भाग्यमानी त्यो नेपाली टोपी महानायक डा० भूपेन हाजरिकाको शिरमा

- किरणकुमार राई

पहिलो दृश्यः ८ सेप्टेम्बर १९२६, सदिया, नेफा, भारत। देवशिशुको जन्म।
दोस्रो दृश्यः यायावरी जीवन, इहलोकमा नाटकै नाटक। लीलाखेल।
तेस्रो दृश्यः ५ नोभेम्बर, २०११, मुम्बई, भारत। लीलाखेलको समाप्ति।
अन्तिम दृश्यः ९ नोभेम्बर २०११, गुवाहाटी, भारत। चितारोहण।

कोकिलाबेन धीरूभाई अम्बानी अस्पताल, मुम्बईमा निकै लामो समयसम्म मृत्युसित लाप्पा खेलिरहेका खेलाडीले ठूलो चुनौती दिँदै पराजय वरण गरे। अलमल्ल पर्‍यो, चकित बन्नपुग्यो मृत्यु पनि। मुकुट पहिराउने कोही भएनन् विजेता मृत्युलाई। किनकि मग्न भएर खेल हेरिरहेका दर्शकहरू कोही पनि विजेता मृत्युको पक्षमा थिएनन्, थिए त पराजितको पक्षमा। नेपाली टोपी सधैं शिरमा ढल्काएर हिँड्ने, प्रसिद्धिको शिखरमा आरोहण गरिसकेका शब्दकार, सङ्गीतशिल्पी, सुमधुर स्वरका धनी, ईश्वरका दूत ती पराजित खेलाडी अरू कोही नभएर करोडौं अनुरागीहरूको हृदय-हृदयमा अधिष्ठित अतुलनीय महान् आत्मा डा० भूपेन हाजरिका थिए।

सदेह दर्शन पाउन सकिएन कहिल्यै ती महान आत्मासित। तेइस वर्षको लामो समयसम्म असममा मैले आफ्नो समय व्यतीत गरिरहेका भएतापनि उनको दर्शन गर्ने सौभाग्य जुटेन मेरो। साँच्चै अभागी म।

असमीया संस्कृतिका धरोहर तेजपुर शहरमा उनले कलागुरू विष्णुप्रसाद राभा र रूपकुँवर ज्योतिप्रसाद अग्रवालाको सान्निध्य र अभिभावकत्वमा आफ्नो प्रतिभालाई तिखार्ने अनि कलालाई अनुशीलन गर्ने सुवर्ण अवसर हासिल गरेका हुन्। ज्योतिप्रसाद अग्रवालाले निर्माण गरेको असमीया चलचित्र `इन्द्रमालती`-मा `विश्व विजयी नवजवान` गीतबाट उनले दस वर्षको उमेरमा नै सङ्गीत एवं कर्मजीवनको प्रारम्भ गरे। यसरी नै जनगणको बोलीमा लेखे अनि गाए उनले प्रशस्त गीत। लेखहरू प्रकाशित गराए। चलचित्र निर्माणमा पनि उनले दक्षतापूर्वक आफ्नो प्रतिभा प्रदर्शन गरे। राजनीति पनि गरे अनि निर्वाचित भएर योग्य विधायक पनि सिद्ध भए।

अध्ययनको निम्ति विदेश गएका उनी, उतै उनको भेट गुजराती सम्पन्न परिवारकी कन्या प्रियम्बदा पटेलसित भयो र उनीहरू प्रेम बन्धनमा गाँसिए र बिहे पनि गरे। उनीहरूको प्रेम र बिहेको फलस्वरूप छोरो पुन्नाङ्ग तेज हाजरिकाको जन्म पनि भयो। नियतिले उनलाई कुन्नि कसरी चिथोरेको थियो, वैवाहिक सूत्रको गाँठो राम्ररी कसिन नपाई उनीसित टाडिए उनकी प्रेयसी, पत्नी। आफ्नो एकमात्र सन्तानलाई उनले डोहोर्‍याएर विद्यालयको ढोकासम्म पुर्‍याउन पाएनन्। गीतको लयमा टाउको मुसार्दै छोराको निद्रा बोलाउन पाएनन्। उनी अलमल्ल परिरहे। के गरौं, कसो गरौं-को भारले थिचिएर उनी साह्रै विचलित भए, एक्लो भए। निःसङ्ग जीवन बिताउन उनलाई निकै कठिन पर्‍यो। सुर अनि सुरा उनका साथी भए। सुरा पिएर पनि उनी बेसुरा भएनन्, सुरमा सुर थप्दै अब्बल कला प्रदर्शन गर्नमा उनी झन् खप्पिस हुँदै गए।

आयुले उनलाई अर्द्धशतकको ढोकामा पुर्‍याइसकेको थियो। भेटे उनले कलाकारको मुटु छाम्नसक्ने एक कोरी उमेर पनि ननाघेकी कोमल हृदयी कल्पनालाई। कल्पनाले उनको लथालिङ्ग जीवन देखेर टिठ्याई र उनलाई सम्हाल्ने जिम्मेवारी आफ्नो हातमा लिई। झनक्कै रिसाउने उनको बानी छुटाउन नसकेतापनि रक्सीसित भने एकप्रकारले पारपाचुके नै गरिदिई। थिएन पर्वाह दुवैलाई समाजको, परिवारको। थियो त केवल कलाप्रतिको समर्पणको भावना। सृजनात्मक कार्यमा लागिपरे दुवै अनि समाजको अघि पवित्र सम्बन्धको दसी प्रस्तुत गरे- चलचित्रको, सङ्गीतको, गीतको माध्यमद्वारा। हिन्दी चलचित्र `एक पल`, `रूदाली`, `दामन`, `क्यों`, `चिंगारी` आदि उनीहरूको पवित्र सम्बन्धका उपज हुन्। ती चलचित्रहरूमा आफ्नो सुमधुर आवाज र सङ्गीत भर्दै श्रोताहरूको कानमा दिल `हुम हुम` गर्दै झञ्कार सृष्टि गरिदिए। चालीस वर्षसम्म सङ्गी रहेकी कल्पनी लाजमी अन्तिम क्षणसम्म सन्तुलित थिई, तर जब उनलाई चितामा राखियो भक्कानो फुट्नेगरी रोइन्। अब उनी एक्लो भएकी छिन्, उनलाई साथ दिन उनको भूपसू अर्थात् भूपेन हाजरिका आउनेछैनन् फर्केर कहिल्यै।

असममा वैशाख महीनामा मनाइले बिहु उत्सवका कार्यक्रमहरूमा उनको आवाज सुन्नलाई हजारौं मान्छेहरूको भीड लाग्नेगर्थ्यो। साधारण जनगणको भाषामा आफैले रचेका उनका अन्तर्स्पर्शी गीतहरू रसास्वादन गर्नेगर्थे। वर्षैभरि उनको सान्निध्य पाउनलाई अनुरागीहरू आतुर रहन्थे। कुनै कार्यक्रम आयोजन भएको अनि भूपेन हाजरिका आउने कुरो थाहा पाउनसाथ दश काम छोडेर पनि पुगिहाल्थे उनको दर्शन पाउन अनि उनको मधुर आवाज सुन्न।

ईश्वरले धरतीलाई प्रदान गरेका उनी आफै एक विशिष्ट पुरस्कार अर्थात् रत्न थिए। जीवनकालमा `दादासाहेब फाल्के पुरस्कार`, `पद्मभूषण`, `असम रत्न` लगायत असङ्ख्य विशिष्ट पुरस्कार एवम् सम्मानद्वारा सम्मानित भए। उनी बितेको पर्सिको दिनमा नै बाङ्लादेख सरकारले सर्वोच्च नागरिक सम्मान प्रदान गर्ने घोषणा गरेको छ। भारतको सर्वोच्च नागरिक सम्मान `भारत रत्न`-द्वारा उनी सम्मान गरिन योग्य छन् भन्ने माग धेरैदिनदेख रहिआएको भएतापनि जीवितकालका उनी त्यो सम्मानद्वारा वञ्चित भए। मरणोत्तर उनलाई `भारत रत्न` प्रदान गरेर भारत सरकारले सम्मान गर्नेछ भन्ने सबैको दावी र चाहना छ।

केहीवर्ष अघिदेखि वार्धक्यजनित रोगको सताउन थालेको थियो उनलाई। जब जब उनी सिकिस्त भएर अस्पतालमा भर्ना हुनपुग्थे, असमका चारै कुनामा अनुरागीहरूको ताँती लाग्थ्यो, उनको स्वास्थ्यलाभको निम्ति प्रार्थनाहरू गरिन्थे। प्रार्थना नै अचूक औषधि हुनपुग्थ्यो र उनी निको पनि हुनेगर्थे। यसचोटि उनको शरीरले थाम्नसकेन नियतिको वज्रप्रहार र अस्पतालदेखि निको भएर बाहिर निस्कन सकेनन्।

असमको भूमिमा नै अन्तिम सास फेर्ने उनको अन्तिम इच्छा पूर्ण हुनसकेन। ५ नोभेम्बर २०११को बेलुकी ४.३७ बजे मुम्बई शहरमा डा० भूपेन हाजरिकाको प्राणपखेरु उडेर गएको समाचारले ठूलो आँधी बोकेर ल्यायो। त्यो आँधी यति प्रचण्ड थियो कि एकाएक सबैजना स्तम्भित बन्नपुगे। किनकि त्यो आँधीले उनका अनुरागीहरूको हृदय यतिसाह्रो ध्वस्त पारिदियो, कसैले पनि स्वयंलाई सम्हाल्न सकेनन्। पत्याउनै नसकिने समाचार थियो त्यो। भोलिपल्ट उनको नश्वर देह मुम्बईदेखि गुवाहाटी ल्याइने निधो भएको कारणले गर्दा सबैजना अधीरताका साथ पर्खेर बसिरहेका थिए।

६ नोभेम्बर २०११, दिउँसो बाह्र बजे गुवाहाटी हवाईअड्डामा नश्वर देहको अवतरण भयो। असमका राज्यपाल र मुख्यमन्त्रीले श्रद्धाञ्जली ज्ञापन गरेपछि बाकसभित्र गहिरो निद्रामा सुतिरहेका सबैको प्यारो डा. भूपेन हाजरिकालाई लिएर गाडी अघि बढ्नथाल्यो। श्रद्धाञ्जली ज्ञापन गर्नको निम्ति गुवाहाटी विश्वविद्यालय, भरलुमुख, कटन महाविद्यालय, दीघली पुखुरीमा दुइ-दुइ मिनट र उनको निजरापारस्थित वासस्थानमा एक घण्टा राखिने समय निर्धारित गरिएको थियो र जनताले श्रद्धाञ्जली चढाउन सकून् भनेर अन्तिम गन्तव्यस्थल जज खेल मैदान सुसज्जित पारेर राखिएको थियो। गाडीले तर गति पक्रन सकेन, जुन गतिमा गाडी अघि बढ्नुपर्थ्यो, अनुरागीहरूले गतिलाई धीमा, अति धीमा पारिदिएको थियो। श्रद्धा ज्ञापन गर्न बाटोमा लाखौंको सङ्ख्यामा अनुरागीहरूको चुँडिनै नसकिने लाम थियो। दस मिनटको निर्धारित समय आफैआफ तन्किएर निजरापार पुग्दा रातको आठ बजिसकेको थियो। त्यहाँ पनि उत्तिकै भीड। बाकसबाट उनको नश्वर देहलाई निकालेर उनले विश्राम गर्ने, ढल्किएर चिन्तन गर्ने बेतको पलङमा राखियो अनि परिवारका सदस्यहरूबाट उनको दर्शन र प्रार्थना सकिएपछि जज खेल मैदानको निम्ति गाडीको चक्का फेरि उही धीमा गतिमा गुड्नथाल्यो। मान्छेको भीडबाट प्राप्त श्रद्धाञ्जली स्वीकार्दै उनी रातिको दस बजे जज खेल मैदान पुगे। अधीरतासित पर्खिरहेका थिए सबैले, अश्रुसिक्त नयनले उनलाई स्वागत गरे। जुन सुसज्जित बाकसभित्र मुम्बईदेखि उनी विश्राम गरेर आएका थिए, त्यो बाकसबाट निकालेर उनलाई कलात्मक रूपमा सिँगारिएको मञ्चमा शीत-ताप नियन्त्रित पारदर्शी काँचको बाकसभित्र राखियो। बाकसभित्र नेपाली टोपी पहिरेका उनको शिर, गाउँ-बस्ती, शहर-बजार, देश-विदेश टेकेका उनका दुइ खुट्टाका पाइतलाहरू स्पष्टरूपमा देखिए। शरीरको मध्यभागमा भने सम्मानपूर्वक असमीया गम्छा ओडाइएको थियो। मन्दिरमा परिणत भइसकेको थियो जज खेल मैदान। मानों ईश्वर स्वयं त्यहाँ मञ्चमा विराजमान छन् र श्रद्धालुहरू ईश्वरको दर्शन गर्न अनुशासनात्मक ढङ्गमा एकपछि अर्को गर्दै आइरहेका छन्। सङ्ख्या बढ्दै गयो अनुरागीहरूको- सयौंदेखि हजारौं, हजारौंदेखि लाखौंमा। दर्शनको क्रम रातभरि एकपलको निम्ति पनि टुटेन। रातिदेखि शुरु भएको त्यो क्रमले बिहान भएपछि झन् जोर पक्र्यो। भोलिपल्ट अर्थात् दुइ बजेसम्म श्रद्धार्पणको समय तोकिएको भएतापनि अनुरागीहरू भीड र अनुरोधलाई मध्यनजर राखेर प्रशासनले श्रद्धार्पणको अवधिलाई अर्को दिनको बिहान छः बजेसम्म वृद्धि गर्न बाध्य भयो।

उनको निधनको समाचार राष्ट्रिय अनि क्षेत्रीय टीभीका च्यानलहरूमा प्रसारित भइरहे। क्षेत्रीय टीभी च्यानलहरूले एक-एक सेकेण्ड उनीमाथि नै समर्पित गरे, अन्य कुनै समाचार प्रसारित भएन, सबै कार्यक्रमहरू रद्ध गरिए। निरवच्छिन्नरूपले उनकै व्यक्तित्व र कृतित्वबारे चर्चा भइरह्यो, उनकै गीतहरू गुञ्जिरहे। प्रत्येक समाचारपत्रमा छप्छप्ती उनकै गुणको बखान छापिए। विशेषणपछि विशेषण थपिँदै गयो उनको प्रतिभामाथि- सुधाकण्ठ, भगवान, ईश्वर, अद्वितीय प्रतिभा आदि।

सयौंचोटि, हजारौंचोटि, लाखौंचोटि होइन करोडौंचोटि सलाम गर्छु- असमीया जातिलाई, असमका सम्पूर्ण वासिन्दालाई। जसले छाती उघारो पारेर उनलाई सम्मान दिए। अनुरागीहरू उनीप्रति यति द्रवीभूत थिए कि धुरुधुरु रोएर आँसुको खोला नै बगाए। उनको देहावसानको सन्देश पाएपछि तीनवटा सेता र एउटा खैरा रङका परेवाले उनको बाटो कुरिरहे। उनको नश्वर देहलाई गुवाहाटी उतारिएपछि जुन गाडीमा लगियो, सत्तर घण्टा चौंतीस मिनटसम्म एकपलको निम्ति पनि गाडीबाट उत्रेनन्। गाडीलाई फूलले सिँगार्नमा ती परेवाहरूले पनि सघाउ पुर्‍याए। उनको नश्वर देहलाई चितामा उठाइञ्जेलसम्म पनि ती परेवाहरूले मौन भाषामा शोक प्रकट गरिरहे। यसरी प्रकृति अर्थात् ईश्वरले पनि उनलाई श्रद्धाञ्जली ज्ञापन गर्न परेवाको रूपमा दूत पठाएको थियो। जीवितकालमै उनले अनुरागीहरू प्रशस्त माया र सम्मान पाएका थिए, मृत्युपछि त्यो माया र सम्मान दोब्बर तेब्बर भएर नाप्नै नसकिने भयो। ऐतिहासिक त्यो घट्नालाई देखेर शायद ईश्वरले पनि आह्रिस गरे हुन्।

नक्कले नायक उनी, जीवनभरि नै नक्कले नायक भएर नै रहे। चार कोरी पाँच वर्षको उमेर बिताइसकेका उनले आफूलाई नक्कले तरुणको रूपमा नै प्रमाणित गरिरहे। सुदर्शन तरुण रहेर नै जीवनको अन्तिम सास फेरे। गुञ्जिरहन्थ्यो, गुञ्जिरहेछ अनि गुञ्जिरहनेछ नक्कले तरुणको आवाज। पठाएको हो उनलाई ईश्वरले नै धरतीमा- सुमधुर आवाजको माध्यमद्वारा प्रत्येक मान्छेको अन्तरमा झञ्कार सृष्टि गरिदिनको निम्ति। जीवनको अन्तिम क्षणमा त उनी झन् महानायक नै बन्नपुगे। यसरी नै अमरत्वको महाभियानमा उनी अग्रसर भए।

लाखौं अनुरागीहरूले अन्तिम दर्शन गरिसकेपछि हजारौं गुणमुग्ध भक्तहरूको उपस्थितिमा अग्निदेवभित्र सुटुक्कै प्रवेश गरे उनले। जीवनभरि मुकुटस्वरूप शिरमा पहिरेका नेपाली टोपी चितामा आरोहण गरुञ्जेलसम्म उनले छोडेनन्। पञ्चभूतमा विलीन हुनुभन्दा पलभर अघिमात्र उनको शिरबाट सुदूर अमेरिकाबाट पितृऋण परिशोध गर्न आइपुगेका उनकै सन्तान तेज हाजरिकाले त्यो टोपी उतारे। कुनै नेपाली बन्धुले उपहारस्वरूप भेट गरेको उक्त टोपी चार दशकभन्दा बढी समयसम्म डा० भूपेन हाजरिकाको शिरमा अटुटरूपले शोभायमान भएर रहेको थियो। अब गुवाहाटीस्थित श्रीमन्त शङ्करदेव कलाक्षेत्रको सङ्ग्रहालयमा संरक्षित भएर रहनेछ। गर्व गर्न पाउँछौं हामी पनि- अहो, भाग्यमानी त्यो नेपाली टोपी!

दार्जीलिङ, हालः तेजपुर, असम

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 बैशाख, 2074

लेखकका अन्य रचनाहरु