एकुका कवितामा सीमान्त देहातका धुकधुकी

- सुरेश हाचेकाली

लचकदार हुन नचाहने सूत्रहरूलाई च्यातेपछि मात्रै कवितामा इन्नोभेसनको यात्रा सुरु हुन्छ । त्यो इन्नोभेसनको पहिचान चक्रब्यूह सञ्चेतना(Labyrirth Conscern) ले भनेजस्तै विश्लेषण नमूनागत विविधिकरण अन्तर्गत गर्न सकिन्छ । यतिबेला यो लेखमा हाम्रो पचास र साठीका सिङ्गा दशकहरु हुँदै सत्तरीको प्रारम्भिक कालमा पनि कविता लेखिरहेका एक पूर्वेली युवा सर्जक एकु घिमिरेको वि.सं. २०७१ फाल्गुनमा स्कलर्स पब्लिकेशन, विजुलीबजारले प्रकाशन गरेको कबिता सङ्ग्रह एउटा बाटो गाउँसम्म माथि सैद्धान्तिक विचरण गर्दैछौं । हुन त एकुका कविताहरुलाई दृष्टिपात गर्ने बिभिन्न माध्यमहरु हुन सक्छन् तथापि यो लेखमा हाम्रो सरोकार भनेको ती कविताहरुमा भएको सीमान्त देहातको धुकधुकीको खोजी हो ।

अठारौं शताब्दीको अन्ततिर आएर बेलायतमा विलियम वर्डसवर्थले एस.टी. कोलेरिजसँग मिलेर नवशास्त्रयीतावादी युगका थोत्रा परम्परा र रूढ नीतिनियमहरूलाई चुनौति दिंदै प्रकृति र देहाततिर कविताको नहर फर्काइदिए । त्यही बिन्दुबाट प्रकृति र देहात समय समयमा बिभिन्न स्वरूपमा कविताको केन्द्रवर्ती बिषय बन्दै आएको छ । यो लहर संसारका अन्य भाषाका कवितामा पनि बिद्यमान छ । यति भनिसकेपछि हामी पुन: एकुकै कवितातिर फर्कौं । एकुका कविताहरूल ेकाब्यमय हिसाबले गाउँको संस्कृतिलाई आफूमा समाहित गरेका छन् । ग्रामीण पृष्ठभूमिमा रचित उनका कविताहरुमा गाउँमा विद्यमान चलन र परम्पराहरू जो अरू अग्रज र समकालिन कविहरूले ल्याएका छैनन् , पनि टाँसिएर आएका छन् । त्यहींनेर एकुको मौलिकताले उनको सुन्दर काव्यिक भविष्यलाई संकेत गरको छ । ‘वर्षातको गाउँ’ कविताबाट लिइएका तलका हरफहरू हेरौं –

केटाकेटीहरु डाँडा–डाँडा च्याउ खोज्न दौडन्छन्

खुट्टाका कापहरू रङ्ग्याइन्छ बेसारले

नङहरु सिंगारिन्छन् तिउरीले

..............................................

बारीभरि राताम्ये हुन्छ अकबरे

ढुङ्ग्रेभूत लागेको बाछो मोटाउँछ

ठेकीको मोही अमिलिन्छ

पँधेरीको पानी धमिलिन्छ ।

परम्परागत गाउँमा असार पन्ध्रमा औपचारिकताका लागि होइन ,हार्दिकता र ब्यग्र प्रतिक्षाका साथ ढिकीमा कुटेको चिउरा दहीमा मुछेर खाइन्छ । यो चलनलाई उनले अलि फरक ढङ्गले भनेका छन् –

‘ढिकीहरूमा फेरिन्छ साँबी नभएको मुस्ली’

वास्तबमा साँबी (दाँत) नभएको मुसलले चिउरा कुटिन्छ ।

सहरको प्राविधिक जीवनशैलीसँग हुर्किएको कुनै कवि सम्भवत : प्रणयको विषयमा आफूलाई काव्यमा अभिव्यक्त गर्दा मानवीय र प्राबिधिक बिम्बहरु नै प्रयोग गर्न पुग्ला तर प्रकृतिसँग दर्बिलो भावनात्मक साँठगाँठ भएका कवि एकु प्रकृतिवाट प्राणी प्रभावित हुने परम्परागत बोधको पदसोपानलाई बिपर्यास गरेर यस्तो काब्यिक चर्तिकला देखाउँछन् जस्मा प्राणीबाट प्रकृति प्रवाभित छ । एक सुन्दर उदाहरण ‘वर्षातको गाउँ’ कविताबाट हेरौं –

भ्यागुत्ताको रतिरागात्मक गीत सुनेर

माँचमा स्कूसले जिब्रो निकाल्छ ।

गाउँहरुको अनुहार यो कालखण्डमा आएर निश्चय पनि फेरिदैछ । कैयौं मौलिकताहरु आधुनिकताको छाँयामुनि हराउँदै गएका छन् । तर एकुजस्ता कविहरुले तिनीहरूको अस्तित्वबोध गहिराइमा पुगेर गरेका छन् । सीमान्त ग्राम्यताको परिधिभित्र फुल्ने दूधक्यामेरा र घडीफूलभित्र कविले ‘त्रास’ कविताभित्र जीवनको दीर्घता खोजेका छन् ।

‘नित्सेको बिरूद्धमा’ एकुको एक विचारजन्य कविता हो । रहस्यवादी दर्शनको छेउछाउ पुगेर उनले चराचर जगतको निर्माता अवश्य पनि कुनै सचेत शक्ति छ भन्ने आफ्नो धारणा प्रस्तुत गरेका छन् । त्यहाँ पनि कतिपय ग्रामीण बिम्बहरुको प्रयोग गरेर कविले आफ्नो तर्क स्थापित गर्नखोजेको पाइन्छ । वास्तबमा यही तर्कको पक्ष र बिपक्षमा नै सिङ्गो दर्शनशास्त्र घुमेको छ ।

युद्धका बेला युद्धरत पक्षहरूले सीमान्त देहातहरुमा गरेका निर्मम ज्याजतिहरु हाम्रा मस्तिष्कमा साँस्कृतिक घाउ ९ऋगतिगचब ि धयगलमक० भएर बेला–बेलामा बल्झिरहेका छन् । ती दर्जनौं घाउहरूका याद एकुले उनका कतिपय कवितामा गरेका छन् । झसङ्ग झस्काउने कहालीलाग्दो अभिघातपूर्ण अनुभव ९त्चबगmबतष्अ भ्हउभचष्भलअभ ० को एक टुक्रा हेरौं उनको ‘युद्धमा गाउँ’ कविताबाट –

हजुरआमाले वुद्धलाई अर्पण गरेको खदा ओछ्याएर

पल्लाघरे पण्डितको वाछी काटिन्थ्यो ।

झुप्राको भित्तो भत्काएर सेकुवा सेकाइन्थ्यो,

रगताम्य खदामा वाछीको बोसोले लेखेर वनाइन्थ्यो झण्डा,

बाँधिन्थ्यो नलीखुट्टाको हड्डीमा,

गाडिन्थ्यो घरको धुरीमा

र रित्तिन्थे घर,टोल अनि गाउँहरू ।

बडादशैंजस्ता केही महत्वपूर्ण अवसरलाई सहज , मनोरञ्जनपूर्ण र कम कार्यभारयुक्त बनाउने हैसियतसाथ गाउँलेहरुले घर नजिकैको वारीमा ती दिनहरूका लागि घाँस साँचेर राखेका हुन्छन् । यो नेपाली गाउँहरुको बिशेषता हो । यी र यस्तै बिशेषताहरूलाई एकुले सीमान्त देहातको धुकधुकीको रूपमा ‘शरदमा गाउँ’ कवितामा यसरी भित्र्याएका छन् –

बारीभरी फूल्छ कोदो

...............................................

आमाहरुको भीड हुन्छ कमेरे गैह्री र रातमाटे डाँडाहरूमा

.......................................................

प्रथम पटक दारी खौरिएको गालाजस्तै लाग्छन् गोरेटा

गरिवहरूको यात्रा हुन्छ साहूजीहरुकोमा

व्यर्थै शरदमा भगवान बन्छ साहू !!

देशको गतिहीन राजनीति र बेइमान नेतृत्वबाट आजको पुस्ता – चाहे त्यो गाउँमा बसोस् , सहरमा वा विदेश र समुद्रपारि नै किन नबसोस् – बिरक्त छ । यो बिरक्तिको अभिब्यक्ति उनका कतिपय कवितामा भेटिन्छ । ‘ऐना’ कविता यस्को एक ज्वलन्त उदाहरण हो । कवितामा उनले ३ लाई ६ र ६ लाई ३ देखाउने तथा अङ्ग्रेजीको त्र लाई उ र म लाई द देखाउने ऐना र नेपाली राजनीतिका रङ्बदल नेताहरुलाई उस्तै भनेर तुलना गरेका छन् । शोषित र सीमान्त समुदायप्रति पनि कविको प्रष्ट सहानुभूति छ । ‘शिक्षक’ शीर्षक कवितामा पकेटभित्रको चेनसँग शिक्षकको नियती तुलना गर्दै कविले यसरी शिक्षकलाई सम्मान गरेका छन् ।

तर ब्रम्हाण्डका हरेक आयुवान पिण्डहरूजस्तो

आफ्नै गतिमा नियमित हिंड्नसक्नेलाई

म उल्काजस्तो कविको नमन छ ।

दानी तर दु:खी पात्र शिक्षकलाई कविले बिभिन्न बिम्बसँग यसरी तुलना गरेका छन् –

रित्तिएको सिलिण्डर

खिएको जुत्ता

फाटेको कोट

कविता रफ गर्दाको पाना

भत्किएको चौतारो

नदीले रेतेको ढुङ्गा

सुकेको पीपल

छोडिएका गाउँ अनि झारले ढाकेका छानाहरू

सवै सवैमा देख्छु शिक्षकको प्रतिविम्व ।

ऊ मात्र होला संसारको असली दानी ।

राजधानीको कविता बजार हल्ला र गुटहरूले सञ्चालित भएको गुनासो राजधानी भित्र र बाहिर प्रशस्त सुनिन्छ । यथार्थमा गुट र हल्ला चिरस्थायी कुरा होइनन् । शक्तिशाली सिर्जनाको महत्वाकांक्षा राख्नेहरुले राजधानी अथवा देहात जहाँ बसेर लेखे पनि हुन्छ । सिर्जना शक्तिशाली भयो भने कुनै समयले त्यसको मुल्याङ्कन अवस्य गर्छ । सम्भवत:यस्तै भावनासँग उनको कविता ‘झारपात कवि’ मेल खान्छ ।

एकुका कविताहरुले एककोहोरो प्रविधिकताभित्र हराइरहेका भावक र सर्जकहरूको मष्तिष्कमा ग्रामीण बिम्बहरुको झटारोले क्रमभङ्गता ल्याइदिन्छन् । एक उदाहरण ‘कविता लेखिरहँदा’ बाट हेरौं –

टोलुङमा मोही पारेजस्तै निदाउँछन् हजुरबा

पल्लो गाउँमा बजिरहन्छ एकतमासको ढ्याङ्रो

एकुका कवितामा ग्रामीण जीवनको सन्तुलन , मिलन र शुभेच्छा मात्र प्रतिबिम्बित भएको छैन । त्यहाँ त त्यहाँका त्रास , ज्याजती र मूल्यमान्यताको क्रमिक स्खलन पनि व्यक्तिएका छन् । ‘गुनासो एउटी चेलीको’ र ‘भविष्यवाणी’ कवितामा लैङ्गिक र जातीय कारणले दु:ख पाएका नेपाली नारीहरुको बेदना भेट्टाइन्छ । ‘बाबा वितेपछि’ र ‘एउटा अनुभूति’ जस्ता कवितामा बेलायती कवि म्यथु आर्नोल्डले डोवर नदीको किनारमा महसुश गरेको सन्नाटाजस्तो ‘मेलाङ्कोली टोन’ पाइन्छ । ‘जम्काभेट’ कवितामा एकुले एउटा यस्तो नाटकीयता रचना गरेका छन् जसमा लालीरङले सम्पन्न स्त्रीलिङ्गी लालीगुराँस उसको आदर्श प्रेमीलाई धोका दिएर उत्तिससँग विवाह गर्न पुग्छे । समयक्रममा उक्त आदर्श प्रेमीले लालीगुराँसलाई भेट्दा ऊ चिमाल (सेतो गुराँस) मा परिणत भइसकेकी हुन्छे तर उसका अघिल्तिर साना–साना लालीगुराँसहरु फक्रिरहेका हुन्छन् । यो कविताले लालीगुराँस र चिमाल.... वनस्पती बिम्बलाई साह्रै सुन्दर तवरले समातेको छ ।

कुनै पनि कविको अभिब्यक्ति कलामा स्तरोन्नति हुँदै जाँदा उसले सहर , महानगर र आधुनिक जीवनका जटिलताहरुलाई ब्यक्त गर्दा पनि बिम्बहरुको आयत स्थल मुख्य गरी प्रकृति र देहातलाई बनाएको नेपाली तथा अन्य भाषाका साहित्यमा पाइन्छ । यहाँ हाम्रो आसय के हो भने यी कविले पनि आगामी दिनमा आफूले लेख्ने कविता र कविता इतरका साहित्यिक विधामा देहात र प्रकृतिको धुकधुकीलाई अनुुसरण गर्न नर्बिसिउन् । तर यो कुनै रुढ नियमको सिफारिस भने होइन । उनमा देखिएको शक्ति अझै मझबुद होस् भन्ने चाहना मात्र हो ।

माथि कतै भनिए जस्तै अठारौं शताब्दीको अन्त्यतिर युरोपमा कविहरूले गँवार , कोर्काली र काँठे भनिएको संस्कृतितिर असाधारण मोह देखाउँदै त्यसैको उपासनामा सगर्व स्वच्छन्दताबादी काब्य आन्दोलन शुरू गरेका थिए । यो ऐतिहासिक तथ्यलाई एकातिर स्मरण गर्दै कवि एकु घिमिरेको सन्दर्भमा यसो भन्न सकिन्छ – सीमान्त देहातमा बसेर त्यहींका प्राणी , बनस्पती , खोलानाला र अन्य प्राकृतिक अवयवहरूको ‘सेलिब्रेसन’ उनले आफ्ना कवितामा गरेका छन् ।

संक्षेपमा भन्दा एकु घिमिरेका कविताहरूमा पहराको फेदमा आफैं उम्रिएको जरुवाको जस्तो मीठो स्वाद छ । त्यो स्वादलाई उनको कवि स्पन्दनले आगामी दिनमा अझै तिख्खर बनाउने अपेक्षा गर्नु अतिशयोक्तिपूर्ण हुन सक्दैन । गीतको माधुर्य र रसास्वादन दुवै गर्ने कवि एकुले कविता सृर्जनालाई निरंन्तरता दिन सकुन् । एक बिशिष्ट स्वादका युवाकविको कृतिगत आगमनलाई अवश्य पनि नेपाली कविताका सर्जक र भावक सवैले प्रेमपूर्ण स्वागत गर्नेछन् ।


पाटन संयुक्त क्यम्पस, लतितपुर

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 30 बैशाख, 2074

लेखकका अन्य रचनाहरु