गाडीमाथि गाडीमा आइफेल

- श्रीओम श्रेष्ठ रोदन

ब्रसेलसको विभिन्न ठाउँ घुमेर बित्यो आजको दिन । अटोमेमबाट फर्केर हामी राजदरबार क्षेत्रमा पुगेपछि यहींबाट आजको भ्रमण सकिएको छ हाम्रो । भोलि पेरिसको आइफेल टावर जानका लागि हामी चार जना अर्जुन श्रेष्ठको गाडीबाट जाने भागमा पर्छाैंैं । सरुभक्त दाइ, इन्द्र विकल्प, शेखर अधिकारी र मलाई अर्जुनजीले लैजाने भएपछि हामी उहाँको कारमा बस्छौं । बाँकी साथीहरु फर्कनका लागि रेल चढ्न जानुहुन्छ ।
भोलि शनिबार हो त्यसैले आइफेल टावरमा एकदमै भीड हुन्छ । त्यसैले जतिसक्यो त्यति चाँडो पुग्नुपर्छ । यस्तै सल्लाह हुन्छ बाटोमा । हाम्रो गाडी सिन्ट निकलासामा पुगेर रोकिन्छ । यो बेल्जियमको सबैभन्दा ठूलो स्क्वायर भएको शहर रहेछ । अर्को महिना, अर्थात्, सेप्टेम्बरमा विश्वकै पाँचौं ठूलो बेलुन महोत्सव हुँदैरहेछ यहाँ ।
होटलको अगाडि पुगेर कार रोकिन्छ । होटल अर्जुनजीको नै रहेछ । निकै पुरानो यो होटललाई दुई वर्षअघि मात्र उहाँले लिनुभएको रहेछ । काउण्टर र बारमा बेल्जियन युवती छिन् । हामी एउटा टेवलको कुर्सीमा बस्नासाथ फटाफट खानेकुराहरु आउन थाल्छन् । ल्याउने मित्रहरु भने नेपाली नै हुनुहुन्छ । अर्जुनजीले बाटोबाटै खानेकुराको अर्डर गरिसक्नुभएको रहेछ ।
दिनभरिको ब्रसेल्स यात्रामा निकै हिंडेका थियौं हामी । थकाइसँगै भोकाइ पनि सकेका थियौं । ढिलो नगरिकन हामी खानातिर हात बढाउँछौं । सरु दाइले चियाबाट शुरु गर्नुहुन्छ , हामी भने थकाइ मेट्ने पदार्थ नै लिनथाल्छौं ।
भोलि बिहान ठीक सात बजे ब्रेकफास्टको लागि जम्मा हुने सल्लाह हुन्छ । आ–आफ्नो कोठामा जानु अघि एकछिन भए पनि शहर घुम्न रहर लाग्छ मलाई । नयाँ ठाउँमा रातको बेला घुम्न मनलाग्छ मलाई । प्रस्ताव राख्छु र सबै जना तयार बन्नुहुन्छ । झलमल बत्तीको उज्यालोमा शहरका केही ठाउँमा घुमेर आजको दिनलाई बिट मार्छौं ।
शनिवारको बिहानले क्यालेण्डरमा २२ अगष्ट देखाउँछ । म तोकिएकै समयमा आफ्नो झोला बोकेर ओर्लिन्छु । शेखरजी बाहेक सबै जना ब्रेकफास्ट टेबलमा कुरिरहुनभएको देखेपछि उहाँको कोठामा फोन गरेर उठाउछुँ । उहाँ आउनु भएपछि हामी द¥हो ब्रेकफास्ट लिन्छौंं । दिनभरिको थकाइ र थकाइको औषधिले गर्दा ओछ्यानमा पल्टनासाथ निदाइहाले छु म । अरु साथीहरुले पनि त्यस्तै सुनाउनु भयो तर अर्जुनजीले भने एन आर एनको बैठकमा राति बा¥ह बजे जानु भएको र बिहान दुई बजे मात्र फर्किनु भएको बताउनुभयो । हामीले जिस्कायौं पनि, तपाईको मिटिङ सपनामा भयो र सपनामा नै बाहिर जानु भयो भनेर । तर उहाँले आफू रहरले नभई बाध्यताले जानु परेको बताउनुभयो ।
बिहान साढेसात बजे हाम्रो गाडी गुडिसकेको छ । सडक सुनसान नै छ । आज विदाको दिन भएकोले ढिलो मात्र उठ्छ रे युरोप ।
‘हामी साढे एघार बजेभित्रमा टावर पुगिसक्छौं ।’ अर्जुनजीले गाडी चलाउँदै बताउन हुन्छ । उहाँ भन्नुहुन्छ — ‘हामी अरु समूहमा आउनेहरुभन्दा धेरै अगाडि पुग्छौं । हामी आइफेल टावर चढेर फर्किंदा उहाँहरु आइपुग्नु होला कि ? यदि मिल्छ भने हामीले नै उहाँहरुको लागि पनि टिकट लिइदिने सल्लाह हुन्छ हाम्रो । यसो गर्न सकियोे भने उहाँहरुले टिकटको लागि लाइनमा बस्नु पर्दैन र लुम्र म्युजियम सँगै घुम्न सक्छौं । ’
एकनासको हाइवेमा तीब्र गतिमा गाडी चलाउँदै उहाँले ठाउँठाउँको बारेमा जानकारी गराइरहनु पनि हुन्छ । ठाउँठाउँमा केही घरहरु देखिन्छन् । ठाउँठाउँमा हावाद्वारा विद्युतीय उर्जा उत्पादनका लागि लाइनै राखिएका विण्डमिलहरु । त्यसको वरिरि घुमिरहेका परेवाहरु ।
उहाँ कहिले बेल्जियमका बारेमा बताउनुहुन्छ, कहिले आफ्नो व्यापारको बारेमा । कहिले नेपाली राजनीतिका बारेमा । उहाँ द्वन्द्वकालमा माओवादी पीडित भएर आउनु भएको रहेछ । बाग्लुङका आफ्ना व्यवसाय बन्द गरेर बेल्जियममा शुरु गर्नुभएको रहेछ ।
हामीले एक घण्टाभन्दा बढीको बाटो काटिसकेका थियौं । घडीमा बिहानको नौ बज्दै थियो । फ्रान्सको लिली शहरलाई भर्खरै पार गरेका थियौं हामीले । प्रतिघण्टा १५० किलोमिटरको गतिमा गाडी गुडिरहेको थियो । अकस्मात गाडीको गति घट्दै गएर छेउ लाग्छ र केहीबेरमा स्टार्ट नै बन्द हुन्छ । निकैबेर कोसिस गर्दा पनि गाडीको इन्जिन चल्दैन ।
हामी गाडीबाट ओर्लिन्छौ । हाइवेमा बिग्रेर नचलेको गाडीमा कोही पनि यात्रु बस्न पाउँदैन रहेछ । सडकको छेउमा लगाइएको फलामको बार नाघेर भित्रपट्टिको घाँसेझाडीजस्तो ठाउँमा जान्छौं । हामी सबै जना ओर्लिएपछि अर्जुनजीले गाडीको डिकीबाट हरियो ज्याकेट झिकेर लगाउनुहुन्छ । गाडी बिग्रिएको संकेत पाटीजस्तोलाई पनि खोलेर गाडीको पछाडि राख्नुहुन्छ ।
हामी सडकको सीमा बाहिर भएकोले निश्चिन्त गफ गर्नथाल्छौंं । अर्जुनजी फोन गरेको ग¥यै हुनुहुन्छ । ६ लेनको एकतर्फी सडकमा ठूलासाना गाडीहरु एकनासले बेतोडले दौडिरहेका छन् ।
अब के हुन्छ ? नेपालमा जस्तै कुनै मेकानिक्सलाई खबर गरिरहनु भएको त होला भन्ने ठान्छौं हामीे । चार दिन पहिले शेखरजीहरु एम्स्टरडम जाँदा पनि यसरी नै गाडी बिग्रेर दुःख पाउनु भएको रहेछ । त्यतिबेला जीवा लामिछोनेजीले सरुभक्त दाइ ,एलबी सर र मलाई जर्मनी घुमाउन लैजानु भएकाले त्यो यात्रामा छुटेका थियौं । जुन ठाउँमा हाम्रो गाडी बिग्रिएको छ , त्यहीँभन्दा केही अगाडितिर केही घर, चर्च र चिहानहरु देखिन्छन् । यहाँ उभिरहनुभन्दा त त्यतातिर जान पाए हुन्थ्यो भन्ने लाग्छ । जान पनि खोज्छौं , तर के गर्नु ? तीब्र गतिका गाडीहरु एकनास आइरहेकोले बाटो काट्न सम्भवै हुँदैन ।
गाडी बिग्रेपछि सीधै मेकानिक्सलाई डाक्न नपाइँदो रहेछ । गाडीको कम्पनी र विमा कम्पनीलाई जानकारी गराउनु पर्नेरहेछ । त्यसमा नै अर्जुनजीलाई धेरै समय लागेछ । शनिबार विदाको दिन र बिहानको समय पनि भएकोले यति गा¥हो भएको रहेछ । उहाँले हामीलाई बताउनु भएको दस मिनेटमै प्रहरीको गाडी आइपुग्छ, पल्याक पुलुक बत्ती बाल्दै । एक जना पुरुष र एक जना महिला फ्रान्सेली प्रहरीसँग कुराकानी गरेपछि उहाँ भन्नुहुन्छ ‘अब विमा कम्पनीले गाडी पठाउँछ ।’
प्रहरीको गाडी गइसकेको थियो । अब हाम्रो काम भनेको कतिबेरमा अर्को गाडी लिन आउला भनेर कुर्नु बाहेक केही छैन । झलमल्ल घाम लागेको दिन छ । अर्को समूहमा आउने साथीहरुलाई समेत टिकट लिइदिने कुरा गरेका थियौं । अब हाम्रो लागि पो भन्नुपर्ने हो कि जस्तो हुनथालेको छ । जाने कतै ठाउँ छैन । बस्न मिल्ने ठाउँ छैन । चियाकफी पिउने ठाउँ छैन । सर्ट ट्वाइलेट जाने पनि ठाउँ छैन , नभए पनि हामी आवश्यक व्यवस्था गरिहाल्छौं ।
करिब एकघण्टापछि एउटा ट्रकजस्तो आइपुग्छ । ट्रक युवतीले चलाएकीछिन् , साथमा एक जना युवक छन्् । ट्र्क हाम्रो सेतो कारको अगाडि मिलाएर रोक्छ । ट्र्कबाट ओर्लिएर उनीहरु केही सल्लाह गर्छन् । हामीले केही पनि बुझ्दैनौं । उनीहरु फ्रेन्च मात्र बोल्ने भएकाले राम्रोसँग कुरा हुन सक्दैन अर्जुनजीसंँग । उनीहरुको काम बिग्रेको हाम्रो गाडीलाई लिएर ग्यारेजसम्म पु¥याउने मात्र रहेछ । त्यसका लागि अर्जुनजीलाई आफ्नो ट्रकमा नै बसाले र हामीलाई चाहिं हाम्रै गाडीमा बस्न भने । त्यसपछि गाडीलाई बिस्तारै उचालेर आफ्नो ट्रकमा राखे । गाडीमाथि गाडी राखेपछि ट्र्क अगाडि बढ्नथाल्छ । हाम्रो लागि एउटा नयाँ अनुभव हुनथाल्छ । सामान्यतया यात्रामा मानिस एउटा गाडीमा हुन्छन् तर हामी दुइटा गाडी माथिमाथि बसेर यात्रा गरिरहेका छौं । त्यो पनि विश्वप्रसिद्ध पेरिसको आइफेल टावरको लागि । गाडी बिग्रेर दुःख लागे पनि नयाँ अनुभवले रमाइलो पनि बनाइरहेको छ ।
गाडी पुरानो पनि होइन रहेछ , ब्रिटिश कम्पनीको । उहाँले किनेको एघार महिनामा पहिलो पटक बिग्रिएको रहेछ । ग्यारेन्टी अवधिभित्रैको भएकोले सम्पूर्ण खर्चको जिम्मा कम्पनीकै हुने रहेछ ।
ट्रकभित्र गाडीको यात्रा करिब आधा घण्टाजतिको भयो । हाइवेलाई छोडेपछि एउटा गाउँ जस्तो ठाउँमा पु¥याउँछ । जुन मोटर मर्मत गर्ने ग्यारेज रहेछ । अब यहाँ केहीबेर कुर्नुपर्छ होला मर्मतका लागि भन्ने लाग्यो मलाई । तर कहाँ हुनु । आज शनिबार र भोलि आइतवार पनि काम हुँदैन रहेछ यहाँ । विदाको दिन विदा नै मनाउँदा रहेछन् मिस्त्रीहरु । सोमबार बल्ल जाँच गर्ने र मर्मत गर्ने काम हुनेभएकोले यहाँ त थन्काउन मात्र ल्याएको रहेछ । ट्र्कबाट हाम्रो गाडी निकालेर राखेपछि युवकले मेसिन निकालेर बिल बनाउँछ र अर्जुनजीलाई सही गराउँछ । ग्यारेजसम्म गाडी ल्याएको बिल रहेछ २२९ युरोको ।
अब के हुन्छ ? अब के गर्ने भन्ने अन्यौल झन् बढेको छ हामीमा । उनीहरु अंग्रेजी बुझ्दैनन् बोल्न त झन् जान्दै नजान्ने छन् । अर्जुनजीले भाडामा गाडी पाउने ठाउँसम्म पु¥याउने कुनै ट्याक्सीको नम्बर छ कि भनेर सोध्नुहुन्छ । उनीहरुले दिएको नम्बरमा फोन गरे पनि ट्याक्सी आउँदैन । एक घण्टाभन्दा बढी कुरेपछि गाडी कम्पनीले ट्याक्सी पठाउँदैछ भन्ने खवर आउँछ । लौ राम्रै हुनेभयो भन्ने ठान्छौं । हामीहरु सबैजना ग्यारेजको गेटबाट बाहिर निस्किन्छौं । ट्रक बाहिर निस्किनासाथ ग्यारेजको बाहिरको फलामे ढोका आफै बन्द हुन्छ ।
यात्रा आजको लागि भए पनि हामी दुई रात बाहिर बस्ने योजना भएकाले झोलाहरु पनि धेरै भएका छन् हाम्रा । च्भलयष्च नामको यो सानो गाउँ रहेछ । बिदाको दिनको बिहान भएर पनि होला खासै चहलपहल केही देखिदैन । फाट्टफुट्ट गाडीहरु कुदेका छन् सडकमा । बस पनि ढिलो ढिलो गरेर आइरहेका छन् । मान्छेहरु बस चढ्न आउने बाहेक अरु कोही देखिएका छैनन् ।
घाम चर्कंदै जानथालेपछि सामानहरु त्यहीं छाडेर सडकको पारिपट्टि जान्छौं हामीहरु । त्यसै पनि कुर्नुजस्तो नरमाइलो केही हुँदैन । त्यो पनि निकै उत्साही यात्रामा । एकछिन पनि समय खेर नफालेर हिंडिरहनुपर्ने बेलामा घण्टौको समय एकै ठाउँको ठाउँ हुनुपर्दाको बेमज्जा कहाँ व्यक्त गरेर सकिन्छ र ? त्यसमा पनि विश्वप्रसिद्ध स्थल पेरिसको आइफेल टावर जान हिंडेका बेला । छिटो पुगेर धेरै घुम्ने योजनाले हिजै बाटो छोट्याएर बास बसेका हामीहरु कतिखेर टावर पुगिएला ,कतिखेर हेर्न पाइएला, कतिखेर चढ्न पाइएला भन्ने सोचेर मन हतारिरहेको बेला सुनसान गाउँमा कुरेको कुरै गर्नुपर्दाको मानसिक पीडा अनौठो हुँदोरहेछ ।
हामी त मात्र कुर्ने हौं । जेजे गर्नुपर्छ अर्जुनजीले नै गरिरहनुभएको छ । उहाँ त्यसै पनि व्यस्त मान्छे , त्योभन्दा बढी हामीलाई दुख भयो भनेर चिन्ताले हुनसम्मको तनाव भएको छ उहाँ लाई । यहाँबाट छिटो निस्कनका लागि विभिन्न ठाउँमा फोन गरेकोग¥यै हुनुहुन्छ । प्रत्येक पटक फोन राख्नासाथ उहाँलाई हामी आशाले हेथ्र्याें । उहाँ पनि आशा गर्दै भन्नुहुन्थ्यो ‘अब आधा घण्टामा आइपुग्छ रे ।’
भनेको समयमा न फोन आउँछ न गाडी आउँछ ।
अर्जुनजी निकै रिसाएर फोन गर्न थाल्नुहुन्छ । हामी त्यसरी नै उहाँलाई आशाले हेर्छौं । उहाँ निराश भए पनि उत्साहले भन्नुुहन्छ ‘गाडी हिंडिसक्यो रे ।’ सरुभक्त दाइ अलि बढी निराश देखिनुहुन्छ ‘अब के गर्ने ?’ ‘कति कुरिरहने ?’ । ‘बर्बाद भयो ।’ हेत्तरी भनेर सुइय सुइय गरिरहुन हुन्छ । चिन्ता त सबैलाई छ । अर्जुनजी भोलि एनआरएन सम्मेलनको अन्तिम तयारीमा लाग्नुपर्छ भन्दै हुनुहुन्थ्यो । आफ्नो व्यापार व्यवसाय छँदैछ । त्योभन्दा बढी हामीलाई दुःख भएकोमा झन् बढी दुखी हुनुहुन्छ । शेखरजी युवा मान्छे, हुनुभएकोले सहजरुपमा लिइरहनु भएको छ । इन्द्रजी ‘ अब के गर्ने त नि, जे होला होला नि ’ भनिरहनु भएको छ । मैले पनि त्यसरी नै लिइरहेको छु ।
हुनेकुरा भइसकेपछि के गर्नु त ? जुन कुराको विकल्प हुँदैन । त्यसको एउटै मात्र उपाय भनेको धैर्य गर्ने मात्र त हो । धैर्य गर्न जान्नु पनि जीवनको एउटा ठूलो अभ्यास हो । फुर्सद त कसलाई छ र अहिलेको समयमा ? सबै व्यस्त छन् । एकै छानामुनि बसेका घरपरिवारका बीचमा बोल्नलाई त फुर्सद नहुने समाज छ । एउटै घरभित्र भएर पनि कोही मोइबलमा , कोही ल्यापटपमा, कोही फेसबुकमा ,कोही टिभीमा , कोही एफएममा ,कोही पत्रिकामा , कोही च्याटमा , कोही ट्विटमा व्यस्छ हुन्छन् । कसैलाई कसैसँग बोल्ने फुर्सद हँुदैन । वाध्यता भनेको यस्तै हो । परेपछि सहनै पर्छ । यो पनि जीवनको एउटा संयोग र योग हो ।
समय आफ्नो नियन्त्रणभन्दा बाहिर भएको बेला न हतार गरेर छिटो हुन्छ । न पीर गरेर सजिलो हुन्छ ।
वरपर कतै जाउँ भन्न पनि नमिल्ने । गाडी आइहाल्छ कि भन्ने आशा र हतारो पनि छ । अब त बस्दाबस्दा दिक्क पनि लागिसकेको छ । हामीलाई कुर्दाकुर्दै हाम्रो गाडी ल्याउने ट्रकले अर्को गाडी ल्याएर पनि थन्काइसकेको छ ।
कुराइको थकाइमा छौं हामी । भोक लागेको नै त हैन तर पनि कुर्ने बहानाको लागि अर्जुनजी, शेखरजी र म कतै केही खानेकुरा पाइन्छ कि भनेर दस मिनेट जति हिंडेर पूर्वतिर जान्छौंं । केही पसल छन् तर खानेकुरा नभएका । एउटा रेष्टुरेन्टजस्तो देखेर हामीभित्र छिर्छौं । तर त्यो पनि बार रहेछ । त्यतिबेलादेखि कोही वियर पिइरहेका , कोही ह्विस्की लिइरहेका । त्यहाँ पाएको इनर्जी ड्रिंक लिएर फकिन्र्छाैैं ।
एउटै ठाउँमा हामीले तीन घण्टा बिताइसकेका छौं । फ्रान्सजस्तो विकसित र व्यवस्थित मुलुकमा पनि यस्तो गैरजिम्मेवारीपन भोग्नुपर्दा अचम्म लाग्छ । तर हामीले बाँचेको जीवनशैली नै यस्तै भएकोले धेरै आश्चर्य पनि लाग्दैन । अर्जुनजीले भने यताको व्यवस्थालाई बुझ्नु भएकोले फोनमा आक्रोशित भएर बोल्नुभएको सुनिन्छ । ‘हामी यस्तो ठाउँमा छौं, न यहाँ कुनै खाने ठाउँ छ, न शौचालयको व्यवस्था छ । यस्तो ठाउँमा कुर्दाकुर्दै मेरा पाहुनाहरु बिरामी परिसकेका छन् । अब म त्यसको पनि हिसाब माग्छु । ’
संयोगले त्यसको दस मिनेटमै कालो पजेरोजस्तो गाडी हाम्रो अगाडि आएर रोकिन्छ । शरणार्थीले बास पाउन लागेजस्तो गरी हामी हतार गरेर गाडी चढ्छौं । गाडी लेटेस्ट मोडेलको छ र ड्राइभर महिला छिन् । उनले पन्ध्र मिनेट जतिपछि रोकेर अफिसमा सम्पर्क गर्न भन्दै फर्किहाल्छिन्् । हामीले आउनुपर्ने ठाउँ यति नजिक भन्ने थाहा भएको भए बेकारमा तीन घन्टाभन्दा बढी समय किन कुर्नुपथ्र्यो र ?
अफिसमा बूढी एक जना मात्र छिन् । यो गाडी भाडामा दिने अफिस रहेछ । उनले भनिन् ‘तपाईहरुको लागि मात्र कुरिरहेको हुँ । आज बिदाको दिन नत्र अघि नै बन्द भइसक्थ्यो । ’
उनलाई गाडी कम्पनीले गाडी दिन भनेको रहेछ । बूढीले अर्जुनजीलाई गाडीको बारेमा सबै बताइन् र देखाइन् पनि । उनले एउटा कागजमा सही गराइन् । त्यसपछि हाम्रो पेरिस यात्रा चौथो कारबाट अघि बढछ ।
आजको दिनको पाँच घण्टा हामीले कुरेर मात्र बिताएका छौं । अर्जुनजीले कार चलाउन थालेपछि कतिखेर पुगिने होला भन्ने हतार लाग्नथाल्छ । कतै अबेर भएर आइफेलटावर चढ्नै नपाइने पो हो कि ? मनमा शङ्काको फोका बढ्नथाल्छ । शायद अर्जुनजीले पनि बुझ्नु भएरै होला कारको गति बढाइरहनु भएको छ । विरक्त लाग्दो गरेर बिताएको समयलाई पनि हामी सकारात्मकरुपमा रुपमा उपलब्धिमूलक भएको मान्छौं । अन्यथा फ्रान्सको त्यो गाउँमा हामी कुनै पनि योजनाले पुग्नैसक्ने थिएनौं ।
बिदाको दिनमा टावर वरिपरि सजिलोसँग पार्किङ पाउनु त चिठ्ठा परेजस्तै हुँदोरहेछ । हाम्रो पनि धेरैबेर घुमेपछि मात्र पार्किङको लागि ठाउँ पाइएको थियो ।
बेल्जियमबाट हामीभन्दा टाढाको ठाउँबाट ढिलो हिंडेका साथीहरुसँग भेट हुन्छ । हामी हाम्रो दुःख सुनाउँछौं । केही साथीहरुले सहानुभूति प्रकट गर्नुहुन्छ , केहीले भने वास्ता गर्नु हुँदैन् । जहाँ पुगेको भए पनि आखिर हामी नेपाली नै हौं नि । मलाई त्यस्तै अनुभूति हुन्छ ।
उहाँहरु फर्कन हतारिँदै हुनुहुन्थ्यो । हामी भने आइफेल टावर चढ्नलाई हतारिरहेका थियौं । माथि चढ्न जानेहरुको लाइन निकै लामो थियो । लाइनमा बस्दा घडीमा पौने पाँच बजेको थियो पेरिसको ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 25 चैत्र, 2073

लेखकका अन्य रचनाहरु