विजयराज आचार्यका बालकथाको पात्र, परिवेश र कथ्य

- डा. ऋषिराम शर्मा

सार
विजयराज आचार्यका बालकथामा बालबालिकाकै पात्र, परिवेशको सेरोफेरोमा वैज्ञानिक चेतनामूलक तथ्यलाई कथ्यका रूपमा सम्प्रेषण गरिएको पाइन्छ । बालबालिका र तिनका अभिभावक, संगीसाथी, छिमेकी, सहपाठी, शिक्षक शिक्षिकाका साथै चरा चुरुङ्गी, चाडपर्व, देवीदेउता जस्ता पात्र र विषयलाई विजयराज आचार्यका बालकथामा ग्रामीण परिवेशका पृष्ठभूमिमा प्रस्तुत गरिएको पाइन्छ । उनका कथामा सामाजिक, सांस्कृतिक, धार्मिक, कुरीतिप्रति नितान्त व्यावहारिक र अत्यन्तै रमाइलो ढङ्गले विरोध गरी बालबालिकामा नवीन वैज्ञानिक चिन्तन र सोच विकास गर्ने लक्ष्य सशक्त रूपमा प्रस्तुत गरिएको छ । उनका कथाले बालबालिकालाई आपूm आफ्नो सामाजिक, पारिवारिक परिवेश र वातावरणप्रति नवीन ढङ्गले चिन्तन र व्यवहार गर्ने वैज्ञानिक सोच निकै सुन्दर रूपमा प्रस्तुत गरेका छन् ।
शब्दकुञ्जिका ः पात्र, परिवेश, कार्यपीठिका, चेतना, वैज्ञानिक सोच ।
१. विषय परिचय
प्रस्तुत लेख विजयराज आचार्य (वि.सं. २०३३) का बालकथामा चित्रित पात्र, परिवेश र कथ्यको विश्लेषण गर्ने कार्यसँग सम्बन्धित छ । विजयराज आचार्य नेपाली बालसाहित्यका बहुमुखी प्रतिभाशाली स्रष्टा हुन् । उनले बालसाहित्यका मुख्य–मुख्य विधा (कविता, कथा, उपन्यास, नाटक, जीवनी, चित्रकथा) मा कलम चलाएका छन् । विवेक सिर्जनशील प्रकाशनका निर्देशक, मध्यपश्चिमाञ्चल साहित्य परिषदका सचिव, बालवाङ्मय तथा अनुसन्धान केन्द्रका संस्थापक सचिव, ‘हाम्रो बालबगैंचा’ मासिक बाल पत्रिकाका सम्पादक, विजयराज आचार्य दर्जनौं संघ संस्थाका सदस्य समेत छन् । उनले सर्वोत्कृष्ट बालसाहित्य पुरस्कार (२०६०),पुस्कर गौतम बालसाहित्य पुरस्कार (२०६७), पारिजात पाण्डुलिपि पुरस्कार (२०६९) जस्ता थुप्रै पुरस्कार समेत प्राप्त गरेका छन् । उनले २५ ओटा बालसाहित्यिक कृतिको नेपालीमा र १७ ओटा कृतिको अङ्ग्रेजीमा अनुवाद समेत गरेका छन् । बालसाहित्यका क्षेत्रमा विशिष्ट योगदान दिएका, दिइरहेका र भविष्यमा अभैm योगदान दिन सक्ने प्रखर युवा स्रष्टा, सम्पादक, अनुवादक, विजयराज आचार्यका ६ वटा बालकथा सङ्ग्रहका स्वेच्छिक नमुना छनोट पद्धतिका आधारमा छनोट गरिएका कथाहरूका पात्र, परिवेश र कथ्यका आधारमा विश्लेषण गर्ने कार्य प्रस्तुत लेखमा गरिएको छ ।
सैद्धान्तिक आधार र सीमा
प्रस्तुत लेखको सैद्धान्तिक आधार कथाका तत्व अन्तर्गत पर्ने पात्र, परिवेश र कथ्य÷मूल सन्देश हो । विजयराज आचार्यका बालकथामा प्रयुक्त पात्र, परिवेश र कथ्यले उनका कथा बालबालिकाका लागि के कत्तिको उपयोगी छन् भन्ने सीमाभित्र रही प्रस्तुत लेख तयार पारिएको छ । यसका लागि विजयराज आचार्यका ६ ओटा बालकथा सङ्ग्रहहरू मध्ये ‘बुवाको माया’ (२०७२), ‘पाप पखाल्ने गङ्गा’ (२०७२), ‘आमाको माया’ (२०७०) कथासङ्ग्रह भित्रका ६ ओटा ‘दशैको टीका’, ‘पाप पखाल्ने गङ्गा’, ‘चमेरे गुफा’, ‘सारस र मानिस’, ‘आमाको माया’, ‘पाहुना चरा’ कथाहरूमा मात्र सीमित रही ती कथाहरूमा प्रस्तुत पात्र, परिवेश र कथ्यका आधारमा विजयराज आचार्यका बालकथाहरूको विश्लेषण गरिएको छ ।
२. विजयराज आचार्यका बालकथाका पात्र
विजयराज आचार्यका बालकथामा बालमानव पात्रहरूको अत्यधिक र प्रौढ मानव पात्रहरूको थोरै मानवेतर (सजीव पशुपछी) पात्रहरूको न्यून प्रयोग पाइन्छ । उनका विश्लेष्य कथाहरू मध्ये ‘दशैंको टीका’ कथामा लुम्बेनी (प्रौढ) खरियाका हरिदाइ, म पात्रका बुवा र म (बालक) पात्र छन् भने ‘पाप पखाल्ने गङ्गा’ कथामा पण्डित बाजे, बुद्ध (भिक्षु), सिद्धार्थ गौतम र म (बालक) लाई पात्रका रूपमा प्रयोग गरिएको छ । यी मध्ये सिद्धार्थ गौतम काल्पनिक धार्मिक पात्र हुन् भने अन्य सबै सामाजिक पात्र हुन् । उनको ‘पाप पखाल्ने गङ्गा’ कथा सङ्ग्रह भित्रको ‘चमेरे गुफा’ कथामा रामकली, हरिमाया, शोभा र प्रवृत्ति जस्ता मानव बालपात्रहरूलाई नै प्रस्तुत गरिएको छ । त्यस्तै ‘आमाको माया’ कथा सङ्ग्रहमा रहेको र पछि छुट्टै कितावका रूपमा नेपाली र कोरियन दुवै भाषामा प्रकाशित ‘सारस र मानिस’ कथामा पनि म, दुष्ट शिकारी, म पात्रकी आमा तथा सारस जस्ता पात्रहरू छन् । यस मध्ये म (बालक) पात्र दुष्ट शिकारी (खल) पात्र, म पात्रकी आमा महिला पात्र तथा सारस (मानवेतर सजीव) पात्र रहेका छन् । उनको ‘आमाको माया’ कथा सङ्ग्रहकै ‘आमाको माया’ कथामा ठुली भाउज्यू फुर्से (बालक) र बा, म (बालक) पात्र रहेका छन् भने ‘पाहुना चरा’ कथामा विवेक (बालक), विदिशा (बालिका), चराका बारेमा अध्ययन गर्ने काका जस्ता पात्रहरू छन् ।
विजयराज आचार्यका बालकमा विशेष गरी प्रथम पुरुष दृष्टिविन्दुको प्रयोग गरी बनाइएका जे जति ‘म’ पात्रहरू छन् ती सबै बालबालिका पात्रहरू पाइन्छन् भने अन्य अधिकांश पात्रहरू समाजजीवनका मानव पात्रहरू नै रहेका छन् । बालबालिका पात्रहरू मध्ये पनि बालक पात्र बढी र बालिका पात्रको कम उपस्थिति पाइन्छ । उनका कथामा प्रौढ पात्रहरू विशेष गरी बुवा, आमा, हजुर आमा, अङ्कल आदिलाई स्थान दिइएको हुन्छ । आचार्यका कथामा काल्पनिक÷धार्मिक देवीदेवता सम्बन्धी पात्रहरूको अत्यन्तै न्यून उपस्थिति पाइन्छ । उनका यी कथाका प्रस्तुत पात्रहरूका माध्यमबाट विजयराज आचार्य यथार्थ घटनालाई प्रस्तुत गर्ने बाल कथाकार हुन् भन्ने प्रष्ट हुन्छ ।
३. विजयराज आचार्यका बालकथाको परिवेश
विजयराज आचार्यका बालकथाहरूको मुख्य परिवेश वा कार्यपीठिका गाउँ, त्यहाँको समाज र समाजमा व्याप्त अन्धविश्वास रूप कुसंस्कृति एवं वातावरण र त्यसबाट उन्मुक्ति नै हो । आचार्यको ‘दशैंको टीका’ कथाको परिवेश काठमाडौँ हो । सांस्कृतिक परिवेश दशैंको टीका, दशैं टीकामा ठूलावडाबाट लिइने आशीर्वाद जस्ता विषय छन् । यस कथामा “सुरुमा म र बुवा काठमाडौँ नै बस्यौं” (पृ. २०) भनिएको छ भने कथाको अन्त्यमा “हामी बाबु छोरा मोटर साइकल चढेर गाउँबाट बाहिरियौं” (पृ. २३) भनिएको छ । यसले यस कथाको स्थानीय परिवेश काठमाडौँको गाउँको परिवेश हो कि भन्ने झल्किन्छ । लेखक काठमाडौँको टौदह क्षेत्रमा बसोबास गर्ने भएकाले त्यसैको परिवेशको झल्को पनि यहाँ पाइन्छ । ‘पाप पखाल्ने गङ्गा’
(पृ. ३१–३४) कथामा परिवेशका रूपमा गङ्गा नदीको किनार देखा परेको छ । गङ्गा नदीका किनारको परिवेशमा पात्रहरू उपस्थित गराइ कथाकारले पण्डित बाजे पात्रका माध्यमबाट धार्मिक÷सांस्कृतिक रुढिको चित्रण गरेका छन् भने सिद्धार्थ गौतम वा भिक्षुका माध्यमबाट धार्मिक÷सांस्कृतिक अन्धविश्वासको विरोध गरेका छन् । यसरी उनले आफ्नो कथ्य अनुकूल परिवेश निर्माण गरी कथामा जीवन्तता दिएका छन् ।
आचार्यले ‘पाप पखाल्ने गङ्गा’ कथा सङ्ग्रह भित्रकै ‘चमेरे गुफा’ कथामा पोखरा, अमलाचौर स्थित चमेरे गुफा (महेन्द्र गुफा) लाई कार्यपीठिका वा परिवेशका रूपमा प्रस्तुत गरेका छन् । गुफाभित्र विभिन्न आकारमा रहेका चुन ढुङ्गाका स्वरूपलाई देवीदेवताका रूपमा विश्वास गर्ने र ढोग्ने एक बाल पात्रका माध्यमबाट समाजमा व्याप्त धार्मिक अन्धविश्वासको परिवेश लेखकले प्रस्तुत गरेका छन् भने अर्को पात्रका माध्यमबाट ती आकृतिलाई देवीदेवता मानेर पूजा गर्नु अन्धविश्वास हो भन्ने चेतना समेत प्रस्तुत गरेका छन् । ‘आमाको माया’ कथा सङ्ग्रह भित्र रहेको (र नेपाली र कोरियन भाषामा छुट्टै पुस्तकका रूपमा प्रकाशित) ‘सारस र मानिस’ (१५–१८) कथामा स्थानगत परिवेशका रूपमा गाउँ चित्रित छ भने द्वन्द्वमा पति गुमाएकी विधवा नारी र उसभित्र प्रज्वलित आक्रोश तथा पुत्र प्रेम र युद्धका घाउ र त्यसले जन्माएका विभिन्न सामाजिक एवं मानसिक परिवेशको सूक्ष्म चित्रण पाइन्छ । उनको ‘आमाको माया’ कथा सङ्ग्रह भित्रै रहेको ‘आमाको माया’ कथामा गाउँ, गोठ, बाख्रा चराउने ठाउँ, पँधेरा, खेत, घर स्थानगत परिवेशका रूपमा आएका छन् भने बिहेको रमाइलो जस्ता सांस्कृतिक परिवेश पनि यसमा रमणीय रूपमा प्रस्तुत गरिएको छ । आचार्यकै ‘आमाको माया’ कथा सङ्ग्रह भित्रको ‘पाहुना चरा’ (पृ. ३४–४२) कथामा स्थानगत परिवेशका रूपमा काठमाडौँको टौदह आएको छ । बालबालिकाहरू त्यहाँ छुट्टीका दिन घुम्न जाने, त्यस दहमा विभिन्न प्रजातिका चराहरू हेर्ने जस्ता कुरालाई पनि यहाँ परिवेशका रूपमा चित्रित गरिएको छ । साथै चराहरू पनि विभिन्न देशमा घुम्न निस्कने र ती चराहरू विभिन्न ठाउँबाट टौदहमा आउने गर्दछन् भने पंक्षीहरूको पर्यटकीय परिवेश पनि यस कथामा प्रस्तुत भएको छ ।
यसरी विजयराज आचार्यका बालकथामा यथार्थ सम्बद्ध समाज, संस्कृति, परिवार सापेक्ष परिवेश देखा पर्छ । उनका कथा एकादेश भन्ने परम्परागत कथन पद्धतिबाट पूर्णतः मुक्त छन् । उनका कथामा परिवेशका रूपमा काल्पनिक, स्थान, पात्रलाई स्थान दिइएको छैन, यसबाट विजयराज आचार्यले बालबालिकाहरू हुर्के बढेको परिवार, सेरोफेरो, गाउँ, समाज, संस्कृति, परम्परा, धर्म आदिलाई परिवेशका रूपमा चित्रित गरी कथाको कथ्यलाई प्रस्तुत गरेको पाइन्छ ।
४. विजयराज आचार्यका बालकथाको कथ्य
विजयराज आचार्यका बालकथामा बालबालिकाहरू प्रौढ पात्रहरूका बीचको संवाद र अनुकूल परिवेश निर्माण गरी सामाजिक, सांस्कृतिक, धार्मिक, अन्धविश्वासको विरोध र प्रगतिशील चेतनाको पोषण दिइएको पाइन्छ । ‘दशैंको टीका’ कथामा मान्यजनबाट टीका लगाउने नाममा आफ्नो कुभलो चाहने, आपूmलाई सधैं हेला गर्ने र मिहिनेत गरेर कमाएको सम्पत्तिमा आँखा गाड्ने व्यक्तिका हातबाट टीका लगाउनुको कुनै तुक छैन र त्यस्ताको आशीर्वादको अर्थ छैन भन्ने विचार पोख्दै टीकाका नाममा समाजमा हुने आडम्बरपूर्ण व्यवहारको विरोध गर्दै भनिएको छ ः
“हैन वावु त्यसो हैन । जसले जीवनभर हेलाहोचो गर्छन्, सुख भन्दा दुःख भएको हेर्न चाहन्छन्, पसिना बगाएर कमाएको सम्पत्तिमा आँखा गाड्छन् त्यस्तालाई कसरी मान्यजन ठान्ने ? अनि फेरि त्यस्ताको हातबाट कसरी टीका थाप्ने ? कस्तो देलान आशीर्वाद त्यस्ताले” यति भन्न नसकिँदै बुवाका आँखाबाट वर्वर्ती आँसु बगिसकेका थिए । म त अक्क न वक्क भएर बुवाको मुख हेरिरहें ।
एक छिन पछि समालिँदै मेरो मुखमा पुलुक्क हेरेर भन्नुभयो “हरे लुम्बेनी, काम नगरी कसैलाई खान पुग्दैन । आशीर्वादले हुने भए खरियाका हरि दाइ पनि लखपति बन्नु हुने थियो बिचरालाई रातदिन पसिना बगाउँदा त हातमुख जोर्न कति गाह्रो छ ? (दशैंको टीका, पृ. २२) ।
यसरी प्रस्तुत कथनमा आशीर्वादले मात्र फल प्राप्त नहुने र जीवनभर सत्तोसराप गर्ने व्यक्तिहरूबाट आशीर्वाद, टीका र जमरा थाप्नु व्यर्थ हुने, मिहिनेत र परिश्रमबाट फल प्राप्त हुने विचार कथ्यका रूपमा प्रस्तुत भएको छ ।
विजयराज आचार्यको ‘पाप पखाल्ने गङ्गा’ कथामा गङ्गा स्नान गरेपछि पाप पखालिन्छ र धर्म कमाइन्छ भन्ने धार्मिक विश्वासले गर्दा समाजमा जानीजानी पाप कर्म गर्ने र गङ्गामा नुहाएर त्यो पाप पखाल्ने प्रवृत्ति बढ्न सक्ने विचार प्रस्तुत गर्दै गङ्गा स्नानले पाप पखालिन्छ भन्ने विश्वासको दुरूपयोग हुने र त्यसले समाजमा झनझन विकृति निम्त्याउने विचार प्रकट गरिएको छ ः
साँच्चै गङ्गाले पाप पखालिदिने भए त पापीले झन धेरै पाप गर्लान् नि बा ! यति सजिलोसँग पा पखाल्न पाए भने सबैजना निर्मम भएर झन पापकर्म गर्न तम्सँदैनन् ? कसो पण्डित बा । वृद्धले शङ्काको दृष्टिले सोधे । ... गङ्गाको पानी गाउँमा डुलाउँदैमा वा पानीले जिउ पखाल्दैमा हरहर गङ्गे जप्दैमा मानिसले गरेको पाप पखालिन्छ त ? (पाप पखाल्ने गङ्गा, पृ. ३३) ।
यसरी प्रस्तुत कथनबाट गङ्गा स्नान गरेर पाप पखालिन्छ भन्ने कुरामा सत्यता नभएको र यो परम्परादेखि चलि आएको एक विश्वास मात्र भएको कुरो उल्लेख गर्दै त्यस्तो विश्वासप्रति बाल पात्रकै माध्यमबाट आशङ्का व्यक्त गरिएको छ ।
विजयराज आचार्यकै ‘पाप पखाल्ने गङ्गा’ कथा सङ्ग्रह भित्र रहेको ‘चमेरे गुफा’ (पृ. १२–१८) कथामा अनादि कालदेखि चुन ढुङ्गाबाट आपैm बनेका आकृतिलाई देवीदेवता मानेर पूजा गर्नु अन्धविश्वास हो भनी धार्मिक अन्धविश्वासप्रति बालबालिकालाई सचेत÷सजग तुल्याउने काम गर्दै भनिएको छ ः
हजारौं वर्ष पहिले यहाँको जमिन भित्र चुनको खानी थियो पानीले चुन पगाल्दै लगेपछि जमिन खोक्रो भएर गुफा बनेको हो यसरी चुन पग्लेर बग्दा गुफाको भुइ र भित्तामा चुन जम्दै गयो । त्यही चुन जम्दा जम्दा अनेक आकार बनेको हो । अबुझहरूले तिनै आकारलाई देवी देवताको मूर्ति भनेर पूजा गरेका हुन् (चमेरे गुफा, पृ. १६) ।
यसरी ‘चमेरे गुफा’ कथाको कथ्य धार्मिक अन्धविश्वासप्रति बालबालिकालाई जागरुक तुल्याउनु हो भन्ने प्रष्ट हुन्छ ।
विजयराज आचार्यको ‘सारस र मानिस’ कथामा समाजमा भन्दै र सुन्दै आइएको किंवदन्ती सारसको कथालाई मानिसको कथासँग जोडेर सुन्दर बालकथाको रूप दिइएको छ । सारसको जोडीले आपसमा गर्ने प्रेम, एक विना अर्को बाँच्नै नसक्ने अवस्था र मानिसका जोडीहरू मध्ये कुनै एकको असामयिक निधन पश्चात् सस्याना छोरा छोरीप्रतिको कर्तव्य र मायाका कारण बाँच्नु परेको अवस्थाको कारुणिक तुलना यस कथामा गरिएको छ । शिकारीले भाले सारस मारिदिए पछि विक्षिप्त भएर मर्नै आँटेकी पोथी सारसको अवस्थाबारे यस कथाको बालक (म) पात्र र आमाका बिचको यो संवाद निकै रोमाञ्चक, कारुणिक एवं भावात्मक रहेको छ । यस कथाको कथ्यलाई अभिव्यक्त गर्ने कथाभित्रको साक्ष्य यस प्रकार रहेको छ ः
आमा बाबा घरमा सँगै हुँदा कति रमाइलो थियो होला भन्ने मैले कल्पना गर्न थालेँ, मेरो मुखबाट निस्किहाल्यो “तपाईहरूको जोडी पनि सारसको जोडी जस्तै थियो होला होइन आमा ?”
“हो बाबु ! हाम्रो जोडी पनि सारसको जोडी जस्तै थियो । फरक यति हो पोथी सारसले बचेरालाई चटक्क छाडेर प्राण त्याग गर्दै छे । तर मैले तिम्रो मुख हेरेर बाँचिरहेकी छु” भन्दै आमाले मलाई अँगालोमा च्याप्प च्याप्नु भयो (सारस र मानिस, पृ. १५) ।
आमाको छोराछोरी प्रतिको प्रेम पोखिएको यसमा किंवदन्तीलाई यथार्थसँग जोडेर सन्तान प्रतिको आमाको माया कस्तो हुन्छ भन्ने सन्देशलाई प्रस्तुत कथनमा अभिव्यक्त गरिएको छ ।
विजयराज आचार्यको ‘आमाको माया’ कथा सङ्ग्रह भित्रको ‘आमाको माया’ कथामा पनि बालक (छोरा) र आमाका बिचको संवाद दिइएको छ । जसमा ढुकुरका चल्ला वचेरा लिएर चिची खान भन्दै घर आएको आफ्नो छोरा फुर्सेलाई आमाले त्यसो नगर्न सम्झाउँदै भन्छिन् ः
बचेरा देख्ने वित्तिकै आमाको मुख अँध्यारो भयो । “किन ल्याएको ?” आमाले हकार्नुभयो । ‘चिची खान ल्याएको नि !’ फुर्सेले खुसी हुँदै भन्यो । हुन्न बाबु हुन्न । यिनीहरूलाई मार्नु हुन्न । यिनीहरूलाई मा¥यो भने यिनका आमाबाबुले आलापविलाप गर्छन् । तिमीलाई थाहा छ यी चराहरू त वनका गहना हुन् नि (आमाको माया, पृ. १६) ।
ढुकुरका जोडीले आफ्ना छोराछोरीलाई गर्ने मायासँग आफ्नी आमाले आपूmलाई गर्ने मायाको तुलना गरेर फुर्सेले वचेरालाई गुँडमा फर्काउनु भनेकै पशुपंछीप्रति सद्भाव राख्नुपर्छ भन्ने सन्देश बालबालिकामा प्रक्षेपण गर्नु हो । बचेरालाई गुँडमै लगेर राखिदिएको घटना र आमासँग भएको संवाद प्रसङ्गले कथाको यसै कथ्यलाई थप पुष्टि गरेको छ ः
फुर्सेले वचेरालाई विस्तारै गुडमा राखिदियो । आफ्ना वचेरा फर्केको देखेर खुसीले दङ्ग पर्दै ढुकुरले चारा खुवाउन थाले । त्यो देखेर फुर्सेकी आमा पनि दङ्ग पर्नुभयो । आमा र ढुकुरको जोडी खुसी भएको देखेर फुर्सेको मन पनि फुरुङ्ग भयो । फुर्सेले एकपल्ट गुडतिर हे¥यो र आमातिर फर्केर भन्यो “ढुकुरले वचेरालाई कस्तो माया गर्ने रैछ हगि आमा ?” “मैले तिमीलाई माया गरे भन्दा धेरै ?” आमाले जिस्क्याउनु भयो (पृ. १८) ।
यी साक्ष्यले आचार्य अत्यन्तै सरल, संवाद र भाषाका माध्यमबाट आफ्नो कथाको कथ्य वा सन्देश प्रभावकारी रूपमा सम्प्रेषण गर्न सक्षम छन् भन्ने पुष्टि हुन्छ ।
आचार्यकै ‘आमाको माया’ कथा सङ्ग्रहमा रहेको ‘पाहुना चरा’ (पृ. ३४–४२) कथामा चराहरू बारे विभिन्न सूचना, चराका प्रजाति, चराको स्वभाव र मानवले चराहरू प्रति गर्ने प्रेम, उनीहरू प्रति गर्नु पर्ने व्यवहारको प्रभावकारी चेतन प्रदान गरिएको छ । चराहरू प्रतिको व्यवहार कस्तो हुनु पर्छ भन्ने बारेमा कथामा भनिएको छ ः
तिमीहरूले खाना खाँदा आपूmले खाने कुरा यहाँका चरा वा अरू जनावरहरूलाई नदेऊ है । अनि खाजा ल्याएको झोल वा प्लास्टिकका बट्टा जथाभावी नफाल नि .... खानेकुरा राखेको प्लास्टिक पनि पशुपन्छीले खान वेर लाउँदैनन् । प्लास्टिक घाँटीमा अड्कियो वा पेटमा पुग्यो भने मर्न पनि सक्छन्, त्यसैले त्यहाँ फोहोर गर्नु हुँदैन र जथाभावी खाना पनि खुवाउनु हुँदैन । त्यसमाथि पनि यी पर्यटक चराहरू त हाम्रा पाहुना हुन् । पाहुना चरा विरामी भए भने दोष त हामीलाई लाग्छ । आज फेरि फेरि यिनीहरू यहाँ आउँछन् विदिशाले भनी (पाहुना चरा, पृ. ४२) ।
विजयराज आचार्यको यस ‘पाहुना चरा’ कथामा पाहुनाको रूपमा घुम्न आएका चराहरूलाई हामीले राम्रो व्यवहार गर्नु पर्छ भन्ने सन्देश दिइएको छ ।
५. निष्कर्ष
विजयराज आचार्यका बालकथा बालबालिकाका हृदयमा मानव पात्रहरू र गाउँलाई कार्यपीठिका बनाई धार्मिक, सामाजिक एवं सांस्कृतिक रूपमा, परम्परागत रूपमा आएका रुढि र अन्धविश्वासको विषयमा गम्भीर प्रश्न उब्जाइ त्यस्ता कुराप्रति वैज्ञानिक ढङ्गले सोच्न र व्यवहार गर्न उत्प्रेरित गरिएको छ । उनका कथामा बाबु आमा, छोरा छोरी, बालबालिकालाई पात्रका रूपमा प्रस्तुत गरी बालकथामा सामाजिक चेतना प्रस्तुत गरिएको छ । यिनका कथामा मानवेतर
(पशुपंक्षी) जस्ता पात्रहरूको प्रस्तुति भए पनि ती पात्रहरूलाई मानवीकरण÷मानव पात्रका रूपमा प्रस्तुत गरिएको पाइन्न । ती मानवेतर पात्रलाई तिनका सहज गुण प्रकट हुने गरी स्वाभाविक रूपमा चित्रित गरिएको छ । आचार्यका बालकथाको कार्यपीठिका वा परिवेशका रूपमा गाउँ, खेत, बारी, पाखो, पँधेरोका साथै विभिन्न संस्कार (विहे, जन्ती, दशैंको टीका) तथा धार्मिक विश्वास (देवी, देउता, गङ्गा स्नान) जस्ता कुराहरू रहेका छन् । यिनका कथामा सामाजिक, सांस्कृतिक, धार्मिक अन्धविश्वास र कुप्रथाका विरुद्ध बालबालिकाका कलिला मस्तिष्कलाई प्रगतिशील एवं वैज्ञानिक ढङ्गले सोच्न, चिन्तन गर्न प्रेरित गर्ने अनुकूल कार्यपीठिकाको निर्माण गरिएको छ । विजयराज आचार्यका बालकथाको मूल कथ्य वा सन्देशका रूपमा एकातिर अन्धविश्वास, परम्परागत अवैज्ञानिक प्रचलन र व्यवहार प्रतिको विरोध
(दशैंको टीका, पाप पखाल्ने गङ्गा, चमेरे गुफा कथामा) प्रस्तुत गरिएको छ भने अर्कातिर पशुपंक्षी प्रति प्रेमपूर्ण व्यवहार र सद्भाव, आमा र सन्तानका बिचको माया तथा पशुपंक्षीले आ–आफ्ना वचेरालाई गर्ने मायाको जीवन्त चित्र प्रस्तुत गरी बालबालिकामा प्रगतिशील एवं वैज्ञानिक चिन्तनको विकास, बाबु आमा र छोराछोरीका बिचको प्रगाढ सम्बन्ध तथा पशुपंक्षी र जनावरहरूप्रति गरिने प्रेमपूर्ण एवं हार्दिक व्यवहारलाई निकै प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ । यसर्थ विजयराज आचार्यका बालकथाको पात्र, परिवेश र कथ्यको विश्लेषणबाट उनी बालबालिकाका हृदयमा वैज्ञानिक चेतनाको बीजारोपण गर्ने सशक्त बाल साहित्यकार हुन् भन्ने पुष्टि हुन्छ ।
सन्दर्भ सूची
अवस्थी, महादेव (२०६५), बालसाहित्यका विधा र तिनको लेखन–प्रक्रिया, काठमाडौँ ः एकता बुक्स ।
आचार्य, विजयराज (२०७०), ‘दशैंको टीका’, बुवाको माया, काठमाडौँ ः विवेक सिर्जनशील प्रकाशन, पृ. २०–२३ ।
–––, (२०७०), ‘सारस र मानिस’, आमाको माया, काठमाडौँ ः एकता बुक्स डिस्ट्रिव्युटर्स प्रा.लि., पृ. १३–१८ ।
–––, (२०७२), ‘चमेरे गुफा’, पाप पखाल्ने गङ्गा, काठमाडौँ ः विवेक सिर्जनशील प्रकाशन प्रा.लि., पृ. १२–१८ ।
–––, (२०७२), ‘पाप पखाल्ने गङ्गा’, पाप पखाल्ने गङ्गा, काठमाडौँ ः विवेक सिर्जनशील प्रकाशन प्रा.लि., पृ. ३१–३४ ।
कसजू, विनयकुमार (२०७२), बालकथा सम्पादन, काठमाडौँ ः विवेक सिर्जनशील प्रकाशन प्रा.लि. ।
प्रधान, प्रमोद (२०६९), नेपाली बालसाहित्यको इतिहास, तेस्रो संस्क., काठमाडौँ ः विवेक सिर्जनशील प्रकाशन प्रा.लि. ।
बन्धु, चूडामणि र अन्य (२०६०), नेपाली बाल विश्वकोश, काठमाडौँ ः नेपाली बाल साहित्य समाज ।
श्रीप्रसाद (सन् २००७), हिन्दी बाल साहित्य की रूपरेखा, नयी दिल्ली ः लोक भारती प्रकाशन ।
श्रेष्ठ (२०७०), ‘नेपाली बाल कथाको विकासक्रम’, नवप्रज्ञापन, (बालसाहित्य विशेषाङ्क), पूर्णाङ्क ६०, पृ. २६–३४ ।

सहप्राध्यापक
महेन्द्ररत्न क्याम्पस, ताहाचल

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 30 बैशाख, 2074

लेखकका अन्य रचनाहरु