यात्रामा जात्रा

- प्रमोद अमात्य

लामो यात्रामा अनेकन रोचक, रोमान्चक र घोचक घटना घटनु कुनै नयाँ कुरा हैन । यात्राले कहिले यातना दिन्छ त कहिले जात्रा नै गर्छ । यस्तै विभिन्न अनुभवको सैगालो हो यो यात्रामा जात्रा । दुईतीन वर्ष अघिको कुरा हो । एकदिन मलाई जन्मघरका परिवार, साथी संगीसंग भेटन मनलाग्यो । मातृभूमी पुग्न रहर जाग्यो । यो कुरा यता कर्मभूमीका साथीभाईलाई सुनाएको कत्तिले पत्याएनन् । केही काम नपरी, बिना काम सयौं डलर खर्च गरेर को जान्छ ? समेत भने । नेपाल जाने पक्का भएपछि घर परिवार र मेरा नजिकका साथीहरू र नयाँ साहित्यिक मित्रहरूलाई खबर गरेँ ।

जाने तय भएसंगै हवाई टिकटको खोजतलास भयो । सस्तो र ट्रान्जिट कम भएको हुनाले एकजना आफन्तका मित्रसंग टिकट किनियो । सान्फ्रान्सिस्को देखि अबुधाबी अनि काठमाण्डू रुटको 'इतिहाड एअरवेज' को टिकट भेटियो । टिकट राम्ररी हेरेको त अबुधाबीमा चालिस मिनेटको मात्र ट्रान्जिट रहेछ । ल फसाद ! भन्दै हतपत एजेन्टलाई फोन घुमाएँ । 'कानूनन् मिल्छ दाई , सानो विमानस्थल छ भ्याइन्छ' भन्ने जवाफ आयो । आफू कहिले त्यो बाटो नउडेको, होला त नि भनेर विश्वास गरियो । वास्तवमा यात्राको जात्रा त यहींबाट शुरू भएको रहेछ, हेक्कै रहेन ।

समयमा नै सान्फ्रान्सिस्को अन्तरराष्ट्रिय विमानस्थलबाट जहाज अबुधाबीको लागि उड्यो । यहाँबाट शुरु भयो पट्यारलाग्दो लामो हवाईयात्रा । म जस्तो सानो जिउडालको मान्छेका लागि पनि यो इकोनोमी क्लासको सिट सानो थियो । चलमल गर्न नपुग्ने । यताका एकजना फेसबुके पत्रकार मित्र छन्, उनले घरिघरि फेसबुकको भित्तामा बिजनेस क्लासमा खुट्टा पसारेर आरामसंग यात्रा गरेको फोटो टाँसि बस्छन्। हो यस्तै रहर आफूलाई पनि थियो, फोटो टाँस्ने हैन, हात खुट्टा फैलाएर माथिल्लो क्लासमा सुतेर उड्ने मात्र। कहिले काहिँ जहाजवालाले तल्लो क्लासलाई बढुवा गरेर बिजनेस क्लासमा लैजान्छ । तर आफूलाई कहिल्यै भाग्यले साथ दिएन । यो पटक पनि बढुवामा परिएन ।

जहाज समय भन्दा पाँच दश मिनेट ढिलो अबुधाबी उत्रियो । गेट नम्बर बोर्डिङ पासमै भएकोले सिधै हानिएँ त्यतै तिर सोध्दै सोध्दै । यता उता हेर्ने समय पनि थिएन । गेट छेउ इतिहादका नेपाली स्टाफ बसेका रहेछन् । ती नेपाली युवा फोनमा मग्न थिए । उनलाई काठमान्डौ जाने भने पछि यसो फोनमा के के थिचे र 'जहाज आएको छैन बस्दै गर्नुस्' भन्दै फेरि आफ्नै फोनमा ब्यस्त हुनलागे। छेवैको मेचमा बसेर गेट माथिको डिस्प्लेमा आँखा दौडाउन थालेको त्यसमा नेपाल छेउका देशहरूका शहरको नाम आयो तर काठमान्डौको नाम आएन । यतिबेलासम्म त आइपुग्नु पर्ने हो, समय घर्कि सक्यो । अब त ढिला पो हुन लाग्यो भएन भन्ने सोच्दै एक अरबीलाई आफ्नो उडान बारे सोधेँ । 'ल यो गेट हैन, त्यो त अर्कै गेटमा बदली भैसकेको छ । ल आउनुस्' भन्दै उनले अर्कै गेट तिर दौडाए । यत्तिकैमा अर्का एक नेपाली पनि अल्मलिएको भेटिए । हामी दुई ती अरबीको पछि पछि दौडियौ । नजिकै रहेछ जानुपर्ने गेट । भ्याइन्छ कि भन्ने आश गर्दै दौडेको गेट बन्द मात्र गरेको रहेछ । हामीले आआफ्नो पास देखायौं । 'अहँ, गेट बन्द भैसक्यो, अब जान मिल्दैन' भन्न थालिहाले । जहाज उडेको छैन, हाम्रो सामान गैसक्यो होला। हामीसंग सानो हाते ब्याग मात्र छ पठाउनुस् न भनेर बिन्ती भाव ग-यौं तर उ टसमस भएन । 'अफिसमा कुरा गर्नुस् न' भन्न थालिहाल्यो ।

न कतै हाम्रो नाम बोलायो, न कोही हामीलाई खोज्दै आए । अरुठाउँमा भए लास्टकल फलाना व्यक्ति ढिस्काना गेटमा आउनुहोला भनेर फुकेको फुके गरेको कत्ति सुनेको हो। यहाँ त कसैले वास्ता पनि गरेको हैन। मुटु धुकधुक गर्न थाल्यो। त्यो पहिले भेटेको गेटमा बस्ने नेपाली स्टाफलाई सराप्न थाल्यौं । मुख छोडेर गाली गर्न मन लागेको थियो । तर रीस थामेर बस्यौं । मनमनै सोचेँ कस्तो लापरवाह केटा होला ? राम्ररी थाहा नभएको कुरा किन भनेको होला? फोनमा हात फेरेकोछ बसेकोछ। यी भाईले खाँटि नेपालीपारा पो देखाए त यो मरूभूमीमा। नेपालका नेताहरूको जस्तो पारा। नेताहरुले जनताको मतलब नराखे जस्तै यी भाईलाई पनि यात्रुको मतलब नभएको। के सोच्नु यस्ता कुरा भन्ने गम्दै अफिस खोज्न तिर लाग्यौं।

'घरै पिँडालु बनै पिँडालु ससुराली जाँदा बाह्र हाते पिँडालु' भने जस्तै अफिसमा पनि अर्का नेपाली कारिन्दा भेटिए । यिनी परे टाईवाला। ल यिनले चाहिँ के पारा ल्याउने हुन् भन्ने सोच्दै पीर परिसकेको थियो। नभन्दै उ पनि के कम "यो तपाईँको गलति हो" भन्दै विवाद तिर पो जान थाले, आफ्नो नेपालीपारा त देखाउनै प-यो । म पनि रिसाएर 'यो वाद विवाद गर्ने समय हैन, जे गर्दा बेस हुन्छ त्यही गरौं ' भने पछि यी महाशय अलि शान्त भए। 'काठमान्डौं जाने अर्को उडान भोली मात्र छ । आज तपाईँहरु दुईजनालाई होटलमा एउटा कोठा मिलाई दिन्छु' भन्न थाले । 'हाम्रो परिचय र चिनजान छैन, हामीलाई छुट्टा छुट्टै कोठा दिनुस्' भन्दा पनि केही लागेन। केही नलागे पछि हामीले 'हवस्' भन्नु बाहेक अरु उपाए थिएन।

इतिहादका यी नेपाली स्टाफले कम्प्युटरमा हाम्रा लागि कोठा मिलाउन थाले तर त्यो स्मार्ट तर निर्जीव कम्प्युटर भाँडोले उनको आदेश मानेकै हैन। छेउछाउका उनका साथीहरू पनि सघाउन लागे तर कसैको केही सीप चलेन । मानौं मेशिनले हाम्रो चाहना बुझेको थियो र दुईजनालाई दुईथान कोठा दिन चाहन्थ्यो। यत्तिकैमा हाकिम जस्ता देखिने एक भारतिय युवाको आगमन कोठामा भयो । सबै एउटै कम्प्युटरमा झुम्मिएको देखेर, स्थिति बुझेपश्चात ती हाकिमले दुईजनालाई भिन्दा भिन्दै कोठा दिनु भन्ने उर्दि भयो । अब भने त्यो स्मार्ट कम्प्युटरले कुरा बुझेजस्तो गर्यो। कोठा सजिलैसंग बुक भयो । दिन दशा राम्रो भएर होला, धन्न त्यो अरबीलाई सोध्न पुगेछु नत्र त्यो ठिठाले हामीलाई अलपत्र मात्र हैन बिजोगै बनाउने रहेछ। अहिले सम्झँदा पनि आङ सिरिंग गर्छ।

फेरि यी नेपाली कारिन्दा र त्यो गेटमा बस्ने नेपाली ठिटोलाई सम्झेँ किन यिनीहरु यस्ता भएका होलान् जस्तो लाग्यो। नेपाली कामदारहरू विमानस्थलमा छपक्कै थिए। उनीहरू नेपालीमा गफिएको राम्ररी सुनिन्थ्यो।

इतिहाडले राम्रो विलासी गाडी विमानस्थलबाट होटेल पु-याउन व्यवस्था गरेको थियो। होटेल पुग्न दस पन्ध्र मिनेट लाग्यो होला। चिल्लो गाडीमा सल्ल गुड्दा एकछिन भएपनि मज्जा आयो। न कतै जाम थियो अमेरिकामा जस्तै। न कतै धुँवा र धुलो थियो नेपाल जस्तै, सिर्फ सफा सडक र सडक छेउ लोभलाग्दो हरियाली थियो । यो सुन्दरता सिर्जना गर्न कत्ति नेपाली युवाहरूले पनि पसिना बगाए होलान् । यो पसिना मरुभूमीका देशहरुमा बगाउनुको बदला आफ्नै देशमा बगाउन पाएको भए यी नेपाली युवाहरुले ? नेपाल पनि यस्तै बिकसित हुन्थ्यो होला भन्ने सोच्दा सोच्दै होटेल पुगिएछ । होटेलको वरपर हरियाली र पछाडि नदी रहेछ । वास्तवमा त्यो नदी हैन नहर थियो । त्यो नहरमा पानी बगाउन यी अरबीले कति तेलको खोल्सी बगाए होला जस्तो लाग्यो । जे होस् मरुभूमीमा पनि यस्तो विकास ! अचम्म लाग्यो । मानिसले ईच्छा गरेभने जे पनि गर्न सक्दा रहेछन् भन्ने राम्ररी चरिथार्त भएको भान भयो।

लामो हवाईयात्रा र विमानस्थलको कचकचले बेस्कन थाकेर म त भुसुक्कै निदाएछु । दुईतीन घण्टा सुतेर उठेपछि पहिले अमेरिका र नेपालमा खबर गरेँ । फोनको सन्दर्भमा सम्झेँ, पहिले हाम्रो चोकमा काकाको घरमा मात्र फोन हुनेगर्थ्यो । 'फोन आयो' भनेर काकाको घरबाट बोलाउनु पर्थ्यो। अहिले सबैको हात हातमा फोन छ । यो स्मार्ट फोनले त झन् गर्नु गरेकोछ । कोठामा बसिबसी संसारभर सित्तै गफ चुट्न पाईन्छ, चिठ्ठी पत्रको झन्झट बिलकुलै सकियो अचेल । यस्तो प्रविधी हुँदा पनि होटलमा प्लग र टुपीनको समस्याले फोन र ल्यापटप चार्ज गर्न समस्या भयो । भविस्यमा शायद विस्वभर एउटै विद्युतिय प्रणाली र एकै थरिको सामान प्रयोग हुन थालेपछि यो समस्या पनि हराएर जान्छ होला। यसो होटेल घुमे र विहानै उठाई दिन होटेलमा अनुरोध गरेर होटेलको भोजन गृह तिर लागेँ। होटलले नाना भाँतिको परिकार पस्केको रहेछ मानौं यहाँ कुनै राजकिय भोज छ। मनमनै सोचेँ आज मेरो राषिफलमा स्वादिष्ट भोजन लेखेकै रहेछ, र त यत्ति मीठो खाना खान पाइयो। भोलि छिटो उठनु पर्ने भएर खाईवरी सुत्ने काम भयो, अरु काम पनि त थिएन नि ।

विहान उही नेपाली सहयात्री भेट भयो । उनीसंगै भलाकुसारी गर्दै विहानको खाना खानेकाम भयो । खाना हिजो राति जस्तै भब्य थियो । दर्जनौ प्रकारका फलफूल र अनेकन अनेक किसिमको पकवान चाख्न पाइयो। आज विहान भने मिनीबसले विमानस्थल पु-याई दियो । जहाज भित्र नपुगुन्जेल मुटु धुकधुक भैराख्यो । यो पाली चाहीँ कुनै अलमल भएन, समयमा नै जहाज चढ्न पाइयो ।

जहाज भित्र पुगेपछि म त एकछिन अलमल्लमा परेँ । मैले जहाज चढेको हो कि लोकल बस छुट्याउन धौ धौ प-यो । पूरा जहाज भरिभराउ थियो । पाइला टेक्ने ठाउँ थिएन । हल्ला उत्तिकै । बल्ल एउटा खोपामा सामान घुसारेँ र आफ्नो सिट तिर लागेँ। तर मेरो ठाउँमा पहिल्यै कोही महानुभाव आसन जमाएर बसेका रहेछन् । 'यो मेरो ठाउँ होला' भनेको ती महानुभाव वाल्ल परे । 'जता बसे पनि हुन्छ सर' पो भन्न थाले। 'म मेरै ठाउँमा बसौं कि' भनेको 'हामी साथी साथीसंगै बस्न खोजेको' भन्न थालेपछि कर गर्न मन लागेन। कोसंग को बस्ने, कोसंग को गर्दा गर्दै अलि अगाडिको एउटा सिटमा बस्ने चाँजोपाँजो मिल्यो।

विमान भरी प्राय नेपाली अनुहार मात्र भेटिए। सब रमाईरहेका थिए। मानौं उनीहरु सब थकान, दुख, पीर, व्यथा केहि समयका लागि यो बालुवाको मुलुकमा छोडेर हिँडेका छन्। उनीहरु हल्का भएका छन् , यति हलुंगो भएर स्वदेस हिँड्न आफ्ना साहूसंग वा हाकिमसंग छुट्टीका लागि कति विनति बिसाए होलान् । कति समय कुरे होलान् ? कति समय पछि कोही साइँली भेट्न, कोही कान्छी भेट्न आतुर होलान् । त्यस्तै कोही आमा बुवा भेट्न त कोही साहूको ऋण निखरेर घरखेत छोडाउन हतार गर्दै जान खोजेका होलान् । विमानले भूईँ छोडेपछि लामो सन्तोषको सास फेरेँ, बल्ल ढुक्क भइयो अब त घर पुगिने भयो भनेर।

सिट छेउमा बस्ने युवा यतै अबुधाबीमा काम गर्ने रहेछन्। भाई निक्कै खुशी देखिन्थे। उनले आफ्नो कामको परिचय पत्र देखाएर आफू इतिहाडमै काम गर्ने जनाए। शायद उनलाई कसैले मरुभूमीमा भेडा चराउने गोठालो न भन्थानोस् भनेर परिचय पत्र देखाएका हुन् जस्तो अनुभुति भयो मलाई। भाईले बडो गर्वका साथ आफ्नो तलब पनि सुनाउन भ्याए। तलब तीन सय चार सय अमेरिकी डलर बराबर हुँदो रहेछ। तलब बाहेक सुविधा पनि राम्रै हुँदो रहेछ। यो भाईलाई खुसी देखेर मलाई पनि खुसी लाग्यो । उसले म अमेरिकाबाट आएको थाहा पाएपछि 'त्यहाँ त तलब बढी होला' भन्न थालेका थिए तर साथमा 'खर्च पनि त बढी नै होला नि' भन्दै आफ्नै तलबमा चित्त बुझाए। जहाजले राम्ररी उडान लिन थाले पछि इतिहाडले खाना बाँड्न थाल्यो । साथै जहाजमा हल्लाको मात्रा पनि बढ्दै गयो। एअरहोस्टेजहरु बोलाउने घण्टी जताततै बज्न थालेको थियो । उनीहरु दौडिरहेका छन्। गफ गर्नेहरुको आवाज चर्किँदै गएका थियो । बिचरा तीन चार जना ती एअरहोस्टेजहरुले सासै फेर्न पाएका थिएनन्। उनीहरुलाई कसैले राम्ररी अदब पनि राखेका थिएनन्, मात्र यताबाट यो मागेको छ, उताबाट त्यो भनेको छ । संगैका भाईले मात्र पाँच थरिको ड्रिङ्कस् मगाए। मनमनै गमे यसरी एकजनाले पाँच थरिको ड्रिङ्कस् मगाउने हो भने एअरहोस्टेजहरुलाई ड्रिङ्कस् मात्र बाँड्न पनि समय पुग्नेछैन। यहाँ कसैलाई एअरहोस्टेजहरू पनि मानिस हुन् सास फेर्नुपर्छ, खानुपर्छ, यसो बस्नु पनि पर्छ भनेर सोचिदिने भएनन्। सबै आआफ्नो टिकटको मुल्य पिएर, खाएर र हल्ला गरेर उठाउन चाहिरहेका जस्ता देखिन्थे। सारै उदेकलाग्दो र दिक्कलाग्दो दृष्य थियो त्यो। यस्तै हल्ला बीच विमान काठमान्डौं उत्रियो । विमानबाट ओर्लँदा नमस्ते गरेर बसेका ती एअरहोस्टेजहरुलाई उनीहरुको अबिरल सेवाका लागि मनै देखि धन्यवाद दिएँ। इमिग्रेशनको लथालिंगे लाइन पारगर्दै सामानसम्म पुग्न केहि समय लाग्यो तर सामान आउन र जाँच पासमा खासै समय लागेन। त्यस्तो धेरै र गाह्रो पर्ने सामान पनि थिएन मसंग । घरबाट भाई पहिल्यै पर्खेर बसेका थिए । उसको गाडीमा बसेपछि खुइए गर्दै लामो सास फेरेर, जीउ तन्काँए र शरीर अनि दिमागलाई हल्का पारेँ अनि सबै आफ्नासंगको रमाईलो भेटघाटको तानाबाना बुन्दै घरतिर लागेँ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 26 जेठ, 2074

लेखकका अन्य रचनाहरु