कवितामा सुदूर गाउँका कथा

- दीपक सुवेदी

कविता पढेर बुझेँ, बुझिनँ भनिन्छ कि कविता अनुभूत गरिन्छ ? नित्य निर्णय पक्षपातीय नै छ हाम्रो । तर पनि कविता लेखिन्थ्यो । लेखिँदैछ । लेखिरहनेछ र लेखिनेनै छ । यो एउटा विश्वास मात्र हो । विश्वास भने ढलेको छैन । यस्तै विश्वास लेखिँदै गरेको पंक्तिमा उभिएका छन् शनिश्चरे, मोरङ (हालः दमक) का कवि राजकुमार सुब्वा ‘अनिश्चित’ । ‘कवि के हो भन्ने बारेमा हरेक मानिसका आ–आफ्ना विचार छन् । रोबर्ट फ्रस्ट, राष्ट्रपति जोन्सन, टीएस इलियट, रुडोल्फ भ्यालेन्टिनो–यी सबै कवि हुन् । ‘मचाहिँ आफ्नो बारेमा सोच्छु, म त उज्यालोको चिम बोकेको मानिस हुँ ।’ बब डिलनको विचारको विपरित जस्तै समाज र राष्ट्रका बारेमा सोच्दै कविताको चिम बोकेर हिडिँरहेका कवि अनिश्चितको सुदूर गाउँमा (२०७३) कविता संग्रह विश्व भूटानी साहित्यिक संगठनले हालैः बजारमा ल्याएको छ ।
हरेक स्रष्टा समयको साक्षी हो । यो समय औँशीको रातजस्तै छ । सुदूर गाउँमा शीर्षक हेर्दा यस्तो लाग्छ, साँच्चै, गद्य कवितामा शब्द, संगीत र अभिप्राय हुन्छ । यसको सम्बन्ध बुद्घिसँग भन्दा हृदयसँग रहन्छ । त्यसैले होला राजकुमारले अधिकांश कवितामा दिमाग भन्दा पनि मन चलाएकाछन् । एकाग्र मनले जहाँ रहेपनि सुदूर गाउँहरुका सामुहिक सपनाहरु अनुमान गर्न सकिन्छ । तर समयको आँखाले हेर्दा कति दूरका सुदूर गाउँको अनुमान गरिएला ? के के गरिएला ? के देखिएला ? सुदूर गाउँको कथा एउटा अनलाइनमा कवि हाङयुग अज्ञातले लेखेका छन्–
गल्लीको
अन्तिम कुनामा पुगेपछि
यो शहरको विसर्जन हुँदो रहेछ
र शुरु हुँदो रहेछ
कुनै सुदूर गाउँको कथा !
(सुदूर गाउँको कथा)

यसरी नै अज्ञातले जस्तै राजकुमारले पनि पुस्तकमा कविताका माध्यमबाट समयलाई चिहाउने कोसिस गरेकाछन् । पीवी सेलीले भनेझैँ राजकुमार पनि अनुभवजन्य समकालीन कविताका विधायक नै हुन् । त्यसैले राजनीतिक परिवेशले धमिल्याएको वर्तमान परिस्थितिका परिदृश्यको संकेत गरेर समकालीन यथार्थलाई कविले व्यक्त गरेका छन् । भन्छन् ः
भेटिएनौ तिमी तर
तिम्रो राजधानी जस्तो
पञ्चमी बजारमा
पेरुङ्गोमा सुँगुरका पाठा र
कुखुराका भालेहरुसँग
बरु भेटिए
ट्रान्जीन्ट पोइन्टहरुमा
शहर झर्न लागेका गोलियाहरु
यो साल तिम्रो सुदूर गाउँमा
(तिम्रो सुदूर गाउँमा–७९)

कवि राजकुमारले संघियताका लागि न उठ्न, न त सुत्न नै सकेको देशको रतिरागात्मक भावनाको घेरामा उभिएर रचेका कविता पनि यस संग्रहमा रहेका छन् । तर, सुहागरात, प्रेमिका र मायालुका कुरा गरे पनि उनीहरुसँग उन्मत्त यौनमा फसेका छैनन् । मेल बक्समा झैँ सिमित छन् । अनि छन् त केवल आफ्नै जीवनको गीतमा सृजनशीलता र लय भर्ने जिम्मेवारीको कलम राजकुमारसँग ।
प्रजातान्त्रिक मुलुकमा जस्तै कवितामा पनि आफ्नै निजी र बैयक्तिक चरित्रहरुको स्वतन्त्र अभ्यास हुन्छ । स्थानिक बुनोटयुक्त तार्तिक संरचना मानिने कवितामा बुनोट तथा बनोट दुबै अपरिहार्य नै हुन्छन् । यिनैको संयोजनबाट कविताले स्वतन्त्र अस्तित्व प्राप्त गर्छ । कविले आफ्नै भूमिकामा आमा–छोरी, सिपाही, घिसिङ कान्छा, रामकिशोर, बद्री, प्रेमीका आदि चरित्रहरुका माध्यबाट असन्तुष्ट भावमा अँध्यारो पाटोका सुदूर गाउँका कथा कविताका माध्मबाट सुनाउँछन् । ती कविताभित्र परिवर्तनको भोक तीब्र छ ।
कविता कलामा रङ्ग, रोगन, वस्तुको मात्रा प्रयोग होइन, ध्वनि समेत दिएर पूर्व वातावरणको प्रभावलाई देखाउने प्रयत्न गरिएको छ । रोशन वर्गले भनेका छन् कला आँगन, सडक, चोक, गल्ली, बगैँचामा पुग्नुपर्छ । जहाँ पाठकसँग यसको भेटघाट होस् । यसैका लागि साँच्चै ज्याँ फ्रान्सकोस् लियोटार्ड, राजकुमार अनिश्चित पनि निश्चित भाषामा खेलिरहेका छन् ।
राजकुमार यात्रा र घाम छाँयामा भन्छन्– झुटहरु सत्य सावित भएपछि यात्राहरु पनि नसोचिएको ठाउँमा हुँदोरहेछ । यथार्थ अबको युगमा सम्भव छैन । मिथ्या नै यथार्थ बन्न पुग्दछ । मानव जीवनले पूर्ण सत्यता पाउन गाह्रो छ । हामी आज मूल्यको विघटनमा उभिएका छौँ । सम्पूर्णता ल्याउन कठिन छ । कला द्वन्दात्मक कार्यमा मात्र सीमित रहँदैन । आनन्दताको खोजीमा पनि क्रियाशील रहन्छ । लुकाचका शब्दमा कृतिको प्रयोगजनशीलता कृतिमा चित्रित भावको वस्तुपरक सन्दर्भमा अभिप्रेरित रहेको हुनुपर्छ । जुन भाव सुदूर गाउँका कवितामा पाउन सकिन्छ ।
कवितामा व्यक्तिका रागात्मक भावहरुलाई सामाजिक रङ्गमा रङ्गाएर व्यक्त गरिएको हुन्छ । त्यसैले कविता वर्गीय हुन्छ भन्ने माक्सवादी सौन्दर्यशास्त्रीहरुको अवधारणाप्रति पनि राजकुमारले सहमति देखाएकाछन् । राजकुमार लेख्छन् ः
अंकुश लगाएर फ्याँकिए
कविताका प्रत्येक अनुच्छेदहरु
अन्तत ः कविता बाहिरियो
पहिलेजस्तै लेखिएन यो साल पनि
कविहरुका कविताहरुको अस्तित्व
नयाँ संविधानमा
(अस्तित्व–९३)
जगत्ले ओढेको परिचितताको बर्की कविताले उघारिदिन्छ भन्ने शेलीको धारणाझैँ त्यही बिम्बलाई टिपेर विभेदका विरुद्घ राजकुमार उभिएका छन् । यो उनका कविताको शक्ति हो । अपूर्णता, भ्रामिक यथार्थ, प्रतीक संयोजन जस्ता पक्ष राजकुमारमा सबल प्राप्ति बनेर देखापरेका छन् ।
स्रष्टाका मानसपटलमा रहेका भावहरुलाई अभिव्यञ्जित गर्ने चित्रात्मक भाषा नै बिम्ब हो । राजकुमारका कविताहरुमा समसामयिक यथार्थबाट अभिप्रेरित भएर सिर्जिएका बिम्बहरुको प्रयोग बढी पाइन्छन् । समकालीनता हुनमा परिवर्तित राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक आदि सन्दर्भहरुको प्रतिबिम्बन हुनुपर्छ । अनि कवितामा यस प्रविधिको प्रयोग गरी पाठकको मस्तिष्कमा एब्स्ट्रयक फोटोग्राफी वा तस्विरको बिम्ब निर्माण गरिन्छ । सुदूर गाउँमा यो पनि गरिएको छ ।
राजकुमारले पाठकलाई आकर्षण तुल्याउन अभिव्यक्तिलाई विभिन्न शैलीमा व्यक्त गर्दै आफ्नो कलागत् चिन्तनलाई आस्वादपूर्ण शिल्पशैलीमा सजाउने कोसिस गरेको देखिन्छ । अझ कवितामा आफूले भोगेका पीडा, घटना आदिलाई गाथाको रुपमा व्यक्त गर्ने कार्यमा पनि राजकुमार देखा परेका छन् । अबको कविता पढ्ने मात्र नभई हेर्ने कला पनि हो भन्ने मान्यतालाई यस कृतिमा राजकुमारले जोड दिएकाछन् ।
भाषालाई संकुचन गरी दृश्यको माध्यमबाट ठोस कला सृजना गर्ने प्रविधिको विकास स्वीस कवि इमुन् गोविगरले गरेका थिए । वर्तमान स्थितिमा अध्यात्म र भौतिकवाद, यथार्थ र परायथार्थ, सङ्घर्ष र पलायन, भाषा–संस्कृतिको मिश्रण, पुँजीवादी सन्जालमा नयाँ यथार्थलाई प्रतिविम्बन गर्दै प्राचीन शिल्प शैलीमाथि अविश्वासका साथ सुदूर गाउँका दृश्यहरु हेर्दा नयाँ प्रविधिको खोजीमा कवि लागेका पो हुन् की भन्ने आभास कविता पढ्दै जाँदा पाठकलाई लाग्न सक्छ ।
लेविस भन्छन्– सबै कविताहरुमा बिम्ब देखिन्छ । हरेक कविता आफैँमा पनि बिम्ब हो । प्रवृत्तिहरु त आउँछन्, जान्छन् । शैलीहरु पनि फेसनझैँ परिवर्तन हुन सक्छन् । थाहै नपाउने गरी तात्विक विषयवस्तु पनि परिवर्तन हुन सक्छ । तर रुपक भने कविताको जीवनसिद्घान्त बनेर कविको मुख्य कसी र गौरवका रुपमा रहन्छ । सुदूर गाउँभित्रका कविता हेर्ने हो भने यो कसी राजकुमारको कसिलो गौरवका रुपमा रहेको पाइन्छ ।
कवितामा लय र अर्थलाई अलग पारेर छुट्टयाउन सकिन्न । लयले शब्दको अर्थलाई अनुकुल तुल्याउने एवं बढाउने काम गर्नुका साथै पङ्क्तिको यथार्थ अर्थलाई भरथेग गर्ने काम गर्छ । त्यसैले आन्तरिक संगीत चेतना गद्य कवितामा पनि चाहिन्छ । यसमा कवि राजकुमारले आफ्नै स्वाभाव देखाएकाछन् । राजकुमारको स्वभाव र कविताको स्वभाव उस्तै उस्तै छ । कविताको स्वाभाव मौन विद्रोह हो । यसको अर्थ शब्दहीनता होइन । वाचालता हो । अतः समकालीन समयलाई नेपाली कविताका माध्यमबाट पहाड उक्लँदै गरेको उदाउँदो सूर्यको रोशनी चाहिँ निश्चित हो ।
छोटा कविताहरुले सानो स्पेस लिएका हुन्छन् । यिनीहरुमा विषय वस्तुको छनोट, त्यसको वहस, तर्क, विचारको संयोजन, कला र सौन्दर्यको प्रयोग, पात्र र प्रवृत्तको उठान नियन्त्रित हुन्छन् । त्यसैले पनि यिनीहरुलाई कुनै शैली विशेष र काव्यिक अनुसाशनका आधारमा हेरिनु आवश्यक हुन्छ ।
रातको अन्धकारभित्र छिर्न लालटिनको उज्यालो पनि काफी छ तर जीवनको विराट अन्धकार भित्र छिर्ने ज्योतिको स्रोत कहाँ छ ? तर पनि शब्दान्त्रका माध्यबाट वर्तमान देशकै दृश्य देखाउन राजकुमार तम्सिरहेछन् । यो प्रशंसनीय नै छ । तथापि तम्सिनु र आँटा हुनु फरक फरक कुरा हुन् ।
रोबर्ट फ्रस्टले भने जस्तै कविता जोसुकैका लागि गहन हुनुपर्छ । त्यसलाई सस्तो रुपमा लिइनु हुन्न । कसले कति लेख्यो भन्दा पनि कति मिहिनेत गरेर लेख्यो हेरिनु पर्छ । कविताको विषय, शिल्प, रुप, भाषा, भाव तथा यस्ता सम्पूर्ण औजारहरूले खनेको बाटो भनेको नै त्यो काव्यिक सरलता हो । राजकुमारका कविताहरु लाग्छ तराईका फाँटमा पुगेका नदी हुन् ।
अचेल कविता लेखिरहेका कविहरु कविताको उपादेयताबारे सोच्ने र विमर्शमा सरिक हुने प्रयत्नमा लागेकाछन् । ती पाठकहरुलाई तिनका कविता सम्बन्धी ज्ञान र धारणा तथा तिनको आफ्नै कविता कलाका विशिष्टताका बुझ्न पनि यस संग्रहले सहयोग गर्नेछ । हुनत यहाँ काव्यिक साधनामा अनुशीलन गरिनु पर्ने केही ठाउँहरु पनि भेटिन्छन् । तै पनि भाव संयोजनमा जुन सकारात्मक पक्ष प्रबल छ ।
यस संग्रहभित्रका कविताहरु पढ्दा आञ्चलिकताका बादलहरु सर्सराएका पाउँछौँ । अस्तित्ववादका लुङ्दरहरु फर्रफराएका भेट्छौँ । आफ्नो चिनारी खोज्दै राजकुमार शब्दहरुका पछि पछि दगुरेका पनि देख्छौँ । त्यसैले अध्येयताहरुलाई अत्याधुनिक काव्य जगतमा प्रविष्ट दिनमा पनि सहयोग पु¥याउने देखिन्छ । साँच्चै समले भने जस्तै– ुजस्तो शरीरदेखि आत्माको अस्तित्व रहँदैन त्यस्तै इतिहास, ज्ञानविज्ञान, दर्शन, वर्णन, गणित आदि शरीरदेखि कविता–आत्मा भिन्न रहन सक्तैन । केवल आँखा पनि कविता हुन सक्तछ जब कवि त्यसलाई लिन्छ, अनि भावले खेलाउँछ, कसैले पनि नहेरिएको बादल कविले छुनासाथै कविता बन्दछ, कविता भावनाको बौद्घिक कोमलता हो ।’
कवितामा थालनी, बीचको प्रवाह, आरोह र अवरोहको अन्तर सम्बन्धमा तादत्म्यता स्थापित गर्न नसके गद्य कविताले एउटा बग्दो नदीलेझैँ आन्तरिक लयात्मक ध्वनीहरूको संगीत उत्पादन गर्न सक्दैन । जसले गर्दा कविताको लय समाउन पाठकलाई हम्मे हम्मे हुन्छ । जुन राम्रो होइन कवितामा । राजकुमारका कवितामा पाठकले यो पाउँदैनन् । तर उही भावका शब्दहरु दोहोरिएर आएका भने पाउँछन् । एउटै संग्रहका कविताहरुमा यस्तो पाइनु कृतिको सबल पक्ष चाहिँ होइन । कवितामा शब्दको अर्थमा नौलोपन नआएका एउटै सन्दर्भ र शब्दको पुनरावृत्ति केही कवितामा आएकाले कविताहरुले अर्थ दोषको भार बोक्नुपर्छ । यस कृतिले लिएको ९५ पृष्ठ मध्ये ८५ पृष्ठमा कविताहरु रहेकाछन् । त्यसैले
खोजियुन् बाँकी छुटेका कविताहरु
र जोखानामा फटाफट् आउन्
मुन्धुममा राजकुमारका कविताहरु
फेदाङ्मासँगै
(कविता र मुन्धुम)

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 बैशाख, 2074

लेखकका अन्य रचनाहरु