पार्टी प्रवेश

- गोपाल झापाली

कतारमा सेक्युरीटि गार्डको भिसा लाग्यो भनेर रोशन काठमाडौं पुगेको पनि २ साता भयो । १५ वर्ष त्यहिँ बसेर आएको गाउँकै मुकेशले राम्रो कम्पनी छ भनेर म्यानपावर कम्पनीसँग जोडाए पछि उ विश्वासमा प¥यो । तर कम्पनीले अनेक बहानामा झुलाको झुलायै । दिनहुँको तारेख धाउन उ जस्ता ५० युवा कम्पनीमा पुग्दा रहेछन् । झापाकै मात्र १७ जना । ति सवै अब त चिनारु भई सके । सस्तो गेष्ट हाउसको बसाई । बिहानै खाना खायो अनि एक पटक म्यानपावर कम्पनी पुग्यो । जहिल्यै भई हाल्छ भाइ, अब फष्र्ट लटमा तिम्रो पालो बाहेक अरु केहि उत्तर आउँदैन । त्यस पछि रत्नपार्क आयो टहल्यो ।
घरबाट हिँड्ने बेलामा चुनावको मुख छ । चुनाव पछि जानु भनेर त दाजु र आमाले भनेकै हुन् । टेरेन । बाबु उहिल्यै विते । दाजुले घर थामेको छ । आमाको रोहवरमा दाजुले सयकडा तीनमा काडेको ४० हजार मध्ये २५ हजार बैना स्वरुप कम्पनीमा बुझायो । बाँकि उसको काठमाडौ बस्दाको खर्च । एक महिनाको व्याज पाकि सकेको थियो । त्यो सम्झँदा उसको मन उसै गरि पाकि सकेको छ । बेला बेला दाजु र आमाले गर्ने फोनले पाकेको मनबाट तरतरी पिप झार्छ ।
काठमाडौं पहिलो पटक आएको, दिन कटाउन त रमाईलै थियो । तर चर्को व्याजमा काडेका पैसा र बिदेशमा कमाएर आए पछि बिहे गर्ने आमालाई देखाएको सपना सम्झदा बिपनामा बैशाखको चर्को घाममा तालु पड्किन खोज्थ्यो । १७ औं दिनका दिन मोवाईलमा फोन आयो, गाउँकै दाइ मनोजको थियो । उमेरमा दाजु भए पनि मिल्ने दौतरी जस्तै हो । तर ६,७ वर्ष देखि काठमाडौमा बसेकाले उसको हिमचिम ठुलै नेताहरुसँग पनि थियो । मान्छे टाठो । अरुलाई पट्याई हाल्ने ।
फोन कुराकानी ः
मनोज ः भाइ, रोशन कहाँ छस् ?
रोशन ः उहि त हो, रत्नपार्क । केटाहरुसँग बसेर सिजन जिस्क्याईदैछ । अघि म्यानपावर पुगेर आको ।
मनोज ः ह्या, केको सिजन जिस्क्यार बसेको । यत्रो चुनाव आको छ । एउटा कुरा सुन् । तेरा त्यहाँका साथिहरु कति जना छन् । सवै लिएर भोलि बागबजार आउनु, ११ बजे । एउटा पार्टी प्रवेशको कार्यक्रम छ । मान्छे चाहिएको छ । २,४ दिन काठमाडौ बस्ने खर्च हुन्छ ।
रोशनः अनि दाइ, मेरो नागरिकता घरमै छ, पार्टी प्रवेश गर्दा चाहिने होला........?
(मलिन स्वरमा) बिन्ति बिसायो । उताबाट कड्एिको आवाज आयो–‘के आँडे रहेछ, लोकसेवाको जागिर खान आँटेको हो र, नागरिकता र सर्टीफिकेट चाहिने ? खुरुक्क भोलि आउनु, सवै बुझ्छस ।’
कुनै पार्टीमा नलागेको र राजनीतिको अम्मल नभएको रोशन निक्कै बेर नाई नास्ती गरे पछि हेर्न सम्म भानि जाने भयो । साँझ चुरोटको धुँवामा खेल्दै साथीहरुसँग गेष्ट हाउस पुग्यो । सादा भात थियो । सदाझै खाएर टहलिन बाटामा निस्किएर हुल बाँधेर । दिउँसो मनोजसँगको कुरा साथिहरुलाई सुनायो । उत्साहि कोहि भएनन् । फोन हान्यो मनोजलाई । कोहि आउन तयार भएनन् । मनोजले फकायो, एकै छिन उभिनु मात्र पर्ने हो एक हजार पाउने कुरा आयो । एक हजार पाउने भए पछि उनीहरु जाने भए, १ दिनको खर्च भानि टर्ने भयो ।
भोलिपल्ट निर्धारित समयमा निर्धारित ठाउँमा ९ जना भेला भएर पुगे । मनोज आयो, कुरा बुझायो र सवैको नाम टिप्यो । पहिला मन्त्रीभई सकेकाहरु पनि आएका रहेछन् । चुनावको मुखमा भएको कार्यक्रमको तामझाम निक्कै थियो । सवै जसरी पनि आउदो चुनाव आफ्नो पार्टीको पक्षमा पार्ने दाउबारे सल्लाहमा थिए । एकै छिनमा कार्यक्रम शुरु भयो । नेताहरुको भाषण शुरु भयो । पार्टी प्रवेशको क्रम शुरु भयो । नेताहरुले आफ्नो पार्टीका एजेण्डा सहि भएकै कारण देश व्यापी रुपमा पार्टी प्रवेशको लहर चलेको र सोहि कार्यक्रममा पनि एक सय भन्दा बढि युवा प्रवेश गर्न लागको बताए । कहिल्यै राजनीतिको चस्कामा नपरेका उनीहरु अनौठो मानि रहेका थिए । नाम शुरु भई हाल्यो, २५ जना युवा सहित उहाँहरुको नेतृत्व गर्दै हाम्रो पार्टीमा प्रवेश गर्दै हुनुहुन्छ, झापाका रोशन जी भन्दै उद्घोषकले नाम बोलायो । २५ त किन हुन्थे, भएका जति लाईन लागे । पार्टीका नेताले अविर लगाई दिए, स्वागत गरे । मनमनै उनीहरु छक्क परि रहेका थिए ।
कार्यक्रम चल्दै थियो, उनीहरुलाई बोलाउने मनोजले एउटा कुनामा सुटुक्क बोलायो । कानेखुसीको चालमा भन्यो, ल भाइ हो काम सकियो । तिमिहरुलाई खाजा खर्च भन्दै १÷१ हजार थमायो । रोशनको भागमा टोली नेता भएकाले २५ सय प¥यो । केटाहरु मख्ख । मनोजले भन्यो, ल भाइ हो काम पर्दा कल गर्छु आउनु पर्छ है । सवै स्विकृति जनाउँदै बिदा भए ।
फाउमा आएको पैसा । साँझमा रोशनको समूहले खुसी मनायो । एक÷ एक ओटा बियर र दालमोठ । बैशाखको गर्मीमा एकै छिनको नाटकले पाएको हजार रुपैयाँले उनीहरुको आँत शिलत भयो । होटलको भित्तामा टिभिले समाचार भन्दै रहेछ, कस्तो संयोग । दिउँसो उनीहरु पार्टी प्रवेशकै समाचार रहेछ । अलिकति त उनीहरुको पनि अनुहार देखियो । टिभीमा नेताहरुले सयौं युवाहरु पार्टीका मुद्धा र एजेण्डाबाट आकर्षित भएर पार्टी प्रवेश गरेकाले आउँदो चुनावमा देशै भरि आफ्नो पार्टीको बिजय सुनिश्चि भएको बताई रहँदा उनीहरु भने बियरको तालमा उडाई रहेका थिए ।
दैनिकी चल्दै थियो । पर्सी पल्ट उही मनोजको फोन आयो । ति साथीहरु लिएर नयाँपाटी पुग्नु पर्ने भयो । काम उहि हो, पार्टी प्रवेश । अर्को पार्टीको कार्यक्रम रहेछ । यस पटक चाँहि अलिक टाढा भएको भन्दै उसले रेट बढायो । टोली नेताको ५ हजार र अरुको २५ सय । केहि बेरको गलफती पछि मनोज राजी भयो, रोशनको सर्तमा ।
केटाहरुलाई हुल बाँधेर रोशन नयाँपाटी लाग्यो । बिदेश जाने टुंगो थिएन । २ दिन अर्को पार्टीमा प्रवेश गरेकाहरु आज अर्को पार्टीमा प्रवेश गर्नेको सुचीमा थिए । मनोजले त यो चुनावका मुखमा कुन कुन पार्टीमा कति युवा प्रवेश गराउने भनेर नेताहरुबाट आएको निर्देशनको ठेक्का लिँदो रहेछ । त्यसबापत उसले एक मुष्ट रकम पाउने र त्यो प्रवेशीहरुलाई बाँड्ने । बाँकि रहेको उसको । मनोजको रवाफ निक्कै थियो । पहुँचवाला, व्यवसायी, नेता, उद्योगी, पत्रकार सवैसँग उठबस थियो ।
नयाँपाटीको कार्यक्रमबाट अलिक राम्रै अंक पाए पछि उनीहरु साँझ चावहिलको एउटा रेष्टुरेण्टमा पसे । मनोज पनि सँगै थियो । आधा घण्टा अघि देखि लगाएको भोड्काले गर्मी मौसममा तातिएको शरीर उमाल्न थालेको थियो । म्यानपावरको हाकिम पनि टुप्लुक्कै आई पुग्यो । उसले त मनोजलाई आएर राम्रैसँग आदर भाव प्रकट ग¥यो । मनोज पनि उसैको टेबुल तिर लाग्यो एक छिन् । म्यानपावरवालाले भन्यो ः मनोज सर, बिभागले हैरान दिई रहेको छ । पुराना सवै कागज ले भन्छ । कहाँबाट लानु ? लौन तपाईले त सवैलाई चिन्नु भएको छ, कसरी हुन्छ मिलाई दिनु प¥यो । के गर्नु पर्छ, म तपाईलाई गर्छु ।
यति सुने पछि सुधो रोशन पनि जंघियो, उसको कम्पनीनै पो अबैधानिक रहेछ । झसङ्ग भयो । तीन दिन भित्रमा नउडाए अफिसनै उडाई दिने धम्कि दियो, सँगै बसेका ठाउँमा गएर । केहिबेरको ठाकठुक पछि मनोजले बल्ल कुरा बुझ्यो । उसले धमाधम पार्टी प्रवेश गराउँदै गरेका केटाहरु त्यहि म्यानपावरका कारण अल्झिएका रहेका छन् । उसैले मध्यस्थता गरि दियो, तीन दिन भित्रमा उडाउन नसके लिएको रकम र पासपोर्ट र्फिा दिने, सहमति भयो ।
रोशनले कमाउने बाटो नयाँ भेटि सकेको थियो । भोलि पल्ट उसले मनोजसँगै सल्लाह ग¥यो र केटा खोज्ने कामको ठेक्का मिलाई दिन आग्रह ग¥यो । चुनावको मुख छ, यस्ता मौका त आई हाल्छ नि भनेर मनोजले ढाडस दियो । नभन्दै भोलि पल्टका लागि अर्को पार्टी प्रवेशमा उसले ५० जना केटा खोज्ने जिम्मा पायो । पूर्वप्रधानमन्त्रीको पार्टी भएकाले रेट पनि राम्रै पायो । उसले एउटा जिल्लाको युवाहरुको अध्यक्षको रुप धारण गर्दा १ लाख पाउने भयो, अरुलाई प्रति व्यक्ति ३ हजार । उसले बिदेश जान अलपत्र बनेका साथीहरु खोज्यो र एक घण्टा पार्टी प्रवेशको लाईमा उभिए वापत १५ सय दिने भन्यो । उसका साथीहरुले उनीहरुका अरु साथी खोजे । काठमाडौमा अलपत्र बनेकाहरुलाई यो राम्रो मौका पनि बन्यो, खोजी खर्च जुटाउने ।
पार्टी प्रवेशको कार्यक्रम पुलचोकमा थियो । बिरानो सहर काठमाडौमा ति अलपत्र युवाहरुलाई चिन्ने कोनै थियो र चिन्ने । जुन जुन पार्टीमा प्रवेश गरे पनि, छोडे पनि के मतलव । नेताहरु पनि ठुलो हुल पार्टी प्रवेश गराउन पाएको भन्दै मख्ख । चुनावको मुख थियो, खर्च गर्न ‘नो कम्प्रमाईज’ । नाम ढाट्यो रोशनले । अनि बन्यो प्रतिष्पर्धी पार्टीको युवा संघको पाँचथर जिल्लाको कृतिम अध्यक्ष । उसैको नेतृत्वमा ति ५० युवा प्रवेशको सुची पेश भयो । कार्यक्रम भब्य भयो । पार्टीका नेतानै पूर्वप्रधानमन्त्री थिए । भव्यता त त्यसै पनि हुने भयो । मनोज र रोशन जस्ता ठेकदार अरु पनि रहेछन् । माला र अविर लगाउनेको ताँति निक्कै लामो थियो । पार्टी प्रवेशको लहर चल्यो । रोशन जस्ता युवाहरु राताम्यै भए । सम्झौता अनुसारको काम सकियो । कार्यक्रम चल्दै जाँदा साँझ पर्नै लागेको थियो । आयोजकले कार्यक्रम स्थलमै खानपानको व्यवस्था गरेको रहेछ । बेजोजगार, गेष्टहाउसमा डेढसयको सादा भात खानेलाई चिकन, मटन, अनेक कक्टेल सहितको पाटी अरु के चाहियो । सवै मस्त भए । रोशको काम बाँकि थियो, हिसाव मिलाउनु । मनोज भन्दा पनि ठुलो ठेकेदारले कुनामा बोलायो । मनोज र रोशन लागे । झोलामै लिएर आएको रैछ, पैसा । फेरि पनि मौका परे सहयो गर्नु भन्दै उसले जिल्ला अध्यक्ष बापतको एक लाख हात पा¥यो । बाँकि ५० जनालाई बाँड्न तीन हजारका दरले । त्यहाँबाट बिदा भए पछि उसले आफ्ना टोलीका साथीहरुलााई भेला पा¥यो । उसले पार्टी प्रवेशी अरुलाई ३ हजारका दरले दिनु पर्ने सर्त गरेको थियो, ठुलो ठेकेदारसँग । उसले चाँहि १५ सय दिउँला भनेको थियो । ‘हेर केटा हो, म त बोलिमा पक्का मान्छे’–ठालु पल्टिदै गफ दियो–‘मान्छे धेरै भए १ हजार भन्दा दिन सक्दिन भन्दै थियो । तर म कहाँ मान्थेँ र ।’ केहि बेरको गफ दिए पछि उसले १५ सयका दरले पैसा बाँड्यो र उसलाई उसका ठेकेदारले भने जस्तै फेरि फेरि काम गर्दा आउनु नि भन्दै विदा दियो । ५० जनालाई एक घण्टा उभ्याएर बिचौलिया बने बापत ७५ हजार कमाई भयो । उसको फर्जी जिल्ला अध्यक्षको १ लाख त छँदैथियो । एकै दिनको कमाई १ लाख ७५ हजार ।
बिदेश जाने उसका सपना भत्किदै गए । म्यानपावरवालालाई दिएको अल्टिमेटम पनि भोलि सकिदै । साँझ सवैलाई भेला पा¥यो । उसका ग्याङ्का ९ जना । सवैसँग सल्लाह भयो । कम्पनी पनि अबैधानिक रहेको अनि मनोज र म्यानपावरवाला विचको संवाद पनि सुनाए पछि सवैले उसलाई जिम्मा दिए कि सके सम्म बुझाएको रकम पनि फिर्ता गराउन । त्यो नसके बरु पैसा मायाँ मारेर पासपोर्ट चाँहि फिर्ता ल्याउने । उसले सवैलाई ढाडस र वचन दियो, यो काम भोलीनै गर्ने ।
म्यानपावरवालाको सवै कमजोरी उसले थाह पाई सकेको थियो । आफुृ जानु भन्दा पहिलेनै उसले बाँकि साथीहरुलाई पठायो म्यानपावर र आक्रोश देखाउन निर्देशन दियो । अलिक आक्रोशित भई हालेछन, एउटा टेबल पनि भाँचि हालेछन् । म्यानपावर मालिकले उहि रोशनको ठेकदार मनोजलाई फोन गरेर सहायताका लागि आग्रह ग¥यो । तर मनोज भक्तपुर पुगेकाले तत्काल आउन नसक्ने भनि रोशनसँग सल्लाह गरेर समस्या समाधानका लागि आग्रह ग¥यो । कानूनी रुपमा कमजोर भएकाले तत्काल म्यानपावर मालिकले प्रहरी गुहार्न पनि आँट गरेन । बरु रोशनलाईनै बोलायो ।
एकछिनको वार्ता पछि युवाहरुले आफुहरुको टोलिनेता रोशन भएको र उसँग सल्लाह गरेर पैसा र पासपोर्ट फिर्ता दिन आग्रह गरे । रोशनले स्थिति साम्य पारि साथीहरुलाई केहिबेरलाई बाहिर पठायो । रोशनले अड्डि कस्यो पैसा र पासपोर्ट आजै दिएर बिदा गर्न । पैसा पनि नपाए साथीहरुले आफुलाई पनि नछोड्ने भन्दै अडान छोडेन । तर तत्काल पैसा नभएको र भोलि आएर एकमुष्ट रोशनले ९ जनाले बुझाएको २५ हजारका दरले एकमुष्ट रकम लाने र आज पासपोर्ट लगेर स्थिति सामान्य बनाउने सहमति भयो । आधा घण्टाको वार्ता पछि रोशन सवैका पासपोर्ट लिएर बाहिरिए । रोशनले कम्पनी मालिक पनि अहिले अफ्ठ्यारोमा परेको र पछि फेरि बिदेश जानु परे यहि रकममा थप गरि लगि दिने वचन दिएको भन्दै सवैलाई सवैको पासपोर्ट फिर्ता दियो । साथीहरुले पनि पासपोर्ट ल्याई दिएर रोशनले ठुलो गुन लगाएको, २५ हजार मायाँ मार्दा बरु केहि नहुने भन्दै धन्यवाद दिए ।
झण्डै ३ साताको काठमाडौ बसाईमा गलेकाहरु धेरै त बेखर्ची हुन आँटेका थिए । संकटका बेला पार्टी प्रवेशका कार्यक्रम मिलाएर एक, दुई दिनको खर्च पनि जुटाई दिएको र पासपोर्ट पनि फिर्ता ल्याई दिएको भन्दै रोशनलाई कहिल्यै नभुल्ने र सकेका दिन गुन तिर्ने भन्दै सवै आ आफ्ना बाटो लागे । अब त किन प¥यो बिदेश ? कहिल्यै ५० हजार भन्दा बढि पैसा नदेखेको मान्छे, झण्डै २ लाखको धनि भयो । मस्ति गर्ने योजना सहित, दोहोरीसाँझ छि¥यो । कहिल्यै छुन नपाएका युवतीका अंगहरु सुम्सुम्याउन पायो, चलाउन पायो, खेलाउन पायो । अनि जे जे मन लाग्यो.........सवै ग¥यो । ८÷१० हजार सक्न के मतलव ।
रातभरको मोज–मस्ति । गलेको ज्यान । भारी टाउको । बिहान उठ्दै ९ बज्यो । भारी टाउको केहि खाने मन भएन । कागती पानी स्वाट्टै पारेर केहि बेर टहलिए पछि घरबाट हिँड्न लाग्दाका अन्यौलता र चिन्ता अनि अहिले एका एक फेरिएको हैसियत देखेर मख्ख प¥यो । १० बजे पछि म्यानपावर जानु थियो । ९ जनाको २५ हजारका दरले एकमुष्ट थाप्नु थियो, जसले त्यो पैसा पाउदैथिए, उनीहरु हिजै आभारी भएर बिदाा भई सकेका थिए । सवा १० हुँदा म्यानपावर पुग्दा बिलखबन्दमा परेको अनुहार लिएर मालिक कोठामै थियो । ‘भाइ म पनि समस्यामा परेँ । तपाईहरु मनोज सरको मान्छे, मलाई पनि राम्रै काममा पठाउने मन थियो । तर सकिन’–अफसोच व्यक्त ग¥यो । उसले पनि औपचारीकता निभायो–‘जे भयो, राम्रै भयो सर । कम्तिमा हामी विचमा एउटा सम्बन्ध विकसित गरायो परिस्थितीले । केहि छैन, ति साथी पछि तपाईकै कम्पनीबाट जान्छन् । बरु मैले बसपार्कमा साथी पर्खाएर यता आएको । उनीहरु त व्याज पनि भन्दै थिए, मैले जे भो, भैगो । साँवामा चित्त बुझाओ भनेको छु । बरु चाँडै उनीहरुलाई बिदा गर्दा राम्रो । फेरि केटा फर्कन सक्छन् ।’ झनै डर देखाए पछि म्यानपावर मालिकले घर्राबाट पैसा निकालेर टेवरमा राख्यो । थाकेको स्वरमा भन्यो–‘तपाईले पनि मनोज सरसँगको नाताले सहयोग गर्नु भयो । हिजो कार्यालयमा झनै तोडफोड हुन सक्यो, धन्य बेलैमा आई पुग्नु भयो । तपाई सहित ९ जनाको २ लाख २५ हजार हुने थियो, मैले २५ हजार तपाईलाई थपि दिँंए । कार्यालयको क्षती हुन बाट तपाईले रोक्नु भएकोमा यतिमात्रै सहयो गर्न सके ।’ थोरै मुस्काउँलाझै गरेर रोशनले पैसाको बिटो तान्यो र जिन्स पाईन्टमा तीन गोजीमा अटायो । ‘ल दाई म साथीहरुलाई विदा गर्छु पहिला । म चाँहि केहि दिन काठमाडौंमै हुन्छु । फेरि भेटौंला’ कुटिल हार्दिकता सहित दुवै छुट्टिए ।
तीन लाख भन्दा बढि पैसा बोक्दा निक्कै डराउँदै सडक सम्म आयो । त्यसै बेला मनोजले फोन ग¥यो । अहिले सरकारमै भएको पार्टीको कार्यक्रम रहेछ टोखामा । उसको भागमा ५० केटा भेला पार्नु पर्ने पार्टी प्रवेशका लागि । बडो फसाद प¥यो । भएका सवै साथी बिदा भई सकेका थिए । तर हिम्मत नहारि सर्त राख्यो, ५ जनालाई जिल्ला अध्यक्षको हैसियतमा रेट दिनु पर्ने । दुवै मन्जुर भए । बाटैमा मनिट्रान्सफर रहेछ । एकै पटक धेरै पैसा बोक्दा आतिएको उसले त्यो पैसाले आफु र पैसा दुवैको असुरक्षाको महसुस ग¥यो । घरमा आमालाई फोन ग¥यो । आमा छक्क परिन्, बिदेशै नगई यतिका रकम पठाएको भन्ने सुन्दा । ‘बुढी नडराउन । नकमाउँदा पनि नागो भयो भन्ने । कमाउँदा पनि के के न ग¥यो भन्ने ? मैले कुनै अपराध गरेर कमाएको होईन, दिमाग लगाएको हो । बाँकि कुरा आएर गरौंला । बरु अब चुनाव अगाडीनै आई पुग्छु । अरु पैसा पनि लिएर आउँछु । दाजुलाई दमक तिर घडेरी हेर्दै गर भन्नु । मंशिरमा तिम्रा दुई भाइ छोराको एकै लगन ।’ आमालाई फकाए पछि केहि गोजी खर्च राखेर सवै आमाका नाममा हालिदियो, मनीट्रान्सफरमा ।
केटाको खोजी गर्नु थियो । त्यसै धन्दामा लागि हाल्यो र थाल्यो फोन दवाउन । बैशाख–३१ गते तोकिएको चुनाव आउन एक साता बाँकि रहँदा सम्म ८ ओटा जति पार्टीमा प्रवेश ग¥यो । अरु कतिलाई पनि प्रवेश गरायो । कतै जिल्ला अध्यक्ष बन्यो युवाको, कतै विद्यार्थीको । जिल्ला अध्यक्ष प्रवेश गर्दाको हैसियत १ लाख भन्दा कम कतै भएन । बैशाख २२ हुँदा सम्म त रोशनले २० लाख जति भेला पा¥यो । कतै अरुलाई प्रवेश गराएको कमिशन, कतै आफ्नै प्रवेशको । सयकडा ३ हालेर व्याजमा लिएको ४० हजार को के चिन्ता । जीवनमा गाउँमा हालिएको लिंगे पिङ् चढ्दा बाहेक धर्ती नछोडेका उ कतार पुग्दा चाँहि प्लेन चढ्न पाईने आशामा थियो । तर अब कतारनै पो किन जानु प¥यो । कतार भन्दा बढि पैसा कमाए पछि । काट्यो टिकट काठमाडौ–भद्रपुर प्लेनको ।
अब माघ–७ गते सम्ममा सरकारले तीन ओटा चुनाव गराउने भनेको छ । पहिलो चुनावबाटै २० जति हात प¥यो । बाँकि दुईटामा पनि यहि दरमा कमाउने हो भने ६० लाख त कतै नगई । अब गाउँको थोत्रे घर भत्काईन्छ र चट्ट दमकमा तीन तले घर किनिन्छ । बिचरा दाजुले भने बुवा खसे पछि व्यभार थाम्दा पढ्न सकेन । ३० वर्ष पुग्न लाग्यो, बिहे पनि गरेको छैन । उसलाई गाउँमा १० कठ्ठा जति जग्गा किनिदिने । बिहे गरेर उ तेतै गरि खान्छ । माघ–७ गते पछिको चुनाव पछि त दमकमा आफ्नो तीन तले घर । दाजुको गाउँमा खेती र घर । यसपालिको मंशिरमा दाइको बिहे । आफुले पनि बिहे गरि हालियो भने फेरि चुनावमा कमाई गर्न सकिदैन । दुई ओटै चुनाव पछि अर्को बैशाख तिर सानै देखि हत्तै गर्ने पारि गाउँकी कमलीलाई भित्याईन्छ । अनि आमाले घर रुङ्छीन । दाजुले लखनपुरमा गाई पाल्छ । आफु दमकमा डेरी चलार बसिन्छ । बाह......के के कतार...........।
सम्झँदा सम्झदै बिमान परिचारिका बोल्न थालिन्–आदरणीय यात्रु महानुभाव हामी झापाको भद्रपुर बिमान स्थलमा अवतरण गर्ने क्रममा छौं....................।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 बैशाख, 2074

लेखकका अन्य रचनाहरु