प्रवृत्तिगत विविधताका दृष्टिले समकालीन नेपाली नारीकविता लेखनको स्वरूप

- डा.लक्ष्मणप्रसाद गौतम

१. आमुखः
नेपाली साहित्यको इतिहासमा प्राथमिक र माध्यमिक कालमा नारी स्रष्टाहरूको अत्यन्त न्यून उपस्थिति देखिए पनि आधुनिककालको थालनी भएपछि भने नारी स्रष्टाहरूको केही बाक्लै उपस्थिति देखिन थालेको छ । आधुनिककालको थालनी भएपछिको धेरै समयसम्म पनि सशक्त र निर्णायक मोड ल्याउने नारी हस्ताक्षरहरूको अत्यन्त न्यून उपस्थिति रहिरहेको अवस्थामा पारिजातको उपस्थितिले नारी साहित्य सिर्जन परम्पराका लागि अत्यन्त ठूलो आधार खडा गरेको देखिन्छ नेपाली नारीकविता लेखनका सन्दर्भमा भने समसामयिक धाराको थालनी अर्थात् २०३६ सालपछिको केही खुकुलो राजनीतिक परिवेशपछि कविता लेखनका क्षेत्रमा नारीहरूको उत्साहजनक उपस्थिति रहेको देखिन्छ । यस आधारमा समकालीन मूल प्रवाहभित्र अन्तर्निहित हुँदाहुँदै पनि समकालीन नेपाली कविता र नारी स्रष्टाहरूद्वारा सिर्जित नेपाली कवितामा केही भिन्नताहरू पनि देखिन्छन् । समग्रमा, सङ्ख्यात्मक एवम् गुणात्मक दुबै दृष्टिले समकालीन नेपाली नारीकविता लेखन उर्वर देखिन्छ ।

२. नारीकविता लेखनको पूर्वपृष्ठभूमि ः आधुनिकता र समकालीनताको सन्दर्भ ः
नेपाली कविताको आधुनिक काल सुरु भएपछिबाट नारी कविता लेखनमा सचेततापूर्वक प्रयास देखिएको भए पनि धेरै पछि आएर मात्र यसले आफ्नो सशक्त धार बनाउन सफल भएको देखिन्छ । विशेषगरी वि.सं. २०३६ सालको ‘सडक कविता क्रान्ति’ देखि यताका नारी कविताहरूमा समकालीन चेतना अत्यन्त प्रवल भएर आएको देखिन्छ । समकालीन नारीकवितामा नारीवादी चिन्तन, चेतना, नारी अस्तित्वको अभिव्यक्ति पनि पाइन्छ । तर नारीकविता लेखन र नारीवादी कविता लेखन एउटै कुरा होइनन् । वास्तवमा कविता लिङ्ग, वर्ण, जाति आदिका विखण्डनहरूमा विखण्डित हुँदैन, तथापि परिवर्तित राजनीतिक र सामाजिक सन्दर्भका केन्द्रीयतामा रहेर हेर्दा विगत केही समयदेखि नारीकविता लेखन र नारीवादी कविता लेखन दुबै सशक्त र प्रभावपूर्ण रहेको देखिन्छ ।
एउटा कुरा निश्चित के देखिन्छ भने नारीवादी कविता लेखन लिङ्गराजनीतिबाट उत्पन्न परिस्थितिको उपज हो र यो मूलतः लिङ्गराजनीति सापेक्षरूपमा देखिन्छ भने नारीकविता लेखन केही निश्चित अर्थमा मात्र नारीवादी हुनसक्छ । त्यसकारण पनि नारीकविता लेखन लिङ्गराजनीति निरपेक्षरूपमा रहेको देखिन्छ । यिनै दुई सापेक्ष निरपेक्ष सम्बन्धका आधारमा हेर्दा नारीकविता लेखन लिङ्ग राजनीतिको परिवेशबाट भिन्न देखिन्छ । तापनि नारीकविता लेखनको सशक्तताका दृष्टिले नेपाली कवितामा नारीवादी कविताबाट सिङ्गो प्रवृत्तिको पहिचान हुन नसक्ने भएकाले पहिला नारीकविता लेखन हो र त्यसपछि मात्र विशिष्टीकृत रूपमा नारीवादी कविता लेखन हो र यो विशिष्ट देखिन्छ ।
समकालीन नेपाली कवितामा नारीवादी चेतना, नारीवादी चिन्तन, नारीका भोगाइ, अनुभूति, पीडा, प्रेम, सौन्दर्य आदिको पनि स्पष्ट अभिव्यक्ति पाइन्छ । नारीकविता लेखन केवल नारीलाई केन्द्रीय अन्तर्वस्तु मानेर मात्र लेखिएका छैनन्, बरु समकालीन युगजीवनका साझा भोगाइ, अनुभूति, विचार, दृष्टिकोण र युगीन चेतनाबाट पनि समकालीन नेपाली नारीकविता निकै प्रभावित देखिन्छ । युगलाई बुझ्ने र हेर्ने एउटा सामान्यीकृत दृष्टिकोण र अर्को नारी हुनाको आस्तित्विक चेतनाबाट प्रभावित नारीपरक दृष्टिकोणजस्ता दुई भिन्न हेराइ र भोगाइ नारीकविता लेखनमा मात्र पाइन्छ । आधुनिक नेपाली कविताका पछिल्लो समयावधिमा लेखिएका समकालीन नारीकविता लेखनको पृष्ठभूमि भनेको सामान्यतया सालाखालारूपमा सिङ्गो नेपाली कविताकै पृष्ठभूमि हो तापनि भक्तिभाव, राष्ट्रवादी चेतना, सामाजिक यथार्थ, नारीसंवेदना, विसङ्गतिप्रतिको व्यङ्ग्यजस्ता स्वरहरूका पृष्ठभूमिमा समकालीन नेपाली नारीकविता लेखनको आधारभूमि खडा भएको देखिन्छ ।

३. समकालीन नेपाली नारीकविता लेखनमा अन्तर्वस्तुको विविधता ः
समकालीन नेपाली कवितामा नारीस्रष्टाहरूका कविताहरूले समकालीन चेतनालाई केही भिन्नै, संवेदनात्मक र विशिष्ट किसिमले अभिव्यक्त गरेको देखिन्छ । समकालीन नारीकविता लेखनमा नारीवादी चेतनाको अभिव्यक्ति त छँदै छ साथै समकालीन युगजीवनका भोगाइ र अनुभूतिहरूलाई पनि आजका नारीस्रष्टाहरूले अभिव्यक्त गरेको देखिन्छ । समकालीन नारी कविता लेखनमा एउटामात्र विषय, प्रवृत्ति, विचार, दृष्टिकोण, चिन्तन र विशेषता पाइँदैन । विशेषतः समकालीन नारी कविता लेखनमा नारी अस्तित्व, नारी जीवनका भोगाई, पीडा, अनुभूति, प्रेम, वात्सल्य आदिको अभिव्यक्ति बढी स्पष्ट र प्रभावपूर्ण रूपमा भएको पाइन्छ ।
समकालीन नारीकविता लेखन पनि समकालीन नेपाली कविताको मूलप्रवाहको कवितालेखन हो । युगीन परिवर्तित समयले ल्याएका विभिन्न घटनावलीहरूको प्रभाव समकालीन नारीकविता लेखनमा पनि पर्ने भएकाले नारी कवितालेखनलाई समकालीन प्रवृत्तिकै रूपमा मान्नुपर्छ । समग्र समकालीन नेपाली कविताका तुलनामा समकालीन नेपाली कविता प्रवृत्तिगत दृष्टिले विविधतामय, बढी संवेदनात्मक, चिन्तन्तनका दृष्टिले बढी गम्भीर, प्रस्तुतिका दृष्टिले बढी सरल, आस्तित्विक दृष्टिले बढी तीब्र र भोगाइका दृष्टिले बढी यथार्थपरक भएको पाइन्छ । यिनै विशेषताहरूले समकालीन नेपाली नारीकवितालाई समकालीन मूलप्रवाहका कविताबाट पृथक् तुल्याउँछन् । यस आधारमा समकालीन मूलप्रवाहका नेपाली कविता र नारीस्रष्टाद्वारा सिर्जित समकालीन नेपाली कविताका बीचमा देखिने भिन्नतालाई यसप्रकार बुँदाबद्ध गर्न सकिन्छ ः
१. समकालीन मूलप्रवाहका कवितामा विविध विषय र भावलाई बढी संवेदनात्मक रूपमा अभिव्यक्त गरिएको पाइन्छ भने समकालीन मूल प्रवाहभित्रका नारीकवितामा विषय र भावलाई बढी संवेदनात्मक रूपमा अभिव्यक्त गरिएको पाइन्छ ।
२. समकालीन मूलप्रवाहका कवितामा चिन्तनपक्ष बढी छरिएकाले एउटामात्र चिन्तनको गहिराइ कम पाइन्छ भने त्यसभित्रका नारीकवितामा प्रायः एउटा एउटा मात्र चिन्तन बढी पाइने भएकाले ती बढी गम्भीर देखिन्छन् ।
३. समकालीन मूलप्रवाहका कवितामा युगजीवनका भोगाइ र पीडाहरू बढी निर्वैयक्तिक रूपमा अभिव्यक्त भएको पाइन्छ भने त्यसभित्रको नारीकवितामा युगीनजीवनका भोगाइ र पीडाहरू बढी वैयक्तिक रूपमा अभिव्यक्त भएको पाइन्छ ।
४. समकालीन मूलप्रवाहका कवितामा मानवीय अस्तित्व र मूल्यहीन जीवनको चित्रण बढी पाइन्छ भने त्यसभित्रको नारीकवितामा नारी अस्तित्व र नारीका मूल्यहीन जीवनको चित्रणा साथै तीव्र नारीवादी चेतना पनि पाइन्छ ।
५. समकालीन मूलप्रवाहका कवितामा यथार्थ र अझ बढी आलोचनात्मक यथार्थ बढी व्यङ्ग्यात्मक भएर प्रस्तुत भएको पाइन्छ भने त्यसअन्तर्गतका नारीकवितामा भोगाइको यथार्थ तीब्र भएर पनि बढी सरलरूपमा अभिव्यक्त भएको पाइन्छ आदि ।
यसबाट समकालीन नारीकवितालेखन समकालीन नेपाली कविताको मूलप्रवाहभित्रकै कविता हुन् र ती मूल प्रवाहबाट नअलग्गिएर पनि प्रवृत्तिगत दृष्टिले केही भिन्न देखिन्छन् भन्ने कुरा स्पष्ट हुन्छ । विषयगत विविधता, प्रवृत्तिगत विविधता, कथ्यलाई सोझो रूपमा प्रस्तुत गर्ने प्रवृत्ति र भाव एवम् विचारलाई गम्भीरताका साथ प्रस्तुत गर्नु आदि समकालीन नेपाली नारीकविता लेखनका विशेषता हुन् । विविध प्रवृत्ति र स्वरलाई अभिव्यञ्जित गर्ने समकालीन नेपाली नारीकविता लेखनमा पनि नेपालको राजनीतिक परिवेश, आर्थिक अनुशासनहीनता, सामाजिक विकृति र विसङ्गति, दिशाहीनता, युद्ध, हिंसा, अशान्ति, भय, संस्कृतिभञ्जनको पीडा, बिरानोपन, यान्त्रिक जडता, कामुकता, सन्त्रास, विद्रोह, क्रान्तिचेतना आदिको राम्रो अभिव्यक्ति पाइन्छ । समकालीन नारीकवितालाई नारीस्रष्टाहरूका केही समकालीन कविताहरूमा पाइने प्रवृत्तिका आधारमा विश्लेषण गर्नु उपयुक्त देखिन्छ ।

३.१. नारीका मूल्यहीन जीवनको चित्रण
समकालीन नेपाली नारीकवितामा नारीहरूको मूल्यहीन जीवनको चित्रण एउटा प्रमुख प्रवृत्ति बनेर आएको देखिन्छ । यसलाई नारी स्रष्टाहरूले विविधरूपमा अभिव्यक्त गरेको पाइन्छ ।
आँसु हतियार हो
मुस्कान हतियार हो
ठाउँअनुसार, समयअनुसार प्रयोग गर्नुपर्छ
स्थितिअनुसार परिस्थितिअनुसार उपयोग गर्नुपर्छ
स्वतन्त्र विचार राख्नु हुँदैन
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बास्नु हुँदैन ।
कुन्ता शर्मा–
पोथी बास्नु हुँदैन, समकालीन नेपाली कविता, पृ.६८
आँसु र मुस्कानको हतियार बोकेर ठाउँ र परिस्थितिअनुरूप त्यसलाई प्रयोग र उपयोग गर्नुपर्ने नेपाली नारीको नियतिलाई देखाएर नारीहरूले पुरुषप्रधान समाजमा स्वतन्त्र विचार राख्न र उन्मुक्त हाँसो हाँस्नसमेत नपाएको स्थितिलाई यस कवितांशमा अभिव्यक्त गरिएको छ । नेपाली नारीहरूले पुरुषहरूद्वारा शासित बनेर दासतापूर्ण जीवन र परतन्त्रता मात्र बाँच्नु परेको यथार्थलाई पनि यस कवितांशमा स्पष्ट पारिएको छ ।

आमा प्रत्येकपल्ट आशाका बीउहरू रोप्छिन्
तर खै ती बीउहरू उम्रिनै पाउँदैनन्
उनको छातीभित्र भत्कोको बाँध बाँध्न
परदेश गएको छोरो कहिले फर्कने होला ।
सुस्मिता नेपाल
‘आमा’, कविता, पूर्णाङ्क ६०, पृ.१०१)
काम र मामको खोजीमा परदेश गएको छोराप्रतिको मातृवात्सल्य भावलाई प्रस्तुत गरिएको यस कवितांशमा विपन्न नेपाली आमाहरूले भोग्नुपरेको आर्थिक पीडालाई देखाउनका साथै नारीहरूको आश्रित जीवनलाई पनि अभिव्यक्त गरिएको छ ।

३.२. प्रकृतिचेतनाको अभिव्यक्ति
समकालीन नेपाली नारीकविता लेखनको अर्को अवान्तर प्रवृत्ति प्रकृति चित्रण पनि हो । यद्यपि अहिले यो नवस्वच्छन्दतावादी प्रवृत्तिकै रूपमा समकालीन कविता लेखनमा पनि अभिव्यक्त भएको पाइन्छ, ।
उठेछ झोक बेसरी गड्याङ्ग मेघ गर्जियो
मसाल अग्निको झिकी चट्याङ्ग व्योम चड्कियो
झसङ्ग भै उठे सबै धरा थरर्रै थर्किइन्
अदम्य क्रान्ति भो अहो ! सतर्क सृष्टि ब्युँझिइन् ।
– प्रभा भट्टराई,
वर्षा, कविता पूर्णाङ्क ७३, पृ. १०६
यस कवितांशमा वर्षाऋतुको जीवन्त चित्र उतारिएको छ र वर्षाऋतुका माध्यमबाट प्रकृतिको कार्यव्यापारलाई पनि देखाइएको छ । मेघ गर्जिनु, आगाको मसाल झिकेर आकाश चड्किनु, पृथ्वी थर्किनु आदि ऋतुचक्रको वर्षा प्रकृतिका कार्यव्यापार हुन् । वर्षा ऋतुका यी कार्यव्यापारलाई देखाएर प्रकृतिको मानवीकरण पनि गरिएको छ र वर्षा प्रकृतिको रौद्र रूपलाई समेत प्रस्तुत गरिएको छ ।

रहस्य र रोमाञ्चले आतङ्कित
उद्दाम बेगवती शुक्ला...
अन्तर्धान भई पृथ्वीको गर्भमा
शारदा शर्मा–
‘स्मृतिगर्भ’ कविता, पूर्णाङ्क ४६, पृ. ६
यस कवितांशमा सेती नदी पृथ्वीको गर्भमा भासिएको प्रसङ्ग उल्लेख गर्दै प्रकृति चेतनालाई कलात्मक रूपमा अत्यन्तै सशक्त ढङ्गमा प्रस्तुत गरिएको पाइन्छ । प्राकृतिक सौन्दर्य र त्यसको मोहकतालाई अनुभूतिका रूपमा यस कवितांशमा देखाइएको छ ।

अविदित हिमश्यया दिव्य तिम्रा सिरानी
अनवरत छ शोभा पग्लदा झन् हिमानी
वनउपवन नौलो स्वच्छ उद्यान झैँ छ
कुसुमकलि कलाको गाथ नौलो छँदैछ ।
बुनु लामिछाने,
धन्य नेपाल आमा, विहानीका पाइलाहरू
यस कवितांशमा प्रकृतिचेतना र राष्ट्रिय चेतनाको भाव मिश्रित भए पनि प्रबलरूपमा प्रकृतिचेतना नै आएको देखिन्छ । नेपालका प्राकृतिक सौन्दर्य नै नेपालका आभूषण हुन् भन्ने भाव व्यक्त गरिएको यस कवितामा प्रकृति चेतनालाई उपमान र उपमेयद्वारा कलात्मक बनाइएको देखिन्छ ।





३.३. जीवनका सङ्गतिहीनताको प्रस्तुति
जीवनका असङ्गतिहरू, प्रतिकूलताहरू र अभिशापबाट आजको मान्छे आक्रान्त छ र उसले सङ्गतिहीनताको अभिशप्त जीवन बाँच्नुपरेको छ भन्ने कुराप्रति पनि समकालीन नारीकविता केन्द्रित भएको पाइन्छ,
कैयन् ऋतुहरू हाँगाबाट झर्दै रहे
सिसिफस श्रापबाट मुक्त भएको सपना पनि देखेँ
ब्युँझँदा श्रापको ठूलो ढुङ्गाले आफैँ किचिएको रहेछ
...र विमूढ सामुन्नेमा
छायाका अनन्त अर्थहरू बौरिएर
अग्लिँदो कालो पहाड हेरिरहेँ ।
–मोमिला
(छायाँमा कालो निद्राको समवेदना, दुर्गम उचाइमा फूलको आँधी, पृ. ५१
प्रस्तुत कवितांशमा प्रयुक्त कालो पहाड जीवनयात्राको प्रतीक हो । सिसिफसले ढुङ्गालाई घचेट्दै घचेट्दै लगेर पहाडको टुप्पामा पु¥याउनु पर्ने श्राप पाएको र ढुङ्गो पहाडको टुप्पामा नपुग्दै फेरि तल झर्ने गरेको नियमित प्रक्रियालाई मान्छेले बाँच्नका लागि र अस्तित्वका लागि सङ्घर्ष गर्नुपरेको यथार्थ कवितांशमा देखाइएको छ । श्रापको ठूलो ढुङ्गाले किचिनु सङ्गतिहीन जीवन बाँच्नुको प्रतीक हो भन्ने देखिन्छ । यस कवितांशमा चिन्तनपक्ष प्रभावी देखिन्छ ।

सात वर्षकी ठूल्कान्छी सहर झरेकी छ
राजधानी काठमाडौँ आएकी छ । घुम्न होइन
आफन्तकहाँ दुईचार दिन पाहुना लाग्न पनि होइन
भाग्य बनाउन भविष्य खोज्दै
बादीहरूसँग लहैलहैमा मिसिएर बगेकी ।
अरुणा बैद्य
काठमाडौँको आकाश र ठूल्कान्छी, समुद्रलाई आँसु चाहिँदैन पृ. १९
यस कवितांशमा युगीन वेथितिको कुरूप यथार्थलाई देखाउँदै काम र मामको खोजीमा सातआठ वर्षकी कलिली बालिका सहर अर्थात् काठमाडौँ आई काम गर्न बाध्य भएको कुरा देखाइएको छ । पढ्ने खेल्ने उमेरकी बालिकाको श्रमशोषण भएको यथार्थ प्रस्तुत गरी समाजमा देखिएको सङ्गतिहीनताको चित्रण यस कवितांशमा देखाइएको छ ।

असुरक्षित आकाशमुनि
मान्छेहरू–मान्छेको खति गरिरहेछन्
म÷जिन्दगीको भूमध्य रेखामा उभिएर
यस बखत शान्तिको कविता लेखिरहेछु ।
–विमला तुम्खेवा,
‘मैले बाँचेको वर्तमानमा मान्छेहरू उदास छन्’ । कविता, पूर्णाङ्क ७६, पृ. १६३

यस कवितांशमा असुरक्षित र सन्त्रासमय परिवेशलाई देखाएर युगीन यथार्थको चित्र उतारिएको छ । मान्छेले मान्छेकै खती गरिरहेको वर्तमान सन्दर्भमा शान्तिको कामना गर्नुपर्ने भाव देखाएर मान्छेको संहार होइन, सम्भार चाहिएको कुरा सङ्केत गरिएको छ ।

कानुन, अधिकार र भाषणमा
एकरूपता भन्दै चिच्याए पनि ...
सहानुभूतिको माला अर्पिए पनि
व्यवहारमा नितान्त एक्लो ।
–इन्दिरा प्रसार्इँ
अपाङ्ग वर्षको महारथी, समकालीन नेपाली कविता, पृ. ५७
प्रस्तुत कवितांशमा अपाङ्गप्रति सहानुभूति व्यक्त गर्दै वर्तमान विसङ्गतिपूर्ण यथार्थको चित्रण गरिएको छ । मुखले एउटा कुरा भन्ने र व्यवहारमा अर्कै प्रकट गर्ने प्रवृत्तिको प्रस्तुतिका साथै नियममा समान भए पनि व्यवहारमा अपाङ्गप्रति असमान व्यवहार भएकोे सन्दर्भलाई प्रस्तुत गरिएको यस कवितांशमा विसङ्गतिको चित्रण र त्यसमाथि व्यङ्ग्य गरिएको छ ।

३.४. मानवीय मूल्यविघटनको यथार्थको प्रस्तुतीकरण
समकालीन नेपाली नारीस्रष्टाहरूका सिर्जनामा पाइने विविध प्रवृत्तिहरूमध्ये वर्तमान समयमा देखिएका मानवीय मूल्यविघटनको यथार्थ प्रस्तुति पनि एक हो । समकालीन नेपाली नारीस्रष्टाहरूका मानवीय मूल्यहीनतालाई अभिव्यञ्जित गर्ने केही कवितांश यसप्रकार रहेका छन् –
हामीबीच हिजोअस्तिको कुरा हो
एउटा कुकुरको छाउरोको दुर्घटना
बीच सडकमा जमिसकेका रगतहरू
जसलाई हामी बारम्बार थुक्दै
ओहोरदोहोर गरिरहेका छौँ ।
–तोया गुरुङ
हामीबीच फस्टाइएका अस्पष्टताहरू, देवलघुमेपछि पृ.८० यस कवितांशमा कुकुरका छाउराको दुर्घटनाको प्रतीकविधानद्वारा मान्छेको जीवनको मूल्य कुकुरको जत्तिको पनि नभएको भाव अभिव्यञ्जित गरिएको छ । यसबाट आजका मान्छेको मानवीय जीवनमूल्य क्षय भइरहेको यथार्थ देखाइएको छ ।

कालिदास हाँगाहरू
हाँगो काटिरहेको कालिदास
कालिदास भुइँमा पछारिन्छ
कतै महाकाव्य लेख्ने कालिदास
मुक्तक नलेखिँदै ,
–भुवन ढुङ्गाना
कालिदास, समकालीन नेपाली कविता, पृ. २०४

कालिदासको प्रतीकविधानद्वारा आजका मान्छेको बुद्धिहीनतालाई प्रस्तुत गरिएको यस कवितांशमा पनि मानिसको सोचाइ तथा व्यवहार सङ्कीर्ण र निकृष्ट हुँदै गएको यथार्थलाई अभिव्यक्त गरिएको पाइन्छ ।

यो सहरमा अचेल
मानवबस्ती उन्मूलन भयो
मानव मन निमिट्यान्न भयो
मानवमन विरुद्ध भ्याक्सिन दिइयो रे !
बुख्याँचाको भ्याक्सिन ।
–सिन्धु गौतम
बुख्याँचा ः मान्छे,, शब्द मृत्यु र सपनाको हत्या पृ. २६
प्रस्तुत कवितांशमा आजका मानिसलाई बुख्याँचाको संज्ञा दिँदै मानवीय मूल्यको ¥हास हुँदै गएको र मानिस संवेदनाहीन बन्दै गएको यथार्थलाई प्रस्तुत गरिएको छ । खासगरी सहरी क्षेत्रमा मानवीय मूल्यको विघटन भएको सन्दर्भमा मानव मन र मानववस्ती नै नभएको बुख्याँचाको बस्तीका रूपमा सहरको चित्रण गरिएको छ ।

३.५. आशावादी जीवनदृष्टिको अभिव्यक्ति
विसङ्गतिहरूमाथि असन्तुष्टिका साथसाथै आशावादी जीवनदृष्टि पनि समकालीन नारी कवितालेखनको एउटा प्रवृत्ति हो । यस्तो प्रवृत्तिलाई सङ्केत गर्ने प्रशस्त कविताहरू लेखिएका छन् ः
काँक्रा र फर्सीका बीउजस्तो
पट्ट फुटेर समयअनुकूल माटो र ऋतुमा
झाँगिदै लहरिँदै जान्छन् आन्दोलन बनेर
मुक्तिका चाहनाहरू
चुँडालेर कथित बलियो बन्धनबाट
आँप, बेल र पीपलका रङ्गीचङ्गी पातहरूको ।
–पारिजात
आन्दोलन, आन्दोलन कविता, पृ. ३२
यस कवितांशमा २०४६ को जनआन्दोलनको सन्दर्भलाई प्रस्तुत गरिएको देखिन्छ । काँक्रा र फर्सीको बीउ समयअनुकूल माटो र ऋतुमा झाँगिदै जानुलाई जनआन्दोलन तीब्र र उत्कर्ष हुँदै जाने प्रक्रियासँग तुलना गरी त्यस आन्दोलनको लक्ष्य स्वतन्त्रताप्राप्ति वा मुक्तिको चाहनाका साथै आशा भएको कुरा व्यक्त गरिएको छ र स्वतन्त्रता र प्रजातन्त्रको आशा गरिएको छ ।

जीवन रहुञ्जेल, सास फेरुञ्जेल
मान्छेको सार्वभौम आस्थाको विजयका खातिर
चिच्याइरहन्छु म , बर्बराइरहन्छु म
जागृतिका स्वर्णिम गीतहरू
उन्मुक्तिका प्रमिथसीय कविताहरू
–सरिता तिवारी
जागृतिको गीत, उन्मुक्तिको कविता, अस्तित्वको घोषणापत्र, पृ.४६

यस कवितांशमा विभिन्न विम्ब र मिथकको प्रयोग गरी उन्मुक्ति र जागृतिका गीतहरू गाइरहने प्रतिबद्धता व्यक्त गर्दै विजयको आशा गरिएको छ । जीवन र प्राण रहुञ्जेल सधैँ सत्य र आस्थाको स्थापनाका लागि लडिरहने भाव व्यक्त भएको यस कवितामा जीवनको आशावादी स्वर प्रस्तुत गरिएको पाइन्छ ।

३.६. राजनीतिक आन्दोलन र युद्धपीडाको प्रस्तुति
समकालीन राजनीतिक परिवेश र त्यसले ल्याएको सन्त्रासयुक्त वातावरणका प्रभावबाट प्रभावित भएर पनि नारीस्रष्टाहरूले कविता सिर्जना गरेको देखिन्छ । युद्ध, हत्या, हिंसा र यस्तो सन्त्रासबाट उत्पन्न भयावह परिस्थितिलाई अभिव्यञ्जित गर्नु समकालीन नेपाली कविताको मु्रख्य अभिलक्षण हो । यस्ता केही अभिलक्षण भएका कवितांशहरू यसप्रकार देखिन्छ ः
टुट्टु घोडाले टाँगन घोडालाई थुनेको छ
आफ्नो टाट्नुमा र तुष्टि लिएको छ
टट्टु टिनी छापमा वायुपङ्खी टाँगनको वेग थुने भनेर
विचराले वृथा भ्रम सपना बुनेको छ ।
–अरुणा उप्रेती
बन्दी, आन्दोलन कविता, पृ. ९५
आन्दोलनमा बन्दी बनाइएकाहरूलाई सङ्केत गरेर लेखिएको यस कवितांशमा तानाशाही शासकहरूलाई टट्टु घोडाको प्रतीकका रूपमा र आन्दोलनकारीहरूलाई वायुपङ्खी घोडाको प्रतीकका रूपमा प्रस्तुत गरी आन्दोलनकारीहरूलाई थुनेर विजयी भएको गर्व गर्ने र त्यसैको भ्रम पालेर बस्ने सत्ताधारीहरूप्रति व्यङ्ग्य गरिएको छ ।

तिनका आर्तपुकार
लथालिङ्ग छन् रगतका धाराले मुछिएर
पानी छैन थोपासम्म अधिक क्रन्दनले
आँसु झर्नै नसकेको
वेदनाको एक ढिक्का हिमाल ।
–मञ्जु काँचुली
वर्तमान स्थितिको चेहरा, कविता, पूर्णाङ्क ७३, पृ.२२
प्रस्तुत कवितांशमा समकालीन चेतनाको प्रभावपूर्ण अभिव्यक्ति छ । आर्तपुकार गरिरहेका, रगतको धारले मुछिएका र अधिक क्रन्दनले आँसुसमेत झर्न नसकेका एवम् वेदनाको एकढिक्का हिमाल बोकेर बसेका अरु कोही नभई आजका नेपाली नै हुन् भन्ने भाव यहाँ व्यक्त गरिएको छ । यसबाट आन्तरिक युद्ध र सन्त्रासबाट आहत नेपालीहरूको यथार्थभित्र उतारिएको छ र यो रक्तपर्वबाट मुक्तिको चाहना पनि प्रकट गरिएको छ ।

रणभूमिमा यताउता फालिएका धारिला तरवारहरू
मेरै छाती चिर्दै पारि पुगेर कसैको मृत्यु बन्दछन् –
सम्पूर्ण संसार मास्ने एउटा बहुरूपी
घरघरमा आगो लगाउँदैछ ।’
–शर्मिला पोख्रेल
गान्धारी विलाप, कविता, पूर्णाङ्क ७६, पृ. १४८
यस कवितांशमा दशवर्षे माओवादी युद्धको हिंसापरक प्रवृत्तिमाथि विमति जनाउँदै सन्त्रस्त र द्वन्द्वजन्य परिस्थितिको चित्रण गरिएको छ । मातृभूमिलाई रणभूमिको मैदान बनाई विध्वंशको आगो बालिएको सन्दर्भ उल्लेख गरिएको यस कवितांशमा द्वन्द्वबाट जीवन र जगत् अत्यन्तै आक्रान्त भएको भाव प्रस्तुत गरिएको छ ।
रगताम्म निर्दोष फुलहरूको दृश्य नियाल्ने मान्छेहरू
मृत्युको बेहिसाब
साँझ खसेको आँगनमा....
लाम लागेका छन् ।
– गीता कार्की
हरेक दिन उज्यालो सूर्यसँगै, मलाई अँध्यारो नै चाहिन्छ, पृ.४९
यस कवितांशमा देशमा चलेको आन्तरिक युद्धजन्य परिस्थितिले ल्याएका नकारात्मक भावलाई देखाइएको छ र यसबाट नेपाली जीवन र समाजले पीडा भोग्नुपरेको कुरा प्रस्तुत गरिएको छ । कवितांशमा प्रयुक्त निर्दोष फुलहरूले युद्धको मारमा परेका नेपालीहरूलाई देखाएको छ ।

३.७. नारीवादी चेतनाको अभिव्यक्ति
समकालीन नेपाली कवितामा नारीलेखनको एउटा सशक्त र सबल पक्ष नारीवादी लेखन हो । पुरुषप्रधान समाजमा नारीहरूले भोग्नुपरेको पीडालाई आस्तित्विक चेतनाद्वारा विद्रोहका रूपमा अभिव्यक्त भएका नारीवादी कविताहरू एउटै स्वरमा नभई विविध स्वरहरूमा प्रस्तुत भएको देखिन्छ । समकालीन नारीस्रष्टाहरूका कवितामा सबैभन्दा शक्तिशाली आवाज बनेर व्यापक रूपमा आएको नारीवादी आवाज कतै पुरुष र पुरुषसत्ताप्रति विद्रोहका रूपमा आएको देखिन्छ भने कतै आस्तित्विक चेतनाको अभिव्यक्तिका रूपमा आएको देखिन्छ । त्यसैगरी कहीँ परम्परित मूल्य र मान्यताप्रति विद्रोहका रूपमा आएको देखिन्छ भने कहीँ विपर्यासयुक्त भावमा व्यङ्ग्यका रूपमा र पनि अभिव्यक्त भएको पाइन्छ । समकालीन कवितामा पाइने नारीवादी कविताका विविध स्वर अभिव्यक्त भएका केही कवितांश यसप्रकार छन् ः
म मेरो गर्भ दिन चाहन्नँ तिम्रो सन्तानका लागि
सृष्टिको कुनै उपाय खोज अब
त्यो नौमहिने सास्ती र प्रसवपीडाको यातना
मरी मरी बाँचेकी छु म ÷प्रत्येक फेरा
–कुन्दन शर्मा
गर्भ विद्रोह, कविता, पूर्णाङ्क ६०, पृ. १४
नारीवादी चेतना र नारीपीडाकै अभिव्यक्तिका रूपमा नारीको गर्भधारणको पीडालाई कविताको अन्तर्वस्तु बनाइएको यस कवितांशमा गर्भधारण नगर्नका निमित्त एउटी नारीको पुरुषप्रति विद्रोहको भाव अभिब्यञ्जित गरिएको छ । नौ महिनासम्मको गर्भधारण, प्रसवपीडा र त्यसको यातनाबाट आहत नारीले सृष्टिका लागि कुनै उपाय खोज्न आग्रह गरेको भाव अभिव्यक्त भएको यस कवितांशमा व्यङ्ग्यात्मक रूपमा नारीहरूको अहम् भूमिकालाई पनि व्यक्त गरिएको छ ।


तिमीले पानी खन्याउँदैमा
पातलिँदैन मेरो रङ्ग
तिमीले पानी नखन्याउँदैमा÷सुक्दैन मेरो रङ्ग
कसैले दिएर रङ्गिएको मेरो रङ्ग होइन ।
–भागीरथी श्रेष्ठ
पक्का रङ्ग, कविता, पूर्णाङ्क ७६, पृ.५३
यस कवितांशमा नारीअस्मिता र अस्तित्व कहिल्यै पनि परिवर्तित नहुने कुरा व्यक्त गरिएकोछ । यस कवितांशमा प्रयुक्त ‘तिमी’ पुरुषसत्ता हो भने ‘रङ्ग’ नारीअस्तित्वको प्रतीक हो र यो पुरुषसँगको सम्बन्ध र साहचर्यबाट परिवर्तित हुँदैन भन्ने कुरालाई प्रस्तुत गरिएको छ । अझ साङ्केतिक रूपमा भन्नुपर्दा पतिको मृत्युपछि शृङ्गार परिधान त्यागेर वैधव्य वेशभूषा धारणा गर्नुपर्ने नारी बाध्यताप्रति विमति पनि प्रकट गरिएको छ ।

एउटा अग्लो सिमलको रुखमा सोचमग्न
बसेको बूढो गिद्ध र लोग्नेमान्छे
मलाई उस्तैउस्तै लाग्छ
बगरमा आलो चिहान सुँघ्दै
हिँड्दै गरेको घोर्ले स्याल र लोग्नेमान्छे
मलाई उस्तैउस्तै लाग्छ ।
–रीता खत्री
लोग्नेमान्छे,, फूल रोएपछि, पृ.६१
प्रस्तुत कवितांश लोग्नेमान्छेलाई बूढो गिद्ध र घोर्ले स्यालसँग समानता देखाई प्रतीकात्मक रूपमा व्यङ्ग्य गरिएको छ र नारीवादी चेतनालाई विद्रोहात्मक प्रस्तुत गरिएको छ । यहाँ पुरुषको कुरूपता र विसङ्गतिहरूप्रति आक्रोश व्यक्त गरिएको देखिन्छ ।

परम्परित पिरामिडको टुप्पामाथि उभिएर
म उद्घोष गर्छु–
म केवल अक्षर होइन
आविष्कार हुँ नयाँ सत्यको
म वैसाखी होइन
निर्माता हुँ नयाँ युगको ।
–ज्ञानु अधिकारी
खुलामञ्चमा अक्षरहरू, शब्द मृत्यु र सपनाको हत्या, पृ.११
यस कवितांशमा नारीअस्तित्वको स्थापनाका लागि उद्घोष गर्दै परम्परित मान्यताहरूप्रति विद्रोह गरिएको छ । नारीहरूलाई अरुको बैसाखीका रूपमा प्रस्तुत नगरी नयाँ सत्यको आविष्कारक र नयाँ युगको निर्माता हुन् भन्दै नारी अस्तित्वबोधी भाव यस कवितांशमा अभिव्यक्त भएको देखिन्छ । यसरी यहाँ नारीआस्तित्विक चेतनालाई प्रस्तुत गरिएको छ ।


तिमीहरूको बललाई÷प्रिय पत्नी बनेर
पूज्य परमेश्वर बोलेर
हातमा रिमोट लिँदै÷आफ्नो इच्छा अनुकूल
च्यानल परिवर्तन गर्न सकिन्छ
तिमीहरू÷मात्र टेलिभिजनका पर्दा
रिमोटले नचाउँदा नाच्ने÷खेलाउँदा खेल्ने ।
–बेञ्जु शर्मा
लोग्ने मानिसहरू, सम्बन्ध प्रदूषण, पृ.३१
प्रस्तुत कवितांशमा पुरुषलाई नारीहरूले सहजै नियन्त्रणमा लिन सकिने कुरालाई व्यक्त गरिएको छ । पुरुषले नारीहरूलाई नियन्त्रणमा राखेर खेलाउने गरेको पुरुषको हैकमवादी प्रवृत्तिलाई विपर्यास र विपरीत भावको माध्यमबाट अभिव्यक्त गरेर नारीवादी चेतना प्रस्तुत गरिएको छ ।

३.८. जीवनअस्तित्वको खोजी
समकालीन नारीस्रष्टाहरूका कवितामा नारीजीवनका विविध यात्राहरू र नारीजीवनले भोग्नुपरेका नियतिहरूलाई पनि अभिव्यक्त गर्नाका साथै जीवनको आस्तित्विक खोजी गरिएको भाव पनि अभिव्यक्त गरिएको छ । त्यस्ता केही कवितांशहरू यसप्रकार देखिन्छ ः
अस्तित्वको विस्केट बोकेर तिमी
बन्धनहरू फुकाल्दै आऊ
नसके चुडाऊ बरु
तिम्रो आवाजको रेटाइले
रेटिने छ स्वर–सारङ्गी
आकाङ्क्षाको फेदीबाट
. – गीता त्रिपाठी
आकाङ्क्षाको फेदीबाट, नृशंश पर्खालहरू पृ.१०
यस कवितांशमा नारीहरूलाई परम्परित बन्धनहरूका कारण नारीहरू दमित हुनुपरेका आशय गर्दै ती सारा बन्धनहरू फुकालेर आफ्नो अस्तित्वलाई स्थापित गर्नुपर्ने बताइएको छ । साथै यदि फुकाल्न सकिएन भने पनि चुँडाउनुपर्ने विद्रोहभाव व्यक्त गरिएको यसमा विद्रोहको सारङ्गी रेटेर भने पनि अस्तित्वको रक्षा गर्नुपर्ने भाव व्यक्त गरिएको छ ।

हराएका अनुहार खोज्ने क्रममा
आफैँ हराएछ बेपत्तासँग
बिराएका बाटा पहिल्याउने क्रममा
आफैँ रुमल्लिएछु बेहिसाबसँग
–उषा शेरचन
अविरल यात्रा, समकालीन नेपाली कविता पृ. ५८
यस कवितांशमा वैयक्तिक जीवनमा भोगिएका र अनुभूति गरिएका सन्दर्भहरूलाई प्रस्तुत गर्दै आजका मान्छेको परिचयहीनताको चित्रण गरिएको छ । जीवनको अस्तित्वको खोजीका माध्यमबाट मान्छेकै जीवनको अस्तित्व यस कवितामा खोजिएको छ ।


३.९ राष्ट्रप्रेमको अभिव्यक्ति
समकालीन नेपाली नारीस्रष्टाहरूका सिर्जनामा पाइने विविध प्रवृत्तिहरूमध्ये राष्ट्रप्रेम र मातृभूमिप्रतिको अगाध स्नेहलाई पनि प्रमुख प्रवृत्तिका रूपमा लिन सकिन्छ । यस क्रममा राष्टप्रतिको चिन्ता र चासो मुख्य रूपमा प्रस्तुत गरिएको पाइन्छ । यस सम्बन्धी केही उदाहरण यसप्रकार छन् ः
बाचा ! आमा मेरो वाचा भयो
एकदिन हामीसँगै आउनेछौँ
हुरीको प्रचण्ड वेग भएर आउँछौ
त्यसैले तिम्रा सम्पूर्ण दुःखहरू
बढारिदिनेछौँ, डढाइदिनेछौँ ।
अनिमात्र निष्फिक्री भएर
तिम्रो वक्षमा टाउको अड्याउँला
–सुधा त्रिपाठी
मलाई जन्माइदेऊ, जिराहा वर्तमान, पृ. ८५
यस कवितांशमा देशलाई ‘आमा’, सम्बोधन गर्दै राष्ट्रप्रति गहिरो स्नेह प्रकट गरिएको छ । वर्तमान अवस्थामा देशका अनिष्टकारी गतिविधि रोक्न र देशमाथि हुने गरेका सम्पूर्ण घातप्रतिघातलाई बढारेर फाल्न हुरीको प्रचण्ड बेग भएर आउने वाचा गरिएको यस कवितांशमा सुन्दर, शान्त आफ्नो देशको वक्षमा निष्फिक्री भएर टाउको अड्याउने वाचा पनि गरिएको छ ।

पराइले आँगन खोस्दा पनि
मौन उत्सवमा निमग्न मनहरू
साँच्चै देश कोसँग मागोस् सीमा बचाउने हातहरू
–गीता पन्थ
अतिक्रमित सीमा र आहत मनहरू, गरिमा, पूर्णाङ्क ३०६, २०६५, पृ.१४
प्रस्तुत कवितांशमा नेपालको भूभाग अतिक्रमणको सन्दर्भलाई प्रस्तुत गरी राष्ट्रप्रेम अभिव्यक्त गरिएको छ । सुस्तामा अतिक्रमण हुँदा पनि अर्थात् देशको आँगन खोसिँदा पनि चुपचाप बस्ने राज्यको निरीहताप्रति असन्तुष्टि व्यक्त गर्दै आफ्नो राष्ट्रको हरेक स्थान र माटो प्रिय र पवित्र हुने कुरा प्रस्तुत गरिएको छ ।

३.१० डायस्पोरिक चेतनाको प्रस्तुति
समकालीन नेपाली नारीकविता लेखनमा डायस्पोरिक चेतना पनि अन्तर्वस्तुका रूपमा आएको पाइन्छ । यसक्रममा आप्रवासी पीडा र आस्तित्विक पहिचानलाई मूलभूत रूपमा देखाइएको छ ।
मसँगको नेपाललाई सिमाना चाहिँदैन
जात र भाषामा फरक खोजे पनि पाइँदैन ।
—भारती गौतम
मलाई कसरी परदेशी भन्छौ, आकाशमाथिको सहर, पृ.६१
यस कवितांशमा आप्रवासमा रहेका नेपालीहरूको मनमा नै नेपालीत्व भएकाले भौगोलिक सीमाभन्दा पर देश, भाषा र जातिको भावनात्मक अस्तित्व बढी हार्दिक भएर रहेको कुरा देखाएर डायस्पोरिक चेतनालाई अभिव्यञ्जित गरिएको छ ।

पहिचानविनाको व्यक्तिसरी
अस्तित्वविनाको जीवनसरी । —रमा पोख्रेल

प्रस्तुत कवितांशमा पहिचान र अस्तित्वविनाको डायस्पोरिक जीवनलाई देखाएर पीडाबोध अभिव्यक्त गरिएको छ । यसरी समकालीन नेपाली नारीकवितामा पनि डायस्पोरिक चेतना प्रभावपूर्ण रूपमा आएको देखिन्छ ।

३.११ नारीको परतन्त्रता र नारीअस्तित्वको खोजी
समकालीन नेपाली नारीकविता लेखनमा नारीको परतन्त्रताको पीडाबोध र नारीअस्तित्वको खोजी पनि मूख्य अन्तर्वस्तुका रूपमा आएको देखिन्छ । यसक्रममा नारीलाई विद्रोहिणीका रूपमा देखाउँदै पुरुषप्रधान समाजमा नारीहरू परतन्त्र भएका र नारीको भूमिकालाई नस्विकारिएकाले नारीअस्तित्वको खोजी गरिएका कविताहरू पनि सशक्त रूपमा लेखिएका देखिन्छन् । यस्ता कविताका केही उदाहरण यसप्रकार छन् ः
म वेगका साथ बग्न चाहन्छु
बडेबडे चट्टानका कापबाट भए पनि
निकास चाहन्छु
भलभली उम्लेर बग्न चाहन्छु ।
—नीलम कार्की निहारिका
बन्दीपानी, कविता,७१, पृ.१७०
यस कवितांशमा नारीअस्तित्वको खोजी गरेको भाव अभिव्यक्त गरेर पुरुषप्रधानसमाजका परन्त्रतामा किचिएर रहेकी नारीले उन्मुक्तिको चाहना गरेको कुरा अभिव्यक्त गरिएको छ । कविताशंमा प्रयुक्त “म” पुरुषप्रधान समाजद्वारा थिचिएर बसेकी र नारीअस्तित्वका लागि बिद्रोही बनेर स्वतन्त्रता खोजेकी नारीकी प्रतिनिधि चरित्र हो । निकास चाहनु र भलभली बग्न चाहनु नारीअस्तित्वको खोजीको चाहना हो ।

यो एउटा डोरी हो, जुन हात बाँध्नका लागि राखिएको छ
त्यो छेउको डोरी, मुक्तिका लागि शब्द निकाल्ने
मुख बाँध्नका लागि राखिएको छ ।
— सन्ध्या पहाडी
डोरी, मृगतृष्णा, पृ.६७
प्रस्तुत कवितांशमा आजको पुरुषप्रधान समाजमा नारीले अधिकार माग्दा उसका हात बाँधिने र मुख थुनिने कुरा देखाएर नारीपरतन्त्रतालाई प्रस्तुत गरिएको छ । यस कविताको डोरी शब्दले पुरुषप्रधान समाजको हैकमवादी प्रवृत्तिलाई प्रतीकात्मक रूपमा अभिव्यञ्जित गरिएको छ ।

३.१२ यौनवादी चेतनाको प्रस्तुति
समकालीन नारीकविता लेखनमा यौनवादी प्रवृत्ति पनि देखिन्छ । यस्ता यौनवादी कविताहरूमा यौनवादी प्रवृत्तिलाई कहीँ अश्लील रूपमा र कहीँ प्रतीकात्मक रूपमा अभिव्यक्त गरिएको पाइन्छ ।

आऊ, तिमी र म मितेरी लगाऊँ र एकाएक बनौँ
तिमी आफ्नो परशुको प्रथम प्रहार मैबाट सुर गर ।
–वानीरा गिरि
चोट, नेपाली समसामयिक कविताहरू पृ. २७७
यस कवितांशमा प्रयुक्त परशु शब्द पुरुषलिङ्गको प्रतीकको रूपमा आएको छ र परशु (बन्चरो) रूपी लिङ्गले अक्षत योनिमा प्रहार गर्ने सन्दर्भका माध्यमबाट मैथुनिक कार्यव्यापारलाई देखाइएको छ ।

तिमी खुब पौडिरहेका थियौ
म पनि खुब पसिना काढिरहेकी थिएँ
र हामी दुबै त्यही पोखरीमा
पौडिरहेका थियौँ, हेल्लिइरहेका थियौँ र पसिना काढिरहेका थियौँ ।
–सीता पाण्डे
कालो पोखरी, नेपाली समसामयिक कविताहरू, पृ. ३.६९
यौनको क्रियात्मकरूपको वर्णन गरिएको यस कवितांशमा प्रयुक्त पौडिनु र पसिना काढ्नुले सम्भोगको स्थितिलाई देखाएका छन् । पोखरी स्त्रीयोनिको प्रतीकका रूपमा आएको छ र यौनतृष्णाको व्याकुलतालाई यसमा देखाइएको छ । समग्रमा यौनका क्रियात्मक चित्रण र त्यसको उत्सर्ग कवितामा प्रभावपूर्ण रूपमा आएको देखिन्छ ।
समकालीन नेपाली कवितामा नारीस्रष्टाहरूको उपस्थिति पनि उल्लेखनीय रहेको छ भन्ने कुरा उपर्युक्त विश्लेषणमा आएका नारीस्रष्टा र तिनका कविताहरूले स्पष्ट पारेका छन् । माथि उल्लेखित कवयित्रीहरूका अतिरिक्त अन्य धेरै नारी स्रष्टाहरूका धेरै कविताकृतिहरू देखिन्छन्, ती सबैलाई यहाँ उल्लेख गर्नु सम्भव छैन । प्रवृत्तिगत रूपमा भन्नुपर्दा नारीस्रष्टाहरूका कवितामा सामूहिक र वैयक्तिक दुबै प्रवृत्ति वा स्वर पाइन्छन् । आजका अधिकांश नारीस्रष्टाहरूले आफ्नो कवितामा समकालीन युग चेतनालाई राम्ररी आत्मसात् गरेको पाइन्छ तापनि नारीजीवनका पीडा, भोगाइ र अनुभूति र अनुभवका साथै नारीजीवनका समस्यालाई देखाउने प्रवृत्ति केही बढी पाइन्छ । अझ त्यसमा पनि नारीअस्तित्व÷नारी अस्मिता र नारीस्वतन्त्रताका विषयवस्तुलाई अभिव्यञ्जित गर्नु आजका नारीकविता लेखनका मुख्य पहिचान हुन् ।

४. समकालीन नेपाली नारीकविता लेखनको स्थितिः
परिवर्तित समयक्रमले ल्याएका वा परिवर्तित राजनीतिक, सामाजिक सन्दर्भले ल्याएका युगीन परिवर्तनको प्रभाव र अभिलक्षण त्यस युगमा कवितामा देखिनु कवितामा समकालीन चेतना वा समकालीनता हुनु हो । यस समकालीन चेतनालाई आफ्ना कवितामा समाउनसक्ने प्रवृत्तिका दृष्टिले समकालीन नारीकविता लेखन सशक्त देखिन्छ । समकालीन चेतनाको सशक्त पहिचान दिने पारिजातका कवितापछि बानिरा गिरी, तोया गुरुङ, भुवन ढुङ्गाना, बेञ्जु शर्मा, मञ्जु काँचुली, कुन्ता शर्मा, भागीरथी श्रेष्ठ, लक्ष्मीदेवीराज भण्डारी, रेवतीराज भण्डारी, देवी शर्मा, बिन्दु कोइराला, सरला विष्ट, शुभ श्रेष्ठ, उषा शेरचन, सीता पाण्डे, शारदा शर्मा, गीता केशरी, पद्मावती सिंह, प्रेमा शाह, माया ठकुरी, हिरण्यकुमारी पाठक, अनीता तुलाधर, प्रमिला उपाध्याय, कल्पना प्रधान, सुधा त्रिपाठी, रञ्जुश्री पराजुली, शारदा अधिकारी, शशिकला शर्मा लगायतका नारी स्रष्टाहरूको नाम लिन सकिन्छ ।
अझ त्यसमा पनि समकालीन युग चेतनालाई कलात्मक रूपले अभिव्यञ्जित गर्ने समकालीन नारीकविता लेखनमा मोमिलाको कवित्व चेतना बढी सशक्त देखिन्छ । यसै क्रममा सन्ध्या पहाडी, गीता कार्की, बुनू लामिछाने, अरुणा वैद्य, बाबा बस्नेत, उषा श्रेष्ठ, उषा हमाल, शर्मिला पोखे्रल, सुस्मिता नेपाल, नीलम कार्की ‘नीहारिका’, गङ्गा सुबेदी, जयन्ता पोख्रेल, नम्रता गुरागाइँ, लक्ष्मी उप्रेती, सिर्जना श्रेष्ठ, गायत्री बिष्ट, सविना श्रेष्ठ, सिर्जना दुवाल, अनुजा घिमिरे, सरिता थापा, झमक घिमिरे, शोभा न्यौपाने, विभूति सिंह, सरस्वती रिजाल, श्रेष्ठ पिया पत्थर, सरिता तिवारी, साधना प्रतीक्षा, सविना मिश्र, प्रभा भट्टराई, प्रभा आचार्य, इन्दिरा प्रसाइँ, ज्ञानु अधिकारी, सिन्धु गौतम, रञ्जना थापा आदि पनि निकै सशत्रक्त देखिन्छन् ।
त्यसरी नै उन्नति बोहरा, कुन्दन शर्मा, कुन्तीदेवी भट्टराई, केशरी बज्राचार्य, चन्द्रा शर्मा, चाँदनी शाह, टीकाकुमारी याख्खा, दिव्यानी रावल, जयन्ती स्पन्दन, निर्मला शर्मा, निर्मला उप्रेती, प्रतीमा विवश राई, गीता त्रिपाठी, गीता पन्थ, प्रिया श्रेष्ठ, पुष्पलता आचार्य, वेदकुमारी न्यौपाने, बसुश्री पाण्डे, विम्झना विश्वकर्मा, विमला तुम्खेवा, बेटी बज्राचार्य, भगवती जोशी, भद्राकुमारी घले, मीना सुबेदी, यमुना राय, रमा पोखरेल, रमा सिंह, रुकु कार्की, ललिता दोषी, लीला अनमोल आदि पनि सशक्त देखिन्छन् । त्यसरी नै शशि रिमाल, शान्तिकुमारी राई, शान्ता श्रेष्ठ, श्यामा ओझा, सङ्गीता गुरुङ, सरला श्रेष्ठ, सरिता अर्याल, सरस्वती शर्मा ‘जिज्ञासु’, सरिता लामा, सावित्री थापा, सीतादेवी प्रधान, सुवर्ण कक्षपति, सुषमा आचार्य, सुशीला कोइराला, सुशीला द्विवेदी, स्मिता थापा मगर, हरिकला उप्रेती, हरिकला चूडाल, हरिदेवी कोइराला, जुनू क्षेत्री, हिमालक्ष्मी थापा, उपमा आचार्य, पद्मा अर्याल, भावना शर्मा, तीर्थदेवी सिलवाल, पुष्यशीला श्रेष्ठ आदि नारी स्रष्टाहरूलाई उल्लेख्यरूपमा लिन सकिन्छ ।
पुस्तककार कृति प्रकाशन गर्ने यी नारीस्रष्टाहरूका अतिरिक्त फुटकररूपमा कलम चलाउने नारी कविहरुको सङ्ख्या पनि निकै देखिन्छ । उपर्युक्त विवरणमा आएका नारीस्रष्टाहरू काव्य÷कविताकृति प्रकाशित गर्ने नारीस्रष्टा मात्र हुन् । यी मध्ये कतिपयले अन्य विधामा पनि कलम चलाएका छन् भने कतिपयले काव्यकविताका अन्य कृतिहरू प्रकाशन गर्ने तयारीमा छन् । प्रायः यी सबै नारीस्रष्टाहरूका कवितामा समकालीन चेतना पाइन्छ ।
यसप्रकारले समग्र समकालीन नेपाली कवितामा प्रवृत्तिगत विविधता वा स्वरगत वैविध्य पाइने भएकाले समकालीन नेपाली नारीकविता लेखन पनि यस दृष्टिले विविधतामय नै देखिन्छ । यद्यपि सबै नारीस्रष्टाहरूका कविता लेखनमा समकालीन चेतना पाइँदैन तापनि अधिकांशमा समकालीन चेतनाका साथै प्रवृत्तिगत दृष्टिले स्वच्छन्दतावादी चेतना प्रखर रूपमा पाइन्छ । सामान्यतया स्वरगत वैविध्यका दृष्टिले समकालीन नेपाली नारीकविता लेखनमा तलका प्रवृत्तिगत विशेषताहरू पाइन्छन् ः

१. युगीन भोगाइ र पीडाको अभिव्यक्ति,
२. सामाजिक यथार्थको प्रस्तुति,
३. नारीवादी चेतना र पुरुषप्रधान समाजप्रति व्यङ्ग्य,
४. नारीपरक दृष्टिकोण र नारीअस्तित्वको खोजी,
५. नारीत्व भाव र मातृत्व चेतनाका साथै नारीमनको अनुभूति,
६. क्रान्तिचेतना, विद्रोह र आक्रोश तथा नारीपीडाको प्रस्तुति,
७.उच्च उदात्त प्रेमपरक दृष्टिकोण,
८. यौनका विविध पक्षको चित्रण,
९. परिवर्तित राजनीतिक सामाजिक सन्दर्भको अभिव्यक्ति,
१०. सशस्त्र द्वन्द्वजन्य परिणतिको पीडाबोध र समकालीन यथार्थको अभिव्यक्ति,
११. राष्ट्रवादी चेतना, सांस्कृतिक चेतना र प्रकृतिचेतना,
१२. जीवनका विविध भोगाइको यथार्थपरक प्रस्तुति आदि ।


५. उपसंहार
समकालीन नेपाली कविता लेखनमा नारीस्रष्टाहरूको पृथक् विशेषता भनेको नै नारीजीवनका भोगाइ, अनुभूति, पीडा आदिलाई साधारणीकरण गरेर देखाउनु हो । नारीजीवनका यावत् अनुभूति र पीडा तथा समस्याहरू सार्वकालिक र सार्वदेशिक लाग्छन् र एउटी नारीको कवितामा पाइने यस्तो अन्तर्वस्तु अन्य केही नारी स्रष्टाहरूमा पनि पाउन सकिन्छ तर अभिव्यक्ति कला र प्रस्तुतिमा ती भिन्न लाग्छन् । समकालीन नेपाली नारीकविता लेखनलाई नेपाली कवितापरम्परामा विशिष्ट अध्ययनको विषय बनाउनुपर्ने बेला आइसकेको छ । समकालीन नेपाली नारीकविता लेखनको आफ्नो विशिष्ट पहिचान बनिसकेकाले यो पनि समकालीन नेपाली कविताको मूलप्रवाहकै कविता हो । समकालीन नेपाली नारी स्रष्टाहरू लयगत दृष्टिले पनि गद्यकविता, छन्दोबद्ध कविता, गीति कविता, गजल आदिका क्षेत्रमा छरिएका छन् र कविताका सबै रूपहरूमा नारीस्रष्टाको उपस्थिति देखिन्छ । समग्रमा भन्नुपर्दा समकालीन नेपाली नारीकविता लेखन भावना, अनुभूति, भोगाइ र समष्टि संवेदनाहरूको यथार्थपरक अभिव्यञ्जना हो ।

प्रमुख सन्दर्भसूची
खरेल, रुद्र, सम्पा, आन्दोलन कविता, काठमाडौँः स्रष्टा प्रकाशन, २०४७ ।
गौतम, लक्ष्मणप्रसाद, समकालीन नेपाली कविताको विम्बपरक विश्लेषण, ललितपुरः साझा प्रकाशन, २०६० ।
...................., समकालीन नेपाली कविताका प्रवृत्ति, काठमाडौँ, पैरवी प्रकाशन, २०६६ ।
न्यौपाने, दैवज्ञराज र अन्य, सम्पा, सयवर्षका कविता, काठमाडौँ गोरखापत्र संस्थान, २०५८ ।
मेमिला,सम्पा., सगरमाथाको नृत्यमग्न आत्मा ः स्रष्टा सृष्टि, काठमाडौँ ः नेपाली कलासाहित्य डट.कम प्रतिष्ठान ,२०६५ ।
प्रसाईं, कृष्ण, सम्पा, नेपाली समसामयिक कविताहरू, काठमाडौँ, भट्टराई स्मृति मण्डप, २०४८ ।
लुइटेल, खगेन्द्रप्रसाद, कविता सिद्धान्त र नेपाली कविताको इतिहास, काठमाडौँ ः नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, २०६० ।
शर्मा, मोहनराज, समकालीन समालोचना ः सिद्धान्त र प्रयोग, काठमाडौँ ः नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, २०५५ ।
सुवेदी, अभि र अन्य, सम्पा, समकालीन नेपाली कविता, काठमाडौँ ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०५५ ।


त्रिभुवन विश्वविद्यालय,नेपाली केन्द्रीय विभाग, काठमाडौ

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 11 चैत्र, 2073

लेखकका अन्य रचनाहरु