फेवापाटन

- चैतन्य अधिकारी 

बिक्रम सम्बत दुइ हजार एक सय | शारोन बस्नेत अर्थात् मेरो साथीका छोरा | बाहिरै जन्मे हुर्केका यी नेपाली तन्नेरीलाई यो शहर घुमाउने जिम्मा मेरो थियो | हिंजो हामी सकी नसकी हिंडेरै काहुँ डाँडा पुग्यौं | पुगिसकेपछि भने खूब रमाइलो भयो | रमाइलो कुराको शुरुवात ‘प्राचीन कालमा यहाँको धरहराबाट काठमाडौँ देखिन्थ्यो रे’ भनेपछि भएको थियो |
‘आज डाँडा काँडा चढ्ने आँट छैन’ | उसले बिहानै भनेको थियो | ‘ठीक छ | हिंड्न भने हुन्न भन्न पाइन्न है’ मैले सिमाना तोकिदिएँ | ‘त्यो त ठीक छ’ | उसले भन्यो | उ पनि त्यति कम्जोर देखिन चाहँदैनथ्यो |
‘आज बाटबाटै जाउँ|’ मैले प्रस्ताब गरें र हामी पश्चिमतिर लाग्यौं | उसले कुनै खास प्रतिक्रिया नगरी मसँगै हिंड्यो | ‘यो रत्न मन्दिर भनेको खासमा मन्दिर नभएर दर्बार हो | पहिले राजाको पालाको मौसमी दर्बार |’ उसले मुन्टो मात्रै हल्लायो | ‘असली मन्दिर यहाँ छ |’ मैले बाराही मन्दिरतिर देखाएँ | साइन बोर्डमा राता अक्षरले लेखिएको थियो – श्री बाराही मन्दिर, मंदिरचोक, फेवापाटन, पोखरा- ३५ | ऊ तस्विर खिच्न लाग्यो | मैले भनें- ‘यो मन्दिर पहिला पानीको बिचमा थियो | कुनै सानो टापू जस्तै ठाउँमा | अहिले यसको वरपर घरै घर छन् |’ तस्विर खिच्न छोडेर उसले मतिर फर्केर सोध्यो – ‘अनि त्यो टापू कहाँ गयो त ?’ म एकछिन उसलाई कसरी सम्झाउं भन्ने अन्यौलमा परेर चुप रहें | उसले अचम्म मानेर सोध्यो- ‘अनि यहाँ पानी थियो ? त्यत्रो मन्दिरै ढाक्ने पानी यहाँ कताबाट आउंथ्यो ?’ मनमनै उसले ‘यो पनि गफै होला’ भन्ठान्यो कि ? मैले भनें- ‘तिमीले सान्सानो पोखरी या खोला थियो भन्ठानेका हौला |त्यस्तो होइन | यहाँ एउटा बिशाल ताल थियो | मानिसहरु त्यसलाई फेवाताल भन्दथे | अघिको दरबार छ नि, त्यसको छेउबाट यहाँ सम्म डुंगामा आउनु पर्ने हुन्थ्यो | तालकै बिचमा एउटा ढिस्कोमा यो मन्दिर थियो र हेर्दा यो अति सुन्दर देखिन्थ्यो |’ उसले सम्झने कोशिस गरेको प्रष्टै देखिन्थ्यो | मेरो कुरालाई कतिसम्म पत्यायो कुन्नि, उसले आफ्नो हाते फोनमा ‘५० बर्ष अघिको पोखरा’ भनेर टाइप गर्यो | ३० सै बर्ष भनेको भए पनि फरक खाने थिएन होला | जे होस्, तस्विरहरुको बाढी नै उत्र्यो त्यहाँ | पहिलो तस्विर माछापुच्छ्रेको छायाँ सल्बलाईरहेको फेवाताल थियो र बीचमा बाराही मन्दिर थियो | मन्दिरको नाम पनि ‘ताल बाराही’ लेखेको पढेपछि उसले मलाई अलिअलि पत्याउन थाल्यो होला |
मन्दिरको बाहिरी किनारामा प्रशस्तै मानिसहरु उभिएर तालको विहंगम दृश्य हेरिरहेको, तालमा डुंगाहरु तैरिएको र मानिसहरु पौडी समेत खेलेका पुराना तस्विरहरु देखेपछि भने उ मेरो कुरामा आश्वस्त भयो क्यार, यसबारेमा उसको उत्सुकता पनि बढ्दै गयो | ‘अहिले पनि मन्दिर हेर्न र भगवानको दर्शन गर्न निकै मानिस आउँछन् ,तर त्यतिबेलाको मजा बेग्लै थियो |’ - मैले थपें |
उसलाई सपना जस्तै लागिरहेको थियो | ‘तीसै बर्षमा यत्रो परिवर्तन ?’ उ छक्क थियो | उसका औंलाहरू एकपछि अर्को तस्बिरमा सरिरहेका थिए|
हिंड, यहीं मात्र धेरै बेर नगरौं | ऊ त्यति इच्छुक जस्तो नदेखिए झैं गरी मेरो पछि लाग्यो | एकछिन तालकै कुरा भए |‘अँ साँच्चै, ताल त निकै गहिरो पो रहेछ !’ उसले भन्यो- ‘पौडी खेल्न नजान्ने मानिस यहाँ डुबे भने त बिचल्ली नै हुने रहेछ|’ ‘धेरै मानिस डुबेका पनि छन् यहाँ |चैत बैसाख महिनाको सरांगकोटे हावा याने सरांगकोट तिरबाट आउने हावा चलेपछि डुंगा पल्टिन बेर लाग्दैनथ्यो| त्यसैले बिहान र बेलुका मात्र डुंगा वारपार गर्थे | एउटा डुंगामा १० /१२ जना चढेका हुन्थे | आकाशबाट ठूलो पानी पर्यो भने पनि डुंगा कुनै छेउतिर नलगी सुख हुँदैनथ्यो |’ मैले बिस्तृत रुपमा बताएँ | उसलाई त्यसको अन्दाज गर्न त्यति सजिलो भने लागेको थिएन | यहाँ त छत भएका डुंगा छन् त ? उसले मोबाइलको तस्विर देखाउंदै भन्यो | ‘ती धेरै पछि दृश्यमा आएका हुन् | सत्तरीको समयतिर होला | मानिसहरुले लाइफ ज्याकेट पनि लगाएका होलान् |’ मैले प्रश्नात्मक भावमा भनें | उसले मुन्टो हल्लायो | ‘आधा आधी ताल बाँकी छँदाको बेला थियो त्यो |’ मैले अझैँ प्रष्ट पारें | ‘ओहो तीसै बर्षमा आधा ताल सकियो ?’ उसले आश्चर्य प्रकट गर्दै सोध्यो | ‘त्यो अघिको आधा ताल सकिन पनि तीस बर्ष भन्दा बढि लागेको थिएन |’ मैले झन् जोडदार हिसाबले भनें | ‘त्यसैले जम्माजम्मी साठी बर्षमा एउटा ताल एउटा बस्तीमा बदलिँदो रहेछ |’ उसले अनौठो पाराले मेरो अनुहारतिर हेर्यो | यो मान्छेले थोरथोरै तथ्यहरु मिसाएर अरु सारा गफै पो हाँकी रहेको छैन भन्ने उसलाई शंका हुँदो हो | म भने अलिकति गम्भीर नै थिएँ | मेरो मनमा मेरो बाल्यकालको फेवातालका तस्बिरहरु घुमिरहेका थिए |
हिंड्दै जाँदा बाटोमा देब्रेतिर ‘अवे टू लेजेंडरी अनदुफ्रन्ट होटेल’ भनेर संकेतचिन्ह लगाईएको देखियो | ‘यो होटल तालैको छेउमा थियो र त्यस्को नजिकै सरांगकोटबाट उडेका पाराग्लाइडका यात्रुहरु पनि झर्ने गर्थे | अहिले यसको नाम परिवर्तन भएछ |त्यो समयका ठूला पर्यटनबिदले खोलेको होटल !’
‘ए, पहिलाको नाम के थियो ?’ उसले सोध्यो र गुगल-निडल गर्यो |सियोको आँखैमा उबेलाको होटेल देखियो |अघिल्तिर सुन्दर ताल थियो, पछाडी मनोरम जंगल सहितको पहाड |
हिंड्दै जाँदा ‘क्रसबोट स्क्वायर’ आइपुग्यो | अगाडि पामे र दायाँ बायाँ क्रमश: बाराकोलोनी र फिस भ्याली एरिया भनेर देखाइएको थियो | ‘पुरानो खपौंदी बजार त्यति ठूलो थिएन, तर माछाको लागि प्रसिद्ध थियो | त्यसैको सम्झनामा अहिले फिस भ्याली भनिएको होला| यी गगनचुम्बी महलहरुले भरिएको यो बजारमा पुरानो सहरको कुनै नामोनिशान भने भेटिंदैन | धान पराल या घाँस दाउरा आदि बोकेर दक्षिणतिरको पहाडी काखमा रहेको सुन्दर गाउँ र खपौंदी बजारसम्मको वारपार यात्रामा डुंगाहरु भेट हुने ठाउं हुनाले यो चोकलाई क्रसबोट भनेको होला |’ मेरो बयान सुनेर केटो केहीबेर सोचमग्न भयो | ‘नेपालमा राणाशासन हटेपछि त्यो गाउँका एकजना गुरुङ नेता मन्त्री समेत भएका थिए रे |’ मैले अझै थपें | उसले खपौंदीको पुरानो तस्विर हेर्दै रहेछ | एउटा अग्लो रुख, खेतका गरा र टिलपिल पानी भरिएको ताल थियो | २/३ जना अधबैंसे घुंडानजिकै शिर पारेर पानीतर्फ घोप्टिइ रहेको र केही नांगा केटाकेटीहरुको तस्विर थियो | एउटा होचो घरमा भित्तातिरै फर्केर जाल बुनिरहेको मानिस पनि तस्बिरमा थियो | ‘यो माछा समात्ने जाल बुन्दै गरेको दृश्य हो र यो चाहिं माछा राख्ने बाँसको टोकरी’ मैले सिकाउने भावमा उसलाई बताएँ |
उसलाई अझै धेरै कुरा देखाउनु थियो | ‘हिंजोको यात्रा ट्रेकिंग जस्तो थियो तर आजको यात्रा ट्रेसिंग जस्तो भयो |’ म हाँसें | ‘किन ?’ उसले नबुझे झैं गर्यो | ‘पुरै शहर नयाँ छ तर हामी त्यसभित्र पुरानो समयको अवशेष खोजिरहेका छौं | तिमीलाई यो एउटा नयाँ अनुभव भैरहेको होला |’ ‘त्यो त हो | तर यति छिट्टै यत्रो परिवर्तन भएको भन्ने कुरा मलाई पत्याउन गाह्रो परिरहेछ |’ उसले सीधै आफ्नो मनको कुरा राख्यो | ‘मैले पढेको के थियो भने नदी तालहरु बदलिन्छन् तर हजारौं बर्षको दौरानमा मात्रै |यहाँ त यत्रो ठूलो ताल पुरिन सय बर्ष पनि लागेनछ|’ ‘त्यो दुखद समय मेरै जीबनकालमा पर्यो |’ म पनि भावुक भएँ | उसले संसारका कैयौं राम्रा तालहरुको कुरा सुनायो | आफूले पनि यूपीको नैनीताल, सिक्किमको छंगुताल र इबाराकिको खासुमीगाउरा ताल मात्र देखेको हो | आआफ्नै किसिमले सबै राम्रा भएपनि किन-किन फेवातालको दाँजोमा तिनलाई राख्न मन मान्दैनथ्यो |
हामी हिंड्दै अघि बढ्यौं | उसलाई मेरा सारा वृतान्त दन्त्यकथा झैं लागिरहेको थियो | ताल नै मासिएर त्यत्रो बस्ती बनेको भन्ने कुरा पत्याउन उसको मन मानिरहेको थिएन | त्यसैले उ मेरा हरेक कुरालाई आफ्नो मोबाइलमा दर्ता गर्दै जाँच्दै गर्थ्यो | तर उसले भेटेका प्रमाणहरुले नै उसलाई एकपछि अर्को पराजित गरिरहेका थिए | केही छिनमा ‘सेभेंटीज मार्क’ भन्ने ठाउँ आइपुग्यो |कुनै विदेशीले राखेको नामजस्तो यो ठाउँ बास्तवमा बिक्रम सम्बत दुइहजार सत्तरी सालतिरको तालको सीमाना थियो | ‘यहाँसम्म ताल आधा आधी थियो | यस भन्दा परको आधा बिक्रम सम्बत २०४० देखि २०७० साल सम्मको तीस बर्षमा खेत भैसकेको थियो |’
‘यहाँको सरकार या जनताले ताल बचाउन केही गरेनन् ?’ ताल कसरी पुरियो ? उसले हठात् नयाँ कुरा पाए झैँ गरी सोध्यो | ‘बिहार-फिश ट्युनाकरी’ लेखिएको एउटा ठूलो होर्डिंगबोर्डको छायाँमा उभिएर मैले भनें ‘गरे, निकै गरेका हुँन् |तर यो ठाउँको नसीबमा फेवापाटन नै लेखेको रहेछ |’ म एकछिन रोकिएँ र धाराप्रवाह भन्दै गएँ –‘ताल बचाउने नाममा दर्जनौ सरकारी र गैर सरकारी संघ संस्थाहरु जन्मे | भाषण र गोष्ठीहरु पनि भए| अघि रत्न मन्दिरकै छेउमा एउटा शीलालेख पनि तिमीले देख्यौ होला | त्यहाँ धेरैजनाको नाम मोटो गरी लेखिएको पनि छ| ताल अतिक्रमण भयो है भन्ने आवाज पनि निकै गुन्जेको हो | तर त्यसो भन्ने मानिसहरु कसैको पनि तालप्रति खासै माया या लगाव थिएन | पद, पैसा र सम्पतिप्रति नै तिनको ठूलो आशक्ति थियो |’
‘उनीहरुसंग पैसा या सम्पति थिएन ? सरकारसंग त हुँदो हो नि ?’ उसलाई यो कुरा सम्झन मुश्किल भए झैं लाग्यो | मैले भनें- होइन | त्यसो होइन | उनीहरु मुखले त ताल जोगाउँ भन्थे, तर यसलाई कसरी जोगाउने भन्ने उनीहरुको अक्कलमा थिएन | हर्पन खोलाले बर्षेनी पहिरो बोक्दै आउंथ्यो र तालमा थुपार्थ्यो | मानिसहरु त्यसलाई बरदान ठान्थे र पुरिएको ताललाई अझै पुरेर खेतीपाती गरिहाल्थे ताकि पछि त्यो आफ्नै जग्गा भनेर बिक्रि गर्न पाइयोस् | त्यो समय पोखरामा जग्गाको भाउ सुनजस्तै आकाशिएको थियो र अधिकांश मानिस जग्गाकै कारोबारमा मस्त थिए | मनमनै उनीहरुको आँखा फेवातालको जमिनमा समेत परेन होला भन्न सकिन्न | त्यति बेला नै हो, बिरौटा, मिरुवा र कूँडहर जस्ता धान फल्ने उर्बर फाँटहरु घर बस्तीले भरिएका | जो जो मानिस फेवाताललाई बचाउं भन्ने अभियानमा थिए नि, उनीहरुमध्ये धेरैको घर अहिले यहि फेवापाटनमै पर्दछ | ऊ त्यो शपिंग मल छ नि, ताल संरक्षण सम्बन्धि सरकारी अड्डामा प्रमुख भएर काम गरेका मानिसको हो | गएको निर्बाचनमा फेवापाटन बिकास समितिमा अध्यक्ष निर्बाचित हुने मानिस पनि तिन्कै सन्तति हुन् |उनी आफुलाई ठूला समाजसेवीका सन्तान मानेर गर्व गर्दछन् |’
‘कस्तो अनौठो’| ऊ मज्जाले हाँस्यो | म पनि हाँसें |अब बल्ल उसले मेरा कुरा साँच्चिकै पत्यार मानेर सुन्न थाल्यो | ‘अझै अघि जाऊँ | यहाँसम्म आइपुगेपछि पामेसम्म पुगौं’ भनेर म अघि बढें | ‘फेवातालमा के कस्ता जीवजन्तु, बनस्पतिहरु थिए त ?’ ‘फेवागेट रेसिडेन्ट अपार्टमेन्ट’ लेखिएको ठाउँ कट्दै गर्दा उसले सोध्यो | ‘उति धेरै ज्ञान त मलाई पनि छैन, तर सारस र बकुल्ला जस्ता लाग्ने सेता चराहरु हजारौं थिए | केही चराहरु वरपरका खेतहरूमा गाइ बस्तुको पछिपछि हिंडेको देखेर मलाई अचम्म लाग्थ्यो| चराहरु बास बस्ने हुनाले रत्नमन्दिर नजिकैको बाँसको झ्यांग त सेतै देखिन्थ्यो | अरु के के चराहरु पनि फेवाताल र बेगनास ताल आउजाउ गर्थे | रानीबनमा पनि थरि थरिका जीबजन्तु हुँदा हुन् | पहिले पहिले कमल र पछि जलकुम्भी निकै थियो तालमा | सत्तरिकै दशकमा यसलाई सिमसार क्षेत्र पनि घोषणा भएको मलाई याद छ|’ उसले ‘ए!’ मात्रै भन्यो |
हामी एंकरहोम, पामेटावर आइपुग्यौं | यहाँ बल्ल केही बिदेशी पर्यटकहरु देखिए | ‘यो घरमा उबेला तालमा शयर गर्ने पुराना सबैखाले डुंगाहरु संकलन गरेर एक एक वटा सिक्रीले स्टीलको रेलिंगमा बाँधेर बडो जतनपूर्वक ढंगले राखिएको छ | अहिलेको पुस्तालाई फेवापाटनको इतिहास बुझाउन यसले पक्कै मद्दत पुर्याउला | मैले जान्दाको समयमा भने फेवाताल वारपार गर्ने डुंगा यहींबाट छुट्थे | यी डुंगाको सिक्री भने अव कहिल्यै छुट्ने छैन | सहरको छेवै छेउ नहर बनेर बग्ने हर्पन खोला र यहिँ एंकरहोम हेरेर तिमीजस्ता पर्यटकहरुले पुरानो फेवातालको कल्पनामा रम्ने गर्दछन् |’
मैले यसो भन्दा उ निकै नै बेखुस देखिन्थ्यो | अब भने ताल देख्न नपाएको पीडा उसको अनुहारमा प्रष्टै झल्किएको थियो | म पनि आफ्नो जीवनबाटै केही अमूल्य चिज गुमेजस्तो अनुभव गर्दै थिएँ |
म फेरि भावुक भएँ | स्कुले बिद्यार्थी छंदा दुइ रुपियाँ तिरेर ताल पार गरेको म, प्रतिस्पर्धा गर्दै डुंगा खियाउने यात्रुहरु, डुंगामै गीत गाउने र नाच्नेहरु, जोश निकालेर पौडी खेलेरै मन्दिर जानेहरु, तालमाथि कविता भन्ने कविहरु, डुंगामा बसेर अन्तरबार्ता दिने ब्यापारी, बग्रेल्ती पर्यटकहरु, अनगिन्ती होटेल, रेस्टुरेन्ट र बारहरु, किनारमै गफ़्फ़िएर् दिन कटाउने प्रेमीहरु आदि आदि हिजो जस्तै गरी मेरो आँखामा नाचिरहे |
‘फेवापाटनमा तपाइंलाई स्वागत छ’ लेखिएको गेटैमुन्तिर पुगेर हामी फर्क्यौं |

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 26 जेठ, 2074

लेखकका अन्य रचनाहरु