निबन्ध सिद्धान्त

- डा.लेखप्रसाद निरौला

१. निबन्धको परिचय
निबन्ध शब्द संस्कृत भाषाको नामिक पद हो । बाँध्नु अर्थको बन्ध् धातुमा घञ् (अ) प्रत्यय र नि उपसर्ग लागेर बनेको निबन्धको शाब्दिक अर्थ जुनसुकै विचारलाई पनि व्यवस्थित रूपमा अथवा समग्रताका साथ बाँधेर वा कसेर अभिव्यक्ति दिनु भन्ने हुन्छ । यस शब्दको कोशीय अर्थलाई हेर्दा बन्धन, राम्रोसँग बाध्नु, पिसाब रोकिने रोग, त्यस्तो वस्तु जुन कसैलाई दिन वाचा गरिएको हुन्छ; निमको रुख, वाक्य रचना, पुस्तकको टीका, वीणाको चुरा, सद् धृति, स्थापना, आधार, उपादान कारण, सहारा, अधीनता, रोकथाम, घर बनाउने काम, कुनै विषयको विस्तार वर्णन जसमा त्यस विषयसँग सम्बन्ध राख्ने अनेक मत, विचार वा मन्तव्य आदिको तुलनात्मक र पाण्डित्यपूर्ण विवेचन आदि देखा पर्दछन् (पाण्डेय ः २०५७) । त्यसैगरी बाँध्नु, कस्नु, जकड्नु, आशक्ति, संलग्नता, रचना गर्नु, लेख्नु, साहित्यिक रचना या कृति, सङ्ग्रह ग्रन्थ, नियन्त्रण, अवरोध, बन्धन, बन्ध, हतकडी, सम्पत्तिको अनुदान जुन पशु, द्रव्य आदि सहायताका रुपमा दिइन्छ वा स्थिर सम्पत्ति, आधार वा मूल, हेतु अथवा कारण आदि अर्थका रूपमा पनि निबन्ध शब्दको प्रयोग गरिन्छ (आप्टे ः सन् १९८४) ।
यस किसिमबाट निबन्धका शाब्दिक अभिप्रायसँग गाँसिएर अनेक अर्थहरू आए पनि साहित्यिक विधाका रूपमा रुढ भएको निबन्ध शब्दचाहिँ पाश्चात्य साहित्यकै देन मानिन्छ । यसर्थ, निबन्धको शाब्दिक अर्थलाई भन्दा विभिन्न विद्वान् समीक्षकहरूद्वारा व्यक्त गरिएका पारिभाषिक प्रकृतिका अभिव्यक्तिहरूको समष्टिगत अर्थको केन्द्रीयतामा निबन्धको साहित्यिक विधागत परिचय खुलाउन सकिन्छ । वास्तवमा अङ्ग्रेजीमा प्रयोग हुने एसे (भ्ककबथ) शब्द नै वर्तमान निबन्ध विधाको मूल आधार हो । यो एसे शब्दको प्रारम्भमा एसाइ÷एस्सी (भ्ककबष्) शब्दको प्रयोग गरिएको थियो । यसका प्रथम प्रयोक्ता फ्रान्सेली साहित्यकार मिसेल दि मोन्तेन (सन् १५३३–१५९२) हुन् । उनका तिनओटा निबन्धसङ्ग्रहहरू प्रकाशित छन्; जसमध्ये पहिलोमा सन्ताउन्न, दोस्रोमा छत्तिस र तेस्रोमा तेह«वटा निबन्धहरु सङ्कलित छन् । उनको पहिलो निबन्धात्मक कृति सन् १५८० प्रकाशित भएको हो । तिनमा दाम्पत्य जीवनका केही रहस्यमयी चिन्तन र व्यङ्ग्यमिश्रित आमोद प्रमोदका विषयहरूको मात्रा बढी पाइन्छ । उनले मनमा उठेका अनुभूति, विचार वा भावहरूलाई विना क्रमबद्धता लहडी किसिमबाट उल्लेख गरिने भएकाले आफ्ना निबन्धलाई एस्सी÷एसाइ भनेका छन् ।
मोन्तेन निबन्ध स्रष्टाका साथै समीक्षकका रूपमा पनि देखा पर्दछन् । उनले आफ्ना निबन्धको स्रष्टा आपूm नै रहेको बताएका छन् । उनी भन्छन्– ‘मेरो इच्छा के हुन्छ भने म आफ्ना निबन्धमा विनाआडम्बर सहज र साधारण तरिकाले स्वयं रूपायित होऊँ । त्यसमा कुनै किसिमको वाक्पटुता वा कृत्रिम कलात्मकता सजाउन चाहन्नँ । मेरा निबन्धको विषय म नै हुँ ।’ त्यस्तै थप प्रसङ्गमा उनले भनेका छन्— ‘मेरा निबन्धहरू म स्वयंको अन्तरात्मा अरू पाठक समक्ष पु¥याउने प्रयत्नका उपज हुन् । यिनै मेरै भावना र कलागत संवेग बाहेक नयाँ खोज र अन्वेषण केही छैनन् ।’
वास्तवमा मोन्तेनका विचारमा निबन्धभित्र विनाआडम्बर स्वको प्रकटीकरण हुनु जति जरुरी छ त्यति नै सहजता पूर्वक आत्मीयता प्रकट हुनु आवश्यक देखिन्छ । तर, आत्मीयता वा आत्मकेन्द्री अभिव्यक्तिबाट विमुख भएका सिर्जनाहरूलाई पनि निबन्धका रूपमा लिने गरिन्छ र जहाँ वस्तुपरक संवेदनाको सशक्त उपस्थिति रहने गर्दछ । यस सन्दर्भमा बेलायती विद्वान् फ्रान्सिस बेकन (सन् १५६१–१६२६) का निबन्धहरू उल्लेखनीय मानिन्छन् । यद्यपि मोन्तेनकै प्रभाव बेकनमा पनि परेको हो र उनका निबन्धहरू छोटा छरिता भए पनि तिनमा विद्वत्ता, पाण्डित्य र वाक्चातुर्यको घनत्व पाइन्छ । त्यस्तै उनका निबन्धमा आत्मप्रकाशनभन्दा पनि वस्तु निरूपण तथा वैचारिक आग्रहको मात्रा बढी पाइन्छ । सन् १५९७ मा उनको पहिलो निबन्धसङ्ग्रह प्रकाशित भएको हो । उनले ज्ञान र विज्ञानका सूत्रहरूको समायोजन, संरक्षण र अभिलेखनका निम्ति उपयोगी सिर्जनाहरू तयार गरेका हुन् । उनका ‘सत्य’, ‘प्रतिशोध’ र ‘मृत्यु’जस्ता निबन्धहरूमा वस्तुताकै मात्रा बढी पाइन्छ । यस सन्दर्भमा हेनरी हडसनको भनाइ छ– ‘बेकनका निबन्धहरू घनीभूत ज्ञानका पुञ्ज हुन् । यिनमा विचारको सहज रूपमा अभिव्यक्ति भएको हुन्छ ।’ निश्चय पनि बेकनले निबन्धमा आयतनगत सङ्क्षिप्तता, वैचारिक दृढता र स्पष्टता, दार्शनिक एवम् विकीर्ण चिन्तनहरूको शृङ्खलित प्रस्तुतिमा विशेष योगदान दिएका छन् ।
निबन्ध विधाको प्रारम्भिक क्षेत्र भनेको युरोप र अमेरिका नै हो । त्यहीँबाट निबन्धले साहित्यिक नवविधाका रूपमा पहिचान कायम राखेको हो । यसक्रममा मोन्तेन र बेकनपछि अनेकौँ स्रष्टा एवम् समीक्षकरूको विशिष्ट योगदान रहेको छ; तिनमा ब्राउन, अब्राहम कउले, गोल्डस्मिथ, सर फिलिप सिडनी, चाल्र्स ल्याम्व, अलेकजेन्डर स्मिथ, स्टिवेन्सन, टमस फुलर, एडिसन, स्ट्रेची, मिसायल सोलखोब, बेन जनसन, ड्राइडन, स्टिल इडिसन, स्विफ्ट, पोप, डा.जोन्सन, जन स्कट, वर्डस्वर्थ, कलरिज, मैथ्यु आर्नोल्ड, वाल्टर बेगहोट, लेविस, टि.एस.इलियट, हजलिट, इमर्सन, डिएच लरेन्स, भर्जिनिया उल्फ लगायतका अनेक व्यक्तिहरूको लामो सूची रहेको छ । तिनीहरूमध्ये अङ्ग्रेजी निबन्धकार एवम् कोशकार जोन्सन (१७०९—१७८४) ले भनेका छन्–‘निबन्ध भनेको मनमा आएका भावधारालाई अनौपचारिक र शृङ्खला विहीन अवस्थामा हठात् गरिएका अभिव्यक्तिको एक सङ्क्षिप्त रचना विशेष हो । अर्थात्, निबन्ध त्यस्तो उन्मुक्त गद्यात्मक अभिव्यक्ति हो जुन अनौपचरिक, परिपक्व र अव्यवस्थित हुने गर्दछ ।’ जोन्सनका विचारले निबन्धको सैद्धान्तिक स्वरूपलाई स्पष्टता प्रदान गरेको छ । उनले निबन्धका लागि आवश्यक पर्ने भावगत अनौपचारिकता, सङ्क्षिप्तता, गद्यात्मकताजस्ता विशेषताहरू आवश्यक हुन्छन् भन्ने कुरा औँल्याएका छन् । त्यस्तै अर्का पाश्चात्य विद्वान् अलेक्जेन्डर स्मिथ (१८३०—१८६७) ले भनेका छन्— ‘निबन्ध भनेको गीति काव्यसँग दाँजिन सक्ने, स्वरूप र संरचनामा कोमलता तथा संवेदनशीलता रहने विशेष विधा हो ।’ वस्तुतः स्मिथका विचारमा निबन्धभित्र कलात्मक भावुकता, कोमलता र संवेदनशीलता आदि गीत्यात्मक प्रकृतिका काव्यतुल्य विशेषताहरू रहनु आवश्यक छ । यसै सन्दर्भमा अङ्ग्रेजी साहित्य समीक्षात्मक हेनरी हड्सन (१८४१—१९२२) को विचार पनि उल्लेखनीय रहेको छ । उनले भनेका छन्— ‘विषयवस्तु जे जस्तो भए पनि निबन्धको क्षेत्र अत्यन्त विस्तृत तथा असीमित छ र निबन्ध व्यक्तिपरक नै हुनु पर्दछ । यो अभिव्यक्तिको एउटा प्रकार हो र निबन्ध भनेको एक साधना हो । अतः यो वैयक्तिक अभिव्यक्तिमा केन्द्रित रहेको हुन्छ ।’
यसरी पाश्चात्य साहित्यको उपजका रूपमा देखापर्ने विधागत स्वरूप प्राप्त गरिसकेको निबन्धमा पाश्चात्य निबन्धकार एवम् समीक्षकहरूले निबन्धभित्र वैयक्तिकता र वस्तुता दुवै पक्षमा जोड दिँदै आएको देखिन्छ । उनीहरूले विशेषतः अनौपचारिकता, काव्यात्मक कोमलता, कलात्मकता, सूत्रात्मकता र गद्यात्मकताजस्ता विशेषताहरूले मात्र निबन्धको विशिष्ट पहिचान कायम राख्ने कुराको सङ्केत गरेका छन् ।
निबन्धको पारिभाषिक अर्थबारे परिचर्चा गर्दा हिन्दी साहित्यकार आचार्य रामचन्द्र शुक्लको भनाइ पनि स्मरणीय हुन आउँछ । उनले भनेका छन्–‘निबन्धमा वैयक्तिक विशेषताका निम्ति र त्यस विशेषताको प्रदर्शनका निम्ति व्यक्त विचारको प्रवाह ज्ञात वा अज्ञात रूपले होस्; विशृङ्खलित भने हुन दिनु हुन्न । भाव प्रवाहको विचित्रता देखाउनका निम्ति अनुभूतिका स्वाभाविक वा लोकसामान्य रूपसँग कुनै सम्बन्ध नै राख्नु वा भाषासित प्रश्नहरूको जस्तै व्यायामिक वा हठयोगीहरूले झैँ आसन साधन गराइनु हुँदैन ।’ यसरी शुक्लले निबन्धको वैयक्तिक पक्ष र अनुभूतिगत स्वाभाविकतासँगै विचारको व्यवस्थित प्रस्तुतितर्फ स्पष्ट निर्देश गरेका छन् ।
त्यस्तै नेपाली साहित्यका चर्चित आत्मपरक निबन्धकार लक्ष्मीप्रसाद देवकोटा (१९६६—२०१६) ले पनि निबन्धका सन्दर्भमा केही प्रस्ट विचारहरू प्रस्तुत गरेका छन्—
‘यो राँैचिरा दर्शन होइन, न हो पाण्डित्य दर्शनको ठ्यासपूm । यसमा गृहीत विषयलाई सर्वदृष्टिकोण, समीक्षणको जरूरत छैन । यो एक किसिमको धूर्त बद्मास ठिटो हो— जो सडकमा हिँड्दा कहिले ढुङ्गा हान्छ, कतै कतै आनन्दले फुलेर हेर्छ तर घोरिँदैन । ... त्यो (निबन्ध) टेबिल गफ मात्र हो, शास्त्र होइन । यो एउटा फुर्सदको मनोरञ्जन हो । ... यहाँ एउटा रसिलो, हरिलो, गफाडी, चुट्किलो कुराकानी छ, जसको नाम प्रबन्ध (निबन्ध) हो ।’ हो पनि, देवकोटाले भने जस्तै मोन्तेनका निबन्धात्मक चिन्तन र सिर्जनाहरू पनि शास्त्रका रूपमा नभई टेबुल गफकै रूपमा व्याख्या गर्न सकिन्छ ।
अर्का नेपाली साहित्यकार ईश्वर बराल (१९८०—२०५४) ले पनि निबन्धका विषयमा यस्तै थप कुराहरू प्रकाश पारेका छन् । उनले भनेका छन्– ‘
निबन्ध एक किसिमको कुरा गराइ हो । यो हो लेखकका मनमा भावनाहरूलाई स्वगत कथनका रूपमा उद्गारित गराउने विधा विशेष । आफ्नो गुनासो अरूलाई सुनाउनु, मनको बह पोख्ने काम गर्नु, हृदयलाई सकेसम्म छर्लङ्ग्याइदिनु, आन्तरिक सन्देशलाई फिँजाइदिनु मानिसका आद्य सिर्जना हुन् । त्यसो हुनाले निबन्धकार जहिले पनि पाठकसित गफ गर्न चाहन्छ । साउती गरेर तिनलाई आफूप्रति सहानुभूतिशील बनाउन खोज्छ । मेरा कुरा कसैले सुनिदिऊन् ।’ यसैगरी छोटै भए पनि रामलाल अधिकारी (१९९८—२०६२) को यस्तो भनाइ समेत महत्त्वपूर्ण देखा पर्दछ– ‘निबन्ध त्यो काव्य विधा हो जसमा लेखक (निबन्धकार) को व्यक्तित्व पाठक समक्ष पूर्णतया प्रकाशमान् हुन्छ; यसमा लेखकले उपदेश नभई आत्मप्रकाशनकै लक्ष्यमा केन्द्रित हुनु पर्दछ ।’
यसप्रकार निबन्धका विषयमा मोन्तेनदेखि बेकन हुँदै नेपाली निबन्धकार एवम् समीक्षकसम्म आइपुग्दा निश्चय पनि केही महत्त्वपूर्ण अभिलक्षणहरू देखापरेका छन् । हो, धेरैजसोले विशेष गरी आत्मप्रकाशन वा हृदयको समुद्घाटनका पक्षमा बढी जोड दिएका छन् अर्थात् पाठकसमक्ष स्वको प्रकटीकरण गर्दै औपदेशिकता विहीन आत्मीयभावको प्रस्तुतिमा जोड दिएका छन् । तर, कतिपयले घनीभूत ज्ञानपुञ्ज वा विचारको सहज अभिव्यक्ति अर्थात् वैचारिक दृढता र स्पष्टता, दार्शनिक एवम् विकीर्ण चिन्तनहरूको शृङ्खलित प्रस्तुतिमा विशेष जोड दिएका छन् । अझ कतिपयले त निबन्धलाई गीत्यात्मक प्रकृतिको काव्यतुल्य गुण भएको कलात्मक, भावुक, कोमल र संवेदनशील रचनाका रूपमा परिभाषित गरेका छन् । जे होस्, निबन्ध कुनै खास विषयमा केन्द्रित भई लेखकका वैयक्तिक अनुभूति वा विचारहरूको सङ्क्षिप्त, कलात्मक र सुव्यवस्थित भाषिक अभिव्यक्तिमा आधारित गद्यात्मक प्रकृतिकै साहित्यिक नव विधा भएको कुरा प्रस्ट छ ।

२. निबन्धको वर्गीकरण
संस्कृत वाङ्मयमा निबन्ध र प्रबन्ध शब्दलाई कतिपय सन्दर्भमा एउटै साहित्यिक अभिप्रायसँग गाँसेर हेरिएको पाइन्छ । प्रारम्भमा गद्यात्मक वा पद्यात्मक दुवै प्रकृतिका रचनालाई बुझाउने अर्थमा प्रबन्ध शब्दको प्रयोग हुने गरे पनि कथात्मक प्रकृतिको काव्यकृतिलाई बोध गराउने सन्दर्भमा पछि आएर निबन्ध र प्रबन्धमा भिन्नता देखा परेको छ । अझ वर्तमान सन्दर्भमा त स्वतन्त्र गद्य रचना विशेष नै निबन्धका रूपमा र अनुसन्धानात्मक प्रकृतिको लेखनलाई मात्र प्रबन्धका रूपमा लिन थालिएको छ । यसर्थ, यहाँ विधागत रूपमा विशिष्टीकृत भइसकेको निबन्ध विशेषको मात्र वर्गीकरणबारे चर्चा गरिन्छ ।
निबन्ध वास्तवमा आख्यान निरपेक्ष सङ्क्षिप्त एवम् कलात्मक गद्यविधा नै हो । यसभित्र आत्मपरकता वा वस्तुपरकताको मात्रा रहन सक्दछ । निबन्धकारका निजी अनुभूति वा भोगाइलाई विनाऔपदेशिक किसिमबाट प्रस्तुत गर्न सकिन्छ । त्यस्तै जीवन र जगत्का यावत् विषयवस्तुले प्रवेश पाउन सक्दछन् । प्रकृति, संस्कृति, राजनीति, धर्म दर्शन लगायतका अनेक विषयवस्तु वा विकीर्ण चिन्तनहरूलाई गुम्फन गर्न सकिन्छ । यसरी विषय विशेष र प्रस्तुतिगत विशिष्टताका आधारमा निबन्धहरू अनेक प्रकृतिका हुने गर्दछन् । तिनलाई निम्नकिसिमबाट विभाजन गर्न सकिन्छ ः
क) भावको प्रधानताका आधारमा,
ख) विषयवस्तुका आधारमा,
ग) धारा वा वादका आधारमा,
घ) शिल्प संयोजनका आधारमा र
ङ) नव उपविधा वा तुल्य उपविधात्मक स्वरूपका आधारमा ।

क) भावको प्रधानताका आधारमा
भावको प्रधानताका आधारमा निबन्धहरू मूलतः दुई किसिमका हुन्छन्– आत्मपरक र वस्तुपरक । आत्मपरक निबन्धलाई निजात्मक पनि भनिन्छ । निजात्मक प्रकृतिका निबन्धहरूमा निबन्धकारको निजी भावना वा कल्पनाहरूको प्राचुर्य रहन्छ । त्यसभित्र पनि अत्यधिक भावुकता, केही वैचारिकता वा तार्किक भावुकता, आत्मकेन्द्री रागात्मक प्रस्तुति वा संस्मरणजन्य सन्दर्भ आदिको आनुपातिक प्रस्तुतिका कारण अनेक उपभेदहरू रहन सक्दछन् । त्यसैले आत्मपरक निबन्धलाई भावात्मक, विचारात्मक, वैयक्तिक र संस्मरणात्मक आदि विभिन्न वर्गमा विभाजन गर्न सकिन्छ । जहाँ वैचारिक कार्यकारणको अभाव र लेखकीय वैयक्तिकता तथा कल्पनाजन्य भावुक प्रस्तुतिको मात्रा बढी रहन्छ त्यसलाई भावात्मक प्रकृतिको निबन्ध भनिन्छ । त्यस्तै लेखकीय स्व विचारको स्पष्टता र तर्कपूर्ण प्रस्तुतिका कारण विचारात्मक निबन्ध र वैयक्तिक निजी भोगाइका निश्छल रागात्मक अभिव्यक्तिका कारण वैयक्तिक प्रकृतिका निबन्धहरू हुने गर्दछन् । हुन त स्मृतिबिम्बका आधारमा संस्मरणको मात्रा बढी भएमा संस्मरणात्मक निबन्ध पनि मान्न सकिन्छ ।
लेखकीय भावना वा निजी अनुभूतिको मात्राभन्दा वस्तुता वा परात्मकताको मात्रा बढी भएमा वस्तुपरक अर्थात् परात्मक निबन्धहरू तयार हुन्छन् । तिनमा पनि वण्र्यविषयको प्रस्तुतिमा असाधारण शक्तिको प्रयोग गरी व्यवस्थित र सङ्क्षिप्त तुल्याउन सके सबल वर्णनात्मक निबन्धहरू हुन पुग्दछन् । यदि तिनमै पनि कुनै यथार्थपरक वृत्तान्तको समन्वयात्मक प्रस्तुति गर्न सके विवरणात्मक निबन्धहरू बन्न पुग्दछन् । जे होस्, जुन निबन्धमा वस्तुताको मात्राका साथै वर्णन प्रबलता रहन्छ त्यो वर्णनात्मक र जहाँ विवरण प्रबलता रहन्छ त्यो विवरणात्मक निबन्ध मानिन्छ ।

ख) विषयवस्तुका आधारमा
निबन्धमा समेटिने विषयवस्तुहरू जुनसुकै क्षेत्रसँग सम्बन्धित हुन सक्दछन् । अन्य विधामा जस्तै जीवन जगत्का हरेक विषयवस्तुले निबन्धको स्वरूप प्रदान गर्न सक्दछ । त्यस्ता विषयहरूमा निबन्धकारले देखेका, भोगेका वा अनुभव गरेको विषय सन्दर्भहरूदेखि समाज, राजनीति, धर्म–संस्कृति, जीवन–दर्शन आदि जुनसुकै कुरा पनि रहन सक्दछन् । यसर्थ निबन्धभित्र समेटिएका विषयवस्तुका आधारमा निबन्धलाई सामाजिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक, राजनीतिक, जीवनीमूलक, ऐतिहासिक, पौराणिक, दार्शनिक आदि अनेक किसिमबाट विभाजन गर्न सकिन्छ ।

ग) धारा वा वादका आधारमा
निबन्ध लेखनका क्रममा निबन्धकारले आत्मसात् गरेका विषयशिल्पभित्र कुनै वाद वा धाराको प्रभाव अथवा प्रवृत्ति रहन सक्दछ । कतिपय अवस्थामा निबन्धकार नितान्त वैयक्तिक र स्वच्छन्द किसिमबाट रोमान्टिक धारालाई आत्मसात् गर्दै निबन्धभित्र देखा पर्न सक्छ भने कतिपय अवस्थामा नैतिक औपदेशिकताको प्रभावबाट मुक्त हुनै सक्दैन । निबन्धगत विषयवस्तुलाई कुनै स्थापित मूल्य मान्यताका आधारमा अथवा दार्शनिक धरातललाई टेकेर प्रस्तुत गर्ने क्रममा कतिपय निबन्धकारका निबन्धहरू प्रगतिवादी, अतियथार्थवादी अथवा अस्तित्ववादी–विसङ्गतिवादी आदि अनेक प्रकृतिका हुन सक्दछन् । यसर्थ धारा वा वादको उपस्थितिका आधारमा निबन्धलाई आदर्शवादी, स्वच्छन्दतावादी, प्रगतिवादी, अतियथार्थवादी, अस्तित्ववादी–विसङ्गतिवादी, प्रयोगवादी आदि अनेक किसिमबाट विश्लेषण गर्न सकिन्छ ।

घ) शिल्प संयोजनका आधारमा
यद्यपि निबन्धको शिल्पविधान भनेको कसिलो किसिमको सङ्क्षिप्त एवम् कलात्मक गद्यलेखन नै हो । तर, साहित्यिक प्रयोग परम्परासँगै यसका अनेक शैल्पिक स्वरूपहरू देखापर्दै गएका छन् । वर्तमान सन्दर्भमा निबन्धलाई नितान्त आख्यानरहित वैयक्तिता वा वैचारिक विकीर्णताका सापेक्षतामा मात्र हेर्न मिल्दैन । यसभित्रको शिल्पविधानले आख्यानात्मकतालाई मात्र हैन तार्किकता, व्याख्यात्मकता, हास्यव्यङ्ग्यात्मकता आदि अनेक प्रवृत्तिलाई पनि समेट्न थालेको छ । अझ आलङ्कारिकता, वक्तृतात्मकता र रिपोर्ताजका शैल्पिक गुणहरू पनि यसभित्र समाविष्ट भइसकेका छन् । अतः शिल्प संयोजनका आधारमा निबन्धलाई आख्यानात्मक, स्वैर कल्पनात्मक, व्याख्यात्मक, हास्यव्यङ्ग्यात्मक, आलङ्कारिक, मनोवैज्ञानिक, संस्मरणात्मक, आत्मकथात्मक, वक्तृतात्मक, जीवनीपरक, नाटकीय, तार्किक, चित्रशैलीपरक, समास शैलीपरक, व्यास शैलीपरक र रिपोर्ताज अनेक कोणबाट हेर्न सकिन्छ ।

ङ) नव उपविधा वा तुल्य उपविधात्मक स्वरूपका आधारमा
निबन्धलाई स्वयंमा साहित्य परम्पराको कनिष्ठ तर ऊर्वर विधाका रूपमा हेर्ने गरिन्छ । कविता, कथा, नाटक र उपान्यास आदि स्थापित साहित्य विधाका अपेक्षा यसलाई अनुज विधाकै रूपमा लिइन्छ । तर, यसले छोटो समयभित्रै समेटेका अनेक नवीनतम विषय एवम् शिल्पसंयोजनका कारण यसको जति लोकप्रसिद्धि भइरहेको छ त्यति नै यससँग गाँसिएर÷मिसिएर नव उपविधा वा तुल्य उपविधाहरू देखापर्न थालेका छन् । संस्मरण, आत्मवृत्तान्त÷ आत्मकथा, जीवनी, अन्तर्वार्ता, दैनिकी, पत्र साहित्य, रिपोर्ट, रेखाचित्र, गोष्ठी साहित्य, विज्ञापन साहित्य जस्ता गद्यात्मक लेख प्रलेखहरूको स्पर्शले निबन्धलाई प्रभावित तुल्याउन थालेको छ । हुन त यी उपविधाहरू पनि विधागत कोटिकै हुने सम्भावना पनि छँदै छ । सम्पादकीय÷ प्रकाशकीय÷ लेखकीय÷ भूमिका÷ मन्तव्य, पुस्तक समीक्षा र लेख आदि पनि निबन्धकै उपविधाजस्ता बनिसकेका छन् । कपितय साहित्यिक प्रकृतिका विज्ञप्तिहरूलाई समेत यसमा संलग्न गर्न सकिने अवस्था छ । खासगरी नियात्राले यदाकदा निबन्धको मूल पहिचानलाई नै ओझेलमा पार्ला कि भन्ने किसिमको अवस्था सिर्जना गरेको छ । त्यस्तै विश्वपरिवेशमा वार्ता÷ निवार्ता, निसमीक्षा, निपत्र र रुबन्ध आदि अनेक नवीनतम उपविधात्मक स्वरूपसँग निबन्धको सम्बन्ध गाँसिने क्रम जारी छ । यसको कारण भनेको विधामिश्रण, विधाभञ्जन र विधान्तरण आदिलाई पनि मान्ने गरिन्छ ।
यीबाहेक पनि निबन्धलाई आयाम वा आकारगत आधारमा लघुतर र लघु, परिवेशगत आधारमा स्वदेशीय र परदेशीय (डायस्पोरिक) आदिका रूपमा वर्गीकरण गर्न सकिन्छ । अथवा सीताराम चतुर्वेदीले भनेझैँ औपचारिक र अनौपचारिक पनि मान्न सकिन्छ । हुन त यिनमा पनि कतिपय आधारहरू एकअर्कामा अन्तर्निहित हुन सक्ने सम्भावना समेत प्रशस्त मात्रामा रहेको पाइन्छ ।

३. निबन्धका तत्त्वहरू
निबन्धलाई निर्माण गर्ने उपकरणहरू नै निबन्धका तत्त्व हुन् । निबन्ध पनि साहित्यका अन्य विधाजस्तै अनेक तत्त्वहरूबाट निर्मित विधा हो । जसरी स्रष्टाका विचारहरूलाई कुनै निश्चित उद्देश्यका साथ भाषिक रूपमा कलात्मक किसिमबाट प्रस्तुत गरिँदा अनेक साहित्यिक विधाहरू देखा पर्दछन् त्यस्तै निबन्धका निर्मापक तत्त्वहरू पनि तिनैमध्येबाट रहेका हुन्छन् । विधागत पहिचानका आधारमा कतिपय तत्त्वहरूको धेरथोर उपस्थिति रहेको हुन्छ । यसरी निबन्ध विधाका सन्दर्भमा निम्नलिखित तत्त्वहरूलाई न्यूनतम अनिवार्य अङ्गका रूपमा लिने गरिन्छ ः क) विषयवस्तु, ख) उद्देश्य, ग) भाषाशैली, घ) दृष्टिविन्दु र ङ) शीर्षक ।

क) विषयवस्तु
निबन्धका सन्दर्भमा विषयवस्तुको अभिप्रायसँग गाँसिएर लेखकीय भाव÷ विचार÷ अनुभूति÷ वण्र्य प्रसङ्ग आदि यावत् कुराहरू आउने गर्दछन् । वास्तवमा निबन्धकारका निजी विचार, अनुभूति वा भावना, दृष्टिकोण, तर्क, चिन्तन आदि नै विषयवस्तुका रूपमा रहेका हुन्छन् । यस्ता विषय वा विचारसँग समाज, प्रकृति, संस्कृति, शिक्षा, इतिहास, भूगोल र दर्शन आदि अनेक क्षेत्रहरूको पनि प्रतिबिम्ब रहन सक्दछ । अथवा राष्ट्र, राष्ट्रियता, अन्तर्राष्ट्रिय सन्दर्भहरूसँग पनि निबन्धको विषय गाँसिएको हुन सक्दछ । जीवन दर्शनका गहिराइदेखि विभिन्न क्षेत्रका विकृति विसङ्गतिहरूलाई निबन्धको विषयवस्तुका रूपमा लिन सकिन्छ । पृथ्वी र अन्तरिक्ष अथवा अध्यात्मिक र भौतिक जुनसुकै प्रकृतिका विषयलाई पनि निबन्धभित्र सजाउन सकिन्छ । अतः विना आधार कुनै वस्तु नअडिएझैँ निबन्धको मूल आधार भनेको विषयवस्तु नै हो, विषयवस्तु भए निबन्ध रहन्छ नत्र निबन्ध शून्यमा बिलाउँछ । यसका लागि सृष्टिचक्रदेखि कालचक्रसम्मको स्थूल वा सूक्ष्म जुनसुकै प्रकृतिका विषयहरू पनि उपयोगी एवम् ग्राह्य हुने गर्दछन् ।

ख) उद्देश्य
विना उद्देश्य कुनै पनि कर्मको विधान गरिँदैन त्यसैले निबन्ध लेखनभित्र पनि निश्चित उद्देश्यहरू रहेकै हुन्छन् । त्यस्ता उद्देश्यहरू विषयवस्तु अनुसार अनेक किसिमका हुन सक्दछन् । निबन्धभित्र कतै लेखकीय विचार वा अनुभूति तरङ्गहरूले ससाना विषयका माध्यमबाट नवीनतम रहस्यहरूको बोध गराइरहेका हुन्छन् भने कतै स्थूल रूपमा सामाजिक, सांस्कृतिक एवम् राजनीति विकृति विसङ्गतिको भन्डाफोर गरिरहेका हुन्छन् । मानवीय संवेदनाको उद्घाटनलाई होस् वा वैयक्तिक अनुभूतिजन्य विचारहरूको चिरफारलाई होस् निबन्धका विषयहरूले समेटिरहेका हुन सक्छन् । कतिपय निबन्धमा नैतिक सुधारको चाहना राखिएको हुन्छ भने कतिपयमा युगीन यथार्थको जानकारी गराइने उद्देश्य राखिएको हुन्छ । त्यस्तै यात्रनुभूतिजन्य विषयका माध्यमबाट नवीनतम स्थानीय सन्दर्भ वा परिवेशको बोध गराउन अथवा राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशसँग साक्षात्कार गराउन पनि निबन्धहरूले मद्दत गरिरहेका हुन्छन् । अतः निबन्ध केवल स्वान्तः सुखाय मात्र नभई राष्ट्र÷राष्ट्रियता र मानव÷मानवीयताका पक्षमा अथवा विकृति विसङ्गतिको भन्डाफोर वा नवीनतम रहस्यहरूको उद्घाटनमा केन्द्रित विधाका रूपमा रहेको मानिन्छ । वस्तुतः निबन्धको उद्देश्य, मूल विचार वा आशय आन्तरिक सौन्दर्य पनि हो ।

ग) भाषाशैली
लेखकीय विचारहरू पस्किने माध्यम भनेको भाषा हो । भाषाकै माध्यमबाट मानवीय विचारहरू आदान प्रदान हुने भएकाले स्रष्टाका अनुभूतिहरूको सम्प्रेषण गर्न भाषाको अनिवार्यता रहन्छ नै । जति सुन्दर अर्थग्राही भाषिक प्रयोग हुन सक्छ त्यति नै निबन्धको मूल मर्म उद्घाटन हुन सक्दछ । यसर्थ भाषिक सामथ्र्यका कारण निबन्धको ओजस्विता र प्रभावकारिता निर्धारण गरिन्छ । तत्सम बहुल शब्दहरूको भाषिक प्रयोग अथवा तद्भव एवम् आगन्तुक शब्द बाहुल्य भाषिक प्रयोगसँगै वाक्य संयोजन र अर्थ संवहनका सापेक्षतामा निबन्धको भाषाशैलीबारे मूल्याङ्कन गर्न सकिन्छ । उपयुक्त विषय सन्दर्भलाई उपयुक्त किसिमको भाषाशैलीका माध्यमबाट प्रस्तुत गर्न सके निबन्धको औचित्य सार्थक हुने गर्दछ । अतः निबन्धको भाषाशैली सरल र सहज अथवा कोमल, भावुक र काव्यात्मक प्रकृतिको हुनु राम्रो मानिन्छ । देवकोटाको भाषामा पोथीगद्यको प्रयोगले निबन्धको वास्तवितालाई झल्काउँछ । वस्तुपरक निबन्धमा समेत वैचारिक एवम् बौद्धिक जटिलताको मात्रा न्यून हुनु उपयुक्त मानिन्छ । यदाकदा आवश्यकता अनुसार उखान टुक्काको र स्थानीय भाषाको प्रयोगले पनि निबन्धलाई सुन्दर र सार्थक तुल्याउन सक्छ । हुन त निबन्धको प्रकृति अनुसार आलङ्कारिक, तार्किक, हास्यव्यङ्ग्यात्मक, व्यास, समास, चेतन प्रवाह आदि अनेक शैलीहरूको समेत उपयोग गर्न सकिन्छ ।

घ) दृष्टिविन्दु
निबन्धकारका विचार र अनुभूति अथवा घटना वा परिवेश आदिलाई दर्साउने माध्यम दृष्टिविन्दु हो । अर्थात्, निबन्धको विषयवस्तु प्रस्तुत गर्ने को हो र कसरी भनिरहेको छ भन्ने कुरा नै दृष्टिविन्दु हो । निबन्धमा प्रथम पुरुष र तृतीय पुरुष दृष्टिविन्दुको प्रयोग उपयुक्त मानिन्छ । प्रथम पुरुष दृष्टिविन्दु भएका निबन्धमा म, हामीको प्रयोग गरिन्छ भने तृतीय पुरुष दृष्टिविन्दु भएका निबन्धमा ऊ, उनी आदिको प्रयोग गरिन्छ । विशेषतः आत्मपरक निबन्धहरूमा प्रथम पुरुष अर्थात् आन्तरिक दृष्टिविन्दुको प्रयोग हुने गर्दछ ।

ङ) शीर्षक
वण्र्य विषयको समग्रतालाई समेटेर प्रस्तुत गर्न सक्ने उपयुक्त पद वा पदावली नै शीर्षक हो । निबन्धमा पनि प्रस्तुत गरिने विषय वा विचारहरूलाई समेट्न सक्ने उपयुक्त प्रकृतिको शीर्षक चयन अनिवार्य रहन्छ । त्यही शीर्षक अनुसारको विषयवस्तुले समग्र निबन्धको अस्तित्वलाई वहन गरेको हुन्छ । वास्तवमा निबन्धगत शीर्षकको पहिचान भनेको आकारगत लघुता हुनु र समग्र केन्द्रीयभावलाई रोचक किसिमबाट समेट्न सक्नु हो । शीर्षक जति अनुभूतिगम्य, भाषिक चमत्कारयुक्त र अभिव्यक्तिगत विशिष्टतालाई झल्काउने प्रकृतिको हुन्छ निबन्ध पनि त्यति नै प्रभावकारी मानिन्छ । यद्यपि यीबाहेक पनि नवनव उपविधाहरूको प्रभावबाट अनुप्राणित हुँदै लेखिएका निबन्धहरूमा तत्तत् प्रकृतिअनुसार अनेक तत्त्वहरूको उपस्थिति वा प्रयोग हुन सक्दछ ।

४. निष्कर्ष
निबन्ध शब्द संस्कृत मूलको भए पनि साहित्यिक विधाका रूपमा स्थापित निबन्ध पाश्चात्य साहित्यको उपज हो । अङ्ग्रेजी एसे शब्दको पर्यायवाची बनेको निबन्ध शब्दले निबन्धकारका निजी अनुभूतिहरूको अनौपचारिक प्रस्तुतिदेखि वैचारिक विकीर्णताहरूको समग्रतालाई समेत समेटेको छ । निबन्धमा सङ्क्षिप्तता, कलात्मकता र गद्यात्मकताजस्ता थप विशिष्टि पहिचानहरू पनि रहेका छन् । यसलाई भाव, विषयवस्तु, धारा वा वाद, शिल्प संयोजन र नव उपविधा वा तुल्य उपविधात्मक स्वरूप आदिका आधारमा अनेक भेदहरूमा वर्गीकरण गर्न सकिन्छ । यसले पनि साहित्यका अन्य विधाहरूझैँ निश्चित विषय, उद्देश्य, भाषाशैली, दृष्टिविन्दु र शीर्षकहरूको उपस्थितिबाट पूर्णता पाउँछ । वास्तवमा निबन्ध पछिल्लो चरणको त्यस्तो लोकप्रिय विधा हो, जसमा खास विषयवस्तुलाई सङ्क्षिप्त रूपमा कलात्मक किसिमबाट गद्यशैलीमा लेखेर प्रस्तुत गरिन्छ ।
सन्दर्भसूची

अधिकारी, रामलाल, २०३१, नेपाली निबन्ध यात्रा, दार्जिलिङ ः नेपाली साहित्य सञ्चयिका ।
अर्याल, दुर्गाप्रसाद (डा.), ‘आधुनिक निबन्धको सैद्धान्तिक धरातल’, वैजयन्ती, वर्ष... अङ्क पूर्णाङ्क..... २० पृ. ..।
....................., ‘नेपाली निबन्धको उद्भव र विकास’, वैजयन्ती, वर्ष... अङ्क पूर्णाङ्क..... २० पृ. ..।
आप्टे, शिवराम वामन, सन् १९८४, संस्कृत हिन्दी कोश, पटना ः मोतीलाल बनारसीदास ।
गौतम, लक्ष्मणप्रसाद (डा.), ‘निबन्धका प्रकार’ २०६६, रत्न बृहत् नेपाली समालोचना सैद्धान्तिक खण्ड, (सम्पा. राजेन्द्र सुवेदी र लक्ष्मणप्रसाद गौतम), काठमाडौँ ः रत्न पुस्तक भण्डार ।
देवकोटा, लक्ष्मीप्रसाद, २०३९ दाडिमको रूखनिर, (सम्पा.राजेन्द्र सुवेदी), ललितपुर ः साझा प्रकाशन ।
निरौला लेखप्रसाद (डा.) र फणीन्द्रराज निरौला, २०६७, नेपाली गद्य भाषा र साहित्य परिचय, काठमाडौँ ः प्रधान बुक हाउस ।
पाण्डेय, फणीन्द्रराज (सम्पा.), २०५७, संस्कृत नेपाली बृहत् शब्दकोश, दाङ ः महेन्द्र संस्कृत विश्वविद्यालय ।
प्रधान, प्रमोद, २०६६, नेपाली निबन्धको इतिहास, काठमाडौँ ः रत्न पुस्तक भण्डार ।
बराल, ईश्वर, २०३१, सयपत्री, ललितपुर ः साझा प्रकाशन ।
व्यास, निर्मोही, २०७०, यात्रासाहित्यको सिद्धान्त, काठमाडौँ ः वीणा पोखरेल ।
शर्मा गोपीकृष्ण २०५५, नेपाली निबन्ध परिचय, (दो.सं) काठमाडौँ ः रत्नपुस्तक भण्डार ।
शर्मा, तारानाथ, २०२८, नेपाली साहित्यको इतिहास, काठमाडौँ ः सहयोगी प्रकाशन ।
सुवेदी, राजेन्द्र २०४९ केही समीक्षण ः केही विश्लेषण, ललितपुर ः साझा प्रकाशन ।
..................., २०५८, स्रष्टा सृष्टि ः द्रष्टा दृष्टि, ललितपुर ः साझा प्रकाशन ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 11 चैत्र, 2073

लेखकका अन्य रचनाहरु