बजगाईंसँग युरेसिया घुम्दा

- बासु श्रेष्ठ

‘संसार एउटा पुस्तक हो, जसले यात्रा गरेको छैन, त्यसले एक पाना मात्र पढेको हुन्छ’ – सेन्ट अगस्टिन कृष्ण बजगाईंले उनको सातौं कृतिको रूपमा नियात्रा संग्रह ‘युरेसियाको स्पर्श’ मा आफ्नो कुरा दार्शनिक सेन्ट अगस्टिनको उल्लिखित भनाइबाट आरम्भ गरेझैं मैले पनि सोही भनाइबाट आफ्नो टिप्पणी आरम्भ गर्ने निर्णय गरें । तर, यो संसार यति विशाल र भीमकाय छ कि सबैजना सबै ठाउँमा पुग्न सक्दैनन् मात्र होइन कि कतिपय स्थानहरूमा पुग्नै असम्भव हुन्छ ।

हाल आएर माथिको भनाइ असत्य ठहरिए पनि उपरोक्त भनाइअनुसार भ्रमण नगर्ने व्यक्ति कुवाको भ्यागुतो नै पो हुँदो रहेछ । यो ब्रह्माण्ड भ्रमण गरिसाध्य नभए पनि आफ्नो कुवाबाट बेलाबखत फुत्त बाहिर निस्किएर चिसो हावा खाएर, खुला आकाश हेरेर फेरि फुत्त कुवाभित्रै पस्न त सकिन्छ भन्ने आशय हुन सक्छ स्वर्गीय अगस्टिनको । हो, त्यति पनि नगर्नेहरूले भने संसारको एक पाना त के आधा पाना पनि पढेको हुन्न । सबै सबै ठाउँमा पुग्न सकिँदैन । तर, कोही न कोही भने अवश्य पुगेका हुन सक्छन् । र, त्यस्ता व्यक्तिहरूले त्यस स्थानका बारेमा पुग्न नसकेकाहरूलाई जानकारी दिन सक्छन् । जसलाई यात्रा संस्मरण या नियात्रा भन्न सकिन्छ । त्यसकारण, सकेसम्म एकै ठाउँमा बसीबसी यथासम्भव संसारको जानकारी दिने काम नियात्राले गर्दछ । त्यसैले, नियात्रा मेरा लागि महाभारतको युद्धमा धृतराष्ट्रले प्रत्यक्ष प्रसारण सुनेजस्तै हो भन्ने लाग्छ । अर्थात्, नियात्रा यस्तो विधा हो, जसले संसारको भ्रमण ओछ्यानमै बसीबसी गराउँछ । अनि यहीँनिर सेन्ट अगस्टिनको भनाइ असत्य ठहरिन आउँछ । पक्कै त्यसबेला नियात्रा विधाको सोच नै थिएन र त्यो भनाइ त्यतिबेला प्रख्यात भयो होला । तर, अब त्यस भनाइको जमाना गयो ।

सबैका लागि यात्रा गर्न सम्भव हुँदैन । अर्काेतिर कोहीकोही यदाकदा यात्रा गरिरहने हुन्छन् । यात्रा गर्नेहरू सबैले आफ्नो थातथलोमा फर्किएपछि आफ्ना अनुभव बाँड्न सक्छन् या चाहन्छन् भन्ने जरुरी छैन । तर, यात्राबाट फर्किनेहरूले आफूले देखेभोगेका अनुभवहरू बाँड्यो भने सुन्नेहरूका लागि फाइदाजनक नै हुन्छ । तिनीहरूले केही हदसम्म ज्ञान प्राप्त गर्दछन् ।

यात्रा साहित्यको इतिहास निकै नै लामो रहेको छ । पहिलो यात्रा साहित्य पछ्याउँदै जाने हो भने हामी दोस्रो शताब्दीमा पुगेर ग्रिसेली पाउसानियासको यात्रा विवरणलाई भेट्न सक्छौं । उनले आफूले देखेका स्थानहरूको विशेष गरेर भौगोलिक वातावरण तथा अवस्थाको विवरण प्रस्तुत गर्ने गरिएको पाइन्छ । यसरी आज हामी २१औं शताब्दीसम्म नियात्राको प्रचलन पछ्याइरहेका छौं । तर, यसको प्रस्तुतिको प्रकृतिमा भने निकै भिन्नता आएको हामी सहजै बुझ्न सक्छाँै ।

यसै प्रसंगमा हामी नेपालीहरू जंगबहादुरको बेलायत यात्रालगायत युरोपको यात्रा हुँदै ताना शर्माको बेलायततिर बरालिँदा होस् या पाताल प्रवास होस्, अनि घनश्याम राजकर्णिकारको विदेशको यात्रा, स्वदेशको सम्झना होस् या २०६६ को मदन पुरस्कारबाट पुरस्कृत युवराज नयाँघरेको एक हातको तालीसम्म आईपुगेका छौं । हालसम्म थुप्रै नियात्रा प्रकाशित भएका छन् । कतिपय विनाचर्चा ओसिएको बारुदझैं ओसिनुपरेका छन् भने केहिले चर्चा पाई पुरस्कृत नै भएका छन् । यसरी प्रकाशित हुने कृतिहरूको मेलोमा मिसिन आउने पछिल्लो कृति कृष्ण बजगार्इंको ‘युरेसियाको स्पर्श’ हो । उनका आफ्नै कृतिको गणनामा भने यो सातौंकृति रहेछ ।

माथि भनिएझैं आफू संसारको सबै स्थानमा पुग्न सकिन्न । त्यसकारण, आफू पुग्न नसकेको स्थानमा अरू कोही पुगेर त्यस बारेमा लेखिएका कृतिहरू मेरा लागि ज्ञानको भण्डार हुने अनुभव गर्दछु । अझ म आफैं पुगेको स्थानमा अरू पुगे पनि अनुभूति भिन्न हुन सक्छ । मैले अनुभव नगरेको अरूले गरेको हुन सक्छ । त्यसकारण, यो विधा मेरा लागि प्रिय रहेको छ ।

साझा प्रकाशनबाट प्रकाशित यो कृतिमा १९ नियात्रात्मक लेख रहेका छन् । उनको हाल कर्मथलो रहेको बेलायतमा नै जन्मिएका प्रसिद्ध साहित्यकार सेक्सपियरको जन्मथलोको भ्रमणबारे लेखिएको नियात्राबाट सुरु भएर जर्मनी यात्राको लेखमा कृति टुंगिएको छ । सेक्सपियरको जन्मघरमा पारिलो घाम, त्यानमेन चोकमा घुमघामः माओको अगाडि घोक्रे ठ्याक, संसारको सबैभन्दा सानो सहर दुर्वीमा एक दिन, सिटी अफ लव’ अर्थात् पेरिसमा चारदिन, फरबिडन सिटीमा एक फन्को, पानीमुनिको

रेलयात्रा : लन्डनमा साहित्यिक भेटवार्ता, हिउँको कला, बरफको दरबार, ग्रेटवालमा संस्कृतका श्लोकहरू, अरनिकोले बनाएको स्तूप घुमेर फर्कदा, चिनियाँ कविको निवासमा माछा मार्दा, समुद्री किनारमा नेपाली अक्षर बेच्न बस्दा, माक्र्सको समाधि स्थलमा कमरेड भाउजूसँग बरालिँदा, जहाँ माक्र्सले कम्युनिस्ट घोषणापत्र लेखे मैले कविता, इभ्वार तालमा उदास मन, बेलायतमा तिन धामको यात्रा, लक्जेम्बर्गको यात्रा ः घामपानी र हिउँको जात्रा, बेल्जियमको सडकमा बरालसिङ, ब्रसेल्सको तरुनी रात, त्यो चुम्बक जुत्ता र विदेशमा जाक्ने जर्मनी यात्रारहेका छन् । बेल्जियमको सडकमा बरालसिङ नियात्रा नभएर संस्मरणको रूपमा आएको छ ।यसरी सर्ससरती हेर्दा चीन सम्बन्धी पाँचवटा लेखहरू र बाँकि सबै युरोप सम्बन्धि रहेका छन् । ती सबै रोचक तथा जानकारीमूलक छन् ।

नियात्रा मैले दुई प्रकारको रहेको पाएको छु । एक विवरणात्मक, अर्काे विवरणात्मक र सूचनामूलक । मैले बजगाईको यो कृति पछिल्लो प्रकारको पाएको छु । उनी जहाँजहाँ पुगेका छन् ति स्थानको ऐतिहासिक, भौगोलिक, आर्थिक, राजनैतिक, सामाजिक अवस्थाको बारेमा उनले जानकारी दिएका छन् । र त नियात्राले पूर्णता लिएको अनुभव मैले गरेको छु । कुनै स्थानको भ्रमण गर्नु एउटा कुरा हो भने त्यस स्थान सम्बन्धि सम्पूर्ण जानकारी बटुलेर पाठकलाई जानकारी दिनु बेग्लै कुरा हो । बजगाईको यस कृतिले पछिल्लो काम गरेको छ ।

विदेशमा देखेभोगेका कुराहरूलाई घरदेशसँग तुलना गरिनु पनि यो कृतिको मूल विशेषता हो । यसले के देखाउँछ भने अन्य देशको विकास प्रसंगसँग आफ्नो देशसँग तुलना गर्ने सायद प्रवासीको मूल लक्षण हो । र यस्तो प्रसंग कृतिकारले विभिन्न स्थानमा गरेका छन् । देशप्रतिको नोस्टाल्जिक पक्कै मानवेत्तर गुण हो । जन्मथलो छोडेर देशकै अन्य भागमा पुग्दा आफ्नो जन्मथलोसँग तुलना गरिन्छ भने विदेश गएपछि सिंगो देशसँग तुलना गरिन्छ । यो एक संवेदनशील व्यक्तिको लक्षण हो । बजगाईंले हरेक नियात्रामा यसरी नै प्रस्तुत भएका छन् ।

प्रत्येक लेखका बारेमा सूक्ष्म धारणा राख्नुभन्दा पनि कृतिमा घत लाग्ने प्रसंगहरूको उल्लेख गर्न चाहन्छु । यस्ता प्रसंगहरूले समग्र कृति रोचक बनेको छ । नियात्रामा उनले देश प्रेम यसरी उजागर गरेका छन् ‘….देब्रे हातले समुद्रको पानी छोएँ । मनमनै सोचें समुद्रको पानी नदीले बनेको हुन्छ । नदी हिमालले । हाम्रो हिमाल पग्लेर ठुलाठुला नदी बन्छन् । आखिर मेरो देशका नदीहरू कुनै न कुनै माध्यमले समुद्रमा मिसिन्छन्। …हिमाल सम्झिँदा त्यो पानी आफ्नै जस्तो लाग्यो । हत्केलामा लिएर हेरेँ । अहँ केही फरक थिएन ।’

उनी लेख्छन् ‘…एक त पैसा आउने । अर्काेतर्फ विदेशमा नेपाली भाषा चिनाउन पाईने । एकाएक पैसाको लोभ र विदेशमा नेपाली भाषाप्रतिको प्रेम जागेर आयो ।’ अनि चिनियाँ अक्षरसँग जोरी खोजेर नेपाली अक्षर बेच्न बस्छन् ।

बजगाईं कुनै एक भेटघाटको कार्यक्रममा विदेशीसँग चिनाजान गर्ने क्रममा उनलाई भारतीय हो भनेर सोधेको प्रश्नमा नेपाली हो भनेपछि तिमी माओवादी हो ? भनेर सोधेको प्रसंग पनि रमाइले छ । त्यस विदेशीले बजगाईंको छाला हेरेर नेपाली भनेको सबै माओवादी हुन् भन्ने ठानेका रहेछन् । त्यस्तो छाप उनमा कसरी पर्न गएछ भन्ने कौतूहलताको विषय भएको छ ।

नेपालीहरू जहाँ पुगे पनि कार्यक्रम ढिला आरम्भ गर्ने प्रसंग पनि बजगार्ईंले गरेका छन् । हुन पनि हामी दास मनोवृत्तिको भएर हो कि विदेशीहरूले गरेको कार्यक्रममा भनेकै समयमा जसरीपनि पुग्छौँ । विदेशतिर रहँदा फोहोर फाल्नु परे ट्रयास क्यान खोज्दै हिँड्छाँै । तर देशभित्र पस्ने बित्तिकै फलानो देशमा त यस्तो छ बाबै भन्दै सडकमै हाक्क थु.. गरिहाल्छौँ । त्यसैगरी नेपालीहरू बिच हुने कार्यक्रममा ठिक समयमा पुगियो भने मानौँ महाबइज्जत होला कि भनेजस्तो गर्छन् ।

युरोपमा क्रिस्चियन धर्म मान्नेहरूको कमी भएको प्रसंग रहेको छ । यो पढेर म एकछिन घोरिएँ । युरोपमा यसो हुनु के आप्रवासीहरूको वृद्धिकै कारणले हो त? या धर्म परिवर्तनको लहर चलेको छ ? हो, चर्चलाई मैलेपनि एक प्रकारले व्यापारकै रूपमा लिएको छु । किनभने अमेरिकामा प्रत्येक ब्लकमा भने जस्तो चर्चहरूको स्थापना भईरहेको मैले देखेको छु । अमेरिकामा चर्च चलाउने पादरीहरूलाई तथा चर्चलाई करको छुट्टै व्यवस्था गरिएको हुन्छ । शायद यसैको फाईदाको लागि हुन सक्छ बर्षेनी चर्चहरूको स्थापना हुने गरेको देखेको छु । तर, युरोपमा भने यसको ठिक उल्टो भएको पढ्न पाउँदा अचम्म लागेको छ ।

संग्रहमा ‘गु’ को प्रसंग पनि रमाइलो छ । घरमा खाना खान बोलाएर कसैले ‘गु’ कस्तो छ भन्यो भने कसलाई दिगमीग नलाग्ला र? पाहुना लाग्न गएका लेखक बजगाईलाई ‘गु’ मीठो लाग्यो भन्नु कि नभन्नु? यस्तै आपत्मा परेका बजगाईंको प्रसंग रमाईलो रहेको छ ।

चीन यात्राको क्रममा कृतिकारले निकै ठाउँमा तिब्बतपनि पुगेको उल्लेख गरेका छन् । तर तिब्बत सम्बन्धि एउटा पनि नियात्रा संग्रहमा नहुनुमालेखकले तिब्बतको नियात्रा लेख्दै नलेखेका हुन् कि यस कृतिमा नपरेको हो ? हुन त लेखकले पक्कै लेखे होलान् भन्ने अनुमान गरेपनि यो कृतिमा किन परेन भन्ने मेरो प्रश्न अनुत्तरित नै रहेको छ ।

चीनको भ्रमणका सहयोगी यु फुंग दाईले अफ दि रेकर्ड भनेर सन् १९८९ मा भएको मानव संहारकारी त्यानमेन स्क्वायरमा भएको घटनाको बारेमा भनेका कतिपय कुराहरू आफुले थाहा पाएँ भनेपनि यसलाई सार्वजनिक गर्न नसक्नुमा अलि खल्लो अनुभव गरेँ । तिनताका प्रकाशमा आउन नसकेका कुराहरू आफ्नो जानकारीमा आएपछि आफुले प्रकाशन गर्दा केहि फरक पर्दैनथ्यो होला भन्ने मलाई लाग्छ । मानवाधिकार र प्रजातन्त्रकालागी लड्नेहरूका बिरुद्ध निरंकुश सरकारव्दारा गरिएको कुनैपनि घटनाको खुलासा गरिनुपथ्र्याे । यदि यसो गरिएको भए बजगाई यो कृतिको रोचकता अझ बढ्ने थियो ।

कृतिमा संगृहित लेखहरूमा भ्रमण गर्दाको साल र महिना उल्लेख भएको भए लेखलाई सामयिक ढंगले पढ्न पाठकलाई सजिलो हुँदो हो । समग्रमा बजगाईँको युरेशियाको स्पर्श रोचक, जानकारीमूलक र पठनीय रहेको छ । बजगाईं मार्फत हामी धृतराष्ट्र पाठकहरू घरमै बसेर विभिन्न स्थानमा विचरण गर्छाैँ । युरेसियाको स्पर्शमा भाषा शैलीको मिठास छ । सङ्ग्रह रोचक प्रसंग, घोचपेच, व्यंग्य आदिले भरिपूर्ण रहेको छ । लघुकथासंग्रह, कथासंग्रह, हाइकुसंग्रह, डिजिटल अन्तर्वार्ता आदि कृति प्रकाशित गरेपछिको यो पछिल्लो कृतिले उनी सिद्धहस्त लेखक रहेको प्रमाणित हुन्छ ।

भर्जिनिया, अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 25 चैत्र, 2073

लेखकका अन्य रचनाहरु