खप्तडको क्षितिजमा गरिबीको छाँया

- भेषराज रिजाल

बझाङे तमेल तरेर सेती पारिपुग्दा तिर्कुलो रोप्दै थिए केही महिलाहरू । नदीमा बेपत्ता आफन्तको खोजीमा बाटैभर अलपत्र थिए केही मान्छेहरू । ढल्कँदो घामको रापले ओइलाएको तिर्कुलोको बोट र नदीको भुमरीमा बेपत्तिएको मान्छेको आकृति तौलिन्छु मनमनै । तिर्कुलो शीतको सरसताले जागे पनि बेपत्तिएको मान्छे, ... । एकछिन स्तब्ध भयो शक्ति-सञ्चार । अनेक बोझले थिचियो पद-पाइलो । चोटै-चोटले थिल्थिलियो मन-मथिङ्गल ।
खोला किनारको बेँसीमा सरिसकेको धानका गाँज देख्दा बल्ल खप्तड उक्लन कस्सिएका पयरमा दरिलो उर्जा थपियो । त्यो उर्जा एकछिन मनमा तरङ्गियो र विद्युत गतिमा दगुर्यो शरीरभर । उर्जाशील स्पर्शले मोहित हुँदै जीवनको लयमा बग्न थालेँ म पनि । सोचेँ, कठीन मोडमा सुस्तिएको मान्छे जीवन दौडमा सामेल भएपछि छिटै वेगवान हुँदोरहेछ ।
जडारीगाडको किनारै किनार कुदिरहेछौँ हामी । भक्तराज जोशी, पूर्ण जेठारा, जयन्ती जोशी र डम्बरध्वज अवस्थी छन् सहयात्री ।
ट्रयाक खोलिएको बाटो मर्मत र विस्तार थाल्दा थन्किएका छन् जिपहरू । डोजरले भत्काइरहेको भित्तो हेरेर ‘बन्दैछ’ भन्ने विश्वासले रमाउँछु म । बनाएरभन्दा भत्काएर फाइदा लिन उद्दत हुनेहरूलाई सम्झदा भने नरमाइलो भरिन्छ मनमा ।
डाँडाखेतको माछा र चाउचाउले दिएको शक्तिका भरमा एउटा पाखो उक्लेर छान्ना गढी पुग्यौँ हामी ।
'आज उकालो सक्यो, अब पाल्लै पाल्लो' भक्तले थकित हामीतिर फर्केर सान्त्वना सुसेले । तेर्पाएँ लाग्नु पहिले डाँडामुन्तिरको विद्यालयछेउका एकजनालाई सोधे उनले, 'पानी आछी ।' अनि पहाडी चिसो पानीले भोक र थकान मेटयौँ हामीले ।
भक्तले चिनाए सेरोफेरो- लामातोला, कालुखेती, माझीगाउँ, खापरमाण्डु, गढीगाउँ, लोखडा, ... । बादलको छहारीमुन्तिर हरिया थुम्क्याइला पहाडहरू उन्मुक्त हाँसिरहेथे । पहाडी बस्तीमा शितल छायाँ झार्दै विनायक लेक र खप्तड लेक प्रीत गाँसिरहेथे । देखिए- लेकमुन्तिर गमक्क बसेका गाउँबस्ती र त्यसकै फेदीमा भर्खरै रोपाइँ हुँदै गरेको दियालीगाड बेँसीका तरेली खेतहरू । बर्षात्‌को सञ्जिवनी पाएर वैँशालु बनिरहेथ्यो प्रकृति । खप्तड पुग्ने बाटो भने लेकमुन्तिर उकालोको कुहिरोभित्र हराइरहेथ्यो । सोचेथेँ, त्यही कुहिरे पर्दाभित्र भेटिएला, धर्तीको सप्पै सुन्दरता । अनि उचालिएका भृकुटी र चञ्चल नयन सुम्सुम्याउँदै भनेथेँ मैले- अद्वितीय रहेछ खप्तडी काख, झन् कस्तो होला खप्तड । पुग्नुभन्दा पहिल्यै खप्तड चाहर्न अधीर मनलाई सम्झाएथेँ- पुगिहालिन्छ नि भोलि ।
अर्कोदिन गढीगाउँबाट लागियो उकालो । नौमूल धाराबाट निसृतः छडिभेलगाडको पानीको कलकलाहट र लेकाली चिसो स्पर्शले लेक उक्लन लागेका हामीलाई मोहित बनायो ।
लेकमा अझै फलिरहेथ्यो काफल लटरम्म । चुत्रोजस्तो फल अञ्जलीभर टिप्छे बिन्दू । निकै रसिलो रहेछ त्रिखुडी । जाडेपानीको उकालोमा बिन्दूले भाँची सिस्नो काँकडी । उसले फेरि बटुली कन्थफलु । प्रकृति जति स्वच्छ छ उति नै निष्पक्ष र दानी पनि ।
न्याउलीको विरही धुन गुञ्जिरहेछ पाखैभर । म अचम्मित हुन्छु, यति रसिलो लेकमा पनि न्याउली किन विरह उरालेकी होली । मन बुझाउँछु- न्याउली खुसी हुँदा पोख्दी हो विरह ।
‘अगाडि हट्नेलाई भेट्दाइन जुकाले ।’ लेकाली जुकाको लस्काइ हामीतिरै बढ्न थाल्दा भक्तले सुनाए । शायद उनले छिटो हिँड्ने इशारा गर्दै थिए ।
‘जुकाले चाल र गन्न थाहा पाएकै हुँनैन, अगाडि हट्ने मान्छे पर पुग्छ !’ बिन्दू थप्छे । उसको तर्कमा गजब दम छ । वाचाल बाबुकी चलाख छोरी ऊ ।
‘जुकाले पुरानो रगत लिएर नयाँ रगत दिन्छ रे नि त ।’ पछौटे हुनुपर्दाको पीडा लुकाउन खोज्छु म ।
‘कति दिनदेखिका भोकाएका जुकालाई रक्तदान गर्दा धर्म पनि मिल्ला नि ।’ डम्बरले आफ्नो पछयौटे समूहको समर्थन गर्न खोज्छन् ।
टिपेर फाल्न नसकिनेगरी जुका लागेपछि भक्तले सबैलाई बाँड्छन् नुन-ढिका । नुन दल्दा जुका हुन्छ फत्रक्क । अनि खुसी बाँड्छन्- ‘खप्तडमा जुका लाग्दाइनन् ।’
गोठका लागि अन्नपात लिन र घीउ, दूध घर छोड्न कुरुम्तै भारी बोकर खालि खुट्टै झरेका बूढाबा भेटिए ।
‘धिनालो भए खीर खाउँला भन्या !’ भक्तले बूढाबाको प्रतिक्रिया चाहे ।
‘हुन्छ, म नफर्किए छोरो छ ।’, बूढाबा ओरालो झरे ।
‘दुई गोठौ दूध भए पुगी जाला ।’, भक्त हामीतिर फर्किए ।
केही गोठहरू देखिए । एउटा गोठका बूढाबाले खुवाए मिठो मोही । गोठलाई ‘छाना’ र मोहीलाई ‘छाइँ’ भन्छन् भक्त । अनि लेकमा चाहिन्छ भन्दै रहरलाग्दा खुर्सानी टिपेर झोलामा हाल्छन् ।
अँध्यारियो क्षितिज अनि पर्न थाल्यो सिमसिमे पानी । कुहिरो छरिनाले आफू वरपर मात्र देखिएको छ बाटो । देखिँदैन अगाडि पुगेको वा पछाडि छोडिएको साथी । ‘हरिया पहाडको फरिया’ म कुहिरोलाई रोमाञ्चक कालिगढी मानेर मन बहलाउने प्रयत्न गर्छु हिँड्न नसकेका हामीलाई पखैँदै हिँड्छन् भक्त । स-साना बालकलाई झैँ सान्त्वना दिन्छन्, ‘नापै माथि पुगे पाल्लो आइगो ।’
‘हामी पुग्दा खुल्ला नि खप्तड ।’ मैले उनलाई झिज्याइरहन्छु ।
पानी पर्न पनि छोडेन । उकालो पनि कहिल्यै सकिएन । घरिघरि तेर्पाएँ भए पनि फेरि ठडिइहाल्छ उकालो । पसिनाले निथु्रक्क शरीर फत्रक्क गलिरहेछ । पाइलो पटक्कै चल्दैन । बेहालै भयो । सबैका मुखमण्डलमा थियो एउटै त्रास- 'बास भेट्न नसकेर विचल्ली पो परिन्छ कि ?’
अप्ठेराहरू मुटुको खोपिल्टामा पुरेर उक्लिरहँदा देखियो जिन्दगीको भञ्ज्याङ वल्तिरको पाखो । यो त यति कठिन भइरहेछ । भञ्ज्याङ पल्तिरको दाह्रे उकालो झन् कसरी उक्लने होला ? भुत्ते हुँदै गइरहेको बलबुता र उल्टो भइरहने परिस्थितिका पहाडहरू देखेर झन् गल्नथाल्छु म ।
हँ, के भयो यस्तो ? म आर्श्चर्यचकित भएँ ।
भोक, प्यास, थकान सहन नसकेर गलिरहेथेँ । मनको कुरा बुझेझैँ त्यतिबेलै भक्तले उपाय निकाले, ‘एकठाउँमा पट्याइँ मारौँ र फाँको खाउँ ।’
शरीर लतार्दै धेरैबेर हिँडेपछि सबै ओतिन मिल्ने एउटा ओडार भेटियो । पसिना र पानीले भिजेको चिसो लुगा फुकालियो । रोटी, अचार र पानी खाइयो । लेकमा पिरो खानुपर्छ भन्दै एकेक ढिँडी खुर्सानी टोकियो । बल्ल शक्ति भरियो शरीरमा ।
ठाडो उकालो सकिए पनि साह्रै मुस्किल भइरहेछ हिँड्न । गह्रौँ झोला बोकेका बाबुछोरी भने अघिअघि छन् । ‘पाल्लै छ छाँटा हट’ भन्छन् भक्त तर चल्दैनन् पटक्क मेरा पाइला ।
बँदेलले जोतेको पाखो देखियो । बिस्तारै हिँड्ने बहाना बनाउँदै मैले ठट्टा गरेँ, खनजोत भइसकेछ, कसले गर्ला यहाँ खेती ।’
‘खप्तडको प्रकृति आफै खेतीपाती पनि हद्दो । भदौमा खप्तड आया भए देख्नेछिया ।’ खप्तडका कुनाकाप्चा जानेका सहयात्रीको जवाफले मुग्ध भएँ । हावा, पानी, चराका गीत र दृश्यले मोहित भएँ । लोकताका बारी देखेर चकित भएँ । देवदार र खर्सुका फेदमा उभिन पाउँदा अचम्मित भएँ । ती एमानका रुखहरू नै खप्तड भूमिका रक्षक भएझैँ लाग्यो मलाई ।
सम्बत् २०७३ सालको जेठको उत्तर्रार्ध भए पनि मध्यबर्खा उर्लिरहेथ्यो त्यस क्षेत्रमा ।
पपल्क्या पाटनमा घाँडो बजाउँदै चरिरहेथे गाईवस्तु । गाईवस्तुले कुल्चेको हिले बाटोमा चिप्लिँदै अगाडि बढ्दै थियौँ हामी । फूलिरहेथे राता र पहेँला फूलहरू । सानो खोलो कुलकुलाउँदै बगिरहेथ्यो । लागिरहेथ्यो, संसारको स्वर्गभूमि ओर्लियो आफ्नै छेउमा । पानीको सरस संगीत सुन्दै मन धोइपखाली सफा र हलुका बनाएँ मैले । विस्तारित आँखामा अटाउन खोजेँ त्यो सप्पै सुन्दरता । मनमा ओर्लियो संसारको सप्पै उन्माद, सन्तुष्टि र खुसी ।
हिउँदमा हिउँले सफा गरेको जमिनमा वर्षात्‌मा अनेक घाँस र फूल उमार्छ र बर्षात्‌मा उम्रेका फूलपात हिउँमुन्तिर जतनसाथ साँच्दछ खप्तडी प्रकृति । बर्खामा कुहिरोको च्यादर ओढिरहने खप्तड हिउँदमा आनन्दले सुत्दो हो हिउँको सिरक डसनामा । सदाबहार हरित खप्तड भने मेरै वरपर थियो । त्यहाँ थिए सहश्र फूल र घाँसपातका असंख्य पत्रैपत्र । म चकित छु, खप्तडी जमिनको ओस, उर्वरा र पवित्रता देखेर ।
भक्तले चिनाए- खप्तडी हजारी फूल । पहेँलो फूललाई भनिदिए- खप्तडी सारङ्गी फूल । उनले हरेक चिजमा खप्तडी जोड्छन् । उनको बोलीमा त्यति नै जादू छ जति मनमोहक खप्तडी प्रकृतिमा ।
गोठहरू देखिए । हाम्रो आजको बास यहीँ हुने भयो । हिलो, चिस्यान र थकानबाट चाहिएको थियो उन्मुक्ति ।
भक्तका गोत्रीय दाजु भेटिए । झुत्रे लुगाले नै बताइरहेथ्यो उनको गरिबी र बाध्यता । आइरहेथ्यो अनौठो गन्ध । मैले त्यसलाई गरिबीको वास्तविक सूचक ठानेँ ।
गोठमा एउटा बोक्राको ओच्छयान छ । बीचमा मुढो जोतिएको छ । अर्कोपटि्ट दाउरा राख्ने सानो ठाउँ । बार पल्लोपटि्ट भैँसीको चुहुने छाप्रो । यस्तै छ छेउको अर्को गोठ पनि । एउटा गोठालालाई ठिक्क हुने ठाउँमा कसरी बस्ने होला यतिका मान्छे । हामी त एकदिन आगो तापेर पनि बस्न सकिएला । तर, यी बिचरा गोठालाहरू पुस्तौँदेखि यसरी नै बसिरहेछन् । निर्वाहलाई समाधान ठानेर बिताइरहेछन् जिन्दगी ।
गरिबी न्यूनीकरणमा लागिरहेछु भन्ने विज्ञ भनाउँदाहरूलाई सम्झेँ । ठोस आधारसमेत नबनाई मिथ्याङ्कका भरमा जे मन लाग्छ त्यही गर्न खोज्नेप्रति खुसी थिएन मन । तिनको अहम्‌को विज्ञता, तिनको स्वार्थको विज्ञता, तिनको सुविधाको विज्ञता सम्झेर हाँसो उठ्न थाल्यो । हाँसोलाई क्षणभरमा निल्यो एउटा मर्मान्त वेदनाले । धनीहरू गरिबको सूचीमा गणना हुने र वास्तविक गरिबहरूको पहिचानै नभएको देखेर पोलिरहृयो अन्तरहृदय । झन् पोलिरहृयो- मर्माहत हुनुपर्नेलाई उत्पातै खुसी देखेर ।
भिज्दै आएकोले चिया खान मन थियो । चिनी भक्तले ल्याएका थिए तर चियापत्ति रहेनछ । चौहत्तर वर्षका बूढाबाले उपाय निकाले । पकाए गन्यालो र मेथि हालेको चिया । कसैले थालमा, कसैले कचौरामा त कसैले अम्खोरामा समेत खाइयो । जेमा खाए पनि बेजोड थियो त्यसको स्वाद ।
पीरो चाउचाउ र खीर खाइयो अनि आधारातसम्म आगो तापेर बसियो । निद्राले लल्याक लुलुक पारेपछि सुतियो लगाएको लुगैसित ।
बिहानीसँग हाँस्यो खप्तडको उज्यालो घाम र खुलेको मौसम जसरी खित्खिताएर हाँसिरहेथ्यो गोठको गरिबी । तिनीहरुको पर्वाह नगरी गौरीशंकर पस्कन्छन् रोटी, अचार र कलु-कडी । लिएर खप्तडी स्वाद हाम्रो यात्रा फेरि रमायो निरन्तरतासँग ।
बुड्न्या पाटन पार गरेपछि उक्लियो जरैजराको उकालो । व्यवधान भएर पसारिए ढलेका रुखहरू । तिनलाई फड्कँदै हिँड्छौँ हामी । आफैसँग सोध्छु, यी लेकाली मान्छेको मेहनतले कहिले पहिल्याउँला समाधान ?
भर्खरै एसएलसी पास गरेको गौरीशंकरको किशोर सपना सुनेर हषिर्त भए पनि चसक्क बिझिरहेछ उसको गरिबी । धेरै उधिन्न चाहन्न म उसको गरिबी । मलाई लाग्छ, अँध्यारोभित्रको उज्यालो गोरेटो अवश्य आफै खोज्नेछ यो नौजवानले ।
बाटोमा देखिन्छन् गोठालाहरू । तिनीको आवाज, रुप, गन्ध, हेराइ पहिचान्न सक्ने भएको छु म पनि । भक्तले हामीलाई चिनाउन खोज्छन् पद र कार्यरत स्थानका नामले । उनीहरु टाढिन खोजेझैँ लाग्छ । लाग्छ, तिनीहरुको आँखामा सहरियाहरुप्रति युगौँदेखिको शंका छ । म भक्कानिएको मन लिएर विदा भएथेँ तिनीहरुबाट ।
वनभित्र बजिरहेछ घाँडो । गाईवस्तु कतै चरिरहेछन्, कतै उग्राइरहेछन् । विस्तारै पाइला चाल्दा पनि मेरो फोक्सो भने धप्किरहेको छ ।
बिन्दूले अंगालाभर फूल टिप्छे । गौरीशंकर खिच्छ । दुबै मतिर र्फकन्छन्, खप्तडी सयपत्री ।
पाटनमा पोखिएको घमाइलो उज्यालो र हावामा हल्लिएको फूलको रमाइलो कुदिरहेछ मनभरि । त्यसको उत्तेजनाले म झन् तानिइरहेछु खप्तडी प्रकृतितिरै ।
घाम छहलियो तब मसिना चरीहरूको सुरिलो चिरबिर सुनियो । पानी नपर्नाले सबैकुरा मज्जाले हेर्दै रमाउँदै हिँडिरहेथ्यौँ । आकास धुम्मिएर पानी पर्न बेरै हुँदैन भन्दै थिए सहयात्रीहरू । मनमा डर र खुसी एकैपटक उदाइरहेथ्यो- हामी डुलञ्जरी नपरे हुन्थ्यो खप्तडमा पानी ।
फुर्के पाटनमा अलि बढी नै फुलिरहेथ्यो फूल । कतै एकैठाउँमा डालो घोप्टयाएझैँ त कतै रेखी हालेझैँ थिए रङ्गीन फूलहरू । ज्यान फालेर त्यतै दौडेँ म । हिलोमै गाडिए खुट्टा । खुट्टा झिक्दा हिलोमै छोडिए जुत्ता । जुत्ता हातमा लिएर लौराको सहाराले निस्कदैथिएँ भक्त कराए, कतै ठूलै दलदल हुनसक्छ, होशियारीपूर्वक निस्कनुस् । उनले लौराले घोचेर थलथले जमिन देखाए ।
घोडा दाउने पाटनका हरिया थुम्का देखिए । थुम्काका बीचमा हरिया चौर देखिए । चरिरहेका घोडाहरू देखिए । टाउको नउठार्ई चरिरहेका घोडाहरू देखेर मनमनै भनेँ, मैले त भोक केटाकेटीमै छोडेर आएँछु । त्यहाँ जति खाएर पनि नसकिने घाँसपात छ । जति घुमे पनि नसकिने प्रकृति छ । शायद यहाँका हरेक जनावर भन्दा हुन्- सबैले खाउँ सबैले गरौँ सुख सयल वा मोज । सोचेँ, सम्पन्नतामा आफै हट्दोरहेछ दरिद्र व्यवहार ।
खप्तडी पाटनका सब चिज अद्वितीय- पाटनका फूल, पाटनका घाँसपात, पाटनका गाईवस्तु, पाटनको जमिन । सबै चिज ओजिलो- पाटनको सुन्दरता, पाटनको शितलता, पाटनको विशालता । पाटनलाई स्पर्श गर्ने वनेली क्षितिज उस्तै । पाटनको निर्मल आकास त्यस्तै । पाटनमा सुन्दरता पोख्छ घाम । पाटनमा सुन्दरता खन्याउँछ हावा । पाटनमा सुन्दरता उमार्छ प्रकृति ।
घोडा दाउने पाटनमा मन पनि सजिलै दाउन सकिँदो रहेछ । मनको दौड, मनको वहाव, मनको उडान, मनको कामना सप्पै रोकिएको छ अहिले । मखमली पाटनका घोडामाथि सवार भएर मनले गरिरहेछ सुखानुभूति । अनि आनन्दले मखमली चौरमा सुतेँ म पनि । कुलकुलाइरहेको सङ्लो पानी पिएँ । र, धेरैबेरसम्म पिइरहेँ मोहक दृश्यहरू ।
‘जेठी बहुरानी र र्याइँर्याइँ घट्ट छयाँइ छयाँइ पानी छाड्यौँ’ भन्न थाले भक्त । कुनै ठाउँ हेर्न छुट्छ कि भन्ने चिन्ता हामीलाई भन्दा उनलाई बढी छ ।
‘केही छोडिएको छैन, सिङ्गो खप्तड समाहित भइरहेछ मानसभूमिमा’, मैले भनेँ ।
खप्तड बाबाको कुटीमा पुगियो । कुटीको सुरक्षार्थ खटिएका सैनिकले खोलिदिए कोठाहरू । आफ्नाले छोडेको टुहुरोसरि देखिए कोठाका हरेकचिज । शयन कक्ष, गीतार, लुगाफाटो, खराउलगायत खप्तड बाबाका व्यक्तिगत प्रयोगका सामग्रीहरू, बाबाले लेखेका पुस्तकहरू, औषधि आदि देखेर झन् विरक्तियो मन । ‘खप्तडबाबा डाक्टरी जिन्दगीबाट विरक्तिएर यई एकान्त ठाउँमा आयाका हुन् हरे’ भन्ने घोडा दाउने पाटनमा भेटिएको गोठालोको कथनले समेत छोइरहेथ्यो त्यतिबेला । तपस्वी पुरुषको सान्निध्यमा रहेर दीक्षा लिएझैँ बुझाएँ चित्त- ‘मानव व्यवहार विचारकै ध्रुवमा घुम्ने हुँदा असल विचार लिनुपर्छ । र, सर्त्कर्मले जिउनुपर्छ जिन्दगी ।’
अगाडि बारीमा झाङ्गिँदै थियो खप्तडी साग । स्याउका राता चिचिलामा भरिँदै थियो पोस । कुटीको अगाडि कोरिएको थियो हेली रेखा । कुटी पछाडिबाट सैपाल देखिन्छ भन्दै थिए सहयात्री ।
'विचार विज्ञान'को उत्पत्ति थलोमा उभिँदा जन्मेथ्यो एउटा विचार- प्राकृतिक सौर्न्दर्य चेत र मानवीय एवं धार्मिक विश्वासको आडमा झन् सुन्दर बनेको रहेछ खप्तड ।
करिब आधा घण्टामा छेडीपाटन पुगियो । अलि ठूलो खोलो बहिरहेथ्यो हुन्हुनाउँदै । चौर, थुम्का र जंगल एउटै मालामा उनेर उन्मुक्त हाँसो हाँसिरहेथ्यो प्रकृति । सुवास बोकेको बतासले बोकेर ल्यायो जागृतिको लहर । सोचेँ, सुन्दर प्रकृतिको अर्को अनुपम रुप देखियो ।
त्रिवेणीतिर लागियो खोलो पछयाउँदै ।
चाल्नेबाडो पाटनमा भेटिए केही गोठालाहरू । एमानको ढुङ्गोलाई भीम ढुङ्गो भनिदिए उनीहरूले । बझाङी राजाले बनाएको दरबार देखाइदिए अलिमास्तिर । आँखामा लुकेका दृश्यहरू छताछुल्ल पोखिँदै थिए पाटनहरूमा ।
केदार ढुङ्गा, दसहरा मेला लाग्ने चौर र त्रिवेणी आइपुगे । त्रिवेणीका मन्दिर र खोलाहरूसँग रमायौँ केहीबेर । जुत्ता खोलेर खोलामा पस्यौँ । मन्दिरमा पुजा गर्यौँ । चर्को घाम लागिरहे पनि चिसो छ हावा र चिसै छ पानी । पाखोमा स्थापित एउटा शिवलिङ्गबाट खसिरहेथ्यो जलधारा । त्यसभित्र एउटा खोला बगिरहेछ भन्दै हामीले थाहा नपाएको एउटा पक्ष र्छलङ्ग पारिदिए भक्तले । उनले ज्ञानको दोभानलाई त्रिवेणीमा बदलिदिए ।
चौरमा पल्टिएका हामीलाई चाट्न आइपुगे गाईहरू । जुका लाग्दा दल्न राखेको गोजीको नुन चटाइदियौँ । झन् पछयाउन थाले । सोचेँ, खोजेको स्वाद जस्तो मिठो कुरा अरु के हुनसक्ला यो दुनियाँमा ?
आएकै बाटो छेडिपाटन फर्केर लाग्यौँ खप्तड तालतर्फ । ‘मान्छेलाई बाटो लगाउन्या अगाडिबाट’ भन्दै भक्त कुदे बेपत्तासँग । हामीले पछयाइरहृयौँ, पछयाइरहृयौँ ।
कति छिटो बिग्रियो मौसम । कुहिरोको पर्दा ढेपिँदा चिसो खस्यो हामीमाथि । कुहिरोले दृश्यहरू लुकाउँछ पछयौरीमा र पुछपाछ पारेर एकछिनपछि निकाल्छ दुरुस्तै । यी हरिया पहाड कुहिरे पछयौरीको स्याहार पाएर यति सुन्दर भएका रहेछन्, म पुलकित हुन्छु ।
आहा खप्तड ताल ! छयाङ्ग खुलेको आकास तालमै खसिरहेथ्यो । हरिया बोटविरुवाको छायाँ त्यसमै तैरिरहेथ्यो । पत्रपत्र सुन्दरता उर्लिरहेथ्यो छालमा । तालले भनिरहेथ्यो- हेर, मेरो छातीको दर्पण र मनमा सङ्गाल उज्यालो । तब पानीभन्दा झन् सङ्लो भयो मेरो मन । सङ्लो मनमा दगुरे खुसीका हजार तरङ्गहरू ।
अर्कोदिन गोब्रे पाटन आइपुग्यो हामीछेउ । अनि आयो एउटा पोखरी । खप्तडको भूमिमा प्रशस्त पानी हुनाले जहाँसुकै बन्न सक्दारहेछन् ताल वा पोखरी ।
ठूल्ठूला रुख भएको पाखोबाट सहश्र लिङ्गतिर जाँदै थियौँ हामी ।
घाँडोको संगीतले गुञ्जिएको छ खप्तड । घाँडो बजाउँदै चरिरहेका गाईवस्तु देखिए । मैले उखान बनाएँ- पाटनमा घोडा, जंगलमा गाईवस्तु । घोडाले रित्तै बनाएको चउरमा चर्न नसकेर जंगल पसेका होलान् यी बिचरा गाईवस्तुहरू ।
बाटोभर कपास देखियो । एउटा विरुवा फुलिरहेथ्यो सेतै र छरिरहेथ्यो कपास ।
एउटा खर्कमा चरिरहेथे गाईवस्तु र छेउमै लडिरहेथ्यो हेलिप्याड । यस्ता हेलिप्याड त धेरै ठाउँमा देखिए । ती लाग्थे, गरिब गुरुवाका लागि अभेद्य लक्ष्मण रेखा । मानौँ त्यो रेखाभित्रको जमिन सहरियाहरूको आँगन हो ।
छोप्यो कुहिरोले र दुख्यो टाउको फेरि ।
सहश्र लिङ्ग अद्भूत प्राकृतिक ढुङ्गे थान रहेछ । मैले ठहर्याएँ, खप्तडको सबैभन्दा उँचोस्थान रहेछ सहश्रलिङ्ग ।
सहश्र लिङ्गमाथि चढेर स्मरण गरेँ मेरो आस्था, विश्वास र इमान । हरेक तीर्थस्थलमा पुग्दा ईश्वरभन्दा पहिले यस्तै भावना तेर्सिन्छन् मेरो मनमा – म सधैँ अन्योलमा पर्छु आस्तिक हूँ वा नास्तिक म ?
खप्तडका अरु रमणीय दृश्य हेर्दै डोटी निस्कने लोभले चौखुट्टेतिर नझरेर त्रिवेणीतिर लाग्यौँ हामी ।
ओर्लँदा बाटो बिराइएछ । खोलो खसिरहेछ झुण्डिएको अप्ठेरो भीरैभीर । खोलाको किनारमा तेर्सिएर बाटो छेकिरहेछ चिमालको झाडी । अनेक अक्करमा टेकेर, पहरे चेप समातेर, खोलाका चिप्ला ढुङ्गामा अडिएर ओर्लिरहृयौँ, ओर्लिरहृयौँ । खोलो त्रिवेणीमा मिसिन्छ भन्ने अनुमानमा ओर्लिरहृयौँ निरन्तर ।
खोला किनारमा दलदल पो भेटियो । भैँसीका खुरका निशान पहिल्याउँदै हिँडियो दलदलबाट जोगिन ।
भेटियो त्रिवेणी । बाटो बिरिनाले आधाघण्टा लाग्ने ठाउँ आइपुग्न दुईघण्टा लाग्यो ।
सिङ्ग्रे पाटनमा बिसाइरहेका अछामे गोठालाहरू भेटिए । तिनका मुहार, लुगा, डोको र सामलको हविगत पनि उस्तै थियो । दोब्रिएका पेट, खरानी उम्रेका ओठ, चाउरिएका गाला र धाँजा फाटेका पयरमा सुसज्जित थिए तिनीहरु । लक्षण केरकार गर्न नपर्ने गरी तिनलाई पनि लागेको भेटियो निको नहुने गरिबीको महारोग ।
नागबेली नदी र त्यसको किनारको बाटोतिरै गुडुल्किइरहृयौँ हामी । अनेक फूल फुलेका थुम्क्याइला चौरहरूले मोहित गरिरहे । डाँडैमा उक्लेर चरिरहेका घोडाहरूले तानिरहे । थकाइलोका सुन्दर फूलहरू भएको एउटा थुम्को खिचेँ अनेक कोणबाट मैले ।
बाटो उकालिएर जंगलभित्र पस्दा अत्यास बढयो एकछिन । त्यो अत्यास छिर्यो मुटुभित्र । चरा नर्चिबिराएको र हावा नसिर्सिराएको जंगल भयावह लाग्यो । आँखा उचालेर आकासतिर हेरेँ । आकाससँग आलिङ्गनरत थियो जंगल । जंगलका हरित केश मुसार्दै टुप्पादेखि फेदसम्मै माया बर्साइरहेथ्यो आकास । त्यो मायाले लछप्पै भिजेको देखियो धर्तीका पत्रपत्र । अनि आकासको अनन्त माया र जंगलको शितलतामा धेरैबेरसम्म रमाएँ म पनि ।
एमानका रुखहरू नियालिरहँदा भक्तले चिनाए- भूजियार अर्थात् भोजपत्रको रुख । उहिले भोजपत्रमा अनेक लिखत लेखिन्थ्यो रे भन्ने सुने पनि आजसम्म देखेको छैन भोजपत्रे कागज । मलाई त्यस रुखका पत्र उतारेर लेख्न मन थियो समय गीत तर कुदेको समय गति पक्रन कुदिहाल्नुपर्यो मलाई पनि ।
ओरालो झरेपछि आइपुग्यो एउटा खोँच । २०५१ सालको हिउँदमा खप्तड जाँदै गरेका सैनिकहरू हिउँले पुरिएर मरेको ठाउँ रहेछ त्यो । अहिले एउटा पाटी ठडिएको रहेछ तिनीहरूको सम्झनामा । अनायास मुटुमाझ बज्रियो अव्यक्त चोटको पीडा । कठोर प्रकृति सामु निरीह बन्नुपरेका बहादुरहरूलाई श्रद्धाञ्जली चढाएँ मैले ।
बुकीदह पाटन आइपुग्यो । ‘खप्तडका बाइस ठूला पाटनमध्ये हामीले हेर्न पाउने आखिरी पाटन यई हो’, जोशी बोले । दलदले बुकीदह पाटनको बीचोबीच कोरिएको थियो मुलायम बाटो । अनेक फूल फूलेर मनमोहक थियो पाटन । पाटनको ताजसरि गमक्क थियो हरियो जंगल । शिलत, शान्त र सुन्दररुप घोलिएको थियो पाटनभरि । धेरैबेरसम्म गरिरहेँ दृश्यपान ।
‘अब म नफर्क्यापछि गोठ पुग्न कठिन हुन्या हो’ भन्दै चारदिनदेखि पथप्रदर्शक भएर सँगै हिँडेका भक्त विदा हुन लागे । हिँड्ने बेलामा दिशा निर्देश गरे, ‘सरासर जाओ अर्को बाटो छैन ।’
बिरामी श्रीमती र भन्टयाङ भुन्टुङलाई घरमा छाडेर निर्वाहको जागिर खाइरहेका भक्तका धेरै आत्मकथा सुनेँ मैले यो चारदिनमा । सुनेँ, संर्घषमय जीवन भोगाइका अनेक सुस्केराहरू पनि । खप्तडका खर्कहरु धेरैपटक डुलिसकेका उनी हात भाँच्चिएर अपाङ्गमा दर्ता भएका रहेछन् । परिवार र सन्तानप्रतिको उनको समर्पणले भने हर्षित बनाइरहेथ्यो मलाई ।
भक्त छुटि्टनाले मनमा एउटा डर उम्य्रो- बाटो बिराइने हो वा कुनै खतरा आइलाग्ने हो कि ? मनमा एउटा आँधिबेहरी छिर्यो । मनलाई थामथुम पारेथेँ- जस्तोसुकै परिस्थितिमा पनि पहिले त मनै बलियो बनाउनुपर्छ ।
बाटो किनार ढपक्कै ढाकेको थियो नरम र गाढा हरियो उन्यूले । बार लगाएसरि ठडिएको थियो निगाली झाडी । गुराँसका अग्ला रुख देखिन्थे बाटो तलमाथि । बिनामेसो ठडिएका थिए ठूल्ठूला ढुङ्गाहरू । ती ढुङ्गाका चेपमा जंगली जनावर लुक्ने जस्ता दूलाहरू थिए । कुहिरो लागेर अँध्यारो भएको थियो दिउँसै । मन आत्तिएको थियो बिछट्टै ।
बीचपानीमा तीन-चारवटा पसल भए पनि सबै बन्द देखेर साह्रै निरास भइयो । विकल्प नसोची अगाडि बढ्दा अनायास सामना गर्नुपरेको विपरित परिस्थितिले बढी दुखित बनाउँदो रहेछ मान्छेलाई । धाराको पानी खायौँ, झोलाको बिस्कुट झिकेर चपार्याँ र बास बस्न तयार शरीर र मन दुबैलाई सम्झाएर फेरि अगाडि बढयौँ ।
सानो उकालोमै गल्यौँ र बस्यौँ थचक्कै ।
बाटोमै टाँस्सिएका निगाली झाडी देख्दा डर लागिरहेथ्यो- कतै भालु वा अन्य जंगली जन्तु त निस्कन्न फुत्त । त्यसमाथि कुहिरोले लगाएको थियो नजरबन्द ।
हृदयको ढोकामै चिहाइरहेको संकटलाई बाह्रहात पर हुत्याउन चाहन्थेँ । आँखा, कान, गोडालाई बनाउन चाहन्थेँ सचेत सिपाही । मनमनै बनाएथेँ- आइलाग्नेमाथि जाइलाग्ने रणनीति । तर, कर्कलाका डाँठ भएका थिए हातगोडा । सास बढेर खलाँती भएको थियो छाती । उडुँ कि बसुँ भएको थियो मन । पल्टनबाजी खाने सिसाका गुच्चा भएका थिए आँखा । निगालीका आँखीझ्यालबाट मृत्युदूतले चिहाइरहेझैँ लाग्यो । त्यो विवेक शून्यताको स्थितिमा असहज परिस्थित आएको भए म के गर्थेँ होला, मैलाई थाहा थिएन ।
बाटो किनारमै कलकल झरेको झरनाको पानी खायौँ र, मन माझ्यौँ त्यसको दुधिलो रङले । मन चम्किनाले निरन्तर साथ दिएको छ थाकेको शरीरले पनि । आहा, अनुकूल परिस्थितिमा हुँदोरहेछ असीम आनन्द । पहुँच र प्राप्ति सुगम हुँदा कति सुखद छ जीवन । अनुभूत भइरहेछ, घिस्रिघिस्री धेरैदिन लगाएर दुःखको सागर पार गरेझैँ मलाई ।
अलि तल झरेपछि देखियो घाम पोखिएको गाउँ । टल्केका टीनले मनका भित्ता पनि उज्यालिए । आँतमा भरियो खुसी र साहस । लाग्यो, खुसीको अनुभूतिले मात्र पनि रमाउँदोरहेछ जीवन ।
ढपक्क फुलेका गुराँसका पोथ्रा देखिए बाटो किनारमा । झोला बिसाएर दुईचार थुङ्गा गुराँस टिपेँ मैले । ती थुङ्गाको गाढा रङले फिका बनाइदियो थकानको उदासी रङलाई । र, निर्विघ्न खुसी सञ्चार हुन पायो मनभरि ।
भित्तामा थिए घामले पाकेका एमानका ढुङ्गाहरू । कर्किएर मर्किएर जसोतसो अडिएका जस्ता लाग्ने ती ढुङ्गा देखेर भने एउटा भयले निमोठयो नराम्ररी- ती ढुङ्गाले थात छोडे भने कहाँ पुगिएला हामी - सोचेँ, मान्छेले प्रकृतिको नियम मिचे प्रलय हुन्छ । आफूमाथि अतिक्रमण भए बौलाउँछ प्रकृति । यत्ति कुरा किन बुझ्दैनन्, र मनपरि गर्छन् मान्छेहरु ?
एउटा मृगले बाटो काटेर भाग्यो । पापी नजरले धेरै परसम्म पछयाएँ मैले त्यसलाई ।
झरिरहेछौँ ओरालै ओरालो । पल्लोपटि्ट सुसाइरहेछ खोलो । ओल्लो र पल्लो डाँडामा बसेर दुइटा चरीले उरालिरहेछन् विरही स्वर- उहु उहु । निर्जन जंगलमा हिँड्दा सुनिएको त्यही स्वरले समेत जगाएको छ आशा र भगाएको छ डर ।
निरन्तर आरोलो ओर्लँदा कटकटी दुखिरहेछन् घुँडा । भोक र थकाइले चुर भएको छ शरीर । पसिनाले भिजेको छ लुछुप्प । एउटा अत्यासले निलेको छ खर्लप्प । हातेझोलासमेत भएको छ गह्रुङ्गो । रुञ्चे अनुहार लगाएर भए पनि उत्कट खुसी फेला पार्न र्घर्सिरहेथ्यौँ हामी । चित्त बुझाएथेँ- कठिन आरोलोले दिइरहेछ शिक्षा- साहस र धैर्यताको ।
ओरालो ओर्लिसकेर पहाडको फेदीमा आइपुग्यौँ । फेदीमा भेटियो खोलो । खोलो तरेर लाग्यौँ तेर्पाएँ । केहीबेरमा आयो झिक्राना । झिक्रानाको गुल्मले नाम दर्ता गर्दै बास बस्न हतारिएका हामीलाई भन्यो- ‘अब नजिकै आउँछ होटल ।’
अलि तल्तिर पुगेर होटल सोध्दा एकजना बूढीआमैले भनिन्- ‘स्कूलथि निको होटल छ । बीस-पच्चीस मिनटमा पुगिहाल्छौ ।’ भोलि सिलगढी पुग्न बाटो छोटि्टने लोभले हानियौँ हामी ।
करिब डेढघण्टामा विद्यालयनेर पुग्दा एउटा पसलमा भेटिए दम्पति । श्रीमतीले बास पाइन्छ भने पनि श्रीमानले रोटीसँगै कुरा चपाए । अनि त श्रीमतीले ठाउँ नभएको बताउँदै अगाडिपटि्टको डाँडा देखाइन्- ‘बगलेकमा निको होटल छ ।’
रात परिसकेको छ । जूनको मधुरो प्रकाश छरिए पनि पारिपटि्टको त्यो डाँडा ठम्याउन कठिन भइरहेछ । धुर्‌र्मैलो आकासमुन्तिरको अँध्यारो पहाड त छिचोल्न सकिन्थ्यो तर मनै अँध्यारिएपछि सकिएन पाइला सार्न । अरु विकल्प नसोचेर मैले भनेँ, ‘जे दिनुहुन्छ त्यही खाने । जहाँ देखाउनुहुन्छ त्यहीँ पल्टिने । अब पाइला सरेनन् हाम्रा त ।'
दिनभरको कुदाइले उब्जाएको थकाइलाई मुटुको सहनशील खोपीमा थन्क्याएर एकछिन सुस्ताएँ म । समयका अनेक चड्कन खाएर कठोर भएको छातीमा हुलेँ एउटा सन्तोष । मनमा उभ्याएँ एउटा विश्वास । र लिएँ, एउटा दृढ निश्वास ।
हिजोको कुस्त थकाइले सबेरै हिँड्न नसकेर सातबजे मात्र लाग्यौँ बाटो । बाटो राम्रै भए पनि छैनन् कुनै सवारी साधन । अचम्मित छु, कतिखेर छरिए होलान् मोटर साइकलका टायर-चिन्हहरू ।
चामल बोकेर आइरहेकी महिला र उनकी भतिजी भेटिए बगलेकको डाँडामा । एकछिन सुस्ताएर उनकै पसलमा खाइयो चिया । हिँड्ने बेलामा भनिथिन्- ‘सडक घुम्नलागे पुरानो सोझो बाटो अगाडि लाग्नु ।’ तर अघिल्लै घुम्तीमा छोडिदिएछौँ सडक । भीरमा पुगियो ।
निर्जन छ पाखो । सुनसान छ सेरोफेरो । कसैले गुहारे गर्ला भनेर करायौँ तर प्रत्युत्तरमा भीरको सिरेठो मात्र सुसाइरहृयो । ढुङ्गे खुडि्कलाको त्यो बाटोमा धेरै समयदेखि मान्छे हिँड्न छोडेका रहेछन् । धन्न अलिबेरमा भेटियो मोटर बाटो ।
ठाडो ओरालो ओर्लँदा देखियो सिलगढी र दिपायल । ओरालो ओर्लेपछि आइपुगेको उडितोलाबाट तल झर्दा भेटिए एकजना शिक्षक । उनले पर्खँदै र बाटो देखाउँदै ल्याइपुर्याए सिलगढी । र, आफूले चिनेका होटलमा लिएर गए । थप पैसा तिर्न तयार हुँदा पनि पाइएन हिलो पखाल्ने एकबाल्टिन पानी । जलवियोजनले ग्रस्तसरि सिलगढीमा एकछिन पनि बस्न मन भएन । तल हेरेँ, दिपायल तटमा छाती फिँजाएर मस्तले बगिरहेथ्यो सेती नदी ।
नुहाएर खाना खानुपर्ने हाम्रो खाँचो दिपायलले पनि स्वीकार गरेन सजिलै । दुइटा होटलले त सिधै देखाइदिए सेती नदी । हुन त खप्तडमा लागेको हिलो खप्तडी जल प्रवाहित सेतीमै पखाल्नुपथ्र्यो । तर, चर्को घाममा थकित शरीर लिएर सेतीमा पुगेर फर्कने साहस भएन ।
होटलमा नुहाएर खाना खाएपछि सेती नदीको किनारै किनार कुद्न थाल्दा विदाइको भावमा पश्चिमोत्तर आकासतर्फआँखा उचालेँ मैले । प्रत्युत्तरमा तरेली परेका अनगिन्ति पहाडी ऋङ्खलाहरु मुस्कुराए । तिनै ऋङ्खलाबीचमा पर्दो हो खप्तड । सन्तोषको सास फेरेँ र मनमा सजिएको खप्तड नियाल्न थालेँ ।
खप्तडी प्रकृतिको मोहनीले रङ्गिएको रहेछ मनमुटु । सिङ्गो खप्तड समाहित भइसकेछ मभित्रै । भेटिए- कोमल फूल, अग्ला रुख, गलैँचे पाटन, निर्मल जल र शितल लेकाली स्पर्श । देखिए- एकतमास चरिरहेका घोडा, कुलकुलाउँदै कुदिरहेका खोला र चिरबिराउँदै उडिरहेका चराहरू । छामिए- अनगिन्ति उकाली, ओराली, तेपाएँ, भञ्ज्याङ र देउरालीहरू । छोइए- खप्तडी खर्कका झुप्रे गोठ र निर्वाह बाँचिरहेका गोठालाहरू ।
गोठालाहरू सम्झँदा भने चित्कार गर्यो मनले- गरिबीको रुप, रङ, गन्ध र आकार हुँदैन भनेर कसले भन्न सक्ला ?
खप्तडको क्षितिजमा ग्रहण लागेसरि देखियो- एकधर्सो धमिलो बादल । त्यसमा चलमलाइरहेथ्यो गरिबीको घुर्र्मैलो छायाँ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 बैशाख, 2074

लेखकका अन्य रचनाहरु