पाठकको अदालतमा

- लीला लुइटेल

काठमाडौँ जिल्ला, कीर्तिपुर नगरपालिका— १ निवासी म लीला लुइटेल अहिले नेपाली साहित्यका पाठकको कठघरामा उभिएकी छु । नेपाली महिला कथाकार, नेपाली महिला उपन्यासकार, नेपाली महिला साहित्यकार, नेपाली कवितामा महिलालेखनलगायत मेरा अन्य थुप्रै सन्तानहरू शिरमा राखेर म जे बोल्छु सत्य बोल्छु, सत्यसिवाय केही बोल्दिन भनी प्रतिज्ञा गर्दछु ।
नेपाली साहित्यप्रति मेरो अगाध आस्था रहेको छ । त्यसमा पनि नेपाली साहित्यमा महिलाको अवस्थितिका बारेमा अलि अगाडिदेखि नै मेरो विशेष चासो रहेको छ । यसको प्रमाणस्वरूप माथि उल्लेख गरिएका मेरा सन्तानका अतिरिक्त थुप्रै लेखहरू यसका साक्षी छन् । तीमध्ये कतिपयमा मैले नेपाली साहित्यको इतिहासमा महिलाबारेमा लेखिएका त्रुटि एवं कमीकमजोरीको चर्चा गरेको तथ्यसँग मान्यवर पाठकवर्ग जानकार नै हुनुहुन्छ ।
केही समययता नेपाली साहित्यमा देखापरेका अनेक पुस्तकहरूका नाममा भाँडभैलो मच्चाउने जुन प्रयास गरिएको छ त्यस खाले क्रियाकलापप्रति मेरो घोर आपत्ति रहेको कुरा म मान्यवर पाठकसमक्ष हार्दिकतापूर्वक निवेदन गर्दछु । मैले केही समय यता चर्चा गरेका कृति अनेकथरी भाँडभैलोले भरिपूर्ण छन् । पहिलो कृतिको समीक्षा गर्दा यसमा भएका अनेकथरी विसङ्गत पक्षलाई चिरफार गरेर देखाइदिँदा त्यसको छ महिना पनि नपुग्दै रातारात गरी छपाइएको अर्काे पुस्तकमा तिनै भाँडभैलोको पुनरावृत्ति हुँदा पुस्तक देख्ने सबै पाठकहरू आश्चर्यचकित हुनु भएकै हो । पछिल्लो पुस्तकको चर्चा गर्दा तिनै भाँडभैलो किन दोहोरिएका होलान् भन्ने प्रश्न पुनः मैले उठाएकै हो । अगिल्लो लेखमा शारदा कोइराला, गङ्गा श्रेष्ठ, रश्मिशेखरलगायतका साहित्यकार महिला नभई पुरुष हुन् भनी मैले प्रामाणिक ढङ्गले उनीहरूको परिचय दिँदादिँदै पछिल्लो पुस्तकमा फेरि पनि तिनैलाई महिला साहित्यकारका रूपमा चर्चा गर्न नछोडिएको कुरा साँचो हो । मेरो उक्त लेखलाई चुनौती दिँदै पछिल्लो पुस्तकमा त अझ देविका तिमल्सिना, चमा थुलुङ, दिवा चेमजोङ तथा सिक्किमका सानु लामालाई समेत थपेर महिला साहित्यकारका रूपमा चर्चा गर्न बाँकी नराखिएको यथार्थ पनि जगजाहेर नै छ । मैले उल्लेख गरेका पुस्तकमा पाइने मिथ्याङ्कको चर्चा गर्दै जाने हो भने तीभन्दा ठूलो आकारको एउटा सिङ्गो पुस्तक बन्ने स्थिति रहेको छ । ‘नेपाली साहित्यमा हावादारी विश्लेषण’ अथवा ‘नेपाली साहित्यमा भाँडभैलो’ शीर्षक कुनै पुस्तक तयार पार्न कसैले चुनौती दिन्छ भने त्यो चुनौती म सहर्ष स्वीकार्न तयार छु ।
यसरी एउटै गल्ती पटकपटक पुनरावृत्ति भएको हुनाले दुई बेग्लाबेग्लै पुस्तकको समीक्षा गर्दा नाम एवं सन्दर्भ मिल्न गएर लेख दोहोरिएको भ्रम पाठकवर्गमा पर्न गएको भए यसका लागि म हार्दिकतापूर्वक क्षमा याचना गर्दछु । यस सन्दर्भमा एउटै लेख दोहो¥याएको नभई सन्दर्भहरू मिल्न गएको मात्र हो तथ्य भन्ने बुझिदिन आदरणीय पाठकवर्गसँग म विनम्र अनुरोध गर्दछु । गल्ती काम गर्ने मानिसबाटै हुन्छ हो काम नगर्नेबाट कदापि हुँदैन भन्ने कुरा पनि मैले धेरथोर बुझेकी छु । यहाँनेर मैले नबुझेको कुरोचाहिँ कसैले गल्ती देखाइदिए आपूmलाई सुधार्नतिर लाग्ने कि साम, दान, दण्ड, भेदजस्ता शास्त्रीय सन्दर्भको दुरुपयोगका लागि असफल प्रयास गर्ने ? आपूmले मात्र नसकी हुल बाँधेरै भए पनि गल्ती देखाइदिनेलाई धम्की दिने अनि बारबार तिनै गल्ती पुनरावृत्ति गरिरहने हो र हजुर ? मैले यहाँ बयान दिइरहँदा हजुरहरूका मनमा प्रश्न उठ्यो होला, ‘हैन यति ठूला विद्वान्हरूले पनि एउटै गल्ती बारम्बार दोहो¥याउँछन् र ?’
ए हजुर, भएकै त्यही हो । महामहिम विद्वान्हरूका पुस्तकमा भएका त्रुटि एवं कमजोरीलाई देखाइदिँदा प्रतिक्रिया दिने निहुँले समीक्षा गर्नेकै आलोचनामा समय र श्रम खर्च गर्नुको साटो आपैm“ले लेखेको सामग्री गम्भीरतापूर्वक पढेको भए कल्याण हुन्थ्यो कि ? शक्तिको आडमा रहेको भ्रममा परेर वास्तविक पक्षलाई सम्बोधन नगरी ओझेलमा राख्ने असफल प्रयास यस धर्तीका कुनै पनि मनुवाका लागि पनि उपलब्धिमूलक हुँदैन होला सायद । त्यसैले एक ठाउँमा नभई अनेक ठाउँमा आपैm“द्वारा लिखित सन्दर्भ एकपटक गम्भीरतापूर्वक पढेर मात्र आनो विचार सार्वजनिक गर्न सम्बन्धित विद्वान्हरूलाई हार्दिकतापूर्वक अनुरोध गर्नुबाहेक म बबुरीसँग अरू कुनै विकल्प छैन है हजुर ।
अर्काेतिर “पुस्तकमा नारीका जस्ता देखिने केही पुरुष लेखकका नाम महिला लेखकका रूपमा परेको भनी औँल्याउनु भएकोमा धन्यवाद । के कति सही र गलत हो, यो पनि छलफलकै विषय बन्ने छ” भन्दै आपूmले नारी भनेर चर्चा गरेका पुरुष साहित्यकारहरूका बारेमा छलफल गर्नुपर्ने आवश्यकता पनि देखाइएकै हो । वादेवादे तत्वबोध जायते भनेजस्तै कुनै पनि विषयमा छलफल हुनु त अति उत्तम हो नि । उहाँहरूले कृति विश्लेषणसहित महिला साहित्यकार भनेर उल्लेख गरेका यशु श्रेष्ठ, शारदा कोइराला, शशि भण्डारी, कुमुद अधिकारी, रश्मिशेखर, गङ्गा श्रेष्ठ, गङ्गा उपाध्याय, देविका तिमल्सिना, दिवा चेमजोङ, सानु लामाजस्ता साहित्यकार नारी हुन् कि पुरुष हुन् भनी छलफल गर्नुपर्छ भन्ने उहाँहरूको प्रस्ताव मलाई सारै मनप¥यो । यस बारेमा कुनै व्यक्ति वा संस्थाले कुनै दिन छलफल गरायो भने यिनीहरू शतप्रतिशत नारी नै हुन् भनिदिनु हुन त्यस कार्यक्रममा उपस्थित हुनुहुने नेपाली साहित्यका आदरणीय पाठकसमक्ष अनुरोध गर्नुबाहेक अर्काे विकल्प हाललाई मेरोचाहिँ दिमागमा आएन है ।
कसैको आलोचना गर्नु मेरो पेसा पटक्कै होइन अनि रहर र रुचिचाहिँ झनै होइन । कसैलाई गाली एवं आलोचना त विना प्रमाण पनि गर्न सकिन्छ तर सप्रमाण यस्ता कुरा केलाउनु अनुसन्धानकै एउटा पाटो हो भनेर उहिले लाटाबुङ्गाले पनि भन्थ्यो रे । यसलाई परपीडन, छिन्द्रान्वेषण जेजस्ता विशेषण दिन पनि तपाईं पाठकवर्ग स्वतन्त्र हुनुहुन्छ । यसप्रकारका भाँडभैलोले नेपाली साहित्यलाई पार्नसक्ने नकारात्मक असरप्रति गम्भीर एवं चिन्तित हुनु मेरो अपराध हो र हजुर ? सामान्यतया कुनै पनि तिथिमिति, पुस्तक तथा लेखकको नाम गल्ती हुनुलाई प्रुफ गल्ती अथवा आइस्लिप, पेनस्लिप सम्झेर कहिलेकाही“ चित्त बुझाउन सकिन्छ । अनि अहिले कम्प्युटरमा पुस्तक सेटिङ गर्दा प्रयोग गरिने केके जाति नामगरेका सफ्टवेयरमा सामग्रीका अंशअंश काटेर व्यवस्थित गर्नुपर्ने रैछ नि त । बिहे नगरे पनि जन्त त गएको छु नि हो म पनि भनेजस्तै यस्ता गल्तीबारे धेरै नजाने पनि अलिअलिचाहिँ मलाई पनि थाहा छ । मैले यस खालका झिनामसिना गल्तीको कुरा गरेको नभई सम्बन्धित पुस्तकै नदेखी–नहेरी मनोमानीपूर्ण ढङ्गले कपोलकल्पित हावादारी विश्लेषण गरिएको स्थितिलाई मात्र सङ्केत गरेकी हुँ । यसखाले मनगढन्ते, कपोलकल्पित हावादारी विश्लेषणलाई चाहिँ मेरा भाषामा काम गर्दाको झिनामसिना त्रुटि एवं गल्ती नभनी जानीजानी सिर्जना गरिएको भाँडभैलो भनिन्छ, हजुरहरूका भाषामा के भनिन्छ जानकारी पाऊ“ है ।
यस धर्तीमा सर्वज्ञ भएर जन्मिएको कोही छैन सायद, कोही कतै जन्मिएका छन् कि छैनन् मलाई थाहा छैन । यदि कतै छन् भने सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु तथा संहारकर्ता महेश्वरले त गल्ती गर्छन् भने हामी जाबो मनुवाको के कुरा गर्नु ? काम गर्ने मान्छेबाट झिनामसिना गल्ती हुनसक्छ भन्दैमा आपूmले काम गर्ने क्षेत्रमा अलिकति पनि अद्यावधिक नभए त्यसप्रकारको काम गरेको भनी घोक्रो फुलाउन पनि सायद मिल्दैन कि ? नेपाली साहित्यका विभिन्न क्रियाकलापमा सक्रिय रूपमा भाग लिएर हाम्रै वरिपरि घुमिरहने अनि ठाँटबाँटसहित सामाजिक सञ्जालको भित्तामा विचरण गरिरहेका अनेक प्रकारका सेल्फी र ओल्फीमार्पmत हामीलाई आप्mनो पौरख देखाइरहेका यशु श्रेष्ठ, देविका तिमलसिना, दिवा चेमजोङ, कुमुद अधिकारी, शारदा कोइराला, सानु लामा, रश्मिशेखरलगायतका सार्वजनिक पहिचान बनाइसकेका व्यक्तित्वलाई पनि यत्रो हुलले चिन्न नसकी यसरी अन्योल सिर्जना गर्नु विद्वान् महोदयहरू समसामयिक परिवेशप्रति अद्यावधिक एवं जिम्मेवार नभएको पो हो कि ? अझ एउटै संस्थामा आपूmसँगै काँधमा काँध मिलाएर हिँड्ने मित्रका बारेमा पनि सामान्य जानकारी राख्न नसक्नेले ‘अर्काले गर्न नसकेको कुरा पूरा गर्न नै आपूmले काम गर्नुपरेको’ धमास दिन मचाहिँ पटक्कै सक्दिन । यति पनि भएन रे लौ, अर्काले सार्वजनिक गरिदिएका तिनै मिथ्याङ्कलाई पुनरावृत्ति गर्दै शक्तिको आडमा रहेको भ्रममा परी हत्केलाले सूर्यलाई छेक्नु ठूलै बहादुरले मात्र सक्छ, मजस्तो लरोतरोले सक्दैन । यस कार्यमा काँध थाप्नु त परै जावस् राम ∕ राम ∕ भन्न पनि सकिन्छजस्तो मलाईचाहिँ लाग्दैन है । यस्ता महान् कार्यका बारेमा जानकारी नहुँदा पछिल्लो पुस्ताले नेपाली साहित्यको अध्ययन गर्दा यिनै पुस्तकमा भएका सामग्री सार्दा हालत के हुन्छ होला ? यहाँ त ‘बुढी मरी भन्दा पनि काल पल्क्यो भन्ने डर’ यस सन्दर्भमा ठ्याक्कै लागु भइसकेको छ ।
नेपाली भूमिबाट भएका यिनै हावादारी विश्लेषण एवं मिथ्याङ्कलाई आधार मानी सिक्किम निवासी एकजना भाइले एउटा मोटै पुस्तक प्रकाशन गरिसकेका रहेछन् । तिनले पनि दायाबाया कतै नहेरी तिनै सामग्री खुरुखुरु सारिदिएछन् । अनि अर्काेतिर २०७१ मङ्सिर २७ गते नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा साहित्य, कला, सङ्गीत प्रवद्र्धन समाज मकवानपुरद्वारा आयोजित आख्यान विमर्श तथा सिर्जना वाचन कार्यक्रममा घनश्याम घिमिरेद्वारा प्रस्तुत गरिएको ‘२०६० को दशकमा नेपाली कथा’ शीर्षक कार्यपत्रमा पनि जस्ताको तस्तै स्वाहा गरिएछ । यसमा ती सिक्किमे भाइ र घनश्याम घिमिरेको दोष कति प्रतिशत छ, त्यो देखाउने कामचाहिँ कुनै गणितज्ञलाई जिम्मा दिनुपर्छजस्तो मलाई लाग्छ । यसरी सप्रमाण थप सूचनासहित यथार्थ देखाइदिनेकै आलोचना गर्नुलाई पाठक महोदयले कुन रूपमा लिनुहुन्छ मलाई थाहा छैन तर मेरा दृष्टिले चाहिँ यस्ता कार्य कुनै पनि पक्षबाट विवेकपूर्ण देखेन है हजुर ।
अहिले हामी बाँचेको युग एकाईसौँ शताब्दी रे, विद्युतीय सञ्चारको युग रे । अहिले हाम्रा हातमा के छैन ? कसैको बारेमा हामीलाई जानकारी चाहिए एक मिनेटभित्रै सम्बन्धित व्यक्तिसँग हाम्रो भेट हुनसक्छ । आप्mनै खाटमा बसीबसी आपूmले चाहेको सूचना प्राप्त गर्नसकिने सुविधा हामीलाई ग्राहमबेल, मार्क जुकरबर्गजस्ता महान् व्यक्तिले उपलब्ध गराइदिएकै छन् नि । फेरि अहिले त हरेक व्यक्तिले किताबको पछाडि फोटो, परिचय राखेकै छन् त । पुरुषको फोटो राखिएका कृतिलाई मनचिन्ते ढङ्गले महिलाका भनेर चर्चा गर्नुजस्तो ठूलो सुकर्म र पुरुषार्थ अरू केही हुनसक्छ यस धर्तीमा ? योभन्दा पनि अर्काे बहादुरी त एउटै समितिमा आबद्ध एवं काँधमा काँध मिलाएर हिँड्ने बन्धुको नेवारी भाषामा लेखिएको कृतिलाई नेपाली भाषामा लिखित भनेर अनेक अलङ्कारका साथ विश्लेषण गर्न आजसम्म कसले हिम्मत ग¥यो ? इतिहासकै उल्लेखनीय पात्र तथा नेपाली जातिकै गौरवको रूपमा रहेका व्यक्ति तथा ‘उपाध्याय पोखरेल’ की छोरी एवं ‘लुइटेल’ की गृहलक्ष्मीलाई ‘राई’ भनेर न्वारान गरिदिई ‘भारतीय र डायस्पोरा नेपाली नारी लेखनको सर्वेक्षण कार्य गर्दा हामीलाई अझ गौरवको अनुभूति गराएको छ’ भन्दै यत्रो गौरवशाली विचार अभिव्यक्त गर्ने आँट कसैले गरेको छ ? यस्ता हिम्मतपूर्ण कर्म त इतिहासमा न हिजो कसैले गर्नसक्यो, न भोलि कसैले गर्न सक्छ, भूतो न भविष्यति ∕
अझ शान्ति पराजुलीको प्रभा नामक कथा सङ्ग्रहका कथा त अत्यन्त राम्रा छन् रे । प्रस्तुत पुस्तक मैलेचाहिँ आजसम्म पढ्न त के देख्न पनि पाएको छैन । बजारमा आएका यति राम्रा पुस्तक पढ्न नसक्नुलाई मेरो आफ्नै कमजोरी रहेको कुरा पनि इमानदारीपूर्वक व्यक्त गर्दै आफैँप्रति खेद प्रकट गर्दछु ।
नेपाली साहित्यलाई माया गर्ने आदरणीय पाठकवर्गले यस्ता सुकर्मलाई झिनामसिना गल्ती भन्ने दुस्साहस कदापि गर्नुहुन्न होला भन्ने मेरो अनुमान रहेको छ । यस्तै क्रियाकलापबाट नेपाली साहित्यप्रति सम्बन्धित विद्वान्हरूको समर्पण एवं गाम्भीर्यको अनुमान गर्न सकिन्छ । यस खाले क्रियाकलापले नेपाली साहित्यमा जस्तोसुकै प्रभाव परोस् न त्यसले कसको के नोक्सान हुन्छ र ? सम्बन्धित लेखकको नाम, थर, जातलगायत राष्ट्रियतासमेत मनोमानी ढङ्गले परिवर्तन गरिदिने, लेखक एवं कृतिका बारेमा हावादारी कुरा लेखिदिने, एउटा विधाको कृतिलाई अर्काे विधाको अर्काे विधाको भनी विश्लेषण नै गरिदिनेजस्ता काम गर्न त नेपाली साहित्यमै उच्चशिक्षा हासिल गरेका अनि नेपाली साहित्यको अध्ययन दरो ढङ्गले नगर्ने कसैले पनि सक्दैन । अझ एउटै कृतिमा आफैँद्वारा लेखिएका व्यतिरेकी सन्दर्भसमेत थाहा नपाउनु त लेखनप्रति ज्यानै छाडेर समर्पित हुनुको प्रमाण होइन र ? त्यस्ता विद्वान् लेखकप्रति पनि प्रश्न उठाउने मेरो ढीठ प्रवृत्तिप्रति दया लागेर सहानुभूति प्रकट गर्नुबाहेक नेपाली साहित्यका पाठकसँग अरू कुनै विकल्प छ र ? यसप्रकारका बहादुरीपूर्ण लेखन लेखेबापत पारिश्रमिक समेत प्राप्त हुनेहुँदा सम्बन्धित विद्वान् महोदयहरूलाई त गज्जबको तुष्टि मिल्छ होला र मिल्नु पनि पर्छ ।
अनि अर्काे कुरा नेपालका नारी कथाकार ः प्रवृत्ति र प्रतिनिधि कथा (२०६८) विकीर्ण अनुशीलन (२०६८, फागुन) नेपाली महिला कथाकार भाग २ नामक पुस्तकहरूमा विद्वान् महोदयहरूद्वारा उल्लिखित देउकी पराजुलीको (आघात सहने मुटु (२०६५), रत्नबाबा मल्लको विरह वेदना (२०६०), पद्मा सिंहको धरमराएका पाइलाहरू (२०५४) तथा लीला आचार्यको बीसौँ शताब्दीकी द्रौपदी शीर्षकको (कथा सङ्ग्रह २०५८) कृतिहरू मैले ठूलो परिश्रम गरेर खोज्दा पनि भेटिन हजुर । नरेन्द्र गौतमले यस पुस्तकलाई देखेको जानकारी पाएको छु । सुप्रसिद्ध साहित्यकार शारदा शर्मालाई त यो पुस्तक असाध्यै मनपरेको पनि रहेछ । यसैले उहाँले यात्रामा जाँदा पनि यो पुस्तक बोकेर हिँड्नु भएछ र नरेन्द्र भाइको घरमा बास बसेका बेला ओछ्यानको सिरानीमै बिर्सेर जानु भएको रहेछ । यो कुरा मैले सेतो पाटी भन्ने अनलाइन पत्रिकामा नरेन्द्र गौतम भाइले तत्कालीन कानुन मन्त्री नरहरि आचार्यलाई लेखेको पत्र पढेर थाहा पाएकी हुँ ।
कुनै व्यक्तिको कर्मका लागि व्यक्ति स्वयं जिम्मेवार हुनुपर्ने चलन सर्वमान्य हुँदै हो । यसका अतिरिक्त सम्बद्ध संस्था पनि त्यसको जिम्मेवार हुन्छ कि हुँदैन यसबारे मलाई कानुनी एवं प्रशासनिक जानकारी त्यति नभएको कुरा हार्दिकतापूर्वक निवेदन गर्दछु । अझ नेपाली साहित्यको मन्दिर मानिने ठूला घरबाट यस खाले पुस्तक प्रकाशन हुँदा त्यस ठूला घरप्रति आम पाठकले के अपेक्षा गर्ने भन्ने विषयमा त्यस ठूला घरमा बस्नेको ध्यान जानुपर्ने हो कि होइन भन्नेबारे म नितान्त अनभिज्ञ छु । कुनै पनि ठूला संस्थालाई यो गर, त्यो गर भनी दबाब दिन सक्ने हैसियत म बबुरीको पटक्कै छैन भन्ने यथार्थसँग म पूर्णरूपेण परिचित छु । अनि अर्काेतिर कुनै विषयमा जाने पनि नजाने पनि कसैलाई मन परे पनि नपरे पनि मेरो ब्रह्मले देखेको कुरा प्रकाशमा ल्याउनचाहिँ म शतप्रतिशत स्वतन्त्र छु किनकि म अहिले गणतान्त्रिक नेपालमा बस्छु । अब मेरो भुत्ते दिमागले यस्तै देख्छ त कसैको केही लाग्छ ? आफ्नो रुचिका क्षेत्रमा देखिएका सत्यतथ्यलाई ओझेलमा पर्न नदिई जानी नजानी प्रकाशमा ल्याउनुलाई आफ्नो कर्तव्य ठान्नु मेरो अपराध होइन सायद । अनि यस्ता सन्दर्भ मेरो व्यक्तिगत चासोको विषय नभई नेपाली साहित्यलाई माया गर्ने सबैको चासोको विषय हो भन्न मलाई कत्ति पनि सङ्कोच लागेको छैन ।
अन्त्यमा, रत्नबाबा मल्ल, पद्मा सिंह, देउती/देउकी/देवती पराजुली, लीला आचार्य, मधुमालती प्रधान, मनकुमारी थापा एवं शान्ति पराजुलीलाई बजारमा कहिल्यै पनि नभेटिने पुस्तक लेखेर इतिहास रच्न सफल हुनुभएका म लीला लुइटेल व्यक्तिका तर्फबाट साथै नेपाली साहित्यलाई माया गर्ने सम्पूर्ण पाठकका तर्पmबाट हार्दिक बधाइज्ञापन गर्दै उहाँहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । त्यसमा पनि शारदा शर्माजस्तो सुप्रसिद्ध एवं उल्लेखनीय साहित्यकारले यात्रामा समेत बोकेर हिँड्ने प्रभावशाली पुस्तक लेख्नु भएकामा लीला आचार्यलाई विशेष बधाइ ।
आदरणीय पाठकवृन्द, आजलाई मेरो बयान यति नै हो । यसबारे थप बयान दिनुपरे पनि म सदैव तयार छु । यसमा मैले कुनै कुरा लुकाएको छिपाएको छैन । यसरी इमानदारीपूर्वक बयान दिँदा कसैका दृष्टिमा अपराध हुन गए त्यस अपराधका लागि नेपाली साहित्यका पाठकद्वारा तोकिने जस्तोसुकै सजाय भोग्न पनि म तयार रहेको बेहोरा निवेदन गर्दछु ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 25 चैत्र, 2073

लेखकका अन्य रचनाहरु