मेलम्ची छुने बेयामको रहर

- विजय सापकोटा

मन बाहिर जाडो छ मनभित्र शितल ।
पानी पर्दैछ बिरबिर । घामको नाकमुख नै देखिएको छैन । जताततै कुइरिधूलि छ । गुम्म छ आकाश, धुम्म छ पहाड मानौँ स्विकार्य छैन हाम्रो आगमन । चिसो आकाश र चिसै धरती मनमा, तनमा उत्साहैले बोकेर हामी भने जिस्क्याइरहेछौँ चकलेट नपाएर मुख फुलाई बसेको नानीजस्तै अँध्यारो पहाडलाई ।
जति हिँड्यो त्यति तन्किँदो छ बाटो । मान्छेले जीवनको बाटो खोजेजस्तै । जीवन पनि त जति सरल र सहज ढङ्ले पनि बिताउन सकिन्छ; तर यसलाई जति खोज्दै गयो यो त्यति त्यति जटिल र दुरुह बन्दै जान्छ ।
त, तन्किँदो छ बाटो । रातभरिको उडुस टोकाइ अनि त्यसको सिकसिको छ । प्रकृति पनि चिसो र फोहोर देखिन्छ । हेलम्बु नाउँको सुन्दरताको खानी भनेर प्रचलित दृष्टान्त बोकेको ठाउँको यात्रा गर्न कस्सिएका हामी दुईको हालत मायालाग्दो भएको छ । अघिल्लो रातको घाटे बासमा सिपाघाटको उडुसे लजको यन्त्रणाको परिणाम जिउभरि उडुस सल्बलाएको अनुभूति बोकेर हामी हिँडिरहेका छौँ । सिमसिम पानी, हिलो बाटो र जथाभावी छरिएको ध्वाँसे कुइरोले वातावरणलाई अझै फोहोर बनाएका छन् ।
इन्द्रावती पनि सफा छैन ।
खण्डित खण्डित छ हाम्रो यात्रा जीवनजस्तै ! हाम्रो हिँडाइ एकसरो छैन । हामी घरि कतै सुस्ताउँदै घरि कतै अल्झिँदै तैपनि हिँडिरहेका छौँ । बाटो छेउछाउका, माटोले पोतेर चिटिक्क बनाइएका साना घर, केराका घारी, उत्तिस, चिलाउने र खनायोका रूखहरूको संसारलाई क्रमशः पछाडि छाड्दै उकालिँदै छौँ हामी ।
बाटोमा भेटिन्छन् गरिब बाउहरू र धनी छोरीहरू ! बाउहरूले कछाड बाँधेका छन्, छोरीहरू ज्यानमा टिमिक्क टाँसिने जिन्समा ठाँटिएका छन् । दशैँको बेला छ, शायद छोरीहरू सहरको जागिरबाट घर फर्किएका हुन् र बाउहरू सहरबाट दशैँ बेसाएर फर्किएका हुन् । छोरीहरूको खाने खेल्ने उमेर हो, उनीहरूको लवाइ असान्दर्भिक पनि होइन । तर एउटा कुरो पटक्कै चित्त बुझ्दैन । जिन्समा ठाँटिने छोरीहरूले बाउका आङमा एकजोर बलियो दौरासुरुवाल अथवा कमिज सुरुवाल किन्ने सामथ्र्य राख्दा रहेनछन् ? मेरा आँखा उनीहरूले हातमा झुण्ड्याएका झोलातिर जान्छ । शायद, ती यसभित्र छन् कि म आश्वस्त हुन खोज्छु ।
अनि अलिक परतिर भेटिन्छन्–आकाशे रङको फ्रक लगाएकी सानी केटी र उसको जाँडले मत्थु भएको बाउ । आठ वर्षजतिकी खिरिलो ज्यान भएकी छोरीले काँधमा झोला भिरेकी छे, सँगै हिँडेको उसको बाउले आधाजति भरिएको धोक्रो नाम्लोले बाकेको छ । मातेर छेउ न भित्तो गर्दै हिँडेको बाउतिर हेर्दै हेर्दै छोरीचाहिँ हिँडिरहेकी छे । बर्खाको पहाडी बाटोमा संभाव्य दुर्घटना बोकेर लर्खराइरहेको बाउचाहिँकी त्यो कलिली छोरीको आँखामा आतङ्क मात्र देखेँ मैले । विचरी घरि लड्ने अवस्थामा पुगेको आफ्नो बाउलाई आफ्ना मसिना हातले साहारा दिने प्रयत्न समेत गर्न पुग्दथी ।
कठै ! के देश यही हो त हाम्रो ? सुन्दरी छोरीहरूका नाङ्गा बाउहरू अनि मातेका बाउका दुःखी छोरीहरू... ... ! देश जम्मामा यति हो त ? हेलम्बुको सौन्दर्य पारख गर्न हिँडेको म यात्राको सुरुमै फाटेको कलिलो मनको दारुणता दर्शन गर्न पो पुगेछु । निकैबेरसम्म मन अमिलो भइरह्यो ।
दिन त प्रकृतिले धेरै सुन्दरता दिएको छ । हिमाल, झरना, पहाड मानौ प्रकृति सबै यतै ल्याएर खन्याइदिएको छ । जति माथि उकालियो त्यति कञ्चन बग्छ पानी ! जति माथि उक्लियो त्यति हरियो, बाक्लो जङ्गल र प्राकृतिक सम्पदा ! तर सानी केटीको मातेको बाउलाई यसले केही फरक पार्दैन; सुन्दरी छोरीहरूका बाउहरूलाई यसले कुनै सुख थप्न सकेको छैन । जीवनलाई दुःखी बनाएको छ यो प्रकृतिले । शायद सदुपयोग भए यसैले सुख पनि दिने थियो, तर अब त यो जुनीभर त्यो असम्भव नै छ । जीवन दुःखी छ । कष्टहरूको एउटा ढिस्को फड्केर फेरि अर्को महाकष्टको ढिस्कोमा उभिन पुग्नु नै जीवनको अर्थ बन्न पुगेको तिनको यथार्थ हात्तीछापे चप्पलको फेदबाट चियाइरहेका इस्कुसका जराजस्ता कुर्कुच्चाले बताइरहेका थिए । प्रकृतिलाई गाली नगरी बाँच्ने समय पनि यो देशमा आउला त ? मभित्र यो प्रश्नले निकै ठाउँ लियो ।
ककनीको डाँडामा हावाघरजस्तो घरमा बास बस्न पुग्दा ह्योल्मो आमाको मनको न्यानो अगेनुमा सबै चिसो सेकायौँ । आकाश निरन्तर चुँइकिरहेको छ रुन्चे लागेको नानीजस्तै । हावा पनि जोडजोडले चल्न थालेको छ । ह्योल्मो आमाको मायालु व्यवहारले दिउँसो भेटेको मातेको मान्छेको विक्षिप्त व्यवहार बिर्साइदिएको छ । तर सम्झाइदिएको छ घरिघरि सिपाघाटकी कर्कशे र छुच्ची साहुनीलाई । त्यो साहुनी अग्रिम रकम नलिइकन बास बस्न समेत दिन्नथी र उडुसै उडुसको खोरमा लगेर सुताउँथी । तर ह्योल्मो आमामा अरूप्रति धेरै विश्वास थियो र त उनले सिङ्गो घर नै हामी दुई भाइको जिम्मामा छाडिदिएकी थिइन् । तिनै ह्योल्मो आमा बेलुकी खाना खाने बेलामा छट्पटाइरहेकी थिइन्् । सरल स्वभावका उनका जेठा छोरा नोर्बु दाइ तिनलाई काम सघाउँदै के–के भनी सम्झाइरहेका थिए जसलाई बुझ्नु हाम्रो भाषिक सामथ्र्यभन्दा बाहिरको कुरा थियो ।
ह्योल्मो आमाका पातला ओठबाट एक्कासी यी कुरा चिप्लिए–‘अब पाप लाग्छ नि !’
त्यतिकै पाप किन लाग्ने रहेछ ? सानोमा पढेको नैतिक शिक्षाको किताब सम्झन्छु जसमा पाप–धर्मका कुराहरू हुन्थे । पाप–धर्मको कुरा प्रत्येक नेपालीलाई राम्रोसित थाहा छ । के गर्दा धर्म हुन्छ अनि के गर्दाचाहिँ पाप राम्रो ज्ञान छ । शायद त्यही भएर नेपालीहरू सुरक्षित तरिकाले पापवृत्ति अपनाउँछन् । र, पाप धेरै गर्नेहरू धर्मात्मामा गनिन्छन् । हामीकहाँ गलत काम गरिसकेपछि त्यसमा भूल महसुस गर्नेभन्दा पनि सकेसम्म आफूले गरेको कामलाई राम्रो भनेर सावित गर्ने त्यसो गर्न नसके आफूले गरेको काम नराम्रो त हो तर त्यो कामभन्दा नराम्रो काम गर्ने अर्कै छ भनी आफूलाई कम नराम्रो देखाउन प्रयत्न गर्ने परम्परा छ ।
तर ह्योल्मो आमालाई पाप लाग्ने कुराले मात्रै छटपटी भएको छ । कारण हामी बुझ्दैनौ । पछि थाहा लाग्छ –साँझ परिसकेपछि एक हुल मान्छेहरू बास माग्न भनेर त्यहाँ आएछन् । तर भएको एउटा कोठामा हामी बसिसकेको तैपनि मिलेर कतै बसौँ भन्दा–भन्दै तिनीहरू हिँडेका रहेछन् । अहिले पानी परेर हुरी पनि चलेका कारण तिनीहरूको मायाले ह्योल्मो आमाको मनमा छटपटी पैदा भएको रहेछ ।
अहो आमा–मन !
हामीले तिनै आमाको आँखा र मायालु व्यवहार मनको भित्तामा टाँसेर खाना खायौँ । तिनै आमाको मायालु मनको काखमा टाउको अड्यायौँ र सिपाघाटको निद्रा समेत थपेर मिठो निदायौँ ।
बिहान उठ्दा हिजोसम्म दुध बग्ने खोला आज चिया खोला बनेछन् ।
ह्योल्मो आमा, नोर्बु दाइ सानी छोरी डोल्मासँग छुट्टिनु कठिनजस्तै बन्यो । आमाको मायालु व्यवहार जत्तिकै मिठो र आडिलो चम्बा खाएर बिदाबारी हुनेबेलामा गहिरो भावुकताले छोपेको छ हामीलाई । क्यामेरामा कैद गरेर त्यो मिठो सम्झना उँभो कुद्छौँ हामी ।
हेलम्बुको स्याउ त अब मिथक बनिसकेछ । बारीका पाटामा भर्खर रोपिएका स्याउका कलिला बोटहरू छन् । आदरणीय नोर्बु दाइका अल्पसंख्यक जाति भएकै कारण जिल्लाका सरकारी कर्मचारीहरूका पूर्वाग्रही र अन्यायपूर्ण व्यवहारबाट पीडित हुनुपरेको नमिठो यथार्थबाट गम्भिर बन्दै हामी बाक्लो जङ्गलभित्र छिरेका छौँ । जब अन्यायपूर्ण र पक्षपातपूर्ण व्यवहार हुन्छ तब नै मान्छे विद्रोही बन्छ । यतिखेर सिङ्गो देश समावेशी लोकतन्त्रको कुरा गर्दैछ, आशा छ अब नोर्बु दाइहरूका समस्यालाई पनि सिंहदरबारमा बस्नेहरूले संबोधन गर्नेछन् ।
उत्तिस, गुराँस र चिलाउनेको बाक्लो जङ्गल छिचोल्दै निरन्तर उकालिइरहेका छौँ हामी । आलुको भारी बोकेर ओरालो झरिरहेकाहरू बाटोमा भेटिन्छन् । ह्योल्मो आमाले खुवाएको च्याबाले छाड्दै जान्छ तर साथमा खानेकुरा छैन । जहाँ इच्छा त्यहाँ उपाय ! प्रकृतिले बाटोको भित्ताभरि धसिङ्गारे कालाम्यै पारेर लर्काइदिएको छ । पसरभरि धसिङ्गारेका काला दानाहरू समेटेर केही वास्ता नगरी माक्लाकमुक्लुक पार्छौँ हामी । खाइसकेपछि मात लाग्ने त्रासले अँठ्याउँछ तर जित्छौँ आत्मबलले ।
एउटा पर्खाल आइपुग्छ बाटोको बीचैमा । बाटो टुङ्गिएछ कि भनेर जिल्लिन्छौँ । तर होइन रहेछ । पर्खालमा एउटा लिस्नो लगाइएको छ । शायद, वस्तुभाउलाई बार लगाइएको होला । हामी लिस्नो चढ्छौँ । बाटाभरि धेरै लिस्नाहरू चढिन्छन् र झरिन्छन् पनि । तर यात्राचाहिँ झरिएको छैन, निरन्तर उकालिँदो छ ।
उकालोमैँ अलिकति चप्लेटी परेको ठाउँ आइपुग्छ । त्यहाँ एउटा ढुङ्गाको माने छ । मानेनिर एउटा आधा भत्केको स्कूल छ । स्कूलका कुनै ढोका पनि सग्ला छैनन् । स्कूल पछाडि एउटा फेदमा धोद्रो पसिसकेको रूख छ । ओढार परिसकेको त्यसको फेदमा चाउचाउ र बिस्कुटका खोलहरू जम्मा गरेर राखिएका छन्; शायद केटाकेटीले होला ।
म केटाकेटीहरूको शिक्षक; सङ्गत बढी उनीहरूसँग छ । उनीहरूका सुखका, दुःखका वा इच्छा र आवश्यकताका धेरै पक्षहरूसँग परिचित छु पनि । त्यो स्कूल देख्दा मेरा आँखा अघिल्तिर चिथरा बेरेका, लट्टा परेको मैलो कपाल भएका र नाकभरि सिँगान बोकेका एक हुल खिनौरा नानीहरू आएर टुलुटुलु हेरी बसिरहन्छन् । मेरा आँखा अघिल्तिर सुकिला मुकिला, सफा र राम्रा केटाकेटीहरूको आकृति आउनै सकेनन् । किनभने मलाई राम्रो थाहा छ मेरो देश त्यस्तै अभागी नानीहरूको देश हो जसले सामान्य मानवीय जीवन समेत भोग्न नपाई सानैमा कहरालाग्दो दुखिया जीवनको गहँ्रुगो भारी सकिनसकी उचालेर हिँडिरहेका छन् । मैले मेरो देशको यो कुरूपतालाई मखमली पर्दाले छोपिदिन पटक्कै चाहिन ।
‘यहाँका नानीहरूले खेल्ने सामाग्री केही पनि छैन होला नि !’
‘ खेल्नान्, रूख चढी ।’– विश्वले सहज भएर उत्तर दिन्छ । बोझिलो हाँसो हाँस्छौँ हामी ।
लाग्छ, यो देश नानीहरूको सुन्दर भविष्यको हत्यारा हो !
पृथ्वीजत्तिकै बूढा र आदिम रूखहरू लेउका लामा–लामा दारी जुँगा हालेर दार्शनिक मुद्रामा बाटोका छेउछाउमा उभिएका छन् । समाधिस्थ तिनीहरूको लहर नाघेर हामी अझै माथि आएका छौँ । माथिबाट हेरिरहेका छौँ तलतिर । माथि आएपछि तलतिर फर्की हेर्दा बेग्लै दृष्टि दिइँदोरहेछ । हामी आफूले टेकी आएको बाटोको अस्पष्ट डोरेटोतिर दूरदृष्टि त फ्याँक्छौँ–तर पुराना अनुभूति सबै बिर्सिएर माथि आएको नयाँ अनुभूतिले ।
प...र खोँचमा उठेको छ सेतो कुइरो । मौसम केही खुलेको छ । सेताम्य शृङ्ला चातुर्यतापूर्वक हाँस्दैछ– बादलुको फुस्रो पर्दालाई च्यातेर । एक्कासी चिसो अनुभूति हुन्छ । साँच्चै चिसो भएर हो वा हिमाल देखेर कुनै भेउ पाउन्न ।
उः तार्केघ्याङ ।
हरियो पहाडको कम्मरमा सपक्क टाँसिएर बसेको बस्ती र ठूलो घ्याङ देखिन्छ । गन्थेसो गर्दै हामी त्यतै लम्किएका छौँ । बाटोमा पानीले घुम्ने माने छ । सानो खोल्सो छ, खोल्सोमाथि लेउ लागेको काठेसाँघु छ । लामाखुट्टे विश्व अघिअघि छ ।
‘ओम... मानेपेमे...।
पत्तै नपाई साँघुबाट खुर्मुरिन्छु म । खोल्सीको भित्तामा रङ्मङ्गिदा घाँसको गाछमा समाई जोगिन खोजेछु । तर त्यो जरैदेखि मैसँग हामफाल्न तयार भएपछि म अझै तल घिस्रिन पुगेछु ।
‘ए...’ विश्व चिच्याएर हात दिन्छ । म माथि उकालिन्छु । दाहिने घुँडो असाध्यै दुखेको छ, तर विश्वलाई थाहा दिन्न ।
हामी विस्तारै अघि बढ्छौँ ।
भोकले पखेँटा फिँजाइरहेको छ । एकातिर दुखाइको रमरम छँदैछ, बस्ती देखेपछि त झनै भोक जागृत भएर आउँछ । तर होटेल बन्द छ ।
उपाय छैन । घ्याङतिर आउँछौँ । घ्याङभन्दा तल एउटा पाटीजस्तो छ जहाँ मानिसहरूको सानो समूह कल्याङममल्याङ गरिरहेछ । हामी घ्याङतलको ठूलो चौरमा गएर उभिन्छौँ ।
तलबाट हेर्दा बस्ती अत्यन्तै गुजुमुजु देखिन्छ । प्रत्येक घरका अघिल्तिर गजबार लगाइएको वा पर्खाल लगाइएको देखिन्छ । हेलम्बुका यस्ता सपक्क मिलेका बस्तीहरू इतिहासको कुनै क्षणमा कति जवर्जस्ती दरबारतिर घिसारिए होलान् आफ्नो रहरलाग्दो यौवन तिनीहरूले सुन्दरताको धज्जी उडाउने विलासी कामुक राणाहरूको पाउमा बिसाएहोलान् । राणाजीका विशाल दरबारभित्रका खोपी र अन्तःपुरका भित्ता र भुइँभरि तिनका आँसु र सुस्केराका डाम बसेका होलान् । भोको पेटसँगै यो कुरा पनि उब्जन्छ ।
‘दाइ, त्यो होटेलको मान्छे कहाँ हुनुहुन्छ होला ?’
‘ऊ याइँ छा, उता भिजी छा ।’– विश्वको प्रश्नमा एकजना दाइको यस्तो उत्तर आएपछि हाम्रो अनुहारमा जो बचेखुचेको चमक पनि हराएर जान्छ ।
हाम्रो मायालाग्दो अनुहारको भाव पढेर होला एकजना दिदीले भन्नुहुन्छ–‘याइँ खाए पनि हुन्जा । हुटेलको मान्जे पनि याइँ जा । लु औनुस्...।’
ज्ञानी बनेर हामी दिदीको पछि लाग्छौँ । भित्र फराकिलो छ । चौधपन्ध्रजना मान्छे छन् भित्र । तिनीहरू विभिन्न काममा व्यस्त छन् । कोही ठूला डिक्चीमा भात पकाउँदै छन्, कोही नाङ्लोमा भात बटारेर मान्छेका जस्ता स–साना आकृति बनाउँदै छन् । पछि थाहा हुन्छ, त्यो मरौँको भोज रहेछ ।
गएर बस्ने बित्तिकै नुन चिया आइपुग्छ । जिब्रोले अनौठो स्वाद लिएको छ ।
एकजना दाइ सोधखोज गर्नुहुन्छ ।
‘भात खाए पनि खानुस्, च्युरा खाएपनि खानुस् ,आलुको तरकारी पनि छ... ...’ गीत गाएजसरी बोल्नुहुन्छ दिदी । हामी चिउरा र तरकारी रोज्छौँ । पिरो तरकारी र चिउराले नाकबाट पानी बगाउँछ । पिरोबाट बच्न थपीथपी चिया पिइन्छ । खाइसकेपछि कप र प्लेट बोकेर धारातिर लाग्दा भाँडा माझिरहेका केटीहरूले हामीलाई भाँडा माझ्नै दिँदैनन् । ती राम्री केटीहरूका बीचमा बसेर हामी हातमुख धुन्छौँ । र, सबैलाई धन्यवाद ज्ञापन गर्दै बाहिरिन्छौँ ।
पेटमा चारो परेपछि केही बात छैन । बेगिन्छौँ , यद्यपि मेरो घुँडा अझै चसचस गर्र्दैछ । तर म विश्वको उत्साहलाई कमजोर बनाउन चाहन्न । हामी उकालो् लाग्छौँ । खाली जग्गामा ठड्याइएका ढुङ्गाका पर्खाल र ती पर्खालमाथि गलैँचाझैँ बिछ्छिएको सुन्दर वनस्पति आँखाभरि टाँस्दै हिलाम्ये गोरेटो निरन्तर उकालिँदो छ । धेरै गोरेटाहरू देखापर्दछन् हाम्रा पाइलालाई अल्मल्याउने गरेर । अनि धेरै तगारा र लिस्नाहरू पनि । अल्मलिँदै अगाडि बढेका हामी मान्छे नाउँको प्राणीको दर्शन नपाएर विरक्तिएका छौँ । बल्ल मानिस जातको झल्को पाइन्छ । केही पर पुगपछि बाटोदेखि तल बारीमा ओखर टिपिरहेका केटाकेटीहरूलाई कराएर सोध्छौ–
‘सेरमाङ्थान जाने बाटो कता हो ?’
‘थाहा छैन ।’
‘ठूलो मान्छे कोही छैन ?’
‘ऊ त्यो घरमा जानुस् ।’
केटाकेटीहरूले देखाइदिएको घरतिर लाग्छौँ; एउटा लिस्नो ओर्लिएर जौबारीको किनारै किनार । म विश्वको पछि पछि छु । यसकारण कि मलाई बस्ती आयो कि सबैभन्दा पहिले कुकुरको डराउने झल्को आइहाल्छ । अहिले पनि विश्व घर छेउमा पुगेर घरका मानिसलाई बोलाउँदा म भर्खर घरको पछिल्तिर मात्रै पुगेको छु । त्यहीबेला कुकुर भुकेको सानो आवाज आउँछ । शायद त्यही आवाजले होला म ढुक्क हुन्छु र फूर्तिले छिटोछिटो हिँडेर विश्वको नजिकै उभिन्छु यसरी मानौँ म अघिदेखि नै उसँगसँगै उभिइरहेको छु । तर आँगनी छेउमा ढकमक्क फुलेको कलेजी रङको लाहुरे फूलको झ्याङ छ र सँगै सानो कुकुर लर्खराइरहेको छ । तर मान्छेको जात छैन ।
निराश हामी फेरि लिस्नो उक्लिन्छौँ । अलिक पर पुगेपछि बाटोभन्दा केही तल अर्को घ्याङ देखापर्छ । एउटा घरमा झर्छौँ । तर आँगनमा डरलाग्दो झ्याप्ले कुकुर देखिन्छ । त्यो हामीतिर आक्रामक मुद्रामा हेरिरहेको छ । टाढैबाट मेरा नौ नाडी गलेर आउँछन् । रोकिँदै र बढ्दै गर्दा तीनजना साना केटाहरू कुकुरको छेउमा उभिन आइपुग्छन् । ढुक्कैले हामी तल झर्छौँ । कुकुर अझै शत्रुतापूर्ण नजर घुर्दैछ हामीलाई ।
केटाहरूले उनीहरूका अभिभावक बोलाउँछन् । आँखीभौँ छोपिने गरी ऊनीको टोपी लगाएका ती दाइलाई हाम्रो गन्तव्य सोध्छौँ–‘दाइ गालगाम्पा जाने कताबाट हो ?’
दाइ नियालेर हामीलाई हेर्नुहुन्छ । उहाँ सरल भाषामा त्यस्तो ठाउँ यताहुँदो कतै नभएको बताउनुहुन्छ । हामी गहिरिएर साथमा भएको नक्शा हेर्छौँ, त्यही छ त ।
शायद स्थानीय नाम अर्कै पो छ कि !
‘हामी तार्केघ्याङभन्दा माथि जान खोजेको ।’–हामी भाषाका विद्यार्थी बोधलाई गम्य बनाउन पनि जान्दछौँ ।
‘ए... त्यो त धेरै माथि छ । तपाईँहरू आज पुग्न सक्दैन । माथि चरनले धेरै बाटो बनाउँछ । नयाँ मान्छे अलमलिन्छ ।’–दाइले एकैपटकमा आवश्यक सबै जानकारी दिनुहुन्छ ।
हामी मुखामुख गर्छौँ । दाइलाई धन्यवाद त दिन्छौँ तर अनिर्णित हामीलाई पल्लो घ्याङमा गएर चिया पिएर मात्र जान दाइ अनुरोध गर्नुहुन्छ । हामी त्यतै तेर्सिन्छौँ । चिया पिउन होइन हाम्रो बाटो त्यतै पर्छ ।
सफा र चिटिक्क परेको घ्याङको प्राङ्गणमा धेरै मानिसहरू जम्मा भएका छन् । लामा बाजाको ठूलो आवाज वातावरणमा गुन्जिरहेको छ । हामी पुग्नेबित्तिकै सोधखोज हुन्छ । अब हामी आफू जान लागेको ठाउँ किटान गर्न नसक्ने अवस्थामा छौँ । चियाको प्रस्ताव आइहाल्छ । तर बलपूर्वक त्यो प्रस्तावलाई नकार्छौँ, खै के मनोभावनाले प्रेरित भएर हो । दुःख मान्दै एकजना पाको उमेरका मान्छेले हामीलाई तल झर्ने बाटो देखाइदिनुहुन्छ ।
गाउँ न सहरको अचिनारु स्थिति बोकेका हामी त्यो मायालु स्वभावबाट लछप्पै भिजेका छौँ । शायद लखेटियौँ पनि मायाले । मायाभन्दा बढी स्वार्थमा हुर्केबढेका हामी अदनाहरूले त्यो आत्मीयताको जवाफ कति रूखो तरिकाले दिएछौँ नि कठै ! अहिले आएर त्यस्तो लाग्दैछ ।
अब फर्किरहेका छौँ आफू आएकै बाटो । प्रतिगमन कति नमिठो र गर्वरहित हुन्छ । हामीलाई हिँड्ने जाँगर पनि छैन । थकित अनुभव गर्छौँ एक्कासी । अब मेलम्ची गाउँ तर्ने लक्ष्यका साथ तार्केघ्याङमै आई उभिएका छौँ र माथितिर हिँडेका मान्छे लर्खराउँदै फर्किएकोमा अनौठो मान्नेहरूबाट नदेखिएको अभिनय गरेर हिँडिरहेका छौँ लुसुलुसु । साथी छन् एकजना बूढा लामा ।
हामी झर्दैछौँ । अँध्यारो आकास टाउकोमा बोकेर गल्छीजस्तो बाटो झरिरहेका छौँ । पानी जिस्किरहेको छ हामीसँग । देवदार र धूपिको बाक्लो जङ्गलको बीचमा अँध्यारो बाटोमा म मौन हँडिरहेको छु । पछिपछि विश्व लामासँग मेलम्ची गाउँको बारेमा जानकारी लिइरहेछ । अलिक तल पुगपछि लामा तेर्सो लाग्छन्, उनैको सल्लाहले हामी उँधो झर्छौँ ।
चराहरूको चिर्बिर र तपस्वी रूखहरूबाहेक देखिने केही होइन । ओरालोमा लामाखुट्टे विश्वले मलाई भेट्टाउन सकेको छैन । अनायस बाटोको छेउमा चरिरहेको मृगको दर्शन पाउँछु । तर त्यो पलभरमै बाटो नाघेर उछिट्टिन्छ । मन खुशीले धपक्क फुल्छ । तर विश्वलाई फूर्तिले भन्न सकिरहेको छैन किनभने उसले त्यसलाई देख्न सकेको छैन । अब म बाटोभरि मृग देखिने आशा बोकेर हिँड्छु । त्यही आशामा म चनाखोसँग हिँडिरहेछु , अहँ त्यो संभावना अब रहेन । किनभने हामी खोलामाथि आइपुग्यौँ । सिरु नै सिरुले ढाकेको चिप्लोबाटो झरेर खोलामा पुग्छौँ । तल एउटा सानो घट्ट छ । घँघारुको बार लगाइएको घट्टभित्र मकै पिँधिइरहेको छ तर मान्छे छैन । र, रमाइलो कुरा यताबाट परतिर जाने बाटोको निशानासम्म पनि छैन ।
हामी रोमान्चित हुन्छौँ । यति निर्जन अनि मानव बस्तीदेखि टाढा घट्ट, घट्टमा मकै पिसिइरहेको तर मान्छे छैन । हामी रुमानी साहित्यका रहस्य, भूलभूलैया सम्झिएर रोमान्चित हुन्छौँ केहीबेर ।
साना–ठूला ढुङ्गाको छातीमाथि कञ्चन बगिरहेछ पहाडी खोलो । आफ्नै संगीत छ, आफ्नै ताल छ अनि गति पनि । एक्लै छ । मलाई त्यो खोलाको एक्लो बगाइ एकतमासको लाग्यो । त्यहाँ सौन्दर्यभन्दा बढी एकलास भेटेँ मैले । साँच्चै, त्यो खोला मान्छे भइदिएको भए... रोबिन्सन क्रुसोले अपरिचित मान्छे धेरै वर्षपछि देख्दा जुन व्यवहार गरेथ्यो ल त्यही व्यवहार पो देखाउँथ्यो कि ! मैले नियालेर हेरेँ त्यसको छाती । त्यो चिसिएको थियो । मैले छामेँ, अञ्जुलीमा उठाएर पिएँ । मेरो तिर्खा मेटायो । कृतज्ञता ज्ञापन गर्न हेरेँ उसलाई तर त्यो वेवास्तापूर्वक आफ्नै यात्रामा बेगिँदो थियो । न कुनै गर्व न अहँ । शायद योगी थियो त्यो ।
मैले पनि त आफ्नै यात्रा गर्नुथियो । किन जिस्किबस्थेँ नि त्यो निर्मोहीसँग ! त्यसको त आफ्नो बाटोसम्म भएपनि थियो । तर हामीले त नयाँ बाटो पहिल्याउनु थियो नभए बनाउनु थियो । त्यसैले हामी खोलै खोला होसियारीपूर्वक झ¥यौँ ।
शायद यात्रा यसैकारणले पनि अर्थपूर्ण हुन्छ । जीवनमा हिँडिएका सबै बाटाहरूले सजिलै गन्तव्यमा पु¥याइदिने भए जीवन शायद त्यति महत्वपूर्ण हुने थिएन । जीवन सिधा छैन । यसका बाटा घुमाउरा छन्, कष्टप्रद छन् । जति यी असजिला भए मान्छेले त्यति सुख पाउने आशामा यसलाई छिटोछिटो र शक्ति लगाएर हिँड्छ । यही र यत्ति हो मानव जीवनको अहिलेसम्मको इतिहासको सार पनि ।
केही तल भेटिएको एउटा गोरेटोले डोहो¥याउँछ बस्तीतिर हामीलाई । चिटिक्क परेका घरका छेउछाउ, बारीका डिल नाघ्दै पुगिन्छ मेलम्ची खोलाको छेउ । बर्खाले भर्खर नुहाएका पात, हाँगा र झाडीहरूको चेपबाट सेतै बगिरहेको देखिन्छ । मोहले त्यसको छेउसम्म तानेर लैजान्छ । कतै नीलो नीलो भास समेत देख्दा मन के हुन्छ के । भित्तामा ठोकिएर गुन्जिएको छ रनवन । हामी त्यही लहरमा बग्दै–बग्दै क्षणभरमै महासागर भेट्न पुग्थ्यौँ यदि पेटले केही तातो नमागेको भए ।
त्यतिखेर विश्वास लाग्यो संसारमा सबैभन्दा सुन्दरचाहिँ भोक नै हो भनेर ।
झोलुङ्गे पुल तरेर पारी एउटा ठूलो ढुङगो पछाडि एउटा होटेल छ । म त्यही ओडारमा बसेर चाउचाउको अर्डर गर्न गएको विश्वलाई पर्खिबस्छु । ओडारमा खोस्टा चपाइरहेका बाख्रा टुलुटुलु हेरिरहेका छन् । फुर्सदमा भिजेको जुत्ता फुकाल्छु । नरककै बास आउँछ । रगतपच्छे छ गोडा । औँलाको काप, कुर्कुच्चामा गरी गोडा तिनेक ढाडिएका जुका टिपेर ढुङ्गामाथि राख्छु । ती चुसाहा जनतालाई शोषण गरेर भुँडी ठूलो बनाउनेहरू जत्तिकै मोटाएका छन् । हेर्दाहेर्दै ती तीनैवटा ढुङ्गाबाट खस्छन् ।
तातो चाउचाउको बलले फेरि उकालिन्छौँ हामी । प्रकृति झन् अँध्यारिँदै आएको छ । चिसो छ हावा तर हाम्रो जिउचाहिँ वाफिएको छ । अब हामी राजनीति, साहित्य र कलाका विविध प्रसङ्गमा गफिँदै छौँ र नराम्ररी थाकेको अनुभूति पनि गरिरहेका छौँ । हिँड्दै गर्दा अब त यस्तो अवस्था आइसकेको छ कि प्रत्येक पाँच मिनेटमा अडिनु पर्ने गरी थकित बनेका छौँ हामी ।
तल कुइरो र माथि बादल । विश्व र म एकअर्कालाई बाहेक अरू केही देख्न सकिरहेका छैनौ । वातावरण भयावह भएर आएको छ । ठूलो आँधीवेहेरी चल्लाझैँ । तर यो सम्भावना देख्दा–देख्दै पनि हामी भने बेगिन सकिरहेका छैनौँ ।
थाहा छैन यो अन्धकारमा हामी कुन आँधीको चपेटामा पर्नेछौँ, त्यसलाई कसरी झेल्नेछौँ । थाहा छैन कति बाटाहरू भुलेर फेरि पहिल्याउनेछौँ अनि कति नयाँ बाटाहरू बनाएर हिँड्नेछौँ । उत्तर भोलिले दिनेछ । तर यतिखेर भने हामी निरन्तर हिँडिरहेका छौँ आफ्नो लक्ष्यको सुन्दर उज्यालोलाई आँखामा टाँसेर कालो समयमा ।
विश्वास भने बलियो छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 30 बैशाख, 2074

लेखकका अन्य रचनाहरु