नेपाली साहित्यको विकासमा निर्माण प्रकाशनको योगदान

- अर्जुन यावा

सिक्किमेली नेपाली साहित्य अहिले धेरै विकसित भइसकेको छ। सन् 1850-मा शिक्कामा ‘श्री श्री श्री सिक्किम सरकार’ भनेर पहिलोपल्ट नेपाली भाषामा लेखिएको पाइए तापनि सिक्किमेली नेपाली साहित्यको उदय भने सन् 1877-1883 बीच सन्त ज्ञानदिल दासको उदय लहरी र जमगीताबाट भएको अनुमान लगाउन सकिन्छ। यद्यपि, सन् 1947-मा ‘अपतन साहित्य परिषद’-को स्थापनापछि मात्रै सिक्किमेली नेपाली साहित्यको विकासले गति पाएको धेरैको मत पाइन्छ। सिक्किमेली नेपाली साहित्यले सिक्किमको राजनैतिक इतिहाससँगसँगै अघि बढेको स्पष्ट हुन्छ। 1947 यता आएर विकसित बनेको सिक्किमेली नेपाली साहित्यलाई मूलतः तीन चरणमा विभाजित गरिएको पाइन्छ।
1) 1947 देखि सिक्किम विलय (1975 पूर्व) सम्म,
2) सन् 1975 देखि 1992 सम्म र
3) सन् 1993 देखि यता।
साहित्यमा पवन चामलिङ ‘किरण’ :
सन् 1947-मा गठित ‘अपतन’-लाई सिक्किमेली नेपाली साहित्य विकासको प्रारम्भिक विन्दुको रूपमा हेर्नु हो भने सिक्किमेली नेपाली साहित्यको वर्तमानस्थितिमा आइपुग्नलाई धेरैजनाको योगदान छ, धेरै संघ-संस्थाको भूमिका छ। तीमध्ये एकजना हुन् पवन चामलिङ ‘किरण’, जसले नेपाली साहित्यको निम्ति सँधै दिलोज्यान दिएका छन्। वर्तमान मुख्यमन्त्री पवन चामलिङ मात्रै मुख्यमन्त्री होइनन्। उनी पहिला एक असल कवि हुन्, असल लेखक हुन्, चिन्तक हुन् अनि समाज सुधारक हुन् जो सँधै समाजको विकासकै निम्ति सोचिरहेका हुन्छन्। साहित्य समाजको दर्पणमात्रै होइन अपितु, साहित्यकै माध्यमद्वारा समाजलाई सजग बनाउन सकिन्छ भन्नेकुरा उनले अघिबाटै बोध गरेका हुनपर्छ। त्यसैले कहिले आफैलाई प्रश्‍न गरे उनले कवितामा ‘म को हुँ?’ भनेर अनि कहिले देखे उनले अनन्तहीन सपना कवितामै जो उनको विपना थियो। कवि पवन चामलिङ ‘किरण’-मा स्रष्टा र द्रष्टा दुवैले सँगै यात्रा गर्दै आएको छ, जहिलेदेखि साहित्यमा उनी उदाए।
‘निर्माण’-को उदय :
‘निर्माण मान्छेको भविष्यप्रति अत्यन्त चिन्तित र संवेदनशील छ।’ निर्माणको रजत जयन्ती अङ्कको पृष्ठ 68-मा अङ्कित साहित्यकार गुप्त प्रधानको यो भनाई अनि निर्माणका संस्थापक पवन चामलिङले पुर्‍याएको साहित्यिक योगदानको सार एकै लाग्छन्। कवि पवन चामलिङलाई लागेको हुनुपर्छ साहित्य आफै लेखेरमात्रै हुँदैन, साहित्य आफैले मात्र होइन समाजले गर्नुपर्छ, लेख्नुपर्छ अनि सिङ्गो व्यक्ति होइन सिङ्गो समाज, सिङ्गो राज्य सगज/सचेत बन्नुपर्छ। त्यसैले आफूले हिँड्न चाहेको यात्रामा अरुलाई पनि डोहोर्‍याउने सोचले उनलाई अघिबाटै घरिघरि घच्घच्याइरहेको हुनुपर्छ। त्यसै र निश्‍चय गरे उनले सिक्किममा पनि एउटा राम्रो साहित्यिक संस्था, राम्रो प्रकाशन शुरू गरिनुपर्छ, जसले राज्य र देशलाई नै नेतृत्व गर्नसकोस्। अनि त स्थापना भयो ‘निर्माण’-को सन् 1978-मा। सम्भवत 1927-मा प्रकाशित ‘पुलिसका कर्मचारीका पथदर्शक’ सिक्किमको पहिलो मुद्रित पुस्तिका हुनुपर्छ। नेपाली भाषामा साहित्य लेखनको थालनी भने 1947-मा ‘अपतन’ बाटै भएको गोपाल गाउँलेको मान्यता पाइन्छ। गोउँलेअनुसार 1948-मा प्रकाशित पत्रिका ‘फूलबारी’ सम्भवत पहिलो साहित्यिक पत्रिका हो। यद्यपि, 1947 देखि साहित्य लेखनभन्दा साहित्यको विकासक्रम शुरू भएको भन्न सकिएला।
‘निर्माण’ भनिसक्दा फेरि यसको दुईवटा पाटा सँगसँगै हिँडेका छन्। एउटा ‘पत्रिका’ अर्को ‘प्रकाशन’। उसो त शुरूमा प्रकाशनभन्दा पत्रिकाले पहिला ‘निर्माण’-को नाम पाएको पक्कै हो, तर जन्मले दुवै जुम्ल्याहा। अहिले, निर्माण पत्रिकासँगै प्रकाशनले आफ्नो स्थापनाको लगभग चार दशक पूरा गरिसक्दा-नसक्दा देशका अन्य प्रकाशनहरूको तुलनामा ‘निर्माण’-ले उल्लेखनीय योगदान पुर्‍याइसकेको छ। निःसन्देह ‘निर्माण’-ले यहाँसम्म अविराम आइपुग्दा धेरै समस्या, धेरै अड्चन, धेरै बाधाहरूको सामना गर्नुपरेको छ। यो चार दशकसम्मको यात्राका क्रममा झेल्नुपरेको कठिनाई, गर्नुपरेको संघर्ष र सहनुपरेका चोटहरूबारे यसका संस्थापक पवन चामलिङलाईभन्दा धेरै सायदै अरुलाई अवगत हुनसक्ला।
स्थापना र संघर्षका कुरा :
निर्माण पत्रिका अथवा निर्माण प्रकाशनको स्थापना कहिले भयो त वा कहिलेदेखि शुरू गरिएको थियो त? स्थापनाको लगभग यो चार दशक मात्रै हुँदैगरेको भए पनि झट्टै भनिहाल्न गाह्रो पर्नसक्छ। धेरैको मत छ- ‘निर्माण’ पहिला पत्रिका मात्रै हो, पछि प्रकाशन। जसो भए पनि यसको शुरुवात भएको हो 1978 देखि भन्नेहरू धेरै छन्। निर्माणको रजत जयन्ती अङ्कमा समावेश गरिएको 10 नोभेम्बर 1977-मा बसेको ‘निर्माण-परिवार’-को सभामा लेखिएको बहीखातालाई आधार लिइने हो भने ‘निर्माण पत्रिका’ 1978 देखि नै शुरू भएको हो। रजत जयन्ती अङ्कमै पृष्ट 18-मा साहित्यकार भीम दाहालको भनाइअनुसार निर्माण पत्रिका याङ्गाङबाट 1976 देखि शुरू भएको हो। अर्कोतिर, निर्माण पत्रिका कहिलेदेखि छापिन शुरू भयो त? निर्माण-को पहिलो अङ्क प्राप्त हुनु होभने स्वतः स्पष्ट भइहाल्ने विषय हो। निर्माण प्रकाशनको सूची-पत्रलाई मान्ने हो भने ‘निर्माण’ सामयिक सङ्कलन पत्रिका 1979 देखि शुरू भएको हो। अहिलेसम्ममा प्राप्त तथ्यहरूलाई मानिलिँदा निर्माण पत्रिका 1978 देखि नै शुरू भएको हो भन्न सकिन्छ। यद्यपि, समयको अभावका कारण यहाँ ‘निर्माण प्रकाशन’ र ‘निर्माण सामयिक पत्रिका’-लाई अध्ययनका छुट्टाछुट्टै आधार राखेर हेरिनुपर्ने कार्य भने बाँकी नै रहेको छ।
सिक्किमेली नेपाली साहित्यमा बिर्सनु नहुने पत्रिका हो काशीराज प्रधानको ‘कञ्चनजङ्घा’। यही पत्रिकाबाट आफ्ना रचनाहरू प्रकाशनमा ल्याउन थालेपछि साहित्यमा अघि बढेका हुन् पवन चामलिङ। पवन चामलिङले पछि जन्माए निर्माण प्रकाशन। ‘निर्माण’ शुरू गर्दाका समयबारे पवन चामलिङकै प्रमुख सम्पादनमा प्रकाशित भइरहेको ‘निर्माण’-कै कार्यकारी सम्पादक वीरु बाङ्देल भन्छन्- “निर्माण प्रकाशनको सामयिक साहित्यिक संकलन ‘निर्माण’-को गजत जयन्ती अङ्क 2002-मा निस्कियो, जो 37औं अङ्क थियो। यसको स्थापना हुँदा याङ्गाङमा बिजुलीबत्ती थिएन। त्यतिबेला कवि पवन चामलिङ र उहाँका टोलीमा साहित्यप्रति जुन लगाव थियो, त्यसैको कारण मात्र सम्भव भएको हो।’’ श्री बाङ्देल भन्छन्- “निर्माण प्रकाशन शुरूमा एउटा पत्रिकाको रूपमा शुरू गरिएको हो। पछि मात्रै प्रकाशनको रूपमा रुपान्तरित भएको हो। यसले अहिलेसम्म 300 अधिक पुस्तक, ग्रन्थ, पत्रिकाहरू प्रकाशनमा ल्याइसकेको छ। यसमा धेरै साहित्यका कृतिहरू छन् भने साहित्यइत्तरलाई पनि समेटिएको छ।’’
माथि कुरा गरिसकियो, ‘निर्माण’-को स्थापना 1978-मा भएको हो। यद्यपि, निर्माणको रजत जयन्ती अङ्कमा व्यवस्थापक श्री सी.बी. कार्कीले लेख्नुभएअनुसार 1971-मा सिक्किममा जनक्रान्ति शुरू भएको थियो अनि पाँचौं आम चुनाउको तयारी चलिरहेको थियो। चुनाउ प्रचारका कार्यहरूमा पवन चामलिङ पनि संलग्न थिए भने व्यवस्थापक श्री सी.बी. कार्की त्यही समयदेखि नै पवन चामलिङका सहकर्मी थिए। उनले भनेका छन्- “राज्यमा प्रजातान्त्रिक व्यवस्थाको स्थापना भइञ्जेल हामीहरू जन-आन्दोलनमा व्यस्त भयौं।’’ उनले फेरि भनेका छन्- “...चुनाउ सम्पन्न भएपछि भने श्री चामलिङ पुनः साहित्यिक-सांस्कृतिक कार्यक्रमहरूमा जुट्नुभयो; र उहाँकै घरमा ‘मानव पुस्तकालय’-को स्थापना गर्नुभयो। यहीबीच 1975 देखि 77 सालसम्म एउटा हस्तलिखित पत्रिका पनि निकालियो। यही अवधिभित्र श्री चामलिङको अगुवाईमा ‘निर्माण-परिवार’ नामक साहित्यिक-सांस्कृतिक संस्थाको गठन याङ्गाङमा गरियो।’’ पवन चामलिङलगायत निर्माण परिवारका सदस्यहरूले यतिबेलैदेखि चन्दा सङ्ग्रह गरी ‘निर्माण’ पत्रिकाको प्रकाशन शुरू गरेका थिए।
यतिबेलासम्म पनि ‘निर्माण’-को जन्मस्थल ‘याङ्गाङ’-लाई ‘कोला-पानी’ भन्ने गरिन्थ्यो। यस कुरोबाट हामी अनुमान लगाउन सक्छौं कि याङ्गाङजस्तो दुर्गमस्थलबाट साहित्यिक क्रियाकलाप अघि बढाउनु सहज थिएन। निःसन्देह, ‘निर्माण’-लाई पनि त्यो समय सञ्चालन गर्न अर्थ व्यवस्थाको निम्ति धेरै परिश्रम गर्नुपरेको थियो। यो कुरा हामी त्यससमय अर्थसंंग्रहको निम्ति ‘निर्माण परिवार’-ले नाटक खेलेको, देउसी खेलेको, सांस्कृतिक कार्यक्रमहरू गरेको कुराबाट पनि अनुमान लगाउन सक्छौं।
निर्माण पत्रिकाको शुरूवात गरिनुको मुख्य उद्देश्य त्यसबेलाको समाजलाई साहित्य र पुस्तक पठन-पाठनतर्फ प्रेरित गरिनु थियो। निर्माण पत्रिका शुरू गर्दा सम्पादनमा कृबु संयमीलगायत अन्य धेरैले सहयोग पुर्‍याएका थिए भने पछिबाट पवन चामलिङले आफ्नो निजी प्रयासमा पत्रिकालाई जीवित राखेको कुरा हामी सीबी कार्कीबाट पनि थाहा पाउनसक्छौं। यद्यपि, मानव पुस्तकालय, निर्माण-परिवार, निर्माण पत्रिका अथवा निर्माण प्रकाशन कुनैपनि कार्य शुरू गर्नुअघि नै साहित्यप्रति पवन चामलिङको रस भिजिसकेको थियो, साहित्यको महत्व, विशेषता, साहित्यको मूल्य बुझिसकेका थिए अनि साहित्य सेवामा लागिसकेका थिए भन्ने कुरा सीबी कार्कीको ‘एउटा सम्झना निर्माणको’-बाट स्पष्ट हुन्छ, जहाँ उनले “...चुनाउ सम्पन्न भएपछि भने श्री चामलिङ पुनः साहित्यिक-सांस्कृतिक कार्यक्रमहरूमा जुट्नुभयो..’’ भनेका छन्। ‘पुनः’ अर्थात त्यसअघि नै साहित्यिक कार्यमा पवन चामलिङ संलग्न थिए।
यहाँ ‘निर्माण’ शुरू गर्दाको प्रसङ्ग उठेको थियो, जतिबेला अर्थ संंग्रहका निम्ति विभिन्न सांस्कृतिक कार्यक्रमहरूसितै नाटकहरू गरिएको कुरा गरिँदैथियो। वर्तमानमा निक्कै प्रचलित देखिन्छ गाउँ-घर, शहर-बजारहरूहुँदी पनि तिहारमा देउसी खेलेर संघ-संस्थाको नाममा अर्थ संग्रह गर्ने प्रथा। यसको निम्ति ठूला-बडालाई अघिबाटै ‘देउसी खेल्न आउँदैछौं है’ भनेर चिट्ठी लेख्ने अथवा अवगत गराइने चलन छ। निर्माण-परिवारले यो प्रथा सिक्किममा त्यतिबेला नै बसाइसकेको पाइन्छ। निर्माण-परिवारको सभाको बहीखाताले यसको प्रमाण दिँदछ, जो रजत जयन्ती अङ्कमा समावेश गरिएको छ। त्यो बेला 10.11.1977-को दिन लेखिएको पाइन्छ-
“प्रिय बन्धुगण,
याङ्गाङबाट निर्माण पत्रिका निक्लने हल्ला धेरैअघिदेखि तपाईंहरूले सुनेको हुनुपर्छ। यो केवल हल्ला मात्र नभई यसलाई पक्का निकाल्ने प्रबन्धमा हाम्रा सम्पादक श्री पवन चामलिङ सरासर लागिरहनुभएको छ। पत्रिकालाई हर हालतमा निकाल्ने अठोट गरिसकेको हुँदा र कुनै पनि उन्नतिको काम गर्दा धनको आवश्यकता बराबर रहने हुँदा यो दीपावलीको उपलक्ष्यमा तपाईंहरूको घर-घरमा आएर निर्माण-लाई निर्माण गर्ने सल्लाह र सहयोग माग्दछौं। निम्नलिखित महानुभावहरूलाई देवसे कमिटीमा चुनेका छौं।’’
यसरी 1978 देखि शुरू भएको निर्माण पत्रिका प्रकाशनको निम्ति 1977-मा नै अर्थ संग्रह गरिँदैथियो भन्ने स्पष्टै छ। त्यसबेला देवसे कमिटीमा थिए- पञ्चलाल राई (सल्लाहकार), जेएम राई (सभापति), तोपछिरिङ (कोषाध्यक्ष), पवन चामलिङ ‘किरण’ (सचिव), एलबी बस्नेत (अर्थ संग्रहकर्ता) अनि सदस्यद्वय आर. अङ्दी र चुनिलाल नागरमल। जतिबेला कुनै गाउँ-समाजलाई ‘कालो-पानी’ भन्ने गरिन्थ्यो भने त्यो समाजमा साहित्य सेवा गर्नु भनेको लरतरो कुरो थिएन। किनभने, साहित्य सेवाले न कसैलाई रोजगारी दिनसक्थ्यो, न कसैलाई दुईरुपियाँ मुनाफा हुन्थ्यो। बरु, आफूमा भएको विवेक, अर्थ, समय सबै खर्चिनुपर्ने हुन्थ्यो र हुन्छ। भएन गाउँ-घरमा अर्थ सङ्ग्रह गर्नुपर्दा अनेक भनाइहरूसम्म सहन गर्नुपर्ने हुन्छ। यस्तो स्थितिमा पनि साहित्य सेवा उसैले गर्नसक्छ जो समाज र भविष्यसित चिन्तित छ, जसले समाजलाई शिक्षा, स्वास्थ्य र अर्थ सबैले पूर्ण समाजको निर्माण गर्न चाहन्छ। यो काम उसैले गर्नसक्छ जोसित पारदर्शी शोच हुन्छ, विचार हुन्छ। त्यसैको परिणाम हो ‘निर्माण-परिवार’। त्यही परिवार पछि गएर भयो ‘निर्माण प्रकाशन’।
माथि उल्लेखित पञ्चलाल राई, जेएम राई, तोपछिरिङ, पवन चामलिङ ‘किरण’, एलबी बस्नेत, आर. अङ्दी र चुनिलाल नागरमल गरी सातजनाको देवसे टीमसित त्यस समय परिवारमा अन्य सदस्यहरू मिलेर जम्मा 37 जनाबाट पत्रिकाको निम्ति 1064.40 रुपियाँ सङ्ग्रह गरिएको थियो। माथिका 7 जनाबाहेक परिवारमा अन्य सदस्यहरूको नाम निम्नप्रकार छन्-
एम कुमार छेत्री, मञ्जु क्षेत्री, सपना छेत्री, मुन्ना भोटिया, शर्मिला छेत्री, शिव राई, दिलीप राई, ध्रुव राई, टी.बी. प्रधान, कुमार सुब्बा, गोरे छेत्री, तोपछिरिङ, प्रसन, ईश्‍वरीप्रसाद माझी, सहवीर दर्नाल, रस्मान राई, प्रकाश छेत्री, रिञ्जिङ शेर्पा, पी. राणा, हेमन्त निरौली, निर्मला, सुमित्रा, लक्ष्मण छेत्री, बी.बी. रामुदामु, भक्तलाल राई, शान्ति थुलुङ, सकुन हाङ्खिम, शिला देवान, उषा चामलिङ, कुलबहादुर चामलिङ, रत्न बान्तवा, जङ्ग गुरुङ, गौतम योञ्जन, कालुभाइ राई, मञ्जु राई, पद्मा राई, जुहरमल राई, छेवाङ भोटिया, दुर्गा प्रधान, कञ्चन राई, टी.एम. राई, चुडामणि दाहाल, बसन्ती शर्मा, बसन्ती प्रधान र तुलमान छेत्री।
यी सदस्यहरूद्वारा सङ्ग्रह गरिएको रुपियाँबाट नै ‘निर्माण’-को पहिलो अङ्क छापिएको हो। निर्माण परिवारले पछि आफ्नो कार्यक्षेत्रलाई व्यापकता दिने निर्णय लियो अनि साहित्यबाहेक सांस्कृतिक एवं सामाजिक कार्यहरू पनि गर्न थालेको थियो। यद्यपि, निरमाण परिवार अथवा यो संस्थालाई राजनीतिदेखि अक्षुन्न राखिएको थियो। 1981-मा निर्माण परिवारलाई ‘प्रगतिशील निर्माण परिवार’ भनेर नामकरण गरिएको थाहा पाइन्छ। त्यही समयदेखि संस्थाले गाउँ-घरमा नाटकहरू, सांस्कृतिक कार्यक्रमहरू, भाषा आन्दोलन, भानु जयन्ती आदि कार्यक्रमहरू आयोजन गर्दै पत्रिका प्रकाशन गरेको रजत जयन्ती अङ्कमा उल्लेख छ। 1981-मा गठित कमिटीमा रहेका सदस्यहरूमा सभापति-पवन चामलिङ किरण, उप-सभापति- रिञ्छेन वाङ्दी भोटिया, महासचिव- बी.बी. रामुदामु, सह-सचिव- डी.के. दुङ्माली, सांस्कृतिक सचिव- शिवकुमार राई, साहित्यिक सचिव- चन्द्र कार्की, कोषाध्यक्ष- दुर्गाबहादुर प्रधान, सल्लाहकार- सोनाम ग्याल्छेन, सदस्यहरू- धनबहादुर गुरुङ, लालबहादुर बस्नेत, प्रेमकुमार बस्नेत, कालुदास राई, गोरे छेत्री, उर्मिला गुरुङ, छेवाङ रिञ्जीङ भोटिया र पासाङ लेप्चा रहेका थिए। यसरी निर्माणलाई निर्माण गर्न त्यसताक धेरैले उल्लेख्य योगदान पुर्‍याएका थिए भन्ने प्रमाणहरू हामी भेटाउनसक्छौं, जान्नसक्छौं।
साहित्य र राजनीति दुई भिन्नाभिन्नै विषय भए पनि यी दुई एकार्काका सम्पूरक हुन् भन्ने स्वीकार गरेको पाइन्छ। यसैको उदाहरणस्वरूप हामीले पवन चामलिङ र निर्माणलाई पनि माथिका कुराहरूबाट लिनसक्छौं। जस्तो कि एउटै सिक्काका दुई अलग-अलग पाटा, यी दुईले आ-आफ्नै विशेषता बोकेको छ। सँगै नभए पनि साथैमा रहन्छन् र एउटाबिना अर्कोको अर्थ नलाग्नसक्छ। पवन चामलिङ ठीक यही कुराको पर्याय भएर हिँडिरहेका छन् भन्नेकुरा सिर्जना र प्रकाशन दुवै साहित्यप्रतिको उनको निरन्तर सेवा अनि राजनीतिप्रति प्राप्त सफलताले छर्लङ्ग पारिदिएको छ। यद्यपि, स्पष्ट हुनुपर्ने कुरा के छ भने 12 दिसम्बर, 1994 देखि उनी निरन्तर सिक्किमका मुख्यमन्त्रीको पदभार सम्हाल्दै आइरहेका छन्। तर, पवनामलिङ मुख्यमन्त्री, मन्त्री, विधायक अथवा एकजना ठूला नेता भएर साहित्य सेवामा देखिएको अनुहार होइन। तर, राजनैतिक व्यस्तता, मुख्यमन्त्रीजस्तो जिम्मेवारीपूर्ण पदभार तथा प्रशासनिक जिम्मेवारीले पनि उनीभित्रको साहित्यिक पवन चामलिङ ‘किरण’-लाई मार्न नसकेको सत्य स्वीकार्य छ। बरु शिव रेग्मी (डा. पवन चामलिङ, स्रष्टा र सिर्जना, सम्पादकः महेश प्रसाई, पृष्ठ-13)-को भनाइ यहाँ राखिदिनु हो भने- “चामलिङले मुख्यमन्त्रीको पद ग्रहण गरिसकेपछि राज्यको राजनीतिक एवं अन्य शासकीय जिम्मेवारी सँगसँगै नेपाली भाषा र साहित्यको विकासमा आफूले अझ बढी भूमिका निर्वाह गर्न सकेको स्वीकारोक्तिलाई दृष्टान्त गर्न सकिन्छ।’’
निर्माण प्रकाशनको योगदान एवं निरन्तरता :
अहिलेसम्म लगभग 300 पुस्तक, ग्रन्थ, पत्र-पत्रिहरू प्रकाशित गरिसकेको निर्माण प्रकाशनको साहित्यक योगदान र निरन्तरताको सन्दर्भमा कुरा गर्दा तीनवटा समूहमा राखेर हेर्न सहज र उचित देखिन्छ।
क- निर्माण सामयिक पत्रिका
ख- निर्माण प्रकाशनद्वारा प्रकाशित ग्रन्थहरू, कृतिहरू र पत्र-पत्रिकाहरू अनि
ग- निर्माण प्रकाशनद्वारा दिइने पुरस्कार।
क- निर्माण सामयिक पत्रिका :
1978 देखि वर्तमानसम्म निरन्तर प्रकाशनमा रहेको निर्माण पत्रिकाले सिक्किमेली मात्रै होइन भारतीय भेगबाटै नेपाली साहित्यलाई ठूलो योगदान पुर्‍याउँदै आइरहेको छ। निर्माण प्रकाशनले निरन्तर पुर्‍याउँदै आइरहेको साहित्यिक योगदान वास्तवमै सराहनीय अनि अतुलनीय पनि छ भन्नमा अत्युक्ति नहोला।
अहिलेसम्म निर्माण पत्रिकाको 51 अङ्क प्रकाशित छन्। यो सानो लेखमा ती सबैको उल्लेख गर्न सम्भव छैन। यद्यपि, निर्माण पत्रिकाका विभिन्न विशेषाङ्कहरूमाथि भने संक्षिप्तमा भएपनि चर्चा नगरी हुँदैन। त्यसैले केही विशेषाङ्कहरूमाथि यहाँ संक्षिप्तमा चर्चा गरिनेछ-
संस्कृति विशेषाङ्क-1999 :
निर्माण प्रकाशनद्वारा प्रकाशित पुस्तक, ग्रन्थ, कृति तथा पत्र-पत्रिकाहरूसितै साहित्यप्रति ‘निर्माण’ पत्रिका आफै एक उल्लेखनीय छ। अहिलेसम्म प्रकाशित निर्माण पत्रिकाको 51 अङ्कमध्ये सर्वाधिक चर्चामा रहेको, विक्री भएको र सङ्ग्रहनीय अङ्क ‘संस्कृति विशेषाङ्क’ नै हुनुपर्छ। किनभने ‘संस्कृति विशेषाङ्क’-ले सम्पूर्ण नेपाली जातिको सांस्कृतिक पक्षलाई हरेक कोणबाट समाएर त्यसलाई संकलितरूप दिने सफल प्रयाश गरेको छ। यसमा संस्कृतिबारे सैद्धान्तिक विवेचनाहरू पनि संकलित छन्। सांस्कृतिक निधिहरूलाई पनि समेटिएको यो ‘संस्कृति विशेषाङ्क’ सिक्किमका लागि मात्रै होइन, भारतका लागि मात्रै होइन तर जहाँजहाँ नेपाली जाति छरिएर बसेका छन् विश्‍वमा, ती सबैका लागि सङ्ग्रहनीय बनेको छ। यसको अर्को विशेषता भनेको यस अङ्कमा हाम्रो संस्कृतिलाई हेर्ने सिक्किमेली अथवा भारतीय दृष्टिमात्रै छैन। लगभग हजार पृष्ठमा रहेको यो ‘संस्कृति विशेषाङ्क’-मा हाम्रो संस्कृतिको केन्द्रविन्दु मान्नसकिने भारत-नेपाल दुवैतिरका विद्वानहरूलाई वैचारिकरूपले एकैमञ्चमा पाउनसकिन्छ। चारवटा खण्डमा विभाजित ‘संस्कृति विशेषाङ्क’-को खण्ड क-मा संस्कृतिको सैद्धान्तिक विवेचनहरू परेका छन् जसमा 25 वटा भिन्नाभिन्नै लेखहरू समाविष्ट छन्। खण्ड ख-मा जाति, भाषा र लिपिमाथि लेखिएका 35 वटा लेखहरू परेका छन्। खण्ड ग-मा कला, सङ्गीत र लोक परम्परामाथिका 10 वटा अनि खण्ड घ-मा विविध विषयका 13 वटा लेखहरू परेका छन्। डा. तुलसी भट्टराईको मन्तव्य ‘संस्कृति ः समाज र राष्ट्रको आत्मा हो’ सितै अन्य 83 वटा विभिन्न लेखहरूको सङ्कलन ‘संस्कृति विशेषाङ्क-1999’ हाम्रो संस्कृतिमाथि लेखिएको अहिलेसम्मकै उत्कृष्ट सङ्कलन बनेको धेरैको मान्यता छ।
गोपाल गाउँले स्मृति अङ्क-2001 :
सिक्किमेली नेपाली साहित्य र सिक्किमको इतिहासमा छुट्नुनहुने एउटा नाम हो साहित्यकार गोपाल गाउँले। निर्माण पत्रिकाले त्यस्ता हरेक कुराको संरक्षण-संवर्द्धन गर्ने काम गर्दै आइरहेको छ, जुनकुराले यहाँको भाषा, साहित्य, संस्कृति अनि इतिहासको संरक्षण गरेको हुन्छ। गोपाल गाउँले एकजना त्यस्तै नाम हो। साहित्यकार इन्द्रबहादुर राईअनुसार- “निर्माण र गोपाल गाउँले थिए पर्यायवाची बनेका।’’ यो एउटै वाक्यले पनि गोपाल गाउँलेलाई चिनाउन सक्छ। 2001-मा प्रकाशित ‘निर्माण’-को 35औं अङ्क ‘गोपाल गाउँले स्मृति अङ्क’-ले पनि यही काम गरेको छ, जसमा गोपाल गाउँले स्वयंको ‘सिक्किममा नेपाली साहित्य’ र पदम छेत्रीको ‘गोपाल गाउँलेको काव्यकारिता’ बाहेकका रचनाहरूलाई दुई खण्डमा राखिएका छन्- संस्मरण खण्ड र रचना खण्ड। पहिलो खण्डमा 17 जना अनि दोस्रो खण्डमा पाँचजना गरी गोपाल गाउँलेमाथि लेखिएका जम्मा 23 जनाका लेखहरू यस अङ्कमा समाविष्ट छन्। भारतभरिका 23 वरिष्ठ लेखक-साहित्यकारहरूका विचारहरूको सङ्कलन गोपाल गाउँले स्मृति अङ्कभन्दा गोपाल गाउँलेलाई नजीकबाट चिन्नसकिने अहिलेसम्मको अर्को विकल्प सायदै पाउनसकिएला।
रजत जयन्ती अङ्क-2002 :
निर्माण पत्रिका प्रकाशन हुनथालेको 39 वर्ष भइसकेको छ। यो 39 वर्षको अवधिमा निर्माण पत्रिकामार्फत के-कति कार्यहरू भए? यसको लेखाजोखा गर्ने काम तपाईं-हाम्रो हो। यो अवधिमा ‘निर्माण’-को 51 अङ्क प्रकाशित छन्। तीमध्ये यहाँ उल्लेख गर्नैपर्ने अर्को एउटा विशेषाङ्क हो 2002-मा प्रकाशित रजत जयन्ती अङ्क। ‘निर्माण’-को 37औं अङ्कको रूपमा प्रकाशिय रजत जयन्ती अङ्क लगभग चारसय पृष्ठमा प्रकाशित छ, जसमा 30 जनाका लेखहरू समाविष्ट छन्। तीनखण्डमा रहेको यस अङ्कको पहिलो खण्डमा मूलतः ‘निर्माण’-कै कुराहरूलाई समावेश गरिएका 10 वटा लेखहरू परेका छन् भने दोस्रो खण्डमा ‘निर्माण पुरस्कार’-द्वारा पुरस्कृति दुईवटा रचना छन्। तेस्रो खण्डमा विविध विषयक 18 जनाका लेखहरू छन्। रजत जयन्ती अङ्क-बाट 25 वर्षको अवधिमा निर्माणले गरेको कार्यगतिविधि तथा नेपाली साहित्य जगतलाई पुर्‍याएको योगदानबारे जान्न सक्छौं भने सिक्किम तथा भारतीय नेपाली साहित्यका विविध विधागत ऐतिहासिकपक्षहरू पनि पाउनसक्नेछौं। निर्माणका अङ्कहरूमध्ये सङ्कलन गर्नैपर्ने एउटा अङ्क बनेको छ रजत जयन्ती अङ्क।
रजत जयन्ती महोत्सव अङ्क-2003 :
अघि कुरा भइसक्यो, ‘निर्माण’ पत्रिका प्रकाशनको निम्ति 1977-मा एउटा ‘कमिटी’ गठन गरिसकिएको थियो। 1981-मा ‘प्रगतिशील निर्माण परिवार’ नामकरण गरिएको कुरा पनि बुझिसकिएको छ। ‘निर्माण’-को 37औं अङ्कलाई ‘निर्माण रजत जयन्ती अङ्क’ 2002-मा छापिएको कुरा पनि भर्खरै भइसक्यो। तर, प्रकाशनको ‘रजत जयन्ती समारोह’ कहिले मनाइयो, 2002-मै कि 2003-मा? ‘रजत जयन्ती महोत्सव अङ्क’-को सम्पादकीयअनुसार ‘17 अनि 18 अगस्त 2003-को दिन प्रकाशनको रजत जयन्ती समारोह पालन गरियो।’ यद्यपि, ‘रजत जयन्ती महोत्सव अङ्क’-मा सुरक्षित रजत जयन्ती महोत्सवमा सम्मानित व्यक्तित्वहरूको सम्बोधनबाट भने 2002-मै कार्यक्रम आयोजन गरिएको हो। जसोहोस्, निर्माणका अन्य अङ्कसरह ‘रजत जयन्ती महोत्सव अङ्क’ पनि उत्तिकै सङ्ग्रहनीय छ। सिक्किम तथा भारत-नेपाल दुवैतिरका वरिष्ठ-वरिष्ठ साहित्यकारहरूका वार्ता-मन्तव्यहरूलाई ट्रान्स्क्रिपशन गरी सङ्कलित गरिएका छन्। यसका साथै समारोहका विभिन्न रङ्गीन फोटोसहित 2000-मा पुरस्कृत तथा अभिनन्दित हुने विभिन्न क्षेत्रका व्यक्तित्वहरूको परिचयमा पाउन सकिन्छ। समस्ग्रमा यो अङ्क पनि उत्तिकै उत्कृष्ट बनेको छ, सङ्ग्रहनीय रहेको छ।
सिक्किम वाङ्मय विशेषाङ्क-2004 :
निर्माण प्रकाशनले ‘निर्माण’-का जति पनि विशेषाङ्कहरू निकालेको छ, ती सबै आफै-आफैमा उत्तिकै उत्कृष्ट, पठनीय र सङ्ग्रहनीय छन्। माथि उल्लेख गरिएका विशेषाङ्कहरूजस्तै सन् 2004-मा 40औं अङ्कको रूपमा प्रकाशित ‘सिक्किम वाङ्मय विशेषाङ्क’ पनि उत्तिकै उत्कृष्ट अङ्क बनेको छ। ‘निर्माण’-का प्रमुख सम्पादक पवन चामलिङ ‘किरण’ र उनका सम्पादन मण्डलीद्वारा निर्माणका जति अङ्क निकालिए ती सबै उस्तै छन्, एकैसरह उत्कृष्ट। यद्यपि, विशेषाङ्कहरूको त झनै महत्व रहिआएको छ। ‘सिक्किम वाङ्मय विशेषाङ्क’-मा सन्त ज्ञानदिल दासदेखि वर्तमान सिक्किमेली साहित्यसम्मका कुराहरू समाविष्ट छन्। यसका साथै सिक्किमेली भेगबाट आञ्चलिकरूपमा सञ्चालित साहित्यिक गतिविधिहरूलाई समेत यहाँ हेर्नसकिनु यस अङ्कको विशेषता मान्नसकिन्छ। गोपाल गाउँलेअनुसार सिक्किममा 1927 देखि मुद्रण शुरू भएको अनि 1947 देखि मात्रै साहित्य लेखनको अनुमान लगाइएको थियो। यद्यपि, त्यसअघि नै सन्त ज्ञानदिल दासले साहित्य लेखन शुरूवात गरेका थिए भन्ने तथ्यहरू पनि पाउन सकिन्छ भने त्यसअघि नै 1850-मा शिक्कामा ‘श्री श्री श्री सिक्किम सरकार’ भनेर पहिलोपल्ट नेपाली भाषामा लेखिएको पाइएको प्रसङ्ग अघि पनि उल्लेख गरिसकिएको छ। सन्त ज्ञानदिल दासकै कुरा गर्नुहो भने पनि 1877-83 माझ लेखिएको उनको ‘जमगीता’-बारे ‘सिक्किम वाङ्मय विशेषाङ्क’-मा बुझ्नसकिने छ। अर्थात, सिक्किममा सन्त ज्ञानदिल दासको कालदेखि सन् 2000-को शुरूका अवधिसम्मका नेपाली साहित्यका गतिविधिहरू 2004-मा प्रकाशित ‘सिक्किम वाङ्मय विशेषाङ्क’-बाट जान्न सकिनेछ।
नेपाली भाषा मान्यता विशेषाङ्क :
निर्माणको अर्को त्यत्तिकै महत्वपूर्ण विशेषाङ्कको हो ‘नेपाली भाषा मान्यता विशेषाङ्क’, जो सम्पूर्ण भारतीय नेपाली भाषाप्रेमीहरूसित सरोकार राख्दछ। नेपाली भाषा मान्यता आन्दोलनका कुराहरू यहाँ उल्लेख गरिरहन सकिन्न। तर, यति भन्नैपर्छ कि नेपाली भाषा मान्यताका आन्दोलनकारीहरूमध्येका एकजना योद्धा हुन् पवन चामलिङ ‘किरण’। उनलाई नेपाली भाषासित कतिसम्म लगाव छ, कतिसम्म माया छ, कतिसम्म चिन्ता छ भन्ने कुरा निर्माण पत्रिका र निर्माण प्रकाशनको स्थापनाकालदेखि नै छर्लङ्ग देखिएको विषय हो। आजपर्यन्त उनी भाषा र साहित्य सेवामा लागि परेका छन् अनि अग्रजहरूलाई लिएर अनुजहरूलाई पनि सँगै डोहोर्‍याउने कार्यमा उनी कहिल्यै पछि सरेका छैनन्। धेरैको प्रेरणाको स्रोत हुन् पवन चामलिङ ‘किरण’।
साहित्यसितै अघिदेखि नै राजनीतिमा गम्भीर चासो राख्दै आएका पवन चामलिङले आफ्नै पार्टी स्थापना गरे सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) 4 मार्च 1993-मा। यद्यपि, स्वयं राजनीतिमा संलग्न रहेर व्यस्त भएपनि साहित्य सेवाबाट उनी पछि हटेनन्। 12 दिसम्बर 1994-मा उनकै पार्टीले सरकार गठन गर्‍यो। त्यसअघि नै नोभेम्बर 1994-मा ‘निर्माण’-कोे सातौं अङ्क प्रकाशित भएको हो। एसडीएफ पार्टी र एसडीएफको सरकार गठन हुनअघि नै 1992-मा नेपाली भाषाले देशमा संवैधानिक मान्यता पाइसकेको थियो। तर, निर्माणको सातौं अङ्कको सम्पादकीयमा लेखिएको छ- “भाषा मान्यता खुशीको कुरा थियो, तर निर्माण परिवारलाई त खुशी अभिव्यक्त गर्न पनि दिइएन।’’ यसको थोरैअघि लेखिएको छ- “निर्माण परिवारलाई आक्रमणको तारो बनाइयो।’’
आफूले गरेका कार्यहरूको मूल्याङ्कन कर्ता स्वयंले गर्ने विषय होइन। तर, यहाँ अन्यहरू पनि मूल्याङ्कनको ठीक विपरीत बसिदिए। अर्कोठाउँ लेखिएको छ- “दुनियाँको चेतनाको प्रवाह आज पनि ढिलै आइपुग्ने सिक्किममा हामीले निर्माणको प्रकाशन शुरू गर्दाताका अचेतनाको अँध्यारो र तत्कालीन समाज व्यवस्थाको चेतनाका दीयाहरूलाई निभाउन खोज्दथ्यो।’’
निर्माणको सातौं अङ्कको सम्पादकीयमा पवन चामलिङले भनेका छन्- “सक्दो काम गर्दै जानुलाई हामी हाम्रो कर्तव्य ठान्दछौं।’’ अर्को ठाउँ उनले लेखेका छन्-“तर कसो भएर हो हामीले सम्पर्क गरेकामध्ये एकदमै कमले मात्र हाम्रो मनको मूराद पूरा गरिदिनु भयो।’’ यति भएर पनि निस्किएको थियो निर्माणको सातौं अङ्क, आकारले केही पातलो।
अघि माथि “सक्दो काम गर्दै जानुलाई हामी हाम्रो कर्तव्य ठान्दछौं।’’ भने झैं निरन्तर कर्तव्यपथमा बढिरह्यो निर्माण। कहिल्यै पछि हटेन भाषा र साहित्यको सेवाबाट। त्यसैको एउटा उदाहरण हो ‘नेपाली भाषा मान्यता विशेषाङ्क’, जो वास्तवमै सङ्ग्रहनीय बनेको विशेषाङ्क हो।
गुमानसिंह चामलिङ विशेषाङ्क :
सिक्किमेली नेपाली साहित्यमा गुमानसिंह चामलिङ अर्को छुटिनु नहुने नाम हो। सिक्किमेली नेपाली साहित्यमा मात्रै होइन, भारतीय नेपाली साहित्यमा नै उल्लेखनीय नाम हो गुमानसिंह चामलिङ। वरिष्ठ साहित्यकारहरूले उनलाई अझ चिनाउने काम गरेका छन् ‘निर्माण’-को यस अङ्कमार्फत। माथि उल्लेख गरिएका विशेषाङ्कहरू झैं ‘गुमानसिंह चामलिङ विशेषाङ्क’ पनि नेपाली भाषा-साहित्यप्रेमीहरूका निम्ति सङ्ग्रहनीय बनेको छ। निर्माण पत्रिकासितै प्रकाशनका उपलब्धीमूलक कार्यहरूमध्येको ‘गुमानसिंह चामलिङ विशेषाङ्क’ एउटा हो।
ख- निर्माणद्वारा प्रकाशित ग्रन्थ, कृति र पत्र-पत्रिकाहरू :
भारतीय नेपाली साहित्यको इतिहासमा कोही पनि साहित्यकारका समग्र रचनाहरूलाई एकमुष्ट प्रकाशनमा ल्याउने साहसिक कार्य निर्माण प्रकाशनले गर्दैआएको छ। निर्माण प्रकाशनले अहिलेसम्म अगमसिंह गिरी, पारिजातका, इन्द्रबहादुर राई, गोपाल गाउँलेबाहेक भीमनिधि तिवारी, ईश्‍वरवल्लभ आदिका रचनाहरूलाई पनि प्रकाशनमा ल्याएर नेपाली साहित्यमा उल्लेख्य योगदान पुर्‍याएको छ। यबाहेक वरिष्ठ-वरिष्ठ साहित्यकारहरूदेखि युवा कवि, कथाकार, लेखकहरूका कृतिहरू पनि निर्माण प्रकाशनले प्रकाशित गर्ने गरेको छ भने विभिन्न पत्र-पत्रिकाहरूलाई पनि प्रकाशित गर्दै आइरहेको छ। अहिले यहाँ पत्र-पत्रिकाहरूमाथि चर्चा गरिने छैन, तर ग्रन्थहरू र एक-दुईवटा कृतिहरूको उजागर गर्ने प्रयाश गरिने छ।
‘निर्माण प्रकाशन’-ले मूलतः नेपाली साहित्य त्यसपछि हिन्दी र अङ्ग्रेजी साहित्य गरी तीनसय अधिक कृति, ग्रन्थ तथा पत्र-पत्रिकाहरूसितै साहित्यइत्तर पुस्तकहरू पनि प्रकाशित गरिसकेको छ। तीनसयअधिक विशेष कृति, ग्रन्थ र पत्र-पत्रिकाहरूको सन्दर्भमा सबै उत्तिकै उत्कृष्ट छन् भन्न नमिल्ला, किनभने वरिष्ठ साहित्यकारहरूका रचना तथा कृतिहरू सबैजसो उत्कृष्ट भए पनि निर्माण प्रकाशनले युवाहरूलाई प्रेरणा-प्रोत्साहन दिने काम पनि गर्दै आइरहेको छ। उनीहरूका रचना-कृतिहरू पनि प्रकाशित गर्दै आइरहेको छ भने सम्पादनको क्षेत्रमा पनि अघि बढ्ने युवाहरूलाई पवन चामलिङ स्वयं संरक्षक बनेर उनीहरूका पत्र-पत्रिकाहरू पनि छापिदिने काम गरिरहेको पाइन्छ। अतः युवा कवि, कथाकार, लेखकहरूका रचना-कृतिहरू स्तरीय हुँदैनन् भन्ने होइन, तर कतिपयका रचना-कृतिहरू स्तरीय नहुनसक्छन्। यो सबैले स्वीकार्ने विषय हो। ठीक त्यस्तै युवाहरूद्वारा सम्पादित पत्र-पत्रिकाहरू पनि कतिपय स्तरीय नहोलान्। निर्माण प्रकाशनले तर त्यस्तो काम पनि धेरै गरिसकेको छ, जो भारतबाट मात्रै होइन नेपालबाटै त्यस्ता कार्यहरू विरलै भएको हुनसक्छ। किनभने नेपाली साहित्यको इतिहासमा निर्माण प्रकाशनले सिङ्गो व्यक्तिका, एकजना साहित्यकारका जीवनभरि लेखिएका सम्पूर्ण रचना-सिर्जनाहरूलाई एकत्रित गरेर ‘ग्रन्थ-ग्रन्थ’-मा छापिदिने जुन सहासिक सफलता प्राप्त गरेको छ त्यो अरु कुनै प्रकाशनबाट भएको थाहा लागेको छैन, जहाँसम्म नेपाली साहित्यको प्रसङ्ग छ। निर्माण प्रकाशनद्वारा प्रकाशित केही ग्रन्थहरू निम्नप्रकार रहेका छन्-
पारिजात संकलित रचनाहरू-1997 :
नेपाली साहित्यमा चासो राख्ने कसैले पनि विष्णुकुमारी वाइबालाई धेरैले नचिन्नसक्लान्। उनै विष्णुकुमारी वाइबालाई साहित्य जगतमा हामी चिन्दछौं पारिजात भनेर। पारिजातलाई नचिन्ने भने सायदै कोही होलान्। भारतीय नेपाली साहित्यकी एक नक्षत्र नै मान्नसकिने पारिजात भारत वा नेपाल अथवा नेपाली भाषीहरूसम्ममात्रै सीमित छैनन्। अक्सफर्ड युनिभर्सिटीमासम्म पढिइन्छन् उनी र उनका कृतिहरू। ‘शिरीशको फूल’ उपन्यासले मात्रै पनि आफ्नो परिचय बनाउन सकेकी पारिजातको जन्म 1937-मा भएको थियो। जम्मा 6 वटा ग्रन्थमा प्रकाशित पारिजातका रचनाहरूबारे यहाँ चर्चा गरिरहनु सम्भव नहोला, तर उनका सबै उपन्यासहरू, कथाहरू, कविताहरू र लेखहरू सबै उच्चकोटिका छन्, सबै पठनीय, सबै सङ्ग्रहनीय। मूलतः उपन्यासकारकै रूपमा चिनिएकी पारिजतको ‘शीरिशको फूल’-पछि महत्ताहीन, वैंशको मान्छे, तोरीबारी बाटा र सपनाहरू, पर्खाल भित्र र बाहिर, अनिदो पहाडसँगै, बोनी, वैंशालु वर्तमान अदि उनका लोकप्रिय सिर्जनाहरू हुन्। 1993-मा उनको देहान्त भयो। यसअवधिमा उनले जे-जति लेखेकी थिइन्, 1997-मा ती सबैलाई सङ्कलित गरी निर्माण प्रकाशनले प्रत्येक ग्रन्थमा पवन चामलिङ ‘किरण’-को भूमिकासहित 6 वटा ग्रन्थमा प्रकाशित गरेर साहित्यप्रेमी तथा पाठकहरूका निम्ति पस्किदिएको छ। निर्माण प्रकाशनको यो आँट वास्तवमै प्रशंसनीय छ।
अगमसिंह गिरी रचनावली-1998 :
पारिजातका सङ्कलित रचनाहरू 6 ग्रन्थमा प्रकाशित गरेको एकवर्षपछि नै 1998-मा अर्को उल्लेखनीय कार्य गरेको थियो निर्माण प्रकाशनले ‘अगमसिंह गिरीका रचनावली’। उनको याद, आँशु, युद्ध र योद्धा (खण्क काव्यहरू), जलेको प्रतिविम्बः रोएको प्रतिध्वनी (कविता सङ्ग्रह) आदि लोकप्रिय छन्। चार ग्रन्थमा प्रकाशित अगमसिंङ गिरीका रचनाहरूमध्ये पहिलो ग्रन्थमा खण्डकाव्यहरू, कविताहरू, बाल गीत र भजनहरूलाई दुई खण्डमा राखिएका छन् भने दोस्रो ग्रन्थमा कथा, लेख, नाटक, आत्मकथा, सम्पादकीय, भूमिका र वक्तव्यलाई सातवटा खण्डमा राखिएका छन्। तेस्रो खण्डमा परिवार तथा सखीसम्वन्ध, गिरी सम्बन्धी विचार एवं उद्गारहरू, राजनैतिक व्यक्तित्व र संस्मरणलाई चार खण्डमा विभाजित गरिएका छन्। अन्तिम तथा चौथो खण्डमा वरिष्ठ साहित्यकार एवं समालोचकहरूको दृष्टिमा गिरी परेको छ। अगमसिंह गिरीका सम्पूर्ण रचनाहरूलाई यसरी एकमुष्ठ प्रकाशित गरेर निर्माण प्रकाशनले अर्को ठूलो योगदान पुर्‍याएको छ नेपाली साहित्यलाई।
गोपाल गाउँलेका सम्पूर्ण रचनाहरू-2001 :
धेरैले शुरूमा कविता लेखनबाट साहित्यमा प्रवेश गरेका हुनसक्छन्, कविता धेरैले प्रेमप्रसङ्गमै लेखेर साहित्यमा पसेका हुनसक्छन्। तर, साहित्यकार गोपाल गाउँलेलाई सायद सामाजिक व्यवस्थाले नै जन्माएको हुनुपर्छ। निर्माण-मा उपसम्पादकको भार सम्हालेर निर्माणलाई धेरै योगदान पुर्‍याएका गोपाल गाउँलेका सम्पूर्ण रचनाहरूलाई पछि निर्माणले नै संरक्षण गर्ने काम गरेको छ। निर्माणले ‘गोपाल गाउँलेका सम्पूर्ण रचनाहरू’ भनेर 2001-मा ग्रन्थ नै प्रकाशित गर्‍यो। गोपाल गाउँलेमात्रै एकलो कवि वा साहित्यकार भन्न अवश्य मिल्दैन, तर एउटासम्म कृति छापियोस् भनेर रहर बोकेको 20 वर्षपछि मात्रै उनले पनि आफ्नो कविता सङ्ग्रह प्रकाशित गराएका थिए। 1983-मा प्रकाशित उनको पहिलो कविता सङ्ग्रह थियो ‘अझै एउटा छोरो जन्माउन बाँकी छ’। उनको यो पहिलो कविता सङ्ग्रहसँगै 2001-मा प्रकाशित ‘गोपाल गाउँलेका सम्पूर्ण रचनाहरू’-भित्र 1986-मा प्रकाशित ‘स्वाभिमानका कुरा’ (कविता सङ्ग्रह) लगायत फुटकर कविता, गीत र मुक्तकहरू, 6 वटा कथाहरू अनि निबन्ध र लेखहरू रहेका छन्। गोपाल गाउँलेका माथि उल्लेखित अघिबाटै प्रकाशित दुईवटा कविता सङ्ग्रहबाहेक अन्य विधाका रचनाहरूलाई पनि सङ्कलित गरेर निर्माण प्रकाशनले पाठकअघि 328 पृष्ठको ‘गोपाल गाउँलेका सम्पूर्ण रचनाहरू’ राखिदिएको छ।
“एकदिन मर्नै पर्दछ- सोच्ने फुर्सद नै कहाँ छ र?’’ भन्ने गोपाल गाउँलेलाई उनका रचनाहरूसितै चिनाउने काम गरेको छ, रचनाहरूसितै सदैव अमर राख्नसक्ने अति सराहनीय कार्य गरेको छ निर्माण प्रकाशनले।
इन्द्र सम्पूर्ण-2004 :
इन्द्रबहादुर राई भन्नेबित्तिकै हामी नेपाली साहित्यमा लीला लेखन र तेस्रो आयाम सम्झनसक्छौं अनि सम्झनसक्छौं बैराँगी काइला (तिलविक्रम नेम्बाङ) र ईश्‍वरवल्लभलाई। इन्द्रबहादुर राई भन्नेबित्तिकै हामी भारतीय नेपाली साहित्यलाई विश्‍वसामु उभ्याउने व्यक्तित्वका रूपमा चिन्नसक्छौं।
भारतीय नेपाली साहित्यमा इन्द्रबहादुर राई शिखर पुरुषका रूपमा परिचित छन्। विचार, विश्‍लेषण, अध्ययन र अनुभवले उनलाई शिखर पुर्‍याएको स्वीकार्य छ। ‘आज रमिता छ’ एउटै उपन्यास लेखेर चिनिए उनी उपन्यासकारका रूपमा, ‘रातभरि हुरी चल्यो’ एउटै कथाले कथाकारका रूपमा लोकप्रिता पाएका राईले जम्मा तीनवटा कथा सङ्ग्रह प्रकाशित गरे ‘विपना कतिपय’, ‘कथास्था’ र ‘कठपुतलीको मन’, तीनैवटा विशेषता बोकेर। समालोचना विधामा उनको ‘नेपाली उपन्यासका आधारहरू’-लाई 1977-मा नेपाली साहित्यमै पहिलो साहित्य अकादमी पुरस्कार प्राप्त भएको हो। यसबाहेक समीक्षा, विचार, लेखहरू 2004 अघिसम्म जे-जति लेखेका छन्, ती सबैलाई पाँचवटा ग्रन्थमा ‘इन्द्र सम्पूर्ण’-भित्र समावेश गर्दै प्रकाशित गरिएका छन्। जम्मा पाँचवटा ग्रन्थमा प्रकाशित इन्द्र सम्पूर्णका प्रत्येक ग्रन्थ लगभग 6 सयदेखि 7 सय पृष्ठसम्मका छन्। निर्माण प्रकाशनले उनका लेख-रचनाहरूलाई एकत्र गरी प्रकाशनमा ल्याएर नेपाली साहित्यमै अतुलनीय योगदान पुर्‍याएको छ भन्नमा दुईमत हुँदैनभन्ने विश्‍वास छ।
भीमनिधि तिवारीको काव्य समग्र-2006 :
निर्माण प्रकाशनको अर्को उल्लेखयोग्य प्रकाशित ग्रन्थ हो 2006-मा प्रकाशित भीमनिधि तिवारीको ‘काव्य समग्र’ (कवि भीमनिधि तिवारीका सङ्कलित काव्यृरचनाहरू)। नेपाली साहित्यले अघिबाटै चिनिसकिएका कवि भीमनिधि तिवारी नेपाली साहित्यका विभिन्न विधामा सशक्त कलम चलाउने व्यक्तित्व हुन्। यद्यपि, उनका काव्यरचनाहरूलाई ‘काव्य-समग्र’-मा एकत्र गरी सिङ्गोरूप दिने काम गरेको छ निर्माण प्रकाशनले।
साहित्यद्वारा समाजलाई सम्बोधन गर्ने भीमनिधि तिवारीको काव्य-समग्र जम्मा 697 पृष्ठमा रहेको छ। क्वालिटी स्टोर्स काजी रोग गान्तोकद्वारा मुद्रित भीमनिधि तिवारीको ‘काव्य-समग्र’ नेपाली साहित्यमा निर्माण प्रकाशनको अर्को एउटा बिर्सन नसकिने कार्य भएको छ।
कृति र पत्र-पत्रिकाहरू :
सीमान्तवर्ती- 2011
ईश्‍वरवल्लभ नेपाली साहित्य जगतको चिरपरिचित नाम हो। नेपाली साहित्यमा नेपालकै एक नक्षत्र मान्न सकिने ईश्‍वर बराल तेस्रो आयामका तीन महारथीहरूमध्ये एक थिए, जो दिवङ्गग भइसकेका छन्। नेपालबाट दैनिक समाचार-पत्र कान्तिपुर-मा उनले सीमान्तवर्ती साप्ताहिक स्तम्भमा सामयिक विषयलाई चर्चाकारूपमा लेख्ने गरेका थिए। कान्तिपुरको त्यही स्तम्भ सीमान्तवर्ती-मा प्रकाशित 298 वटा लेखहरूलाई एकत्रित गर्दै निर्माण प्रकाशनले ग्रन्थको रूप दिएको छ, जसलाई 1184 पृष्ठमा प्रकाशित गरेको छ पाठकहरूका निम्ति। सीमान्तवर्ती ग्रन्थको प्राक्कथनमा इन्द्रबहादुर राईले लेखेका छन्- “कान्तिपुर दैनिकको साप्ताहिक शनिश्‍चरवारीय स्तम्भ सीमान्तवर्ती-मा ईश्‍वरवल्लभद्वारा विवेचित चर्चाको भूमिका प्रबल रह्यो नेपालका ‘नागरिक समाज’ (सिविल सोसायटि)-को कार्यात्मकतामा।’’ ईश्‍वरवल्लभ नेपालका लागिमात्र होइन भारतीय नेपाली साहित्यका निम्ति पनि अमूल्य निधि थिए। कान्तिपुरको स्तम्भमा छापिएका उनका लेखहरूलाई ग्रन्थको रूपमा प्रकाशित गरेर निर्माण प्रकाशनले समग्र नेपाली साहित्यलाई ठूलो ऋण लगाएको छ।
नेपाली सङ्गीतको अभिलेख-2014 :
साहित्यसितै ‘नेपाली सङ्गीतको अभिलेख’ एउटा राम्रो ग्रन्थ नै राखिदिएर निर्माण प्रकाशनले नेपाली सङ्गीत जगतमा पनि ठूलो योगदान पुर्‍याएको छ। नेपाली साहित्य र सङ्गीत दुवै क्षेत्रमा ख्याति कमाएका व्यक्तित्व हुन् श्री बुलु मुकारुङ। भनिन्छ साहित्य, सङ्गीत तथा कलाको कुनै सीमा हुँदैन। त्यही कुरालाई अर्थ्याउँदै निर्माण प्रकाशनले 2014-मा सङ्गीतकार एवं लेखक बुलु मुकारुङको ‘नेपाली सङ्गीतको अभिलेख’ सङ्गीतप्रेमीहरूका निम्ति प्रकाशित गरिदिएको छ। ‘नेपाली सङ्गीतको अभिलेख’-बारेमा प्रकाशनको पक्षबाट लेख्दै निर्माण प्रकाशनका कार्यकारी सम्पादक श्री वीरू बाङ्देलले भनेका छन्- “नेपाली सङ्गीतको अभिलेख नामक यस पुस्तकको प्रकाशन स्वयंमा एउटा ऐतिहासित उपलब्धी हो।’’ वास्तवमै यो ग्रन्थ एउटा ऐतिहासिक उपलब्धी मान्नुपर्छ, किनभने सङ्गीतकार एवं लेखक बुलु मुकारुङले नेपाली सङ्गीत जगतमा अहिलेसम्म पनि हुन वा गर्न बाँकी नै रहेको कार्यलाई भगीरथप्रयासपछि सफल पारेका छन्। यस ग्रन्थका लेखक बुलु मुकारूङ स्वयंले भनेका छन्- “...नेपाली सङ्गीतको फेद वा मूलजरा कुन हो? र कहिलेदेखि आरम्भ भयो? यसको प्राचीनता कहाँ पुगेर टुगिन्छ? भन्ने अनुत्तरित प्रश्‍न हामीमाझ यथावत् छ। किन निर्माण नगर्ने नेपाली सुर-सङ्गीतको अभिलेख? आदि-इत्यादि अनेकन प्रश्‍नावली थिए नेपाली समाजमा। यिनै विपुल अभाव र उद्बोधनले प्रेरित गर्‍यो ‘नेपाली सङ्गीतको अभिलेख’ तयार पार्न मलाई।’’
जम्मा 848 पृष्ठको ‘नेपाली सङ्गीतको अभिलेख’-मा रहेका विज्ञजनका विचारहरू, भूमिका, प्रकाशकीय, प्राक्कथन र आभार व्यक्तका कुराहरूबाहेकका मूलग्रन्थलाई पाँच खण्डमा राखिएको छ। निर्माण प्रकाशनद्वारा प्रकाशित बुलु मुकारुङको यो ‘नेपाली सङ्गीतको अभिलेख’ साँच्चै अभुतपूर्व कार्य सम्पूर्ण नेपाली सङ्गीत जगतले स्वीकारेको छ।
अन्य कृतिहरू :
निर्माण प्रकाशनद्वारा प्रकाशित सबै कृतिहरूको नामसम्म यहाँ उल्लेख गर्न सम्भव रहेन। यद्यपि, अहिले यहाँ चर्चा नै गर्न नसकिए पनि एक-दुईवटा कृतिहरूको नामभने लिनसकिन्छ। जस्तै- गुमानसिंह चामलिङको एरिस्टोटल र उनको काव्य-शास्त्र (दोस्रो संशोधित संस्करण-2000), गंगा कप्तानको सम्बोधनको खोलो तिम्रो र मेरो (कविता संकलन-2004), राजनारायण प्रधानको शब्दकोष नयाँ अंग्रेजी-नेपाली शब्दकोष (2005), गीता शर्माद्वारा अनुदित हेलेन केलर मेरो जीवन कथा -(2010), के.एन. शर्माको नेपाली भाषाका अनुकरणात्मक क्रियोयोगीहरू (2012), ईश्‍वर बरालको भारतीय नेपाली साहित्य र साहित्यकार, पवन चामलिङ ‘किरण’-को म को हुँ?, मदनमणि दीक्षितको हाम्रा प्राचीन नारी, समीरण क्षेत्रीको निर्वाणको रात, एम.डी. पथिकको प्रश्‍न चिन्ह, सुवास दीपकद्वारा अनुवादित ओम गोस्वामीको डोगरी उपन्यास पल-विपल, भीम दाहालको समृद्ध व्यथाः कंगाल अभिव्यक्ति, नन्द हाङ्खिमको पूर्णाङ्की नाटक अभिषेक, सुवास दीपकद्वारा 35 नेपाली कथाहरूको हन्दी अनुवाद भारतीय नेपाली कहानियाँ, रामलाल अधिकारीको विदित-अविदित, प्रवीण राई ‘जुमेली’-को घाउका अवर्त्तहरू, शरद क्षेत्रीको केही पृष्ठहरू अध्ययनका (2006), सुदर्शन श्रेष्ठको सर्जक र संवाद (2006) र सिर्जना र परिसम्वाद (2007) वीरू बाङ्देलको सोझो-बाङ्गो हस्ताक्षर, रामबहादुर राईको बाँझो धरती, जीपी सिंहको प्राचीन भारतमा किराँत आदि धेरै उत्कृष्ट कृतिहरू नेपाली साहित्यको भण्डारमा पुर्‍याइसकेको छ निर्माण प्रकाशनले।
अव्यवसायीरूपमा नेपाली साहित्यको जगेर्ना गर्दै निर्माण प्रकाशनले काम गर्दैआइरहेको छ, जसमा देश-विदेशका साहित्यकारहरूका रचना/कृतिहरू प्रकाशित छन्। नेपाली साहित्यको क्षेत्रमा निर्माण प्रकाशनले जे-जति कार्यहरू गरेको छ यसमा निर्माण प्रकाशनका संस्थापक पवन चामलिङको योगदान अतुलनीय छ। नेपाली भाषाप्रति पवन चामलिङको लगाव, समर्पण कै परिणाम मान्न सकिन्छ निर्माण प्रकाशन। पवन चामलिङ अथवा निर्माण प्रकाशनले स्थापित साहित्यकारहरूलाई मात्र होइन तर नवोदित साहित्यकारहरूलाई पनि उत्तिकै प्रेरणा, प्रोत्साहन दिने काम गरिरहेको हामी पाउन सक्छौं। विद्यार्थी तथा युवा साहित्यकारहरूका रचनाहरूलाई पनि कृतिका रूपमा निरन्तर प्रकाशनमा ल्याउने काम निर्माण प्रकाशनले गर्दै आइरहेको छ आजपर्यन्त।
1978-मा ‘निर्माण’ पत्रिकाको प्रकाशनबाट नेपाली भाषा-साहित्य जगेर्नामा देखा परेका पवन चामलिङले निर्माण प्रकाशनको निरन्तरतासितै रजत जयन्तीमा आइपुगेर पुनः एकपल्ट नेपाली भाषा-साहित्य-संस्कृतिभित्र पर्ने सबै उप-जातीय भाषा-संस्कृतिको संरक्षण हुन जरुरी रहेको स्पष्ट पारेको पारेका छन्। उप-जातीय भाषा-संस्कृतिहरूको संरक्षण हुनसकेन भने नेपाली जाति नै कमजोर बन्छ भन्ने उनको विचार छ। ‘निर्माण’-को 37औं अङ्कको रूपमा प्रकाशित रजत जयन्ती अङ्कको सम्पादकीयमा पवन चामलिङले भनेका छन्, “...आवश्यक छ, सबै भाषा, साहित्य एवं संस्कृतिको संरक्षण, संवर्द्धन र विकास गराउने प्रयत्नको।’’
ग- निर्माण प्रकाशनद्वारा दिइने पुरस्कारहरू :
निर्माण प्रकाशनले पत्रिका, कृति र ग्रन्थहरूको प्रकाशन गरेर मात्रै लेखक-कवि तथा साहित्यकारहरूलाई प्रोत्साहन दिने काम गरेको छैन अपितु, सर्जक र सिर्जना दुवैलाई पुरस्कृत गर्दै सम्मानपूर्वक जिम्मेवारीबोध गराउने काम पनि गर्दै आइरहेको छ। निर्माण प्रकाशनद्वारा तीन वटा पुरस्कार दिइन्छ।
1- आशारानी चामलिङ निर्माण पुरस्कार :
निर्माण प्रकाशनद्वारा 1999 देखि नेपाली साहित्यको कुनै पनि विधाका साहित्यकारहरूलाई उनीहरूले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान जनाउने उद्देश्यमा आशारानी चामलिङ निर्माण पुरस्कारको स्थापना गरियो। शुरूमा उत्कृष्ट रचनाको निम्ति यो पुरस्कारले लेखक/कविहरूलाई पुरस्कृत गर्ने गरिन्थ्यो। पछि, समग्र साहित्यिक योगादनको लागि प्रदान गर्न थालियो। पहिलो आशारानी चामलिङ निर्माण पुरस्कारद्वारा कथाकार श्री समीरण क्षेत्री प्रियदर्शीलाई पुरस्कृत गरिएको थियो। त्यसपछि, श्री इन्द्रबहादुर राई-2000, श्री नबहादुर दाहाल, श्री भीम दाहाल-2003, श्री टी.बी. राई-2006, श्री प्रकाश भट्टराई-2008, आदिलाई यो पुरस्कारले अलङ्कृत गरिसकिएको छ।
2- आशबहादुर निर्माण पुरस्कार :
निर्माण प्रकाशनद्वारा 2003 देखि थप दुईवटा पुरस्कार शुरू गरियो। पहिलो हो आशबहादुर निर्माण पुरस्कार। यो पुरस्कार निर्माण प्रकाशनद्वारा प्रकाशित उत्कृष्ट पुस्तक-का लागि प्रदान गरिँदै आइरहेको छ। प्रथम आशबहादुर निर्माण पुरस्कारद्वारा श्री आर. पी. लामालाई पुरस्कृत गरिएको थियो। यसरी नै श्री केदार गुरुङ-2006, श्री गोपीनाराय प्रधान-2008-लाई पुरस्कृत गरिएको छ।
3- गोपाल गाउँले निर्माण पुरस्कार :
2003 देखि शुरू गरिएको दोस्रो पुरस्कार हो गोपाल गाउँले निर्माण पुरस्कार। यो पुरस्कार निर्माण पत्रिकामा प्रकाशित उत्कृष्ट रचनाको निम्ति प्रदान गरिँदै आइरहेको छ। प्रथम गोपाल गाउँले निर्माण पुरस्कारद्वारा श्री पेम्पा तामाङलाई सम्मान जनाइएको थियो। यसरी नै श्री पेम्पा तामाङ-2003, श्री नोर्जाङयाङ्देन-2006, श्री प्रवीण राई ‘जुमेली’-2008-ले सम्मानित भइसकेका छन्।
माथि उल्लेख गरिएका पुरस्कृति व्यक्तित्वहरूबाहेक पनि अन्य धेरै साहित्यसर्जकहरू पुरस्कृत/सम्मानित/अभिनन्दित भइसकेका छन्। यसबाहेक पनि सन् 2000 देखि साहित्य, सङ्गीत, कला, पत्रिकारिता, चित्रकारिता र समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका भारत तथा नेपालका विशिष्ठ व्यक्तित्ववर्गलाई सम्मान-अभिनन्दन जनाउने काम गरेको छ।
यसरी नै नेपाली साहित्यबाहेक पनि निर्माण प्रकाशनद्वारा धेरै काम भएको पाइन्छ। यसलाई पनि तीनै समूहमा विभाजन गरेर हेर्न सकिन्छ। जस्तै-
क- हिन्दी तथा अङ्ग्रेजी साहित्यिक कृति-ग्रन्थहरूको प्रकाशन
ख- साहित्यइत्तर ग्रन्थहरू प्रकाशन अनि
ग- गीति एल्बमहरू।
क- हिन्दी तथा अङ्ग्रेजी साहित्यिक कृति-ग्रन्थहरू :
निर्माण-प्रकाशनले नेपाली साहित्यबाहेक हिन्दी तथा अङ्ग्रेजी साहित्यमाथि पनि काम गरिसकेको छ भने साहित्यइत्तरका पनि धेरै ग्रन्थहरू प्रकाशित गरसकेको छ। यद्यपि, यहाँ निर्माण पत्रिका र निर्माण प्रकाशनकै सन्दर्भमा कुरा गरिरहेका हुनाले यस विषयमा भने धेरै चर्च गरिएन।
ख- साहित्यइत्तर ग्रन्थहरू :
नेपाली, हिन्दी तथा अङ्ग्रेजी साहित्यबाहेक पनि निर्माण प्रकाशनले साहित्यइत्तर पुस्तक, कृतिहरू धेरै प्रकाशित गरेको छ। यद्यपि, निर्माण प्रकाशन र नेपाली साहित्यविषय यहाँ चर्चा गरिरहेको हुँदा यस विषयमा भने उसो चर्चा गरिएको छैन।
ग- गीति एल्बमहरू :
साहित्य र साहित्यइत्तरबाहेक निर्माण प्रकाशनले योगदान दिएको अर्को क्षेत्र हो संगीत। विशेष नेपाली संगीत जगतलाई निर्माण प्रकाशले गीति एल्बमहरू पनि दिइसकेको छ। नेपाली संगीत जगतमा निर्माण प्रकाशले उल्लेखयोग्य योगदान पुर्‍याएको उल्लेखमात्रै गर्दै यस विषय पनि यहाँ धेरै चर्चा गरिँदैन।
निर्माणका आगामी योजनाहरू :
निर्माण प्रकाशले हालैमा दुईवटा योजनामाथि काम शुरू गरिसकेको छ, जसमा समाल छन्-
1-अन्तर्राष्ट्रिय नेपाली कविता विशेषाङ्क :
निर्माण प्रकाशनको साहित्यिक योगदानका कुराहरू संक्षिप्तमा माथि उल्लेख गरिसकियो। यसबाहेक निर्माण प्रकाशनले चाँढै नै ‘अन्तर्राष्ट्रिय नेपाली कविता विशेषाङ्क’ प्रकाशन गर्ने भएको छ। अहिले तयारी चलिरहेको ‘अन्तर्राष्ट्रिय नेपाली कविता विशेषाङ्क’ तीन ग्रन्थ (भोल्युम)-मा प्रकाशित हुनेछ। पहिलो- भारतीय मूलका नेपाली कविता, जसमा भारतभरिका नेपाली कविताहरू समावेश हुनेछन्। दोस्रो- नेपालका नेपाली कविता, जसमा नेपाल राष्ट्रका कविहरूका नेपाली कविताहरू समावेश गरिनेछन्। तेस्रो- डायस्पोरिक नेपाली कविता, जसमा भारत र नेपालबाहिर बसेर नेपाली कविता रचना गरिरहेका छन् उनीहरूका कविताहरू समावेश गरिनेछन्। यहाँ डायस्पोरिक कविता भनिएका भए पनि सम्भवतः डायस्पोरिक लेखन सिद्धान्तलाईभन्दा भौगोलिक सीमालाई आधार लिइन सकिने बुझिएको छ। यद्यपि, अहिलेलाई भने ‘अन्तर्राष्ट्रिय नेपाली कविता विशेषाङ्का’-को तेस्रो खण्डलाई ‘डायस्पोरिक नेपाली कविता’ नै भनिएको छ।
2- इन्द्रबहादुर राईका पछिल्ला रचनाहरू :
अघि नै कुरा गरिसकियो, साहित्यकार इन्द्रबहादुर राईका सम्पूर्ण रचना-कृतिहरूलाई 2004-मा ‘इन्द्र सम्पूर्ण’ भनेर पाँचवटा ग्रन्थमा प्रकाशित गरिसकिएको छ। यद्यपि, 2004 पछि लेखिएका इन्द्रबहादुर राईका रचनाहरूलाई पुनः एकत्रित गरेर पाठकसामु ल्याउनु आवश्यक छ भन्ने निर्माण प्रकाशनको सोच हो। त्यसैले साहित्यकार ‘इन्द्रबहादुर राईका पछिल्ला रचनाहरू’-लाई पनि निर्माण प्रकाशनले चाँढै नै प्रकाशित गर्ने योजना बनाइरहेको छ।
केही व्यक्तित्वहरूको वर्तमान विचार :
हामीले कुराकानी गरिसक्यौं निर्माण पत्रिका, निर्माण प्रकाशनको स्थापना, यसका संस्थापक पवन चामलिङ ‘किरण’, पत्रिका र प्रकाशनको संघर्ष, यात्रा-निरन्तरता र वर्तमानसम्मका उपलब्धीहरूको। अब, निर्माण पत्रिका, प्रकाशन र यी दुवैका संस्थापक पवन चामलिङलाई वर्तमानमा आएर साहित्यिक व्यक्तित्ववर्गको दृष्टिमा के-कस्तो देखिन सकिन्छ त! यही कुरालाई ध्यानमा राखेर यहाँ प्रस्तुत छ के व्यक्तित्ववर्गसितका केही विचारहरू-
“सम्पूर्ण भारतीय परिप्रेक्षमा हेर्दा पनि निर्माणको योगदान अति नै सराहनीय छ। जसरी दार्जीलिङले साहित्यको विगत कालमा दियालोको जुन योगदान थियो, त्यस्तै योगदान निर्माण पत्रिकाले दिँदै आइरहेको छ। हुन त सिक्किमबाट अन्य विभिन्न पत्र-पत्रिकाहरू पनि निस्कँदै आइरहेका छन्। तीमध्ये निर्माणको योगदान आफैमा छुट्टै र बेग्लै छ। निर्माणले अनेकौं लेखक-लेखिकाहरूलाई प्रोत्साहन दिँदै आइरहेको कुरो सबै साहित्यकार एवं साहित्य अनुरागीहरूलाई थाहा भएको कुरो हो। मुलतः निर्माण पत्रिकाको प्रकाशनको पृष्ठभूमिलाई हेर्दा यसको प्रकाशनको दायित्व सरकारले बेहोरेको हुनाले यसको स्थायित्वमा कुनै शंका उठ्ने सम्भावना छैन। यसो हुँदा यो निर्माण पत्रिका सदैव एक भरपर्दो पत्रिका भएर रहने छ। यस पत्रिकाले विभिन्न विशेषाङ्क प्रकाशनको काम पनि गर्ने गरेको छ। यसर्थ यस पत्रिकाको दीर्घकालीन सेवाको प्रशंसा गर्दै यसको दीर्घायुको कामना राख्दछु।’’ -श्री गुप्त प्रधान, दार्जीलिङ-08.02.2017
“सिक्किमेली नेपाली साहित्यमा विगत 10/15 वर्षअघिदेखि यता धेरै नै उपलब्धी भनौं समृद्धि भएको छ। सरकारले धेरै योगदान दिएको छ। त्यसअघि सिक्किमेली साहित्य राज्यबाहिर त्यति सुनिदैनथियो, जस्तो दार्जीलिङको थियो। लगभग 15 वर्षयति सिक्किमले साहित्यामा धेरै नै उन्नति गरेको छ। यसमा सरकारको ठूलो हात छ। अर्को कुरा, साहित्यमा यदि स्वार्थ भइदियो भने त्यो संकुचित बनिदिन्छ। साहित्यमा स्वतन्त्रता हुनुपर्छ। पहिलाको तुलनामा अहिले आएर विचारको स्वतन्त्रता छ, अलिक फुक्का भएर लेखिँदैछजस्तो लाग्छ।’’ -श्री जयदिप सुब्बा, नाम्ची, द. सिक्किम-06.01.2017.
‘‘नेपाली साहित्यको सम्वर्द्धन र विकासमा निर्माण प्रकाशनको योगदान स्तुत्य छ। धेरै लामो समयदेखि यस प्रकाशनले विभन्न पुस्तकहरूको प्रकाशन गरेर नेपाली भाषीहरूमा एउटा महत कार्य गरेको छ। यस प्रकारको कार्यमा निर्माण प्रकाशन सधैं अधि बढिरहोस, शुभकामना।’’ -पी.एल. शर्मा, टिम्बुरबुङ, प. सिक्किम (14.02.2017)
“विशेष निर्माण प्रकाशनद्वारा लगाताररूपमा पुस्तक-कृतिहरू प्रकाशित हुँदै आइरहेको छ। इन्द्रबहादुर राई, पारिजत, अगमसिंह गिरी, ईश्‍वरवराल, गुमानसिंङ चामलिङ, गोपाल गाउँले आदि धेरै अग्रज साहित्यकारहरूका कृतिहरू छापिदिने काम गरेको छ। यो सबैभन्दा ठूलो काम गरेको छ भन्ने लागेको छ।’’-टी.एन. तिवारी, याङयाङ, गेजिङ, प. सिक्किम (14.02.2017)
“सिक्किमको निर्माण प्रकाशनबारे केही भन्नुपर्दा यसरी भन्न सकिने रहेछ- निर्माण प्रकाशनको योगदान अति महत्वपूर्ण छ, लाग्छ। निर्माण प्रकाशनले मात्र सिक्किमलाई प्रतिनिधित्व गरिरहेको छैन, हुनसक्छ नेपालसमेतलाई धेरै सहयोग पुर्‍याइरहेको थाहा लाग्छ, गर्न सकिरहेको छ। निर्माण प्रकाशनबाट प्रकाशित नेपाली साहित्य जगतका पुस्तकहरू गुणस्तरमा प्रकाशित हुने गरेको थाहा लाग्छ। निर्माण प्रकाशनले सिद्धहस्त लेखकहरूलाई पनि साथमा लिएर प्रोत्साहनको ठूलो काम गरिरहेको छ। अतः निर्माण प्रकाशन नेपाली साहित्य जगतको निर्माण नै मान्न सकिन्छ भन्दा दुईमत नहोला।’’-वीरभद्र कार्कीढोली, सिकताम सोमबारे, प. सिक्किम (14.02.2017)
“सिक्किममा भाषा-साहित्यको क्षेत्रमा धेरै काम हुँदै आएको छ। प्रकृतिको प्रेरणादायी परिवेशमा हुर्किएका धेरै कलाका उपासकहरू यहाँ छन्। उनीहरूको सृजन क्षमता उर्वर भए पनि प्रकाशनको भार उठाउन उनीहरू कदाचित् पछिपर्छन्।
यसै खाँचोलाई अनुभव गर्दै स्वयं कवि भएर प्रकाशनको समस्या बुझेका व्यक्ति श्री पवन चामलिङ ‘किरण’ द्वारा स्थापित निर्माण प्रकाशनले यस्तो खाँचो टार्दै धेरैजनाको सृजनालाई जनसमूहमा पुर्‍याउने ठूलो काम गरेको छ।
यसबाहेक प्रसिद्ध सर्जकहरूका समग्र सृजनालाई एकत्र गरी सर्वसुलभ पार्ने काम झन् महत्वपूर्ण कार्य गरेको छ। कुनै भरपर्दो प्रकाशन नभएको समय यस क्षेत्रमा निर्माण प्रकाशनले गरेको कार्य साँच्चै स्तुत्य छ। यस प्रकाशनलाई कुनै प्रकारको रोग नलागोस। यसरी नै भाषा-साहित्य, कला, संस्कृतिको सम्बर्द्धन एवं विकासमा लागेको यो संस्था कहिल्यै नथाकोस् भन्ने कामना साँचेको छु।’’ -प्रा. रुद्र पौड्याल, गान्तोक, सिक्किम। (18.02.2017)
“नेपाली भाषा-साहित्यप्रति निर्माण प्रकाशनको योगदान अति विशिष्ठ छ, अतुलनीय छ। निर्माण प्रकाशनले सिक्किमका विभिन्न साहित्यकारहरूका कृतिहरू, पत्र-पत्रिकाहरू प्रकाशन गरिदिएको छ। अर्कोकुरा, निर्माण प्रकाशनले राम्रा-राम्रा साहित्यकारहरूलाई सम्मान तथा अभिनन्दन जनाउने राम्रो काम गर्दै आइरहेको छ। 2006-मा मलाई पनि ‘निर्माणः शुभकामनासहित सम्झना’ भनेर स्मृति चिन्ह दिएको छ। यसरी निर्माण प्रकाशनसित जोडिनुपाउनु मेरो लागि सौभाग्यको कुरा हो।
निर्माण प्रकाशनले पारिजात, इन्द्रबहादुर राई, अगमसिं गिरी, ईश्‍वरवल्लभ, भीमनिधि तिवारी आदिका रचनाहरू एकत्र गरी ग्रन्थहरू छापिदिएर पाठक वा सोधकर्ताहरूका निम्ति ठूलो टेवा पुर्‍याएको छ। यो अति नै सराहनीय काम भएको छ। भारतीय साहित्यमै अरु कसैले पनि यतिको ठूलो कार्य गरेको छजस्तो लाग्दैन। नेपाली साहित्यप्रति पुर्‍याएको योगदानका लागि निर्माण प्रकाशनलाई प्रशंसाको जति नै ढाप मारेपनि कम्ति हुन्छ।’’
-कालुसिंह रनपहेंली, सिलगढी, पश्‍चिम बङ्गाल, (18.02.2017)
“जब म रङ्गेलीमा थिएँ, त्यतिबेला सिक्किमबाट 3/4 वटा मात्रै पत्रिका निस्कन्थ्यो। त्यसबेला 1977-मा हामीले रङ्गेलीबाट ‘लालुपाते’ निकाल्थ्यौं। त्यही कालखण्डमा याङ्गाङबाट कवि पवन चामलिङ ‘किरण’-ज्यूले निर्माण प्रकाशन शुरू गर्नुभएको हो। निर्माण प्रकाशनले 1970-को दशकदेखि आजपर्यन्त ठूला-ठूला व्यक्तित्वहरूका ग्रन्थहरू, ठूलाठूला विशेषाङ्कहरू प्रकाशित गरिसकेको छ। जस्तै पारिजात हेरौं, इन्द्र सम्पूर्ण भयो, अगमसिंह गिरी सम्बन्धी हेरौं। ठूला-ठूला प्रतिष्ठानहरूले गर्न नसकेका कामहरू निर्माण प्रकाशनले गरेको छ। र, मलाई के लाग्छ भने नेपाली वाङ्मयमा निर्माण प्रकाशनको ठूलो योगदान छ।
नियमित प्रकाशनबाहेक पनि कवि, कथाकार, नाटककार भनौं समग्रमा लेखक-साहित्यकारहरूका कृतिहरू प्रकाशित गरेर ठूलो योगदान पुर्‍याएको छ। भन्नुनै हो भने निर्माण प्रकाशन सिक्किमेली साहित्यको जगतमा एउटा स्तम्भको रूपमा छ। तर, अहिलेसम्म निर्माण प्रकाशनको भनेजस्तो मूल्याङ्कन हुनसकेको छैन। सरकारको पैसा हो निकाल्छ भन्ने हुन्छ, तर पैसा-रुपियाँ भएर मात्रै साहित्यसेवा गर्न सकिँदैन, मन हुनुपर्‍यो नि। तर चामलिङज्यू आफै पनि कवि, लेखक भएका हुनाले नै निर्माण प्रकाशनलाई आजसम्म निरन्तरता दिइरहनु भएको छ। राज्यका मुख्यमन्त्री भएर पनि साहित्यसेवा गर्नु र संस्था चलाउनु एउटा अभूतपूर्व कार्य हो। यसको लागि हामी सबैले निर्माण प्रकाशनलाई ‘सपोर्ट’ गर्नुपर्छ, यसको मूल्याङ्कन गर्नुपर्छ, विवेचना गर्नुपर्छजस्तो लाग्छ।’’ -चुनिलाल घिमिरे, गान्तोक, सिक्किम (18.02.2017)
“सन् 1978-मा स्थापना भएको निर्माण प्रकाशनले नेपाली साहित्यमा जुन योगदान पुर्‍याएको छ, त्यो सराहनीय छ। यसका संस्थापक कवि पवन चामलिङ‘किरण’-ज्यूले राजनीतिमा आएपछि पनि निर्माण प्रकाशनलाई निरन्तरता दिनुभयो। निर्माण पत्रिका र प्रकाशनको माध्यमद्वारा चामलिङज्यूले धेरैलाई प्रेरणा-प्रोत्साहन दिइरहनु भएको छ। राजनीतिमा आएपछि उहाँ विधायक-मन्त्री भएर अनि एसडीएफको सरकार भएर पनि साहित्यकारहरूका पुस्तकहरू, ग्रन्थहरू प्रकाशन गर्ने काम गरिरहनुभएको छ। पवन चामलिङज्यूले धेरै सम्पादकहरूलाई पनि आफू संरक्षक रहेर पत्रिका प्रकाशनको निम्ति सहयोग पुर्‍याउनुभएको छ। समग्रमा, नेपाली भाषा-साहित्यप्रति निर्माण प्रकाशनको योगदान भारत-नेपालको भन्दा महत् छ।’’ -केदार गुरुङ, गेजिङ, पश्‍चिम सिक्किम (14.02.2017)
अन्तमा-
निर्माण पत्रिका, प्रकाशन र यसका संस्थापक कवि पवन चामलिङबारे लेख्नुपर्ने अझ धेरै कुरा यहाँ छुटेका छन्। सीमितसमयावधिमा पर्याप्त पुस्तक, ग्रन्थ, पत्र-पत्रिका तथा पठनसामग्री उपलब्ध हुननसक्नुमा आफूमा रहेका कमी-कमजोरीहरू होइनभन्नु पटक्कै मिल्दैन। सम्बन्धित व्यक्तित्वहरूसित पनि सायद भेट्ने भनेजस्तो अवसर प्राप्त नभएपछि यो छोटो लेखमा उपलब्ध सामग्रीहरू र थोरै व्यक्तित्ववर्गको विचारहरूलाई आधार लिएर आफूले सकेको लेख्ने जमर्को भएयो छ। भविष्यमा यस लेखलाई पूर्ण गर्नुपर्ने प्रशस्तै खाल्डोहरू रहेको कुरा स्वीकार्दछु।
एउटा हस्तलिखित पत्रिकादेखि याङ्गाङको साहित्यिक पृष्ठभूमि शुरू भएको थियो कवि पवन चामलिङ ‘किरण’-को सत्प्रयासमा। युवावस्थादेखि नै समाज र साहित्य दुवैको चिन्ता गर्ने पवन चामलिङ ‘किरण’-मा राजनीति र साहित्य दुवैमा त्यहीसमयदेखि चेत रहिआएको पाइन्छ। 1970-को दशकदेखि नै गाउँमा राजनैतिक पर्चाहरू ल्याउने, बाँड्ने र पढेर सुनाउने गरेका उनले हस्तलिखित पत्रिकाबाट याङ्याङमा साहित्यसेवा शुरू गरेका थिए भन्ने जान्नसकिन्छ। समाज, राज्य र देशको विकासमा साहित्यको आवश्यकता बुझेका उनी आफै पनि कविता साहित्य लेख्ने गरेका थिए। पछिबाट तर आफूले मात्रै लेखेर-बुझेर हुँदैन, अरुलाई पनि बुझ्नुपर्छ अनि बुझाउनुपर्छ भन्ने उनीभित्रको मान्छेले उनलाई घच्घच्याइरह्यो। त्यसैर उनले आफ्नै घरमा ‘मानव पुस्तकालय’-को स्थापना गरे। फेरि शुरू गरे उनले ‘निर्माण’ सामयिक पत्रिका छपाउन। साथीहरू भेट्दै गए, टोली बन्दै गयो अनि साहित्य सेवाको निम्ति बन्यो ‘निर्माण-परिवार’। पछि ‘प्रगतिशील निर्माण-परिवार’ बन्यो। अन्तमा भयो ‘निर्माण प्रकाशन’।
त्यो बेला ‘कोला-पानी’ भनिने ‘निर्माण’-को जन्मस्थल ‘याङ्घाङ’ अहिले राज्यलाई उज्यालो छर्ने प्रेरणाको स्रोत बनेको छ। 1978 देखि वर्तमानसम्म निर्माण पत्रिकाको 51 अङ्कसम्मा प्रकाशित भइसकेका छन् भने 300 अधिक प्रकाशित विभिन्न ग्रन्थ, कृति र पत्र-पत्रिकाहरू प्रकाशित गरिसकेको छ। सँधै साहित्य र समाज दुवैको संरक्षण, संवर्द्धन र विकाससितै समृद्ध समाजको निर्माणमा समर्पित पवन चामलिङयो साहित्यप्रतिको योगदान साँच्चै अतुलनीय छ। राजनीतिमा प्रवेश गरेदेखि मुख्यमन्त्रीजस्तो गरिमामय पदमा रहेर सम्पूर्ण राज्यकै समृद्धिको जिम्मेवारी उठाउँदै सँधै व्यस्त रहेको पनि पाँचौं पञ्चवर्षीय काल पूरा हुनलागिसकेको छ। यद्यपि, साहित्यप्रतिको झुकावबाट कहिल्यै किञ्चित पछि सरेको अनुभव नेपाली साहित्य गजतले गर्नपाएन। आज राज्य र देशमात्रै होइन जहाँ-जहाँ नेपाली साहित्य पढिन्छन् त्यहाँ-त्यहाँसम्म निर्माण पत्रिका र प्रकाशनको योगदान रहेको छ भन्दा दुईमत नहोला। सम्पूर्ण नेपाली साहित्य गजतका लागि निर्माण प्रकाशन प्रेरणाको स्रोत बनेको छ, पवन चामलिङ ‘किरण’ सम्पूर्ण नेपाली साहित्य जगतकै निम्ति आदर्श बनेका छन्। 000
सन्दर्भ ग्रन्थहरू-
- निर्माण (नोभेम्बर 1994) अङ्क-7, वर्ष-15, निर्माण प्रकाशन, दक्षिण सिक्किम, प्र. सम्पादक पवन चामलिङ ‘किरण’।
- पारिजातका संकलित रचनाहरू, (निर्माण प्रकाशन, दक्षिण सिक्किम)-1997.
- अगमसिंह गिरी रचनावली, (निर्माण प्रकाशन, दक्षिण सिक्किम, सम्पादक विजयकुमार राई -1998.
- निर्माण (संस्कृति विशेषाङ्क-1999), अङ्क-34, वर्ष-19, निर्माण प्रकाशन, दक्षिण सिक्किम, सम्पादक पवन चामलिङ ‘किरण’।
- निर्माण (गोपाल गाउँले स्मृति अङ्क, जून 2001), निर्माण प्रकाशन, नाम्ची, दक्षिण सिक्किम, प्रधान सम्पादक- पवन चामलिङ ‘किरण’।
- निर्माण (सिक्किम वाङ्मय विशेषाङ्क-2004), अङ्क-40, वर्ष-26, निर्माण प्रकाशन, दक्षिण सिक्किम, प्रधान सम्पादक पवन चामलिङ ‘किरण’।
- नेपाली साहित्यको विकासमा सिक्किमका संघसंस्थाहरूको योगदान-प्रथम संस्करण-1999, जुलाई, उदय क्षेत्री।
- इन्द्र सम्पूर्ण- निर्माण प्रकाशन, दक्षिण सिक्किम, सम्पादक विजयकुमार राई -2004.
- अभियान (कथा विशेषाङ्क 2012), अङ्क-3, वर्ष-5, प्रकाशक-अभियान साहित्य समिति, राङ्का, पूर्व सिक्किम।
- डा. पवन चामलिङ स्रष्टा र सिर्जना, सम्पादकः महेश प्रसाई, प्रकाशक- छाया प्रकाशन, काठमाडौं, प्रथम संस्करण, वि.सं. 2065. निर्माण प्रकाशन सूचि पत्र (सिन्स 1979)-
- सीमान्तवर्ती, ईश्‍वरवल्लब, निर्माण प्रकाशन, नाम्ची, द. सिक्किम- 2011.
- गोपाल गाउँलेका सम्पूर्ण रचनाहरू- पहिलो संस्करण, दिसम्बर 2009, निर्माण प्रकाशन, नाम्ची, दक्षिण सिक्किम।
- केही नक्षत्र हाम्रा, (संक्षिप्त परिचय), निर्माण प्रकाशन-2000
- सिर्जनाका फूलहरू, निर्माण प्रकाशन-2002
- इन्द्रेणीका रङ्गहरू, (अलङ्करण तथा अभिनन्दन समारोह), निर्माण प्रकाशन-2003
- फूलहरू, ताराहरू, सर्जकहरू (पाँचौं निर्माण पुरस्कार अलंकरण समारोह), निर्माण प्रकाशन-2006
- इन्द्रेणीका रङ्गहरूः सिर्जनाका फूलहरू, निर्माण प्रकाशन-2008।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 बैशाख, 2074

लेखकका अन्य रचनाहरु