फूपू दिदी

- पेशल आचार्य

एकाएक नीताकी फूपू दिदी बिरामी हुनुभयो । वहाँलाई नजिकैको केएम्सी अस्पतालमा भर्ना गरियो । चौरासी वर्ष कटीसकेको बूढो शरीर । एक्कासी ओच्छ्यानमा घर्लप्प ढल्दा घरका सबै जहान आत्तिए । छर छिमेकीहरूले खास्सखुस्स कुरा गर्न पनि भ्याई हालेछन् ।
कुरौटे पहाडमा यस्ता कुराहरू गरिएछन् ः
‘फूपू त यसपाला त जालिन् जस्ती रहिछिन् ।’
‘निकै गलेकी पित्र बूढी यो काठमाडौँको माघको जाडो त काट्लिन जस्ती छैनन्, बाबै ।’
‘र’न पनि केके र’छन् केके रोगहरू ? चिनी रे ! प्रेसर रे ! युरिक एसिड रे ! अल्जाइमर्स रे !’
‘हात्ती जत्रो ज्यान भा’की बूढी धन्न पो असी काटिछन् । बरा !’
अस्पलातमा बिरामी हेर्न आउनेजानेहरूले गरेका कुरा सुनिछन् –नीताले ।
आफ्नो तीन वर्षे छोरालाई तेनेकतेनेक गरेर च्यापी तिनी आफ्नी बाउकी दिदी अर्थात् फूपू दिदीलाई हेर्न गइन् ।
‘सहरमा बिरामी हुँदा मदौरालाई भन्दा बिरामीका आफन्तहरूलाई अझ् बिरामी नै बनाउँछ, महँगीले । मध्यमवर्गीय परिवारमा त बिरामी हेर्न जाँदा लैजानु पर्ने सामानहरूको कासनै पु¥याउँन गाह्रो । एक किलो हर्लिक्स बोक्यो भने साढे तीनसय चिप्ली हाल्छ । अनार अढाई सयभन्दा तल कहिले ओर्लिनै मान्दैनँ । स्याउ हेर्दा राता देखिने कुनैकुनै त टुप्पी नै ठाडिने गरी अमिलिएका हुने । केरालाई फलफूलमै गन्न छाडेछन् –सहरका नव धनाड्यहरूले । भेट गर्न नजाँदा पनि फलानी धनी भै’छ । चढेर ठूली भा’की भनी नानाथरी कुरा कोरल्छन् –आफन्तहरू । जाऊँ, एकचोटीमा हातको स्वभाव लाँदाओर्दा अनि त्यसमा जाँदा आउँदाको बस–माइक्रोको भाडाभरोट जोडजाड गर्दा त हजारको नोट एकै चोटीमा सहिद भैहाल्छ ।
नीताले खुर्ईअ गरिन र एक सर्को निःस्वास छाडिन् ।
नीता यस्तैयस्तै कुरा सोचेर आफ्नो घरमा बसी रायोको साग केलाइकुलाई गरी खानाको तयारी गरिरहेकी थिइन् । यत्तिकैमा उनका श्रीमान् लुखुरलुखुर अफिसबाट फेरि हातमा उही सागकै मुठो हल्लाउँदै आए ।
उनले भने –‘घरै पिँडालु वनै पिँडालु ससुराल गएँ बाह्र हातको पिँडालु ।’
नीता केही नभनी सागको मुठो बूढाको हातबाट आफूले लिएर नाङ्लामा राखी घरको छतमा लगेर राखिन् । उनीहरूको घरमा फ्रिज थिएन ।
सात वर्ष अगाडि फूपू दिदीको भाइ अर्थात् नीताका काकाको असामयिक देहान्त हुँदा भाइको पिरले दिदीलाई सारै भएर अस्पताल भर्ना गरिएको थियो । त्यसबेलामा दिदीको खड्गो थियो भनेर चिना हेर्ने खनाल ज्योतिषीले भनेका थिए रे ! घरमा दिदीको खड्गो कटाउन सानो जापसाप गरियो । उता उस बेलामा दिदी चारदिन ओम् अस्पतालमा उपचार गरी फिरीथिन् ।
कालको मुखमा परेर फिरेकी भन्थिन् –फूपू दिदी । केके भन्थिन् –अरूचाहिँ बुझ्न सकिन्नथ्यो । दाँत सबै फुक्लेका थिए । थोतो मुखबाट बर्बराई रहन्थिन् । बाल बिधुवा पढेकी थिइनन् । आफ्नो भाव उनी अरूलाई बुझाउन नसक्ने । अरूले उनका मनका पत्रहरू केलाउन नसक्ने । अप्ठ्यारै भएको थियो ।
ड्ड
अहिले दिदी भाइको घरमा बस्छिन् । दिदीका सारै लायकका भाइ थिए । ऊ बेलामा दिदीले आफ्ना पेवापात बेचबाच गरी आफ्नो भाइलाई काठमाडौँ पठाएर पढाएकी थिइन् । भाइले सानैदेखि दुःख गरेर पढे । सानो जागिरमा लागे । त्यसबेलाको काठमाडौँ सस्तो थियो । मानिसको यस्तो किचिघान थिएन । तीसबत्तीस सालमा दिदी पहाडको आफ्नो र भाइको सबै श्रीसम्पत्ति ढुटीमाटी निखारेर कुम्लोकुटुरो बोकी पसिन् –काठमाडौँ ।
आमाबाउ नभएको भाइका घरमा दिदी नै त्यस घरकी आमाबाउ दुवै थिइन् । सयको घडी घुमाइसँगै भाइले राम्रो जागिर पाए । घरको दालभात बाहेक तिनको केही अमल थिएनन् । कालो चिया पनि तिनले अफिसमा छोडी अन्त खाएको थाहा छैन भन्थे –घरका जहानहरू ।
दिदीले घरको सबै काम हेरेकी थिइन् । भाइले बुहारीलाई सानोतिनो सीप सिकाएर जागिरमा लगाएका थिए । त्यस बीचमा बुहारीले घरलाई उज्यालो बनाउँदै खुरूखुरू तीनवटा सन्तान जन्माइदिइन् । जेठो तुषार, माहिली छोरी धर्ती र कान्छो तारिणी ।
पृथ्वी घुम्दै गयो । सूर्य चन्द्रहरू उदाउँदै अस्ताउँदै गरे ।
कसैले कसैको हानथाप गरेनन् । यता भाइ सूर्यजस्ता थिए । उनी दिउँसोको चार प्रहर आफ्नो मातहतमा राख्थे । कमाउने, जमाउने र घरमा ल्याउने तिनको काम थियो भन्दा पनि हुन्छ । उता दिदी चन्द्रझैँ थिइन् । शशीको शीतलताले त्यो घरलाई शान्त राख्थिन् । उनका भागमा रातको अर्का चार प्रहर जिम्मा थिए । अरू जाहान सुतेपछि तिनी सुत्थिन् । अरू नउठ्दै तिनी उठीसक्थिन् । तीन ताराजस्ता त्यस घरका छोराछोरीहरूले दिदीलाई सँधै बिउँझो देख्थे । छक्क र पक्क दुवै पर्थे ।
यसरी घडीको सुई त्यो घरमा रोकिएन भन्दा हुन्छ ।
तीनवटैले राम्रो पढे ।
समयअनुसार बढे पनि ।
दिन, महिना र वर्ष बिते । अब दिदी बूढी हुँदै जान लागिन् । बालविधवा भएर भाइको घरमा बस्नु परेकाले दिदीले चारधाम तीर्थ केही पनि कर गरिनन् । भाइका छोराछोरीहरूलाई योग्य बनाउँन उनले पनि आफ्नातर्फबाट मेदिनी धर्म निभाउँदै गइन् । तिनी सो घरकी धर्ती समान थिइन् ।
एकप्रकारले भन्ने हो भने फूपू दिदीका श्यामश्वेत रहरहरू मात्रै थिए । विचरीले लोग्ने कस्तो हुन्छ भन्ने नै थाहा पाएकी थिइनन् । बरा ! कति रहरका पहाडहरू कल्पनामा उक्लिन्थिन् होलिन् । कति कल्पनाका समुद्रमा तैरिन्थिन् होलिन् । भाषा नै रहेछ मानिसका इच्छा र उत्तेजनाहरूलाई प्रकट गर्ने माध्यम । त्यो सन्दर्भ फूपू दिदीका लागि लागू हुँदैनथ्यो ।
‘सुकामाना घिउ, मोहर माना मह, पहाडको पानी खाएको जिउ, निरोगी परेको शरीर ती दिदीलाई काठमाडाँैमा आक्कलझुक्कल ख्वाक्क रुघाखोकी बाहेक केही पनि भएको थिएन् ।’ छिमेकीहरू यस्तैयस्तै कुरा गर्थे ।
ड्ड
सो विगत् थियो । रहँदाबस्दा विगत् बित्यो । आगत् जन्म्यो । अब विगत् आगत बन्न किमार्थ सक्दैन । दिदीका जीवनमा त झन् सक्दै सक्दैन ।
तिनी दिनभरि बत्ती कातेर बिताउँथिन् । अल्छी लागेका बेला देवी भागवत्, रामायण र महाभारतका सिलोकमा आफूलाई भुल्याउँथिन् । साउँ अछेरसम्म चिनेकी रहिछन् । पढाइको मतलब बुझेकी थिइन् । समयले एकदिन तिनको भाइलाई उनी र उनका बुहारीलगायत भदा भदैनीहरू समेतबाट चुँडेर लग्यो । तिनी भाइ गएको दिन आफ्नो लोग्ने गएको दिनभन्दा बढी रोएकी थिइन् रे ! त्यहाँका बूढाबूढी र छिमेकीहरूले भनेका ।
रानो मौरी मरेको मौरीको घार भयो –भाइको घर । भाइको असामयिक निधनले सबै टामाटुमी भए ।
ड्ड
भाइ हुँदा तिनलाई काँचोकचिलो जे खाए पनि पच्थ्यो । तिनी ठूला दारकी महिला हट्टाकट्टा लाग्थिन् । फेरि तिनले आफूले नानी पाउँनु नपरेकाले तिनको जीउ झोलिन पाएको थिएन ।
कसिलो थियो –दिदीको शरीर । बूढो भएपछि आँगन पनि बूढाबूढीका लागि परदेश हुन्छ, भन्छन् । दिदीलाई पनि त्यस्तै भयो ।
बीचबीचमा कहिले दिदी दैलोको ठेलामा लडेर हात भाँचियो ।
कहिले तिनलाई शूलगानो बेथाले पनि चेप्न थाल्यो । भाइ हुँदा देउता थियो –भाइ । ऊ गएपछि बुहारी राछेस निस्किन् । छोराछोरीहरू सानै थिए । दिदीको पक्ष लिनै सक्दैनथे । बुहारी र आमाजू झगडा गरेका बेला ती भुरा बरा कुना पसेर रुन्थे ।
दुवै स्त्री विधवा भएपछि तिनीहरूको एकर्काको इगोले तिनीहरूलाई नै जुधाउन थाल्यो । मिलापत्र गराइदिने तराजुु बोकेको भाइ थियो र पो मेल भएको थियो –परिवारमा । ऊ गैहाल्यो । दिदी –‘यो सम्पत्ती र घरजग्गाको सृष्टिमा मेरो पनि आँसु र पसिनाको थोपा परेका छन्’ भनेर रूने उता बुहारी ‘तिम्रा भाइ नै नरहेपछि केको आँसु न साँसु’ भनेर ओल्चिने ।
अब भयो फसाद ।
त्यो घरमा शान्ति बेपत्तासँग हरायो ।
यता घरमा ‘गृहयुद्ध’ आरम्भ भयो भने उता देशमा जोर जुलुमले ‘जनयुद्ध’ चलिरहेको थियो । बुहारी सरकारको भूमिकाजस्तो आदेश फर्मान् गर्न थालिन् भने फूपू दिदीचाहिँ लडाकुको जस्तो घुर्की लगाउन थालिन् । चेपुवामा सन्तानहरू परे । तिनीहरूको मुहार मलिन र टीठलाग्दो देखिन्थ्यो जसरी ‘जनयुद्ध’ मा प्रमुख भनिएका पार्टीहरूका रवैया देखिन्थे ।
ड्ड
म नीताको श्रीमान् । नीता मेरी श्रीमती ।
नीताले फूपू दिदीको जीवनलाई गहिरोसँग नियालेकी रहिछन् । नीता स्नातकसम्म गरेकी सुशील गृहिणी हुन् । तिनीलाई नारी मनका अन्तरद्वन्द्वहरू बारे राम्ररी थाहा छ । मैले एकदिन मौका परेको बेला फूपू दिदीका बारेमा तिनलाई सोधेँ । तिनले मेरा जिज्ञासाको चित्तबुझ्दो पाराले मेसो मिलाएर जवाफ दिइन् । हुन त नीता कथाकहानी पनि लेख्थिन् । अहिले तिनी एउटा सानोतिनो स्कुलमा पढाउने काम गर्छिन् । फुर्सद्मा तिनको कथा लेख्ने हबी नै बनिसकेको थियो । स्थानीय पत्रिकाहरूले तिनका कथालाई कहिलेकाहीँ नारी लेखिकाका रूपमा स्थान दिन्थे ।
नीता बताउन थालिन् –‘असी सालकी हुन् हाम्री फूपूदिदी ।’
अब म यहाँभन्दा पछाडि उनलाई दिदी भनेर सम्बोधन गर्छु ।
उनी भन्दै गइन् –‘नब्बे सालमा दिदी दस बर्खकी थिइन् । पचासी सालमै उनको पहाडमा बिहे भएको थियो । बाल विवाहले गाँजेको त्यो समयमा उनले भाँडाकुटी खेल्दाखेल्दै एकदिन आफ्ना घरमा धेरै मानिसलाई गुरुम्म देखेर तर्सिन खोजिन् रे ! आमा बाउहरूले नुहाइ दिन खोजेछन् तर माघको दिन भएकाले तिनी जुरुङ्ग गरिछन् । बालखै भएकाले पानीले पुछपाछ गरेर कपाल कोरीबाटी गर्दिए –उनीहरूले । थोप्ले घाँघर भिराइदिए । तिनी पटकपटक भागेर पुतली खेल्न गइन् तर दिदीका पनि फूपूहरूले उनलाई क¥याप्प पारेर समातेर जग्गेमा बसाए ।’ यसरी थाहै नपाई तिनी कसैकी बुहारी भइछन् । डोलेले उनलाई डोलीमा बोके । उनका बालसखाहरू पछिपछि कुद्दै थिए रे ! सबैलाई लखाटेछन् –जन्तीपट्टिकाले । दिनभरि हिँडेपछि दिदी साँझमा लोग्नेको घरमा आगो कुल्चेर भित्रिइन् । उनलाई के थाहा ? उनी त कसैकी बुहारी भैसकेकी छिन् भन्ने कुरा । सोरदिने साइतमा तिनी माइत फर्किन् । उनलाई पु¥याउँन पाँचजना भरियाहरू साथ लगाएर पठाइएका थिए रे !’
गड्गडाएर आयो नब्बे सालको भैँचालो ।
दिदी त्यतिखेर माइतमा थिइन् । उसबेला चिचिलैमा बिहै गरे पनि उमेर पुगेपछि मात्रै घर पठाउँने चलन थियो –समाजमा । नत्र चिचिले बुहारीहरू माइतमै बस्थे –मैतालु भएर । दिदीको जीवनमा पनि त्यही मैतालु बसाइ जीवन अभिषाप बनेछ । घ¥यापघुरूप भैँचालाले घर भत्किए । पूर्वी पहाडमा अनेकौं घर धुलीसात पनि भए ।
दिदीको घरमात्र होइन त्यस महा समरमा दिदीको जीवनघर समेत भत्किएछ । उनी थाहै नपाई कसैकी भार्या भएकी थिइन् । त्यसबेला फेरि अथाह अवस्थामै विधवा बनिन् । माइतमै तिनले लोग्नेको कृयाकर्म गरिन् । अनि सुरूभयो तिनको वैधव्यको जीवन ।
मानौ विशाल समुद्रमा टापुको खोजीजस्तो भयो –सुखको यात्रा । सुकेको पातलाई उडाएझैँ तिनलाई पनि समयको सुनामीले उडाएर राजधानीको त्यो ठाउँमा ले’रायो । जुन ठाउँलाई चाबहिल गणेश स्थान भनेर मानिसहरू भन्ने गर्छन् ।
तिनले लोग्ने शब्दको मानेमतलब त के उच्चारण पनि गर्न पाइनछन् ।
कहिलेकाहीँ जब तिनी बिरामी हुन्थिन् त्यसबेलामा तिनी एक्कासी बर्बराउँथिन् रे ! हिजोआज पनि तिनीलाई जब बेथाले च्याप्न थाल्छ तब उनी बर्बराउँछिन् । केकेकेके भनेर । कसैले बुझ्दैन तिनको भाषा र भाव । बुझून पनि कसरी ? बुझाऊन पनि के भनेर ?
नीताले यति भनेर तिनको फूपूका बेथा कहिरनका रूपमा कहँदा मलाई ननिको लाग्यो ।
***
कुरामा कुरा चल्दा अहिले कसैले आफ्नो होस् या अर्काको ‘दिदी’ भन्ने शब्दोच्चारण गर्दा मलाई तिनै नीताकी फूपू दिदीको अव्यक्त कथा दिमागमा सर्सरी आइहाल्छ । त्यसबेला मलाई त्यति नै औधी औडाहा हुन्छ जति एउटी नारीले आफू अनुसारको पति भोग्न नपाएका दुःखमा उनलाई हुँदो होला
कठै ! ती फूपूदिदी अझै शनिबारशनिबार पशुपति जाँदा कहिलेकाहीँ झ्वास्स गौशालामा भेट हुन्छिन् ।
𞉀 𞉀 𞉀

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 30 बैशाख, 2074

लेखकका अन्य रचनाहरु