टाउका बिहीन मान्छेहरू र जातीय सङ्घीयता

- अल्पबिराम पोखरेली

कविज्यू
तिम्रो कवितामा
भोक रोग र शोकको
माटो मष्तिष्क र मनको
किशान मजदूरहरूको
अन्याय र उत्पीड़नको
सॅयोगान्त र बियोगान्तको
लयात्मक गीत घन्किरहॅदा
सबै रङ्ग र वर्गका फूलहरू
प्रकृतिसङ्ग झुम्ने गर्थे
आहा कति सुन्दर थिए तिम्रा कविताहरू
प्रकृति परी माछापुच्छ्रे जस्तै ।

तर अफसोस्
तिम्रो कवितालाई
टाउका बिहीन मान्छेहरूले
प्रकृति परी माछापुच्छ्रे होइन बाघको टाउको देखे
अनि महान दार्शनिक बने
नित्सेका दर्शनले हिटलर जन्माए जस्तै
जन्माउन थाले हिॅस्रक मनहरू ।

कविज्यू
टाउको हुनेहरूका लागि तिम्रो कवितामा
कुनै जातजातीको गन्ध थिएन
कुनै धर्मको स्पर्श थिएन
अंध्यारोमा हराएको अधिकार खोज्ने
मात्र चेतना थियो तिम्रो कविता
सीमा हीन आकास जस्तै
निर्बन्ध थियो तिम्रो कविता
ओहो कस्तो भयानक डर लाग्दो सपना देखे
ती टाउका बिहीन मान्छहरूले कविताको देशमा
जातीय सहअस्तित्व र सहिष्णुतामा
सौहार्द्रता र सद्भावमा
भीडगत स्वार्थको बन्चरो प्रहार गर्दै
आवाज बिहीनहरूको आवाज
दृष्टि बिहीनहरूको दृष्टि
तिम्रो कवितालाई
उन्मादी बनाउन प्रयत्नशील छन्
ती टाउका बिहीन मान्छेहरू
आइन्सटाइनको सिध्दान्तलाई
रक्त पिपाशुहरूले आफ्नो पक्षमा उपयोग गरे जस्तै
कविताको देशलई
टुक्रा लाम्टा चोक्टा पार्न
अक्षरहरूको जातीय सङ्घीयता बनाउन
कटिबद्ध छन् ती टाउका बिहीन मान्छेहरू ।

होशियार कविज्यू
टाउका बिहीनहरूको कर्तुत
तिम्रो टाउको माथि बजारिदै छ
भोलीका घामहरूले सराप्ने छन् तिमीलाई
प्रतिगामी कवि मुर्दावाद
जातीय सङ्घीयता मुर्दा वाद
त्यस पछि तिमी
नाजीहरूको यहुदी बन्ने छौ
र नव पुस्ताका कविहरूले लेख्ने छन्
अर्को ग्याॅस च्याम्बरको कविता ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 12 आसाढ, 2074

लेखकका अन्य रचनाहरु