लघुकथासंग्रह कवचमा समाजका विकृति छताछुल्ल

- छविरमण सिलवाल

समकालीन साहित्य प्रतिष्ठान बेलायतको अध्यक्ष तथा समकालिन साहित्य डट कम डिजिटल पत्रिकाका सम्पादक कृष्ण बजगाईको कर्मभूमि बेलायत हो । धेरै समय बेल्जियममा विताएका उनी अहिले बेलायतमा बसाई सरेका छन् । विदेशको व्यस्त समयमा पनि उनी नेपाली साहित्यमा निकै सक्रिय छन् । यन्त्रवत, हिउँको तन्ना र रोडम्याप लघुकथासंग्रह पछि चौथो लघुकथासंग्रह हो कवच । कवच लघुकथासंग्रह उनको चौथो संग्रह भएपनि कृतिको हिसावले आठौ हो । कथा, नियात्रा, डिजिटल वार्ता र बालकविताका पुस्तक प्रकाशित छन् बजगाईका । विषेशतः नेपाली साहित्य सबै विधाहरुमा कलम चलाई रहेका बजगाई पछिल्ला समयमा लघुकथामा केन्द्रित भएको पाइन्छ । नेपाली लघुकथाको अन्तर्राष्टिय संयोजकको रुपमा कार्य गरिरहेका बजगाईका सिर्जनाहरु हाम्रै समाजका विकृत स्वरुपहरु नै हुन ।

मानविय संवेदनाका स्वरहरुलाई आफ्ना सिर्जना मार्फत पोख्न खप्पिस छन् उनी । बेलायतमा बसेर पनि नेपालको समसामयिक परिवेश कण्ठ छ उनलाई । हुनतः अहिलेको डिजिटल संसारमा अपडेट भएतापनि उनका लेखनका विषयवस्तुले उनलाई नेपालमै भएको महशुस हुन्छ । उदाहरणको लागि गणेश परिक्रमा शिर्षकको लघुकथा हेरौंः
पृथ्वीलोकका मानिसहरु पूजापाठ, तीर्थ, व्रत आदि गर्न छाड्दै गएकोदेवताहरुले थाह पाए । पहिले आफ्नो मनोकाड्क्षा पूरा होस भनी कोही देवताको चाकरी गर्दथे । कोही घुर्रक्याउने भोकै बसेर ब्रत भन्दै देवताहरुलाई प्रभावित पार्ने प्रयास गर्दथे । तर आजकाल धेरैले यसो गर्न छाडेपछि आफूप्रतिका आस्था कम भएकोमा देवताहरु चिन्तित भए । देवताहरुको आकस्मिक बैठक बस्यौ । भगवानप्रति मानिसहरुको आस्था किन कम हुँदै गयो त रु छानविन गरी पत्ता लगाउन एक समिति गठन गरियो । समितिका सदस्यहरु सुटसक्क पृथ्वीलोकमा ओर्ले । मानिसहरुको चाला देखेर आश्चर्यचकित भए । मानिसहरु आफ्नो मनोकाड्क्षा पूरा गराउन सत्तामा रहेका तथा ठूलाबडा नेताहरुको गणेश भगवानले झैं परिक्रमा गर्ने गरेको थाह पाए । यसरी मनोेकाड्क्षा पूरा नहुनेहरु सरकार तथा सम्बन्धित निकायलाई दबाब दिन र प्रभावित पार्न भोक हडताल भन्दै व्रत बसेको देखे । अन्त्यमा देवताहरुको छानविन समितिले अन्य आवश्यक अनुसन्धानपछि एउटा प्रतिवेदन तयार पार्यो । प्रतिवेदनको निचोड थियोः मान्छेहरु धेरै बाठा भएछन् ।

यस्तै चोटिला बयासी लघुकथाहरु कवचमा रहेका छन् । यस पुस्तकलाई विवेक सिर्जनशिल प्रकाशन प्रा।लि।ले प्रकाशन गरेको छ । कथाकारको यो जन्मभूमि हो, कर्म गर्नको लागि मान्छे विश्वको कुनै पनि भूगोलमा रहेपनि आफ्नो मातृृभूमिबाट अलग रहन सक्दैन । त्यसकारण उनको यो अटुट सेवाले भाषा साहित्यको इतिहासमा उनको नाम सुनौलो अक्षरमा लेखिरहेको छ ।

उनका लघुकथाहरुमा मानविय संवेदनाका स्वरहरु झल्किएका छन् । नेपालमामात्र नभएर विश्वका कुनै पनि स्थानहरुमा मानवियसंवेदना त एउटै हुने रहेछ र साहित्यले पुलको काम गर्दो रहेछ भन्ने कुरा उनका सिर्जनाहरुले बोलेका छन् । नेपालको राजनीतिमा देखापरेका विकृतिहरुको पर्दाफास पनि उनले गरेका छन्, कवचका लघुकथा मार्फत । एउटा कवच शिर्षकको लघुकथा छ, प्रस्तुतसंग्रहमा यही शिर्षकबाट पुस्तकको नाम रहेको छ । मान्छेको प्रेमलाई जातले छेकिदिन्छ । समाजले हाडनाता करणीको मुद्दा लगाई दिन्छ । उसले बाध्य भएर आफ्नो धर्म परिवर्तन गरेर धर्मको कवचले आफ्नो प्रेमको रक्षा गर्छ । यस्ता असंख्य विकृतिहरु हाम्रो समाजमा रहेका छन् । यी नै विकृतिहरुलाई उजागर गरेका छन् बजगाईँले आफ्ना लघुकथा मार्फत । नेपाली राजनीतिमा देखिएका विकृतिले निम्त्याएका अनेकन विसंगतीहरु लघुकथा भएर पोखिएका छन् । लोकतन्त्रले ल्याएको भोकतन्त्र, छाडातन्त्र, लुटतन्त्र, मागतन्त्र, गरिबी आदी मौलाएका स्वरुपलाई व्यग्यात्मक रुपबाट प्रस्तुत गरेका छन् । नारी संवेदनाका चित्कारहरु र उनीहरुलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउँनु पर्छ भन्ने उनको मूल आशय पनि देखिन्छ । कन्यादान शिर्षकको लघुकथाले यस्ता मर्म पोखेका छन् । हुन पनि एउटी छोरीलाई कन्यादान दिएर पुण्य कमाउँने कुरा गरेर अर्काको हातमा दान दिएर सुम्पन्छन । हाम्रो यो रितीरिवाजलाई नै दान होइन सहकार्यको रुपमा लिनुपर्छ र नारीलाई पनि शिक्षित बनाउँनु पर्छ भन्ने मूल आशय यहाँ भेटिन्छ ।

नेपाली राजनीतिमा देखिएको चरम लापरवाही र नेताहरुको मनोमानीपूर्ण व्यवहारबाट आजित भएका जनताको कुनै विकल्प पनि छैन तर अबको नेपालमा विकल्प खोज्नु पर्ने भैसकेको छ । हुनतः विनास नभै विकास हुँदैन पनि अति भएपछि नै खति हुने हो त्यो दिनको प्रतिक्षामा रहनुको कुनै विकल्प पनि छैन । हो यस्तै व्यंग्य चेतनाले यथार्थको धरातलमा हिँडाई रहेको छन् बजगाईँले कवच लघुकथा मार्फत । उनी कथा मार्फत लेख्छन्ः नेताहरुले जुनजुन पथ हिँडनु भने त्यहीत्यही पथमा जनता हिँडे । तर आधा बाटैमा उनीहरुलाई छोडेर नेतामात्र दरवार छिरे । बाटो थाहा नपाएर अल्मलिएका जनता चक्रपथमा जस्तै कहिले दायाँ, कहिले वायाँतिरबाट फन्फनी घुमिरहेकाछन् । (पृ.४६ कवच)

लघुकथासंग्रहका अधिकांश लघुकथाहरु व्यग्य चेतनामार्फत नेपाली समाजका यथार्थ बोलिरहेका छन् । गोजी नभएको सुट शिर्षकको कथाले पनि हाम्रो कर्मचारीतन्त्रमा मौलाएको भ्रष्टाचारबाट अफिसमा सबैलाई गोजी नभएको सुट लगाउँन निर्देशन दिन्छ तर पनि भ्रष्टाचार रोकिएन । कर्मचारीहरुले कट्टुमा घुस लुकाउँन थाले पछि कट्टु पनि नलगाई आउँने आदेश दिए हाकिमले ।

कवचका हरेक कथाहरुले हाम्रो समाजको विकृती बोलेको छ । र, हामीलाई सचेत पनि गराएको छ । संग्रहको अन्तेम कथा नेपाल बाहिरको नेपाल शिर्षकको कथाले विदेशमा कर्म गर्न पुगेका नेपलाीहरुमाँझ भ्रमण गर्न पुगेका नेताहरुले त्याहाँका नेपालीहरुलाई विभिन्न खेमामा विभाजन गरेर जुटनु पर्ने स्थानमा फुटाई दिएको प्रमाण यस कथामार्फत पोखेका छन् । जे होस बजगाईँका यी चोटिला लघुकथाहरुले वर्तमान नेपालको दस्तावेज बोकेका छन् । एकै बसाईमा पढ्न सकिने यी लघुकथाहरुले नेपाली लघुकथामा व्यंग्यचेतनाको स्थान उच्च हुनु पर्दछ भन्ने मान्यतालाई आत्मसात गरेको पनि पाइन्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 बैशाख, 2074

लेखकका अन्य रचनाहरु