ससुरजीलाई खुलापत्र

- लीला लुइटेल

ससुरजी,
केमा कमी देख्यौ
तिम्रो छोरा र ममा
तिमीले छोरालाई जति पढायौ
त्योभन्दा कम गरेनन् मेरा बाले
तिमीले छोरालाई जति पुल्पुल्याएर राख्यौ
त्योभन्दा एक थोपो पनि कम थिएन
मप्रति मेरा आमाबाको वात्सल्य ।

ससुरजी,
तिम्रो घर आँगन सजाइदिने मनीप्लान्ट हुँ म
अझ भनौँ साक्षात् लक्ष्मीको रूप हुँ म
किनकि तिम्रो छोराभन्दा
बढी आर्जन छ मेरो
गृहलक्ष्मीको आवरणमा दासी भित्र्याउने तिमी
अझ भनौँ, वंश विस्तारको मेसिन प्राप्त गर्ने तिमी ।

ससुरजी,
आफ्नै रगतको मोलमोलाइ गर्दै
पन्ध्र लाखको बिटो खोज्यौ
बीस तोला सुनको प्रस्ताव पठायौ
थपिए मोटरसाइकलसहित अन्य लिस्टहरू
मेरा निरीह बाले
मुटुमाथि ढुङ्गा राखेर
पुख्र्यौली छाला बैंकमा थन्क्याइदिए
साहुको ढोकामा गएर बुढी औँलो ठेसे
कठै, उनको रगत र पसिनाको प्रतीक
हाम्रो छानो अब हाम्रो थिएन
गोठका भैँसी त साहुकै भइहाले ।

ससुरजी,
मैले त सोचेकी थिएँ
तिमीले एउटा मानव जन्मायौ
अनेक कष्ट र पीडाका माझबाट
एउटा होनहार नागरिक बनायौ
भ्रम रहेछन् यी मेरा
तिमीले त सृष्टिको एउटा अमूल्य उपहारलाई
भएभरको बल लगाएर
निरीह बोको पो बनाएछौ ।

ससुरजी,
इमानदार नोकर्नीसहित
सुनको फुल पार्ने कुखुरीको खोजीमा रहेछौ तिमी
तर मलाई तिमीजस्तो लालची
मालिक चाहिएको होइन
ममत्व र संवेदनाकी भोकी म
एउटा बाबुको ममत्वले नपुगेर
अर्काे बाबु चाहिएको हो ।
लोभानि पापानिको खाडलमा जाकिएको
विवेकशून्य र संवेदनारहित
बोको चाहिएकै होइन
मलाई चोट लाग्दा पीडा अनुभूत गर्ने
मेरो हाँसोमा खुलेर साथ दिने
एउटा सहयात्री चाहिएको हो ।

ससुरजी,
मेरा बाको अपराध के हो
आफ्नी राजकुमारीका लागि
एउटा बोको किन्न
सात पुस्ता रित्याउनु पर्ने
त्योभन्दा पनि कष्टकर क्षण त
अर्काे छ ससुरजी
तिमीजस्ता बोका गोठालाहरूको पैतालामुनि
आफ्नो सम्पूर्ण अस्तित्व दबाउन बाध्य हुनुपर्ने

ससुरजी,
आफ्नै छोरासरह योग्यता र कमाइ भएकी
मायालु एवं संवेदनशील छोरी चाहिएको भए
बरियात लिएर आउनू
अन्यथा काइ परेका दाँत र पानले खिएका ओठ
धनपिपासु कुरूप आँखा अनि कुटिल मन
मलाई देखाउने दुस्साहस
कदापि नगर्नू ।

ससुरजी,
बरु एउटा सल्लाह तिमीलाई
एउटा संवेदनशील मानवका रूपमा
यस धर्तीमा प्रवेश गरेको
तिम्रा सुकर्मबाट परिवर्तित
विवेक र संवेदना रहित एउटा बोको
दाम्लोले बाँधेर
मोलमोलाइ र लिलाम बढाबढ गर्दै
सहरबजार नचाउनू ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 30 बैशाख, 2074

लेखकका अन्य रचनाहरु