाषामा बाहिर प्रकट गरेर वा लेखेर अभिव्यक्ति दिन नसकिंदो रहेछ । यो बोध गरेर पनि म फेरि पनि कथाहरुको पहिलो दुई दुई पटक पढ्ने आस्वादक भएको हैसियतमा केही लेख्न बसें । सबै कथाहरु पढिसक्तै त्यस कथाको मर्म र त्यसबाट कथाकारको दृष्टिकेन्द्र के हो भनेर अध्ययन मनन र चिन्तन समेत गरें ।
गजब लाग्छ मलाई मैले यसरी र यस रीतले गुरुप्रसाद मैनालीका कि कोइरालाका र कि देवकोटाका कथाहरु मात्र पढेको थिएँ । तिनलाई त्यसरी मैले किन पढेको थिएँ भने तिनका कथाहरुमध्ये उत्तम छान्न र उत्तम ठहरिएको कथालाई पद्यबद्ध गर्ने लहड लिएको हुँदा त्यसरी पढेको थिएँ । तर यहाँ पद्यबद्ध गर्ने हेतुले पढिएको हैन । यहाँ ता यिनलाई शुद्धाशुद्धी हेरेर सच्याउने उद्देश्यले मैले पढेको थिएँ । पढ्दा पढ्दै शुद्धाशुद्धीका कुरा हटेर अनुभव र रसास्वादनतिर लागिएको कुरा पनि स्मरणीय छ । यसैले यहाँ फेदैमा भने यसमा रहेका अशुद्धीहरु मेरै कारणले हो कथाकारको दोष यसमा रहेको छैन । अब यो पक्षलाई यहीं छाड्छु र म अर्कातिर लाग्छु ।
कथा मानवजीवनका पाइलापाइलामा पाइन्छन् । यसैले मानव जीवनलाई नै कथा भनिएको छ । हो, यही जीवनको परिधिमा कथाहरु छरपट्ट छन् देख्नेहरुका लागि, अनुभव गर्नेहरुका लागि । तर जो कथाको मर्मज्ञ हुन्न उसलाई आफैं एउटा विशेष कथा हुँ भन्ने भान हुन्न जबकि अर्काे कथाकारले त्यसैभित्र कथाको सुन्दर अनुहार देख्न सक्छ । जीवनको भोगाइमा सर्वत्र कथाहरु परिक्रमित छन्, सही रुपमा परिभ्रमित गरेको अवस्थामा । सबैले यसरी छरिएका कथाहरुलाई देख्दैनन् तर एक सूक्ष्मदर्शक कथाकारले भने सजिलैसँग देख्छ । खोज्नु मात्र पर्छ सबैतिर कथा भेटिन्छन् ।
यस तथ्यलाई कथाकार इन्दिरा दीक्षितले भने बडो सहज रुपमा लिनुभएको छ, देख्नुभएको छ । आफ्नै घरदैलोका, आफ्नै कार्यालय परिसरका, आफ्नै बाटोघाटोका चोकटोलका गल्ली र गौंडाहरुबाट र आफ्ना यात्राक्रमबाट उहाँले कथा केलाउनु भएको छ, टिप्नुभएको छ । कथा टिपेर मात्र नभई उहाँले तिनलाई बडो बठ्याइँका साथ मालाका रुपमा उन्नुभएको छ । अब कुन कथामा के छ, कुन कथा केकस्तो छ भनेर थोरैमा मात्र केही भन्ने पक्षमा छु म ।
वास्तवमा थोरै मात्र भन्छु, कथाकार दीक्षितका कथाहरुमा सामाजिक परिवेश सुस्पष्ट छ, समाजका अन्तरकुन्तरमा रहेका र कसैका आँखामा नगएका झिनामसिना कुराहरु आएका छन् र यथार्थ रुपमा चित्रित छन् । उहाँले जीवनको उत्तराद्र्धपछि र निवृत्तकालका पात्रहरु र तिनको जीवनचर्या एवम् गतिविधिलाई बढी छान्नुभएको छ, छान्न मान्नुभएको छ, तिनकै जीवनका तितापिरा कुराहरु आएका छन्, तिनै कुराहरुले कथामा स्थान पाएका छन् । जीवनको उत्तराद्र्धकालका पात्रहरु बढी छनोट गरिएकोले उहाँका कथाहरुले उत्तरायणकालीन जीवनलाई बढी देखाउँछन् । त्यस्ता निवृत्तहरुका कथाव्यथा, तिनका जीवनका पूर्वघटनाहरुको संस्मरण, अघि पाएको दुःख व्यथा, तिनको विगत जीवनको चारित्रिक विशेषहरुलाई व्यक्त गर्ने काम भएको छ । यो पक्ष अलिक बढी देखिन्छ यद्यपि यसबाहेक अरु तहबाट पनि पात्र र कथावस्तु चयन गरिएकै छ । छिचरो स्वभाव भएको अनौठो मित्रको कथा अनौठो मित्र कथामा, नारीको माया वा प्रेमलाई लत्याएर अर्कातिर लाग्ने हुतीहारा पुरुषको कथा शीला कथामा, अरुको साथ नपाएर मानसिक रुपमा आहत भएका डाक्टर विद्यानन्दको कथा अवकाश प्राप्त जीवन कथामा, मधिसे रइसलाई छोरीको इच्छा विपरीत विवाह गरिदिएको परिणाम रमिला कथामा, अमेरिका जान पाए पात पातपतिङ्गरसँग पनि विवाह गर्न इच्छुक हुने नारीहरुको कथा अनमेल विवाह कथामा, आजका किशोरकिशोरीको अपरिपक्व गतिविधिको प्रदर्शन अपरिपक्व कदम कथामा, सोच विचारै नगरी विवाह गरेको कारणले सौतामाथि परिएको अवस्थाको वयान असुरक्षित मनस्थिति कथामा देखाइएको छ । यसै गरी आर्थिक नाकाबन्दीका कारण हाकिम साहेबहरुले सम्म पाएको कठिनाइ र परेको समस्याको कथा हाकिम साहेबको दैनिकी कथामा, बेरोजगारीको कारणबाट उत्पन्न समस्या अभावले निम्त्याएको यथार्थ कथामा, सोमबहादुर र अनिताको पन्ध्र वर्ष पुरानो घटनाक्रमलाई बडो तारतम्य मिलाउँदै पेस गरिएको छ, अनिता कथामा र यसै गरी साहित्य वा कविताको लतमा लागेर जागिरै छोड्ने र परिवार चौपट पार्ने कविहरुको कथा कविजी कथाले देखाउँछ । विवाह भएकी नारीहरुमध्ये पतिमाथि वास्तै नगरी लगातार माइतीकै मात्र वास्ता गर्ने मानिसकता भएका कतिपय नारीहरुको स्वभावाई शैली कथाले देखाएको छ । अनमेल विवाहका कारण निल्नु न ओकल्नु भएको अनुपाको जिन्दगीको कथाव्यथा अनुपा कथामा छ । प्रेम विवाह गरेका कारण परिवारबाट बहिष्कृत हुन पुगेका डा रमेशराजको मनभित्रको पीडा भित्री घाउ कथामा छ । अरुले तपाईं भनोस् नभनोस् आफैं मपाईं भनाउन रुचि भएका शर्माको चरित्रमा पाइने विशेषता शर्माजीको चारित्रिक विशेषता कथामा आएको छ । उपत्यका बाहिरको केटा र उपत्यकाको धनाढ्यकी छोरीको बिचमा भएको विवाहबाट उब्जने मानसिक गुम्स्याइको कथा गुम्सिएको घाउ जस्ता कथाहरुमा आएको छ । विदेशमा पसेकाहरुलाई जसरी पनि विदेशै बस्नु पर्ने कुराको खुलासा विदेश पलायनले निम्त्याएको यथार्थ, कथाले यथार्थ र मार्मिक रुपमा अभिव्यक्ति दिएको छ । हर्कबहादुरको सपना कथामा नेपालको २०७२ सालको भूकम्पले पुगाएको दुःखद अवस्थाको पत्रात्मक शैलीमा वर्णन छ । विदेशतिर गएकाहरुलाई बाबुआमाले के सोचिरहेका हुन्छन् भन्ने कुरा देखाइएको छ । कमला बजै, महिला हुनु दोष हो र ? लोग्नेमान्छे, जस्ता कथाहरु नारी पुरुष मनोविज्ञानका प्रतिनिधि कथाका रुपमा आएका छन् । यसरी उहँक सबै कथाहरुल्े समाजका उतारचढाव, मानसिक उथलपुथल र घरेलु वा व्यक्तिगत उद्वेलनहरुलाई देखाउँछन् । आकारमा उहाँ अलि लामो आकारमा कथा लेख्न रुचाउनु हुन्छ ।
अब सारमा के भन्न सकिन्छ भने यस सङ्ग्रहका यी सबै कथाहरु कथाकार इन्दिराका सामाजिक पाटोबाटै टिपिएका हुँदा यी सबै सामाजिक कथा नै हुन् । पात्र, घटना, कथावस्तु लगायत सबै समाजिक छन् । यी शीर्षकहरु प्रतीकात्मक छन् । कथाले चित्रण गरेको समाज नेपालमा पाइने र आँखाका अघिकै छ यसैले यी सबै कथा यथार्थवादमा अडेका छन् । कथाकारले देखे भोगेकै कथाहरु हुन् । यिनमा कतै अविश्वसनीयताको कुरा देखिन्न । मनभित्रका पीडा, उतारचढाव, भावुकता, बेथा, छटपटीहरु पनि पर्याप्त पाइने हुनाले कथामा मनोवैज्ञानिक यथार्थको पनि रामरी चित्रण छ । यस मानेबाट हेर्दा मानिसक द्वन्द्व र उहापोहको निकै सुष्ठू प्रयोग गरिएको छ । यहाँ यौन मनोविज्ञानको पाटो कम छ वार्धक्य मनोविज्ञान बढी छ । कथामा कथातत्वसँग वर्णन पनि पर्याप्त आएको छ । यस अर्थमा यस कृतिभित्रका कथाहरुमा धेरथोर निबन्धका गुणहरु पनि यी अन्तर्भूत हुन पुगेका देखिन्छन् तापनि कथाकै तत्वको बाहुल्यता छ नै ।
एउटा कुरा भने अलकि खट्किदो खालको छ तापनि दोष भने त्यो हैन, इन्दिराका कथामा वर्णन बढी हुन्छ, सम्वाद कम हुन्छ । सम्वादको अनिवार्यता नभए पनि सम्वादात्मकता कथाको गुणहरुमध्येको एक हो । त्यो कमी बुझिन्छ । यसबाहेक उहाँका कथाले लामो समय लिने गरेको छ । लमो घटना क्रमलाई पूर्वदीप्ति शैलीको उपयोग गरेको भए यो समस्या सजिलै सममाधान हुने थियो । यसबाहेक कथामा नमिल्ने कुराहरु उति देखिन्नन् ।
कथाकार इन्दिराको कथाको सम्वाद पात्र अनुकूल र पात्रको सामाजिक परिवेश अनुकूलकै छ । अनि वर्णनमा पनि सरलता बढी छ । विभाषी शब्दहरु छैनन् भने पनि हुन्छ । कथामा कौतूहलताको कमी छैन । आजको कथामा देखिएको स्वैरकल्पनात्मकता र अकथात्मक वा प्रयोगशीलताको यहाँ लगभग गन्ध आएको छैन । परिष्कृत भाषा शैलीको प्रयोग छ । अहिलेको युगका यथार्थतालाई सर्लक्क देखाइएको छ । सरल तत्सम शब्दहरुको मात्र प्रयोग छ । कथाकारको निजी जीवन उच्चस्तरीय परिवेशसँग आबद्ध भएकोले नेपाली उच्च आदरार्थी (दरबारिया) भाषालाई स्थान र अवस्था विशेषमा सुमधुर रुपमा उपयोग गरिएको छ । अरु यस सङ्ग्रहका कथाहरुमा भएका विशिष्टताहरुलाई अझ गहिराइका साथ पहिल्याउन ता कथाहरु पढ्नै पर्छ ।
कथाकारलाई आफ्नो जीवनको पहिलो कृतिसन्ततिको जन्माउनु भएकोमा हार्दिक वधाई भन्दै म यहीं विश्राम लिन्छु ।

सहप्राध्यापक, तथा अनुसन्धान समिति प्रमुख
नेपाली शिक्षण विभाग,
मेची बहुमुखी क्याम्पस, भद्रपुर, झापा

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 29 आसाढ, 2074

लेखकका अन्य रचनाहरु