लालचको घडा

- भूधरा उपाध्याय

अठ्ठाइस बर्षको उमेरसम्म बिहे नगर्दा पनि चलेकै थियो। सोच्ने गर्थेँ किन बिहे गर्नु पर्यो ? राम्रा राम्रा केटीलाई बाटोमा जिस्क्याउँदै हिड्यो ,सधैँ रमाइलो। आमाको लिडेढिपीको अगाडि मेरो केही लागेन। मन नलागी नलागी केटी हेर्न गएँ। उनको शारिरीक बनोट र अनुहारको हिस्सीले म कायल भएँ। बिहेको दिनसम्म कुर्न पनि मलाई हम्मे हम्मे पर्यो। 'लक्ष्मी' उनको नाम घण्टैपिच्छे जप्न थालेँ। दिनमा कैयौँचोटी फोन गरेँ। लाग्यो, यस्ती रुपसीलाई मेरोनिम्ति कसरी छोडिदिएछन्। मनमनै आफूलाई भाग्यमानी सम्झिएँ।

बिहे गरेर घर भित्र्याएँ। उनको नजिक जान र रसस्वादन गर्न ज्यादै व्यग्र थिएँ म । हतारमा कामकुरो बिगार्ने हुँ कि भन्ने डर पनि थियो। धैर्यता भन्ने चिज मेरो दिमागमा बाँकी थिएन। आखिर त्यो समय अायो। मलाई केही लाज र काउकुती लाग्यो। मेरा हात पनि काँपेका हुन् कि जस्तो लाग्यो। घुम्टो उठाएर उनको अनुहार हेरेँ , त्यहाँ डर र लाज प्रष्टै देखिन्थ्यो। हामी एकाकार भयौँ। जीवनरुपी रथ मिलेरै अघि बढाउदै गयौँ।

हाम्रो दाम्पत्य जीवन उदाहरणीय बन्दै गयो। साथीहरु जोइटिङ्ग्रे भइस् भन्दै जिस्क्याउने गर्थे। म भने मुसुमुसु हाँस्दै टारिदिन्थेँ। मेरो खुसी र हाम्रो साथ नियतिलाई मान्य थिएन। सबैले राम्रा मान्छेलाई नै मन पराउँदा रहेछन् । उनलाई पनि यमराजले मन पराए। प्रकृतिले कठोर प्रहार गरिन्। मेरी पत्नीले सहन सकिनन्। बैशाख बाह्रको धक्कालाई मिलेरै टारेका थियौँ तर उनन्तीसको धर्काइसँग उनी खूव डराइन्। मुटु थर्ररर काँप्यो भन्दै छाती पक्रेर बसेकी थिइन। छिमेकी साथी भाइलाई गुहारेर अस्पताल त पुर्याएकै हो तर ढिलो भएछ। हर्टएट्याकले मृत्यु भएको घोषणा गरे डाक्टरले। विवश म पत्नीलाई चितामा झोसेर एक्लो जीवन जिउन बाध्य भएँ।

लक्ष्मीको बियोगमा‌ मेरो मनस्थिति ज्यादै खस्कियो। दिनभरि त यताउति गएर साथीभाइसँग बिताउथेँ तर रात मेरो पीडाको कारक बन्यो। त्यो ओछ्यानले मलाई गिज्याउँथ्यो, रुवाउँथ्यो र आधारातसम्म छटपटी गराउँथ्यो।

आमाले अर्को बिहे गर्न दवाब दिन थाल्नुभयो। मेरो आँखा र दिल दुबैमा लक्ष्मी मात्र थिइन्। भुल्न सकिन त्यसैले खाडीतिर गएर त्यहाँको भतभती पोल्ने गर्मीमा तन र मन दुबै सेकाउने विचार गरेँ। मेनपावरतिर धाएँ। ऋण काढेँ। पासपोर्ट बनाएँ र हानिएँ खाडी मुलुक। त्यहाँको एयरपोर्टमा भएको चेकजाँचले मलगायत चारजनाको भिसा नक्कली भएको दाबी गर्यो। फर्काइदियो सिधै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलतिर। ङिच्च गर्दै फर्कियौँ चारैजना।

खाडीको गर्मीले मलाई स्वीकारेन। गाउँ फर्की हाल्न मन लागेन। साहुको ऋणको बोझ थियो टाउकामा। केही उपाय त गर्नै पर्यो त्यसैले काठमाण्डौको धुलोमा अभ्यस्त हुन खोज्दै थिएँ। कामको खोजीमा यताउति भौतारिएँ। बिहान चिया पसलमा गयो पत्रिकामा छापिएका बिज्ञापन पढ्यो अनि पुग्यो जागिर माग्न। काम नगरी ढोकामा गएर माग्नेले केही पैसा पाउला तर मैले काम गर्छु भन्दा पनि पाउन सकिन। चैतको महिना गर्मीले सडक तातेको थियो। शरीरमा फूर्ति थिएन। चिन्तित म चावहिलको सडक पार गर्दै थिएँ। ड्याम्म......केले हान्यो थाहा पाइन।

गहिरो निद्राबाट ब्युझिएँ। आँखा खुल्दा एउटी महिला मेरो बेडछेउमा निन्याउरो अनुहार लाएर बसेकी थिइन्। लक्ष्मी हुन् कि भनेर निकैबेर निहारेँ। यताउति हेरेँ अस्पतालजस्तो लाग्यो। बिस्तारै चल्मलाएँ। उठेर बस्ने कोशिस गरेँ । मेरो खुट्टा भारी भएर तानिएन। मैले 'एेया!' भने। मेरो आवाजले उनको ध्यान भङ्ग भयो। 'ए तपाईलाई होस आयो?' उनले अँध्यारो अनुहारकासाथ मुस्कुराउने प्रयत्न गरिन्।

' म यहाँ ? किन, कसरी? अनि मेरो खुट्टा?' मैले एकैपल्ट सोधेँ।
'तपाई गाडी दुर्घटनामा पर्नु भएको थियो।' उनले भनिन्।
'कसले ल्यायो मलाई यहाँ?'
'मैले।'
'त्यस्तो ब्यस्त सडकमा दाँया बायाँ नै नहेरी कसरी बाटो काट्नु भएको? हर्न दिँदा दिँदै मेरै गाडीमा ठोक्किनु भयो। धन्न मैले ब्रेक लाउन सकेँ नत्र तपाईको ज्यान ......।' उनी अड्किन्।
'ज्यानको कसलाई परवाह थियो र?' म फुस्फसाएँ।
' हजुर के?' उनले सोधिन्।
'केही हैन।' मैले टाउको हल्लाएँ।
उनले बेडलाई अग्लो बनाइ दिइन्। मलाई तानेर अढेस लगाएर बसाइन्। फलफूल तासेर ख्वाइन्।

मेरो पिडुला भाँचिएको रहेछ। शरीरमा लागेका चोटपटक केकस्ता थिए थाहा भएन। जिउ एकदमै दुखेको थियो। लगाइएको प्लास्टर एक्काइस दिनसम्म खोल्न भएन। मेरा परिवारमा खबर गरियो। पारिवारिक जमघटले उनलाई गाली गर्यो। मेरो उपचार ग्राण्डी अस्पतालमा गराउनु पर्ने माग राख्यो। उनले हाम्रो माग पूरा गरिदिइन्। दिनदिनै खानेकुरा पकाएर ल्याउँथिन्। मलाई खानेकुरा आफैँ बसेर ख्वाउँथिन्। फलफूल प्रशस्त ल्याउँथिन्। त्यो खुवाएर मात्र फर्किन्थिन्।

एकदिन उनले दाल लिएर आएकी थिइन्। मेरो रिसको पारो खूव चढ्यो। 'यस्तो टुर्र परेको दालको झोलले मेरो खुट्टी जोडिन्छ? भरेदेखि खसीको झोल ल्याउनू' - मैले कचौरा हुर्याइदिएँ। उनी आँखाभरि आँसु पारी बाहिरिइन्। बेलुका खसीको सुप लिएर आइन्। 'मैले मात्र खाएर हुदैन कुरुवालाई पनि खुवाउनू' - मैले ठाडो आदेश गरेँ। उनले कुरुवाको लागि केही खर्च दिइन्।

त्यसपछि कुरुवा र बिरामीको सम्पूर्ण खर्च उनले व्यहोर्नु पर्ने भयो। सातदिन अस्पताल राखेर डिस्चार्ज गरियो। एक्काइस दिनपछि खुट्टाको प्लास्टर काटी एक्सरे गरेर हेरेपछि मात्र उनले छुट्कारा पाउने थिइन्। त्यतिञ्जेल मलाई काठमाण्डौ मै बस्नु पर्ने भयो। मेरो काठमाण्डौमा बस्ने ठाउँ थिएन। अर्काको पैसामा मोज गर्न पाउने भएपछि मैले पनि ठूलै होटलमा राख्नुपर्ने माग गरेँ। उनी लाचार भइन्।

जति माग्यो त्यति पाउने भएपछि मेरो लालच बढ्दै गयो। अनावश्यक रुपमा पैसाको माग गर्न थालेँ। 'कमाउने तिघ्रे छोरालाई तिमीले लडाइहाल्यौ, अब मेरी आमालाई कसले खर्च पठाउँछ? आज दिउँसो मेरी आमाका नाउँमा दस हजार आइएमी गरिदिनू।' मेरो श्वर ठूलै थियो। उनी डराउँथिन् वा किन मेरो माग पूरा गर्थिन् कुन्नी? मलाई सरोकार भएन। मैले फोन गरेपछि उनी पैसा लिएर होटल एक्लै आउँथिन्। उनीसँग अरु कोही आएको देखिएन। खासै धेरै बोल्दिन थिइन्। पैसा दिन्थिन् अनि फर्किन्थिन्। मेरो लालसाको घडा उनले भर्दै गइन्।

एकदिन उनी मलाई भेट्न होटल आएकी थिइन्। आफू धेरै कमजोर भएको बाहानामा रेडबुल खाने पैसा मागेँ। पर्सबाट पैसा निकालेर खुरुक्क दिइन्। त्यो पैसाले मेरो कुरुवा बसेको साथी र मैले मज्जाले सोमरस पियौँ।

मेरो खुट्टाको प्लास्टर काटियो। एक्सरे गरियो। मलाई डाक्टरले पूरा ठिक भएको घोषणा गरे। मेरो खुट्टा खन्च्याङ् खल्च्याङ् नै थियो। डाक्टरले जे भने पनि अझै दुई महिना म काम गर्न सक्ने अवस्थामा थिइन। मलाई दुई महिना काम नगरी कसले पाल्छ? अनि त्यसपछि पनि म पूर्णरुपमा स्वस्थ हुन्छु भन्ने के छ र भन्दै मैले पाँच लाखको माग गरेँ। उनले नीलो कालो अनुहार लाएर केहीबेर मलाई एकोहोरो हेरिन् -' अझै त्यत्रो पैसा ? ' बिस्तारै भनिन्।'आइमाइ भएर मात्रै मैले थाम्या छु नत्र मैले जानेको थिएँ, कति माग गर्नु पर्छ भनेर ?' मैले दाह्रा किट्दै भनेँ। उनले रुन्चे अनुहार लगाइन्। ' के गर्छ्यौ बाबै? उमेर मै अपाङ्ग बनाइ हाल्यौ! त्यति रकम नदिए म तिम्रो पिछा छोड्नेवाला छैन।'-मैले अड्डी गरेँ । 'मैले काहाँबाट ल्याउनु नि यति धेरै रकम?' - उनी लगभग रोइन्। मैले उनको वास्ता गरिन। 'काहाँबाट ल्याउनु पर्छ मलाई के थाहा?' म‌ कड्किएँ। केही नबोली फर्किएकी उनी दुई चार दिन नै हराइन्। मैले दिन दिनै फोन गरेर दवाब दिइ रहेँ। एकदिन साँझपख उनी अाइन्। रकम दिदै थकित मुद्रामा सोधिन् -' अब म मुक्त भएँ की अझै केही बाँकी छ?' मैले लाजै पचाएर ङिच्च हाँस्दै भने -'जे होला, अझै मेरा दु:खका दिन सकिएनछ भने मै घर खेत बेचेर भए पनि बेहरुम्ला।'

म खुसी खुसी गाउँ फर्किएँ। अस्पताल र होटलमा बस्दा खाएका पोसिला खानेकुराले हृष्टपुष्ट भएको थिएँ। साहुसँग काढेको ऋण पनि सो रकमले तिरिदिएँ। अझ मसँग अलिअलि पैसा बाँकी भयो। त्यही पैसाले केही कुखुराको चल्ला किनेँ। सजिलैसँग जीवन यापन गर्न थालेँ।

मैले लक्ष्मीलाई बिर्सिसकेको थिएँ। कुखुराको लहनतहनमा समय कटिरहेको थियो। ओछ्यानमा लक्ष्मीको यादले सताउँदैन थियो। बरु मेरो स्मृतिमा ती महिलाको छवि पो आउन थालेको थियो। उनको शान्त अनुहार, निस्फिक्री सेवाभाव अनि कम बोल्ने बानीले मलाई तानिरहेको थियो। मैले अनावश्यक पैसाको माग गरेकोमा घरीघरी मनमा अशान्ति हुन्थ्यो। उनको नाम नसोधेकोमा भने मलाई सबैभन्दा ठूलो पछुतो थियो।

दुई बर्ष बितिसकेछ। मेरो व्यापार राम्रै फस्टाएको थियो। केही पैसाको जोहो पनि गरिसकेको थिएँ। फेरि आमाले बिहे गर्न कर गर्न थाल्नु भयो। मेरो मनमा ती महिलालाई सजाउन थालिसकेको थिएँ। एकपल्ट भेट्ने रहर जाग्यो। फोन गरेँ। उनले सजिलै घरमा बोलाइन्। केही फलफूल बोकेर म हाजिर भएँ उनको सामुन्ने। मेरो स्वास्थको बारेमा जिज्ञासा राखिन्। म पूर्ण स्वस्थ भएकोमा खुसी प्रकट गरिन्। उनले खाना बनाएर राखेकी रहिछन्। दुबैजनाले डाइनिङ्ममा बसेर खाना खायौँ। उनले बनाएको खाना मेरो जिब्रोले चाखिसकेको थियो। साह्रै मिठो लाग्यो।

'घरमा तिमी एक्लै छौ? परिवारमा को को छन्?' मैले जिज्ञासा राखेँ।
'सबै छन्, आ- आफ्ना दुनियाँमा ' उनले जवाफ दिइन्।
उनका पति काहाँ होलान्? मेरो मनले प्रश्न गर्यो । मेरो मनको कुरा उनले बुझिनन् ।
'पति ....?' मैले सोधेँ ।
'पाँच बर्ष पहिले नै भगवानको प्यारो हुनु भयो।' झ्यालतिर हेरेर उनले जवाफ दिइन्।
उनी एक्लै भएको थाहा भएपछि मलाई कुरा गर्ने साहस बढ्यो। उनको घरबार र रवाफको पनि लोभ लागेकै हो। उचित मौका पारेर उनलाई भने-
'मैले तिमीलाई अनावश्यक माग गरेर धेरै दु:ख दिएँ। मलाई यसको सधैँ पछुतो भयो। अब म त्यसको प्रायश्चित गर्न चाहन्छु।.......तिमी पनि एक्लै, म पनि एक्लो। तिमी र म मिलेर नयाँ सृष्टि गर्न सक्छौँ?'

उनी छक्क परेर केहीबेर टोलाइन्। क्षणभरमै घृणित नजरले मलाई यसरी हेरिन् कि मानौँ म एक दुर्गन्धित फोहोरको थुप्रो हुँ जस्को नजिकबाट उनी गुज्रदै छिन्।

उनी बिस्तारै बोल्न थालिन् - 'मैले सोचेको थिएँ एउटा गरीवको उद्दार गरेँ तर तपाई सम्पत्तिको होइन मानसिकताको गरीव हुनुहुदो रहेछ। तपाईको दरिद्रता पूरा गर्न मैले मेरो स्वर्गबासी पतिको चिनो मङ्गलशुत्रलगायत अमूल्य सम्पत्तिसमेत बेचिदिएँ। मेरोलागि सम्पत्तिभन्दा प्रतिष्ठा ठूलो कुरा हो। आखिर मरेर जाँदा सम्पत्ति कसले पो साथ लान्छन् र! एउटी महिलालाई लाचार बनाएर फाइदा उठाउने तपाईको व्यवहारप्रति घृणा छ मलाई । '

उनी जति जति बोल्दै गईन् , उनको आवाज चर्कदै र अनुहार रातो हुँदै गयो । आँखा पनि राता बनाउँदै मलाई हेरिन् र चोर औँला उठाउँदै भनिन् -' कुनै महिला एक्लो हुदैमा उसलाई तपाईजस्तो पुरुषको साथ चाहिन्छ भन्ने भ्रम पालेर नबस्नु होला। यस्ता लालचीलाई पति मान्नुभन्दा म विधवा नै बस्न रुचाउँछु। पैसाको लागि त्यस्तो नीच व्यवहार गर्ने व्यक्तिले मलाई भित्र्याउने सपना देख्यो भन्ने कुराले मलाई जीवनभर पोल्ने छ, बुझ्नु भो!'
उनको जवाफले मेरो छाती चस्स भयो। मेरो लालचको घडा प्वाट्ट फुट्यो। म कुनबेला त्यहाँबाट बिदा भएँ पत्तै पाइन।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 30 बैशाख, 2074

लेखकका अन्य रचनाहरु