जापान भ्रमणका स्मृतिहरु

- भेषराज रिजाल

जापानको हाकोने उपमहानगरपालिका विभिन्न मतदान केन्द्रको अवलोकनपछि मतगणना हुनुपूर्व केही समय लाग्ने हुँदा हामी कतै निस्कन लाग्यौँ । गाडी चढेर पहाड ओर्लँदै टोमेल गोन्टवा भनिने समथर फाँटतिर लाग्यौँ । टोमेल गोन्टेवामा करिब डेढ घण्टा बिताएपछि होटल जोनाथन्समा खानपिन भयो । खानाको सबै पैसा अकामात्सुले तिरिछन् । त्यसपछि हामी हाकोने उपमहानगरपालिकाको मतगणनास्थलतर्फ उकालियौँ ।
मतगणनास्थल निकै ठूलो थियो । मतगणनापूर्व अवलोकनकर्ताहरूले मतपेटिकाको स्थिति जाँच गरे । निर्वाचनमा मतगणना गर्न स्वतन्त्र अवलोकनकर्ताहरू नियुक्त गरिएको हुँदोरहेछ । मतगणना कर्मचारीहरूले मतपेटिकामा लागेको ताला चापी खोले । मतपत्रहरू मिसाएर मुठा पार्दै मेशिनमा राखियो । मेशिनले मतपत्र उम्मेदवारगतरुपमा छुट्यायो । छुट्याइएका मतपत्रहरूलाई फेरि अवलोकनकर्ताहरूले जाँच गरे । मतपत्र फेरि काउन्टिङ मेशिनमा हालियो । मेशिनले निश्चित सङ्ख्यामा मतपत्रका मुठा पारिदियो । अवलोकनकर्ताहरूले हेर्दै आफ्नो छाप लगाउँदै अगाडि बढाए । राजनीतिक दलका उम्मेदवार र तिनका प्रतिनिधिहरू त दर्शकदीर्घामा थिए । आफ्नो पार्टी वा उम्मेदवारको अवस्था आँकलन गर्न उनीहरूले दूरबिनले हेरिरहेका थिए । एउटा फोन लिएर सादा पोशाकमा एकजना मात्र प्रहरी बसेको थियो । भइरहेको मतगणनाको नतिजा सँगैको भित्ताको पर्दामा प्रदर्शन भइरहेको थियो । सरासर सबै काम भइरहेपछि कोही बोल्नै नपर्ने रहेछ । प्रविधिको विकास र अत्युत्तम प्रयोग गरिरहेका जापानीहरू निर्वाचनजस्तो विषयमा पूरै मेशिनको भर पर्दा रहेनछन् । शायद यही सोच्दा हुन्, विवेकशील मान्छेको सम्वेदना मेशिनले पूरै बुझ्न सक्दैन । मतगणना टुङ्गिएसँगै हामी टोकियोतिर लाग्यौँ । अर्कोदिन जापान छोडेर थाइल्याण्डको ब्याङ्ककतिर प्रस्थान गर्दै थियौँ हामी ।
बाटामा नोजुले जापान भ्रमणका सिकाइहरूका बारेमा छलफल गराए । मैले मेरो पालोमा भनेँ– ‘जापानमा मतपत्र सानो साइज र उच्च गुणस्तरको हुनाले जतिपटक कच्याककुचुक पारे पनि फर्र फुक्ने, नच्यातिने । मत दिँदा उम्मेदवार वा राजनीतिक दलको नाम पेन्सिलले लेखे पुग्ने । प्रचारप्रसार गर्दा सबै उम्मेदवारको नाम र सूचनाहरू एकै ठाउँमा राखिएकोले मतदाताले तुलना गर्न सहज हुने । पूर्व मतदानको व्यवस्थाले अशक्त, कामले बेफुर्सदी मतदातालाई पनि सहभागी हुनसक्ने । अपाङ्ग मतदाताका लागि अपाङ्गमैत्री मतदानकेन्द्रको व्यवस्था गरिएको हुने । मतदानकेन्द्रमा उपस्थित पहिलो मतदाताले नै मतपेटिका खालि रहेको कुरा हेरेर प्रमाणित गरे पुग्ने । मतदानकेन्द्रमा राजनीतिक दलको एजेन्ट वा सुरक्षाकर्मी नचाहिने । निर्वाचन सकिएपछि मतपेटिकालाई फोल्डिङ गरी सानो बनाएर राख्न सकिने । मतदाता शिक्षाका लागि कुनै बोटबिरुवाको बिउ, बेलुन, हातेपङ्खाजस्ता सामग्री मतदातालाई दिइने । यी यावत् व्यवस्थापनबाट जापानी निर्वाचन व्यवस्थापन अन्त्यन्तै प्रभावकारी लाग्यो ।’
भ्रमण कार्यक्रमको समीक्षा सकिँदा हामी टोकियोको होटल वासिङ्गटनको अगाडि थियौँ ।
वि.सं. २०६६ साल भाद्र २० गतेदेखि असोज ४ गतेसम्मको जापान र थाइल्याण्डको भ्रमणमा निस्किएका थियौँ आयोग र अन्तर्गतका एघारजना । त्यो भ्रमणका क्रममा जापानमा करिब दश दिन बिताएको थिएँ मैले । मेरो मन मस्तिष्कमा सदाका लागि साँचिएका छन् त्यही भ्रमणका केही अनुभूतिहरू ।
हामीभन्दा राम्रो नेपाली बोल्ने जापानी ः हारूहितो नोजु
सेञ्झुकुस्थित होटल वासिङ्गटनमा एकजना जापानीसँग भेट भयो । उनी रहेछन् हाम्रा लागि सम्पर्क अधिकृत तोकिएका हारूहितो नोजु । उनले हामीलाई देख्नासाथ नेपालीमै अभिवादन गर्दै भने ‘तपाईँहरू सबै बाहुन पर्नुभयो ।’ हामी अचम्मित भयौँ । नेपाली बोल्ने अझ जातजाति समेत पहिचान्ने नोजुलाई देखेर आश्चर्यचकित हुनु स्वाभाविकै थियो । कुराकानीका क्रममा थाहा भयो उनले त्रिविबाट नेपाली भाषामा स्नातकोत्तर गरेका रहेछन् । नेपाली विषयका ज्ञाता नोजु जुङ्गा पालेकाले नेपालीजस्तै देखिन्थे । ‘मेरो टाउको’ भनिन्छ तर ‘हजूरको टाउको’ भन्दा पनि गाली बुझिन्छ भन्ने उनले निकै राम्रो नेपाली बोल्दा रहेछन् । प्रविधिसम्पन्न जापानी भूमिमा हाम्रो दशदिने बसाइका क्रममा उनी साथै रहे हाम्रा आँखा भएर, हातखुट्टा भएर र क्रियाशीलता भएर । अचेल पनि कतै जापानको कुरा चले पहिला नोजुलाई नै सम्झन्छु मैले । मलाई लाग्छ, उनी नेपालका लागि आजीवन जापानी राजदूत भइरहनेछन् ।
प्रा.रेइ सिरातोरीको स्पष्टवादिता
छहराको पानीको गुञ्जनजस्तै थर्थराहटपूर्ण तर स्पष्टतापूर्वक बोल्ने प्राध्यापक सिरातोरीसँगको भेट हुनु मेरा लागि जापान भ्रमणको अर्काे महत्वपूर्ण उपलब्धि थियो । सोच्छु, यस्ता प्राध्यापकका विचारले मुलुकका कर्णधारहरू राम्ररी दीक्षित हुन सक्दछन् । उनले एउटा छलफलमा स्पष्ट भनिदिएका थिए ‘जापानको आधुनिक इतिहास दोस्रो विश्व युद्धपछि सुरू भएको हो । सैन्य शक्ति मजबुत बनाउँदै साम्राज्य फैलाएर मुलुकको विकास गर्ने नीति परिवर्तन गरी सैन्य शक्ति घटाउने नीति अङ्गिकार गरेबमोजिम हाल जापानमा एक प्रतिशतभन्दा कमै छ सैन्य खर्च ।’ अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका तथा राजनीतिक अध्ययन संस्था जापानका अध्यक्ष रहेका उनले थपेका थिए ‘हामी अमेरिकी सुरक्षा छातामुन्तिर सुरक्षित रहेर आर्थिक उन्नतिमा लगनशील भइरहेका छौँ । जापानको सुरक्षाको जिम्मा लिएको अमेरिकाको सैन्य शक्ति ओकिनावा र मिसावा टापुमा छ । जापानको सैनिक त सेल्फ डिफेन्स आर्मी मात्र हो ।’
दोस्रो विश्व युद्धलाई सम्झँदै उनले भनेका थिए ‘पानी परेपछिको सफा आकासजस्तै भएको छ जापान अहिले । दोस्रो विश्व युद्धमा पराजित भएबाट आधुनिक जापानी विकास प्रारम्भ भएको हो । दोस्रो विश्व युद्धपछि मुलुकमा विदेशी प्रविधि भित्र्याए पनि आत्मा चाहिँ जापानकै हुने नीति लिइएको छ ।’ सिरातोरीले युद्ध सम्झाउँदा जापानी युद्धमा होमिएर पछि सैनिक सेवा नै त्यागेका मेरा साहसी ठूलाबुबालाई सम्झेको थिएँ मैले ।
सिरातोरीले जापानी इतिहास पनि स्मरण गराए ‘दोस्रो विश्व युद्ध अघि कोरिया प्रायद्वीप, ताइवान, इण्डोनेशिया, फिलिपिन्स आदि मुलुक जापानको उपनिवेशमा थिए । दोस्रो विश्वयुद्धले करिब असी प्रतिशत जापानी भौतिक संरचना ध्वस्त भएको थियो ।’ हामी मन्त्रमुग्ध स्रोताजस्तै ती जापानी गुरूलाई सुनिरहेका थियौँ । आफ्नो नाम ‘सिरातोरी’ अर्थात् ‘सेतो हाँस’ को नामबाट पार्टी खोल्न सकिने भए पनि आफूले त्यसो नगर्ने बताउने सिरातोरीले भन्दै थिए ‘जापानको संविधान अमेरिकाले करिब एकसातामा तयार पारिदिएको हो । केही धारामा संशोधन गरिएबाहेक त्यही संविधान प्रचलनमा रहेको छ । सुरूमा एकसदनात्मक व्यवस्थापिका रहेकोमा हाल दुईसदनात्मक व्यवस्थापिका रहेको छ ।’
बुझ्नुपर्ने लाग्यो; प्रशान्त महासागरलाई काखमा च्यापेर विकासमा साझेदार भइरहेका जापान र अमेरिकाको सम्बन्ध सुमधुर रहनुपर्ने अहिलेको आवश्यकता होला । अमेरिकाले बम खसालेर हिरोशिमा र नागाशाकी ध्वस्त बनाएको पुरानो इबी सम्झी ऊसँग शत्रुता साँधेर मात्र जापानको हित हुनेवाला त छैन ।
डायटको डेमोक्रेसी
जापानी संसद भवन हो ‘डायट’ । जापान भ्रमणका क्रममा तत्कालीन सचिव यज्ञप्रसाद गौतमलगायत हाम्रो टोलीका दशजनाले डायट छिर्ने मौका पनि पाएका थियौँ । साथमा थिए सिरातोरी, नोजु, किमुरा र अरू जापानीहरू ।
संयुक्त अधिवेशन बस्ने संसद हल, संसद सदस्यले पक्ष वा विपक्षमा मतदान गर्ने स्थान हेरियो । गरिमामय हुनाको महत्ताबोध भएझैँ थियो तिनको सजावट । डायटभित्र सभासद्हरू प्रवेश गर्ने गेट अझ भब्य रहेछ । जापानको संसदीय इतिहासका हस्तिहरु हिरोबुमी इतो, सिगेनोबु ओकुमा र ताइस्के इतागेकीका सालिक रहेछन् गेटभित्र । जापानको पहिलो प्रधानमन्त्री पनि हिरोबुमी इतो नै रहेछन् । एउटा सालिक उभ्याउन सकिने खालि स्तम्भ थियो । सिरातोरीले ठट्टा गर्दै थिए, राम्रो गर्नेलाई छुट्याइएको ठाउँ हो यो । लाग्यो, लोकतन्त्र अभ्यासले नै सुदृढीकरण हुने पद्धति रहेछ ।
हामीले तत्कालीन राष्ट्रियसभाका सभापति साचुकी एदासँग भेटघाट ग¥यौँ । सचिवज्यूले उहाँलाई भादगाउँले टोपी लगाइदिएर आयोगको लागोलगायतका केही गिफ्ट दिनुभयो । सभापति एदा खुसी देखिनुभयो ।
हामी सियोदाचु नागाताचो अर्थात् राजनीतिक चोकमा रहेको लिबरल डेमोक्रेटिक पार्टी कार्यालय पुगेका थियौँ । सन् १९६६ मा बनेको रहेछ त्यो पार्टी कार्यालय । लिबरल डेमोक्रेटिक पार्टीलाई जापानी भाषामा जिमिन तो भनिँदो रहेछ । त्यस पार्टी कार्यालयका अन्तर्राष्ट्रिय विभागका कर्मचारी ह्वाकेले हामीलाई पार्टी अध्यक्षको बैठक कोठा, कार्यकक्ष, हिराकावा क्लब आदि देखाएका थिए । पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्ने ठाउँलाई हिराकावा भनिँदो रहेछ । हालसम्मका पार्टी अध्यक्षका तस्विर थिए अध्यक्षको बैठक कोठामा । एउटा तस्विर बनाउन झण्डै बीस लाख यान पर्छ भन्दै थिए त्यहाँका कर्मचारीले ।
त्यसपछि हामी हायावुशायोस्थित जापान डेमोक्रेटिक पार्टी कार्यालय पुगेका थियौँ । एउटा ठूलो हलमा लगिएको थियो हामीलाई । पार्टी अध्यक्ष युकियो हातोयामाका तस्विरसहितका पोष्टर टाँसिएका थिए त्यो हलको भित्ताभर । जापान डेमोक्रेटिक पार्टीका निर्वाचन प्रचार समितिका डेपुटी चेयरम्यान तथा सभासद् मासामितु नाइचोसँग भेटघाट भयो । सचिवज्यूले ती सभासद्लाई क्रसखुकुरी अङ्कित टोपी र बुद्धको मूर्ति उपहारस्वरूप प्रदान गर्दै शान्ति र विकासमा जापानी सहयोग रहिरहने विश्वास व्यक्त गर्नुभयो । सभासद् नाइचोले पनि नेपाललगायत एसियाली मुलुकहरूप्रति जापानी चासो बढिरहेको कुरा बताउनुभयो । नाइचो बढी भए पच्चीस वर्ष जतिका होलान् भन्ने सोचेको थिएँ मैले तर उनी त पैंतालीस वर्षका पो रहेछन् । औसत आयु बढी हुने जापानीहरूको उमेर अनुमान गर्नै गाह्रो । होचोहोचो कद, गठिलो र स्लिम शरीर ।
जापानी भाषामा मिन्स्यु तो भनिने लिबरल डेमोक्रेटिक पार्टी लामो समयदेखि सत्तासीन भइआएकोमा सन् २००९ मा सम्पन्न निर्वाचनमा जापान डेमोक्रेटिक पार्टीले बहुमत प्राप्त गरी सरकार बनाउने गृहकार्यमा जुटिरहेको रहेछ । त्यसैले त्यो पार्टी कार्यालयमा बढी भिडभाड देखिन्थ्यो । सडक किनारामा विभिन्न टेलिभिजन च्यानलका ओभी भ्यानहरू लस्कर लागेका थिए ।
नोजुले हामीलाई डायटको अधिवेशन चलिरहँदा सम्राट सम्राज्ञीले आराम गर्ने कोठामा पनि लगेका थिए । त्यो कोठाबाट माउण्ट फुजी देखिन्छ भन्दै थिए उनले । त्यो कोठाबाट माउण्ट फुजी छेकिने गरी कुनै संरचना बनाउन नपाइने रहेछ । हामीले डायटको अगाडि उभिएर फोटो पनि खिच्यौँ ।
जापानमा राजनीतिक दललाई सरकारी अनुदान दिने प्रचलन रहेछ । त्यसलाई राजनीतिमा नागरिक सहभागिताका रूपमा हेरिँदो रहेछ । नेपालमा पनि दललाई सरकारी अनुदानको व्यवस्था हुने र जथाभावी चन्दा उठाउन नपाइने व्यवस्था भए राम्रो हुन्थ्यो ।

एनएचके प्रसारण केन्द्र
सिवुयास्थित जापानी राष्ट्रिय प्रसारण केन्द्र एनएचके हेर्न पाउनु एउटा सुनौलो अवसर थियो । विगतको पछिल्लो निर्वाचनमा दुईप्रतिशत मत ल्याउन सफल प्रत्येक राजनीतिक दललाई निर्वाचनका समयमा निशुल्करूपमा दल वा उम्मेदवारको परिचय कार्यक्रम सञ्चालन गर्न दिइँदो रहेछ । निर्वाचनसम्बन्धी त्यस्ता कार्यक्रम दल वा तिनका उम्मेदवारले उत्पादन गर्न पाउने व्यवस्था पनि रहेछ । कुन राजनीतिक दलको कार्यक्रम पहिले प्रसारण गर्ने भन्ने सम्बन्धमा गोला प्रथा गरिँदो रहेछ ।
त्यहाँका कर्मचारीले हामीलाई एनएचके प्रसारण केन्द्रका कोठाहरू देखाएका थिए । जापानको उन्नाइसौँ शताब्दीतिरका चालचलन झल्काउने भिडियो छायाङ्कन भइरहेको थियो त्यहाँ । कार्यालयमा काम गर्ने कर्मचारीहरूले धुम्रपान गर्ने कोठामा मात्र धुम्रपान गर्दा रहेछन् । क्यामराहरू झुण्डिएको कोठामा उभिएर फोटो खिच्यौँ हामीले ।
अचेल टेलिभिजनमा एनएचके च्यानल हेर्दा अनि त्यतिबेला हामीलाई त्यहाँ सहजीकरण गर्ने कर्मचारीहरू देख्दा म त्यहीँ भएझैँ लाग्छ । सञ्चार माध्यमका सम्बन्धमा तोसिहिको उजीले भनेको एउटा भनाइ पनि सधैँ सम्झन्छु ‘बिरामीलाई रोग लागेको जानकारी र उपचारको विकल्प मात्र दिनुपर्छ, उपचारका सम्बन्धमा अन्तिम निर्णय त बिरामी वा उसका आफन्तले गर्दछन् ।’
धन्यवादले पाएको सास्ती
प्राध्यापक सिरातोरीलाई पहिलोपटक मैले ठमेलस्थित मल्ल होटलमा देखेको थिएँ । संविधानसभा निर्वाचन, २०६४ को लागि मतदाता नामावली सङ्कलन कार्यक्रम सम्पन्न भइसकेपछि त्यसको समीक्षा भएको थियो मल्ल होटलमा त्यतिबेला । त्यही समीक्षा कार्यक्रममा एउटा प्रस्तुतीकरण गरेका थिए सिरातोरीले । उदाहरणबाट प्रस्ट पार्न खोज्ने र व्यावहारिक विषयसँग जोडेर प्रस्तुत हुने उनलाई देख्दा र उनको विचार सुन्दा जोसुकै मन्त्रमुग्ध हुन्छन् ।
व्यक्तित्वका धनी सिरातोरीलाई जापानमा देख्दा निकै प्रफुल्ल भएको थिएँ म पनि । उनको सेसन सुनेपछि पुरानो भेटघाटको स्मरण गर्दै अनायास भनिएछ ‘सरलाई धेरै धन्यवाद’ । मैले मात्र नभएर उनलाई पहिला देखेका अरू साथीहरूले पनि धन्यवाद भनेछन् । त्यो सुनेर उनी पनि खुसी भएका थिए । त्यो धन्यवाद औपचारिकताका लागि भनिएको वाणी थिएन, आत्मीय वचन थियो । तर टोलीमा सामेल भएका एकजनाले तत्काल नेतृत्व गरिरहेका सचिवज्यूलाई खुसुक्क भनिदिएछन्, धन्यवाद त टोली नेताले दिने हो । औपचारिक धन्यवादका लागि टोली नेताका पालामा हामी बोलेका थिएनौँ तर धेरै पछिसम्म त्यसका बारेमा धेरै कुरा सुन्न प¥यो हामीले ।
प्रशान्तको किनार
तत्कालीन प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती र सचिव यज्ञप्रसाद गौतमसमेतको हाम्रो टोली तथा सिरातोरी, नोजु, अकामात्सु र किमुरा लगायतका जापानीहरू समेत केप मनाजुरू हुँदै प्रशान्त महासागरको किनारमा ओर्लियौँ । प्रशान्त महासागरको विशाल छाल हेरेर निकै रमायौँ हामी ।
माछा मारिरहेका डुङ्गााहरू, मान्छेलाई घुमाइरहेका स्टिमरहरू र छालसँग रमाइरहेका मान्छेहरू । नुनिलो पानीको खार लागेका काला ढुङ्गााहरू । पानीकै भुइँ । पानीकै आकास । पानीकै पहाड । पानीकै क्षितिज । सूर्य पनि पानीकै रङमा पानीकै किरण फैलाउँदै पानीपानी भएर डुल्छ होला त्यहाँ । सुख्खा भूपरिवेष्टित मनले मनभरि हेरिरह्यो पानीको सभ्यता ।
कसैले सिपी खोज्न थाले । कोही अग्ला ढुङ्गामा चढे । कोही किनारमा उभिएर फोटो खिच्न लागे । अगाडिपट्टिका ढुङ्गाका दुईढिस्कामा तोरण तारेजसरी डोरी टाँगिएको थियो । हामी चढेको ठूलो ढुङ्गालाई पनि छालले ढाक्न खोज्यो । संसारको सबभन्दा विशाल महासागरको किनारमा पुग्न पाएकोमा प्रशान्त महासागरको किनार मन त्यसैत्यसै गौरवान्वित भइरहेको थियो । पुलकित भइरहेको थियो । सोचेँ, यस्तै आत्मगौरबका लागि विश्व विजय गर्न मरिहत्ते गर्दा हुन मान्छेहरू । हिमाल चढ्ने, सागर तर्ने, ध्रुवीय हिउँमा टेक्ने, गुफा कन्दरा पहिल्याउने, अन्तरिक्षमा डुल्ने, ... ।
जापानीको विवाह
औपचारिक कार्यक्रम नहुँदाका दिन नोजुले हामीलाई घुमाउन लिएर हिँडे । उनले सबैभन्दा पहिला सन् १९२० ताका सम्राट मेइजीले बनाएको मेइजी जिङ्गु मन्दिर पु¥याए । मन्दिर प्रवेश गर्नुपूर्व डाडुजस्तो ढुङ्गाले पानी उबाएर जुठो नहालिकन हात र मुख चोखो बनाउनुपर्ने रहेछ । त्यसपछि मन्दिर प्राङ्गणमा पुगेर दुइचोटी ताली बजाउनुपर्ने रहेछ । शायद आफ्नो उपस्थिति देवतासामु भइसकेको साङ्केतिक अभिव्यक्ति होला त्यो ।
मन्दिरमा विवाह हुँदै रहेछ । धर्म गुरू सबैभन्दा अगाडि हिँड्दै थिए । उनका पछि दुईजना युवती र त्यसपछि दुलाहा दुलही । दुलाहा दुलहीलाई ठूलो छतरी ओढाउँदै हिँडिरहेका थिए एकजना युवा । आसपासमा थिए उनीहरूका आफन्तहरू ।
नोजु भन्दै थिए ‘सिन्टो संस्कार अनुसार विवाह र बौद्ध संस्कार अनुसार मृत्यु संस्कार गरिन्छ जापानमा ।’ उनले फेरि थपेका थिए ‘मलाई त केटी मन प¥यो, तपाईंहरूलाई नि ?’
केटौले अवस्थामा मोहित पारेका नारी रूपरङ, गन्ध, स्पर्श, जवानी र बोलीका लवज सम्झँदा जापानीको विवाह आजपर्यन्त आकर्षित गरिरहेका सम्झनाले मुग्ध हुँदै मैले भनेको थिएँ ‘हामीलाई पनि मन प¥यो तर केटीले पछाडि बोकेको चाहिँ के हो नि ?’ उनले भनेका थिए ‘जापानी महिलाले लगाउने कम्मर पेटी हो त्यो ।’ त्यसै त आदर प्रकट गर्दा पेटनेर हात राखेर सतर्क हुँदै टाउको झुकाइरहने जापानी प्रचलन त्यसमाथि पेटीले झन् कुप्रोकुप्रो देखाउने भयो । जानकारी पाएकोमा बुझेझैँ गरी समर्थन गरेँछु मैले पनि ‘ए हो त ।’ अरू हाँसेपछि थाहा भयो म पनि जापानीहरूले जसरी टाउको झुकाएर पेटमा हात राखेर बोलेको रहेछु । लाग्यो, अरूबाट प्रभावित हुँदा व्यवहार पनि अनुकरण हुँदो रहेछ ।
हाकोनेको तातोपानी–कुण्ड
हाकोने उपमहानगरपालिकाको निर्वाचन हेर्न हाकोने पुगेका हामीले त्यहाँको म्युजियम हेर्न पायौँ । म्युजियमभित्र परम्परागत जापानीहरूका तस्वीर, हतियार, वस्त्र आदि राखिएका थिए । भर्खरै बोलिहाल्लान्जस्ता चिया, खाना पकाइरहेका जापानीहरूका माटाका मूर्तिहरू । कुनै हुक्का तानिरहेको मुद्राको मूर्ति । अगेनाको डिलमा बसेर एकापसमा बातचित गरेका बुढाबुढीको मूर्ति निकै मन प¥यो मलाई । म्युजियम अगाडिपट्टिको विशाल जलसंसारमा स्टिमर र डुङ्गाहरू चलिरहेका थिए । म्युजियमबाट निस्केर हामी निर्वाचन प्रचारप्रसार भइरहेको गाउँमा पुग्यौँ । प्रचारप्रसारमा हिँड्ने कार्यकर्ताले हात वा टाउकोमा पट्टी बाँध्नुपर्ने रहेछ ।
हाकोनेमा हुने उपमहानगरपालिकाको निर्वाचनको मेसो पारेर जापानी मतदान र मतगणना प्रक्रियासमेत हेर्न गएका हामीलाई एकरात त्यहीँ बस्नुपर्ने भयो । हामी बसेको होटलमा तातो पानीको प्राकृतिक कुण्ड पनि रहेछ । हामी नुहाउन कस्सियौँ । नुहाउने सम्बन्धमा केही नियम र प्रचलन बताइदिए नोजुले ।
कुण्ड महिला र पुरुषका छुट्टाछुट्टै हुँदा रहेछन् । कुण्डमा पस्नुभन्दा पहिला नुहाउनुपर्ने र कुनै कपडा लगाउन नपाइने रहेछ । हामी चारपाँचजना कुण्डमा गएर तातो पानीको आनन्द लिएर फर्कियौँ । कोही नाङ्गिनपर्ने हुँदा कुण्डमै गएनन् । एकजना हाम्रा साथी भने कुण्डमा गएछन् तर एकजना जापानीसँगै परेछन् । जापानीले उनले लगाएको जनैप्रति सङ्केत गर्दै निकाल्न भनेछन् । उनले निकाल्न हुँदैन भनेर हात हल्लाएछन् । तर दुबैले दुबैलाई स्पष्ट बुझाउन सकेनछन् । अन्त्यमा उनले जनै टाउकामा गुतेपछि बल्ल कुरो मिलेछ । जापानीहरू आफू पनि नियम पालना गर्छन् र अरूलाई पनि पालना गर्न लगाउँछन् भन्ने राम्रै शिक्षा हो यो । कुण्डमा लुगा लैजानाले कुण्ड फोहर हुन्छ भनी बनाएको नियम मिचिन्छ भनेर उनीहरू जनैका मसिना डोरामा पनि सम्झौता गर्दैनन् । हाम्रा भने नेताले नै भनिदिन्छन् ‘नियम मिच्नका लागि हो । नियम भत्काउनका लागि हो ।’ नियम मिचेर आफूलाई ठूलोठालु ठान्ने संस्कृति नै बन्न लाग्यो नेपालमा । बसमा भाडा नतिर्ने, लाइन मिच्ने, सेवा लिने ठाउँमा ठूल्ठूलो स्वरमा अरूलाई थर्काउने यस्तै सोचाइको परिणति होला ।
ओवाकुदानीको भल्कानो
स्थलगत भ्रमणका क्रममा बचेको समय निकालेर हामी कतै निस्कने भयौँ । म्युजियम जाने कि भल्कानो भन्ने बारेमा मत प्रकट हुँदा प्रमुख निर्वाचन आयुक्तले प्रजातान्त्रिक तरिकाले घुम्न जाने ठाउँ निर्णय गर्न सकिने भनिदिनुभयो । बहुमत भल्कानो हेर्न जाने पक्षमा प¥यो । हामी निर्वाचन आयोगका कर्मचारीहरूले निष्पक्ष निर्वाचनको मत त मान्नै प¥यो । त्यसैले एकहजार मिटर भन्दा बढी उचाइमा रहेको ओवाकुदानीसम्म केबुलकारमा पुगेर पाखोभर वाष्फ बनेर उडिरहेको भल्कानो हेर्नतिर लागिहाल्यौँ । जङ्गली पहाडको भित्तामा भित्रैबाट उछिट्टिएर थुप्रिएकाजस्ता ढुङ्गाका बीचमा कमेरे माटोमा उम्लिरहेको वाफ । त्यसको वरपर वाफभन्दा बढी फैलिइरहेका थिए मान्छेहरू । भल्कानो निस्केर आसपासमा सुकेका थिए रूखहरू । नेपालको जस्तो ढुङ्गा चिनेर बनाइएको थियो सिढीँदार बाटो । वाफिएर घुर्मैलो भएको पाखोदेखि नजर हटाएर मैले पारिपारि पनि हेरेँ । माउण्ट फुजी त्यस्तै धमिलो बादल ओढेर उभिएको थियो क्षितिजमा । ज्वालामुखीको क्रेटरजस्तो मुख आकासतिर बाएको माउण्ट फुजीको अनुहार भने हेर्न पाइनँ । ओवाकुदानीबाट आतेजाते गरिरहेका केबुलकारहरू मात्र स्पष्ट देखिने गरी सर्किरहेका थिए ।
हामी फर्कन थाल्यौँ । नोजुले कालो बोक्रा भएका अण्डा ल्याएर बाँड्न थाले । भल्कानोको तातो पानीमा उमालेर त्यस्तो भएका रहेछन् ती अण्डाहरू । पहिले त उनले कालो अण्डा हो भनेर ठट्टा गरेका थिए । नोजु ठट्टा गर्न असाध्यै सिपालु छन् । आफू नहाँसीकन अरूलाई पेट मिचीमिची हाँस्ने बनाउँछन् नोजुले । हामी त्यहाँबाट फर्कनका लागि फेरि केबुलकार चढ्यौँ ।
फुजी प्रेम
ओवाकुदानीबाट ओर्लँदै थियौँ हामी । अकामात्सुलगायतका जापानी महिलाहरू माउण्ट फुजीको अलि स्पष्ट छायाँ देखियो भनेर उफ्रन थाले ‘फुजी फुजी’ भन्दै । मैले हेरेँ उस्तै घुर्मैलो पहाड अस्पष्ट आकृतिमा क्षितिजमा हराएको थियो । हिउँदमा अलेली हिउँ पर्ने बाहेक तुवाँलोमा हराउने फुजीप्रति त्यत्रो सम्मान छ जापानीहरूबाट । उनीहरूका सामु ‘हो कति राम्रो’ भन्दै आँखा तन्काएको अभिनय गरे पनि मैले नेपालका आफ्नै सुन्दर हिमशिखरहरू सम्झिरहेको थिएँ । बाह्रैमास टल्कने हाम्रा सगरमाथा, कञ्चनजङ्गा, धौलागिरी, अपि, नाम्पा र अन्नपूर्णाहरूलाई सम्झिरहेको थिएँ । ती जापानीहरूको फुजी प्रेमको ईष्र्या पनि लागिरहेथ्यो मलाई ।
पोशाक र वातावरण
अन्तर्राष्ट्रिय तालिम भएकोले सुटटाइ त लगाउनु पर्छ भन्ने टोली नेताको निर्देशानुसार हामी सुटटाइमा ठाँटिएका थियौँ । सामान्यतयाः औपचारिक पोशाकमा रहेकासँग औपचारिक पोशाकमै रहेर अध्यापन, वार्ता वा भेटघाट गर्ने चलन रहेछ जापानमा जस्तो महसुस गरेको थिएँ मैले त्यहाँ रहँदा । जाइका टोकियोका निर्देशक आरिटाले हाम्रो कोटप्रति इशारा गर्दै भनेका थिए ‘तपाईंहरू सुटमा राम्रो देखिनुभएकोछ । मैले कोट नलगाएकोमा क्षमा चाहन्छु । मैले कोट नलगाएर वातावरणीय तापमान घटाई शीतलता बढाउन सहायता गरेको छु ।’ ठट्टै भए पनि आफ्नो लवाइखवाइ र चालचलनमा वातावरणीय पक्षसमेत हेरिनु साँच्चै कति सुन्दर विचार । नेपालमा भने आलिशान महल बनाउनेले घर अगाडि सडकमै फोहोर थुपार्ने गर्छन् । आरिटाका विचार सुन्दा कस्सिएको टाइभित्र पसिनापसिना भएझैँ लागेको थियो मलाई ।
युमोतो किण्डर गार्डेन स्कुलमा रहेको मतदान केन्द्रमा भइरहेको पूर्व मतदानसमेत निर्वाचन व्यवस्थापन हेर्न जाँदा यामागुछी माकानेले हामीलाई नेपाली झण्डा देखाएर स्वागत गरेका थिए । निकै प्रसन्न बनाएको थियो हामीलाई विदेशी भूमिमा आफ्नो पहिचान दिने झण्डा देख्दा । सोचेको थिएँ, स्वदेश बिर्सने पराइपरस्त्रहरूलाई यस्ता घटनाले केही त पक्कै सिकाउनुपर्ने हो ।
जाइका भवनभित्र खाना खाने बेलामा हामीले लगाएको टोपी देखेर एकजना जापानी हामीलाई पछ्याउँदै नजिकै आएका थिए । उनले नेपाली भाषामा परिचय गर्नुको साथै आफू पाल्पा बस्दाका संस्मरण पनि सुनाएका थिए । उनले कुनै जापानी सामान किन्न परेमा वा कुनै सहयोग चाहिएमा आफूलाई सम्झनु भन्दै आफ्नो फोन र इमेल दिएर हामीबाट विदा भएका थिए । लाग्यो, जापानीहरू निकै मिलनसार हुँदा रहेछन् ।
जापानीहरूलाई धन्यवाद दिनुपर्दा ‘थ्याङ्क यू’ भनेकोमा भन्दा ‘आरिगातो गोजाइमास्ता’ सुनेर निकै प्रफुल्ल भएको मैले अनुमान लगाएको थिएँ । अङ्ग्रेजी भाषा, संस्कृति र चालचलनदेखि उनीहरू त्यति खुसी हुँदा रहेनछन् । उनीहरूमा आफ्नै भाषा, संस्कृति र चालचलनले गौरव र आत्मसम्मान दिँदो रहेछ । प्रोफेसर रेइ सिरातोरी अङ्ग्रेजीका धुरन्धर भएर पनि नोजुलाई दोभासे राखेर जापानीमै बोल्नुले यही कुरा प्रमाणित गर्दथ्यो ।
जापानी रेल
एकबिहान साथी दुर्गा भुसालले हामीलाई रेल चढाइदिने र केही ठाउँ देखाइदिने बताए । टोलीनेताको अनुमति लिएर घुम्न जाने साथीहरूको नाम लिस्ट तयार गरियो । चारपाँचजना भयौँ । दुर्गाले रेलवे स्टेशनमा लगे र टिकट किने । टिकट छुवाउँदै तगारा खोल्दै भित्र गयौँ । मैले केही टिपोट गर्दै थिएँ साथीहरू छुटेछन् । वरपर हेरेँ मेरो नजिकैबाट पार भएका ठूल्ठूला हूलहरूभित्र मेरा साथीहरू थिएनन् । म जहाँको त्यहीँ बसिरहेँ । एकैछिनमा साथीहरू फर्केर आए ।
त्यसपछि हामी रेल चढ्यौँ । सतहमा चल्ने जापानी रेलको अनुभव गर्दा मात्र पनि मन रोमाञ्चित भइरहेको थियो । मैले साथीले भनेको पनि बिर्सेको थिइनँ, कसैलाई धक्का लागे माफी माग्न ‘सुमिमासेन’ भन्नुपर्छ । अझ महिलाका विषय त कानुन कडा छ, साह्रै सतर्क हुनुपर्छ ।
जापानी खाना
हामी बसेको सिञ्झुकुस्थित होटल वासिङ्गटनमा हाम्रा लागि बस्ने मात्र व्यवस्था थियो तर खाना खाने व्यवस्था आफै गर्नुपर्ने । खाना खाने व्यवस्था होटलमा हुनुपर्दथ्यो भन्ने हाम्रा सचिवको सुझाव र जिज्ञासामा सिरातोरीले त्यसका लागि केही हजार यान दिइएको बताएका थिए । हुन पनि हामीलाई पचास हजारभन्दा बढी जापानी यान दिइएको थियो । सम्पूर्ण सामग्रीहरू जुटाएर प्रत्येक छाक खाना पकाउनभन्दा सस्तो पर्दो रहेछ बजारबाट तयारी खाना किनेर खान । जापानीहरू पनि खानालगायत घरायसी सामग्रीहरू किन्न त्यस्तै पसलमा पुग्दा रहेछन् । त्यस्ता पसललाई फेम्ली मार्ट भनिँदो रहेछ । हामीले पनि त्यस्तै फेम्ली मार्टबाट किनेर र आफैले झोलामा लगेका चाउचाउका प्याकेटबाट काम चलायौँ । अलि ठूलो गाँसमा निल्न सकिने जत्रा तिल छर्केका भातका डल्लालाई तीनसय यान पर्दो रहेछ । त्यतिबेलाको बजार मूल्यअनुसार दुईसय पचासजति नेपाली रूपैयाँ । चामलको गुणस्तर राम्रो भएर होला त्यहाँको भात निकै स्वादिष्ठ लाग्यो मलाई । एउटा स्याउको दानालाई दुईतीन सय रूपैयाँ पर्ने । आधालिटर पानीलाई एकसय चालीस यान । नेपालीले भने विदेशीलाई सित्तैमा सबै चिज सुम्पेका रहेछौँ । मलाई लाग्यो, नेपालीलाई जत्तिकै छुट र सहुलियत दिँदै बिखर्ची विदेशी नेपाल भित्र्याएर पर्यटन प्रबद्र्धन भएको नठाने हुन्छ ।
साथीले बिर्सेको सापटी
मैले मसँगको डलरबाट यान साटिसकेको थिएँ । एकदिन एकजना सहयात्रीले खानेकुरा किन्ने बेलामा मसँग तीनसय यानजति सापट लिए । तत्कालीन मूल्यले नेपालीमा रूपान्तरण गर्दा करिब दुईसय पचासजति हुन्थ्यो । त्यो त्यति ठूलो रकम होइन । थोरै रकम भए पनि उनले त्यो रकम फिर्ता गर्न त के आफूले डलर नसाटेको बेलामा काम चलाएर सहयोग गरेकोमा धन्यवादसम्म भनेनन् । शायद उनले सापट लिएको कुरा बिर्से पनि होलान् । मैले भने बिर्सन खोज्दा पनि उनलाई सापट दिएका जापानी यानका सिक्का झल्झलती सम्झिरहेको छु । बरू आपत पर्दा सहयोग गरेको वा साथीभाइसँगै मिली खाएर तिरेको सजिलै बिर्सिन्छ । त्यसले एउटा आत्मसन्तुष्टी पनि देला । कहिलेकाहीँ साथीभाइबीच सँगै गरेको खर्च तिर्न हानथाप पनि हुने गरेको देखेको छु । तर सापट दिएको भने बिर्सिँदो रहेनछ ।
मध्यस्थ हुन खोज्दा
जापान भ्रमणका क्रममा एकदिन टोलीमा सहभागी दुईजना साथीबीच सामान्य कुरामा भनाभन भएछ । एकापसमा मिलेर हाँस्दै रमाउनुपर्नेमा साथीहरूको भनाभनले मलाई पनि दुखित बनायो । मैले कुरा जान्न चाहेँ ।
एकजनाले भने ‘मलाई यिनले हेपेर बोल्छन् ।’ अर्काले भने ‘फोटो खिच्दा फोटोमा नदेखिन तर्केकी जापानी महिलालाई देखेर छिटो फोटो खिच्न भनेको मात्र हूँ ।’
पहिलोले फेरि भने ‘यो मात्र होइन, धेरैपटक भइसक्यो ।’ अर्काले भने ‘साथी, मेरो स्वभावै यस्तै हो, तपाईंप्रति नराम्रो छैन ।’
कुरो बुझियो । मैले मध्यस्थता गरेँ ‘दुबै साथीले एकापसको मनमुटाव र नराम्रो बिर्सने । दुबैले एकअर्कालाई गरेको सहयोग र राम्रा कुरा मात्र सम्झने । परदेशमा भएको सामान्य भनाभनका बारेमा अरूलाई सुइकोसम्म नदिने ।’ दुबैले माने । झगडा सकियो । कुरो सजिलरी सुल्झाउन सकियो भनेर म पनि दङ्ग परेँ । मलाई सहयोग गरिरहेका साथीहरू पनि खुसी भए । तर त्यसको एकदुई दिनपछि हाकोनेको होटलमा दुईदुईजना मिलेर कोठा लिने बेलामा नोजुले भने ‘मिल्ने साथीहरूको जोडा बनाएर कोठा लिने । झगडा गर्ने साथीहरू छुट्टै बस्ने । झगडा पटक्कै नगर्ने ।’ म झसङ्ग भएँ । नोजुलाई साथीहरूबीचको सामान्य भनाभनको कुरा कसैले भनेकोले उनले त्यसो भनेका हुन् कि भन्ने सोचेर मनमा चसक्क भयो । नेपाल फर्केपछि पनि परदेशमा गएर झगडा गरेको भनेर पछिसम्म धेरैथरि कुरा सुनिए । लाग्यो, जसरी पनि जित्न चाहनेलाई मिलाउन मध्यस्थ हुँदा विरोधीमै गणना भइँदो रहेछ । जागिरका क्रममा झण्डै त्यस्तै मान्छेहरू धेरै भेटिइरहेका छन् । राम्रा मान्छेहरू पनि धेरै छन् यो दुनियाँमा । नराम्रा धेरै भेटिएको संयोग उस्तो भएर होला ।
आफूले सरकारी जागिरे भएर गरेका कामहरूको मूल्याङ्कन गर्छु कहिलेकाहिँ । गुदी भएका भनिएका टाउकाबाट निसृत विचारको परिपालना र कार्यान्वयन गर्दा आफ्नो कतै भूमिकै नभएझैँ लाग्छ । अरूले गरेको त्यस्तै कामसँग आफूले गरेको काम दाँजेपछि भने केही सन्तोष मिल्दछ । कामका नाममा अरूलाई दुःख दिने काम गरेको छैन भनेर पनि सन्तोष लागेको होला । जहाँ काम गर्छन्, त्यहीँका बौद्धिक वर्गले समेत नबुझ्ने बकम्फुसे रिपोर्ट बनाएर एनजीओ आइएनजीओले गरेको सामाजिक सशक्तीकरण जस्तै त पक्कै भएनन् होला मेरा काम भनेर केही खुसी पनि लाग्छ । थोरै स्रोतसाधन खर्चेर सरकारी तलब सुविधामा रमाएर काम गरियो । निर्वाह गर्न जान्ने हो भने थोरै चिजले पनि धेरै आनन्द दिँदो रहेछ । निर्वाह गरेरै जीवन यापन गरियो ।
जनताको मन जित्नुपर्ने
सिञ्झुकुस्थित होटल वासिङ्गटनबाट निस्केर हामी मर्निङ वाक गर्दै केही वरपर पुगेर फर्कन्थ्यौँ । सिञ्झुकु चुयो पार्क, टाइम स्क्वायर, अण्डरग्राउण्ड रोड, रेलवे स्टेशन आदि आफ्नै पहलमा घुमिएका ठाउँहरू थिए । हाकु यानभित्र छिरेर केही चिनो किनेका थियौँ । हाकु यान अर्थात् जे किने पनि सययान मात्र । नोजुले तालिम कार्यक्रम नभएका दिन जापानी सम्राटको निवासस्थान ‘आकासाका’ को नजिकै लगेका थिए । इतिहास भइसकेका कुनै जापानी सम्राटको घोडामा चढेको सालिकलाई पृष्ठभूमिमा राखेर खिचिएका थियौँ हामी । नजिकैको दूबाको चौरमा रमाएका थियौँ । आकासाका भने बाहिरबाट देखिँदो रहेनछ । दरबारको बाहिर पानीको नहरले घेरिएको जङ्गल मात्र देख्यौँ हामीले । त्यसभित्र दरबार छ भन्दै थिए नोजुले । नगर राम्रो किल्ला बनाउने राजाको पतन अवश्यम्भावी छ भन्ने जापानी आहानको स्मरण गराएका थिए सिरातोरीले दिउँसो ।
राजदरबारको किल्लाले राजनीति सम्झाएको थियो । हामीले टोकियो महानगरपालिका निर्वाचन प्रबन्ध समितिको कार्यालय पनि हेरेका थियौँ । जापानमा स्थायी निर्वाचन आयोगको व्यवस्था हुँदो रहेनछ । निर्वाचन सम्पन्न गराउनका लागि मतदाता हुने योग्यता भएका र स्वच्छ व्यक्तित्वहरूबाट प्रबन्ध समितिका सदस्य छानिँदा रहेछन् । संसद विघटनको चालीस दिनभित्र निर्वाचन गराउनुपर्ने रहेछ । बीस वर्ष उमेर पुगेका जापानी मतदाता हुँदा रहेछन् । नोजुले टोकियो महानगरपालिकाको मेट्रो टावर पनि चढाएका थिए । त्यो टावरको माथिल्लो तलाबाट घना आवादी भएको टोकियो नगरको दृश्यावलोकन गरिएको थियो । गगनचुम्बी भवनहरू, आधुनिक डिजाइन र आकारप्रकारमा उभ्याइएका घरहरूको जङ्गल देखेर लागेको थियो व्यवस्थित गर्न सक्यो भने स्रोतसाधन र सम्भावनाका थुप्रामै हुँदो रहेछ मान्छे ।
किमुराका लागि किनेको गिफ्ट
जापानबाट थाइल्याण्डसम्म हामीसँगै आइपुगेका थिए प्रोफेसर रेइ सिरातोरी र सातोशी किमुरा । हरेक सेसन, अन्तरक्रिया र भ्रमणमा साथै रहेर उनीहरूले पनि महत्वपूर्ण जिज्ञासा, सल्लाह र सुझाव राख्दै आएका थिए ।
थाइल्याण्डबाट नेपाल फर्कनुभन्दा एकदिन अगाडि केही आत्मीयजनहरूका लागि गिफ्ट किन्दै थिएँ मैले । जापानबाट फर्कने बेलामा एकजना महिलाले एउटा सानो कागजको फूल गिफ्ट दिएकी थिइन् । गिफ्ट भनेपछि सानै भए पनि महत्वपूर्ण मान्ने जापानी प्रचलनअनुसार मैले किमुराका लागि एउटा कलम किनेँ । मेरा हरेक जिज्ञासाको समाधान गर्ने, मृदुभाषी, अनुशासित, चाहिँदो मात्र बोल्ने र नम्रताका प्रतिमूर्ति नै लाग्दथे किमुरा मलाई । हरेक ठाउँमा उनले त्यहाँका विशेषता, स्मरणीय पक्ष बताइदिन्थे । हामीभन्दा धेरैवर्ष पहिला जापान पुगेका निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीहरूका बारेमा पनि उनले सोधेकाथिए आफ्नो मोबाइलका फोटाहरू देखाउँदै । फर्कने बेलामा मैले किमुरालाई खोजेँ तर किमुरा त मैले खोज्नुभन्दा पहिल्यै जापान फर्किसकेछन् ।
उनलाई किनेको कलम भारी मनले मैले मेरै गोजीमा राखेको थिएँ ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 30 बैशाख, 2074

लेखकका अन्य रचनाहरु