त्यो गोधुली साँझ

- बाबुराम पन्थी गुल्मेली

यो उराठ मरुभूमिमा

आज फेरी साँझ पर्यो,तातो हावा चल्यो

विगतले आज आफैलाई गिंज्यायो

संभव छैन याँहा भेट्न

त्यो गोधुली साँझ


याद बल्झियो

त्यो गोधुली साँझ

सरर चिसो हावाले आँगन छेंऊका

फूलहरूको सुगन्ध चोरी

हामी लाई स्पर्श गर्थ्यो फूल लाई थाहै नदिई

रूखका हाँगा र पातहरू नृत्य गर्थे पवन संगै

बाँस घारीमा चराहरूको चिर्विर गितले

चन्द्रमाको मधुर उज्यालोमा

जुनकिरीहरू टिप टिप बत्ती बाल्दै

त्यो गोधुली साँझ लाई स्वागत गरिरहेका हुन्थे

दिनको थकाई मेंट्न

सपरिवार घरको पिंढीमा बसेर गफ गाफ हुन्थे

बा ले भन्थे , भरोषा छोरा मै छ

आमा भन्थिन् ,नसुर्ताउनु सम्हालिहाल्छ नी

बुढेस कालको साहारा उ नै त हो

दिदीहरू भन्थे , भाई भाग्यमानी छ

भाई बैनी निर्दोष आँखाले एकटक हेरी रहन्थे

श्रीमती भन्थीन् बा आमा हामी छौ नसुर्ताउनु


सायद आज पनी

त्यो गोधुली साँझ परे होला

गुँड छाडेर उडेका पंछीहरू फर्किएर

बचेरा लाई चारों खुँवाउँदै होलान

संघर्षमा हिंडेका पाइतालाहरू फर्किएर

मेरो बा ले जस्तै

घरको पिंढीमा बसेर उस्तै सपना बुन्दै होलान

सव परिवार साथमा रमाएर

मिठो मसिनो रूखो काँचो बाँडेर खाए होलान

र थकित जिवन लाई

जिवनसाथीको न्यानो अंगालोमा सुम्पिएर

स्वर्गीय आनन्दको अनुभूती गर्दै होलान


मेरो लागी भने यो आजको साँझ

त्यो गोधुली साँझ कुनै हालतमा हुन सक्दैन

बा ,आमा, श्रीमती ,दिदी ,भाई र बहिनी

कसैको उपस्थिति संभव छैन

म माथी उनीहरूका सुन्दर सपना बुनेर

छेवैमा बसी मलाई सुनाउनको लागी

किनकी म हजारौ माइल टाढा छु

यो उराठ मरुभूमिमा

आज फेरी साँझ पर्यो,तातो हावा चल्यो

विगतले आज आफैलाई गिंज्यायो

संभव छैन याँहा भेट्न

त्यो गोधुली साँझ


तम्घास गुल्मी

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 बैशाख, 2074

लेखकका अन्य रचनाहरु