सम्पादकको मृत्यु

- पेशल आचार्य

कवि दिनेश अधिकारीले लेखेका छन् –
‘सम्पादकहरू
कठै ! आफैँ हुर्काउँछन्
आफैँले पुज्नु पर्ने
भगवान्हरू ।’
कहिल्यै सम्पादन कर्म नगरेका अधिकारीलाई सम्पादकको कत्रो पिडा महसुस भएको ? कुन्नि किन चित्रण गरेका होलान भीमकाय चित्र ? आसय के ?
जुनसुकै कालखण्डका सम्पादकहरूको सबैभन्दा ठूलो र अदृश्य सुनामीमय वेचैनी भनेकै आफूले हुर्काएका लेखकहरूलाई पुज्नु हो । कठै ! बोल्दैनन् ती आफूले हुर्काएका लेखकहरूका सामु औपचारिक तवरमा ह्याकुलो जोडेर । पिठ फर्काउछन् ती आफ्ना अनुज लेखकहरूका सामु । अझ कन्डापछाडि त कुरा काट्छन् होला –बेधड्क । हियो तीतो पारेर मन नपराई नपराई बोक्रे प्रशंसा गर्नु ती अनाम सम्पादकहरूको उकुचपल्टेको बेथा नै हुन्छ । जसको औषधि संसारको कुनै शारीरिक र मानसिक अस्पतालहरूमा सम्भव थिएन, छैन र हुँदैन ।
लेखन भनेको अलमस्तीसँग खेलिने यायावरीय मस्तिष्क खेल हो । जसका विनियम शारीरिक, इनडोर र आउटडोर गेमभन्दा फरक हुन्छन् । पार्थक्यताको नेट र परिसिमाभित्र जहाँ कोचरले आफ्नो खेलाडीमा आफ्नै अनुहार पढ्छ । ऊ आफ्नो शिष्यको सफलतामा सानदारसँग पुलकित भैदिन्छ । मैदानमा विपक्षीले आफ्नो शिष्यका अघि निउरमुन्टी लगाउँदा कोचर विशालकाय शरीर लिएर ट्रफी थापिरहेको खेलाडी शिष्यमा नै गौरवानुभूति गर्छ । आफ्नो सम्पूर्ण बाली पाकेको र त्यसलाई सकुसल भित्र्याउन पाएकामा अझ खुसीले फुलेल हुन्छ । अपरिमित खुसीका उच्छवासहरू मग्मगी सुगन्धित भएको एहसास गर्छ । संसारकै खेलमा यस्तो संविधानलाई न शिष्यका तर्फबाट प्रश्न गरिन्छ न प्रशिक्षककै आँखामा अविश्वास ।
शब्द खेलमा उस्तो छैन जस्तो शारीरिक खेलमा जँचेको छ ।
शारीरिक खेल अघि पनि विपक्षीहरू अँगालो हाल्छन् । भीमकाय भीडन्तमा अनेक तिकड्म र मारमुङ्ग्री हुन्छ । अनेकन छिर्के हानिन्छन् –जित्नका लागि । तर जब जीतहारको घोषणा हुन्छ । फेरि खेलाडीहरू अँगालो मारेरै खेल मैजारो गर्छन् । खेल पनि राजनीति नै हो तर खेलको राजनीति र राजनीतिको खेलमा आकासपाताल अन्तर हुन्छ । फरक के हुन्छ भने खेलमा निहत्था भई अङ्कमाल गरिन्छ भने राजनीतिमा बगलीमा छुरा बोकेर ।
शब्द खेलचाहिँ तेस्रो प्रकारको छुपे रुस्तम हुने प्रक्रिया हो ।
लेखन प्रकारान्तरले पागलपनको सनक हो । एउटा नेटवर्किङ् मार्केटको प्रशिक्षकले आफ्ना सामानको बेपार गर्ने सिलसिलामा हाम्राअघि उभिएर ‘पागल’ शब्दलाई व्याख्या गर्दा लगाएको अर्थ कम्ति मार्मिक थिएन । ‘पा’ भनेको पाउने प्रयासमा, ‘ग’ भनेको गम्भीर भएर ‘ल’ भनेको लगनशील भई बेधड्क लाग्नु नै ‘पागल’ हो रे ! भनेको सुनेपछि एकाएक चौकिएथेँ –म । अन्डर एसएलसी त्यो मार्केटिङ्ग गर्ने भाइले फोक्सो देखिको बल निकालेर आफू र आफ्ना स्वास्नी, छोराछोरीको पेटका लागि त्यति कलात्मक शैलीमा आफूलाई ग्राहकका सामु प्रस्तुत गरेपछि कुनै पनि ग्राहक सामान किन्न आतुर भैदिन्थ्यो । कास दुनियाँ ! पापी पेटले प्रमाणपत्र चपाउन मिल्दैन । आफैँ आफ्नो बेबहार विश्व विद्यालयको प्राध्यापक हुनु पर्छ ।
मानिसहरू बाँच्नका लागि नाहकमा अनेकन यत्न गर्दारहेछन् । नमन छ ‘सफ्ट आर्ट’ तेरो कला पस्कने ज्यूँदो शैलीलाई ! अर्काको गोजीको पैसा आफ्नो गोजीमा नछोइकन खुसहाल परिस्थितिमा ल्याउन नै संसारका सबै जीवित दर्शन र दाउनको जन्म भएको हो । बल प्रयोग पछि त आफसे आप भैदिन्छ –फौज्दारी यत्न ।
त्यसै दिनदेखि मलाई सप्रसङ्ग व्याख्या मन परेको हो ।
ड्ड
एकपटक धेरै राजनीतिज्ञहरू धरहराको टुप्पामा चढ्न दौडिए । फूर्तिलो चाहिँले आफू अघि गएपछि धरहराको टुप्पोमा चढ्न भरेङ्को प्रगोग ग¥यो । जब ऊ धरहरा चढ्यो अनि आफू माथि पुग्न धरहरामा लगाएको भरेङ् माथि गएपछि झारी दियो । आफू माथि त पुग्यो तर उसलाई फेरि आफूले तल झर्नु पर्छ भन्ने हेक्का नै रहेन । उसले तल ओर्लनु थियो । फेरि ऊ आफ्ना प्रतिद्वन्द्वीसँग भरेङ् माग गर्न थाल्यो । विपक्षीहरू आफू दौडमा हारिसकेकाले भरेङ् लिएरै त्यहाँबाट बेपत्ता भैसकेका थिए । माथि जाने मानिस अलमल्लमा प¥यो । निनानसेकमा निरुपाय भई कर्कषावाजमा रुन थाल्यो ।
यथोचित कथाले सम्पादकलाई किंचित पात्र बनाएको सन्दर्भ हो –यो ।
धेरै सम्पादकहरूको हविगत दौडमा जित्ने र धरहराको टुप्पोमा पुग्ने धावकजस्तै हुन्छ । जहाँ एक्लै कुदेर दौड जित्नुको कुनै मजा हुन्न । सामूहिक प्रतिद्वन्द्वितामा जति काउन्सिलिङ् एक्लै दौडदा कवै हुन्नँ । लेखकहरू र सम्पादकहरू यहाँ शताब्दियौंदेखि एक्लो दौडका एकलव्यीय धावक भएका छन् । निरव आरोहणका क्लान्त आरोही बनाइएका छन् । जसमा नमज्जाको मजा लिन बाध्य छन् –ती दुवै पक्ष ।
लेखनलाई मुद्दा मान्नेहरू लेखक वादी र सम्पादक प्रतिवादी ठान्छन् । तिनीहरू नै प्रकाशक न्यायमूर्तिका कुर्सीमा विराजमान देख्छन् अनि सँधैसँधै मरूभूमिका मदौराहरूमा लेखकलाई मात्रै चित्रण गर्छन् । लेखक पनि सेलिब्रेट्री हुने डिजिटल जमानामा अब यस्तो तन्त्र भत्काउनु छ जसै बिरालाका घाँटीमा घन्टी बाँध्न अबेला भइसक्यो । अबेलाले त्यस्तो बेलाको आह्वान गरेको छ जुन लेखकका हकमा ससिम र सम्पादकका हकमा कित्ताकाट हुने आशङ्का चारैतिर व्याप्त छ ।
जीवनका तिर्यक सङ्कथनहरूमा सम्पादकहरू बेला न कुबेला मितभाषी बनिदिन्छन् । निर्णायक अर्थहरूमा अभिव्यक्तिका स्वाङ् पार्नु तिनीहरूको टेक्नो कल्चर हो । जहाँ उनीहरूको सस्वर आवाजको खाँचो पर्दछ त्यहाँ मुक दोपाया बनेर चुपो लाग्छन् । कथ्य भाषिकाका खनखाँचो र सगोत्री अट्टहासहरूमा कानमा इयरफोन राखेर गीत सुन्छन् । दोहोरो चाल र अभिनय गर्न ती सिकारू आवरणका सम्पादकहरू खप्पिस हुन्छन् जसलाई असल सम्पादनको नेती र पोराको ज्ञात हुन्न । कसैका आड भरोसामा बनाइएका सामान्य प्रुफ रिडिङ् नै आँक्न नसक्ने प्रुफरिडर कम सम्पादकहरू जब अनुभवका केही पुराना बर्काहरू ओढेर पदोन्नति हुँदै सम्पादकका स्टेरिङ् चेयरमा पुग्ने गर्छन् तिनीहरू नै जन सामान्यका अघि तीन न तेह्रको ध्वाँस पिट्छन् –‘त्यो अनाम लेखकलाई मैले स्पेस दिएको हूँ । मैले सधाएर÷सिकाएर नै त्यो फलानो आज यति माथि पुगेको हो ।’
सम्पादकले लेखकलाई कि लेखकले सम्पादकलाई माथि पु¥याउने हुन् ? यो बहस परा, पश्चन्ती, वाणि र बैखरीका उद्भवदेखि नै बहसका रूपमा अद्यापि जारी छ । लेखनको मेहेरो शहस्राब्दि बिते पनि मैजारो अझै भएको छैन । वाचाल चालमा सबै स्रष्टाहरू आफैँसँग प्रतिस्पर्धा गरी लेखिरहेछन् । एउटै कुरो हजारौंले लाखौं तबरबाट लेख्दा पनि सकिएको छैन । किन ? त्यो सर्जकलाई नै ज्ञान होवैन ।
एउटा कुरा के साँचो हो भने लेखक जतिसुकै माथि पुगे पनि ऊ सम्पादकभन्दा हाँचमा तल हुन्छ । रेस्पेक्ट गर्न सक्नुपर्छ एउटा उम्दो लेखकले त्यो जेनुइन सम्पादकको सम्पादन कला । जसप्रति आम सापेक्ष लेखकको समाज नै निरपेक्ष रहेको देखिन्छ । चलचित्रमा हिरोलाई ‘ब्रेक’ दिने भनेकै निर्देशकले हो । अभिनयका फाँटमा निर्देशककै अनुकम्पाले एउटा हिरोको जीवनमा ‘यु टर्न’ आएको हुन्छ । फुटपाथबाट टिपेर रातारात सेलीब्रेटी बनाई करोडौं जनमानसका हृदयमा ससम्मान जम्न÷रम्न सक्ने बनाउने भनेकै दृश्यादृश्य निर्देशकले हो । जसलाई पर्दामा देख्न नसकिएला औ पाश्र्वमा मात्र अनुभूत गर्न सकिन्छ ।
कला यात्रा र अक्षर हवनादिमा दृश्यीय चेतभन्दा अदृश्यीय चेत अकण्टक र महान् हुन्छ ।
सम्पादक र निर्देशकलाई समयले एउटै भूमिकामा हिँडाएको हुन्छ । फरक के मात्र छ भने एउटा अक्षर वा चित्रमा खेल्छ । अर्को पात्रहरूलाई दृश्यहरूमा खेलाउँछ । दुवैमा कला झुसी चाहिन्छ । यतिखेर झुसी सम्पादक र निर्देशकहरूको अनिकाल परेको छ । हाँसो जब उठ्छ तब सम्पादकरूपि स्केलेटनमा उसको मुहारमा मात्र झुस्स बोकेदारी देखिन्छ । दारीले सम्पादक हुने जमाना गैगए । अब स्वानुभवका मेखाला पहिरिएका सम्पादक नै कर्पोरेट हाउसका बिग पब्लिकेसन्समा रातारात चाहिएका छन् । त्यो पनि बोलकबोल प्रथामा दाम घटाघटमा ।
असलमा सम्पादकहरू भनेका कुनै न कुनै रूपका लेखक हुन् । भएका देखिएका छन् । आवरणमा सम्पादक भए पनि ती लेखनका सरहद्बाटै उठेर सम्पादनका परिवृत्तहरूमा होमिएका हुन्छन् । सम्पादक हुन जसरी पुस्तकका यमानका पोथी खार्न आवश्यक छैन त्यसरी नै लेखक हुन संसारको कुनै नामी र दामी विश्व विद्यालयमा औपचारिक डिगी लिनै पर्दैन । पुस्तकका ठ्यासफू रटेर वा गड्डीभित्र पसेर आजपर्यन्त कोही मनुवा लेखकमा दरिएको थाहा छैन । अभाव र दुःखका आरनमा पोलिएर, चुटिएर, खारिएर र डढेर मात्र एउटा मानष लेखक बन्ने र विविध अवसर औ परिस्थितिका प्रतिछायाँमा खग्रास भएर अर्को लेखनमा कुसल र व्यवहारमा असल कुशाग्र चेतको व्यक्ति नै सम्पादक हुने गर्छ । पढेर सम्पादक हुने भए संसारका नामी र दामी सम्पादकका सिभीमा औपचारिक ‘घोडे अध्ययन’ का प्रमाणपत्रहरूका कुनै चाङ् भेटिँदैनन् ।
कतै पढेथेँ –‘सम्पादनको अहम् बोक्ने इमान्दार सम्पादकले आफ्नो राजीनामा सँधै सर्टको अघिल्लो पकेटमा तयारी हालतमा राखेको हुन्छ । प्रकाशकसँग वैचारिक दुन्दुभी नगरी ऊ आफ्नो मान्यता लागू गराउन नसक्ने थिति र तिथिमा जस्तोसुकै कर्पोरेट स्थान पनि उड्न लागेको खेचरले तुरुन्त गुँड छाडेर उडेझैँ भुरुरुरुर्अ उडी छाडीदिन्छ । वाणीको वाग्विलास उसको चाहना हुँदैन ।’ ती सम्पादकहरू अमर हुन् । व्यक्ति होइनन् –प्रवृत्ति हुन् । हाम्रो समाजमा व्यक्ति सम्पादकहरूको बिग्बिगी बढेको छ । प्रवृत्ति सम्पादकहरू जन्मने कोसिसमा मातृ गर्तमा चलायमान होलान कि नहोलान । खोजीहरू जारी छन् ।
ड्ड
निबन्धको विषयले खोजेको सम्पादक भनेको जीवन सम्पादक हो । वासनाको होवैन । मैले अहिलेसम्म व्यक्तिले आफूले पाएको दुःखको परिधि सन्धानपश्चात् सम्पादन गर्ने त्यस्तो कुनै सम्पादक देखेकै छैन । सम्पादक को हो ? उसले तमाम मानिसका दुःखसुखलाई कसरी सम्पादन गर्छ त्यो अहिलेसम्म थाहा पाएकै छैन । समाचार सम्पादक, दृश्य सम्पादक, पुस्तक सम्पादक, भाषा सम्पादक र प्रबन्ध सम्पादक भनेर अहिले बजारवादमा चलेका सम्पादकलाई भन्न खोजिएकै हैन । तिनीहरू त खाँटी सम्पादक हुने डिमार्केसनका घेरासम्म पनि आइपुग्दैनन् । यात्रा लामो हुन्छ –जीवन सम्पादक हुनुको । अविराम यात्रामा यात्रारत यायावर नै जीवन सम्पादकको हाँच र हैसियतमा पुग्न सक्छन् । आँटका तरेलीहरू नाघ्न सक्नु पर्छ । जब्बर अश्रु नद–नदीमा चोपलिन सक्नु पर्छ । अनादि दुःखका गायत्री पुरश्चरणहरू जप्दै जीवनका भोगाइहरूमा असमेल हवन गर्न सक्नु पर्छ । मातका गहिराइमा पसेर अनेक आवृत्ति प्राप्त्यासालाई परख गर्न सक्नु पर्छ ।
नौनौ महिना आफ्नो पेटमा बोकेर संसार पदार्पण गराइदिने आमा सम्पादक हुन् । व्यवहार विश्वविद्यालयका कक्षामा प्रवृत्त गराउने बाउ सम्पादक नभए के हुन् ? दाजुभाइ, दिदीबहिनी, आफन्त, नातागोता, कुलकुटुम्ब, बालसखा ती जो सबैसबै सम्पादकहरू हुन् । असल सम्पादकले बाटो देखाउँछन् । भत्काउँदैनन् । अघि लागेर नेतृत्व प्रदान गर्छन् । पछि लागी छिर्के लगाउँदैनन् । चाल बुझेर सहयोग गर्छन् । वाचाल बस्दैनन् । समवेदना दिनु पर्ने स्थानमा नमन गर्न पछि हट्दैनन् । अट्टहास जान्दैनन् । नैरन्तर्य सुझाएर अकण्टक जीवन बाँच्न र उत्तुङ्ग हाँस्न सिकाउँछन् । ताते गर्न लगाएर जीवनका दर्शनलाई खर्लप्पै मीमांशा गरिदिन्छन् । सुको लिँदैनन् तर सम्भावनालाई सँधै उकेरा लगाइदिन्छन् । सतिसालझैँ बनेर पथालम्बन गरी नसकेका अनुज र भान्तेहरूलाई थाङ्ग्रो बनी लहराउन उम्दो भरथेग गर्छन् । यी र यस्ता सम्पादकहरू युगले खोजेको छ । व्यवहारले भाकेको छ । तर विडम्वना, खोजिएका सबैसबै सम्पादकहरूको मृत्यु भएको छ । म अर्काथरी सम्पादकहरूको मृत्युमा एकथरी सम्पादकहरूलाई नै समवेदना प्रकाशित गर्न अनुरोध गरिरहेको छु ।
अमर सम्पादक बन्ने नाबालक रहर त हुन्छ नै –हरेक सम्पादकहरूमा । ती जो सरल हुन्छन् । मैले केही सम्पादकको संगत गरेको छु । जसमा प्रत्यञ्चा र खुसहाल परिणतिको खोजी वर्षौंवर्ष गर्दा पनि मिलेन । मिल्न सकेन । रचना वा पुस्तक सम्पादक भनेका त गोरखधन्दाका खातिर दैनिक दालरोटी निखन्ने सामान्य मासुका पिण्ड मात्र हुन् । दिन धकेल्ने पेसालाई सम्पादन भन्नु सम्पादक पदको गूढ गरिमालाई नै बलात्कार गर्नु हो । जो आधुनिक समयमा हरपल भैरहेछ ।
जन्म, मृत्यु, जीवन, दुःख, सुख, माया, प्रेम, वात्सल्य, करुणा, हाँसो, आँसु, धोका, रिस, राग, वैराग आदि जीवनादि तत्वका सम्पादकहरू खै ? के कुनै एलियन वस्तीमा पो छन् कि ? मेदिनीबाहिर या अन्तरिक्षादिमा ।
कृपापात्र भएर बनेका सम्पादकहरू त कृपण अभिनयमा वाचाल बोलीले यत्नका पर्वत लङ्घन गर्नै सक्दैनन् । ज्वालामुखी झैँ पावर हुन्न ती र तीहरूमा । स्वीकार्य अस्वीकार्यताको असमेल बहस जारी छ । मिलापत्रका आसमा अनेकन भासमा भासिँदै वादी प्रतिवादीहरू सोचका मुद्दामा तारेख धाइरहेका छन् –कतिपय भाव लेखनका आरोपीहरू । वर्तमानमा वर्णविन्यासको लगौंटी खुस्किएको छ । पण्डितहरू लाजले पानीपानी भएका छन् । ‘फूल’ र ‘फुल’ मा समवर्णी अक्षर लेखाएर तिनीहरू आफूले हाँसिल गरेको शिक्षा र आदिशिक्षक कै अनादर गरिरहेका छन् । अविवादास्पद उत्तर कसैको पनि छैन । सबै आफ्नो टुप्पी जोगाउन अरूहरूका टुप्पी काट्ने ध्याउन्नमा रहेका छन् । सबैलाई परायाको खेदो खनेर आफूलाई मात्र अमरत्वको खादा पहिरिँदै आत्मरतिको कोरस गाउनुमा मजा छ । ह्रस्वदीर्घमा विश्व विद्यालयदेखि स्कुलसम्मका मास्टर साबहरू चर्चरी बाझाबाझ गरिरहेका छन् । कक्षा र सेसनमा निर्निमेष टोलाइरहेका छन् –अज्ञानी र बबुरा विद्यार्थीहरू । उदिग्नता सिण्डिकेटको साम्राज्यमा सास्ती त त्यस्ता बबुरा लेखकलाई छ जो अहर्निष दालरोटीका सिकन्जा तोडेर सम्पादकका दैलाका ठेलामा ‘जदौ’ सार स्वरमा स्वस्ती बजाउन जान्दैनन् । जाँदैनन् । स्वाभीमान् भन्ने कुराको तुरूप बाजी राखेर कुनै लेखक अभिमानको सगरमाथा चढ्न सक्दैन । हुँदैन । नेपालको कुरो नगरौं । यहाँ जान्नेलाई नजान्नेले धोद्रो र ठूलो स्वरमा हपारेको छ । मिष्ट व्यञ्जनको पकवान बनाउन जान्ने माहुरी प्रवृत्तिका अतीव प्रतिभाशाली लेखकहरू चर्चा र स्याल हुइँयाभन्दा कोसौं पछि पनि आनन्दित मुख मुद्रामा विराजमान छन् ।
‘लेखकलाई एकान्त देऊ ऊ एकान्त मै झनै क्रिएटिभ हुन्छ ।’ –त्यसै भनिएको होइन यस्तो शाश्वत भनाइ पनि ।
अँध्यारामा ज्ञानको विमोचन सम्भव नभए पनि असम्भव छैन । ललकार्ने बेला अबेला भैसक्यो । अब समूहीकृत सस्ता चर्चाका पुराणहरू बन्द गर्नुपर्छ । स्ववृत्तिका आवृत्तिहरू पनि तोडिनु पर्छ । राम्रोलाई सर्वस्वीकार गरी बोधोलाई दुत्कार्ने परिपाटीका पथालम्बन गरिनु पर्छ । वाग्देवीले स्थुलकाय शरीर र छाला हेरेर कुशाग्रता दिन्नन् । जो कसैले पनि कला पथको यात्री बन्ने सुअवसर पाउनु पर्छ । यो जोसँग सम्बन्धित छ । यी सम्पादनका कखराहरू सम्पादक हूँ भन्नेले जानिराखे बेस् ।
अधुनातन साहित्य सम्पादकको हातबाट फुत्किएको हिले माछो बनेको छ । जो बजारको तावामा बजारवादको इच्छामुताविक फ्राइ र ग्रेभी दुवै हुन्छ । भएको छ । बगरे प्रकाशकले लेखकलाई मात्र फाँसीमा चढाएको छैन उल्टै सम्पादक प्रयोग गरेर साहित्यको सातो लिएको छ । सबैका अभिव्यक्ति प्रकशित हुनु पर्छ भन्दैमा सामन्य कुरालाई साहित्यको लेप लगाउन सकिन्नँ । अन्जान सम्पादक साहित्यमा श्लील र अश्लीलको डिमार्केसन कोर्ने पनि आफैँ हुन्छ । मानकता र स्तरीयताको रेखी हाल्ने पनि आफैँ हुन्छ किनकि ऊसँग अकूत धनराशि र नाना नौरङ्का जो तिकड्महरू हुन्छन् ।
एकजना नामी लेखकका छोरा अहिले प्रकाशन गृह खोलेर बसेका छन् । तिनी आफूलाई लेखक, प्रकाशक र सम्पादक त्रिमूर्ति नै ठान्छन् । आफ्नो प्रशंसा र परायाको विरोध नगरी तिनी क्षणपल पनि बस्न÷बाँच्न सक्दैनन् । उनको रोग भनेकै आफ्नो प्रशंसा र अरूको अन्त्यहीन निन्दा हो । मैले उनको उन्नाइसौं पुराण पञ्चगव्यका रूपमा चियापान गरी बेरोकटोक सुनेको छु । उनका मौलिक कृति र सम्पादित पुस्तक पल्टाउँदा राति निद्रा नलागेका बेलामा स्लिपिङ् ट्याबलेट नै नखाए पनि हुन्छ । मात्र केही मिनेट तिनको पुस्तक हातमा लिए पुग्छ । स्वतः निद्रादेवीका शरणमा पुगिने सौभाग्य आफैँ आउँछ ।
मानिस किन आत्मरतिमा रमाउँछ ? गूढार्थ के हो ? सूक्ष्म खोजीको विषय भएको छ । अहिलेको डिजिटल संस्कृतिले झन् मानिसलाई आत्मरति गर्ने मौका जो दिएको छ । हिजो लेख्न सजिलो प्रकाशन हम्मर । आज प्रकाशन शीघ्र लेखन जब्बर । हामीले रूपवादी साहित्य खोजेका हौं कि सारवादी । मुद्दाहरू लडिँदै छन् –कैँयौं दसकदेखि । हप्ता दिनअघि आएका किताबहरू पाठकले बिर्सिने युगमा कहाँ कालजयी लेखनको लिउन बाँकी रहन्छ र ? रोगन या डेन्टिङ्पेन्टिङ्ले बाँच्ने जमानामा बाँच्नु परेपछि अब अग्र्यानिक चनाका सातु नबिक्ने भैगए । नबोल्नेको चामल पनि नबिक्ने यो डिजिटल वायुले हरक्कै बनाएको उत्तराधुनिक युगमा सोतेमा भरिएका भावनालाई सजाउन कुनै पार्थ र अर्थका नगहरू निस्केलान् भनी सोच्नु र भीरमौरीको मह काढ्नु समभाव भैसक्यो । क्या फसाद् !
विदुषकको अभिनय नेताजीले गर्न थालेपछि एकाएक हास्य निबन्धमा विदुषक पात्रहरूको मवेसी सस्तिएको देखियो । जुत्ता प्रदर्शनी र पुस्तक प्रदर्शनीमा समान भीड नहुनु पुस्तक प्रेमी घटेको दृश्य सूत्रधारले कबोलिसक्यो । संस्कृति पन्पिए पनि बजार एक रसमा निरस राग अलापिरहेछ । बहुरस र बहुरङ्गको समाजमा त्यस्तै गोरखधन्दीय शैली र सामलका भावनालाई थेबे बनाएर वाङ्मयको अग्र्यानिक खेती गर्नु नितान्त वाञ्छनीय भैसक्यो ।
हल्लाका चल्लाहरू अहिलेका बजारमा विक्री भए पनि बेला न कुबेला तिनीहरू नै महामारीका मदौरा नहोलान् भन्न सकिन्नँ । आखिर रोगका घर भनेका ब्वायलर प्रवृत्ति हुन् । अहिलेको अर्को महारोग भनेको दह्रो लेखक छ भने सम्पादकलाई बोक्ने हो । आफ्नो स्वार्थ हुन्जेल । त्यसैगरी दह्रो सम्पादक भयो भने लेखक बोक्छ काँधमा । तर जसले जसलाई बोके पनि एकदिन जब बोक्नेले बोकिनेलाई भुइँमा छाडीदिन्छ अनि बोकिनेको हाँच र हैसियत उही भुइँका भुइँमै हुन्छ । पहिलो, नेपालमा यो रोग पुस्तक संस्कृति बढेपछि देखिएको छ । दोस्रो, झुण्डका लेखक र झुण्डकै सम्पादक हुने रहरले मानिसलाई कथित लेखक र कथित सम्पादक बनाएको छ । त्यो पनि अस्थायीपन हो । अस्थायी नियुक्तिले कुनै पनि क्षेत्रमा पेन्सन पट्टा बनाउन सक्दैनन् । लेखनका क्षेत्रमा पनि सो बहस मुल्तवीमा राखिनु हुँदैन ।
ड्ड
भारतमा चेतन भगतको लेखक टीम एक प्रकारले अक्षरहरूको कलात्मक फुटबल नै खेल्छ । नेपाली लेखकहरू नेती फुस्केका मदानी विधोपविधाका ठेकीमा हाली चिन्तनको मोही मथिरहेछन् । ध्यू पग्लिएको थाहापत्तो छैन । समय क्षणपलमा डिजिटल संस्कृतिमा पिङ खेल्दो छ । सम्पादक पाठकका हरक बुझेर भाव र भाका जान्दैनन् । बजार सर्भेक्षण गर्दैनन् । पाठकका मनलाई नमन जो गर्दैनन् । समयका खादा पहिरेर पक्क खस्रे भ्यागुता फुलेका अभिनयमा सम्पादकले अब साहित्यको बजारलाई अड्कल गर्न सकिरहेका छैनन् जसरी सेयर मार्केट्समा सँधै दलालहरूको राइँदाइँ चल्छ नै भन्ने हुँदैन । पछारिन्छन् ती पाहा पछारिएझैँ जुइनो फुस्कँदा कुसाइत परेका बेला ।
सम्पादक त्यो भाते खिर्रो हो जो धेरै दिनपछिको दर्केपानीमा पृथ्वी झ्वाँइयँ गरेर पानी परेपछि वनमा एक्कासी मृतिका छेडेर प्वाट्ट निस्कन्छ । हल्हली बढेर आकासगामी हुन मन पराउँछ । उसले वनका अन्य वनफूल र लहराहरूलाई तिनीहरूको नूतन हरककै भरमा चिन्छ । समाजको फ्रेममा आएका अभिव्यक्तिका अभियन्तालाई चिन्ने सम्पादक पनि त्यस्तै मौलिक हुन् । जहाँ वैजयन्तीका सुवाषलाई नै व्यवहारिक ज्ञानका तराजुमा तौलेर असल सम्पादकले अघि नै चिनिसकेको हुन्छ । घोडाले सवार र सवारले घोडा चिनेजस्तो ।
छैनन् । अहिले त झन् सम्पादक नै छैनन् । कम्प्युटर र गुगलले सबैभन्दा पहिलो धावा नै सम्पादकका दिल र दिमागमा बोलेका छन् । याद्का ठ्यासफू फैल्याउने झन्झट अहिलेका सम्पादक लिन चाहँदैनन् । गुगल सर्च गरे सबै पाइने भएपछि किन सामान्य ज्ञानका रौं चिरा ज्ञानलाई सँगालेर राख्नु । फेरि लेख्ने, प्रुफ हेर्ने र सम्पादन गर्ने नै लेखक भैदिएपछि सम्पादक भए पनि भयो । नभए पनि भयो ।
अकिञ्चन भावमा सम्पादक जागिर पचाइरहेछन् । पद र पैसाका लागि मालिकका आदेशहरू आफू मातहतका बहिदारहरूमा फर्मान गरिरहेका छन् । तिनीहरूका पनि स्वास्नी र छोराछोरीहरू छन् । बाबु आमाहरूका तीर्थाटनका भाकलहरू हुँदा हूनन् । तिथिश्राद्ध तिनीहरूका पनि आउँछन् । ज्वाइँभिनाजुहरू तिनेरूका पनि हुन्छन् । सबैसबै सांसारिक पितृकार्य र देवकार्यका सिरियलहरूमा तिनीहरूले पनि आफूलाई गुजार्नु परेपछि सम्पादन गर्न जाने पनि नजाने पनि सके पनि नसके पनि तिनीहरू उमेरका हद नलागुन्जेलसम्म सम्पादक भइटोपल्छन् । पट्टा बनाएपछि घर जान्छन् । कसैको श्यामाश्यामा धाममा गएर राधेराधे गर्ने मनसुवा हुन्छ । कोही जाँडजुवाका अम्मली हुन्छन् । एवम् रितले तपसिल र सरदर जीवन बाँचेर रित्तिन्छन् ।
उहिले र अहिले समयमा धेरै अन्तर छ । कलमका स्थानमा किबोर्ड आएका छन् । हुलाकका सट्टा इमेल भएका छन् । ज्ञानका बिस्कुनले छपक्कै थिचेका सम्पादकहरूका आँगनमा विज्ञानका फुइँ छाँड्ने र आफैँलाई विविध आयाममा ढाँट्ने सम्पादकहरूको आगमन पछि साँचो अर्थमा सम्पादकको मृत्यु भएको छ ।
ड्ड
म लेखकको बौलाहापनलाई स्वीकार्दै सम्पादकको मृत्युमा असीम समवेदना दिन चाहन्छु । जसले कुनै काल खण्डमा उम्दा लेखकहरूलाई पेटबोलीमा धिक्कार्दै आफ्ना पत्रिकाका पेजमा चाही नचाही स्थान दिन बाध्य भएका थिए । आज तिनै लेखकहरू महान् भैसक्दा सम्पादकहरू तिनीहरूलाई आफ्नो अन्तर्दिलले लेखक नै स्वीकार्न चाहिरहेका छैनन् । कृपया यो आलेखलाई सम्पादकको मृत्यु ठानी प्रकाशित गर्ने झन्झट नगर्नु होला । अकारण समवेदनाको बिल तिर्न म आफूलाई असमर्थ ठान्छु ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 29 आसाढ, 2074

लेखकका अन्य रचनाहरु